पूर्व शिक्षामन्त्री पौडेलको निधन

काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ । पौडेलको आज विहान हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनको चितवनको माडीमा रहेको आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हो। सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। सुवेदीका दुई छोरी र श्रीमती छन्।

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

पर्वत, जेठ २९ । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गएराति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको हो । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजन लगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए । आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारण समेत बन्द भएको छ । कुनैपनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प नभएको शर्माले बताउनुभयो । उहाँका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् जडान गरिएको स्वीचमा समस्या आएका कारण पूर्णरूपमा क्षति पुगेको हो । आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ । झण्डै रु ३० लाखभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए । तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ । विसं २०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको यो यस क्षेत्रको पहिलो सामुदायिक रेडियो हो । रासस

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छः प्रधानमन्त्री

काठमाडौं, जेठ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा ऋण वैदेशिक लिने बताएका छन् । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गरे । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’’ विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए । उनले भने, ‘‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’ उनले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे । कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । यसवर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे । ‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’, उनले भने । आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उहाँले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गरे । ‘हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । रासस

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवासः डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म

काठमाडौं, जेठ २९ । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ । भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

मंगलबारदेखि प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल सुरु

काठमाडौँ, जेठ २८ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल मंगलबारदेखि शुरु भएको छ । उक्त विधेयक अन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा मीनेन्द्र रिजाल र प्रेम सुवालले युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीसम्बन्धी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गरे । उनीहरुले प्रस्ताव प्रस्तुत गर्नुपर्ने कारण र औचित्य पुष्टयाइँ गर्दै आफ्नो प्रस्तावका पक्षमा सहयोग गर्न आग्रह गर्नुभयो । खर्च कटौतीका प्रस्तावकले युवा रोजगारमुखी बजेट नदेखिएको तथा शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने विषयमा बजेटमा छुटेको उनस्हरुको भनाइ थियो । ‘बजेट अपुग भन्नेले नै खर्च कटौतीको कुरा गर्नु आश्चर्य’ मन्त्रालयगत छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खगराज अधिकारीले कतिपय आयोजनाका लागि बजेट अपुग भयो भनी प्रश्न उठाउने सदस्यले नै खर्च कटौती कुरा गर्नु आफैँमा आश्चर्यको कुरा हो भन्दै बजेट उत्पादकत्व वृद्धि र लोककल्याणकारी राज्यको अवधारणानुरुप आएको बताए । उहाँले बजेट आर्थिक गतिविधि र विकास निर्माणका कामलाई तीव्रता दिने खालको भएको हुँदा समग्रतामा विकास र समृद्धिमुखी छ भने । ‘सत्तापक्षका नेताका जिल्लामा बढी बजेट विनियोजन’ प्रतिपक्ष दल नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री र सत्तापक्षका नेताका जिल्लामा मात्र बढी बजेट विनियोजन भएको जनाउँदै विकास र समृद्धिको कुरा कसरी पूरा होलान् भनी प्रश्न गरे। ‘चितवन, झापा, बर्दिया र ठूल–ठूला नेताको जिल्लामा बजेट हालेर समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुन्छ ? पछाडि परेका गरीबको स्थानमा खै बजेट ? सबैलाई समान रुपमा बजेट दिनुपर्छ, बजेट समावेशी नभएकाले सच्याउनुपर्छ”, उनले भने ।

नेकपा बैतडीले पूर्णता पायो

बैतडी, जेठ २८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराएका हुन् । पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनहरुमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमहरुको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी सदस्य सरस्वती नेपालीले बताए । जिल्ला सदस्यहरुको शपथसँगै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बैतडीले पूर्णता पाएको छ । यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट सुरेन्द्र पाल र सचिवमा पूर्वमाओवादी केन्द्रबाट प्रेमप्रकाश भट्टले जिम्मेवारी पाएका थिए । बैतडीमा छ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले) ले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको छ ।

भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

रत्ननगर, जेठ २६ । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुथ्र्यो भने । प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालीका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उहाँको भनाइ थियो । गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ । एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिदैं छ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ ।धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ । “मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ”, उनले भने, “बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौं । कालोपत्रेको क्रममा कुनै पनि दिन उडान रोक्दैनौं।” भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । रासस

खानेपानी मन्त्रालयको अर्को ठूलो आयोजना पोखरामा सुरु हुँदै

काठमाडौं, जेठ २६ । पोखरामा खानेपानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास आउँदो जेठ २८ गते मंगलबार गर्ने कार्यक्रम छ । खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्ची पछि मन्त्रालयको खानेपानीको क्षेत्रमा सुरु हुन लागेको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्रभित्र दैनिक साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । अबको ३ वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा। भुपेन्द्र प्रसादले बताए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाईपलाईन विस्तारमा खर्च हुने महाप्रबन्धक डा। भुपेन्द्र प्रसादले जानकारी दिएका छन् । दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिने छ । पोखराको पस्र्याङ, फूलबारी र कोल पाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको डेपुटी प्रोजेक्ट म्यानेजर महर्जनले बताए । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छः राष्ट्रपति

काठमाडौँ, जेठ २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन् । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय अर्थतन्त्रमा आवश्यक प्रविधिका सघाउँदै विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, “विश्वविद्यालयहरु ज्ञान र अनुसन्धानका आधारमा अगाडि बढ्नुपर्छ । अहिलेको विश्वविद्यालय शिक्षामा अन्तर्राष्ट्रियकरण अपरिहार्य भएको छ । यस दिशामा त्रिभुवन विश्वविद्यालय अग्रसर हुनुपर्छ ।” शान्ति र सहिष्णुका अग्रदूत गौतम बुद्धको जन्मस्थल रहेको नेपालमा प्राचीनकालदेखि नयाँ खोज र चिन्तनको परम्परा रहेकाले वर्तमान समयमा शिक्षित र चेनतनशील समुदाय थप नव प्रवर्तनका लागि लाग्नुपर्ने जनाउँदै उनले विश्वमा विज्ञान र प्रविधिले भूमण्डलीकरणमार्फत विश्वलाई ग्राममा रुपान्तरण गरेको सन्दर्भमा लोककल्याणकारी न्यायोजित मानव समाज निर्माणका लागि उच्चशिक्षाले दिशानिर्देश गर्न सक्नुपर्ने बताए । उनले विद्यार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा जाने क्रमले अन्तरविषयक ज्ञान र बहुसांस्कृतिक अनुभव एवं अनुसन्धानका लागि सामयिक हुने बताए । विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले विश्वविद्यालयको इतिहासमा यो सम्मेलन नयाँ कोसेढुङ्गा सावित हुने बताउँदै परिवर्तित सन्दर्भमा उच्चशिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आफूहरुले नीतिगत सुधार गरेको जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा भीमप्रसाद सुवेदी अनुसन्धानमुखी र गुणस्तरीय उच्च शिक्षाका लागि आयोगले सघाउँदै आएको बताएका छन् । शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले उपयुक्त पाठ्यक्रम, अनुसन्धान र व्यवस्थापनको संयोजनले मात्रै विश्वविद्यालय शिक्षा गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको हुने बताए । नेपालसहित विभिन्न सात मुलुकका विज्ञहरुको कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा उच्च शिक्षाका पाठ्यक्रम र अध्यापक शास्त्र, अनुसन्धान र नवप्रवर्तन तथा उद्यमीकरण र व्यवस्थापन आदिबारे अनुभव आदानप्रदान हुने छ । रासस

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, जेठ २६ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल सहितका अधिकारीहरुले स्वागत गरे । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य रहेकी छन्। प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागी हुन आइतबार बिहान दोहाबाट जेनेभाका लागि प्रस्थान गर्ने भएका छन् । जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसदहरु विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डे लगायत रहेका छन् ।

दैलेखमा ३ दिनदेखि विद्युत् आपूर्ति बन्द

दुल्लु, जेठ २६ । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताए । उनले ढलेको पोल बनाइसकेको, रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको बताए । विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ । त्यसैगरी दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । आधिकारिकरूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ । घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । घण्टैपिच्छे झ्याप्प–झ्याप्प जाने विद्युत् सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायत प्रभावित बनेका छन् । रासस

विषालु च्याउ खाँदा २ बालिकाको मृत्यु, ८ बिरामी

पाल्पा, जेठ २६ । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए । बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, ७ वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन्। उनीहरु चार परिबारका सदस्य हुन् । बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन् । वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । रासस

लोक सेवा आयोग विवादमा, मन्त्री किन मौन?

काठमाडौं, जेठ २६ । सरकारकै आग्रहअनुसार विज्ञापन निकालेको लोक सेवा आयोग तीव्र विवादमा परेको छ । आयोग डेढ सातायता सडकदेखि संसद्सम्मको तारोमा छ । सरकार भने रमिते बनेको खबर छ । पाँच सय १५ वटा स्थानीय तहमा पदपूर्तिका लागि ९ हजार १ सय ६१ जनशक्ति माग गरेर जेठ १५ मा विज्ञापन गरेपछि आयोग विवादमा परेको हो । विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै विरोध भइरहेको छ । स्थानीय तहका लागि विज्ञापन गरिएको र एकैपटक यति ठूलो संख्यामा जनशक्ति मागिएको पहिलो पटक हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आग्रह र विज्ञापन गर्नुअघि कतिपय विषयमा मन्त्रिपरिषद्सँग लिइएको स्पष्टतापछि आयोगले विज्ञापन गरेको थियो। सत्तारूढ दलकै सांसदहरू आयोगविरुद्ध बोल्न प्रतिस्पर्धामा उत्रिएका बेला सरकारका मन्त्रीहरू भने मौन छन्, जवाफदेहिताबाट पन्छिइरहेका छन्। आयोग एक्लिएको छ। आयोगका पूर्वसदस्य गणेशमान गुरुङले सरकारको कमजोरीले संवैधानिक आयोग विवादमा परिरहेको बताए। ‘सरकारको आग्रहअनुसार आयोगले विज्ञापन निकालेको हो। यहाँ आयोगको केही दोष छैन। तर, सरकार र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्नेमा पन्छिइरहँदा आयोग विवादमा पर्दै छ,’ उनले भने, ‘कहिल्यै विवादमा नपरेको, कुनै धब्बा नलागेको संवैधानिक आयोगलाई विवादमा ल्याउने अत्यन्तै दुःखद प्रयास भइरहेको छ। यसमा सरकारकै कमजोरी छ।’ प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रायः सबै सांसद विज्ञापन समावेशी नभएको र त्यसलाई रद्द गर्नुपर्नेमा एकमत देखिन्छन्। त्यहाँ जवाफ दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उपस्थित हुन चाहेका छैनन्। उनका लागि समितिले तीनवटा बैठक बोलाइसकेको छ। उनकै प्रतीक्षामा सोमबार फेरि बैठक डाकिएको छ। लोक सेवाका पूर्वअध्यक्ष तीर्थमान शाक्य आयोगले गरेको विज्ञापन संविधान र कानुनअनुसार ठीक रहेको बताउँछन्। आयोगले प्रत्येक स्थानीय तहका लागि छुट्टाछुट्टै विज्ञापन गरेको छ। प्रत्येक स्थानीय तहको मागसंख्याभित्र समावेशी सिट छुट्याइएको छ। अधिकांश स्थानीय तहले एक पदका लागि एक जना मात्रै जनशक्ति माग गरेका छन्। त्यसलाई आयोगले समावेशी गर्न सक्ने ठाउँ छैन। आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले संविधानअनुसार स्थानीय तहहरू छुट्टै स्वायत्त निकाय भएकाले अलगअलग विज्ञापन निकालिएको बताए। ‘संविधानले स्थानीय तहलाई अलग परीचय दिएको छ। समायोजन ऐनले पनि स्थानीय तह खुलाई विज्ञापन गर्न भनेको छ,’ उनले भने, ‘बढुवातर्फको सिट पनि स्थानीय तहअनुसार नै निकाल्नुपर्ने कानुनी व्यवस्था छ। ती सबै कानुनी आधारका कारण स्थानीय तहअनुसार फरकफरक विज्ञापन गरिएको हो।’ उनले कानुनभन्दा दायाँबायाँ गएर काम गर्ने अधिकार कसैलाई नभएको बताए। समावेशी पक्षधरहरूले भने लोक सेवा आयोगको दाबीमा चित्त बुझाएका छैनन्। उनीहरूले संविधानबाट प्राप्त उपलब्धि खोस्ने प्रयत्न भइरहेको व्याख्या गरेका छन्। सत्तारूढ दलकै सांसद जनार्दन शर्माले विज्ञापन प्रकरणलाई संवैधानिक अराजकताका रूपमा अर्थ्याएका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।

कीर्तिपुर जंगलमा मृत अवस्थामा फेला परे एमबीबीएस विद्यार्थी

काठमाडौं, जेठ २५ । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए । शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिए पनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘शव भेटिएको खबर पाएका छौं । आफैँ घटनास्थलतिर जाँदैछु ।’ अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएको बताइएको छ । केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । रातोपाटीबाट साभार

आगामी वर्षभित्र खुला दिशामुक्त राष्ट्र घोषणाः खानेपानी मन्त्री

काठमाडौं, जेठ २५ । खानेपानी मन्त्री बिना मगरले हरेक गाउँ र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन मन्त्रालय संकल्पसहित अघि बढेको बताएकी छिन् । नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाई मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताएकी हुन् । मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँच पुर्याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंल्याइन् । आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्ष भित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्याउने लक्ष्य रहेपनि सबैसँगको सहकार्यमा उक्त लक्ष्य पुरा गर्न सकिने उनको भनाई छ । कार्यक्रममा खानेपानी मन्त्री मगरले भनिन, ‘एकातिर सबै जनतालाई खानेपानी पुर्याउनुपर्ने चुनौति छ भने अर्कोतिर पूर्ण सरसफाईको कार्यक्रमलाई पनि संगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन । बढ्दो जनसंख्या र सहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गईरहेको छ । सरसफाई अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदै छौं ।’ आउँदो आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको उनले जानकारी दिइन् । कार्यक्रममा मन्त्री मगरले “हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाईं नि?” भन्ने अभियानलाई साथ दिंदै हस्ताक्षर गरेका थिए । कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाईका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरे । नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो गरे । खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उनले स्पष्ट पारे ।

भीरबाट खस्दा बझाङमा यार्सा संकलकको मृत्यु

काठमाडौंः बझाङमा भीरबाट खस्दा यार्सागुम्बा संकलकको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगपालिका–२ बुँरोसे लेकमा यार्सा टिप्ने भीरबाट खस्दा छबिस पाथीभेरा गाउँपालिका–७ बुडखोरीका करिब ४० वर्षीय कटक धामीको मृत्यु भएको हो । उनी बिहीबार भीरबाट खसेका भए पनि शुक्रबार मात्र शव फेला परेको छबिस पाथीभेरा–७ कै धनबहादुर धामीले जानकारी दिए । मृतक धामीका ४ छोरी र एक छोरा रहेका छन् । उनका छोरा ७ महिनाका मात्र छन् । यही वर्ष मात्र यार्सागुम्बा टिप्ने क्रममा भीरबाट खस्दा बुडखोरीका २ जनाको ज्यान गएको छ । गएको बैशाखमा हिउँबाट चिप्लिएर बुडखोरीकै चन्द्रा धामीको ज्यान गएको थियो ।