पत्रकारको आन्दोलनलाई मैले सकारात्मक रुपमा लिएको छुः पूर्व प्रधानमन्त्री खनाल

काठमाडौं, जेठ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले संविधानप्रदत्त प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती नहुने बताएका छन् । प्रेस संगठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन, सञ्चार क्षेत्रमा देखिएका केही विवाद परिस्कार गर्ने प्रक्रियामा छन्, यसलाई अझ समुन्नत बनाइनेछ ।’

उनले प्रेस स्वतन्त्रसँगै मर्यादित हुनुपर्नेमा जोड दिए । ‘पत्रकारको आन्दोलनले मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई अझ राम्रो बनाउन सहयोग पुग्नेछ’, पूर्व प्रधानमन्त्रीसमते रहेका खनालले भने, ‘मैले आन्दोलनलाई सकारात्मक रुपमा लिएको छु ।’

पार्टी भित्र मिडिया काउन्सिल विधेयकका विषयमा छलफल भइरहेको उनले जानकारी गराए । उनले भने, ‘प्रेस स्वतन्त्रतामा आँच आउन दिँदैनौँ ।’ नेता खनालले पार्टी सङ्गठन एकताको काम करीब करीब सकिएको उल्लेख गरे । पार्टी एकता तीव्र गतिमा भइरहेकाले देशभरका करीब आठ लाख सदस्यमा सकारात्मक सन्देश प्रवाह भएको र पार्टी कार्यकर्तामा ऊर्जा थपिएको उनले उल्लेख गरे । उनले एकतासँगै नेकपा नयाँ नीति र सिद्धान्तका साथ अघि बढ्ने बताए ।

१० हजार घुससहित रंगेहात प्रहरी जवान पक्राउ

बुटवल, जेठ ६ । बुटवलमा एक सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ४१ नम्बर गुल्म (औद्योगिक सुरक्षा) बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका हुन् । सामान्य व्यापार गरेर जीविका चलाउने व्यक्तिसँग मासिक रुपमा नगद नबुझाए व्यवसाय बन्द गरिदिने धम्की दिएर घुस रकम उठाउने क्रममा सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो । केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पर्वतमा बम विस्फोट, दुई घाइते

पर्वत, जेठ ६ । पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको छ । बम बिस्फोट हुँदा सोही ठाउँका दुईजना गम्भीर घाइते भएका छन् । आफैंले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानाएको छ । बम बिस्फोटबाट २७ वर्षीय छविलाल राना र १६ वर्षीय समिर घर्ती गम्भीर घाइते भएका छन् । बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ।रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगली च्याउ खाँदा तीनको मृत्यु

लमजुङ, जेठ ६ । जंगली च्याउको सेवनबाट लमजुङमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । एकसाता अघिको च्याउ सेवनले गम्भीर बिरामी क्व्हालोसोंथर गाउँपालिका ९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्रीको आइतबार बिहान ४ बजेतिर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि बिहीबार उनको छोरा १२ वर्षीय मन्तोष क्षेत्री र छिमेकीका छोरा १० वर्षीय साजन क्षेत्रीको मृत्यु भइसकेको छ । सुलबहादुरका श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकी काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुर बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो । उनको श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाडौंबाट घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको क्व्होलासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताए । प्रहरीका अनुसार साजनको बुवा रामबहादुर क्षेत्री र आमा तारा क्षेत्री उपचारको क्रममा पोखरा गएको र घरमा एक्लै हुने भएपछि साजनलाई छिमेकी सुलबहादुर क्षेत्री र सरिताको घरमा बस्न लगाइएको थियो । सुलबहादुरले वैशाख २७ गते शुक्रबार दिउँसो गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र त्यही दिन बेलुका पकाएर खाएका थिए । च्याउ सेवनपछि छिमेकीका छोरासहित परिवार नै बिरामी परेका थिए । उनीहरुलाई गाउँलेले उपचारका लागि पोखरा पुर्याएका थिए ।

विदेशी एयरलाइन्सलाई कालोसूचीमा राख्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

काठमाडौं, जेठ ६ । संघीय संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता नतिर्ने विदेशी विमान कम्पनीलाई कालोसूचीमा राख्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणका अधिकारीहरुले आफूहरुले लामो समयदेखि बक्यौता उठाउन पहल गरे पनि नसकेको बताएपछि समितिको आइतबार बसेको बैठकले उक्त निर्देशन दिएको हो । एयर एसिया र एयर इन्डियालगायतका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्राधिकरणलाई करोडौँ रुपैयाँ बक्यौता तिर्न अटेर गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

टोखामा चल्यो गोली, लुटेरा नाइक प्रहरीको फन्दामा

काठमाडौं, जेठ ६ । काठमाडौंको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइके पक्राउ परेका छन् । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका डाँका काले भनिने विष्णु तामाङ गोली हानी पक्राउ परेका हुन् । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाा अनुसार कालेलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिइएको हो । डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि कानुन अनुसार आत्मरक्षाको लागि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।  तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृंखलावद्ध चोरी र डकैती गरेको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका काले २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए।  

मन्त्री मगरको पहलमा शहिद गोविन्द गौतमका तीन छोरी काठमाडौंमा भर्ना

काठमाडौं, जेठ ५ । ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमकी तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले भन्न नपाउँदै बालुवाटारस्थित मातृभूमि शिक्षा सदनकी कर्मचारी भावना खड्को मुखबाट निस्कियो, ‘भइहाल्छ नि हजुर, बालबालिका मेरा लागि प्राण हुन् ।’ कुराकानी चल्दै गर्दा भावना (भगवती) ले गौतमकी पाँच वर्षीय कान्छी छोरी आषिकालाई काख लिन थालेपछि मन्त्री मगरले ‘म फोटो खिचिदिन्छु’ भनेर मोबाइल निकालेर फोटो खिचिन् । विद्यालयमा भावनाको मुख्य जिम्मेवारी बालबालिकाको रेखदेख गर्नु हो । नेपाल–भारत सीमामा भएको भिडन्तमा २०७३ साल फागुन २६ गते भारतीय सुरक्षा बलको गोलीबाट मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का ३४ वर्षीय शहीद गौतमका तीन छोरीलाई गौतमकी पत्नी लक्ष्मी गौतमको इच्छा र मन्त्री मगरको पहलमा सो शिक्षा सदनमा आज भर्ना गरिएको हो । जेठी छोरी १० वर्षीय आकृति र माइली आशुम गौतमलाई कक्षा ५ र कान्छी आषिकालाई युकेजीमा भर्ना गरिएको हो । आमा लक्ष्मी र तीन छोरीलाई हाल बानेश्वरस्थित एक आफन्तको घरमा बसोबासको प्रबन्ध गरिएको छ । तीन छोरीलाई उक्त विद्यालयमा भर्नापछि मन्त्री मगरले भनिन्, ‘राज्यसत्ताको परिवर्तन र देशको मातृभूमिको रक्षाका लागि लड्दा ज्यान आहुति दिएर शहीद भएकालाई हामीले सम्मान गर्नुपर्छ । गौतमको आहुति आफैँमा राष्ट्रभक्तिका लागि एक प्रेरणा हो । उहाँका सन्तानको हेरचाहको जिम्मेवारी हाम्रो पनि हो ।’ उनले तीन छोरीको उच्चशिक्षासम्मको व्यवस्था गर्न आफूहरुले जिम्मा लिने र गोविन्दकी श्रीमती लक्ष्मीलाई जागिर दिलाउने विषयमा पनि आफूहरु संवेदनशील रहेको बताइन् । विद्यालयका प्रबन्ध निर्देशक तारानाथ उप्रेतीले गौतमका छोरीहरुलाई मन्त्री मगरले सामाजिक जिम्मेवारी लिएकाले उनीहरुलाई भर्ना गरिएको जानकारी दिए । उक्त शिक्षा सदनमा हाल २५० विद्यार्थी छन् । सरकारले गत वर्षबाट शुरु गरेको विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरुले सामुदायिक विद्यालयमा विद्यालयबाहिरका बालबालिकालाई अभिभावकत्व ग्रहण गरेका थिए । कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री मगरले र उनको पार्टीले गौतमका छोरीहरुलाई उच्चशिक्षासम्मको शिक्षा र श्रीमती गौतमलाई रोजगारको जिम्मा लिने घोषणा गरेको थियो । सरकारले गौतमलाई शहीद घोषणा गरी परिवारलाई रु १० लाख उपलब्ध गराइसकेको छ । श्रीमती लक्ष्मीले कुरा गर्दै गौतमको हत्या हुँदा कान्छी छोरी अढाई वर्षकी रहेको स्मरण गर्दै छोरीहरुलाई काठमाडौँ ल्याएर पढाउन पाएकामा सन्तोष व्यक्त गरिन् । उनले आफूलाई सरकारले रोजगारी पनि दिएमा काठमाडौँमा गुजारा गर्न सक्ने अपेक्षा जनाइन् । उनले सरकारबाट प्राप्त शहीद घोषणाबापतको रकममा थपेर आफूले जिल्लामा एक कट्ठा जग्गा किने पनि अन्य सम्पत्ति खासै नभएको जनाइन् । कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षा बलको गोली प्रहारबाट गौतमको निधन भएपछि तीन छोरी जिल्लाकै सामुदायिक र निजी विद्यालयमा गरी अध्ययन गर्दै आएका थिए । गौतमको हत्यापछि तत्कालीन नेकपा (एमाले) ले आयोजना गरेको मेची महाकाली अभियानको समापनका अवसरमा कञ्चनपुरमा आयोजित जनसभामा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मृतक परिवारलाई रु पाँच लाख दिने र छोराछोरी पढाइदिने वचन दिएका थिए । नेताहरुले जिल्लाको आनन्दबजारमा गोविन्दको स्मृतिमा शालिक निर्माणको पनि वचन दिएअनुसार नगरपालिकाले काम शुरु गरेको छ । रासस

शहिद गोविन्द गौतमको परिवारलाई झापामा सम्मान

कञ्चनपुर, जेठ ५ । कञ्चनपुरको आनन्द बजार घटनामा देशको सीमारक्षार्थ प्राण आहुती दिने सहीद गोविन्द गौतमको परिवारलाई पुरस्कार राशीसहित झापामा अभिनन्दन गरिएको छ । झापामा स्थापना गरिएको यस वर्षको भवानीपद्म पुरस्कारबाट शहिद गौतमका पिता खेमलाल गौतम तथा धर्मपत्नी लक्ष्मी गौतमलाई शनिबार सम्मानित गरिएको गौतम कुलवंश प्रतिष्ठानका संयोजक तोया गौतमले जानकारी दिए । आयोजकले शहिद परिवारलाई झापा आउन आग्रह गरेपछि पिता खेमलाल गौतम शुक्रबार झापा पुगेका हुन्, भने काठमाडौं बस्दै आएका शहिद गौतमकी धर्मपत्नी लक्ष्मी गौतम पनि झापा पुगेकी थिइन् । दमक नगरपालिका वडा न १० नलबारी स्थित गौतम कुलवंश प्रतिष्ठानमा आयोजना गरिएको समारोहमा पुरस्कार शहिद गौतमका पिता तथा पत्नीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । कार्यक्रममा दस हजार रुपैया पुरस्कार सहित राखिएको सम्मान प्रदान गरिएको हो । सो पुरस्कार तथा सम्मानपत्र पत्रकार तथा ८७ वर्षीय अनुसन्धाता भवानीप्रसाद गौतम तथा उनकी धर्मपत्नी पद्मकुमारी गौतमका हातबाट शहीद गोविन्द गौतमका पिता खेमलाल गौतम तथा धर्मपत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरिएको थियो ।

हरेक घरमा अब आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर, जेठ ५ । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्नि प्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्नि प्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताए। उनका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा अग्नि प्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने छ । आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्व सावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हुँदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा–११ का पुण्यप्रसाद खरेल बताउँछन् । नगरपालिकामा १४ हजार भन्दा बढी परिवारको बसोवास रहेको छ । नगरपालिकाले आज घरधनीलाई सार्वजनिक सूचना गरी अग्निप्रतिरोधात्मक सामग्री अनिवार्य राख्न अनुरोध समेत गरेको छ । झापाका १५ स्थानीय तहमध्ये अग्निप्रतिरोधी सामग्री अनिवार्य गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । यस नगरपालिकामा वारुणयन्त्र छैन । रासस

पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासंघले नलिने

काठमाडौँ जेठ ५ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ५ दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासंघ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघका सदस्यलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न महासंघले आग्रह गरेको हो । महासंघले शनिबार सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ (क) अनुसार कम्पनी दर्ता गर्न महासंघमा आबद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिस्टार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ। महासंघका महासचिव सरोज सिटौलाले सरकार र महासंघबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए । ‘५ दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासंघले लिँदैन’, उनले भने । देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन् । रासस

ड्युटीमा खटिएका सेनाका जवानको मृत्यु

पर्सा, जेठ ५ । ड्युटीमा खटिएका एक नेपाली सेनाका जवानको ज्यान गएको छ । गएराति २ बजे पर्सा राष्ट्रिय निकुञ्जस्थित बारादल गण आधारभारमा कार्यरत देवीराम जैसीको ज्यान गएको हो । उनी राति १२ बजेदेखि ३ बजेसम्मको ड्युटीका क्रममा रहेका थिए । प्रहरीले दिएको जानकारीअनुसार अचानक बेहोस भएका जैसीलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका लागि लगिँदै गर्दा मृत्यु भएको हो । उनको शव वीरगञ्जस्थित अस्पतालमै राखिएको छ ।

अर्को वर्ष ‘वैशाख डे’ लुम्बिनीमा मनाउने छौंः प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका नायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अर्को वर्ष ‘वैशाख डे’ मनाउने निर्णय गरेको बताएका छन् । शनिवार भगवान् बुद्धको २५६३औं बुद्धजयन्तीका अवसरमा आनन्दकुटी विहारमा आयोजना गरिएको सभामा उहाँले भियतनाम तथा क्याम्बोडिकाको भ्रमणका अवसरमा विश्वका बुद्ध धर्मावलम्बी तथा नेतालाई अर्को वर्ष लुम्बिनीमा हुने ‘वैशाख डे’मा भाग लिन आउन आमन्त्रण गरेको जानकारी दिए । नेपालमा बुद्ध जन्मेको भएपनि विश्वलाई शान्ति, सद्भाव तथा दया, माया तथा भ्रातृत्व भावको मार्ग देखाएको बताउँदै प्रधानमन्त्री ओलीले बुद्धको ज्ञानलाई २५०० वर्षपछि पनि सूत्रबद्ध गरिएको बताए । उनले भने, ‘भगवान् बुद्ध त्यस्तो व्यक्ति हुनुहन्छ, उनले प्राप्त गरेको बोधिज्ञानले २५०० वर्षभन्दाअघिदेखि विश्वलाई प्रज्वलित गरिरहेको छ ।” प्रधानमन्त्री ओलीले गौतमबुद्धको जन्म लुम्बिनीमा नै भएको हो भनी स्तम्भ निर्माण गरेर बुद्ध जन्मको इतिहासलाई जीवित पार्ने तथा प्रमाणका रुपमा स्तम्भ निर्माण गर्ने सम्राट अशोकको पनि स्मरण गरे । नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेराले विश्वभर शान्ति र सद्भाव फैलाउने भगवान् गौतमबुद्धको ज्ञान आज पनि महत्वपूर्ण रहेको बताउँदै बुद्धजयन्तीको दिन श्रीलङ्कामा बिदा दिइने गरेको चर्चा गरे। उनले सन् १९९० मा बुद्धको जन्म, बोधिज्ञान प्राप्त तथा महापरिनिर्वाणको दिवसको दिनलाई ‘वैशाख डे’ का रुपमा मनाउने संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको जानकारी दिए । नेपाल र श्रीलङ्काबीच सन १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि द्विपक्षीय मैत्रीसम्बन्ध विकास भएको चर्चा गर्दै लुम्बिनी, रामग्राम, निग्लिहवा, गोटीहवाजस्ता थुप्रै बुद्धधर्मको तीर्थस्थलले दुई मुलुकबीचको धार्मिक सम्बन्ध थप प्रभावकारी भएको बताए । बुद्धजयन्ती समारोह समितिका उपाध्यक्ष भिक्षु कौदन्य महास्थवीरले भियतनाममा हालै सम्पन्न वैशाख डेमा प्रधानमन्त्रीका साथ भियतनाम जान पाएको र त्यहाँ प्रधानमन्त्रीले अर्को वर्ष लुम्बिनीमा वैशाख डे मनाउने घोषणा गरी विश्वका नेतालाई आमन्त्रण गरेको स्मरण गर्दै अर्कौ वर्ष हुने वैशाख डेमा सरकारलाई सफलता मिलोस् भनी कामना गरे । उनले वि.सं १९८१ तिर नेपालमा राणा शासनले भिक्षुलाई बुद्धधर्म प्रचार गरेको आरोपमा देश निकाला गरेको स्मरण गर्दै चन्द्रागिरि डाँडा कटाई देश निकाला भएका आठ जना भिक्षुलाई वि.सं २००३ मा मात्र देशमा प्रवेश पाएको स्मरण गरे । २५६३ औँ बुद्धजयन्ती समारोह समितिका महासचिव भिक्षु प्रियदर्शी महास्थवीरले बुद्धको शिक्षालाई सबैले व्यवहारमा उतार्न सकेमा देशमा सच्चा शान्ति हुने बताए । बुद्धजयन्ती समारोह समितिका अध्यक्ष एवं आनन्दकुटी विहारका प्रमुख भिक्षु मैत्रय महास्थवीरले गौतमबुद्धको जन्मभूमि नेपालमा शान्तिको सन्देश प्रचारप्रसार गर्ने तथा बुद्धको ज्ञान जनजनमा फैलाउनुपर्ने बताए ।

सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउन जनप्रतिनिधिले मन जित्ने काम गर्नुपर्छः प्रचण्ड

काठमाडौं, जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले स्थानीय जनप्रतिनिधीलाई जनताको मन जितेर काम गर्न निर्देशन दिएका छन् । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीको नयाँ भवनको आज विहान उद्घाटन गर्दै पचण्डले यस्तो निर्देशन दिएका हुन् । उनले संघीयतामा तीन तहको सरकार सिंहदरबारको अधिकार गाउँतहसम्मै पुर्याउने उदेश्यका साथ निर्माण गरिएकोले जनप्रतिनिधीले जनताको मन जितेर काम गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले केन्द्रीकृत संरचनामा रहेको सिंहदरवारवाट जनताले सेवा लिन नसकेको ठानेर तिन तहको सरकार बनाएको र नयाँ संरचनाले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए । ‘जनप्रतिनिधीले एकतावद्ध भएर उदेश्य प्राप्तीमा मिहिनेत गर्न जरुरी छ । जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ । सिंहदरवारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार बनेको हो । यो स्थानिय तह जनताको सेवा सुविधाका लागि हो । यहाँको जनप्रतिनिधीले जनताकाबीचमा आफूलाई काम गरेको प्रमाणित गर्नुपर्छ ।’ अध्यक्ष्य प्रचण्डले भने । वजेट र पूर्वाधारको अभावले अपेक्षा अनुसार प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्न नसके पनि अब यस विषयमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने प्रचण्डको भनाई थियो । उनले आफु ललितपुरमै बसेर विद्रोहको तयारी गरेको, शान्ति प्रक्रियापछि पनि ललितपुरमै बसेको र अहिले ललितपुरमै आफ्नो बसाई भएकाले पनि यो जिल्लासँग भावनात्मक सम्वन्ध रहेको बताए । ललितपुरको समृद्धि र विकास आफ्नो पनि चाहाना रहेको भन्दै प्रचण्डले यसका लागि प्रधानमन्त्रीसहितको जनप्रतिनिधीको वैठक राख्न आफुले पहल गर्ने बताए ।

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ५ पुग्यो, २९ जना घाइते

काठमाडौं, जेठ ५ । झापाको काकडभिट्टाबाट काठमाडौं छुटेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका ४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ घाइते भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलले जानकारी दिए । ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

अमेरिका र चीनबीचको व्यापारयुद्धले झस्कियो नेपाल

काठमाडौं, जेठ ५ । संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । डा. फुयाँलले आयोगमा आथिक व्यवस्थापन महाशाखा हेर्छन् । ‘हामीले चीन–अमेरिकाबीच देखिएको व्यापार तनावलाई नजिकबाट हेर्न सुरु गरेका छौँ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्क कँडेलले भने,‘सिर्जित समस्या विश्लेषण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रिपोर्टिङ गर्छौ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो

काठमाडौं, जेठ ५ । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ। सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो। तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ। आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ। यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ। तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् । महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ। तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ। ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन्। त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ।’ काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ। तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए। ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो।’ समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन्। कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, एमके थ्रिस्टी जेभी, नेपाल स्वाभिमान प्रालि, नेसनल बायोमेडिकल प्रालि, सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड, चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र दिनेश कन्स्ट्रक्सन छन्। ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। यही गतिमा काम भए महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष शीर्षकमा अर्को समाचार छापिएको छ । महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ। दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो। कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ। १६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३/६४ बाट नहर खन्न सुरु गरिएको थियो। तर, चैत ०७३/७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ। गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन। यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ। याे समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।