माधव नेपाल पक्षका नेतालाई एमालेबाट निष्कासन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वउपाध्यक्ष भीमबहादुर रावलसहितका नेताहरुलाई निष्कासन गर्ने तयारी गरेको छ

स्रोतका अनुसार शनिबार अपरान्ह ४ बजे बस्ने एमाले स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्री नेपाल र पूर्व उपाध्यक्ष रावललगायतका नेतालाई निष्कासन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा अनुपस्थित हुने अर्का नेता योगेश भट्टराईलाई भने कारवाहीको सूचीबाट हटाइएको छ ।

नेपाल नेतृत्वको ‘समानान्तर समूह’का नेताहरु पूर्व उपमहासचिव घनश्याम भुसाल, पूर्वसचिव गोकर्ण विष्ट, नेता सुरेन्द्र पाण्डेलाई भने तत्काल निस्कासनको निर्णय गर्ने कि नगर्ने भन्ने टुंगोमा पुगिसकेका छैनन् ।

त्यस्तै, राष्ट्रियसभा सदस्यको वागमती प्रदेशमा भएको उपचुनावमा पार्टीका उम्मेद्वार रामबहादुर थापालाई हराउन भूमिका खेल्ने एमाले पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेलाई पनि एमाले स्थायी कमिटीको शनिवार बस्ने बैठकले कारवाहीको प्रक्रिया थाल्ने छ ।

उनीहरुलाई वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबारै बसेको बसेको संसदीय बोर्डले शाक्यसहित १४ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिसकेको छ ।

कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खानाको व्यवस्था

काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना सङ्क्रमितलाई निःशुल्क खाना खुवाइएको हो । विपद्को समयमा कोरोना सङ्क्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले विगत चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीलाई खानाको व्यवस्था गरिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । यस्तै सोही संस्थाको सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित बिरामीलाई आजदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ । सभापति केसीले सम्बन्धित अस्पतालका चमेनागृहले कोरोना सङ्क्रमित बिरामीलाई खाना खुवाउने र खाना खुवाउँदा लाग्ने आवश्यक खर्च नुवाकोट कांग्रेस, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनले व्यहोर्ने बताए ।

‘भेरोसेल’को दोस्रो मात्रा आजदेखि सुरू

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौं जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौं सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरे । उनका अनुसार काठमाडौं जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो । काठमाडौं महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिकामा तीन खोप केन्द्र, कीर्तिपुर, बूढानीलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका दुई÷दुई खोप केन्द्र, कागेश्वरीमनहरा, तारकेश्वर शङ्खरापुर र दक्षिणकालीमा एक÷एक खोप केन्द्र रहेका छन् । कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले आज, चैत २९ र ३० गते लगाएकाले यही जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ । यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।

ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता सुरू

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता सुरू भएको छ । ओली र नेपालबीच आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा एक्लाएक्लै भेटवार्ता सुरू भएको हो । उनीहरूले एमाले विवाद समाधानका लागि गठन गर्ने भनिएको कार्यदलबारे टुङ्गो लगाउने बताइएको छ । यसअघि एमाले विवाद समाधानका लागि ओली र नेपालले छुट्टाछुट्टै तथा दुबै समूहका नेताहरूले छलफल गरेका थिए । गत शुक्रबार ओली र नेपाल पक्षका नेताहरूको बैठकले कार्यदल बनाउने अधिकार अध्यक्ष ओली र नेता नेपाललाई दिएका थिए । नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका छन् ।  

प्रधानमन्त्री ओलीसहितको सीसीएमसी बैठक सिंहदरबारमा जारी

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो । बैठकले कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप निर्णय लिने बताइएको छ । मन्त्रिपरिषद्ले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सीसीएमसीको सिफारिसमा निर्णयहरु गर्दै आएको छ । प्रधानमन्त्री ओलीले शनिबार, स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा छलफल गरेका थिए ।

मध्यपूर्वका मुलुकहरुबाट गैरआवासीय नेपालीले पठाएका ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं । मध्यपूर्वका मुलुकहरुबाट गैरआवासीय नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डरहरु नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य मन्त्रालयमा ति सिलिण्डरहरु स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई आइतबार हस्तान्तरण गरिएको हो । गैर आवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार ति सिलिण्डरहरु सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा एक–एक सय, लुम्विनीमा २ सय, प्रदेश २ मा ८५ तथा गण्डकीमा ७५ वटा पठाउन अनुरोध गरिएको छ । ओमान, यूएई, कतार, साउदी अरब, कुबेत र बहराईनलगायतका खाडी मुलुकहरुमा रहेका एनआरएनए राष्ट्रिय समितिहरुले त्यहाँ कार्यरत श्रमिकहरुसँग चन्दा संकलन गरेर ति सिलिण्डरहरु नेपाल पठाएका हुन् । एनआरएनए ओमानको संयोजनमा ओमानमा ७५ लाख रुपैयाँ बराबरको सिलिण्डर खरिद गरिएको थियो ।

निषेधाज्ञामा जुवातास खेल्ने जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन् । पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।

चीनले दिएका १८ हजार खाली सिलिन्डर तातोपानी नाका पुगे

काठमाडौं । चीन सरकारले दिने १८ हजार खाली अक्सिजनका सिलिन्डर तातोपानी नाकामा आइपुगेका छन् । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ । यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

कोरोना समस्याबारे कांग्रेसले ७ वटै प्रदेशमा अनलाईन अन्तर्क्रिया गर्ने

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा सातै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । आजदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको कांग्रेसले जनाएको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा भर्चुअल कार्यक्रम गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । यसैगरी भोलि गण्डकी र वाग्मती प्रदेशमा अन्तक्रिया हुँदैछ । त्यस्तै जेठ ४ गते प्रदेश नं. १ र २ का नेता कार्यकर्तासँग छलफल हुँदैछ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहने कांग्रेसले जनाएको छ । सबै प्रदेशको संयोजन गर्ने जिम्मा सहमहामन्त्री एवं कांग्रेसको कोभिड—१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतलाई दिइएको छ ।

कोरोना सङ्क्रमणबाट पत्रकार रईश साईको मृत्यु

नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् । वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण २४२ जनाको मृत्यु भएको छ । वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार सङ्क्रमणका कारण ज्यान गुमाउने १०१ महिला र १४१ पुरुष हुनुहुन्छ । बाँके जिल्लाका मात्र ७३ महिला र ९४ पुरुषको सङ्क्रमणकै कारण मृत्यु भएको छ । जिल्लामा करिब चार हजार सक्रिय सङ्क्रमितले विभिन्न संस्थागत तथा होम आइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् । करिब तीन हजारभन्दा बढी सङ्क्रमित होम आइसोलेशनमा रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताए । रासस

कोराना नियन्त्रणको बिन्ती गर्दै देवीलाई बली चढाइयो

जाजरकोट । कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो । नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।” यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताउनुभयो मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताउनुभयो । पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उहाँले बताउनुभयो । गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ ।

मोरङमा छुरा प्रहार गरी व्यवसायीको हत्या, दुई पक्राउ

मोरङ : मोरङको लेटाङमा छुरा प्रहार गरेर शुक्रबार राति एक युवाको हत्या गरिएको छ । आपसी विवादका क्रममा दुई जना युवाले छुरा प्रहार गर्दा लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ-३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८ः४५ बजेतिर उनीमाथि छुरा प्रहार गरेका हुन् । लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गी घाइते भएका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा राति १०ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गरी फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्या गरिएका राई लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईको हत्यामा संलग्न दर्जी र लिम्बू ट्याक्टरका मजदुर हुन् । उनीहरुलाई राईले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेको र लामो समयदेखि काम गरेको पैसा नदिएपछि छुरा हानेको प्रहर समक्ष उनीहरुले बयान दिएका छन् । पैसाको विषयलाई लिएर दुवै जनाले राईसँग विवाद सुरु गरेको र त्यही विवाद उग्रबन्दै गएर हत्यासम्मको घटनामा परिणत भएको पाइएको जानकारी डीएसपी राईले दिए ।

भोजले निम्त्याएको कोरोना संकटः एकै परिवारका चार जनाको मृत्यु

बागलुङ : बागलुङमा कोरोना संक्रमणको कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका-४ जलजलामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा आयोजित विवाह भोजमा सहभागी चारै जनाले कोरोनाकै कारण ज्यान गुमाएका हुन । बैशाख ११ गते भोजमा सहभागी सोही परिवारकी छोरी बडिगाड गाउँपालिका-५ कि ५३ वर्र्षीया महिलाले शनिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको मृत्युसँगै एक परिवारका चार सदस्यले ज्यान गुमाउनु परेको हो । बैशाख १७ सोही परिवारका ज्येष्ठ सदस्य ८७ बर्षिय पुरुष, बैशाख ३० गते ४० बर्षिय छोरा र बैशाख ३१ गते ५१ बर्षिय एक छोराको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । दश दिनको अवधिमा एकै परिवारका चार सदस्यले कोरानाकै कारण ज्यान गुमाए पछि गाउँ नै शोक मग्न भएको स्थानीय विष्णु भुषालले जानकारी दिए । मृतक सबैमा कोभिड-१९ र निमोनियाको समस्या देखिएको थियो । वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिन भित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । बिबाहमा सहभागी भएका मध्ये एकै परिवारका चार जना सहित अरु दुई जनाको समेत मृत्यु भएको छ । अझै केही अस्पतालमा उपचाररत छन । केही घर घरमै बिरामी परेको भुषालले बताए ।

प्रहरीको सक्रियतामा २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर वितरण

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये ३२६ भरिएका र ३४७ खाली छन् । प्रहरीले आज सङ्कलन गरेका ६७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७६७ सिलिन्डरमध्ये शनिबार ५८५ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी रहेका १८२ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको उनले जानकारी दिए । महामारीको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि सिलिण्डर स्टक नगर्न अनुरोध गर्दै प्रहरीले तथा विभिन्न कम्पनी, सङ्घसंस्था तथा व्यक्तिसँग आवश्यकताभन्दा बढी सिलिन्डर भए उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ । यसैबीच आज प्रहरीले विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्ने ५ हजार ७९५ जनालाई होल्डमा राखी छाडेको छ । सो क्रममा ७०५ गाडी र एक हजार ५१४ वटा मोटरसाइकल गरी दुई हजार २१९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा दुई हजार ११ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

धनगढीलाई हराउँदै काठमाडौंले जित्यो एनएसएलको उपाधि

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ । आज भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले समूह चरण र प्ले अफमा व्यहोरेको हारको मिठो बदला मात्र लिएन, उपाधि पनि उचाल्यो । काठमाडौंको जितमा मेसौके ओलुमोउ नायक साविक भए । उनले खेलको २१औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए । धनगढीका विशाल राईबाट काठमाडौंका विश्वास श्रेष्ठले सटिक पास उपलब्ध गराएका थिए। जुन पासमा मेसौकेले चुकेनन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनले आठ गोल ग रे। पहिलो गोल गरेपछि काठमाडौं आक्रमक बनेको थियो । तर, फिनिसिङमा सफल भएन। सुदील राईले खाली पोस्टमा गोल गर्न चुक्दा स्टेफिनङ बनोङको फिकिङ बाहिरियो । उपाधि जितेसँगै काठमाडौंले लिग चरण र प्लेअफमा धनगढीसँग भोगेको पराजयको बदला समेत लिन सफल भएको छ । जितसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ । धनगढीले १५ लाखमै चित्त बुझाउन बाध्य भयो ।

निगमको जहाज आजै बेइजिङ जाने, चार दिन दैनिक ५५० सिलिण्डर ल्याइने

काठमाडौं  : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अक्सिजन सिलिन्डर ल्याउँन आज चीनको राजधानी बेइजिङ जाने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइड बडी जहाज आज साँझ काठमाडौँ फर्किने निगमले र बेलुका चीनका लागि उडान भर्ने छ । निगमको वाइड बडी जहाज आज राति ११ः०० बजे बेइजिङ्ग उडान भर्न लागेको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ । उक्त प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाज ‘ए’ ३३० उडान नं आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति बेइजिङ उड्दैछ । मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक ५५० सिलिन्डर ल्याइनेछ । काठमाडौं-बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल आउने जनाइएको छ । निगमको वाइड बडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो । रासस