चट्याङ लागेर एक जनाको मृत्यु
राजविराज, बैशाख १५ । सप्तरी जिल्लाको सोनापुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका – ८ सोनापुर बस्ने ६० वर्षीय मोहन साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार आइतबार आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि साहको मृत्यु भएको हो ।
सप्तरीमा आइतबार हावा, हुरीसँगै चट्याङ समेत परेको थियो ।
सुदुरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो
धनगढ, वैशाख १५ । प्रदेश नं. ५ सरकारले सुदुरपश्चिम प्रदेशवासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई प्रदेश नं.५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गरे । ‘सुदुरपश्चिमका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई सुदुरपश्चिमका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो–आचार्यले भने । बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरु गोटिहवा, सगरहवा, कुदान, अरौराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्या २५ लाख पु¥याउने उद्देश्यसहित प्रदेश नं. ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए । प्रदेश नं.५ का पहाडी जिल्लामा हिल स्टेसन बनाउने र लुम्बिनी घुमेर सकेपछि ती स्थानमा विश्रामको वातावरण मिलाउने तयारी सरकारको छ । सोही अवसरमा बोल्दै सुदुरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि सुदुरपश्चिम प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताइन् । उनले प्रदेश नं. ५ बासीले सुदुरपश्चिम क्षेत्र र सुदुरपश्चिमबासीले लुम्बिनी भ्रमण गर्ने गरी नीति ल्याउन लागेको बताइन् । पर्यटन अभियन्ता, व्यवसायी र सरोकारवालासँग छलफल गरेर छिटै नै प्रदेश सरकारले पर्यटन नीति ल्याउन लागेको उनले बताइन् । प्रदेश ५ सरकारले गरेका राम्रा कामहरुको अनुसरण गर्दै सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि काम गर्ने मन्त्री भट्टले बताइन् । ‘पहिले प्रदेश घुमौं, त्यसपछि अरु प्रदेशहरु घुमौं, त्यसपछि देशभर घुमौं र अनिमात्रै विदेश घुमाँैं, उनले भनिन्–यसका लागि सुदुरपश्चिम प्रदेश सरकारले अभियान नै चलाउने छ ।’ सुदुरपश्चिम सुन्दर रहेको भन्दै मन्त्री भट्टले पर्यटन प्रवद्र्धनका लागि सबैका बीचमा समन्वय र सहकार्यको खाँचो रहेको बताइन् । उनले सुदुरपश्चिम सरकारकै तर्फबाट यसैवर्ष लुम्बिनी घुम्न आउने वाचा गर्दै सुदुरपश्चिम प्रदेश घुम्न प्रदेश ५ सरकारलाई निम्तो गरिन् । यस्तै सुदुरपश्चिमका पर्यटन अभियन्ताहरु गोपी हमाल, दिनेश भण्डारी, रमण श्रेष्ठले बोल्दै लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई सुदुरपश्चिममा आउनेगरी समन्वय गर्नुपर्ने बताए । उनीहरुले सुदुरपश्चिम क्षेत्र र लुम्बिनी क्षेत्रका पर्यटकीय स्थललाई एकैसाथ प्रवद्र्धन गरेमा प्रभावकारी हुने बताए । यस्तो छ भ्रमण वर्षको कार्यक्रम सिद्धार्थ गौतमबुद्ध मात्रै होइन, लुम्बिनी क्षेत्रमा त्यसअघिका क्रकुच्छन्द र कनकमणि बुद्ध पनि जन्मिएका थिए । क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटिहवा र अरोराकोटमा जन्मिएका थिए । बुद्धको अस्तुधातु समेत लुम्बिनी क्षेत्रमै रहेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) का बुद्धस्थलहरुलाई लुम्बिनी क्षेत्रमा राखेर प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको हो । लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी रहेका छन् । प्रदेश ५ सरकारले भ्रमण वर्ष प्रचार प्रसारका लागि नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ । भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ । भ्रमण वर्षको कार्यक्रम २०७६ को वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुने छ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो । प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताए । पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने प्रदेश ५ सरकारको विश्वास छ । भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सी.पी. खनालले जानकारी दिए । लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने उपसमिति सदस्य रुद्रहरि कुँवरले बताए । यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ । २२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । मायादेवी प्रसुति उत्सव महारानी मायादेवी सुत्केरी हुने बेला नजिकिदै गएपछि पहिलो सन्तानको जन्म दिन माइती जानुपर्ने त्यतिबेलाको परम्पराअनुसार उनी कपिलवस्तुको राजधानी तिलौराकोटबाट सुसारे, सेनासहित माइती देवदह प्रस्थान गरिन् । बाटोमा पर्ने मनमोहक लुम्बिनी बगैचामा विश्राम गरिन् । सोही क्रममा उनलाई बेथा लाग्यो । बगैचामा साल वृक्षको हाँगा समातेर सिद्धार्थलाई जन्म दिइन् । महारानी मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको खबर सुनेर राजा शुद्धोधनले कपिलवस्तु राज्यमा महाउत्सव मनाउने घोषणा गरे । सोहीअनुसार लुम्बिनीमा कोलिय र शाक्य राज्यका भद्रभलाद्मीहरुको उपस्थिति भयो । कपिलवस्तु राज्यभरि सरसफाई गरियो, तुलब्यानर टाँगियो, बाजागाजा लगाउन लगाइयो, प्रत्येक घरअघि घडा राख्न लगाइयो, स्वागतद्वारहरु निर्माण भए । महारानी शिशु सिद्धार्थलाई लिएर लुम्बिनीबाट कपिलवस्तु फर्किदा हजारौं नागरिकहरु उत्सवमा सहभागी भए । त्यही महाउत्सवको झल्को दिने गरी बुद्धपूर्णिमाको अर्को दिन जेठ ५ गते प्रसुति उत्सव मनाइने छ । के हो सुजाता खीर उत्सव ? सिद्धार्थले गृहत्याग गरेपछि ६ वर्षसम्म महातपस्या गरे । धेरै गुरुको आश्रममा गएर सेवा गरे । एकपछि अर्को साधना गर्दै गए । तर अहंकारको तृप्त अर्थात दुःखको संसार समाप्त भएन । एक दिन गुरुले भने, ‘दिन–प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ ।’ सिद्धार्थले त्यही अनुसार गर्दै गए । छ महिनामा एउटा चामलको दानामात्र भोजन भयो । ज्ञान त प्राप्त भएन, तर शरीर पूर्णतया विनाश भयो । हड्डी र छालामात्र बाँकी रह्यो । उरुवेलको निरन्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो । नदी तर्न सकेनन्, बाटोमै ढले । हातखुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो, ‘मलाई यो के भयो ? भवसागर तर्ने उद्देश्यले सन्यास लिएको हुँ । तर आज यो सानो नदी पनि तर्न सकिन ?’ एक बिहान निरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खीर भोजन गरे । निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामक युवतीले खीर खुवाएपछि सोही राती ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाइने छ । लुम्बिनी भ्रमण वर्षका उद्देश्यहरू ० नेपाल सरकारबाट सन् २०२० लाइ भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने । ० पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पुर्याउने । ० यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउने । ० लुम्विनी आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउने । ० लुम्विनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिकोे उद्गम स्थलका रुपमा ब्यापक प्रचार गर्ने । ० लुम्विनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तब्यहरूको प्रचार–प्रसार र प्रबद्र्धन गर्ने । लुम्बिनी भ्रमण वर्ष कार्यक्रम २०७६ का विशेषताहरू १ लुम्बिनी भ्रमणवर्ष शुभारम्भ समारोह–२०७६ जेष्ठ ४ गते २.मायादेबी प्रसुति उत्सव—२०७६ जेष्ठ ५ गते ३. लुम्बिनी फुड फेष्टिबल ४.सुजाता खीर उत्सव ५. सडक प्रदर्शनी ६. मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन ७ मासिक फूल मून डे (पूर्णिमा) उत्सव ८. धार्मिक यात्रा र त्रिपिटिक वाचन ९ योग तथा ध्यान शिविरहरू १०. स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर)को व्यवस्था अपेक्षित उपलब्धी ० राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई सो क्षेत्रको महत्व बढ्ने र बिकास हुने, ० लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरूकोे बसाई अवधिमा वृद्धि हुने , ० लुम्बिनी क्षेत्रका स्थानीय उत्पादन तथा ब्यापार ब्यवसायमा बृद्धि हुने, ० होटेल, ट्राभल एजेन्सी, यातायात लगायतका पर्यटन ब्यवसायको प्रबद्र्धन हुने, ० रोजगारीको सिर्जना हुने, ० प्रदेश सरकार र लुम्बिनी विकास कोष बीच समन्वय र सहकार्य भई यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने ।
एनसेलको कर छली विरुद्धको मुद्दाका अगुवा र सिम बहिष्कार अभियन्तासँग अन्तरसंवाद
काठमाडौं, वैशाख १५ । एनसेलको कर छली विरुद्ध सर्वोच्चमा दायर भएको मुद्दाका अगुवा र सिम बहिष्कार अभियन्तासँग अन्तर संवाद गर्ने लागेको छ । आइतबार बिहान अनामनगरस्थित आयोजना गरिएको कार्यक्रममा लाभकर असुल्न सर्वोच्चले फैसला गरेको मुद्दाका अगुवा पूर्वसचिव डा. द्वारीकानाथ ढुंगेल, सोही मुद्दामा बहस गर्ने बरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारी सहभागी हुनेछन् । त्यस्तै कर नतिरेसम्म एनसेलको सिम बहिस्कारका अभियन्ता नायिका तथा निर्माता रेखा थापा लगायतको सहभागी हुनेछ । कार्यक्रममा एनसेलले कसरी र कति कर छली गरेको छ, सर्वोच्चको फैसलापछि भएको चलखेल र एनसेलले कर नतिर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गर्दासम्मका घटनाक्रमको जानकारी गराइने छ । ‘नो ट्याक्स नो एनसेल’ का अभियन्ताहरुले एनसेलको सिम बहिस्कार किन गरे भन्ने धारणा राख्नुको साथै युवा पंक्तिलाई आह्वान गर्ने बताइएको छ । कार्यक्रम १० बजेबाट सुरु हुने संवाद डबलीका अध्यक्ष दिपेन्द्र रावलले जानकारी दिए ।
लागूऔषध सहित एक भारतीय पक्राउ
सुनसरी, वैशाख १५ । सुनसरी हरिनगर गाउँपालिका २ स्थित सविक रामनगर भुटाहा ७ र वस्मतिया जोडने सडकमा रहेको नहरको डिलबाट लागूऔषधसहित एक भारतीय पक्राउ परेको छ । शुक्रबार रातीे ९ बजे क्रममा मोटरसाइकलमा दुईजना भारतको बस्मतियाबाट लुकाएर ल्याउदै गरेको लागूऔषधसहित भुटाहास्थित नहरको डिलबाट सशस्त्र प्रहरीले चेकजाँचको क्रममा एक भारतिय इरफान मियाँलाई लागूऔषधसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बेसका इन्चार्ज धिरज गुरुङले बताए । दुईजना मध्य एक जना मोटरसाइकल चालक फरार भएको र मोटरसाइकल पछाडि बसेको एकजनालाई नियन्त्रणमा लिएको शस्त्र प्रहरी बल बेस क्याम्प भुटाहाले जनाएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प र नेपाल प्रहरी चौकी भुटाहाका संयुक्त टोलीले भुटाहा र भारत वस्मतिया जोडने सडकमा गस्ति टोली र चेकजाँचको क्रममा एक भारतीयसहित ८१ थान कोरेक्स नियन्त्रणमा लिएको संयुतm टोलीका नेपाल प्रहरी चौकी इन्र्चाज भेषराज दाहालले जनकारी गराए । सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार नेपालमा प्रतिबन्धित डिलेक्स डिसि ८१ थान सहित भारत बस्मतिया अररिया ११ बस्ने २८ वर्षी इरफान आलमलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ । र अर्को एक मोटरसाइकल सहित भारतीय व्यक्ति भाग्न सफल भएकोलाई समेत खोजतलास गरिरहेको र यी लागुऔषध कारोबारी गर्ने नेपाल र भारत दुवैतिर ठुलो गिरोह रहेको उनीहरुलाई छिटोभन्दा छिटो कानूनीय दायरामा लियाउने इनेस्पेक्टर गुरुङले स्रोतलाई बताए ।
तलब नपाएपछि कर्मचारीले गरे आत्महत्या
काठमाडौं बैशाख १५ । आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए । गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको थिएन । उनी अस्पतालमा भर्ना भएका थिए । शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो । शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट फरालेर आत्महत्या गरे । शैलेष सिंहका जेठो छोरा पनि जेट एयरवेजमा नै काम गर्थे । जेट एयरको उडान बन्द भएकाले उनको पनि तलब आएको छैन । जेट एयरवेज सञ्चालनमा नआउँदा कम्पनीमा कार्यरत कयौँ कर्मचारीहरु आर्थिक संकटमा जुधिरहेको बताएका छन् । यो समाचार उज्यालो अनलाइनबाट लिइएको हो ।
लुम्बिनी भ्रमण वर्षः मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने तयारी फितलो
लुम्बिनी, बैशाख १५ । प्रदेश ५ सरकारले मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लुम्बिनी भ्रमण वर्ष, २०७६ को कार्यक्रम अघि सारे पनि तयारी फितलो देखिएको छ । प्रदेश सरकारले विशेष महत्त्व दिएर मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष एक महिना ढिलो सुरु हुने भएको छ । औपचारिक उद्घाटन जेठ ४ गते (वैशाख पूर्णिमा) लुम्बिनीमा हुनेछ । ‘प्रदेश सरकारले लुम्बिनीको गरिमा र महत्त्व बढाउन ०७६ लाई लुम्बिनी घुम्ने वर्ष मनाउनु राम्रो हो,’ सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका महासचिव लीलामणि शर्माले भने । एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले भने भ्रमण वर्ष मनाउने विषयमा लुम्बिनीमा सामान्य छलफलसमेत नभएको बताए । ‘होटल व्यवसायीले कसरी मद्दत गर्न सक्छन् भन्ने निर्क्यौल भइसक्नुपर्ने थियो,’ उनले भने, ‘भ्रमण वर्षमा आउनेलाई हामी केही प्रतिशत छुट दिएर आतिथ्य सत्कार गर्न आतुर छौं ।’ सन् २०१७ मा भन्दा २०१८ मा लुम्बिनीमा आन्तरिक पर्यटकको संख्यामा ६ प्रतिशतले कमी आयो । सहज अवस्था, राजनीतिक स्थिरता हुँदा पनि पर्यटक आगमन घट्नु विडम्बना भएको स्थानीयले बताए । पर्यटक आगमनमा कमी आएकाले लुम्बिनीमा पर्यटक बढाउन भ्रमण वर्ष मनाउन लागिएको सरोकारवालाको भनाइ छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेका बेला त्यसलाई सहयोग पुग्ने गरी प्रदेशमा पनि लुम्बिनी भ्रमण वर्षको तयारी गरिएको हो । गत फागुन २३ मा प्रदेश सरकारले ४ करोड १९ लाख रुपैयाँ विनियोजन गरेर लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गर्यो । उद्घाटन, समापन कार्यक्रमका लागि ८५ लाख रुपैयाँ छुट्याइएको छ । समिति गठन र खाजा भत्तामा ४६ लाख बजेट राखिएको छ । २० लाख रुपैयाँ कार्यपत्र लेखनमा छुट्याइएको छ । सरसफाइ र डस्टबिन खरिदमा ४० लाख रुपैयाँ र २० लाख रुपैयाँ ब्रोसर छपाइका लागि भनिएको छ । पूर्वाधार निर्माणमा बजेट छैन । भ्रमण वर्ष प्रभावकारी हुनेमा स्थानीयले आशंका गरेका छन् । भ्रमण वर्षका कार्यक्रममा प्रसूति उत्सव र लुम्बिनी फुड फेस्टिभल राखिएका छन् । सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुलमुन डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन र लुम्बिनी पिस म्याराथनलगायत कार्यक्रम तय गरिएका छन् । प्रसूति मार्ग घोषणा नहुने भ्रमण वर्षका लागि बनाइएका कार्यक्रम कार्यान्वयनमा नआउँदै संशोधन हुने भएका छन् । मायादेवी प्रसूति मार्ग घोषणा गर्ने कार्यक्रम नहुने भएको छ । लुम्बिनी–तिलौराकोट खण्डलाई प्रसूति मार्ग घोषणा गर्ने कार्यक्रम थियो । मायादेवी लुम्बिनी उपवनमा सुत्केरी भई राजकुमार सिद्धार्थलाई लिएर राजधानी कपिलवस्तु फर्कंदाको इतिहासलाई स्मरण गर्न ऊक्त कार्यत्रम राखिएको थियो । ‘मायादेवी कुन बाटो भएर फर्किइन् भन्ने प्रामाणिक अध्ययन छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यस कारण समस्या भयो ।’ लुम्बिनी पिस म्याराथन कार्यक्रम मर्ज गरिएको छ । म्याराथनका परिकल्पनाकार विक्रम पाँडेकाजीले मर्ज गरी बोधगया इन्लाइटेनमेन्ट म्याराथन गर्न लागेका हुन् । सन् २०१९ मा त्यसको सुरु गरी २०२० मा म्याराथन गर्ने उनले बताए । बाटो बिग्रिएको स्वदेशीरविदेशी धावकको गुनासोपछि कार्यक्रमको स्वरूप बदल्नुपरेको उनले बताए । जनप्रतिनिधि नै अनभिज्ञ लुम्बिनी भ्रमण वर्षबारे स्थानीय जनप्रतिनिधि अनभिज्ञ छन् । ‘पाहुनालाई कसरी आकर्षित गर्ने भन्ने विषयमा सरोकारवालासँग सल्लाह सुझाव लिइएको छैन,’ लुम्बिनी क्षेत्रका प्रदेशसभा सदस्य फखरुद्दिन खाँले भने, ‘बिनायोजना काम भइरहेको छ ।’ यहाँका बासिन्दालाई बेवास्ता गरिएको उनले बताए । बुद्ध सर्किट आसपासका सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहसँग समन्वय गर्नुपर्ने उनले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले पनि भ्रमण वर्षबारे औपचारिक जानकारी नभएको बताए । ‘सुनेको छु,’ उनले भने, ‘तर के हुन्छ, कसो हुन्छ, केही थाहा छैन ।’ भ्रमण वर्ष कार्यक्रमबारे कुनै जानकारी र छलफल नभएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए । ‘सरोकारवालाले गराउन चाहेन,’ उनले भने, ‘त्यसकारण हामी सूचनाविहीन भएर बसेका छौं ।’ लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । कार्यकारी समिति संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी छन् । फागुन २३ मा प्रदेशले भ्रमण वर्ष मनाउने निर्णय गरेकामा चैत २६ गते विभिन्न उपसमिति गठन गरियो । प्रदेश मन्त्रालयका उपसचिव लोकनाथ सापकोटाको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति बनाएर काम अघि बढाएको छ । प्रदेश सरकार प्रवक्ता तथा लुम्बिनी भ्रमण वर्ष मूल समिति सदस्य बैजनाथ चौधरीले सबै बुद्धस्थल समेटिने गरी कार्यक्रम तयार गरी मन्त्रिपरिषद्ले पारित गरेको बताए । बसाइ लम्ब्याउने योजना लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाइ लम्बिन सकेको छैन । ‘भ्रमण वर्षको मुख्य उद्देश्य बसाइ लम्ब्याउने हुनुपर्छ,’ होटल व्यवसायी किरणचन्द्र पौडेलले भने, ‘त्यसले सबैलाई रोजगारीसँग जोड्छ ।’ धेरै पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी परे पनि बसाइ अवधि निकै कम छ । लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘भ्रमण वर्षले पर्यटक भुलाउने कार्यक्रम बनाउनुपर्छ ।’ पर्यटकलाई बसाइको आकर्षक प्याकेज छैन । विभिन्न बुद्धिष्ट मुलुकबाट आफ्नो मुलुक हुँदै लुम्बिनी आउने पर्यटकको समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने गरिरहेका छन् । पर्यटनमुखी आकर्षक कार्यक्रम ल्याउन नसकिएको उनले बताए । ‘निकै द्रुत गतिमा काम गरिरहेका छौं,’ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी जीवन पाण्डेले भने, ‘लामो समयसम्म प्रभाव पर्ने गरी योजना र कार्यक्रम बनाएका छौं । थोरै समयमा धेरै तयारी गर्दा धेरै ठाउँ पुग्न सकिएन होला तर छिट्टै लुम्बिनी पुग्ने योजना बनाएका छौं ।’ लुम्बिनी भ्रमण वर्ष सफल पार्न सबैको सहयोग रसद्भाव आवश्यक हुने उनले बताए । लुम्बिनी केन्द्रित गरी भ्रमण वर्ष मनाइँदै छ । तर, भैरहवातिरबाट लुम्बिनी जाने मुख्य बाटोको अवस्था बेहाल छ । बाटो मर्मत नहुँदा आवतजावतमा समस्या भइरहेको छ । तौलिहवाबाट लुम्बिनी जाने बाटोको अवस्था पनि उस्तै बेहाल छ । स्तरोन्नतिको काम भइरहेकाले यो बाटो भएर आवतआवत गर्न निकै सास्ती खेप्नुपर्छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा
काठमाडौं बैशाख १५ । नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन् । बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएको छ । यसअघि बिआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन् । गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो । ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ ।’ बिआरआई सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रसंघको २०३० ऐजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवद्र्धन विषयक गोलमेच सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले अघि सारेको बिआरआईको मर्म र भावना संयुक्त राष्ट्रसंघीय दिगो विकासका लागि २०३० एजेन्डासँग मेल खाएको बताइन् । ‘समावेशिताविनाको दिगो विकास भ्रम हो । त्यसको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बिआरआईको मर्म र भावना राष्ट्रसँगको एजेन्डासँग मेल खान्छ ।’ राष्ट्रपति भण्डारीले बिआरआई गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरको संवाहक बन्दै गएको भन्दै प्रशंसा गरिन् । उनले वित्तीय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेन्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्याउन सक्ने बताइन् । नेपालमा जलविद्युत्को माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचुर सम्भावना भएको र त्यसले नेपालका छिमेकीलाई पनि हरित विकासमा ठूलो योगदान पुग्न सक्ने उनको भनाइ छ । प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बिआरआईसँग जोडिएको भन्दै राष्ट्रपतिले नेपालको सम्पर्क विस्तार र नेपालसँग विश्व बजारलाई एकीकरण गरी नेपालको आर्थिक रूपान्तमा यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । दोस्रो बिआरआई सम्मेलनमा नेपालको सहभागिता पहिलो हो । यो सम्मेलनमा राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले भाग लिन्छन् र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग छलफल गर्न पाउँछन् । ३८ बुँदे संयुक्त वक्तव्य जारी गर्दै दोस्रो सम्मेलन शनिबार सकिएको छ । राष्ट्रपति भण्डारी शनिबार साँझ चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भइन् । आइतबार राष्ट्रपति भण्डारीले चीनका विभिन्न पुरातात्विक महत्वका स्थानहरूको भ्रमण गर्ने कार्यक्रम छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च सम्पन्न
चीन, बैशाख १५ । ‘अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ विकास नीति सहकार्य तथा आधारभूत सञ्जाल सबलीकरण गर्ने, दिगो विकास प्रवर्द्धन गर्ने, व्यवहारिक सहयोग बलियो बनाउने, जनताबीच आदानप्रदान अगाडि बढाउने र अघि बढ्ने मार्गसहितको ३८ बुँदे संयुक्त विज्ञप्ति प्रकाशन गर्दै शनिबार बेइजिङमा सम्पन्न भएको छ । सम्मेलनको अन्त्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा जुटेका सहमतिबारे पत्रकारलाई जानकारी दिए । सम्मेलनमा रशियाली राष्ट्रपति भ्लादिमिर पुटिनसहित ३८ सरकार तथा राष्ट्रप्रमुखले भाग लिनुभएको थियो भने संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेज तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापन निर्देशक क्रिस्टिन लेगार्ड पनि सहभागी थिए । ‘उज्ज्वल साझेदारीयुक्त भविष्यका लागि क्षेत्र तथा मार्ग सहयोग’ मुख्य विषय रहेको यस मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उच्चस्तरीय बैठक तथा गोलमेच बैठकमा सहभागी बैठकहरुलाई सम्बोधन गरेकि थिइन। मञ्चमा वृद्धिका नयाँ स्रोत खोजी गर्न सञ्जालको सबलीकरण, संयुक्त राष्ट्र सङ्घको २०३० को एजेण्डा कार्यान्वयन गर्न पर्यावरण प्रवद्र्धन तथा दिगो विकास तथा सहभागितामूलक नीति सबलीकरण तथा नजिकको साझेदारी विकासका विषयमा गोलमेच बैठक आयोजना गरिएको थियो । गोलमेच बैठकमा चिनियाँ राष्ट्रपति जिनपिङ आफैँले अध्यक्षता गरेका थिए । यस भेलामा व्यापारिक प्रमुख कार्यकारी अधिकारीको सम्मेलनसमेत आयोजना भएको थियो । रासस
नदीमा डुबेर दुई बालकको मृत्यु
काठमाडौं, बैशाख १५ । ईश्वरपुर र हजारियामा शनिबार दुई बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। हजारिया नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। त्यसैगरी बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको पनि मृत्यु भएको छ। दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। विगत केही दिनदेखि गर्मी बढ्दा सर्लाहीमा नदी र पोखरीमा पौडी खेल्न जाने क्रम बढेको छ। यो समाचार नेपाल खबरबाट लिइएको हो ।
नेकपाले देशभर नेता थप्दै
काठमाडौं, वैशाख १५ । नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ । स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदै छ । सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ । प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदै छन् । प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादर राना, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन् । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
यसरी सञ्चालनमा ल्याइँदै छ तातोपानी नाका
सिन्धुपाल्चोक, वैशाख १५ । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ । तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ । ‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ ।’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ ।’ यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दंगालले लेखेका छन् ।
एक वर्षको प्रयासपछि निगमले पायो जापान उडान अनुमति
काठमाडौं, बैशाख १५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ । यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए । अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्सपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए । निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
संसदको चौथो अधिवेशनको तयारी पूरा
काठमाडौं, वैशाख १४ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा यही वैशाख १६ गते अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले चौथो अधिवेशनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रियसभा र प्रतिनिधि सभाका मूल बैठक कक्षमा रहेका भौतिक पूर्वाधारको मर्मतसम्भारलगायत प्राविधिक तयारी पूरा भएको पनि प्रवक्ता पाण्डेले बताए । वर्षे अधिवेशनका रुपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची तय भएको छ । संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्ने छन् ।
पेट्रोलियम पाइपलाइन ओछ्याउने काम अन्तिम चरणमा
वीरगञ्ज, वैशाख १४ । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको ७० किलोमिटर लम्बाइको सो पाइपलाईन ६५ किलोमिटर सम्पन्न भइसकेको र अब करीब पाँच किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ । पाइपलाइन विछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जपर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५०० ठूला–साना रुख काटिने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए । काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ । उहाँले निकुञ्जभित्रको नौ किलोमिटर क्षेत्रमध्ये चार किलोमिटर क्षेत्रमा रुख कटान गरी पाइपलाइन बिछ्याउने काम भइसकेको र बाँकी रहेको पाँच किलोमिटर क्षेत्रमा पर्ने रुख कटान गरी चाँडै नै पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउनेछन् भने । पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मको लागि एक लाख ४७ हजार २०० रुख रोप्न एक करोड ३९ लाख ६७ हजार ५२ रुपैया क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए । गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ । भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलो मिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल निगमको रु २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोडको लगानी रहेको पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ । पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएको दुई वटा तथा चार हजार १०० किलोलिटर क्षमता भएको दुईवटा गरी चार वटा ट्याङ्कर मर्मतसम्भार दु्रत गतिमा भइरहेको छ । सो पाइपलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाईनबाट भित्रिने छन् । जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन् । रासस
लोडसेडिङ घट्दा सेवाग्राहीलाई राहत
सिमकोट, वैशाख १३ । हिल्दुम जलविद्युत केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा लोडसेडिङ समय डेढ घण्टामा झरेको छ । पावर हाउसमा पानी आपूर्ति गर्ने पेनिस्टिक पाईप नचुहिनु र पानीको श्रोत बढेपछि लोडसेडिङ तालिका ह्वात्तै घटेको हो । दुई हप्ता अगाडिसम्म ९ घण्टाभन्दा बढी लोडसेडिङ खेप्नुपरेको भए पनि अहिले आएर डेढ घण्टामा झरेको सिमकोट पाँचका लोकेन्द्र रावतले बताए । पहिले खाना पकाउनेदेखि अन्य विद्युतबाट गर्ने कामका लागि पालो कुर्नुपर्ने अवस्थाको अहिले आएर अन्त्य भएको उनले बताए । दिनमा ८–९ घण्टा लोडसेडिङ हुँदा चौपट भएको व्यवसाय अहिले आएर केही सुधार भएको नन्द मोबाईल मर्मत सेन्टरका प्रोपाईटर नन्द सिंहले बताए । लोडसेडिङ तालिका नभएको कारण कतिखेर बत्ती जाने हो निश्चित नभएको अवस्थामा अहिले भने बिहान र बेलुका एकघण्टा बत्ती जाने भएको कारण व्यापारलाई सहज भएको उनले बताए । सिमकोटमा एक दर्जनभन्दा बढी विद्युतबाट कारोवार गर्ने व्यवसायहरु रहेका छन् । दिउँसो भरि लोडसेडिङ हुन थालेपनि कार्यालयको काममा कुनै समस्या खडा नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । पहिले नागरिकता लोडसेडिङ् हुँदा दुई दिनसम्म नागरिकता सेवाग्राहीलाई दिन नसकिएको भएपनि अहिले त्यो अवस्था नरहेको उनले बताए । यसले गर्दा केन्द्रबाट तान्नु पर्ने सबै परिपत्र, सुचनाका लागि पनि सहज भएको उनले बताए । लोडसेडिङ् समय एक घण्टामा झरेपछि अर्को काम गर्न जिल्ला अस्पतालमा सहज भएको छ । विद्युत नियमित हुँदा अस्पतालमा बिरामीको उपचारमा सहज भएको अस्पतालका डाक्टर टसी लामाले बताए । हिउँदमा हिमपात बाक्लो पर्दा अहिले विद्युत उत्पादन गर्ने हुमाने खोलामा पानीको श्रोत आवश्यकता भन्दा बढी भएकोले एउटा मेशिनले पूर्ण क्षमताको विद्युत उत्पादन गर्ने भएको कारण लोडसेडिङ् समय घटाउनु परेको हिल्दुम विद्युत वितरण केन्द्रका प्रशासन प्रमुख यमप्रकाश खड्काले बताए । हाल पावर हाउसमा रहेको मेशीनले दुई सय पचास किलोवाट विद्युत उत्पादन गर्ने गरेकोले लोडसेडिङ् समय घटाउन संभव भएको उनले बताए । यद्यपि अर्को मेशिन भने संचालनमा आउन सकेको छैन । पेनिष्टिक पाईप यसपाली नफुटेकोले पनि सहज भएको उनले बताए । पानीको श्रोतकै अभावले लोडसेडिङ गर्नुपरेको बताउँदै अब आगामी असोजसम्म पानीको श्रोतको कमी नहुने र लोडसेडिङ् नबढ्ने उनले बताए । हाल हिल्दुम वितरण केन्द्रबाट सिमकोट गाउँपालिकाका आठ वटै वडा र खार्पुनाथ गाउँपालिकाका वडा नम्बर ३, ४ र पाँचका गरी एक हजार छ सय ग्राहकलाई विद्युत वितरण गर्दै आएको छ । गोरखापत्रदैनिकबाट
एनसेलसँग कर उठाउने प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख १३ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग लाभकर असुल गर्ने प्रक्रिया तत्काल यथास्थितिमा राख्न ठूला करदाता कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अल्पकालीन आदेशसँगै एनसेलसँग कर असुल गर्ने प्रक्रिया स्थगन भएको छ । ठूला करदाता कार्यालयले वैशाख ३ गते एक साताको समय दिएर ३९ अर्ब ६ करोड ६ लाख रुपियाँ कर तिर्न एनसेललाई पत्राचार गरेको थियो । कर निर्धारण प्रक्रियाविरुद्ध एनसेलले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले तत्काल कर निर्धारण अनुसारको असुल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो । श्रेष्ठको एकल इजलासले वैशाख २३ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । उक्त समयसम्म अब कर निर्धारणपछिको कुनै प्रक्रिया अगाडि बढ्ने छैन । सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले तत्काललाई निर्णय यथास्थितिमा राख्ने आदेश भएको बताए। लिखित आदेश भने तयार भइसकेको छैन । अदालतको आदेश अनुसार अब दुवै पक्षको छलफलमा हाल जारी भएको अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउने बारे छलफल हुनेछ । दुवै पक्षको छलफलमा अदालतले हाल जारी गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिएमा कर असुल प्रक्रिया निवेदनको अन्तिम टुङ्गो नलागेसम्म रोकिने छ । अल्पकालीन आदेश खारेज भएमा कर असुलीको प्रक्रिया अगाडि बढ्ने छ । तर, वैशाख २३ सम्म भने ठूला करदाता कार्यालयले कुनै पनि प्रक्रिया अगाडि बढाउन पाउने छैन । खरिदबिक्रीको लाभकर कसले तिर्ने भन्ने विवादबीच सर्वोच्चको वृहत् पूर्ण इजलासले माघ २३ गते एनसेल–एक्जियटाबाट कर असुल गर्न आदेश दिएको थियो । आदेशको पूर्णपाठ सर्वोच्चले चैत २६ गते सार्वजनिक गरेको थियो । पूर्णपाठ अनुसार ठूला करदाता कार्यालयले कर निर्धारण गरी वैशाख ३ गते एनसेललाई जानकारी पठाएको थियो । कार्यालयले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपियाँ कर निर्धारण गरेको थियो । जसमा अदालतको आदेश अनुसार त्यसअघि तिरिसकेको २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपियाँ घटाएको थियो । कार्यालयले ३९ अर्ब छ करोड छ लाख ८४ हजार ८१५ रुपियाँ एक साताभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । तर, एक साता पुग्न एक दिनअघि एनसेल कर निर्धारण प्रक्रियाविरुद्ध सर्वोच्च पुगेको थियो । प्रशासनिक निर्णयको पुनरावलोकन र राजस्व न्यायाधीकरणमा पुनरावेदन दिने विकल्प रहँदा रहँदै एनसेल सिधै सर्वोच्च पुगेको थियो । कम्पनीले रू। १४ अर्बमात्र कर तिर्न बाँकी रहेको दाबीसहित एनसेलले रिट दर्ता गरेको थियो । साथै सर्वोच्चको वृहत् पूर्ण इजलासको फैसला अनुसार ब्याजको दायित्व समेत आफूमा नरहेको रिटमा दावी गरिएको छ । भ्याकेटमा जाला सरकार ? अन्तरकालीन आदेशपछि दुवै पक्षलाई छलफलमा बोलाइएको हुँदा सामान्यतयाः सरकार यस्ता विषयमा आदेश खारेजको निवेदन (भ्याकेट) दर्ताका लागि जाने कमै प्रचलन छ । तर, अल्पकालीन आदेशको समयसीमा लामो हुँदा विचाराधीन विषयमा कुनै तात्विक असुर हुने भएमा भ्याकेटमा जाने विकल्प भने सरकारसँग रहन्छ । कर निर्धारण भइसकेको र दुवै पक्षलाई छलफलमा बोलाइएको अवस्थामा सरकार भ्याकेटमा जाने सम्भावना कम छ । तर, कर असुल नहुँदा तत्कालै कुनै असर पर्ने कारण भएमा सरकारले आदेश खारेजीका लागि निवेदन दिन सक्ने छ । गोरखापत्रदैनिकबाट

