ट्रेड यूनियनको चुनावमा गाडी दिए कारवाही गर्ने कुलमानको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक ट्रेड युनियको चुनावमा ट्रेड युनियनलाई कार्यालय र आयोजनाको गाडी प्रयोग गर्न दिए विभागीय कारवाही गर्ने चेतावनी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन प्रायोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराएको सवारी साधनबाहेक कुनै पनि ट्रेढ युनियनलाई गाडी उपलब्ध नगराउन निर्देशन दिएका हुन् ।

प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव १९ वैशाखमा हुँदैछ । चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली काँग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुने छ ।

घिसिङले संस्थाको हित विपरित सार्वजनिकरुपमा अभिव्यक्ति दिएपछि कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलाई स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको निर्णय फिर्ता नभएसम्म चुनावमा सहभागी नहुने अडान संघले राखेको थियो ।

तर, कार्यकारी निर्देशक घिसिङले निर्णयबाट कुनै पनि अवस्थामा पछि नहट्ने अडान राखेपछि संघ बाध्य भएर चुनावमा सहभागि भएको थियो । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले विहीबार उमेदवारी दर्ता गराएका छन् ।

साईबर ऐेनकाे दफा ४७ खारेज नभएसम्म अान्दाेेलन जारी राख्ने घाेषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म नेपाल पत्रकार महासंघले आफ्नो चरणबद्ध आन्दोलन नरोक्ने भएको छ । बिहीबार सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । पोखराका पत्रकार अर्जुन गिरिलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ मा टेकेर मुद्दा चलाएपछि अहिले देशभरका पत्रकारहरु आन्दोलनमा छन् । प्रेस काउन्सिलमा दर्ता रहेको ताण्डब न्यूज डटकममा प्रकाशित समाचारलाई विद्युतीय कारोबार ऐनको सो दफाको आधारमा मुद्दा चलाएपछि आन्दोलित पत्रकार महासंघको केन्द्रीय टोलीले पटक पटक यो दफाका कारण पत्रकारहरु समाचार लेखेकै आधारमा प्रहरी हिरासतमा पुग्ने गरेको भन्दै यस दफालाई नै खारेज गर्न माग गरेको हो । ज्ञापन पत्र बुझ्दै सञ्चारमन्त्री बाँस्कोटाले अब यसरी पत्रकारहरुलाई विद्युतीय ऐन मार्फत् मुद्दा नचलाईने भन्दै हिरासतमा रहेका गिरिको बारेमा पनि अदालतले बिहीबार नै फैसला गरेपछि बिहीबार नै उनी छुट्ने सम्भावना रहेको बताएका छन् । ज्ञापनपत्र बुझाउन गएको पत्रकारको टोलीमा महासंघका महासचिव रमेश विष्टले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

गृहमन्त्री थापाबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

काठमाडौँ, वैशाख ५ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ । गृह मन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् । बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई रु. आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृह मन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ। कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाई छ । सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिए । गृह मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आ.व.२०७३÷७४सम्मको आ.व. २०७४÷७५मा फछ्र्यौट गरीसक्नुपर्ने सो अवधिमा ६३.०३ प्रतिशत अर्थात रकम रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्योट भएको छ । यस्तै नेपाल प्रहरीको आ.व.२०७३÷७४सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ ।

उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

चितवन, वैशाख ५ । अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । गत चैत १५ गतेदेखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा श्रीराम शर्माका अनुसार वि.सं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उनले बताए । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले गरिएको पाइँदैन । घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने उनले बताए । शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ । उनले घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने बताए । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमीनमुनिसम्म पुर्याउन उनले सुझाव दिए । जमीनमुनि सुरक्षित अवतरण गर्नुपर्ने भन्दै उनले करीब ८ फिट गहिरो खाल्डो खनेर तामाको रड वा पातामा जोड्नुपर्ने बताए। खाल्डोमा पहिले कोइला र नुन राख्ने गरे पनि त्यसले पाता बिगार्ने हुँदा त्यसका लागि बनेको छुट्टै रसायन राख्न उनले सुझाव दिए । चट्याङको फाइन सिग्नेचर विषयमा नेपालमा पहिलो विद्यावारिधि गरेका डा. पितृभक्त अधिकारी चट्याङ परेको समयमा निकै सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् । विदेशको एउटै फुटबल मैदानमा एकै समूहका ११ खेलाडीले चट्याङका कारण ज्यान गुमाउनुपरेको भन्दै उनले सावधानी अपनाउनु नै बच्ने उपाय भएको बताउँछन् । उनका अनुसार घर बाहिर हुँदा खुला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक पनि नबस्न उनले सुझाए । विद्युतीय सामग्री प्लगमा नजोड्न र ल्याण्डलाइन फोनमा कुरा नगर्न पनि अधिकारीको सुझाव छ । तर मोबाइल फोन भने चलाउन सकिने उनले बताए । गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुने विज्ञको भनाइ छ । खेतमा पानीमा काम नगर्न र पौडी नखेल्न पनि उनको सुझाव छ । घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्न नहुने भन्दै उनले धाराका पानीमा करेन्ट आउन सक्ने भएकाले पानी नखेलाउन पनि सुझाव दिए । चट्याङ प्राकृतिक प्रक्रिया हो । अहिले मात्र होइन, मानव जाति अथवा जीवजन्तुको पृथ्वीमा अस्तित्व हुनुभन्दा अगावै चट्याङ पर्ने गरेको विज्ञहरुको भनाइ छ । इञ्जिनीयरिङ विषय अध्ययन गर्दै गरेका विद्यार्थीलाई पढाउँदै आएका डा शर्मा पृथ्वी र वायुमण्डलमा आउने सूर्यका विभिन्न किरणले पृथ्वी वा वायुमण्डलमा विद्युतीय चार्ज उत्पन्न गराइरहने बताउँछन् । यसरी उत्पन्न विद्युतीय चार्ज असन्तुलित बन्दा त्यो असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि चट्याङ पर्ने उनको भनाइ छ। रासस

धनगढीमा विद्यार्थी भर्ना अभियानः विद्यालयप्रति अभिभावकको अपनत्व नै छैन : नगरप्रमुख

धनगढी, बैशाख ५ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व नै नरहेको बताएका छन् । बिहीबार धनगढी उप–महानगरपालिका ४ मा रहेको तुलसीराम राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै विद्यालयको पढाई गुणस्तरण सुधार गर्नका लागि स्थानीय अभिभावकहरुको अपनत्वको भावना हुनुपर्ने बताए । छोराछोरीलाई झोला बोकाएर विद्यालय पठाउनुमात्रै अभिभावको दायित्व होइन नगरप्रमुख वडले भने– ‘शिक्षकले पढायो पढाएन छोराछोरी पढेकी पढेनन् भनेर पनि बुझ्नुपर्छ ।’ नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले पढाईको गुणस्तर सुधार गर्नका लागि दण्ड र पुरस्कारको निति समेत लिने बताए । उनले भने, ‘राम्रो गर्ने विद्यालय र शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई सहयोग घटाउने छौं ।’ नगरप्रमुख वडले विद्यालय बाहिर रहेका विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन आफै अभियानमा खटिएको बताए । सोही कार्यक्रममा नगरप्रमुख नृपबहादुर वडले पाँच जना र धनगढी उप–महानगरपालिका ४का वडा अध्यक्ष दिपक थापाले पाँच जना बालबालिको अभिभावकत्व ग्रहण गरेका थिए । नगरप्रमुख वडले पुरन चौधरी, ऋतीक चौधरी, मिरा गुप्ता, आर्यन चौधरी र आयूस चौधरीको अभिभावकत्व ग्रहण गरेको थिए । वडा अध्यक्ष थापाले दली बहादुर वली, विक्रम वली, आर्यन चौधरी, कनैया चौधरी र आनन्द चौधरीको अभिभावकत्व ग्रहण गरेको थिए ।

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा उपचारको क्रममा निधन

काठमाडौं, वैशाख ५ । रंग पत्रकारका अभिभावक तथा कामना न्यूज पब्लिकेसन्स प्रालिका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा बिहान बिहान ११ः५९ बजे उपचारको क्रममा निधन भएको दुःखद खबरले चलचित्र पत्रकार संघ नेपाल स्तब्ध र दुःखी भएको छ । श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । वि.सं.२०१६ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठ कामना ग्रुप अफ पब्लिकेसन्स, नेपाल मिडिया सोसाइटी, इन्टरनेसलन प्रेस इन्ष्टिच्यूट अन्तर्गत नेपाल नेसनल कमिटीलगायतका संस्थाका संस्थापक अध्यक्ष रहेका थिए । नेपालमा रंग पत्रकारिताको सुरुवात उनले कामना मासिक मार्फत गरेका थिए । संचार क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुको जिम्मेवारी सम्हालेका उनी लामो समयदेखि नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक रहेका थिए । श्रेष्ठको निधनले नेपाली रंग पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उनले पत्रकारिता क्षेत्रमा पुर्याएका योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहने छ । चलचित्र पत्रकार संघ नेपाल स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

माछापोखरीमा अपरिचित व्यक्तिद्वारा विष हाल्दा क्षति

रौतहट, वैशाख ५ । अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिंदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकम बराबरको क्षति भएको हो । साढे दुुई बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा रोहु, नैनी, बिग हेड कार्प, इजरायल, सिल्भर कार्प, ग्रास कार्पजस्ता विभिन्न जातका छिटो हुर्कने र महँगोमा बिक्री हुने खालका माछा र भुरा हालिएका थिए । पोखरीमा विष हालिदिएपछि तयारी माछा र भुरा सबै मरेको व्यवसायी महतोले बताए । पोखरीलाई सफार्इ गरेर फेरि माछापालन गर्न योग्य बनाउन पनि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेकोे उनको भनाइ छ। पोखरीमा विष हालेको केही समयपछि माछा मर्न लाग्दा मात्र आफूले थाहा पाएको महतोले बताए । पोखरीमा विष हालेका कारण पछिल्लो ३ वर्षको मिहिनेत खेर गएको उनले गुनासो गरे । नेकपा निकट मानिएका पीडित महतोले राजनीतिक पूर्वाग्रह राखेर कसैले जानीजानी पोखरीमा विष हालिदिएको दाबी गरे। उनले वैशाखमा बिहेका धेरै लगन भएकाले राम्रो आम्दानी हुने उद्देश्यले पोखरीमा तीन केजीसम्मका माछा हुर्काएका थिए । मंगलबार बेलुकी अपरिचित व्यक्तिले पोखरीमा विष हालिदिएकाले ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले दाबी गरे । उनका अनुसार ३ किलोसम्मका झन्डै ३० क्विन्टल ठूला माछा र भर्खरै हालेका ८० हजार भुरा मरेकाले ठूलो नोक्सानी भएको छ। ऋण काढेर माछापालन गरेका उनले कसैले रिसिइबीका कारण विष हालिदिएकाले आफ्नो मेहनत र लगानी सबै खेर गएको गुनासो गरे। उनले विष हाल्ने व्यक्ति पत्ता लगाई कडा कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन् । घटना व्यक्तिगत रिसिइबीका कारण भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुख डिएसपी नवीन कार्कीले बताए । उनले घटनाको विषयमा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको तथा पोखरीमा मरेका माछा र पोखरीको पानी ल्याब जाँचका लागि पठाएको बताए ।

प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा

काठमाडौंश्र बैशाख ०४ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यको सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक विभिन्न सडक आयोजनाका नाममा बढी रकम रकमान्तर भएको हो । अर्थ मन्त्रालय बजेट खर्च बढाउने सन्दर्भमा चैतपछि रकमान्तरका लागि उदार हुने गर्छ । चालू आर्थिक वर्षको फागुनमा १८ अर्ब रकमान्तर गरेको मन्त्रालयले चैतमा करिब नौ अर्ब रकमान्तर गरेको हो । दुई साताअघि नयाँ पत्रिकासँगको कुराकानीमा अर्थमन्त्री डा। युवराज खतिवडाले भौतिक निर्माणले गति लिएका आयोजनामा अब रकमान्तर गरेर भए पनि रकम जोहो गरिने बताएका थिए । प्रदेश २ र ५ मा आपत्कालीन गोदाम घर अर्थ मन्त्रालयका अनुसार वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश २ र ५ मा आपत्कालीन गोदाम घर निर्माण गर्न एक–एक करोड रकमान्तर भएको छ । ५ वैशाखबाट औपचारिक रूपमा सुरु हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १५ करोड रकमान्तर निकासा भएको छ । प्रधानमन्त्रीको जिल्लामा २० करोडका सडक आयोजना तराई–मधेस सडक पूर्वाधार आयोजनाअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा विभिन्न आयोजनाका नाममा २० करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । अर्थ मन्त्रालयका अनुसार झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडकका लागि पाँच करोड, झापाचोक–भद्रपुर–बिर्तामोड सडकका लागि १० करोड र अल्टाबारी–गौरीगन्ज–पाडाजुँगी सडकका लागि पाँच करोड रकमान्तर भएको तथ्यांक छ । तराई–मधेस सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत नै तिनाउ–दानव नदी करिडोरका लागि १५ करोड रकमान्तर भएको छ । झापामै औद्योगिक क्षेत्रको मुआब्जाका लागि १० करोड रकमान्तर भएको छ । समयमा नतिरेको सवारी कर पनि बजेटबाटै भुक्तानी अर्थ मन्त्रालयले गृह मन्त्रालयका नाममा सवारीसाधनको २३ लाख २८ हजार कर भुक्तानीका लागि रकमान्तर निकासा स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम गृहले सवारीसाधनको समयमै कर नतिरेका कारण पर्न गएको अतिरिक्त भार हो । आगामी दिनमा यसरी जरिवाना तिर्ने गरी गल्ती दोहोर्‍याएमा व्यक्ति नै जिम्मेवार हुने सर्तमा अहिलेका लागि रकम स्वीकृति दिइएको जनाएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई ५० करोड व्यापारिक मार्ग विस्तार आयोजना र काठमाडौं उपत्यका सडक विस्तारमा खर्च गर्ने गरी काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई ५० करोड रुपैयाँ रकमान्तर दिइएको अर्थले जानकारी दिएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत नै उपत्यकाका सडकमा खर्च गर्ने गरी थप ४० करोड रकमान्तर निकासा गएको छ । बन्चरेडाँडास्थित ल्यान्डफिल साइटसम्मको पहुँचमार्ग निर्माण गर्नसमेत काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई ११ करोड रुपैयाँको रकमान्तर निकासा दिइएको छ । सडक आयोजनाको प्रगति अर्थ मन्त्रालयका अनुसार रणनीतिक सडक पुनस्र्थापना तथा सुधार आयोजनाका लागि बाग्लुङ, गुल्मी र पवर्तमा खर्च गर्ने गरी १२ करोड रुपैयाँ रकमान्तर भएको छ । पूर्वतर्फ इलामका विभिन्न आयोजनाका लागि २० करोड रकमान्तर दिइएको छ । रणनीतिक सडक पुनस्र्थापनाअन्तर्गत नै ललितपुरमा १० करोड थप बजेट रकमान्तर गरिएको छ । पुष्पलाल राजमार्ग ९मध्यपहाडी० आयोजनाका लागि सर्वाधिक दुई अर्ब ४० करोड रकमान्तर निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ । गुल्मीको बलेटक्सारमा निर्माण हुने रिङरोडका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट पाँच करोड थप निकासा गरिएको अर्थ मन्त्रालयको तथ्यांक छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

बँदेलको आक्रमणबाट ७ जना घाइते

सर्लाही, बैशाख ०३ । सर्लाहीको चक्रघट्टा गाउँपालिका -७ मा सोमबार बेलुका बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । उखुबारीबाट निस्केको जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका स्थानीय ६० वर्षका भुईला महतो, ४२ वर्षका रामनरेश महतो, १५ वर्षका संजय सहनी ,७ वर्षका मनिष सहनी र रामनरेश राय घाइते भएका हुन् । बँदेलले उनीहरको शरीरको विभिन्न ठाउँमा टोकेको छ । बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन् ।सर्लाहीमा पछिल्लो समय जंगली बँदेलले खेतीपाती नष्ट गरेर किसानलाई हैरान पारेको छ। जंगलबाट आहार खोज्दै उखु बारीमा पुगेको बँदेल पनः जंगल नफर्किने गरेपछि अहिले खेतबारीमा बसेर अन्नपात नष्ट गर्ने गरेको छ ।

कपिलवस्तुमा सवारी दुर्घटनाः एकको मृत्यु, १७ जना घाइते

बुटवल, बैशाख ०३ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगामा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ना६ख २४६७ नम्बरको बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको सो बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दैलेखको माबो गाउँपालिका – २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएकाहरु सामुदायिक अस्पताल, पिपरामा उपचार भइरहेको छ । दुबै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेकसाइडको होटलमा सामूहिक बलात्कारमा संलग्न ४ पक्राऊ

पोखरा, वैशाख ३ गते । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।  (रासस)

विप्लवसँग वार्ता गर– सभापति देउवा

भीमदत्तनगर, वैशाख ३ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताउनुभयो । सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उहाँले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।  (रासस)

पोखराको लेकसाइडस्थित एक होटल जबर्जस्ती करणीको अभियोगमा ४ पक्राउ

पोखरा, वैशाख ३ । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । रासस

मंगलबार र बुधबारसम्म मेघगर्जनसहित वर्षा र हुरी हुने सम्भावना

काठमाडौं, वैशाख ३ । मंगलबार भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मंगलबार बिहान साढे ८ बजेतिर दिएको जानकारी अनुसार पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी क्षेत्रबाट भित्रिँदै छ। ‘अहिले यो वायु भारतको हरियाणा क्षेत्रमा आइपुगेको छ,’ उनले भने, ‘एक–डेढ घण्टादेखि दुई–तीन घण्टासम्ममा नेपाल भित्रिने छ।’ यो वायु प्रवेशपछि मंगलबार विशेषगरी पश्चिमको तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षाका साथै चट्याङ पर्ने र हुरीबतास चल्ने सम्भावना छ। अपराह्नसम्म यो वायु पश्चिमको पहाडी क्षेत्रमा प्रवेश गर्ने छ। यसैगरी उक्त पश्चिमी वायु बुधबार पूर्वी क्षेत्रमा सर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए । बुधबार चाहिँ पूर्वी तराईमा हुरीबतासको सम्भावना छ,’ उनले भने। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पश्चिमी क्षेत्रमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली हुने छ । र, पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हुरीबतास सहित असिना पानी पर्ने सम्भावना छ। यस्तै राति पश्चिमका धेरैजसो स्थान र मध्ये तथा पूर्वका केही ठाउँमा मेघ गर्जन, चट्याङ, हुरीबताससहित असिना पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार र बुधबार दुई दिनसम्म रहने छ। ‘तर त्यसपछि यसको प्रभाव पूरै हट्ने चाहिँ होइन,’ उनले भने, ‘यसको धेरथोर असर अरू केही दिनसम्म जारी रहने छ।’ आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताए।

रोकिराखेको ट्रकमा कार ठोक्किँदा ६ घाइते

चितवन, वैशाख ३ । भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो । यसैबीच पूर्वी चितवनमा गुडिरहको गाडीमा आफैँ आगलागी भएको छ । सोमबार साँझ ८।३० बजे पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० सिँचाइ गेट नजिकै भरतपुरबाट मर्मत गरी टाँडीतर्फ जाँदै गरेको ना५ख ३८६८ नंको बस गुडिरहेको अवस्थामा आफँै आगलागी भएको प्रहरी जनाएको छ । बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ । रासस

बस दुर्घटनामा एकको ज्यान गयो, १३ घाइते

खोटाङ, बैशाख ०३ । हलेसीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । काठ्माण्डौबाट खोटाङको दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय पर्जबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताए । राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा ज्यान गएको हो । घाइतेमध्ये ६ जनालाई टिचिङ अस्पताल, काठमाण्डौ लगिएको छ । अन्य घाइतेहरुलाई जिल्ला अस्पताल दिक्तेल लगिएको डीएसपी केसीले जानकारी दिए । बसमा जम्मा १५ जना सवार थिए । गाडीका सहचालक सकुशल छन् ।