अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा गएराती सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाका बारेमा जानकारी सोही वेबसाइटमा उपलब्ध रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दुतावासकाअनुसार डिभी विजेता भनेर कुनै इमेल नआउने र भिसा अन्तर्वार्ताका लागि समेत अग्रिम शुल्क पनि लाग्ने छैन ।

कोरोनाका कारण डोल्पाको त्रिपुरासुन्दरीका मेयर बुढाको निधन

काठमाडौं : कोरोना महामारीका कारण डोल्पा जिल्लामा दुई दिनको फरकमा २ जना नेताको ज्यान गएको छ । पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिन नबित्दै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ । जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मेयर बुढाको निधन भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले बताए । मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य छिन् । बुढा एमालेबाट मेयरा निर्वाचित भएका थिए ।

मन्त्रिपरिषद् बैठक : वीरको नयाँ भवनलाई ५०० शय्याको ‘कोरोना विशेष अस्पताल’ बनाउने निर्णय

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको युनिफाइड कोभिड-१९ अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड-१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

हावाको माध्यमबाट पनि काेराेना सङ्क्रमण हुन सक्छ : सीडीसी

काठमाडौं : अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले हावाको माध्यमबाट पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको जनाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको माध्यमबाट पनि भाइरस सर्ने सम्भावना रहेको बताएको हो । स्वास फेर्ने क्रममा हावामा रहेका कोरोना भाइरसयुक्त कणहरुका कारण सङ्क्रमण फैलिन सक्ने सीडीसीको निर्देशिकामा भनिएको छ । सङ्क्रमित व्यक्तिबाट ६ फीटको दूरीमा रहे पनि अरुको शरीरमा भाइरस आउन सक्ने सीडीसीले चेतावनी समेत दिएको छ । भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा सङ्क्रमण हुन सक्ने सीडीसीले जनाएको हो ।

मकवानपुरमा थपिए एक सय ४७ नयाँ कोरोना संक्रमित

मकवानपुर : मकवानपुरमा शनिबार थप १ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कूल १८२ जनाको कोरोना परीक्षण गर्दा ६३ जना महिला र ८४ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । शनिबार सबैभन्दा धेरै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ र ५ मा २९/२९ जना संक्रमित थपिएका छन् । त्यस्तै वडागत रुपमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर-१ का ६ जना, हेटौंडा-२ को ३ जना, हेटौंडा-३ को ५ जना, हेटौंडा-६ र ७ को १/१ जना, हेटौंडा-८ को ४ जना, हेटौंडा-९ को १३ जना, हेटौंडा-१० को १२ जना, हेटौंडा-११ को ९ जना, हेटौंडा-१२,१४ र १८ को २/२ जना, हेटौंडा-१५ र १९ को ३ जना, हेटौँडाकै वडा खुल्न नसकेको ८ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका ४ जना, भिमफेदी गाउँपालिकाका ५ जना, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएका उपमहानगरपालिकाले जनाएको छ । बाहिरी जिल्लाका ३ जनामा पनि संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।

काठमाडौं महानगरद्धारा त्रि. वि. शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर प्रदान

काठमाडौं : काठमाडौं महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर प्रदान गरेको छ । कोरोना संक्रमणबाट बिरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । आज अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गरेका थिए । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरुको सहभागी रहेको थियो।

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक सुरु भएको छ । संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठकले  कोरोना महामारीलगायत विषयमा केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ ।

ओलीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल जारी राख्ने निर्णय गरेको कांग्रेस सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाए । उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताए । उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे । ‘ओलीको विकल्प खोज्ने है हो । पार्टीको निर्णय पनि त्यै छ । विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने हो’, बैठकमा देउवाले भने ।

यी हुन् कोरोना संक्रमित २६ सांसद, २७ गते मतदान गर्न पाउँलान ?

काठमाडौं । प्रतिनिधिसभाका २६ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टअनुसार थप १८ जना सांसदमा संक्रमण देखिएको हो । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललगायत सांसद भने केही दिनअघि नै संक्रमित भएका थिए । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ नतिजा प्राप्त भएको जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निक्र्याेल गरिने छ । कोरोना पोजिटिभ भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ । पिपिई लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ । कोरोना संक्रमित सांसदहरुले विश्वासको पक्ष–विपक्षमा हाल्न पाउने वनपाउने विषयमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ । कोरोना संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष रुप लिइरहेका बेला हुन लागेको प्रतिनिधिसभाको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ । संक्रमित सांसदहरु – झलनाथ खनाल – मुकुन्द न्यौपाने – मायादेवी न्यौपाने – पार्वती डिसी चौधरी – राजेन्द्रप्रसाद गौतम – नन्दलाल रोका क्षेत्री – लालबाबु पण्डित – लक्ष्मणलाल कर्ण – नरमाया ढकाल – महेश बस्नेत – रामबाबु यादव – गोपालबहादुर बम – नमीताकुमारी चौधरी – शान्तिमायातामाङ – विनाकुमारी श्रेष्ठ – रेनुका गुरुङ – जुलीकुमारी महतो – रघुवीर महासेठ – किसानश्रेष्ठ – सुरेश कुमार राई – पुष्पाकुमारी कर्ण कायस्थ – भानुभक्त ढकाल – बीना मगर – भरतकुमार शाह – प्रमोद शाह – दीपकप्रकाश भट्ट

उपत्यकामा ३११३ संक्रमित थपिए, अन्य जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३११३ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२७०, ललितपुरमा ४६२ र ३८१ संक्रमित थपिएका हुन् । शनिबार देशभर थप ८४१८ जनामा संक्रमण पुष्टि हुँदा ५३ जनाको मृत्यु भएको छ । यस्तो छ काठमाडौं उपत्यकामा कोरोनाको अवस्थाः शनिबार अन्य जिल्लामा कति संक्रमित थपिए ?

थप ८४१८ जनामा संक्रमण पुष्टि, ५३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । जसमध्ये ८३ हजार ४९३ सक्रिय संक्रमित छन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ३६३२ जनाको मृत्यु हुनेको भएको छ । शनिबार ३३७० निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । शुक्रबार देशभर हालसम्मकै बढी ९१९६ संक्रमित थपिएका थिए । त्यस्तै, बुधबार एकैदिन सबैभन्दा बढी ५८ जनाको कोरोना कारण मृत्यु भएको थियो ।

संवैधानिक परिषद्को बैठक स्थगित गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक स्थगित गर्न आग्रह गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षका नेता कांग्रेस सभापति शेर बहादुर देउवा तथा सभामुख अग्नि सापकोटासमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गरेका हुन् । सम्बन्धित समाचारः ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख र देउवा नजाने संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग माओवादी केन्द्रले अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ । ‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ’प्रचण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।’ शनिबार एक विज्ञप्ति जारी गर्दै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले समेत संवैधानिक निकायमा बलमिच्याई गरी अध्यादेशमार्फत पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य रहेको उल्लेख गर्दै गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न आग्रह गरेका थिए । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन् भने समावेशी आयोगले पनि पूर्णता पाएको छैन । यसअघि संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र सभामुख उपस्थित हुन नमानेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएको थियो । सभामुख र विपक्षी दलका नेताले असहयोग गर्दा संवैधानिक परिषद्ले लामो समयदेखि रिक्त रहेका संवैधानिक पदहरुमा नियुक्तिको सिफारिस गर्न सकेको थिएन । त्यही आधारमा यसअघि सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्मार्फत आयोगमा पदपूर्ति गरेको थियो । अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ । त्यसअघि पाँच सदस्यीय परिषद्ले सर्वसम्मतका आधारमा निर्णय गर्नसक्ने व्यवस्था रहेकोमा अध्यादेश ल्याएर विभिन्न आयोगमा पदपूर्ति गरेको थियो । प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको परिषद् बैठकले पदपूर्तिको सिफारिस गरेको थियो ।

प्रतिनिधिसभाका १८ सांसदमा कोरोना संक्रमण

काठमाडौं । प्रतिनिधिसभाका १८ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ सांसदमा कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ । त्यस्तै, राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको छ । बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसद बैठक बोलाएपछि संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायतकाे पीसीआर परीक्षण गरिएको थियो ।

एकैदिनमा ४ हजार सङ्क्रमितको मृत्यु हुने भारत तेस्रो राष्ट्र

काठमाडौं । भारतमा कोरोना सङ्क्रमणबाट हुने मृत्यु नयाँ उचाइमा पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । एकैदिनमा चार हजार सङ्क्रमितको मृत्यु भएको अमेरिका र ब्राजिलपछि भारत पहिलो राष्ट्र हो । यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी १२ मा अहिलेसम्मकै सबैभन्दा बढी चार हजार ४९० जना सङ्क्रमितको एकैदिनमा मृत्यु भएको थियो । भारतमा सो अबधिमा चार हजार १८७ जना सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतमा पछिल्लो चौबीस घण्टामा चार लाख एक हजार ७८ जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । एकैदिनमा चार लाख बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो । भारतमा हालसम्म दुई करोड १८ लाख सङ्क्रमित सङ्ख्या पुगेको छ । दुई लाख ३८ हजार २७० जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणबाट हुने मृत्यु दर एक प्रतिशत माथि पुगेको छ । हालसम्म एक करोड ७९ लाख सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल ३७ लाख २३ हजार ४४६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

सीएनएनमा प्रधानमन्त्री ओलीको दाबीः नेपालमा कोभिड–१९ महामारी नियन्त्रणमा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको बताएका छन् । शनिबार अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलको प्रत्यक्ष प्रसारणमा जोडिएका प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञालगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी गरे । उनले भावी दिनमा हुनसक्ने संकटलाई मध्यनजर गर्दै विश्व समुदायलाई सघाउन पनि विशेष अनुरोध गरे । उनले सरकारले यसको नियन्त्रणका लागि सक्दो प्रयास गरी रहेको बताए । उनले लापर्बाहीका कारण नेपालमा संक्रमण फैलिएको पनि स्वीकार गरे । महामारीकै बीचमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उनको भनाइ छ ।

लागुऔषधसहित दुई भारतीय पक्राउ

महेन्द्रनगर । लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन् । दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।