संसद् पुनःस्थापनाले जनता र लोकतन्त्रको जित भयोः योगेश भट्टराई
काठमाडौं । नेकपा नेता योगेश भट्टराईले संसद् पुनःस्थापनाले जनता र लोकतन्त्रको जित भएको बताएका छन् ।
उनले भनेका छन्, ‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ । मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।’
संसद् विघटन बदर
सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद् विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,’ फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए । सर्वोच्च अदालतको पूर्ण पाठ आइसकेको छैन ।
छात्रा बेहोसः महिनावारी हुँदा विद्यालय आएको भन्दै पूजा गर्ने तयारी, परिक्षा पनि सारियो !
बैतडी । पढ्न गएका छात्राहरु दिनदिनै बेहोस हुन थालेपछि ‘छाउ’(महिनावारी) भएको बेला विद्यालय जाने गरेको भन्दै अभिभावक र शिक्षकले क्षमा पूजा गर्ने तयारी गरेका छन् । बैतडीको दशरथ चन्द नगरपालिका–१० रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यायमै बेहोस् हुन थालेको विद्यायले जानकारी दिएको छ । छात्राहरु बेहास हुन थालेपछि फागुन १२ गतेदेखि सञ्चालन हुने परीक्षा १६ गते सम्मका लागि सारिएको विद्यलायका प्रधानाध्यापक गोपाल जोशीले बताए । प्रधानाध्यापक जोशीले भने, ‘दुई चार दिन पहिले तीन जना छात्रा बेहोस भएर काँप्न थाले । फागुन ९ गतेका दिन त ११ जना छात्राहरु एकै चोटी कामे । त्यसपछि लगातार सबै छात्रा काम्न थालेका छन् । यसले गर्दा विद्यालयको पढाई नै प्रभावित बनेको छ । १२ गतेबाट सुरु गर्ने भनिएको परीक्षा १६ का लागि सारेका छौं ।’ स्थानीय अभिभावकले दानेश्वर नागार्जुन मन्दिरका नामबाट स्थापना भएको विद्यालयमा महिनावारी भएका छात्राहरु आउने गरेकोले क्षमा पूजा गर्न आग्रह गरेको प्रधानाध्यापक जोशीले बताए । जोशीले भने, ‘केही अभिभावकले छाउ हुँदा विद्यालय जाने गरेकोले यस्तो भएको भन्दै छन् । स्थानीयवासीले दानेश्वर नागार्जुन देवता प्रति अगाध विश्वास गर्ने गरेका छन् । अभिभावकको मन शान्तिका लागि भए पनि पूजारी बोलाएर क्षमा पूजा गरि दिने भनेको छु ।’ यद्यपि, देउताकै कारण छात्राहरु बेहोस भएका हुन् भन्ने कुनै ग्यारेन्टी नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नुपर्ने प्रधानाध्यापक जोशीले बताए । विद्यालयमा चिकित्सकको टोली पठाई दिन नगरपालिकासँग आग्रह गरिएको उनले बताए । छात्राहरु बेहोस हुन थालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबारसम्म चिकित्सकको टोली खटाइने बताए । डाक्टर जोशीकाअनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको बताए । डाक्टर जोशीले भन्नुभयो, ‘किशोर अवस्थामा हुने शारीरिक विकाससँगै मनमा अनेक कुरा आउँछन् । पूरा हुनन् सक्ने कतिपय कुरा मनमै दबाएर राख्दा चेतन मश्तिष्कले त्यो कुरालाई शारीरिक लक्षणका रुपमा व्यक्त गदिन्छ । यस्तो बेलामा मनोपरामर्श नै उपचारको विधि हो । ’ विद्यालयका छात्राहरु बेहोस भएको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले यसअघि यस्तै प्रकारको समस्या पञ्चेश्वर गाउँपालिकाको जेबलकट्ट, दशरथचन्द नगरपालिकाको गुरुखोला र सिगास गाउँपालिकाको चौखाममा पनि देखिएको बताए । समन्वय इकाइ प्रमुख अवस्थीले मनोपरामर्श गरेपछि यो समस्या समाधान हुने भएकोले महिनावारीका कारणले यस्तो भएको भनेर अभिभावकले भ्रमपाले आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
ओलीको चेतावनीः संसद् पुनःस्थापना हुँदा के हुन्छ अदालतलाई थाहा छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरोरुपमा सर्वोच्च अदालतलाई चेतावनी दिएका छन् । मंगलबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं प्रधानमन्त्री ओलीले घुमाउरोरुपमा सर्वोच्च अदालतलाई चेतावनी दिए । उनले संसद् पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको जिकिर गरे । उनले भने, ‘सर्वोच्च अदालतबाट जस्तोसुकै परिस्थिति आएपनि स्वीकार गर्छु भन्नु रक्षात्मक भयो भनिन्छ । तर संसद पुनःस्थापना भयो भने के हुन्छ त्यो अदालतलाई पनि थाहा छ ।’ जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न आफू तयार भएर हिँडेको भन्दै उनले डिफेन्सिफ नभएको दाबी गरे । ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्नेगरी नआउने विश्वास व्यक्त गरे । ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए ।
११० संक्रमित थपिँदा १०२ निको, ४ को मृत्यु
काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार १०२ जना निको हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ । हाल १ हजार ५३३ जना आइसोलेसनमा छन् भने ६५ जना क्वारेन्टाइनमा छन् ।
ट्याङ्करबाट पेट्रोल खन्याउँदै गर्दा आगलागी
सङ्खुवासभा । चैनपुर नगरपालिका ७ जिरो पोईन्ट नजिकै रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । ट्याङ्करबाट पेट्रोल खन्याउँदै गर्दा अचानक लागेको आगो पम्पमा सल्किएको थियो । उक्त पेट्रोल पम्प स्थानीय अनुप श्रेष्ठको रहेको छ । मंगलबार दिउँसो भएको आगलागीले पेट्रोल पम्पमा भएको तेल र पम्प नजिकै रहेको कर्मचारी बस्ने ५ तले घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए । आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण संकलन भईरहेको जनाइएको छ ।
सुरक्षा परिषदलगत्तै मन्त्रिपरिषद् बैठक, के विषयमा भयो छलफल ?
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बिहान ९ बजेदेखि बसेको बैठक केहीबेर अघि मात्रै सकिएको हो । बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई लगाईएको प्रतिवन्ध फुकुवा गर्न हुने नहुने, चुनाबी सुरक्षालगायतमा छलफल भएको बताइएको छ । अहिलेको जटिल राजनीतिक अवस्थामा बसेकोसुरक्षा परिषद् बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । खासगरी राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन परिषद्को बैठक बस्ने गरेको छ । तर, रक्षा मन्त्रालय स्रोतले भने आज बसेको बैठकलाई नियमित भनेको छ । सुरक्षा परिषद्को बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेकाे छ । उक्त बैठकमा विप्लव समूहबारे छलफल भएको छ । प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । उनले एक–दुई दिनभित्रै वार्ता आह्वान हुने र त्यसका लागि सरकारले वातावरण पनि बनाउने बताए ।
हामी हिंसात्मक र रक्तपात विनाको युद्धमा छौं, जित्नुपर्छः प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले आफूहरू अहिले युद्धमा रहेको बताएका छन् । उनले अहिलेको युद्ध हिंसात्मक र रक्तपातपूर्ण नरहेको बताए । मंगलबार काठमाडौंमा नेकपा युवा नेता तिलकराज भण्डारीले लेखेको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले भने, ‘अहिले हामी प्रतिगमनविरुद्ध नयाँ प्रकारको देशव्यापी युद्धमा छौं । त्यो हिंसात्मक र रक्तपातपूर्ण हैन ।’ उनले अहिलेको युद्ध संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओलीले हारिसकेको दाबी गरे । उनले भने, ‘युद्ध ओलीले हारिसके । हामीले जित्नुपर्छ ।’ संसद् विघटनपछि उक्त मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास सछ।’
पदबाट राजीनामा दिएको छैनः महान्यायाधिवक्ता खरेल
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा नदिएको बताएका छन् । केही अनलाइनमा उनले पदबाट राजीनामा दिएको समाचार प्रकाशित भएपछि विज्ञप्तिमार्फत राजीनामा नदिएको स्पष्ट पारेका छन् । विज्ञप्तिमा खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख छ ।
आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।
निर्वाचन सामग्री खरीदका लागि बोलपत्र आह्वान
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ । अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन सामग्री ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरिएको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा आगामी वैशाख १७ गते र दोस्रो चरणको वैशाख २७ गते हुने गरी गत पुुस ५ गते नै घोषणा गरेको थियो । यद्यपि निर्वाचनका विषयमा सर्वाेच्च अदालतमा परेको मुुद्दा भने किनारा लाग्न अझै बाँकी छ । आयोगले ती सामग्री खरीद गर्न आज सात दिनको सूचना प्रकाशन गरेको छ । सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुुसार खरीद प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापन गर्न असम्भवप्रायः भएको जनाउँदै आयोग ऐन, २०७३ बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए । ग्राह्य बोलपत्रदातालाई सूचनामा तोकिएका आवश्यक कागजात र प्रक्रिया पु¥याई अधिक मात्रामा सहभागिता जनाएर स्वच्छ, स्वस्थ्य र प्रतिस्पर्धामा सहभागी हुन आयोगले आग्रह गरेको छ । आयोगका अनुुसार छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), छपाइसम्बन्धी( पोलबुुक तथा कार्ड), सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप(रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुष्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन(कालो र रातो), मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको हो । तीन आर्थिक वर्षको औसत कारोवारको न्यूनतम अङ्कलाई आधार मानेर ती समाग्री खरीदका लागि रु १४ करोड चार लाख मूूल्यबराबरको सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिएको सूचनामा जनाइएको छ । तोकिएको निर्वाचन सम्पन्न गर्न अर्जुुनदृष्टिका साथ अघि बढेको आयोगले पछिल्लो समय निर्वाचन तयारीको प्रारम्भिक कार्यलाई तीव्र तुुल्याएको छ ।
ताजा जनादेशमा जानुको विकल्प छैनः उपप्रधानमन्त्री पोख्रेल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोख्रेलले अहिलेको अवस्थामा ताजा जनादेशमा जानु नै सबैको हितमा हुने बताएका छन् । प्रेस संगठन नेपाल, चितवन शाखाले आज (मंगलवार) भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोख्रेलले ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प भएको बताए । ‘बैशाख १७ र २७ गते निर्वाचन हुँदैछ, यो निर्वाचन ताजा जनादेशका लागि हुँदैछ’, उनले भने, ‘ताजा जनादेशमा जानुनै हामी सबैको हित हुन्छ । यसले नेपाली जनताले आफुले इच्छाएको पार्टी र प्रतिनिधिलाई मतदान गरेर बिजयी बनाउने अवसर आएको छ ।’ ताजा जनादेशमा जाने बिषय असंवैधानिक र अलोकतान्त्रिक नहुने भन्दैउनले भने, ‘ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन्छ ? चुनाव टार्ने चुनाव हुन नदिने कोशिसहरुलाई पो त्यसरी भन्न सकिन्छ ।’ उनले चुनावमा सबै दल सहभागी हुने पनि बताए । उनले रानीजितिक स्थायीत्व र विकासका लागि नै हिजोको दिन पार्टी एकता गरिएको भएता पनि पुनः संकट आइपरेकोले अहिले ताजा निर्वाचन मार्फत ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनले निर्वाचनका लागि निर्वाचन आयोग र सुरक्षा निकायहरुले पनि तयारी गरिरहेको जानकारी दिए । सो क्रममा बोल्दै पोख्रेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नै सुर्य चुनाव चिन्ह पाउने बताए । निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह खारेज गर्ने कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सुर्य चिन्ह पाउँछन् भनेर हामी विश्वास गर्दनौं ।’ उपप्रधानमन्त्री पोख्रेलले अन्तरविरोध र ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति कारण नै अहिलेको अवस्था सृजना भएको उनको भनाई थियो ।
पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् । नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ। मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो । चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भारतको नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान भर्ना भएका हुन् । उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार भट्टराईकाे आज दिनभर उनलाई अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराईले सोमबार स्वास्थ्य समस्याको विषयमा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । भट्टराई स्वास्थ्योपचारका लागि आइतबार दिल्ली गएका थिए । के हो बाबुरामलाई लागेको रोग ? उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए । बाबुराम भट्टराईको शरीरमा न्युरो–इन्डोक्राइनमा ट्युमर देखिएको आशंका गरिएको छ । चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ । यो ट्यूमर घातक पनि हुनसक्छ । इण्डोक्राइन प्रणाली भनेको हाम्रो शरीरमा हर्मोन उत्पादन गर्ने प्रणाली हो । हर्मोन भनेका एक किसिमका रसायन हुन । जुन यिनै इण्डोक्राइन प्रणालीसँग सम्बन्धित कोषबाट उत्पादन भएर रगतसँगै शरीरका अन्य अङ्गमा पुग्ने गर्दछन् । यसरी हर्मोन नै उत्पादन गर्ने कोषिकाहरुको डिएनएमा समस्या आउँदा यसले कोषलाई म्यूटेशन गर्न थालेपछि त्यसले ट्यूमरको रुप लिन जान्छ । यी ट्युमरहरु शरीरको जुनसुकै भागमा पलाउन सक्छन् । तर खासगरी आन्द्रा, आमाशय, पित्तथैली, फोक्सो आदिमा यी देखिन सक्छन् । यी ट्युमरहरु कुनै चाहिँ शरीरको अन्य भागमा फैलिने हुन्छन् । त्यस्ता ट्युमरहरु क्यान्सर हुनसक्छन् । तर शरीरमा नफैलिने तर त्यहीँ मात्रै बढ्ने प्रकृतिको भएको खण्डमा यी ट्युमरहरु सजिलै निकाल्न सकिन्छ । या जुन अंगमा पलाएको छ, त्यो अंगसँगै झिक्न सकिन्छ । हर्मोन उत्पादन गर्ने कोषमा नै ट्युमर पलाउने हुँदा त्यस्तो ट्युमर पलाएको कोषले हर्मोन उत्पादन गरिरहेको छ कि छैन भन्ने कुराले यो ट्युमर कति घातक छ भन्ने कुरा निर्धारण गर्दछ । जस्तो कि ट्युमर पलाएको कोषले नै हर्मोन समेत उत्पादन गरिरहेको अवस्थामा त्यो शरीरका अन्य भागमा फैलिन सक्छ । यो रोग किन हुन्छ भन्ने कुरा अहिलेसम्म ठोसरुपमा पत्ता लाग्न सकेको छैन । तर कतिपयले यसलाई आनवंशिक पनि भनेका हुन्छ । ट्युमर कुन स्थानमा पलाएको छ, यो फैलिने प्रकृतिको छ कि छैन ? जस्ता कुराले यसको सफल उपचार हुने या नहुने कुरा निर्धारण गर्दछ । विश्वमा यस्तो ट्युमर घातक नभएका कैयन बिरामी निको भएका छन् । भारतका अभिनेता इरफान खानलाई पनि यही ट्युमर भएको थियो । उनले लण्डनमा उपचार गरेपनि निको भने हुन सकेन ।
प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेट : ‘रहस्यमय र अर्थपूर्ण’
काठमाडौं । देशको राजनीति जटिल मोडमा पुगेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको भेटवार्तालाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । सोमबार दिउँसो करिब सवा १ बजे सेनापति थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग करिब १ घण्टा भेटवार्ता गरे । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमाथि प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा निर्णय लिनुपर्ने निर्णायक दबाब परिरहेका बेला सेनापति अन्य कारण देखाउँदै अदालतभित्र छिरेका थिए । सेनाका बहालवाला एवं पूर्वअधिकारीहरूका अनुसार यस्तो खालको भेटवार्ता यसअघि कहिल्यै भएको थिएन । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस फागुन ७ गते सकिएपछि अब केही दिनमै त्यससम्बन्धी फैसला आउँदै छ । प्रधानमन्त्री केपी ओलीले फैसला आफ्नो प्रतिकूल आएमा अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने घोषणासमेत गरिसकेको छन् । पूर्वरक्षामन्त्री पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले स्वतन्त्र देशको सार्वभौमसत्ताको रक्षकको भूमिकामा रहेको, गौरवमय इतिहास बोकेको सेना यस किसिमको राजनीतिक विवादबाट टाढै बस्नुपर्ने सुझाव दिए । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अहिलेको संवेदनशील घडीमा यस किसिमको भेट उचित नरहेको बताए । ‘यस्तो महत्त्वपूर्ण मुद्दाको फैसला गर्ने बेलामा सुरक्षा निकायका प्रमुख र न्यायालयका प्रमुखबीच अन्य नियमित कार्यक्रममा बाहेक भेट हुने गरेको छैन,’ पूर्वन्यायाधीश केसीले भने, ‘सुरक्षा फौजका कमान्डरले यस्तो संवेदनशील घडीमा भेट्नु राम्रो पनि हुँदैन । यसले अनावश्यक शंका जन्माएको छ ।’ यसबारे दुवै पक्षले विज्ञप्ति निकालेर स्पष्ट पार्नुपर्ने उनको धारणा छ । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओली आइतबार सैनिक मुख्यालय गएका थिए । त्यहाँ राष्ट्रिय सेवा दलद्वारा आयोजित ‘स्वयंसेवक भूमिकामा एनसीसी क्याडेट्स’ विषयक सेमिनारमा उनी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट हुँदा राजनीतिक विषयमा कुराकानी भए–नभएको स्पष्ट भने छैन । तर प्रधानमन्त्री ओलीलाई भेटेकै भोलिपल्ट प्रधानसेनापति थापा सर्वोच्च अदालत पुग्नुलाई सुरक्षाविद्हरूले पनि अर्थपूर्ण रूपमा लिएका छन् । सुरक्षाविद् गेजा शर्मा वाग्ले प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वोच्च अदालत परिसरभित्र यस्तो भेटवार्ता हुनुलाई ‘रहस्यमय र अर्थपूर्ण’ मान्छन् । ‘समकालीन राजनीतिमा सर्वाधिक चासोको विषय बनेको प्रतिनिधिसभाको विघटन र यसबारे संवैधानिक इजलासले फैसला गर्ने मितिको पूर्वसन्ध्यामा प्रधानन्यायाधीश र सेनापतिबीचको भेटवार्ताले मनोवैज्ञानिक रूपमा अर्थपूर्ण सन्देश प्रवाह गरेको छ ।’ नेपाली सेनाले भने अदालतले लिएको जग्गासम्बन्धी एक मामिलामा छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च गएको उल्लेख गरेको छ । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सर्वोच्च अदालतपछाडि सेनाको क्याबलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी भएको तर खाली नभएकोबारे छलफल गर्न उक्त भेट भएको हो । कान्तिपुरबाट
भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै
काठमाडौंः नेपाल राष्ट्र बैंकले मङ्गलबार रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल ८ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी २ ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ । कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको रु आठ अर्ब २५ करोड र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात् रु १ अर्ब ५० करोड गरी विभाजन गरिएको छ । घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

