समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै
काठमाडौं, जेठ ३ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो ।
यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्न परामर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
माथिल्लो त्रिशूली ‘थ्री ए’ को विद्युत उत्पादन सुरु
काठमाडौं, जेठ २ । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थालेको छ । कूल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार बिहान स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरेका हुन् । आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ । ९ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवाद लगायतका कारणले ढिला भएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताए ।
नेपालीकरण बन्द हुँदा सेवाग्राही मर्कामा
काठमाडौं, जेठ २ । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत भदौमा यो सेवा बन्द गरेपनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले जनाएको छ । सरकारले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेसँगै अन्य देशको ‘स्मार्ट’ चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दै आएको थियो । कार्यालयले अहिले कूटनीतिक नियोगका कर्मचारीको मात्रै चालक अनुमतिपत्र नेपालीकरण गरिरहेको कार्यालका प्रमुख डम्बरबहादुर चन्दले बताए । नेपालीकरणका लागि आउने सेवाग्राहीमा अध्ययन वा रोजगारीका लागि विदेश बसेर फर्किएका नेपाली धेरै रहेको उनले बताए । उनका अनुसार कतिपय सेवाग्राही नेपालीकरण छैन भनेपछि फर्किए पनि कतिपय विवाद गर्ने गरेका छन् । अहिले पनि दैनिक दुईदेखि चारसम्म सेवाग्राही नेपालीकरण गर्ने भन्दै आइरहेका छन् । उनले भने, “कतिपय छैन भन्दा बुझ्नुहुन्छ, कतिपयले भने हामीले गर्न नचाहेको भन्ने सोच्छन् ।” नेपालीकरण खुलाउनका लागि प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो देखाएको छैन । गत वर्ष असोजमा यातायात व्यवस्था कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।
आरोहणका क्रममा कञ्चनजंगा २ भारतीय पर्वतारोहीको मृत्यु
काठमाडौं, जेठ २ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा आरोहण गर्न गएका दुई पर्वतारोहीको ज्यान गएको छ । यस्तै, एकजना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्। आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन् । नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ । शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको पौडेलले बीबीसी नेपालीलाई बताए । करारको आरोहणकै क्रममा मृत्यु भएको हो। शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको उनले बताए । पौडेलका अनुसार बुधबार राति ८ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि चिलेका पर्वतारोही भने सम्पर्कविहीन भएका छन् । पर्यटन विभागका प्रवक्ता थापा तथा पीक प्रमोशनका अध्यक्ष पौडेलका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको छ । उनका अनुसार उद्धारकर्ताहरू करारको शव भएको ठाउँमा बिहीवार बिहानसम्म पुगेका थिएनन्। दुइटै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट शुक्रवारसम्म काठमाडौं ल्याउने आफ्नो कम्पनीको योजना भएको पौडेलले बताए।
सरकारी निकायका दुई सय वेबसाइट ह्याक
काठमाडौं जेठ २ । सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेको बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधिका विज्ञहरुले बताएका छन् । विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने दाबी गरे । कार्यक्रममा भैरव टेक्नोलोजीका सिइओ सरोज लामिछानेले हाल नेपालकै सरकारी वेबसाइटहरु सुरक्षित नभएको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।
७८ लाख धरौटी बुझाएर छुटे अख्तियारका पूर्वआयुक्त
काठमाडौं, जेठ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक तारेखमा छुटेका छन् । विशेष अदालतको आदेशअनुसार ७८ लाख रुपैयाँ धरौटी बुझाएर उनी तारेखमा छुटेका हुन् । ७८ लाख रुपैयाँ घूस बुझेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । पाठकले धरौटी बुझाएपछि अदालतबाट छुटेका हुन् । अब उनले थुनामा नबसी आफूमाथिको आरोपको प्रतिवाद गर्न पाउने भएका छन् ।
सहि र गलत छुट्याउन युवालाई प्रचण्डको आग्रह
काठमाडौं, जेठ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले पार्टी एकता नेतृत्वको ठोस पहलकै कारण सम्भव भएको बताएका छन् । युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वले हिम्मत नगरेको भए अहिले कम्युनिष्ट नेतृत्वको सरकार नबन्ने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले तथाकथित राजनीतिका नाममा दम्भ गर्ने धार रहेको भन्ने भन्दै दक्षिणपन्थी जडता र बामपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने गरेकाले यी दुवै प्रवृति घातक हुने बताए । उनले भने, ‘हामीले पार्टी एकता गर्यौँ । एकता ऐतिहासिक पहल थियो । राजनीतिक संगठन र आन्दोलनको पृष्ठभूमिसहित एकता भएको हो । हामीले राष्ट्रको आवाश्यक्ता, कम्युनिष्ट आन्दोलन र जनताको भावनालाई सम्मान गर्यौ । एकताका लागि कसै न कसैले पहल गर्नेपर्छ इतिहासमा ।’ सम्वोधनका क्रममा प्रचण्डले सहि र गलत छुट्याउन युवा नेताहरुलाई आग्रहसमेत गरे । उनले युवाहरुमा ‘अध्ययनको अरुची हो कि?’ भन्ने चिन्ता लागेको भन्दै बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहाना भएको बताए ।
भृकुटीमण्डपका व्यापारीसँग एक युनिट बिजुलीमा ११ रुपैयाँसम्म कमिसन
काठमाडौं, जेठ १ । २०७२ साल साउनबाट भृकुटीमण्डप क्षेत्रमा ‘डेडिकेटेड’ लाइन जडान गरियो । डेडिकेटेड लाइन सामान्य भन्दा केही महंगो हुन्छ र लोडसेडिङ, लो–भोल्टेज लगायतका समस्या रहँदैन । भृकुटीमण्डप क्षेत्रको सम्पुर्ण व्यवस्थापन समाज कल्याण परिषदले गरिरहेको छ। परिषदले व्यवस्थापन मिलाउन भृकुटीमण्डप संचालन कार्यालय नै खडा गरेको छ। भृकुटीमण्डप र आसपासका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले २५० केभिए क्षमताको विद्युत उपलब्ध गराउँछ । जसको लागि प्राधिकरणले विजनेस आवरमा प्रति युनिट २२ रुपैयाँ ५० पैसा, नर्मल आवरमा २० रुपैयाँ ४० पैसा र अफ आवरमा ११ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ। डेडिकेटेड लाइन जडान गरिएको ठाउँमा प्राधिकरणले स्मार्ट डिजिटल मिटरनै जडान गरेको हुन्छ। त्यसैगरी ‘पावर सर्भिसको’ लागि परिषदले मासिक ३३ हजार १ सय २५ रुपैयाँ थप बुझाउनुपर्ने हुन्छ। भृकुटी मण्डपको विद्युत महशुल औसत २२ रुपैयाँ भन्दा धेरै नपर्ने प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । तर, समाज कल्याण परिषदले भने भृकुटी मण्डपमा व्यापार गरेर बस्ने ठूला–साना सबै व्यापारीसँग प्रति युनिट ३३ रुपैयाँ लिने गरेको छ। २०७५ सालमा परिषदको ४ लाख ७२ हजार ६ सय ६० युनिट बिजुली उठ्यो । औसत मूल्य २२ रुपैयाँको दरले हिसाब गर्दा विद्युत महशुल १ करोड ३ लाख ९८ हजार ५ सय २० हुन्छ तर परिषदले भने १ करोड ५५ लाख ९७ हजार ७ सय ८० रुपैयाँ उठाइसकेको छ। यो हिसावले परिषदले गत वर्ष मात्रै ५१ लाख ९९ हजार २ सय ६० रुपैयाँ अधिक उठाएको छ । परिषदले व्यापारीहरुसँग तिर्नुपर्ने भन्दा प्रतियुनिट ११ रुपैयाँसम्म धेरै महसुल लिने गरेको प्रस्टै देखिन्छ। मर्मतसम्भार लगायतको खर्चको लागि प्रधिकरणले लिने भन्दा केही बढी रकम उठाइएको समाज कल्याण परिषदका सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईले बताए । ‘बेला–बेलामा मर्मतसम्भार गरिरहेका हुन्छौं । त्यस्तै ट्रान्सफर्मर बिग्रियो भने धेरै पैसा खर्च हुन्छ । त्यही भएर प्राधिकरणलाई तिर्नेभन्दा धेरै रकम उठाएका हौँ’ भट्टराइले भने। कुनै पनि सेवा प्रदायकले सरकारले तोकेभन्दा धेरै शुल्क लिनु गैरकानुनी भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् । ‘सरकारी कार्यालय होस् वा कोही ब्यक्ति होस, कानूनी राज्यमा सबै जना कानूनको अधिनमा हुनुपर्छ। त्यो भन्दा बाहिर गएर काम गरेमा त्यो भ्रष्टाचार हो,’ उनले भने ‘यदि टुटफुट, वा मेन्टेनेन्समा खर्च लाग्छ भने त्यसको छुट्टै हिसाव गरेर खर्च बाँड्नुपर्छ,।’ भृकुटीमण्डप सस्तो बजारमा जस्तै अब्यवस्थित बिजुली बितरण गरिएको ठाउँमा पनि मर्मत सम्भार र वायरिङको नाममा प्रतियुनिट ११ रुपैयाँसम्म उठाउनु उचित नभएको तिमल्सिनाले बताए । सेतोपाटीबाट
१५ जिल्लाका ३५ लाख नागरिकलाई परिचय पत्र बाँड्ने तयारी
चितवन, जेठ १ । आगामी असारमा मुलुकका १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरी तयारी भइरहेको छ । चितवनसहितका ती जिल्लामा अहिले चरणवद्ध रुपमा तयारी भइरहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यसवर्ष १५ जिल्लाका ३५ लाख नागरिकलाई परिचय पत्र वितरण गर्ने विभागको लक्ष्य छ । चितवनसहित झापा, संखुवासभा, महोत्तरी, ललितपुर, रसुवा, सप्तरी, स्याङ्जा, तनुहँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर जिल्लाका नेपालीलाई वितरण गरिने विभागले जनाएको छ । जसका लागि विभिन्न ५ सय स्थानबाट परिचय पत्र वितरण गरिने छ । यस्तो छ तयारी पहिलो चरणको तयारी अन्तर्गत १२ जिल्लामा विभिन्न सरोकारवाला पक्षसँग छलफल, अन्तरक्रिया लगायतका काम सम्पन्न भएको छ भने कञ्चनपुर, रुसुवा र जुम्लामा छलफल गर्न बाँकी नै रहेको विभागले जनाएको छ । जेठ महिनाभित्र नागरिकको सम्पूर्ण विवरण संकलन सकेर असार १५ भित्र राष्ट्रिय परिचयपत्र वितरण गर्न सक्ने गरी काम भइरहेको विभागका महानिर्देशक दीपक काफ्लेले बताए । अबको एक हप्ताभित्र कम्प्युटर अप्रेटर, प्राविधिकहरु जिल्लामा पुग्ने छन् । उनीहरुलाई काठमाडौंमा तालिम दिइएको छ । परिचयपत्र वितरण हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा स्टेसन स्थापना गरी प्राविधिकहरुले नागरिकको विवरण संकलन गर्ने छन् । नागरिकको जैविक विवरण (बायोमेट्रिक) र व्यक्तिगत विवरण संकलन गरिने छ । विवरण संकलनका लागि १५ जिल्लामा ९० भन्दा बढी प्राविधिक ख्टिने विभागले जनाएको छ । एउटा जिल्लामा कम्तीमा ६ जना प्राविधिक खटिने छन् । यस्तै आगामी वर्ष अन्य २५ जिल्लामा वितरण गर्ने तयारी छ । जसका लागि विभिन्न छलफल, अन्तरक्रिया लगायतका आवश्यक तयारी सुरु गरिने छ । बाँकी जिल्लामा अर्को वर्ष वितरण गर्ने लक्ष्य छ । आगामी वर्ष अनलाईनबाट विभागले अर्को वर्षदेखि राष्ट्रिय परिचय पत्र लिने नेपाली नागरिकले अनलाईनबाटै फारम भर्न पाउने छन् । तर केही शर्तहरु पनि राखिने छ । देश तथा विदेशमा जहाँ रहे पनि अनलाईन फारम भर्न सक्ने छन् भने उनीहरुले बायोमेट्रिक भने सम्बन्धित स्थानमै, अथवा विदेशमा रहेकाले नेपालमै आउनु पर्नेछ । अनलाईन प्रणालीले विभिन्न कारणले छुटेका र विदेशमा रहेकाहरुलाई फाईदा पुग्नेछ भने सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने विभागको लक्ष्य पूरा हुनेछ । संकलित विवरण सुरक्षित काठमाडौंमा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली स्थापना गरिरहेको छ । ती प्रणालीमा विवरण संकलन गरेर सुरक्षित रुपमा भण्डारण गर्ने र राज्यको सेवा प्रवाहमा आवद्ध गराउने भएकाले सबै नागरिकका लागि महत्वपूर्ण हुने काफ्लेले बताए । उनले यो प्रणाली राष्ट्रिय पहिचान र सेवा प्रवाहको आधार भएकाले आप्mनो पहिचानलाई स्थापित गर्न आग्रह गरेका छन् । उनले संकलन गरिएको विवरण सुरक्षित हुने भएकाले दुरुपयोग हुने, चुहावट हुने सम्भावना नरहेको दाबी गरे । यदि कसैले दुरुपयोग गरेको पाइए १० वर्ष जेल र ५ लाख जरिवाना हुनेछ । राष्ट्रिय परिचय पत्र वितरण गरिसकेपछि नागरिकता विस्थापित हुनेछ भन्ने धारणा तय गर्नु हतारो हुने महानिर्देशक काफ्लेको भनाई छ । उनले भने ‘परिचय पत्र र नागरिकताको आआप्mनै विशेषता छ । नागरिकतालाई विस्थापित गर्न परिचय पत्र वितरण गरिएको होइन ।’ विदेशीलाई पनि परिचयपत्र नेपालमा आउने विदेशीलाई पनि परिचयपत्र दिने विषयमा छलफल भइरहेको विभागले जनाएको छ। लामो समय नेपालमा बस्ने विदेशीको निगरानीका लागि विशेष किसिमको परिचयपत्रको व्यवस्था गर्नेबारे छलफल भइरहेको महानिर्देशक काफ्लेको भनाई छ । राष्ट्रिय परिचय पत्र वितरण गत बर्ष मंसिर ३ गते पाँचथरबाट सुरु भएको थियो । सुरुवाती चरणमा पाँचथरका ६० हजार नागरिकलाई वितरण गरिएको थियो । सिंहदरबारमा कार्यरत कर्मचारीलाई पनि वितरण गरिएको छ ।
यार्साको अवैध चोरी रोक्नका लागि पाटनमै सामुहिक गस्ती
डोल्पा, जेठ १ । यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो । पाटनमा हुने अवैध तस्करी रोक्नका लागि जिल्लाका विभिन्न यार्सागुम्बा पाटनमा ठूलोे सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ । निकुञ्जभित्र पर्ने यार्सा पाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । जेठ १३ मा मात्रै यार्सागुम्बा सङ्कलनका लागि यार्सा पाटन खुल्ला गर्ने निर्णय भएकाले यसअघि अवैधरुपमा पाटन छिर्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने भोक्पा, भाङ्का, सागबारी, कुनासालगायतका यार्सा पाटनमा सेनाले गस्ती गरिरहेको छ । निकुञ्जका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पर्ने यार्सा पाटनमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । ठूलीभेरी नगरपालिका अन्तर्गतका माझफाल, थरगाउँ, दुरगाउँ, तालीमा पर्ने विभिन्न यार्सा पाटनमा सुरक्षा व्यवस्था कडाइ पारिएको छ । यार्सागुम्बाको औपचारिक रुपमा सङ्कलन गर्ने समय अगावै चोरी निकासी नहोस् भनेर मेली सामुदायिक वनअन्तर्गतका रुपपानी, माजडाँडा, फुर्के, ज्ञाने, माजगाडीलगायतका दर्जनौं यार्सागुम्बा पाटनमा स्थानीय युवा र सशस्त्र प्रहरीले सामूहिक गस्ती गरिरहेको छ । जिल्ला प्रवेश गर्ने यार्सा पाटनका नाकामा समेत विशेष कडाइ गरिएको समितिले जनाएको छ । विगतका वर्षमा पाटन खुल्नुअगावै तस्करले समूह बनाएर यार्सागुम्बाको अवैध चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न २८ गतेदेखि स्थानीय र सशस्त्र प्रहरी मिलेर गस्ती शुरु गरेको स्थानीय युवा सुशील बुढाले बताए । अघिल्ला वर्षमा स्थानीय गस्ती टोली र यार्सा तस्करबीच गोली हानाहानसम्म हुने र स्थानीय त्रसित हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । मेली सामुदायिक वन क्षेत्रमा लेकको बाटोबाट प्रवेश गर्ने अधिकांश रुकुमेली सर्वसाधारण हुने गर्दछन् । यस वन क्षेत्रमा करीब २०० देखि ३०० किलोसम्म यार्सागुम्बा पाइने अनुमान गरिएको छ । यार्सागुम्बा सङ्कलनका लागि बीसौं हजार सर्वसाधारण डोल्पाका यार्सा पाटनमा पुग्ने गर्दछन् । डोल्पाली मात्रै नभई छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला, मुगुलगायतका मान्छेका लागि आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन हो ।
त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु
बेत्रावती, जेठ १ । त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बुधबारदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौंको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ । परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर (विद्युत् उत्पादन) दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारीसमेत छ । प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुइ)का प्राविधिक विस्तार भएको खम्बा र तारमा स्थलगत रुपमा खटिएर परीक्षण शुरु गरेका छन् । परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिङ्ग तार र विद्युतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५–१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ । प्रसारण लाइनको परीक्षणमा खटिएका प्राविधिक (चिनियाँ नागरिक)को मङ्गलबार यहाँको लिखु गाउँपालिका–३ सूर्यमतीमा मृत्यु भएको थियो । परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विद्युतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहेको बताइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो । उक्त प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ । यसैगरी प्रसारण लाइन निर्माणमा यस आयोजनाअन्तर्गत नेपालमा पहिलोपटक काठमाडौँको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विद्युतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ । उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । उक्त प्रसारण लाइन निर्माणमा चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजना निर्माणमा रु दुई अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ ।
गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, जेठ १ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका कार्यवाहक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच बुधबार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे । उनले केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पु¥याउनु भूमिका खेलेको चर्चा गरे । गृहमन्त्री थापाले नेपालक राजनीतिक स्थिरतासँगै अब तिव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेन्जसँग आग्रह गरे । अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कोपरेशन’ मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतिकरणका लागि महत्वपुर्ण हुने गृहमन्त्रीको भनाई छ । भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताए । उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानव बेचविखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरिरहेको बताउँदै दिँदै त्यो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । उपसहायक मन्त्री रेन्जले अमेरिकी स्वयम्सेवी समुह ‘पिस कर्पस’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोग लगायतका विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरी समेत सहभागी भएका थिए ।
डिएसपी दयानिधि ज्ञवालीका ११ महिना ११ काम
चितवन, जेठ १ । पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञावालीको करिब १ वर्षमा सरुवा भएको छ । प्रमुख पर्यटकीय केन्द्र सौराहमा पर्ने इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत डिएसपी ज्ञावालीले यहाँ ११ महिना ११ उत्कृष्ट काम गरेका छन् । उनले एक टोल एक घण्टा, अवैध उत्खनन (नदीजन्य पदार्थ) नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवा तास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारीसाधन चोरी, महिला हिंसा नियन्त्रण, रेप काण्ड, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउसहित विभिन्न कामहरुमा आफु र आफ्नो टिमबाट उत्कृष्ट कार्य प्रर्दशन गर्न सफल भएका थिए । नेपाल प्रहरीमा नै भिन्न शैलीका साथ आफ्नो शान्ति सुरक्षाका लागि उनी रातदिन नभनी कटिवद्ध रहेर काम गरेका थिए । लागूऔषधको अवैध कारोबार बढेका कारण यस क्षेत्रमा नै आपराधिक क्रियाकलाप बढ्नुका साथै नेपाल प्रहरीलाई नै ठुलो चुनौती थपिएको थियो । रत्ननगर टाँडीमा ११ महिनामा ज्ञावालीले विशेष अभियानका कारण झण्डै ८५ प्रतिशतमा रहेको लागूऔषधको कारोबार २० प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ भने मदिरा नियन्त्रण अभियानमा नेपाल प्रहरीमा एकैपटक १ लाख ७ हजार लिटर नष्ट गरी नयाँ रेर्कड कायम गरेका थिए । लागूऔषधसँगै गुण्डागर्दीविरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका डिएसपी ज्ञावालीले लागुऔधष नियन्त्रण र गुण्डागर्दी विरुद्ध भने निर्मम तवरले उत्रिएको देखिन्छ । फरार अभियुक्त पक्राउ लगायत यस क्षेत्रमा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता अनुसार नै विभिन्न कार्ययोजनाले उनले रत्ननगरमा राम्रै सफलता हासिल गरेका थिए । ‘म यहाँ आएदेखि नै विशेष रणनितिका साथ मसहित मेरो टिमले विशेष काम गरेका थियौँ उनले भने । लागु औषधको कारोबार, सेवन, ओसापोसार नियन्त्रणका लागि गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीको कार्ययोजना अनुसार अघि बढेकै कारण ठुलो सफलता मिलेको हो ।’ यस्तै घरेलु हिंसा, बैकिङ्ग कसुर, गुडागर्दी, हप्ता असुली, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका आपराधिक कार्यहरुमा समेत थप कठोर भएर प्रस्तुत भएकै कारण सफलता मिलेको हो । उनले अष्ट्रेलियामा जान लागेको भनेर बिहे गरेर नाटकीय रुपमा सपिङ्ग गर्ने भन्दै भागेर हिँड्नेलाई पनि एकसात प्रविधिको मार्फत पक्राउ गर्न सफल भएका थिए । ट्राफिक व्यवस्थापनतर्फ अनियमितता, ओभर स्पीड कन्ट्रोल लगायतका विषयमा गम्भिर भएर लाग्ने उनको भनाई थियो । उनका केहि काम यस्ता थिए । एक टोल एक घण्टा नेपाल प्रहरीमा नै फरक शैलीको एक टोल एक घण्टा अभियान उनले २०७५ फागुन २३ देखि २९ गतेसम्म सञ्चालन गरेका थिए । आपराधिक क्रियाकलापलाई पूर्णरुपमा निस्तेज पार्दै गाउँमा प्रहरी र स्थानियहरुको सम्बन्ध बढाउन यो अभियान चलाएको बताए । सो क्रममा ६० जना प्रहरीहरु अप्रेशनमा खटिएका थिए । अभियानकै क्रममा अहिलेसम्मको सबैभन्दा धेरै १ लाख ७ हजार लिटर मदिरा नष्ट गरिएको थियो । अवैध उत्खनन (नदीजन्य पदार्थ) नियन्त्रण पूर्वी चितवनको विभिन्न खोलाबाट नदिजन्य पदार्थ उत्खननमा उनले ३५ वटा ट्याक्टर तथा टिपरलाई नियन्त्रणमा लिई जिससमा पठाई कार्वाही गरेका थिए ।
कामिरिताले बनाए नयाँ विश्व कीर्तिमान, २३ औं पटक सगरमाथाको आरोहण
काठमाडौं, जेठ १ । २३ औं पटक सगरमाथाको सफल आरोहण गरेर कामिरिता शेर्पाले नयाँ विश्व रेकर्ड बनाएका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्बाधिक २२ औं पटकको विश्व किर्तिमानलाई तोडेका हुन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका हुन् । उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्। बौद्ध धर्मअनुसार एक महिनाघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।
एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्किँदै
काठमाडौं, जेठ १ । भियतनाम र कम्बोडिया भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री ओली आज दिउँसो कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने छन् । २६ वैशाखमा भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओली ३० वैशाख सम्म भियतनाम र ३० वैशाख देखि १ जेठ सम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका छन् । प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा कम्बोडिया भ्रमणमा गएका थिए ।
१९ जिल्लामा सहसचिव र एसपी खटाउने सरकारको तयारी (नामसहित)
काठमाडौं, जेठ १ । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमुख रहेका छन् । हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट यी जिल्लामा सहसचिव र एसपीः पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा

