बाबुराम भट्टराईमा देखिएको ट्यूमर क्यान्सरजन्य नभएको पुष्टि, भोली नेपाल फर्किने

नयाँ दिल्ली । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा देखिएको न्यूरो–इण्डोक्राइनिक ट्युमर खतराजन्य नभएको पुष्टि भएको छ ।

हर्मोन उत्पादन गर्ने कोषमा विकास भएको ट्युमर क्यान्सरजन्य नभएको पुष्टि भएको उनका सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् ।

“पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ ।” सामाजिक सञ्जालमार्फत पाण्डेले जानकारी दिएका छन् ।
उनले अगाडि लेखेका छनः

वायोप्सी, DOTA NOC परीक्षण, Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् ।

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराउनुभएको छ ।
अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उहाँले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिनुभएको थियो ।

अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कनुहुनेछ ।

तनहुँ कारागारका कैदीबन्दीबीच झडप हुँदा चारजना घाइते

तनहुँः तनहुँ कारागारमा रहेका कैदीबन्दीबीच आईतबार झडप भएको छ । ५ बजे उनिहरुबीच विवाद पछि हातहालको अवस्था आएपछि प्रहरीले नियन्त्रणमा लिई छुट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार ४जना सामान्य घाईते भएको र उनिहरुलाई दमौली अस्पतालमा उपचार पछि कारागारमा नै ल्याईएको छ । झगडा गर्ने कैदीबन्दीबीच पछि पनि झगडा गर्ने जोखिम भएकोले अन्यन्त्र नै स्थानान्तरण गर्ने सम्भावना रहेको तनहुँ कारागारले जानकारी दिएको छ । कैदीबन्दी मनमुटाव भई झगडा हुनुको कारणबारे अनुसन्धान भईरहेको हाल सामान्य अवस्था रहेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। केही वर्ष पनि तनहुँ कारागारमा झडप भएपछि झडपमा सग्लनलाई अन्यन्त्र कारागारमा स्थानान्तर गरिएको कारागार प्रशासनले जनाएको छ ।

कोरोनाका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु

काठमाडौंः कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड-१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए। सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा २ लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि बिहानदेखि साँझसम्म खुल्ने

काठमाडौंः पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि ९ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकामात्र खुला गरी २ वटा लाइनबाट भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गराउने व्यवस्था मिलाइएको छ । महाशिवरात्रिदेखि पशुपतिका चारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ । गत वर्ष चैत ११ गते अघिसम्म मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गरिन्थ्यो । दिउँसो पशुपतिनाथलाई भोग लगाएपछि भने बेलुकी ५ बजेसम्म मूल मन्दिर बन्द गर्ने परम्परा छ । महाशिवरात्रिदेखि यही परम्परा अनुसार गर्ने गरी तयारी सुरु भएको कोषले जनाएको छ । कोरोना महामारी जारी नै रहे पनि यस वर्ष पशुपतिनाथ मन्दिरमा आउनेजति भक्तजनलाई दर्शन गराउने गरी पशुपति क्षेत्र विकास कोषले तयारी सुरु गरेको छ । तयारीका लागि आज कोषका महाशाखा एवम् शाखा प्रमुखबीच छलफल गरिएको निर्देशक भोलाप्रसाद सिटौलाले राससलाई जानकारी दिए। गत बुधबार पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनिको पीठिकामा सुनको जलहरी राखिएकाले पनि यस वर्ष महाशिवरात्रिमा धेरै भक्तजन आउने अनुमान कोषले गरेको छ । महाशिवरात्रिको तयारीका लागि सुरक्षा निकायसँग कोषले छलफल गरिरहेको जनाएको छ । यस वर्ष कोरोनाको जोखिम कायमै रहेकाले महाशिवरात्रिमा पशुपति क्षेत्र आउने भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । भौतिक दूरी कायम गराउन असहज हुने देखिएपनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले भक्तजनसँग आह्वान गरेको सदस्य सचिव डा. प्रदीप ढकालले बताए । महाशिवरात्रिका दिन भक्तजनलाई विगत वर्षहरूमा जस्तै चार स्थानबाट लाइन लगाएर सहज रुपमा दर्शनको व्यवस्था गराइने छ । मूल मन्दिरभित्र भने भौतिक दूरी कायम गराइने उनले बताए। विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर स्थापनाको तयारी भएको छ । गुठी संस्थानसँगको सहकार्यमा महाशिवरात्रिमा पुशपति आउने साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउनेलगायत व्यवस्थापन पनि गरिँदैछ । दर्शनार्थीलाई सहज रुपमा चन्दन बाँड्ने व्यवस्था गरिनेछ । महाशिवरात्रिदेखि रसिद काटेर गरिने विशेष पूजा पनि शुरु गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । कोरोना महामारीका कारण विशेष पूजा गत वर्ष चैतदेखि नै बन्द भएको थियो । कोषको नेतृत्वमा तामझाम नगरी आएका भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी गरिएको पनि उनले बताए।

नासु चन्दसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै ८ हजार रुपैयाँ घुुस दिन लगाएको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले अर्जुन सुवेदी, नरेन्द्रबहादुर चन्द र रामबाबु दाहालविरुद्ध नै समान बिगो कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सप्तरी, कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख हरिचन्दर ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामका लागि १५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

नेप्सेमा करिव ८० अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल झरेको छ । कारोबारको अघिल्लो दिन अर्थात गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७९.७४ अंक अर्थात ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ५.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६८ अंक घटेको छ । नेप्से ओरालो लागे पनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

विप्लव नेतृत्वको समूहसँगको वार्ता छिट्टै सफल हुन्छः प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताएका छन् । आइतबार झापाको कमल गाउँपालिका ६ झर्कामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या समाधान भएर खुशी साटासाट गरेको देख्न सक्नुहुनेछ ।’ उनले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए । दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदमः रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए । उनले आफूहरको मुख्य लडाइँ भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए । उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारे । रावलले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे । उनले भने, ‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ । केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ । पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन् ।’ नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको ह्विप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाए । उनले भने, ‘हजोसम्म कारबाही नगरेको एक जना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन्, बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ । हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए ।’ उनले लोकतन्त्रको रक्षाको लागि सडकमा आउने सबै शक्तिसँग सहकार्य गरिने सुनाए । उनले भने, ‘हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं ।’ ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको भनाई छ । उनले अहिले ओलीले नेतृत्व गरेको पार्टी नै नभएको भन्दै गुटको संज्ञा दिए । रावलले अब को प्रधानमन्त्री हुन्छ ? भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए । उनले भने, ‘प्रधानमन्त्री को हुन्छ ? भन्ने हाम्रो विषय होइन । सर्वोच्च अदालतले यत्रो फैसला गरेको छ, हाम्रो पार्टी नेपाली कांग्रेस जसपा दल, नागरिक समाजसँग सहकार्य गर्न चाहन्छ । हामीलाई मन्त्री हुने, प्रधानमनत्री हुने हतारो छैन । कानून हाम्रो पक्षमा छ । हामीले हतारो नगरेको हो । राष्ट्रिय हितलाई माथि राख्नुपर्यो । अहिले हामी छलफलमा भएकोले हतारो नगरेको हो ।’ प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता नहुने रावलको भनाई छ । उनले एमससीसी पारित गर्ने भनेर हल्ला गरिएको पनि गुनासो पोखे ।

कोरोना अपडेटः ८१ संक्रमित थपिँदा ४८ निको, २ को मृत्यु

काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ९६७ सक्रिय संक्रमित छन् । आइतबार ४८ जना निको भए । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७७३ पुगेको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरूवा हुन पाउने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको छ । गत पुस २० गतेदेखि जिल्लान्तर सरूवा रोक्का थियो । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो । जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ ।

ओली एक मिनेट पनि सत्तामा बस्न लायक छैनन्ः गोकर्ण विष्ट

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओली एक मिनेट पनि सत्तामा बस्नलायक नभएको टिप्पणी गरेका छन् । नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले सर्वोच्च अदालतले हराउँदा समेत पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताए । ‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्न लायक हुनुहुन्न । यो नैतिकता पनि होइन,’ उनले भने । नेता विष्टले नेकपाको आधिकारिताको पुष्टि आफ्नो पार्टीमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने बताए । उनले पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको भन्दै निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न पनि आफूहरुले नै पाउने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने दावी गरे ।

सभापति देउवाद्वारा डा.उप्रेतीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको उल्लेख गरेका छन् । सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौंमा निधन भएको थियो । विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार भोगेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा विसं २०१८ मा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्ष चिकित्सा सेवा गरेका थिए । आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनीबाट निःशुल्क उपचार पाउने गरेका थिए । उनको आजै पशुपतिमा दाहसंस्कार गरिएको छ । स्व उप्रेतीका छोरा प्रा डा सञ्जीव उप्रेती हुन् ।

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् । उनलाई यति एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित कार्यकर्तालेस्वागत गरे । प्रधानमन्त्री ओलीले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्नेछन् । यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए । त्यसपछि प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ वटा पुलको एकैचोटी शिलान्यास गर्नुहुने थापाले बताए । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै यति एयरको जहाजबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

स्वस्थानी व्रत समापन

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम शनिबार बेलुकी नै समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए । जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकैको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ । विधिपूर्वक एक महिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन शनिबार १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ प्रसाद पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानीदेवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए । उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि आज बिहान स्नानलगायत कर्म गरी समापनको तयारी गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।  

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।

हेर्नुस्, अवहेलना मुद्दामा प्रचण्डले पेस गरेको लिखित जवाफ (पूर्णपाठसहित)

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि परेको अवहेलना मुद्दामा सर्वाेच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । आइतबार बिहान अदालत पुगेर प्रचण्डले लिखित जवाफ पेस गरेका हुन् । प्रचण्डले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए । सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । पूर्णपाठ: