नेपालमा वैशाखमा मात्रै थपिए डेढ लाख संक्रमित, १६०८ जनाको मृत्यु
काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो ।
सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।
वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३३४ सङ्क्रमितको आइसियुमा तथा ३७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आइसियुमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १८५ सङ्क्रमितको आइसियुमा तथा १०५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
काठमाडौं उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
वैशाखमा १ हजार ६०८ जनाले ज्यान गुमाए
वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
वैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।
नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढङ्गले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आज आदेश जारी गरेको हो । ‘थप साधनयुक्त अस्पतालहरु सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू’, आदेशमा भनिएको छ, ‘अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू ।’ नागरिकको जीवनसँग प्रत्यक्ष चासो राख्ने सरोकार पक्षको प्रतिनिधित्वसमेत हुने गरी एउटा कार्यसमितिको निर्माण गरी समस्या समाधान प्रभावकारी ढङ्गले गर्न गराउन स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयलाई आदेश दिइएको छ । कोरोना सङ्क्रमणको महामारीबाट बचाउन परमादेशको माग गर्दै अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
थप २२५ जनाको मृत्यु, ९४८३ मा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ । मंगलबार कोरोना भाइरस संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ । तीमध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले विभिन्न मितिका शव व्यवस्थापन गरेको आधारमा थप गरिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । एकै दिन पुष्टि गरिएको र २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै सङ्ख्या हालसम्मकै उच्च हो । यसअघि सोमबार सर्वाधिक ९,२७१ संक्रमित थपिँदा १३९ जनाको मृत्यु भएको थियो । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ छ । पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । आज काठमाडौंमा २,७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई सय भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २६४, मोरङमा ३५०, कास्कीमा ३७०, दाङमा २६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९, सुर्खेतमा २६४ र कैलालीमा २९५ छ ।
आफ्नै नेतृत्वमा सरकार बनाउन समर्थन जुटाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिए । राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ । महतले माओवादी केन्द्र कांग्रेसलाई सघाउनेबारे स्पष्ट रहेको र अन्तिमसमयसम्मा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरदेखि एमालेको माधव नेपाल, झलनाथ खनाल समूहसँग समेत वार्ता गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन दिएको समय अझै रहेकोले पहल गर्ने निर्णय कांग्रेसको छ । राष्ट्रपतिले बिहीबारसम्म समय दिएकी छन्। नेकपा एमालेभित्रका केही सांसदहरू र जसपाले साथ दिने भएकोले नयाँ सरकार बनाउन सकिने कांग्रेस पदाधिकारी बैठकको निश्कर्ष छ ।
मर्स्याङ्दीमा ट्रक खस्दा दाजुभाईको मृत्यु
बाग्लुङ । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतक दुबैजना दाजुभाई हुन् । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
काठमाडौंका ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले मुख्यसचिव डा. शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन टेलिफोनबाट निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसातादेखि नेपाली सेनाले सो केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि कामपाले बजेट र नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् । आइशोलेशन केन्द्र चलेपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा सुमनराज डंगोलले केन्द्रका बारेमा जानकारी गराए ।
सरकारकै कारण कोभिड नियन्त्रण बाहिरः प्रचण्ड
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज यहाँ भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए । उनले भने, ‘अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।’ सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन् । कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उनले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कोरोनाबारे केही शंका छ ? लिनुस् विशेषज्ञ परामर्श (नाम र नम्बरसहित)
भक्तपुर । कोरोना संक्रमितको त्रासमा रहेका र संक्रमित भएकाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल डक्टरर्स लाउन्ज (नेडोल) ले निःशुल्क डाक्टरसँग परामर्श सेवा सञ्चालनमा ल्याएको छ । नेडोलका संस्थापक डा. विवेक सिंहले देशभरका संक्रमितमध्ये ८० प्रतिशत संक्रमितहरु होम आईसोलेसनमै रहेको र अन्य सामान्य लक्षण देखिए पनि कोरोना हो कि भन्ने शंकाबाट प्रताडित रहेको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले डाक्टरहरुको समूह बनाई फोनबाट सेवा प्रदान गर्ने अभियान सञ्चालनमा ल्याएको बताए । होम आईसोलेसनमा बसिरहेकाहरुले रातीको समयमा आफूहरुलाई धेरै समस्या परिरहेको बताउँदै रातीको १२÷१ बजेसम्म पनि परामर्श सेवा लिइरहेको पनि सिंहले बताए । डा. सिंहले पहिलोचरणमा सात जना विशेषज्ञहरुलाई समावेश गरि सुरु गरिएको यस अभियानमा विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञता हासिल गरेका ३० भन्दा बढी डाक्टरहरु समाहित भइसकेको पनि बताए । यथाशीघ्र ५० जना भन्दा बढी डाक्टरहरू समाहित हुने क्रममा रहेको पनि जनाइएको छ । हालसम्म ३ सय भन्दा बढी सेवाग्राहीहरूले डाक्टरको परामर्श सेवा लिइसकेको पनि जनाइएको छ । सिंहले क्याप्टेन विजय लामाको संस्था न्यानोपन र कलाकार निखिल उप्रेतीको समबोधीसँगको सहकार्यमा उक्त अभियान सुरु गरिएको बताए । होम आईसोलेसनमा बसिरहेका संक्रमितहरुको शारिरीक अवस्था भन्दा पनि मानसिक अवस्थाका कारण आफूहरुले उक्त अभियान सञ्चालनमा ल्याएको बताउँदै यस महामारीको समयमा हरेक मानिसले आप्नो ठाउँबाट सानो भए पनि सहयोग गर्नुपर्ने र कर्तव्य पालना गर्नुपर्ने बताउँदै महामारीसँग लड्नुपर्ने बताए । त्यस्तै समबोधीका संस्थापक उप्रेतीले मानिसलाई शारिरीक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने बताउँदै मानसिक स्वास्थ्यका लागि विभिन्न अभियानहरु लिएर आउने बताएका छन् । नेडोलले केहीमहिना अगाडीदेखि डाक्टरहरुको हक हितका विषयमा आवाज उठाउँदै आएको छ । भर्चुअल प्ल्याटफर्मका माध्यमबाट डाक्टर संगठीत भएको संस्था भएको बताउँदै संस्थापक सिंहले नेडोलमा ८ हजार ७ सय भन्दा बढी डाक्टरहरु समाहित भएको बताउँदै आफूहरुको नेपाली जनतालाई कसरी सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा दिने नै प्रमुख उद्देश्य भएको पनि बताए ।
बहराइनका राजकुमारसहितको टोलीले चुम्यो सगरमाथाको चुचुरो
काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् । वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो । पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् । वसन्तयामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।
कालीमाटी तरकारी बजार बन्द
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो । समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन र्यार्क÷होल्डिङ र्यार्कमा कारोबार गर्न निर्देशन दिइसकेको छ । गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप
काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन थप गर्दै निषेधाज्ञा जेठ १३ गतेसम्म लागू गर्र्नेे निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ । अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ । यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो । राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ । ‘महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको छ,’ ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘आदेश उल्लंघन नगर्न, अत्यावश्यक कामबिना बाहिर ननिस्कन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्दछौं ।’ काठमाडौं उपत्यकामा यसअघि वैशाख १६ गतेदेखि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ ।
बाँकेका अस्पतालमा थप १५ कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज । कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरि थप १५ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीका अनुसार उनिहरुको मृत्यु सोमबार रातीदेखि मंगलबार दिउँसोसम्म भएको हो । उनका अनुसार मृत्यु हुनेहरुमा बासगढी नगरपालिका–९ बर्दियाका ७३ वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिक–१० बाँकेका ६८ वर्षिय पुरुष, गुलरिया नगरपालिका–६ बर्दियाका २१ वर्षिय पुरुष, सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षिय पुरुछन् । त्यस्तै बारबर्दिया–६ बर्दियाका ६३ वर्षिया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ बाँकेका ४५ वर्षिया महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ७८ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ । यसैगरि कञ्चनपुर पुनर्वास ३ का ६१ वर्षिय पुरुष, बासगढी बर्दियाकी ४२ वर्षिया महिला र ठाकुरबाबा ३ बर्दियाका ४५ वर्षिय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए । सोही प्रकारले बासगढी नगरपालिका–५ बर्दियाका ६० वर्षिय पुरष र कोहलपुर नगरपालिका–८ बाँकेका ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा बढैयाताल–१ बर्दियाका ८५ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ । यसैगरि एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएर होम आइसोलेसना बस्नुभएका खजुरा गाउँपालिका–२ बाँकेका ८८ वर्षिय पुरुषको समेत मृत्यु भएको छ । योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १४८ जना र बाँकेकै १९७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच देउवा निवासमा मंगलबार मध्यान्न भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नयाँ सरकार गठनबारे छलफल भएको छ । उनीहरुबीच ४० मिनेट भेट बहुमतको नयाँ सरकार बनाउने विषयमा छलफल भएको बताइएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गरेकी छन् । त्यसअनुरुप नयाँ सरकार गठनका कांग्रेस, माओवादी र जसपा लागेका छन् । देउवाले आजै कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । त्यसपछि नयाँ सरकार गठनबारे माओवादी, जसपा, एमालेको माधव कुमार नेपाल समूहसँग छलफल गर्ने तय भएको छ । नयाँ सरकार गठनबारे माओवादी र जसपासँग छलफल गर्न देउवाले बोलाए बैठक
टेकुमा पीसीआर परीक्षण बन्द
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ । अस्पतालले सूचना निकालेर अर्काे व्यवस्था नभएसम्मको लागि पीसीआर परीक्षण बन्द गरेको जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा थप १२ संक्रमितको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार रुपन्देहीका ७ जना, कपिलवस्तुका ३ जना तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जनको मृत्यु भएको हो । मृतक १२ जनामध्ये ११ जना पुरुष र एकजना महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । गौतमका अनुसार उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउँसो मृत्यु भएको हो ।
ट्रकले ठक्कर दिँदा श्रीमान–श्रीमतीको मृत्यु
सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए । शवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

