तयार भयो आफैंले कोरोना परीक्षण गर्न मिल्ने किट

सउल : दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैंले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

यो किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चित हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परिक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलहरूमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस-२५, सेभेन इलाभेन, इ-मार्टलगायत २४ घण्टे पसल बाटै सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात झण्डै १ हजार नेपाली रुपैयाँ पर्छ ।

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई सकारात्मक आए सेल्फ आइसोलेशन बस्ने तथा थप पीसीआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अबलम्बन गरेको बताईएको छ ।

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौं । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्‍याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् । बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ । यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले राज्यबिरूद्धको अपराध गरे, कारवाही अघि बढोस्ः भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जानीजानी राज्यबिरूद्धको अपराध गरेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले जानीजानी राज्यबिरूद्धको अपराध गरेकोले तत्काल संसद्को विशेष अधिवेशन आव्हान गरि कारवाही अघि बढाउन माग गरेका छन् । उनले संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हुने दाबी गरेका छन् । संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेका छन। तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरि कारवाही अघि बढोस् । — Bhimarjun Acharya (@BhimarjunPhD) May 15, 2021 उनले अगाडि भनेका छन्, ‘धिक्कार छ !…. अब पदको, संविधानको, लोकको कुनै आदर र कदर बाँकी रहेन ।’ शुक्रबार शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ भन्न लगाए पनि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई निर्देशन दिएका थिए । त्यसपछि खिस्स हाँसेर राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश पालना गर्दै शपथ अगाडि बढाएकी थिइन् । जसको अहिले सर्वत्र आलोचना भइरहेको छ ।  

केन्द्रीय समितिलाई कोरोना संकट व्यवस्थापन समितिमा बदल्ने वाईसीएलको निर्णय

काठमाडौं । वाईसीएलले कोरोना संकट व्यवस्थापनमा सिंगै संगठनलाई परिचालन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा भएको वाईसीएल नेपालको पदाधिकारीको जुम बैठकले उक्त निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले सिंगै केन्द्रीय समितिलाई कोरोना संकट व्यवस्थापन समितिमा बदल्ने, प्रदेश तथा जिल्लाहरुमा रोकथामका लागी भोकल पर्सनहरु तोक्ने, सबै स्थानहरुमा एम्बुलेन्सको व्यवस्थापन गर्ने, अक्सिजनको सहजिकरण तथा आईसोलेशनहरुको व्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै संगठनले तोकेको राष्ट्रिय तथा प्रादेशिक भेलाहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको सापकोटाले बताए ।

नेपाललाई आपत्कालीन सहयोग आवश्यकः डब्ल्यूएचओ

काठमाडौं । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् । शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन् । डा. गेहब्रेयससले भने, ‘डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।’ नेपालमा हालको सङ्क्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ । गएको दुई सातामा नेपालमा एक लाख १० हजार ७६५ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । त्यस्तो सो अवधिमा १,३७१ जनाको मृत्यु पुष्टि भएको छ ।

सुरुङभित्र मजदूरको मृत्यु भएपछि अरुण तेस्रोको काम ठप्प

किमाथाङ्का । सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सञ्चालन गर्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए । विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए । शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदारहरु आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताए । अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताए । मृत्यु भएका मजदूरको शव परिवारले जिम्मा लिए पनि विद्युत् गृहको निर्माण कार्य शुरु हुन सकेको छैन । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । नेपाल सरकारले सुरक्षाको प्रत्याभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने उनले जानकारी दिए । जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरेकाले काम गर्न असहज भएको उनको भनाइ छ । कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम एसजेभिएनले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ । विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् ।

कोभिड अस्पताल बनाउन कांग्रेसले दियो भवन

डोटी । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको र उपचार गर्नमा असहज भएको खबरपछि कांग्रेसले उक्त निर्णय गरेको हो । सङ्क्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरिएको पार्टी जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालले स्रोतसाधन जुटाएर चिकित्सकसहित आफ्नो पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्ने निर्णय भएको सभापति देउवाले जानकारी दिए । पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्नका लागि यहाँको शिखर नगरपालिकाले आफ्ना तर्फबाट १० श्यया उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सीताराम जोशीले जानकारी दिए । यसैगरी उक्त नगरपालिकाले बाहिरी जिल्लाको शव व्यवस्थापनका लागि घाट र दाउरासमेत उपलब्ध गराउने बताइएको छ । कोरोना सङ्क्रमितको उपचारमा सहजताका लागि नगरपालिकाले जिल्ला अस्पताललाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख धौलदेवी रावलले जानकारी दिए । कोभिड अस्थायी अस्पतालका लागि कांग्रेसले उपलब्ध गराएको भवनमा आवश्यक सामग्रीसहित कोरोना सङ्क्रमितको उपचारका लागि तयारी गरिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए । यहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण पाँच जनाको ज्यान गइसकेको छ ।

भारतमा दैनिक थपिने सङ्क्रमित संख्या घट्दै

काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाख २६ हजार ९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ लाख ९३ हजार ९३ नमूना परीक्षण गरिएको छ । शुक्रबार चौबीस घण्टामा तीन लाख ४३ हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको थियो । समाचार संस्था एएनआईका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ४३ लाख ७२ हजार ९०७ पुगेको छ । भारतमा हाल ३६ लाख ७३ हजार ८०२ जना सक्रिय सङ्क्रमित छन् । भारतमा शनिबार एकै दिन तीन लाख ५३ हजार २९९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । भारतमा पछिल्लो चौबीस घण्टामा तीन हजार ८९० सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या दुई लाख ६६ हजार २०७ पुगेको छ । भारतमा हाल कर्नाटका र महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभाबित राज्य हुन् । महाराष्ट्रमा हाल पाँच लाख २१ ह्जार ६८३ सक्रिय सङ्क्रमित छन् । कर्नाटकामा पाँच लाख ९८ हजार ६२५ जना सक्रिय सङ्क्रमित छन् । कोरोना बिरुद्धको खोप लगाउनेको संख्या १८ करोड नाघेको छ । भारतीय औषधी विज्ञान परिषद्का अनुसार हालसम्म १८ करोड चार लाख ५७ हजार ५७९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।  

जसपाको भट्टराई–यादव पक्षले बोलायो कार्यकारिणी समिति बैठक

काठमाडौं जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ । राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जसपाका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राइले जानकारी दिए । यसअघि बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए । जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । ती मध्ये रेशम चौधरी जेलमा छन् । कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग बहुमत छ ।

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ । पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताए । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

निषेधाज्ञाले नपुगेपछि चन्द्रागिरी नगरपालिका एकसातालाई सिल

काठमाडौं । काठमाडौं उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एकसाता अवधिभरका लागि नगरपालिका सिल गरेको छ । आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि साँझ ५ बजे सम्म सर्वसधारणलाई हिँडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिका वडा कार्यालय, नगरबाट संञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संसथहरु निजी सम्पूर्ण कार्यालयका सेवा पूर्णरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो । खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि संञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी संञ्चालन गर्न दिइने भएको छ । यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाले वैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सीमाबाट फर्काउनुपर्ने सवारीसाधनहरु धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन्। शनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ। एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै संञ्चालन भएका छन् । सर्वसाधारण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ। राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिँड्ने सर्वसाधारणहरु देखिएका छैनन् । नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने वैशाख २८ गते काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइने छ ।

बाँकेमा थप ५ सङ्क्रमितको मृत्यु

बाँके । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको हो । यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका वडा नं. ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका वडा नं.१० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । योसँगै बाँकेमा कोभिड सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ र जिल्लाकै २२९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।

माधव नेपालसँग वार्ता भएकै दिन ११ देशका राजदूत नियुक्तिकाे सिफारिस

काठमाडौं । एकलौटी र तानाशाही प्रवृत्ति भन्दै माधव नेपाल समूहबाट आलोचना खेपिरहेका केपी ओलीले पार्टीसँग छलफल नै नगरी ११ देशका राजदूतमा नियुक्ति सिफारिस गरेका छन् । माधव नेपाल समूहले राजनीतिक नियुक्तिबारे पार्टीभित्र छलफल हुनुपर्ने भन्दै तत्कालिन नेकपा अस्तित्वमा रहेको बेला ओली सरकारको चर्को आलोचना गरेको थियो । बिहिबार माधव नेपाल समूहले राजीनामा नदिएकै कारण केपी ओली सरकारले निरन्तरता पाएको थियो भने शुक्रबारका दिन ओली र नेपाल समूहबीच पार्टी एकताबारे थप छलफल भएको थियो । यद्यपी सरकारले भने सोही दिन नै दुई जना कुटनीतिज्ञ सेवा बाहेकका अन्य राजदूतमा राजनीतिक नियुक्ति गरेको हो । यस विषयमा कान्तिपुर दैनिकले प्रकाशन गरेको समाचार यहाँ प्रस्तुत गरिएको छ । पढ्नुस समाचार … काठमाडौँ — परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । ‘लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने । परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् । सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो । तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ भने अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित छिन् । उनी वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् । उनी बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजकसमेत हुन् । यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर (जंगब) चौहान प्रस्तावित छन्, जंगब काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत छन् । यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा परेका छन् । प्राध्यापक संग्रौला झापास्थित सहिद रामनाथ बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा विगतमा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीतिशास्त्रका प्राध्यापक हुन् । यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेपाल पाल्पाका पूर्वसांसद हुन् भने सुवेदीको विस्तृत परिचय खुल्न सकेको छैन । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् । सधैंजसो एउटा राजदूतले गरेको कामकारबाहीको ‘कार्यसम्पादन मूल्यांकन’ का आधारमा राजदूत नियुक्ति वा पदावधिबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म यस्तो प्रबन्ध हुन सकेको छैन । गत सातामात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई ‘अर्को निर्णय नहोइन्जेलका लागि कार्यकाल थप गरिएको’ थियो । यी निर्णयमा पनि राजदूतको कार्यसम्पादन मूल्यांकन हेरिएको थिएन । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्नेछ ।

जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति

काठमाडौं : नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए । त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ । बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए । वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि बाहिरिँदा प्रधानमन्त्रीका कार्यालयअगाडि पत्रकारहरुलाई हात हल्लाउँदै गाडी चढेर फर्केका थिए । झण्डै तीन घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ । बैठक अघि अध्यक्ष ओलीले आफूपक्षीय नेतासँग सिंहदरबारमा छुट्टै छलफल गरेका थिए ।

कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन आह्वान

कठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन सबैलाई आह्वान गर्नुभएको छ । शुुक्रबार सपथग्रहण गरे लगत्तै सिंहदरवारस्थित मन्त्रालयमा पुुगेर पदभार ग्रहण गर्नु भएका उहाँले कोभिड संकटले जनतालाई प्रताडित तुल्याएको उल्लेख गर्दै ती समस्या समाधानमा केन्द्रित भएर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक अभियन्ता, संघ, संस्था, उद्योगी व्यवसायी सबैलाई आग्रह गर्नु भयो । त्यस अवसरमा मन्त्री गुरुङले कोभिडले ल्याएको संकट समाधानका लागि ‘कोभिड फोकस’ कार्यक्रम तत्काल ल्याई कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । “कोभिडका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको छ, संक्रमणको प्रताडना व्यहोर्नु परिरहेको छ,” मन्त्री गुरुङले भन्नुभयो, “त्यसो हुन नदिन मन्त्रालयले भोभिड फोकस कार्यक्रम तत्काल घोषणा गरी कार्यान्वयन गर्नेछ ।” उहाँले मन्त्रालय मातहतका सबै निकायलाई कोभिड संकट समाधानमा केन्द्रित भएर काम गर्न पनि सचेत गराउनु भयो । पदभार ग्रहण गर्दै उहाँले ‘एनटीभी समृद्धी यात्रा’ कार्यक्रम पनि स्वीकृत गर्नुभएको छ । समृद्ध नेपालः सुुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा हने गरी एनटिभीबाट कार्यक्रम प्रशारण गर्न सो कार्यक्रम स्वीकृत गरिएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो । सञ्चारको माध्यामबाट, विकासको माध्यामबाट, सामाजिक रुपान्तरणको माध्यामबाट र समावेशी सहभागिताको माध्यमबाट कसरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नु भएको समृद्धिको गन्तव्यमा पुुग्न सकिन्छ भन्ने कुरालाई सञ्चारको माध्यमबाट अघि बढाउन सो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको समक्ष नेतृत्वमा मुलुक समृद्ध हुने उल्लेख गर्दै त्यसमा प्रतिवद्ध भएर लागिपर्ने पनि दोहोर्‍याउनुभयो । उहाँले पहिलो कार्यकालमा आफूूले पूरा गर्न नसकेका दूर सञ्चार, आमसञ्चार, हुलाक सेवालगायतको कामलाई छिट्टै पूरा गर्ने कार्ययोजना रहेको जानकारी दिनुभयो । सो अवसरमा मन्त्रालयका सचिवसचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङको सबल नेतृत्वमा आफूहरुको मन्त्रालयको कामलाई अघि बढाईरहेको उल्लेख गर्दै मन्त्रालयलाई नमुनायोग्य मन्त्रालयको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्रबाट साभार

नेपाललाई आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय निकायलाई देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड-१९ को सङ्क्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूलाई आवश्यक सहयोगका लागि अपिल गर्नुभएको छ । साथै उहाँले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्नुभएको छ । सभापति देउवाले आज वक्तव्यमार्फत कोभिड-१९ को सङ्क्रमण तीव्र भई देशभरका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू शय्या र औषधिको अभाव भएको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउनुभएको छ । उहाँले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै देशभरिका कांग्रेस सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै सङ्कटमा परेकालाई सक्दो सहयोग गर्न अपिलसमेत गर्नुभएको छ ।