देउवाले बोलाए पदाधिकारी बैठक, के विषयमा हुँदैछ छलफल ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले आज अपरान्ह ३ बजे पदाधिकारी बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् ।
पार्टी पदाधिकारी बैठक बसेपछि नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग नयाँ सरकार गठनबारे छलफल गर्ने तयारी कांग्रेसको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विस्वासको मत गुमाएपछि स्वतः पदमुक्त भएका थिए ।
आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेको छ ।
नयाँ सरकार गठनबारे माओवादी र जसपासँग छलफल गर्न देउवाले बोलाए बैठक
नेपाल समूहका सांसदको राजीनामा आउने सम्भावना, झाँक्रीसहित समानुपातिक ८ सांसदलाई कार्वाही गर्ने ओलीको तयारी
काठमाडौं । नेकपा एमालेले विश्वासको मत प्रस्तावको मतदानका बेला अनुपस्थित केही सांसदलाई कार्वाही गर्ने भएपछि माधव नेपाल समूहका सबै सांसदले सामूहिक राजीनामा दिने भएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा माधव नेपाल समूहका २८ जना सांसद अनुपस्थित रहेका थिए । माधव नेपाल समूहका सबै सांसदलाई कार्वाही गर्दा सदनमा सांसदहरुको कूलसंख्या घटने र त्यसले प्रतिपक्षी गठबन्धनलाई फाइदा पुग्ने भएपछि ओली समूहले समानुपातिक ८ जना सांसदलाई मात्रै कार्वाही गर्ने रणनीति लिएको थियो । श्रोतका अनुसार, समानुपातिक सांसदहरुलाई पदमुक्त गरेर बन्दसूचिमा रहेका ८ जना नयाँ सांसद थप्ने र जसपाको समेत सहयोग लिई सरकारलाई निरन्तरता दिने ओली पक्षले रणनीति लिएको हो । ८ समानुपातिक सांसदहरू रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्ने ओली पक्षको रणनीति देखिन्छ । जनता समाजवादी पार्टीभित्र सरकारलाई समर्थन दिने विषयमा स्पष्ट कित्ताकाट भएको अवस्थामा ओलीले त्यसको फाइदा उठाउन खोजेको ठहर गर्दै माधव नेपाल समूहले भने सामूहिक राजीनामा दिने तयारी गरेको छ । श्रोतका अनुसार, सम्भवतः जसपाको अवस्था हेरेर माधव नेपाल समूहका सबै सांसदले आज नै सामूहिक राजीनामा दिन सक्नेछन् । २० जना सांसदलाई कार्वाही नगरेपनि धारा ७६ (२) अनुसार, उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई समर्थन गर्न सक्ने अवस्था नरहने भएकोले राजीनामा दिनैपर्ने बाध्यतामा उनीहरु पुगेका हुन । श्रोतका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा रहेका दलहरुलाई ७६(२) अनुसार सरकार गठनका लागि आव्हान गरेको अवस्थामा सिँगो दलले नै सांसदहरुको हस्ताक्षरसहित दावी गर्नुपर्ने हुन्छ । अविश्वास प्रस्ताव ल्याएको भए फ्लोर क्रस गर्नसक्ने अवस्था भएपनि अहिलेको स्थितिमा माधव नेपालहरुले यसरी दावी गरिने नयाँ सरकारमा हस्ताक्षर गर्नसक्ने या समर्थन गर्न सक्ने स्थिति नभएकोले उनीहरुले राजीनामाको बाटो खोजेका हुन । पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका थिए। एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दलसम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने बताएका थिए । प्रस्ट पारेका छन् । जनता समाजवादी पार्टीमा भने उपेन्द्र यादव पक्षको बहुमत रहेको छ । केन्द्रीय समिति र संसदमा समेत बहुमत रहेको अवस्थामा महन्थ ठाकुरको असहमति समेत नयाँ वैकल्पिक सरकारका पक्षमा जसपाले निर्णय गर्नसक्ने अवस्था छ । माधव नेपाल समूहले भने यी सबै सम्भावनाको लेखाजोखा गरी सामूहिक राजीनामाका लागि तयारी गरेको श्रोतको दावी छ ।
सगरमाथा आधार शिविरबाट फर्केका थप चार जनामा कारोना पुष्टि
सोलुखुम्बु : सगरमाथा आधार शिविरबाट फर्केका थप ४ जनामा संक्रमण पुष्टिः आरोहीमा प्रभाव शून्य सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिए । सगरमाथा आधार शिविरमा पुगेका उनीहरु शंकास्पद लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए । आज एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ । सोलुखुम्बु ठेगाना भएका उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएको पाइएको छ । यससँगै सगरमाथा आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ । पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोनाको कुनै पनि प्रभाव परेको छैन । शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही तथा उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उनको भनाइ छ ।
खानेपानी मन्त्री मणि थापाले जिते कोरोना
काठमाडौं : खानेपानी मन्त्री मणि थापाले कोरोना जितेका छन् । आज गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । आजै पर्यटनमन्त्री भानुभक्त ढकालले पनि कोरोना जितेका थिए ।
प्रचण्डद्वारा भोलि कोभिड-१९ विशेष म्यागाजिनको विमोचन गरिने
चितवन :माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केटीबी एडर्भटाइजिङ्ग एजेन्सी एण्ड मिडीया सर्भिस प्रा.लि. चितवनले प्रकाशित कोभिड-१९ बिशेष ‘एटुजेड बिजनेश पेज’ को मंगलबार विमोचन गर्ने भएका छन् । उक्त म्यागाजिनको विमोचन समारोह भरतपुरमा गर्ने तय भएपनि पनि कोरोनाको महामारी बढ्दै गएका कारण जारी भएको निषेधाज्ञाका कारण सृजना भएको असहज परिस्थितलाई ध्यानमा राखी भर्चुअल प्रविधिबाट विमोचन गर्न लागिएको प्रकाशक संस्था केटीबी एडभर्टाइजिङ्गले जनाएको छ । ‘हामीले यो म्यागाजिनको विमोचन भौतिक रुपमै गर्ने पूर्ण तयारी गरिसकेका थियौं । मिति समेत तय गरिसकेको अवस्था थियो तर अकस्मात जारी भएको निषेधाज्ञाका कारण विमोचन कार्यक्रम भर्चुअल मोडालिटीमा गर्नु परेको हो’ केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोर चन्द्र सापकोटाले भने । ‘प्रचण्ड’ प्रमुख अतिथि रहने उक्त विमोचन समारोह जुम भुर्चअल प्रविधिबाट मंगलबार बिहान ८ बजे शुरु हुने जनाइएको छ । यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको र आमन्त्रित अतिथिहरुलाई जुम आईडी प्रदान गरी सहभागी गराइने पनि सापकोटाले बताए । चितवनबाट कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन हुने उक्त कार्यक्रममा दाहालले भर्चुअल प्रविधिबाट काठमाडौंबाट म्यागाजिनको विमोचन गर्नेछन् । म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले लामो समयको प्रतिक्षा पश्चात विभिन्न कठिनाई बीच म्यागाजिनको विमोचन गर्न लागिएको बताए । गतसालबाट सुरु भएको महामारीले विभिन्न व्यवसाय , विकास निर्माण र समग्र संचार क्षेत्रमा परेको असरको बिषयमा म्यागाजिन केन्द्रीत भएको अधिकारीले जानकारी दिए। ’यो म्यागाजिन मार्फत हामीले देशको विभिन्न क्षेत्रलाई कोरोनाले पारेको असरलाई उजागर गर्न खोजेका छौं । यी विषय अहिले झन सान्दर्भिक बन्दै गएको छ’ अधिकारीले भने । म्यागाजिनमा चितवन आधार क्षेत्र बनाएर संचारक्षेत्र, कृषि शिक्षा, स्वास्थ्य , पर्यटन उद्योग, साना व्यवसायलाई समेटेर कोभिडले यस क्षेत्रमा परेको असर, चुनौति , संभावनाका साथै विषयविज्ञ, प्राध्यापक डाक्टरका लेख, व्यवसायीका धारणा,उद्योग व्यवसायका प्रोफाइल, अन्तवार्ता, कोभिड बीच महानगरमा भएका विकास निर्माण लगायतका विषयवस्तुलाई समेटिएको छ । ‘यो एउटा दस्तावेज बन्न सफल भएको छ, यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्गनिर्देशक छन भन्ने विश्वास लिएका छौं ।’ उनले भने । विशेष अवस्थामा केन्द्रित भई विशेष म्यागाजिनको रुपमा प्रकाशित यो म्यागाजिन संभवतः चितवनमा पहिलो म्यागाजिन भएको अधिकारीको भनाई छ । कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय , मध्यमसमय र मत्थर भइसकेको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।
फेरि नयाँ रेकर्डः थपिए ९,२७१ संक्रमित, १३९ जनाको मृत्यु
काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । अहिले देशभरि ९३,१४१ भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ । मन्त्रालयका अनुसार सो अवधिमा थप १३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ३ हजार ८५९ जनाले ज्यान गुमाएका छन् । शुक्रबार यसअघि देशभर हालसम्मकै बढी ९१९६ संक्रमित थपिएका थिए । त्यस्तै, बुधबार एकैदिन सबैभन्दा बढी ५८ जनाको कोरोना कारण मृत्यु भएको थियो । आज संक्रमित र मृतक संख्या हालसम्मकै बढी हो । मंगलबार ४,००७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । आज काठमाडौंमा २७७५, ललितपुरमा ५०५ र भक्तपुरमा ३२७ संक्रमित थपिए ।
नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरू गर्न देउवा, प्रचण्ड र यादवको राष्ट्रपतिलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाएपछि विपक्षी दलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार आह्वानका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गरेका हुन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, प्रस्तावका पक्षमा ९३ मत मात्रै
काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत जुटाउन सकेनन् । प्रतिनिधि सभाको आज बसेको विशेष अधिवेशनको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ मात्रै परेपछि उनी सदनमा अल्पमतमा परेका हुन । प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा १२४ सांसदले हस्ताक्षर गरे । यसैगरी उपस्थित सांसदहरुमध्ये प्रधानमन्त्रीेका प्रस्तावमा भएको मतदानका क्रममा १५ जना सांसद तटस्थ बसेका थिए । आजको मतदानमा २३२ मत खसेको थियो । प्रधानमन्त्री ओलीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आजको मतदानको क्रममा नेकपा एमालेभित्र माधव नेपाल पक्षीय सांसदहरु भने अनुपस्थित भएका थिए । समाजवादी जनता पार्टीले भने मतदानमा ह्विप जारी नगर्ने बताएको थियो । उक्त पार्टीभित्र महन्थ ठाकुर पक्षधर तटस्थ बसेका थिए भने उपेन्द्र यादव पक्षले विपक्षमा मतदान गरेको थियो । सदनमा विश्वासको मत हासिल गर्न असफल भएपछि प्रधानमन्त्री ओली कामचलाउ प्रधानमन्त्री बन्न पुगेका छन् । संविधानको धारा ७६ (२) अनुसार बहुमत प्राप्त गर्न नसकेपछि राष्टपतिले ३० दिनभित्र नयाँ सरकार गठनका लागि पुनः ७६ (२) अनुसार नै दलहरुलाई आव्हान गर्नुपर्ने छ । संसदको अर्को बैठक वैशाख ३० गते बस्नेछ ।
प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सुरू (LIVE)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए । सो अघि प्रधानमन्त्री लगायत विपक्षीदलका नेताले पक्ष विपक्षमा विचारहरू राखेका थिए । ओलीलाई कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले मत दिने छैन । र एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसद पनि उपस्थित छैनन् । यसरी हेर्दा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउने सम्भावना छैन ।
कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप
काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए । उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसियु एक हजार ८७१, भेन्टिलेटर ७४१, एचडियु दुई हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो । अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुनेछ । उनले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिए । सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । उनले थप आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताए । अहिले सेन्टरमा ७० सङ्क्रमितको उपचार भइरहेको छ ।
ओलीलाई विश्वासको मत दिने/नदिनेमा जसपा संसदमै विभाजित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने र नदिने भन्ने विषयमा जसपा विभाजित भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विश्वासको मत दिने र नदिने विषयमा छुट्टा छुट्टै अभव्यक्ति दिए । जसपाका एक अध्यक्ष ठाकुरले अविश्वासको प्रस्तावको पक्ष विपक्षमा मत नदिने र तटस्थ बस्ने बताए । तर, त्यसपछि बोलेका अर्का अध्यक्ष यादवले विश्वासको मतको विपक्षमा मत दिने बताए । ठाकुर प्रधानमन्त्री ओलीप्रति नरम रुपमा प्रस्तुत भए भने यादव आक्रामक रुपमा प्रस्तुत भए । जसपामा ओली सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा लामो समयदेखि विवाद रहेको थियो । यही विवादका कारण पार्टी फुटतिर गएपछि आइतबारको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत दिने नदिनेबारे सांसदलाई ह्वीप जारी नगर्ने निर्णय गरेको थियो । जसअनुसार सांसदहरुले स्वविवेक प्रयोग गर्न सक्नेछन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद बैठक सुरू [LIVE]
प्रचण्डको ओलीलाई प्रश्नः तपाईंलाई संसदमा विश्वासको मत माग्ने अधिकार छ र ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश कोरोनाले आक्रान्त भएको तर संविधान सरकारका कारण कोरोना लागेर आईसीयुमा रहेको आरोप गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठकमा प्रचण्डले सो कुरा बताएका हुन् । ओलीले आफूलाई राष्ट्रिय समस्या भन्ने गरेको उल्लेख गर्दै भने, ‘राष्ट्रिय समस्या म कि तपाईं ? को हो भनेर बहस गरौं । तर, तपाईंसँग त्यो आँट छैन ।’ संसद विघटनको कुरा उल्लेख गर्दै उनले ओलीसँग संसदमा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको दाबी गरे । उनले प्रश्न सोधे, ‘ओलीजी तपाईंलाई संसदमा विश्वासको मत माग्ने अधिकार छ र ?’ नेकपा विघटन गर्ने सर्वोच्चको फैसलापछि ३० दिनमै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘अहिले किन विश्वासको मत लिन खोज्नुभएको छ ? त्यो स्वभाविक लाग्दैन । संसद बोलाउने तरिका पनि लोकतान्त्रिक भएन । नियमित अधिवेशन बोलाएर विश्वासको मत लिन सकिन्थ्यो । विधि, प्रक्रिया छलेर संसद बोलाउनु केही अर्कै कुरा गर्न त खोज्नुभएको हैन? ’ प्रभण्डले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । उनले यही सदनबाट अर्को सरकार बन्ने विकल्प रहेको बताए । प्रचण्डले अन्य बाटो नअपनाउन ओलीलाई आग्रह गरे । प्रधानमन्त्रीबाहेक अरु सबैले विपक्षमा मत हालेर नयाँ इतिहास बनाउन उनले आग्रह गरे ।
ओलीले विश्वासको मत पाउँदैनन्, अर्को सरकार गठन प्रक्रिया अगाडि बढनुपर्छः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने बताएका छन् । ओलीले विश्वासको मत लिने संसद बैठकमा बोल्दै देउवाले भने, ‘प्रधानमन्त्रीले पाउँदिन भन्ने थाहा हुँदा पनि विश्वासको मत माग्नुभएको छ ।’ सम्बन्धित समाचारः प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद बैठक सुरू [LIVE] उनले अरुमाथि दोष थोपारेर ओली भाग्न खाजेको आरोप लगाए । उनले सरकार पूर्णरुपमा असफल भएको बताए । तर, ओली आफूले आफ्नै प्रशंसा गर्नु बिडम्बना रहेको देउवाले बताए । उनले अहिलेको अवस्था ओलीको दम्भका कारण आएको बताए । देउावले रेल, पानीजहाज, घरघरमा ग्यासको चुनावी नारा के भइरहेको छ भनेर प्रश्न गरे । उनले सबैलाई विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरे । उनले ओलीले विश्वाको प्राप्त गर्न नसक्ने अवस्था रहेको र संविधानको धारा ७२ को उपधार २ बमोजिम अर्को सरकार गठन गर्न प्रक्रिया अगाडि बढनुपर्ने माग गरे । यसअघि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत लिन नसके संविधानको धारा ७६९२० बमोजिमको सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेका थिए । कांग्रेस र माओवादीले धारा ७६(२) को सरकार दाबी गर्ने
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
गण्डकी । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उनलेले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको हो । प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आजै १०ः०० बजेबाट अन्त्य भएको पत्र प्राप्त भएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए । प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरिसकेकी छन् । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका थिए ।
कांग्रेससँग निर्णायक छलफल गर्न ठाकुर र महतो देउवा निवास बुढानिलकण्ठमा
काठमाडौं । नेकपा एमालेभित्र माधव नेपाल समूहले समेत ओलीलाई साथ नदिने भएपछि जनता समाजवादी पार्टीका नेताहरु नेपाली कांग्रेसका सभापति देउवासँग अन्तिम परामर्श गर्न पुगेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्न जसपा र नेपाल समूहको मत निर्णायक रहेको छ । माधव नेपाल समूहले भने माग पुरा नभए सामूहिक राजीनामा दिने बताइसकेका छन् । यो अवस्थमा जनता समाजवादी पार्टीका ठाकुर पक्षले मत दिएपनि सरकार जोगिँदैन । राजनीतिक परिस्थिति फेरिएपछि नयाँ ढंगले अघि बढ्न ठाकुर र महतले देउवासँग छलफल गर्न खोजेको श्रोतले बतायो । सभापति देउवाले अविश्वास प्रस्ताव लैजाने अवस्थामा नेपाल समूहले सहयोग गरे जसपाले समेत सहयोग गर्नसक्ने सम्भावनाबारे छलफल हुन सक्नेछ । जसपाका केही नेता भने ओलीको पक्षमा मत माग्न ठाकुर र महत देउवालाई भेटन गएको बताइरहेका छन् । तर कांग्रेसले भने ओली सरकारलाई कुनै पनि अवस्थामा मत नदिन र अरु दललाई पनि मत नदिन अपील गरिसकेको छ । जसपाभित्र ओली सरकारको पक्ष र विपक्षमा दुई धार रहेको छ । तर पछिल्लो परिस्थितिमा ठाकुर पक्षले समेत देउवाले सरकार निर्माण गर्ने अवस्थामा साथ दिनसक्ने सम्भावना बाक्लिएको छ । तर यसका लागि जसपाले आफूले उठाउँदै आएका माग पुरा गर्नुपर्ने शर्त भने तेस्र्याउने देखिन्छ । नेपाल समूहले साथ नदिने र जसपाको बाबुराम र यादव पक्षले विपक्षमा मतदान गर्ने अवस्थामा पार्टीको ह्विप मान्ने या तटस्थ बस्ने अवस्थामा ठाकुर पक्ष पुगेको छ । यद्यपी नयाँ गठबन्धन बन्ने सुनिश्चितता हुन सकेमा ठाकुर पक्षले देउवालाई समर्थन गर्ने सम्भावना समेत नभएको होइन । देउवासँग हुने आजको छलफलपछि जसपाले भोली हुने मतदानका लागि आफ्नो संसदीय दलबाट निर्णय गर्नसक्ने बताइन्छ ।

