नवगठित समाजवादी पार्टीका दुई दर्जन असन्तुष्ट समूहको छुट्टै भेला

काठमाडौं, वैशाख २५ । नवगठित समाजवादी पार्टीका असन्तुष्ट समूहले बुधबार छुट्टै भेला गरेका छन् । बाबुराम भट्टराईले पार्टीभित्र छलफलै नगरी संघीय समाजवादी फोरमसँग एकीकरण गरिएको भन्दै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य र केन्द्रीय नेताहरुले छुट्टै भेला गरेका हुन् ।

भेलामा करिब दुई दर्जन नेताहरु सहभागी भएका नेता रामरिझन यादवले जानकारी दिए । भेलाले आफ्नो समूहको असन्तुष्टिबारे नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउने निष्कर्ष निकालिएको नेता यादवले बताए।

उनले पार्टी एकीकरणप्रति आफूहरुको समर्थन रहेको जिकिर गर्दै प्रक्रिया नमिलेकोले विरोध गरिएको बताए। असन्तुष्ट समूहमा मदन राई, कल्पना धमला, देवेन्द्र पराजुली, भक्तबहादुर शाह, ज्ञानेन्द्रकुमाल लगायत छन्। तत्कालीन नयाँ शक्ति पार्टीको विज्ञ परिषद्का सदस्य मदन राईको निवास ललितपुर ढोलाहिटीमा उनीहरुले आगामी रणनीतिबारे पनि छलफल गरेका छन् ।

मापदण्ड विपरित सञ्चालित पेट्रोल पम्प हटाइने

काठमाडौँ, वैशाख २० । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्ड विपरित सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफलमा उनले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताएका हुन् । ‘यातायात क्षेत्रको सुधारका लागि अस्तव्यवस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौँ’,– उनले भने । उनले उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँदै दुर्घटना घटाउन ट्राफिक लाइट, जेब्राक्रसिङ, आकाशे पुल निर्माण गर्न लागिएको बताए । प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसि क्यामरा जडान गर्न लागेको जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महिने कार्ययोजना बनाएर अगाडि बढेको बताए । महाशाखाका प्रमुख पन्तले काठमाडौँमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा ंपिक एण्ड ड्रप’को व्यवस्था गरिएको बताउँदै आइतबारदेखि उक्त व्यवस्था कलङ्की क्षेत्रमा पनि लागू गरिने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि बस काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने बताए । ‘यात्रुले अनिवार्य रुपमा टिकट काटेर यात्रा गर्नुपर्छ’– उनले भने । यातायात क्षेत्रको सुधारका लागि सरकारले चालेको कदमलाई महासङ्घले स्वागत गरेको उनको भनाई छ । काठमाडौँ महानगरपालिका–१४ शोभा सापकोटाले उपत्यका भित्रिने प्रमुख नाका कलङ्कीलाई व्यवस्थित गर्नुपर्ने बताए । नेपाल यातायात मजदूर संघ प्रदेश ३ का अध्यक्ष जगन्नाथ गौतम, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल मजदूर संघका अध्यक्ष सोम तामाङ लगायतले सरकारले यातायात क्षेत्रको सुधारका लागि पूर्वाधार विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिए । महाशाखाले कलङ्की क्षेत्रलाई व्यवस्थित गर्नका लागि उपत्यकाभित्र चल्ने सवारी साधनलाई एकठाउँ उपत्यका बाहिर चल्ने सवारी साधनलाई अर्कोठाँउ र मोटरसाइकललाई अर्को ठाँउमा ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए ।

फोहोरको डुँगुर बन्दै सगरमाथा, भेटिए मृत मानवदेखि फोहोरसम्म

काठमाडौं, वैशाख २० । संसारको सबैभन्दा सर्वोच्च शिखर फोहोर जम्मा हुने ‘कबाडखाना’ बनेको छ । दशकौंदेखि सगरमाथा आरोहणका क्रममा फ्याँकिने फोहोरका कारण सगरमाथामा निकै ठूलो मात्रामा फोहोर जम्मा भएको हो । बिभिन्न समयमा सगरमाथाको फोहोरको चर्चा भएपनि यसपटक भने स्वयम्सेवकहरुको एउटा टोलीले फोहोर संकलन शुरु गरेको छ । सिएनएनका अनुसार, पछिल्लो दुईहप्ताको अवधिमा तीन मेट्रिक टन (६ हजार ६ सय १३ किलो) फोहोर संकलन गरिएको छ । यो भनेको दुईवटा हिप्पोपोटामस (गैंडा जस्तै जनावर) बराबर भएको सिएनएनले जनाएको छ । सगरमाथा सफाई अभियान अन्तर्गत खाली बोतल, क्यान, प्लास्किट, आरोहणका अन्य सामानलगायतका कुरा संकलन गरिएका छन् । सेनाको हेरिलकोप्टरले माथिल्लो उचाईमा समेत फोहोर संकलन गर्न सघाउ पुर्याएको छ । समाचारमा जनाई अनुसार, फोहोर संकलनका क्रममा चारवटा मानव लास समेत भेटिएका छन् । यी मानव शरीर ८ हजार ८ सय मीटरको उचाईमा रहेको समाचारमा उल्लेख छ ।  सन् २०११ देखि यता सगरमाथाको सफाईका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको छ ।

निजीलाई स्कुललाई बन्द गरेर मात्रै सामुदायिक विद्यालयको स्तरमाथि उठ्दैनः शिक्षामन्त्री पोखरेल

काठमाडौं, वैशाख २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अन्तरक्रियामा मन्त्री पोखरेलले आयोगकै प्रतिवेदनमा टेकेर संघीयय शिक्षा विधेयक ल्याउन पनि काम भइरहेको जनाउँदै आगामी १० वर्षभित्र सामुदायिक विद्यालयलाई गुणात्मक फड्कोसहित रुपान्तरण गरिने बताएका हुन् । सङ्घीय शिक्षा विधेयकले केन्द्र, प्रदेश र स्थानीय तहका शिक्षाका एकल र साझा अधिकारका सूचीबारे उल्लेख गर्नेछ । उच्च शिक्षाका लागि अलग्गै नयाँ कानून आउने मन्त्री पोखरेलले जानकारी दिए । आयोगले आगामी १० वर्षभित्र निजी विद्यालयलाई सेवामुखीमा रुपान्तरण गर्न सुझाव दिएको छ । शिक्षामन्त्री अध्यक्ष रहेको सो आयोगले गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको सो प्रतिवेदन सार्वजनिक नभएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने, “आयोगले छ महिना लगाएर सानदाररुपमा काम सम्पन्न गरेको छ । प्रतिवेदन एक प्रकारको अध्ययन र सुझाव हो । त्यो सार्वजनिक हुनु हुँदैन भन्ने होइन । यसमा मन्त्रिपरिषद्ले नै निर्णय गर्नेछ ।” मन्त्री पोखरेलले शिक्षक व्यवस्थापन, गुणात्मक शिक्षा र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन कुल बजेटको २० प्रतिशत बजेटले पनि नपुग्ने भए पनि यसबारे अर्थ मन्त्रालयसँग आफू छलफलमा रहेको जनाउँदै संविधानको मौलिक हक, अन्तर्राष्ट्रिय प्रतिबद्धता र सरकारका प्रतिबद्धताको कार्यान्वयनका लागि अहिलेको बजेट अपर्याप्त भएको स्वीकार गरे । आगामी १० वर्षमा निजी विद्यालय बन्द हुन्छ त भन्ने प्रश्नमा मन्त्री पोखरेलको जवाफ छ, ‘निजी विद्यालयलाई बन्द गरेर मात्रै सामुदायिक विद्यालयको स्तरमाथि उठ्छ भन्ने हाम्रो विचार होइन । निजी विद्यालय सेवामुखी धारमा सञ्चालित हुनुपर्छ । उनीहरुले कानूनले तोकेअनुसार छात्रवृत्ति दिनुपर्छ । सामुदायिक विद्यालयको स्तर सुध्रनुपर्छ ।’

सञ्चारगृह सरकारप्रति होइन, जनताप्रति उत्तरदायी बन्नुपर्छः मन्त्री बाँस्कोटा

काठमाडौं, वैशाख २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताएका छन् । १६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रेसमाथि अंकुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए । सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने स्पष्ट पारे । मन्त्री बाँस्कोटाले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त भएको स्पष्ट पारे । समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वासआर्जन गर्न आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सङ्ख्यात्मक हिसाबले नेपाली मिडिया बढेको बताउँदै संख्या बढेसँगै गुणस्तर खस्किएको बताए । फरक प्रसङ्गमा उनले निर्वाचन प्रणालीलाई आमूलपरिवर्तन गर्ने प्रक्रिया आफूले थालनी गरेको उल्लेख गरे । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष हरिहर विरहीलगायतले शसस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताए । प्रेस स्वतन्त्रता उल्लंघन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको उनीहरुको धारणा थियो । सो अवसरमा महासंघले महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र संगीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गर्यो ।

एक महिला आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिइन्

लहान, बैशाख २० । सिरहा नगरपालिका–१४ खिरौनामा शुक्रबार बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएकी हुन्। मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए । यता स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आशंका गरेका छन्। गत फागनु १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो । बिहेका बेला दिएको दाइजो कम भएको भन्दै सासु तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइती पक्षको आरोप छ । रासस

बौद्ध–टुसालको सडकमा अनियन्त्रित भई पल्टियो बस, १८ जना घाइते

काठमाडौं, वैशाख २० । शुक्रबार बिहान साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्ध टुसालमा दुर्घटना भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

नयाँ कर्मचारी भर्ना गर्न कानूनी अड्चन, केन्द्रले माग्छ प्रदेशले रोक्छ

काठमाडौ, वैशाख २० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको कर्मचारीको विवरण माग गरेको छ । स्थानीय तहमा प्रदेश लोक सेवा आयोगमार्फत कर्मचारी भर्ना गर्नुपर्ने संवैधानिक अधिकार रहेको छ । यसको विपरीत एकपटकका लागि भन्दै संघीय लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गर्ने तयारीको क्रममा सो माग गरिएको हो । मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई पत्राचार गरी कर्मचारी विवरण उपलब्ध गराउन भनेको छ। स्थानीय तहमा रिक्त कर्मचारीको संख्या संघबाट पदपूर्ति गर्न त्यस्तो विवरण माग गरेको मन्त्रालयले जनाएको छ । कर्मचारी समायोजन कार्य पूरा भइसक्दा पनि स्थानीय तहमा कर्मचारी अपुग रहेको छ । यसले गर्दा सेवा प्रवाह, विकास निर्माणको कार्य प्रभावित भइरहेको पाइएको छ । स्थानीय तहले स्वयंले कर्मचारी भर्ना प्रक्रिया अघि बढाउनुपर्ने जनप्रतिनिधिको माग छ। यस्तो अवस्थामा मन्त्रालयले तोकिएको ढाँचामा अपुग कर्मचारीको विवरण पठाउन गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको थियो। मन्त्रालयले तोकिएको ढाँचामा अपुग कर्मचारीको पद, तह, सेवा समूह, स्वीकृति दरबन्दी, सेवा, साविक स्थानीय तह, निजामती सेवाबाट समायोजन, जिल्ला समन्वय समिति, अन्य सेवाबाट भएको समायोजन भएको कर्मचारी संख्या र रिक्त कर्मचारीको संख्या यकिन गरी पठाउन देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ । मन्त्रालयको सो पत्राचारअनुरूप तोकिएको ढाँचामा कर्मचारीको सबै विवरण खुलाएर प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका अध्यक्ष तथा नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेर मन्त्रालयमा पठाउनुपर्ने छ । यसैबीच संघ सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एकपटकका लागि संघीय लोक सेवा आयोगबाटै पदपूर्ति गर्ने तयारी अघि बढाएको छ। प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न र लोक सेवा परीक्षाको पाठ्यक्रम तथा मापदण्ड निर्धारण गर्न तत्काल नसक्ने बताउँदै मन्त्री लालबाबु पण्डितको भनाइ यस्तो छ– ‘पहिलो पटकका लागि संघले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्ने हो ।’ मन्त्रालयले पहिलो २० हजार कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। मन्त्रालयको यस्तो तयारीप्रति स्थानीय तहले निरन्तर असन्तुष्टि जनाउँदै आएको छ। संघीयताको आवरणमा मन्त्रालयले निरन्तर हस्तक्षेप गरेर स्थानीय तहको मर्ममाथि प्रहार गरेको भन्दै उनीहरूले मन्त्रालयको यस्तो तयारीप्रति विरोध गर्दै आएका हुन्। ‘मन्त्रालय निजामती कर्मचारी पठाएर स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै आएको छ। स्थानीय तहले चाहेमा मन्त्रालयले पठाएका सबै कर्मचारी फिर्ता गराउन सक्दछ ।’ धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले भने । संघले दरबन्दी नै नभएका कर्मचारीलाई स्थानीय तहमा पठाई रहेको बताउँदै नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका ब्याञ्जुले कर्मचारी समायोजन भइसकेपछि कर्मचारी पठाउन खोज्छ भने त्यो जनप्रतिनिधिलाई सहन नसकिने बताए । मन्त्रालयले गरेको समायोजनको प्रक्रिया न्यायोचित नभएको पनि प्रमुख ब्याञ्जुको भनाई रहेको छ। समायोजनमा कमजोरी भएको उल्लेख गर्दै उनले भने ‘केही कमजोरी भएका छन् । हाम्रा नियतहरू खराब छन् । मन्त्रालयले स्थानीय तहको अधिकार हस्तक्षेप गर्न उघत देखिन्छ।’ नेपाल समाचारपत्रबाट

धनगढी उप–महानगरले वैशाख २६ गतेबाट वडा भेला संचालन गर्ने

धनगढी, वैशाख २० । धनगढी उप–महानगरपालिकाले आगामि आर्थिक २०६७–०७७ वर्षको योजना छनौटका लागि वैशाख २६ गतेबाट वडा भेला संचालन गर्ने भएको छ । योजना छनौट प्रकृयालाई बढी सहभागितामूलक बनाउन र स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ (परिमार्जिक)लाई अवलम्वन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको नगर प्रमुख नृपबहादुर वडले बताए । वडा भेलाको प्रभावकारिता बुझ्न अनुगमन गरिने छ नगरप्रमुख वडले भने, हामीले कुनैपनि योजना छनौट जनताको आवश्यकता र अर्थपूर्ण सहभागितामा हुनुपर्छ भनेको छौं । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार २०७६ साल बैशाख २६ गते वडा नं १, २, ३, ४ र ५ मा वडा भेला, वैशाख २७ गते वडा नं ६, ७, ८, ९ र १० मा वडा भेला संचालन हुने छ । त्यसैगरी वडा नं ११, १२, १३, १६ र १७ मा वैशाख २८ गते र १४, १५, १८ र १९ मा वैशाख २९ गते वडा भेला संचालन गरिने भएको छ ।

‘देशको हालत कस्तो? छाती पिटीपिटी चिच्याउनुजस्तो’

काठमाडौं, वैशाख २० । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरूको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरू के हुन्छ,’ भुसालले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तो छ । गीतले भन्थ्यो– ‘हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनुजस्तो छ ।’ त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’ भुसाल नेतृत्वको कार्लमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले मार्क्सको २ सय १औँ जन्मजयन्तीका अवसरमा २२ वैशाखमा प्रज्ञा भवन कमलादीमा विमर्श कार्यक्रमको आयोजना गर्दै छ । भुसाल समिति संयोजक छन् भने नेकपाका अर्का नेता राम कार्की सहसंयोजक छन् । भुसालले नेकपा गुटहरूको महासंघ वा काउन्सिलमा परिणत भएको निष्कर्ष सुनाए ।‘हामी सिद्धान्तमा लरखरिएका छौँ । हेटौँडा महाधिवेशनपछि माओवादीले च्याप्टर क्लोज गर्दियो, हामीले चाहिँ नवौँ महाधिवेशनले गरेको निर्णयमा एकपटक केन्द्रीय कमिटीमा छलफलसम्म गरेनाैँ, तल गएनौँ, नीतिले नेता चिनेन, नेताले नीति चिनेन,’ उनले भने, ‘सिद्धान्तको मूल जरो काटिदिएपछि अहिले बोनसाई झार भएको छ । याे  समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।

खाद्य संस्थानले डोल्पा पठाइएको चामल कर्मचारीको मिलेमतोमा बाटोमै बिक्री

जाजरकोट, बैशाख २० । नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका ७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा बिक्री गरेका हुन् । जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट आएको चामल बाटौमै बिक्री गरिएको छ, जुम्ला र सुर्खेतबाट ल्याउने चामल पनि पुगेको छैन,’ मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने, ‘गाउँमा चामल छैन ।’ यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

धोबी खोलाको जग्गा पनि व्यक्तिका नाममा

काठमाडौं, वैशाख २० । धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो। निलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिइएको छ। साबिक चपली ९ (ग) २ मा पर्ने धोबीखोलाको जग्गा नयाँ नापी हुँदा कायम कित्ता नम्बर १३३, १३४ र १४३ समेतमा घुसाई व्यक्तिका नाममा दर्ता भएको छ। सम्बाहाम्फे लोयल्टी स्कुलका सञ्चालकसमेत हुन्। उनी र उनकी श्रीमतीका नाममा मात्रै चार रोपनी सरकारी जमिन दर्ता भएको छ। खोला कायम भइसकेको कित्ताबाट क्षेत्रफल कटाएर नक्सा सुधार गरी खोलाको जग्गासमेत मिसाई कुलो पनि मासेर व्यक्तिका नाममा साबिकभन्दा थप ३–१५–०–१ जग्गा दर्ता गरिएको छ। धोबीखोला क्षेत्रको जमिन व्यक्तिका नाममा दर्ता भएको विषयमा छानबिन गर्न चाबहिल मालपोत कार्यालयका तत्कालीन प्रमुख शंकरप्रसाद भेटवालको संयोजकत्वमा समिति बनेको थियो। समितिले निलो पुलदेखि लोयल्टी स्कुल हुँदै एकता बस्तीसम्मको धोबीखोलाकिनारको जमिन अतिक्रमण गरी भौतिक संरचना बनाइएको प्रतिवेदन बुझाएको थियो। समितिले प्रतिवेदन बुझाएको सात वर्ष पुगिसक्दा पनि सरकारी जग्गा अतिक्रमणकारीमाथि कुनै कारबाही भएको छैन। धोबीखोला क्षेत्रको सो जमिन कर्मचारीसमेतको मिलेमतोमा दर्ता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। ‘धोबीखोला निलो पुल नजिकको जमिन व्यक्तिका नाममा दर्ता भएको विषयमा अख्तियारमा उजुरी परेको छ’, उनले भने । याे समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।

जंगलमा युवायुवतीको शव भेटियो

काठमाडौं, वैशाख १९ । कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको खुलेको छ । उनीहरू दुवैले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव परीक्षणका लागि धनगढी पठाएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा किरा पर्न थालेकाले केही दिनअघि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भन्ने जानकारी गराएकी भन्दै खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुन सक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।

हात्तीको दाह्रासहित २ जना पक्राउ

भक्तपुर, वैशाख १९ । मध्यपुर थिमि ३ कौशलटारबाट हात्तीको दाह्रासहित बिहीबार साँझ २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाडौं स्वयम्भूस्थित सानो भर्‍याङ बस्ने ३० वर्षीय रुपेश खड्का र सोही स्थान बस्ने गुल्मी रुरु गाउँपालिका ५ का २३ वर्षीय भाष्कर पौडल रहेका छन् । उनीहरू दुवै जनालाई अन्दाजी २५० ग्रामको एक थान हात्तीको दाह्रासहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए। उनले भने, हात्तीको दाह्रा बेच बिखन गर्ने उद्देश्यले हिँडिरहेको अवस्थामा प्रहरी परिसरको टोलीले कौशलटारबाट ती दुई जनालाई पक्राउ गरिएको हो।’ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

स्वाभिमान माइक्रोफाइनान्सको आइपिओ खुल्दै

काठमाडौँ, बैशाख १५ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारण सेयर (आइपिओ) सार्वजनिक निष्काशन गर्न अनुमति पाएको छ। माइक्रोफाइनान्सले धितोपत्र बोर्डबाट जारी पूँजीको ३२.११ प्रतिशत बराबरको साधारण शेयर (आईपिओ) जारी गर्न अनुमति पाएको हो। तिलोत्तमा, ५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको स्वाभिमानले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको शेयर जारी गर्नेछ । जसअनुसार एक करोड ९८ लाख रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता आईपिओ बिक्रीमा आउनेछ । आईपिओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको गत कार्तिक ५ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार बोडमा दिएको आवेदन बैशाख ११ गते स्वीकृत भएको हो। हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षको दास्रो त्रैमासमा लघुवित्तले ८२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। मेरो लगानीबाट

अध्यक्ष प्रचण्ड र देउवालाई पत्रकार महासंघको ध्यानाकर्षणपत्र

काठमाडौं, वैशाख १५ । नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्र्र्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा जोड दिएको छ। सोही अवसरमा अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलागयतका मुद्दामा पत्रकार महासंघ र आम प्रेस जगत्ले खेलेको भूमिकाको प्रशंसा गरे । अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासंघले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासङ्घले राखेको ध्यानाकर्षण पत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को धारणालाई सहयोग पुग्ने उनको भनाइ थियो । यसैगरी सभापति देउवाले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत महासङ्घसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रासस