पौडेलले भने– फेरि न्यायमुर्तिको काधमा जिम्मेवारी आयो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि न्यायमुर्तिको काधमा जिम्मेवारी आएको बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेका बेला पौडेलले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘संविधान पनि वचोस्, जनता पनि वचुन्, न्यायमुर्तिको काधमा फेरि जिम्मेवारी आयो ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद् विघटन अदालतले खारेज गरिदिएको थियो । त्यसतर्फ संकेत गर्दै पौडेलले फेरि न्यायमुर्तिको काधमा जिम्मेवारी आएको बताएका हुन् ।
नेकपा एकीकृत पार्टी दर्ता, माधव नेपाल निकट राई अध्यक्ष
काठमाडौं । नेकपा एमालेभित्रको विवाद चर्किँदै जाँदा निर्वाचन आयोगमा नेकपा एकीकृत पार्टी दर्ता भएको छ । पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको छ । उक्त पार्टी जीवन राईले दर्ता गरेका हुन् । राईं एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर विद्यार्थी नेता मानिन्छन् । संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्वियूका सचिवालय सदस्य थिए । तर, राईंले नेपालको सहमतिमा भने पार्टी दर्ता नगरेको बताएका छन् । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको छन् । राईले दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
कोरोना बिरामीका आँखा बिगार्ने कालो ढुसीको सङ्क्रमण देखा, कसरी जोगिने ?
काठमाडौं । कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन-चारवटा रिपोर्ट आएको छ।” उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ। भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो। म्यूकोर्माइकोसिस कसरी हुन्छ? कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ। रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यान भन्छन्, “म्यूकोर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ। यो एउटा स्पोरको रूपमा हुन्छ।” नाङ्गो आँखाले देख्न नसकिने ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आक्रमण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन्। फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा. उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ। “म्यूकोर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ। कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि जटिलता निम्त्याउँछ,” उनले थपे। रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार म्यूकोर्माइकोसिसका कारण आँखा नै गुमाउनुपर्ने अवस्था निम्तिन सक्छ। “यदि समयमै यसको उपचार गराइएन भने दृष्टि गुम्ने मात्रै होइन आँखा नै झिकेर फाल्नुपर्ने अवस्था आउन सक्छ,” उनी सजग गराउँछन्। “यो कालो ढुसीले हाम्रो आँखा भएको खोपिल्टोलाई सङ्क्रमित गर्छ। आँखाभित्र त्यसले मासुको जस्तो काम गर्छ जसका कारण हाम्रो आँखा नै बाहिर आइदिन्छन् र काटेर फाल्नुपर्ने हुन्छ।” यसका लक्षण कस्ता हुन्छन्? मान्छेको मस्तिष्कमा सङ्क्रमण पुगेको खण्डमा टाउको दुख्ने, बान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिने डा. तुल्स्यान बताउँछन्। “यदि फोक्सोमा सङ्क्रमण पुगेको छ भने नाकबाट सिँगान बग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र छिटो थकाइ लाग्ने लक्षण देखिन सक्छ,” उनले भने। त्यसका साथै सङ्क्रमित व्यक्तिका आँखा सुन्निने तथा दुख्ने, नाक बन्द हुने र नाकबाट कालो पदार्थ पनि आउने लक्षण देखिन सक्ने डा. सिंह बताउँछन्। “विशेषगरी एकपट्टिको आँखा वा नाक अथवा एकापट्टिको साइनसमा यसको प्रभाव देखिन्छ,” उनले थपे। वीरगन्जमा देखिएका घटना वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. सिंहका अनुसार एक साताअघि पहिलो पटक एक ६७ वर्षीय कोभिड बिरामीमा म्यूकोर्माइकोसिसको लक्षणहरू फेला पारिएको थियो। “उहाँ मधुमेहको बिरामी हुनुहुन्थ्यो। कोभिडको उपचार हुँदै गर्दा सात दिनपछि उहाँमा आँखा दुख्ने समस्या देखियो। त्यसपछि आँखा सुन्निँदै गयो र आँखाबाट रगत आउने समस्या पनि देखियो,” उनले भने। “म्यूकोर्माइकोसिसको शङ्कास्पद बिरामी लागेर हामीले परीक्षण गर्ने भन्यौँ। तर त्यो गर्न नपाउँदै उहाँ बित्नुभयो।” रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार केही दिनअघि अर्का एक कोभिड बिरामीमा पनि म्यूकोर्माइकोसिसका लक्षण देखिएपछि थप उपचारका लागि काठमाण्डू पठाइएको थियो। कोभिडका बिरामीहरू निको भएर बिस्तारै फर्किन थालेकाले म्यूकोर्माइकोसिसको समस्या आउँदा दिनमा थप देखिन सक्ने जोखिम रहेको डा. सिंह औँल्याउँछन्। धेरै जोखिम कसलाई हुन्छ अहिले कोभिड-१९ का बिरामीको उपचारका क्रममा स्टेरोइडको अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम औँल्याउँछन्। “यो एन्टी-फङ्गल औषधि हो। यो खानेहरूमा म्यूकोर्माइकोसिसको समस्या देखिन्छ। हामीकहाँ बिरामीको शरीरमा अक्सिजनको मात्रा अलिकति घट्दा समेत स्टेरोइडको प्रयोग गरेको देखियो जुन त्यति आवश्यक थिएन,”उनले भने। मधुमेहका रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा यो समस्या बढी देखिने गरेको रेटिना विशेषज्ञ डा. तुल्स्यान बताउँछन्। “अहिले आएर कोभिड-१९ थपिएको छ। कतिपय कोभिड बिरामीले १० दिन र कतिपयले १२ दिनसम्म पनि स्टेरोइड प्रयोग गरिरहेको पाइएको छ।” “त्यसमा पनि यदि कोभिड बिरामी मधुमेहको बिरामी छ भने घातक अवस्था हुन जान्छ। मधुमेह, कोभिड र स्टेरोइड यी तीनवटाको घातक संयोग हुने भयो,” उनले थपे। चिकित्सकको परामर्शबिनै स्टेरोइडको अत्यधिक प्रयोगले पनि कोभिड बिरामीमा म्यूकोर्माइकोसिस भएको हुन सक्नेमा रेटिना विशेषज्ञ डा. तुल्स्यान पनि सहमत देखिन्छन्। त्यसबाहेक श्वासप्रश्वासमा समस्या देखिने कोभिड बिरामीलाई ‘ह्यूमिफाइड’ अर्थात् ओसयुक्त अक्सिजन दिने गरिएकाले निस्सङ्क्रमित नगरिएको उपकरणबाट पनि सङ्क्रमण सर्न सक्ने सम्भावना उनी औँल्याउँछन्। कसरी जोगिने र उपचार के छ रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ। “कोभिड भयो कि घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्ने गरेको पाइएको छ। चिकित्सकको परामर्शबिना त्यसो गर्नुभएन,” डा. तुल्स्यान भन्छन्। त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मिर्गौला रोगी आदिले चनाखो हुनुपर्ने डा. सिंह बताउँछन्। “उहाँहरूले आफ्नो नियमित परीक्षण गराइराख्नुपर्छ। स्टेरोइडको प्रयोगको सीमिततालाई बुझ्नुपर्ने हुन्छ।” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गरिन्छ। “हामीले कालाजारमा त्यसको प्रयोग गर्दै आएका छौँ। केही त हामीसँग छ तर फेरि यता प्रयोग गर्नुपर्ने भएपछि कालाजारका लागि जोहो गर्नुपर्ने हुन्छ,” उनले भने। भारतमा कालो ढुसीबाट सङ्क्रमित हुने कोभिड बिरामी बढ्न थालेसँगै कतिपय ठाउँमा उक्त औषधिको अभाव देखिएका विवरण सार्वजनिक भएका छन्। बीबीसी नेपाली
राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका विज्ञप्ति देखिए
काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका विज्ञप्ति देखिएका छन् । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएपछि कार्यालयले वेबसाइट डेभ्लपर्सलाई के भएको हो भनी सोधेको थियो । वेबसाइट डेभ्लपसको सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए । जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको थियो । राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएका विज्ञप्तिलगायतका अन्य सूचना हराएका थिए । वेबसाइटमा शनिबार राति १ः४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः ३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको थियो । उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो । बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए ।
प्रतिनिधिसभा विघटनको कदम असंवैधानिकः प्रजातान्त्रिक विचार समाज
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले एक विज्ञप्ति जारी गरी मुलुक कोरोना महामारी सङ्कटमा फसेको बेलामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको बताएक हुन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा घोषित निर्वाचन जनस्वास्थ्यका दृष्टिले अमानवीय र कानूनी दृष्टिले असंवैधानिक रहेको छ’, विज्ञप्तिमा भनिएको छ । पार्टीभित्रको झगडाले संसद् विघटन गर्नु गलत काम भएको अध्यक्ष केसीको भनाइ छ । समाजले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले संसद्मा विश्वासको मत नै नलिई उपधारा ५ अनुसार अर्को प्रधानमन्त्री नियुक्तिको बाटो अख्तियारी गर्नु नै प्रथम दृष्टिमै अवैधानिक भएको बताएको छ । तटस्थ र स्वतन्त्र भूमिकामा रहेर संविधानको अभिभावकत्व ग्रहण गर्नुपर्ने राष्ट्रपतिले मध्यरातमै हतारहतार प्रधानमन्त्रीले गरेको सिफारिस कार्र्यान्वयन गर्नुले उक्त संस्थाबाट संवैधानिक दायित्व पूरा गर्न नसकेको समाजले बताएको छ । अध्यक्ष केसीले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई पाँच वर्षसम्म सरकार चलाउन प्राप्त जनादेशलाई बीचमै खण्डित गरी झण्डै दुईतिहाइ नजिक रहेको सरकार तीन वर्ष चलाउन नसकेर पटकपटक मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री ओलीको कदम मुलुकलाई राजनीतिक स्थिरता दिने खालको नभएको बताए ।
राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ १ यता अपलोड भएका सबै विज्ञप्ति अचानक हराएपछि…
काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएका विज्ञप्तिलगायतका अन्य सूचना हराएका हुन्। वेबसाइटमा शनिबार राति १ ः४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः ३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको छ। उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो। बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए। यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए। ु
माधव नेपाल समूहद्वारा अर्को पार्टी खोल्ने निर्णय
काठमाडौं, । अन्ततः नेकपा एमालेमा विभाजन हुने निश्चित भएको छ । नेकपा एमालेका वरिष्ठ नेता नेपालले अधिकतम प्रयास गर्दा समेत पार्टी एकता जोगाउन नसकिएको भन्दै नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन । ‘हामीसँग अरु विकल्प नभएपछि नयाँ पार्टी दर्ता गर्ने निर्णयमा पुगेका छौं। यस विषयमा अन्य हिसाबले पनि छलफल जारी छन्’, नेता नेपालले भनेका छन्,‘एमालेमा रहन सक्ने अबस्था आएन।’ नेपाल पक्षको उच्च स्रोतका अनुसार पार्टीको नामका विषयमा टुंगो लगाउन आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखिने भएको छ। केही महिना अघि विभिन्न जिल्लामा समानान्तर गतिविधि र कमिटी गठन गरेको नेपाल समूहले सोहीलाई नयाँ पार्टीका जिल्ला र प्रदेश तहका कमिटी कायम गर्ने भएको छ। ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनका लागि यस्तो निर्णयमा पुगका हौं, अब बृहत एकीकृत कम्युनिस्ट गठबन्धनका लागि पनि हामी मोर्चा कस्नेछौं’, नेपालले भनेका छन्। कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा नेता नेपालले कार्यदलकाे भूमिका समेत नभएकाे बताएका छन् । कार्यदल बनिसकेपछि सल्लाह नगरी एकलाैटी निर्णय गरिएकाे उनकाे आराेप छ । पढ्नुस विस्तामा एमाले फेरि फुटको दिशामा लागेको हो ? केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ । तपाईंहरूकै चाहिँ कुरा के हो त ? ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं । तपाईंको समूहका स्थायी कमिटी सदस्यहरू अहिले नि एकै ठाउँमा हुनुहुन्छ र ? को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्यौं । यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने हो ? स्वाभाविक हो नि । तर तपाईंहरूले शुक्रबार गरेको निर्णयले त न प्रतिनिधिसभा जोगियो, न एमाले जोगाउन सक्नुभयो, घाटा त यहाँहरूलाई नै भयो हैन ? प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो । लोकतन्त्र जोगाए मात्र न कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने हो । लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ? तपाईंहरूले पनि समयमै निर्णय गर्न त नसक्नुभएकै हो नि ? निर्णय गर्न त सबै पाक्नुपर्यो । यत्तिकै निर्णय गरेर भएन । लोकतन्त्र जोगाउने भन्ने तर आफ्नो पार्टी अध्यक्षलाई हराउन अर्को पार्टीकालाई सहयोग गर्ने दोहोरो चरित्र भयो भन्ने आक्षेप छ, स्पष्टीकरण नै सोधिएको छ ? हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु ! पार्टी एकताका लागि गठन भएको कार्यदल के हुन्छ ? त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन ? सोध्दै नसोधी संसद् विघटन गर्ने ? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ?
संसद विघटनविरुद्धको प्रदर्शन र कोरोनालाई मध्यनजर गर्दै आजदेखि देशभरि कडाई, अटेर गरे १ वर्ष जेल हुनसक्ने
काठमाडौं । सरकारले देशमा विकशित राजनीतिक घटनाक्रम र काेराेना महामारीलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि कडा निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभयो । गृहस्थित सुरक्षा महाशाखाका अनुसार भीडभाडलाई पूर्ण निष्तेज गरिएकाले प्रशासन त्यसमा सक्रिय रहने छ । अहिले आइपरेको राजनीतिक घटनाक्रम अनुसार बाहिर हुन सक्ने जुलुश, प्रदर्शन पनि यही अध्यादेश अन्तर्गत पर्नेछन् । निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । सोही अनुसार कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । अध्यादेश बमोजिम दिइएको आदेश उल्लंघन गरे प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्नेछन् । व्यक्तिले उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, संस्थाले उल्लंघन गरेमा पाँच लाखसम्म जरिवाना गर्न गरिने व्यवस्था गरिएको छ । मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमतिबिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न प्रहरीले सक्नेछन् । अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिनासम्म बन्द गरिदिन पनि सक्ने छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरु आजै सर्वोच्च जाने, सबैलाई नागरिकता लिएर उपस्थित हुन निर्देशन
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरु सर्वोच्च अदालत जाने भएका छन् । शनिवार संयुक्त बैठक बसेर राजनीतिक र कानुनी लडाईं लड्ने घोषणा गरेका दलहरु आज अपरान्ह सर्वोच्च जाने भएका हुन । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी र माधव नेपाल समूहका सांसदहरुलाई दिउँसो नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको छ । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार, कानुन व्यवसायीहरुले आवश्यक कागजपत्र तयार गरिसकेपछि सकेसम्म आजै सर्वोच्चमा रिट दर्ता गर्ने विपक्षीको तयारी छ । सबै सांसदहरूलाई नागरिकता लिएर उपस्थित हुन भनिएको छ । आज अपरान्ह १२, १ बजेतिर संसद भवनमा सबै तयारी गरेपछि उनीहरु सर्वोच्च अदालतमा जाने छन् । शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्। वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै उक्त निर्णय गरिएको भन्दै दलहरूले विरोध गरिरहेका छन्। देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकारको दाबी गरेका थिए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफूसँग रहेको भन्दै वैकल्पिक सरकारको दाबी गरेका थिए।
भारतीय दूतावासपछि बालुवाटार प्रवेश गरे राजेन्द्र महतो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । राजदूत क्वात्रासँग भेट गर्न महतो आज काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । स्रोतका अनुसार आज बिहान १०ः५० देखि मध्याह्न १२ः४० बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुरसँगै महतो शनिबार बेलुका बालुवाटार पुगेका थिए । वरिष्ठ नेता राजेन्द्र महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्न आज साँझ बालुवाटार प्रवेश गरेका हुन् । उनीहरूबीच बेलुका सवा ७ बजेदेखि भेटवार्ता भएको स्रोतले जनाएको छ ।
सिन्धुलीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
सिन्धुली । सिन्धुलीमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरूले आज साँझ पुत्ला दहन गरेका हुन् । सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुलीमाडीको शान्ति नगर चोकमा कांग्रेस युवा समूहले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए आन्दोलन चर्काउने उनीहरूले चेतावनी दिएका छन् । कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयू लम्ब्याउन गरिएको प्रपञ्चलाइ कदापी नस्वीकार्ने युवाहरूको भनाइ छ । ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
ओलीलाई गगन थापाको जवाफ- गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो’ भन्दै जवाफ दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर प्रयोग गरेकोमा प्रधानमन्त्री ओलीले चित्त दुखाएका थिए । उनले बालुवाटारमा आयोजित एक कार्यक्रममा देउवाको भाषा सभ्य नभएको टिप्पणी गरेका थिए । ओलीको भाषण सुनेपछि कांग्रेस नेता थापाले ओलीलाई ‘बिचरा’ भन्दै दयासमेत देखाएका छन् । ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड,’ थापाले फेसबुकमा लेखेका छन् ,‘सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’
झापालीहरू पढ्न र परीक्षा दिन मन गर्दैनथे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन र आचरणविपरीतका अभ्यासले आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताएका छन् । उनले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको जनाउँदै विश्वासघातीहरू जहिले र जहाँ पनि हुने गरेको बताए । ‘अदालतले पार्टी फुटाएको हैन, पार्टी दर्ता गर्न जानुपर्ने बेला नगएर पार्टी दर्ता नभएको हो’, ओलीले भने । प्रधानमन्त्री निवास बालुवाटारमा ऐतिहासिक बर्रे संघर्षका क्रममा लामो समय कारागर बसेका अर्घाखाँचीका क्रान्तिकारी बुद्धिबहादुर रायमाझीद्वारा लिखित ‘पञ्चायती जेलमा १३ वर्ष’ कृति लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले अग्रजहरूले गरेका दुःखकष्ट बिर्सन नहुने विचार व्यक्त गरे । उनले रायमाझी मिलनसार, देश र जनताप्रति समर्पित तथा आफू जलेर अरुलाई उज्यालो दिने व्यक्तित्व भएको बताए । कारागार संगतका क्रममा आफूले रायमाझीलाई अध्ययनशील पाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बुद्धिबहादुर, नारद भारद्वाज, वेदुराम भुसाल र प्रभाकृष्ण पौडेलजस्ता केही साथी जेलमा पढ्नभयो र निस्कने बेला ज्ञानको खजाना लिएर निस्कनुभयो ।’ कारावासका अनेकौँ अनुभव सुनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘जेलमा संख्यामा झापालीहरू बढी र बर्रे संघर्षका साथीहरू कम थिए, झापालीहरू पढ्नु र अझ परीक्षा दिनुलाई बुर्जुवा शिक्षामा मोह राखेको भनेर पढ्न मन गर्दैनथे तर बर्रे संघर्षका साथीहरू पढ्नमा विश्वास गर्थे । नारद वाग्ले र वेदुरामले पिएचडी नै गर्नुभयो । अहिले पनि राम्रो अंग्रेजीका लागि प्रभाकृष्णलाई सम्झिइन्छ ।’ रायमाझीको प्रस्तुत संस्मरणमा उनले कारागार जीवनमा आर्जन गरेको ज्ञान प्रतिविम्बन भएको जनाउँदै प्रधानमन्त्री ओलीले ती निबन्धमा पर्याप्त मात्रामा विम्ब, प्रतीक तथा अभिव्यञ्जना रहेको बताए । दृष्टान्तका लागि ओलीले बुद्धिबहादुरले नाम दिएको ‘काठमाडौंँको लोकप्रिय मासु’ को उल्लेख गर्दै उनले भने, यसमा एक जनावरविशेषको चित्र उपस्थित भइहाल्छ, साहित्यलाई प्रभावशाली बनाउन यस्ता विम्ब र प्रतीकको महत्वपूर्ण भूमिका हुन्छ ।’ ‘कोहीकोही नेता किन छोटो अवधिमै छुट्छ, कोही कार्यकर्ता किन वर्षौसम्म जेलमा बस्नुपर्छरु किनभने निस्कने ढोका सानो हुन्छ र नेता निहुरिएर त्यस ढोकाबाट बाहिरिन्छ, कार्यकर्ता निहुरिन नमानेर जेलमै बस्छ’, विश्वासघाती नेताहरूको चरित्र बताउँदै उनले भने, ‘कार्यकर्ताले त नेताबाट स्नेहको अपेक्षा गर्छन् ।’ ओलीले त्यागी र संघर्षशील नेताकार्यकर्ताका भुक्तभोगी परिवारलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूले चित्त बुझाउनुस्, त्यो त्याग हो, लगानी होइन । त्यागले लगानीको जस्तो प्रतिफल खोज्दैन । त्यो देश र समाजले हासिल गरेको उपलब्धिमा प्रतिविम्बित हुन्छ । तपाईंहरूले यसरी चित्त बुझाउनुपर्छ ।’
एमालेले स्पष्टिकरण सोधेका ११ सांसद (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । स्पष्टिकरण सोधिएका सांसद : १. झलनाथ खनाल २. माधवकुमार नेपाल ३. भीमवहादुर रावल ४. मुकुन्द न्यौपाने ५. रामकुमारी झाँक्री ६. सरला यादव ७. पुष्पाकुमारी कर्ण ८. कलिला खान ९. निरादेवी जैरु १०. लक्ष्मी कुमारी चौधरी ११. कल्याणी खड्का
८९८० संक्रमित थपिँदा १२९ जनाको मृत्यु, ८८४८ निको
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । जसमध्ये १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ । शनिबार ८८४८ जना संक्रमणमुक्त भएका छन् । निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।
संसद् विघटनविरुद्ध सबै प्रकारका संघर्ष गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्ध सबै प्रकारको संघर्ष अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको बैठकले उक्त निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले संसद् विघटनविरुद्ध सबै विपक्ष पार्टीसँग एकतावद्ध भएर अगाडि बढने बताए । साथै राजनीतिक र कानूनी लडाइँ लड्ने पनि श्रेष्ठले बताए । कोरोना महामारीलाई मध्यनजर गर्दै तत्काल सडक संघर्ष भने नगरिने माओवादी केन्द्रले जनाएको छ । बैठकले प्रतिगमनका नायक राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई परास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकले स्थानीय स्तरसम्म कोरोनासँग जुट्न कमिटी गठन गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

