संवेदनशील विषयमा सरकारबाट सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी स्थिति छः श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लागेको बताएका छन् ।

नेपालमा कोरोनाको महामारी भयावह भएको, संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेको भन्दै सबै मिलेर आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउनुपर्ने बताएका छन् ।

‘६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरिब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन्’, उनले भनेका छन्, ‘अर्थतन्त्र ध्वस्त हुने खतरा देखिँदैछ। तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ ।’

सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाउनुपर्ने भए पनि यो सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी स्थिति रहेको उनले गुनासो गरेका छन् ।

राजनीतिक नेता, कार्यकर्ता, संगठन र समाजसेवीहरुले आफुलाई बचाउने मात्रमा सीमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्नेमा उनले जोड दिएका छन् ।

कोरोनाको पहिलो लहरको समयमा कृयाशील रहेको आफ्नो सचिवालयअन्तर्गतको कोभिड स्वयंसेवा समुह पुनः कृयाशील रहेको उनले जानकारी दिएका छन् ।

बाँके र रुपन्देहीमा थप ७ सङ्क्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल–१ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना भएकी बुटवल–११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ । यसैगरी बाँकेमा मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीया महिलाको आज बिहान, बैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ निवासी ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १२ निवासी ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ निवासी ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ । तीब्र गतिमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बाँकेमा गएराति ७ सय ३१ नयाँ सङ्क्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा एक हजार १८ जनाको पिसिआर जाँच गर्दा ७ सय ३१ जनामा कोरोना देखिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ४ सय ८० को परीक्षण गर्दा ३ सय ४३, शिक्षण अस्पताल कोहलपुरमा २ सय २ को परीक्षण गर्दा १ सय ५८ र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालामा ३ सय ३६ को परीक्षण गर्दा २ सय ३० जनामा कोरोना पुष्टि भएको छ । ७ सय ३१ जनामध्ये बाँकेका ५ सय ४ जना रहेका छन् । बाँके अस्पतालमा रहेका ५ सय ९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा तीन हजार नौ सय ३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताए । शुक्रबार मात्रै बाँकेमा एक सय ९ जनाले कोरोना जितरे घर फर्किएका छन् ।

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले बैठक शनिबार साँझ ५ बजेलाई बोलाएका हुन् । बैठकका एजेण्डा पनि खुलाइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । तर, बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् ।

भरतपुर महानगरद्वारा काेराेना बिरामीलाई घरमै पुगेर सेवा दिन निशुल्क एम्बुलेन्स सञ्चालन (नम्बरसहित)

चितवन, काेराेना संक्रमणबाट सिकिस्त भएका बिरामीलाई घरमै पुगेर सेवा दिन एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएकाे छ । काेराेना संक्रमणकाे जाेखिम बढ्दै गएपछि घरमा नै पुगेर अावश्यक उपचार सेवा प्रदान गर्न महानगरले एम्बुलेन्स सञ्चालनमा ल्याएकाे मेयर रेनु दाहालले बताईन । महानगर प्रमुख दाहालका अनुसार बिरामीहरूलाई समयमै अस्पतालको पहुँच पुर्याउन हाललाई एम्वुलेन्स स्टाण्डवाई राखिएको र जानकारी पाउन साथ बिरामीलाई अस्पतालमा ल्याउने व्यवस्था मिलाइको छ । एम्बुलेन्स आवश्यक परेमा 9851210029 र 9841441685नम्बरमा सम्पर्क गर्न समेत महानगरले अनुरोध गरेको छ । पछिल्लाे दिनमा बिरामीकाे चाप बढेकाे र अस्पताल समेत भरिन थालेपछि महानगरले एम्बुलेन्समार्फत बिरामीकाे घरमा नै पुगेर सेवा दिने भएकाे हाे । यसका साथै सिकिस्त बिरामीलाई अस्पताल लैजान समेत निशुल्करुपमा एम्बुलेन्स सेवा प्रदान गरिनेछ । यसअघि भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेकी थिइन । कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्थाका लागि अहिले याेसेवा शुरु गरिएकाे दाहालले बताएकी छिन् । उनका अनुसार स्वास्थ्य विज्ञहरू स्वास्थ्य संस्था प्रमुखहरू र स्थानीय प्रशासनसँग जोखिम न्यूनिकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको छ । प्रमुख दाहालले हरेक टोल टोलमा माइकिङ् मार्फत सचेतना कार्यक्रम गरिएको बताइन् ।

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अपराह्नतिर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोसमेत विभागको भनाइ छ। राति पनि देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तो छ आगामी तीन दिनको पूर्वानुमान २०७८ वैशाख २५ गते दिउँसो: देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति : देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वैशाख २६ गते (आईतबार) दिउँसो: देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति : देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वैशाख २७ गते (सोमबार) दिउँसो: देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति : देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

बुटवल । रुपन्देहीमा दुईजना कोरोना संक्रमितको निधन भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए । उनीहरुमध्ये ४८ वर्षीय पुरुषको गएराति ११ बजे र ३० वर्षीया महिलाको शनिवार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।

ठाकुरको साथ छोडे महतोले, जसपाभित्र यादव पक्ष बहुमतमा

काठमाडौं । जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् । महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए । ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने । जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् । उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन् । जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन् । यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आफूले हस्ताक्षर नगरेको सुमनले बताए । महतो निकट एक नेताका अनुसार ओली सरकारलाई विश्वासको मत दिन कि नदिने भन्ने विषयमा मतदान हुँदा तटस्थ बस्नुपर्ने लाइनमा महतो छन् । पार्टी फुट्नबाट जोगाउन तटस्थ बस्नुपर्ने महतोको धारणा रहेको ती नेताको भनाइ छ । ओली सरकारले जसपाका सबै माग पूरा नगरेकाले सरकारलाई साथ दिनै पर्ने बाध्यता नभएको महतो पक्षधर नेताहरूको भनाइ छ । ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउन पहल नगरेपछि उनी टाढिएको महतो पक्षधर नेताहरूको भनाइ छ । नागरिकदैनिकबाट साभार

संसदीय अंकगणितमा निर्णायक बन्यो नेपाल समूह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन गइरहेको अवस्थामा नेकपा एमालेभित्रकै माधव नेपाल समूह निर्णायक बनेको छ । जनता समाजवादी पार्टी अनिर्णित बन्न पुग्दा माधव नेपाल समूह निर्णायक भूमिकामा देखिएको हो । माओवादी समूहले ओली सरकारलाई विश्वासको मत नदिएको खण्डमा सरकार अल्पमतमा पर्ने देखिन्छ । यद्यपी यसका लागि या त उनीहरुले भदौ २७ अघि नै सामूहिक राजीनामा दिनुपर्छ या फ्लर क्रस गर्नुपर्ने हुन्छ । दुबै अवस्थामा केही सांसदको पद जाने सम्भावना रहने भएकोले माधव नेपाल समूह अहिले पनि धरमरको अवस्थमा नै रहेको देखिन्छ । नेपाल पक्षका सांसदहरुको मत पाउनका लागि ओलीले निकै दौडधुप गरेका छन् । यो बीचमा ओली र राष्ट्रपतिबीच संवाद भएको छ भने दोश्रो र तेश्रो तहका नेताहरुबीच पनि सघन छलफल चलिरहेको छ । तर माधव नेपाल समूहले भने आफ्नो अडान छोडेको छैन । यता कांग्रेस र माओवादीसँग समेत माधव नेपाल समूहको छलफल निरन्तर जारि रहेको छ । नेपाल समूहभित्र दोश्रो तहका केही नेताहरु मध्यमार्ग खोजेर एमाले मिलाउनुपर्ने बताइरहेको बेला माधव नेपाल स्व्यम् भने ओलीले सहमति पालना गर्नेमा विश्वस्त देखिँदैनन् । माधव नेपाल समूहले स्पष्ट कित्ताकाट नगरेको अवस्थामा सभापति देउवाले अविश्वास प्रस्ताव ल्याउने विषय समेत अनिर्णित बनेको छ । देउवाले बिहीबार एमाले नेता नेपालसँग यसबारेमा सोधका थिए । देउवाले नेपालसँगको छलफलमा ‘तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वास प्रस्ताव ल्याइहाल्छु’ भनेका थिए । देउवालाई ढुक्क हुनु भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका थिए । तर बिहीबार साँझदेखि शुक्रबार साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण देउवाले तत्कालै अविश्वासको प्रस्ताव ल्याइ नहालौं भन्ने प्र्रस्ताव प्रचण्डसँग राखेको बताइन्छ । ‘अहिले एमाले नै अनिर्णीत छ, उहाँहरू के निर्णय गर्नुहुन्छ त्यो कुरौं त्यसपछि हेरौंला,’ प्रचण्डसँग देउवाले भनेका थिए । शुक्रबार साँझ समेत प्रचण्ड र देउवाबीच छलफल भएको थियो । प्रचण्डले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेस गरेका थिए । देउवाले भने नेपालपक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताए । ‘उहाँहरूको विश्वास हुनुपर्‍यो, मैले अविश्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ रु’ देउवाले सोधेका थिए । लुम्बिनी र गण्डकी प्रदेशमा सत्तापक्षले खेलेको भूमिकामा आधारमा देउवाले आलीको नेतृत्वमा निर्वाचन भने चाहेका छैनन् । त्यसैले माधव नेपाल समूहले के गर्छ भन्ने चासो उनले प्रकट गरेका हुन । यही कुरालाई मध्यनजर गरेर राष्ट्रियसभा निर्वाचनमा समेत नेपाल पक्षको सहमतिकै आधारमा खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको थियो । यसपछि ओलीलाई समेत चिन्ता थपिएको र उनले माधव नेपाल समूहसँग सघन छलफल अघि बढाएका थिए । नेपाल पक्षका नेताहरुले यसलाई ओलीविरुद्धको संघर्षको मोडेलका रुपमा समेत प्रस्तुत गरेका थिए । यो परिस्थितिमा नेपालका सामु ओलीलाई विश्वास गर्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न टडकारोरुपमा उठेको छ । उनले एकताबद्ध एमाले हुनका लागि एमाले ब्यूँतिएपछिका कथित बैठकहरुका निर्णय खारेज हुनुपर्ने शर्त अघि सारेका छन् । तर विश्वासको मत लिन र सरकार जोगाउनका लागि ओलीले ती माग पुरा गर्छु भनेर भनेको अवस्थामा त्यो भनाईलाई विश्वास गर्न सकिने आधार भने नेपाल पक्षले खोज्ने देखिन्छ । नत्र ओलीले यसरी धोका दिने कुरा नौलो भने होइन । शुक्रबार नेपालले सामाजिक सञ्जालमार्फत यो विषयमा धारणा सार्वजनिक गर्दै लेखेः “हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो, यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन, । २०७७ फागुन २८ र तत्पश्चात बसेका कथित बैठकहरू र तिनले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ, २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’ ओलीपक्ष र नेपालपक्षका नेताहरूबीच शुक्रबार भएको छलफल पनि एकताबद्ध पार्टीको सैद्धान्तिक आधार के हो भन्नेमा कुरा नमिलेपछि निचोडमा पुग्न सकेन । पार्टीलाई एकताबद्ध बनाउन पहल गरिरहेका दुवै समूहका दोस्रो तहका नेताहरू छलफलमा सहभागी थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टी मिलाऔं भन्नेबारेमा सबैको चासो भए पनि त्यसको ठोस आधारबारे कुरा नमिलेको सचिव योगेश भट्टराईले बताए ।

सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना सङ्क्रमण

काठमाडौं : हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका २ विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए । उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै बुधबार २ तथा बिहीबार र आज ४४ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। तीमध्ये कोरोना सङ्क्रमित २ मा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अन्य ८ लाई होम आइसोलेशनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म ४ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक÷एक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिए । यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौं र एकलाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए । लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना सङ्क्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन ।

काठमाडौं आइपुगे ‘रअ’ का नेपाल प्रमुख

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर उनी ‘रअ’ का व्यक्ति हुन् कि होइनन् भन्ने थाहा नभएको तर भीआइपी सुविधा दिइएको स्रोतले बताएको छ । दूतावासले ती भीआइपीहरू को-को हुन् थाहा नभएको बताएपनि दूतावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए ।अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिइसकेको छ । नेपालमा राजनीति उथलपुथल भइरहेका कारण उनी दुई महिना बढी यहाँ बसे । अब नेपालको स्टेशन भटनागरले सम्हाल्ने छन् । उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राघव यसअघि भुटानमा थिए ।

खानेपानी विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्री

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्री नियुक्त भएका छन् । मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी समाल्हादै आएका खत्रीलाई बिहीबार मन्त्रिस्तरीय निर्णयले महानिर्देशकमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को बोर्डको अध्यक्षसमेत रहेका थिए । नेपाल सरकारको सह-सचिव समेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख समेत भइसकेका हुन् । हाल मेलम्ची खानेपानी आयोजनाका प्रमुखको जिम्मेवारी रामकुमार श्रेष्ठलाई दिइएको छ ।

कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथाको आरोहण

काठमाडौं : नयाँ उचाइ मापण भएपछि पहिलोपटक सगरमाथाको चुचुरोमा शेर्पाको समूह पुगेको छ। यो बसन्त ऋतुको सिजनको पहिलो समूहका रुपमा कामिरिता शेर्पाको समूह सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी आरोहन शाखा प्रमुख मिरा आचार्यले जानकारी दिइन्। यो समूह रोप फिक्सिङका लागि गएको हो। यो समूहको सफल आरोहणसँग यो सिजनको आरोहण सुरु भएको छु आचार्यले भनिन्। आरोहण सञ्‍चालन व्यवस्थापनको अन्तर्गत सेभेन समिटबाट १२ जनाको समूहले सगरमाथा आरोहण गरेको हो। कामिरिता शेर्पा,फुर्तेन्जी शेर्पा,निग्मा तशी शेर्पा,मिग्मा तेन्जी शेर्पा, फुराछिरिङ शेर्पा,तेन्जिङ शेर्पा,छितेन दोर्जे शेर्पा,तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा,मिग्मा दोर्ची शेर्पा र फुर्वा कुसाङ शेर्पाको समूह सगरामाथाको चुचुरोमा पुगेको हो। योसँगै कामिरिता शेर्पाले २५ ‍औं पटक सगरमाथा आरोहण गरेका छन्। कामिरिता कीर्तिमानी आरोही हुन्। यो सिजनका लागि पर्यटन विभागले ४०८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको छ। सगरमाथामा आधारशिबिरमा कोरोना भाइरस संक्रमण फैलिएको समाचारहरु आइरहेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले भने अहिलेसम्म कुनै संक्रमण पुष्टी नभएको जानकारी दिएको छ।

अक्सिजनका भरमा कोरोनासित जुध्दै सङ्क्रमित

महेन्द्रनगर : दैनिक चारदेखि सात अक्सिजन सिलिण्डर मात्रै भर्न मिल्ने प्लान्ट रहेको अस्पतालमा कोरोना सङ्क्रमणको महामारीमा सङ्क्रमितको उपचार कस्तो होला? सहजै अनुमान गर्न सक्छौं, स्थिति सकसपूर्ण । अक्सिजन आपूर्तीमा सकस, रहेका ६ सघन उपचार कक्ष( आइसियू) श्यया भरिभराउ र अस्पतालको आकस्मिक कक्षमा समेत सङक्रमितहरु भौतारिएका बेला महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारमा रहेका ९० प्रतिशत सङ्क्रमित अक्सिजनका भरमा कोरोनासित लडिरहेका छन् जनशक्ति अपुग हुँदा पनि सङ्क्रमितको सेवामा अहोरात्र खटिएको अस्पतालमा अझै अक्सिजन पु¥याउन सकिएको छैन् ।“ यहाँ लक्षणसहितका उपचारमा रहेका सङ्क्रमित मध्ये ९० प्रतिशत भन्दा बढी अक्सिजन लगाएरै उपचार सम्भव भइरहेको छ । ” अस्पतालका डा. गोविन्द रोकायाले भन्नुभयो–“ अक्सिजन बिना सङ्क्रमितको उपचार नै सकसपूर्ण छ ।”अस्पताललाई दैनिक एकसय भन्दा बढी अक्सिजन आवश्यक भइरहेको उहाँको भनाइ छ । पैसट्ठी भन्दा बढी सङ्क्रमित उपचाररत रहेको अस्पालमा यहाँका समाजसेवी युवा व्यवसायीहरुले दैनिक रुपमा अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेका छन् । यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लको अगुवाइमा विभिन्न संघ÷संस्थाहरुले पनि अस्पताललाई दैनिक ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गरारहेका छन् । अस्पतालमा शंकास्पद बिरामीहरु कोरोना परीक्षणका लागि आउनेक्रम बढिरहेको छ भने केही दिनयता अस्पतालबाट निको भएर घर जानेको संख्या पनि सन्तोषजनक रहेको छ । अक्सिजन खरिदकै लागि यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख, बेदकोट नगरपालिकाले रु १० लाख लगायत यहाँका विभिन्न सहकारी र बित्तीय संस्थाहरुले पनि अस्पताललाई सहयोग गरिरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिनुभयो ।यसैगरी भारतबाट गड्डाचौकी नाका हुदै स्वदेश फर्किनेहरुको पनि सीमानाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । त्यहाँ नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको टोलीले अस्थायी होल्डिङ्ग सेन्टर निमार्ण गरिरहेको छ ।“ आइतबारदेखि सञ्चालनमा ल्याइसक्ने गरी होल्डिङ्ग सेन्टर बनाउने काम भइरहेको छ ।” श्रीदल गुल्मका गुल्मपनि सेनानी प्रतीकसिंह कार्कीले भन्नुभयो–“ अब होल्डिङ्ग सेन्टर बनेपछि भारतबाट आउने नेपाली दाजुभाईहरुलाई पनि सहज हुनेछ ।” रासस

ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख र देउवा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । ‘पर्सि (आइतबार) बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख जानुहुन्न’, सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेल भने, ‘यसअघि संवैधानिक परिषद् अध्यादेश जारी गरिएको विषय, सोही अध्यादेशका आधारमा गरिएका नियुक्ति र शपथप्रति उहाँले गम्भीर असहमति जनाउँदै आफैँ उपस्थित भएर सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो, जुन विचाराधीन नै छ ।’ कांग्रेस सभापति देउवा समेत सो बैठकमा नजाने उनका स्वकीय सचिवालयका भानु देउवाले जानकारी दिए । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन् भने समावेशी आयोगले पनि पूर्णता पाएको छैन । यसअघि संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र सभामुख उपस्थित हुन नमानेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएको थियो । सभामुख र विपक्षी दलका नेताले असहयोग गर्दा संवैधानिक परिषद्ले लामो समयदेखि रिक्त रहेका संवैधानिक पदहरुमा नियुक्तिको सिफारिस गर्न सकेको थिएन । त्यही आधारमा यसअघि सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्मार्फत आयोगमा पदपूर्ति गरेको थियो । अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ । त्यसअघि पाँच सदस्यीय परिषद्ले सर्वसम्मतका आधारमा निर्णय गर्नसक्ने व्यवस्था रहेकोमा अध्यादेश ल्याएर विभिन्न आयोगमा पदपूर्ति गरेको थियो । प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको परिषद् बैठकले पदपूर्तिको सिफारिस गरेको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन उम्मेदवारी दर्ता

काठमाडौं । वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामबहादुर थापा र स्वतन्त्र डा खिमलाल देवकोटाले मनोनयनपत्र दर्ता गराएका हुन् । उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय, हेटौंँडामा स्थापना गरिएको छ ।

झनै डरलाग्दोः भारतमा एकैदिन ४ लाख बढी संक्रमित, मोदी सरकारविरुद्ध विद्रोह गर्न आव्हान

नयाँ दिल्ली । भारतमा एकैदिन ४ लाख बढी संक्रमित देखिएका छन् । संक्रमण बढ्दै गएपछि भारतका कतिपय राज्यले लकडाउनको घोषणा गरेपनि कोराना भने अनियन्त्रित हुँदै गइरहेको हो । सार्वजनिक स्वास्थ्य प्रणालीले थेग्न नसकेपछि मृत्यु हुनेको संख्या समेत बढ्दै गइरहेको छ । पछिल्ला केही दिन यता हरेक दिन ३ हजार ५ सय भन्दा बढीको मृत्यु भइरहेको छ । संक्रमणका कारण आम जनतामा ठूलो त्रास छाएको छ । अस्पतालहरुमा बेडको अभाव हुनु र बेड पाएको अवस्थामा पनि अक्सिजनको कमी भएका कारण सरकारप्रति जनताको आक्रोश बढेर गएको छ । कैयन सामाजिक सस्था र राजनीतिक दलहरुले महामारीबाट प्रभावितहरुलाई सहयोग गरिरहेका छन् । तर सार्वजनिक स्वास्थ्य संस्थामा अक्सिजन र अन्य उपकरणलगायत औषधीको उचित प्रबन्ध गर्न नसकेको भन्दै सरकारको व्यापक आलोचना भइरहेको छ । भगतसिंह दललगायतका कैयन संगठनहरुले कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएकोले सत्ताविरुद्ध विद्रोह गर्न अपील गरेका छन् । प्रतिपक्षी कांग्रेस लगायतका दलहरुले मोदी सरकारले पूँजिपतिहरुको हितलाई प्राथमिकता दिएर लकडाउन लगायतका सुरक्षा उपाय अवलम्बन नगरेको कारण भयावह अवस्था आएको बताएका छन् । सबैभन्दा ठूलो समस्या आप्रवासी र अन्य मजदूर तथा गरीब जनतामा परेको छ । कामको खोजीमा ठूला शहरमा गएका र शहरभित्रकै पनि गरिब जनतालाई उपचार पाउन कठीन बनेको छ । उपचारमात्र होइन, मृत्यु भएको अवस्थामा श्मसानघाटमा शव जलाउन समेत उनीहरुले ठाउँ पाइरहेका छैनन् । विश्वका कतिपय देशले सहयोगको हात बढाएपनि त्यसको प्रतिफल कमजोर र गरिब वर्गसम्म पुग्न सकेको छैन । नीजि क्षेत्रमा कालोबजारीको क्रम बढेको छ । कैयन् स्थानमा सिलिण्डरको कालोबजारी हुन पुगेको छ । अर्कोतर्फ दिल्ली सरकारलाई केन्द्रले सहयोग नगरेको भन्दै मुख्यमन्त्री केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । केजरिवालकी पत्नी समेत कोरोना संक्रमित बनेकी छिन् ।