किन ५ महिना बित्दा पनि सञ्चालनमा आएन बिजुली बस ?
काठमाडौं, चैत २५ । ५ महिनाअघि काठमाडौंको सडकमा गुडाउन ठिक पारिएका बिजुली बस अझै ग्यारेजमा थन्किएका छन्। बस कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुनै टुंगो लागेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ६ गते उद्घाटन गरेपछि भोलिपल्टदेखि नै सडकमा बिजुली बस गुड्छ भन्ने धेरैलाई लागेको थियो । तर, ५ महिना बितिसक्दा समेत बस नगुड्दा धेरैले बिजुली बस बिर्सिसकेका छन् ।
काठमाडौंमा चलाउन भनेर ल्याइएका ५ वटा बस चिनियाँ विद्युतीय बस निर्माता कम्पनी बीवाईडीको नेपालस्थित सम्पर्क कार्यालय नक्सालमा थन्किएका छन् । मापदण्ड विपरीत र प्राविधिक त्रुटी भएको भन्दै सरकारी तवरबाट बिजुली बसहरु सञ्चालन गर्न रोक लगाएपछि बस सञ्चालनमा आउन नसकेको हो ।
एसीयाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । तर लुम्बिनीमा बिजुली बस सञ्चालनको लागि पूर्वाधार तयार नभएसम्म साझा यातायातले काठमाण्डौमा चलाउने गरी निर्णय भएको थियो ।
सञ्चालनमा आउने प्रतिक्षामा बस लामो समयसम्म साझा यातायात समितिको कार्यलय पुल्चोकमा राखिएका थिए । तर लामो समयसम्म पनि चलाउने नचलाउने कुनै टुङ्गो नलागेपछि त्यहाँबाट पनि हटाएर नक्सालमा राखिएको हो ।
‘सरकारी तवरबाटै बिजुलीबस सञ्चालनमा कुनै टुङ्गो लगाउन नसकेपछि हामीले चलाउँछु भनेर भएन’, साझा यातायात सञ्चालन समितिका कार्यकारी निर्देशक भुषण तुलाधरले भने, ‘हामी त तेस्रो पार्टी पर्यौँ, हामीले किन चलाउन नदिएको भनेर सोध्ने ठाउँ पनि रहेन ।’
सधैंको लागि यी बसहरु काठमाडौंमै चलाउने र लुम्बिनीको लागि नयाँ बसहरु ल्याउनेसम्म पनि कुरा भएका थिए । बिजुलीबस उद्घाटन कार्यक्रममा सरकारले अर्को वर्ष अर्थात सन् २०२० भित्र काठमाडौं उपत्यकामा जम्मा बसको २० प्रतिशत बिजुली बस चलाउने घोषणा गरेको थियो । तर, उद्घाटन गरिएका ती ५ बस सञ्चालनमा ल्याउन पनि हम्मेहम्मे परिरहेको छ । अहिले यी बस काठमाण्डौमा मात्र होइन नेपालमै चलाउन कठिन भएको देखिन्छ ।
मापदण्डमा नपर्दा बस सञ्चालनमा समस्या
पर्यटन मन्त्रालयले आफूले तोकेका मापदण्डभित्र नपर्दा बिजुली बस सञ्चालनमा रोक लगाएको छ । बस चिनीयाँ कम्पनीको हुनुपर्ने भनी ठेक्कामा सम्झौता भए पनि भारतीय ‘एसेम्बल’ बस ल्याएको भन्दै पर्यटन मन्त्रालयले बस सञ्चालन गर्न दिएको छैन । यसको साथै मन्त्रालयले यी बसमा अरु १७ वटा कमजोरी देखाएको छ ।
‘हाम्रो कन्ट्र्याक्टमा तोकिएका मापदण्ड भित्र नपरेको भएर हामीले बिजुली बस सञ्चालन गर्न सकेका छैनौँ’ पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने, ‘प्राविधिक त्रुटीहरु देख्दादेख्दै हामी त्यसलाई कसरी स्वीकार्न सक्छौँ ? कि त बसहरु रिप्लेस गर्नुपर्यो । होइन भने कन्ट्र्याक्ट क्यान्सिल हुन्छ र बसहरु लिलाममा बिक्री हुन्छन् ।’
बस रिप्लेसको लागि मन्त्रालयले बारम्बार पत्राचार गर्दा पनि बीवाईडी कम्पनीले ध्यान नदिएको उहाँले बताउनुभयो ।
अध्ययन नै नगरी बसलाई दोष दिएको कम्पनीको गुनासो
तर नेपालकोतर्फबाट बीवाईडी कम्पनीका प्रतिनिधि साहिल श्रेष्ठ भने जसरी भएपनि बस सञ्चालनमा आउने बताउँछन् । ‘यो अन्तर्राष्ट्रिय स्तरको कम्पनी हो । यी बसहरुलाई सञ्चालन नगरेरै यसका कमजोरीहरु विश्लेषण गर्नु उचित हुँदैन’, उनले भने, ‘सुरुमा चलाएर त हेर्नुपर्यो नि । हचुवाको भरमा झिनामसिना कमजोरीहरु देखाएर मापदण्डभित्र परेन भन्न मिल्छ ?’
यस विषयमा अराजक भएर लाग्नुभन्दा समझदारीमा निर्णय गरे बस चाँडै सञ्चालनमा आउने श्रेष्ठ बताउँछन् । यस्तै बीवाईडी कम्पनीकै ब्राण्ड साइमेक्ससँग आबद्ध यमुना श्रेष्ठले सरकारले बीवाईडी बसमा देखाएका प्राविधिक त्रुटीहरु जायज नभएको गुनासो गरे । ‘बसहरुमा कुनै डिफेक्ट छैन । तर नेपालमा कर्मचारीतन्त्र हावी भएकाले आफ्ना विभिन्न स्वार्थ पूर्ति नहुँदा सञ्चालन हुन नसकेको मात्र हो’, उनले भने ।
वैशाखभित्रै चलाउने मन्त्रीको दावी
काठमाडौंमा बस सञ्चालनको जिम्मा पाएको साझा यातायातका निर्देशक भुषण तुलाधरले सानातिना कमजोरीलाई लिएर बहस खडा गर्नभन्दा पनि निश्चित ट्रायल अवधि तोकेर बस चलाउन दिए हुने बताउँछन् ।
नेपालमा नयाँ प्रविधि भएकाले चलाएपछि मात्र यसका कमी कमजोरी थाहा हुने उनको भनाई छ । उनले भने, ‘विद्युतीय बसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको त्यसको ब्याट्री हो, ब्याट्री राम्रो छ भन्ने कुरामा हामी ढुक्क छौं । बसभित्रका आन्तरिक कुराहरु परिमार्जन गर्न सकिन्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बिजुली बस वैशाखभित्रै चलाउने दावी गरेका छन् । यातायात प्राधिकरण बनाएर नयाँ ऐन बमोजिम बिजुली बस सञ्चालनमा ल्याउने उनको तर्क छ । यस विषयमा प्रक्रिया अगाडि बढिरहेको पनि उनले जानकारी दिए । सबै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने र बस सञ्चालन हुने उनको भनाइ छ । उज्यालोअनलाइनबाट
मन्त्री अधिकारी सवार हेलिकप्टरः परीक्षणको लागि मुख्य उपकरण नै भेटिएन
काठमाण्डौ, चैत २५ । तत्कालीन संस्कृति, पयर्टन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी ताप्लेजुङमा भएको हेलिकप्टर दुघर्टनाको अनुसन्धानको लागि मुख्य काम नै प्रभावित भएको छ । ल्यावमा परीक्षण गर्नुपर्ने मुख्य उपकरण नै घटनास्थलमा नभेटिएकाले अनुसन्धान पूर्ण हुन नपाएको छानबिन समितिका सदस्यले बताएका छन् । गएको फागुन १५ गते एअर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो । १५ गते बेलुकी नै बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । समितिले एकपटक ताप्लेजुङ पुगेर घटनास्थलमा भेटिएका हेलिकप्टरका पाजपूर्जा ल्याएर आएको छ । तर ल्याब परीक्षणको लागि चाहिने दुर्घटनाग्रस्त हेलिकप्टरको उपकरण नै नभेटिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव तथा समितिका सदस्य बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘हामीले अनुसन्धान त गरिरहेका छौं, काम रोकेका छैनौं, तर ल्याबमा परीक्षणको लागि जुन सामान चाहिने हो त्यो पाउन सकेका छैनौं’ सहसचिव लामिछानेले भने, ‘हामीले पहिलो लटमा ताप्लेजुङ पुगेर केही सामग्री ल्यायौं, तर परीक्षणको लागि चाहिने बस्तु भेटिएन त्यसैले फेरि खोजेर थप मेहनत आवश्यक देखिएको छ ।’ हराएको उपकरण ल्याबमा परीक्षण गरेपछि हेलिकप्टरका तथ्यांक र दुघर्टनाका बेलामा भएको संवाद तथा पछिल्लो अवस्था भेटिन सक्ने पनि उनले जानकारी दिए । छानबिन समितिलाई सघाउन फ्रान्सबाट टोली नेपाल आएको थियो । टोलीले छानबिन समितिसँगै सहकार्य गरेर अनुसन्धानमा सघाए पनि ल्याब परीक्षणको लागि आवश्यक दुघर्टनाग्रस्त हेलिकप्टरको एक मुख्य उपकरण नै नभेटिएकाले टोली फिर्ता गएको छ । मौसममा सुधार आउनेबित्तिकै टोली फेरि दुर्घटनास्थल जाने र हराएको उपकरण खोजिने पनि उनले जानकारी दिए। छानबिनका अरु काममा भने कुनै ढिलाई नभएको पनि उनले बताए । यो खबर उज्याले अनलाइन बाट लिइएको हो ।
पूर्वप्रधानमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि
काठमाडौं, चैत १७ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको बा१झ ९५२७ नम्बरको पछुवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वरतिर जाँदै गरेको बा४५प ३२३४ नम्बरको स्कुटरलाई ठक्कर दियो। स्कुटर चालक सन्तोष कुँवर र त्यसमा सवार उनकी श्रीमती लडे तर ठक्कर दिने त्यो गाडीले भने कुनै ‘रेस्पोन्स’ गरेन। लडेकालाई उठाउनुपर्ने ‘जिम्मेवारी बोध’ प्रदर्शन गर्नुको सट्टा घटनाको बेवास्ता गर्दै आफ्नै गतिमा अघि बढ्यो त्यो गाडी। कुँवर दम्पतीलाई सामान्य चोट लागेको छ। ‘खुट्टामा सामान्य चोट लागेको थियो, हामीले नजिकैको मेडिकल सेन्टरमा गएर उपचार गरायौं,’ स्कुटर चालक कुँवरले भने। उदयपुर स्थायी घर भएका उनी बानेश्वरस्थित सुपा देउराली गेस्टहाउसका सञ्चालक हुन्। शनिबार दिउँसो २ बजेतिर साथीले घटनाको भिडियो सामाजिक सञ्जालमा आएको बताएपछि कुँवरले महानगरीय प्रहरी वृत्त बानेश्वर पुगी आफूलाई केही नभएको जानकारी गराएका थिए। उनी सम्पर्कमा पुगेलगत्तै प्रहरीले पूर्वप्रधानमन्त्री चन्द र सशस्त्र प्रहरी बललाई त्यसबारे खबर गरेको थियो। पछुवा गाडीमा सशस्त्र प्रहरी थिए। काभ्रेका सन्जीव तामाङ लामाले शुक्रबार राति भिडियो आफ्नो फेसबुकमा ‘पोस्ट’ गरेका थिए। त्यसपछि मात्र सशस्त्र प्रहरी बलले घटनाप्रति चासो व्यक्त गरेको थियो। सशस्त्र प्रहरी बलले तत्कालै सो गाडीका चालकलाई हल्चोक बोलाएर अनुसन्धान गरिरहेको छ। ‘हामीले बिहान थाहा पायौं, त्यसकारण चालकलाई बोलाएर अनुसन्धान गरिरहेका छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले भने। पूर्वप्रधानमन्त्री चन्दले शनिबार अपराह्न ५ बजेतिर स्कुटर चालक दम्पतीलाई आफ्नै निवास लोकन्थलीमा बोलाएर भेटेका थिए। आफूले घटनाबारे भिडियो हेरेर थाहा पाएको र घटनाप्रति दुःख व्यक्त गर्दै चन्दले कुँवर दम्पतीसँग माफीसमेत मागेका थिए। ‘उनले हामीलाई घरमा बोलाए, केही भएको भए उपचार गर्छु भने, गल्ती भयो, मैले पनि बिहान मात्रै थाहा पाएँ,’ चन्दको भनाइ उद्धृत गर्दै कुँवरले भने। तर आफूहरूले यसलाई सामान्य रूपमा लिएको र घाउ पनि सामान्य नै लागेको प्रतिक्रिया दिएको कुँवरले बताए। भिभिआइपीको सुरक्षामा खटिने पछुवा गाडी अनियन्त्रित ढंगले ‘रङ साइड’बाट दौडिँदा दुर्घटना भएको भिडिओमा देखिन्छ। भिडियोमा चन्द सवार स्कार्पियोको पछाडि सशस्त्र प्रहरीको भ्यानले इमर्जेन्सी लाइट बाल्दै पछ्याइरहेको र दायाँतिर रातो कार र सशस्त्रको भ्यानको चेपुवामा परेर भ्यानमा एउटा स्कुटर ठोक्किएर ढलेको देखिन्छ। गाडी ‘रङ साइड’बाट क्रस गर्दा स्कुटरमा सामान्य ठक्कर लागेकै कारण स्कुटर ढलेको थियो। सो गाडीको पछाडि मोटरसाइकल थियो पछाडि गाडी भएको भए स्कुटरमा सवार दुवैको ज्यान पनि जान सक्थ्यो। ‘भिआइपीको गाडी पछ्याउनुपर्ने बाध्यताका कारण त्यस्तो अवस्था आएको हुनसक्छ, यस विषयमा अनुसन्धान भइरहेको छ,’ डिआइजी श्रेष्ठले भने। पूर्वप्रधानमन्त्री चन्दले घटनाबारे आफू अनभिज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन्। ‘मिति २०७५÷१२÷१५ गतेका दिन नयाँ बानेश्वरस्थित ५ः४५ बजेतिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीका बीचमा परेर आत्तिएर भ्यानको पछिल्लो भागमा ठोक्किँदै लडेको र लगत्तै उठेर हिँडेको मलाई आज १६ गते सुरक्षाकर्मीले जानकारी गराए। यसमा म अनभिज्ञ थिएँ तर विभिन्न फेसबुक, मिडियामा मेराबारे विभिन्न नराम्रा कमेन्ट देख्दा म दुखित छु,’ उनले भने। भिआइपी सुरक्षाको नाममा यस्ता पछुवा गाडीले आतंक मच्चाउने गरेका छन्। उनीहरूले सडकमा साइरन बजाउँदै अन्य सवारीसाधानलाई समेत बेवास्ता गर्ने र जथाभावी सवारी चलाउँदा भिआइपीको मर्यादामा आँच आउने गरेको छ। कतिपय सन्दर्भमा पछुवा गाडीले अनावश्यक ढंगले गाडी चलाउँदा भिआइपीको सार्वजनिक प्रतिष्ठामा ठेस पुग्ने गरेको सुरक्षाविज्ञ नवराज ढकालको भनाइ छ। ‘भिआइपीको गाडीलाई पछ्याउनु पछुवा गाडीको दायित्व हो तर कहिलेकाहीं पछुवा गाडीले सडकमा आतंक नै मच्चाउने गरी साइरन बजाउने र गतल साइडबाट ‘ओभरटेक’ गर्दा अन्य सवारी चालक र सर्वसाधारणलाई अप्ठ्यारो महसुस हुने गरेको छ,’ सुरक्षाविज्ञ ढकालले भने। यो समाचार आजको नागरीक दैनिक पत्रिकाबाट लिइएको हो ।
स्थानीय र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न टोली परिचालन
काठमाडौं, चैत १७ । सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा स्थानीय तह र प्रदेशका लागि संघीय लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया थाल्ने गरी गृहकार्य अघि बढाइएको छ। दुवै तहमा गरेर झन्डै ३२ हजार पद रिक्त छन् तर तत्काल १५ हजारदेखि २० हजारसम्ममा रिक्त रदबन्दीमा पदपूर्ति गर्ने सरकारी तयारी रहेको छ। हाल अवरुद्ध रहेको लोकसेवाका परीक्षा खुलाउने उद्देश्यका साथ सरकारले रिक्त पदको खोी थालको हो। यसअघि कर्मचारी समायोाजन हुन नसक्दा र रिक्त दरबन्दीको पहिचान हुन नसक्दा लोकसेवाको परीक्षा अवरुद्ध हुँदै आएको थियो। यो समाचार समाचार राजधानी दैनिकमा छापिएको छ ।
शान्ति सैनिक १० हजार पुर्याउने नेपालको प्रस्ताव
काठमाडौं, चैत १७ । नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा आफ्नो सैनिक संख्या बढाउन प्रस्ताव गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रसंघीय शान्ति मिसनलाई नेपालले उच्च महत्त्व दिइरहेको जानकारी दिए। न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको शान्ति स्थापनामा क्रियाशील सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले राष्ट्रसंघले आग्रह गरे नेपाल दस हजारसम्म शान्ति सेना पठाउन प्रतिवद्ध रहेको जनाएको छ। उनले महासचिवले अघि सारेका शान्ति कार्य लगायतका रणनीति सुधारमा नेपालको समर्थन रहेको जानकारी पनि गराए। यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
डिएसपी भाटकाे कमाल, ४ बाेरा चिट कब्जामा, गार्ड नियन्त्रणमा
बाजुरा, चैत १६ । पदस्थापन भएदेखि नै सामाजिक विकृतिविरुद्ध कडारुपमा उत्रिएका बाजुराका डिएसपी उद्धवसिंह भाटले एसईई परीक्षा मर्यादित बनाउन कडाई गरेका छन् । परीक्षा सञ्चालन भएकै दिनदेखि परीक्षा केन्द्रमा शान्ति सेरक्षा बहाल गर्न निर्देशन दिएसँगै उनले नियमित अनुगमन गरिरहेका छन् । अहिले बाजुराकाे परीक्षा वातावरण निकै मर्यादित रहेकाे उनले बताए । जिल्लाका विभिन्न परीक्षा केन्द्रकाे अनुगमन गर्ने क्रममा डिएसपी भाटकाे निर्देशनमा चार बाेरा चीट कब्जामा लिईएकाे छ । चिट चोराउने चार जना गार्ड नियन्त्रणमा लिईएका छन् । “कसैलाई पनि परीक्षामा चीट चाेराउने छूट छैन ।” भाटले भने, “हामीले कडाईका साथ गलत त्तवहरुलाई नियन्त्रणमा लिन निर्देशन दिएका छाैं ।” भाैगाेलिक विकटताका वावजुद पनि सबै केन्द्रमा सुरिक्षतरुपमा परीक्षा चलिरहेकाे भाटले बताए । जिल्ला प्रमुख अधिकाअधिकारी चेतराज बराल , डिएसपी उद्धब सिंह भाट र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गोपाल दत्त जोशीको टोलीले बाजुरा जिल्लाका १५ वटै परीक्षा केन्द्रहरूमा परीक्षा अनुगमन गरी परीक्षालाइ मर्यादित बनाउन विहानै देखी हरेक केन्द्रमा खट्ने गरेको हाे । बाजुरामा नियमित तर्फ २९४१ जना र ग्रेडबृद्धी परीक्षा नयाँ तर्फ २१० जना र पुरानो तर्फ १२९ जना रहेका छन।
विप्लवको पार्टीले प्रयोग गर्दै आएको घर डोजर लगाएर भत्काइयो
रूपन्देही, चैत १६ । सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति कठोर बन्दै गएको छ। बुटवलमा शुक्रबार उक्त पार्टीले प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले भत्काएको छ। बुटवल पाल्पारोडस्थित तत्कालीन वाणिज्य बैंक कार्यालय रहेको घर सशस्त्र द्वन्द्वकै बेला माओवादीले कब्जामा लिएको थियो। त्यसयता माओवादीको कब्जामा रहेको ‘रातो घर’ पछिल्लो समय विप्लव नेकपाले पार्टी कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो। केही दिनअघि प्रहरी र वाणिज्य बैंकका कर्मचारीले नेकपाको झन्डा, ब्यानर, कागजपत्र र कार्यालयमा रहेका फर्निचर नियन्त्रणमा लिई ताला लगाएका थिए। शुक्रबार भने प्रहरी तैनाथ गरेर भवन नै भत्काएको छ। विगत १३ वर्षदेखि पार्टी कार्यालयका रूपमा प्रयोग गर्दै आएको भवन भत्काइएपछि आक्रोशित नेकपा (विप्लव) ले चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिइएको छ। पार्टी जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटेरी अमर आरसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालय भत्काएर सरकारले पार्टीलाई उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसको परिणाम गम्भीर हुने उल्लेख छ। हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरू मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरू समेत कब्जा गरि अपमानित ढङ्गले बिना सुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ। विप्लव समूहले राजनीतिक स्वतन्त्रताविरोधी हर्कतविरुद्व सम्पूर्ण मानव अधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील पनि गरेको छ। प्रहरीले भने वाणिज्य कार्यालयले आफ्नो जग्गामा नयाँ भवन बनाउनका लागि भत्काएको जनाएको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
उ बेलाका प्रचण्डः रङ कडा, चिनी कम दूध चियाका पारखी
ललितपुर, चैत १६ । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार बेरोजगार थियो । त्यसैले गहना बेचेर उनले चिया पसल खोलिन् । पसल खालेको केही वर्षपछि पुष्पकमल दाहाल नियमितजसो आउन थाले यहाँ । ‘रङ कडा, चिनी कम भएको दूध हालेकै चिया रुचाउँथे दाहाल’, खड्गी भन्छिन्, ‘दाहालपत्नी सीता पनि आउँथिन् । दुवैले दूध चिया रुचाउँथे । उनका छोरा प्रकाश र छोरीहरू भने आक्कलझुक्कल मात्रै देखिन्थे । खासै चिया खाँदैनथे ।’ दाहाल चिया पिउँदै राजनीतिक गफ गर्थे । चासोसाथ पत्रपत्रिका पढ्थे । राजनीतिक परिवर्तनका बहस गर्थे । घोत्लिइरहन्थे । तर उनी एकाएक गायब भए । एकाएक हराउने व्यक्ति दाहाल हुन् भन्ने थाहा थिएन, ५६ वर्षीय खड्गीलाई । त्यसैले त उनी चिया खान आउन छाडेकोमा उनलाई खासै वास्ता पनि लागेन । तर जब पत्रपत्रिकामा उनकोे तस्बिर छापियो, त्यसपछि भने उनलाई अचम्म लाग्यो । ‘विभिन्न पत्रपत्रिकामा समाचार छापिन थालेपछि मात्रै चिया खान आउने दाहाल रहेछन् भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘त्यति बेला अचम्म लाग्याथ्यो ।’ उनको मस्तिष्कमा त्यो बेलाका दाहालको आकृति, वेशभूषा, भावभंगिमा स्पष्ट छ । त्यो बेलाको सम्झना गर्दै भनिन्, त्यति बेला पनि दाहालले अहिलेको जस्तै कपाल मिलाउँथे ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
शुक्लाफाँटा पर्यटन महोत्सव सुरु, सांसद भट्टद्वारा उद्घाटन
कञ्चनपुर, १५ चैत । समृद्धिका लागि पर्यटन भन्ने नारा सहित शुक्लाफाँटा पर्यटन महोत्सव २०७५ सुरु भएको छ । मझगाउँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा औपचारिक कार्यक्रम गरी महोत्सव उद्घाटन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको सभापतित्वमा कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टले महोत्सव उद्घाटन गरे । उनले गमलामा राखिएको विरुवमा पानी हालेर महोत्सव उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने उल्लेख गर्र्दैै आगामी वर्षदेखि महोत्सव आयोजनालाई निरन्तरता दिने बताए । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्र लागेका छन्, यस वर्ष भीमदत्त नगरपालिका सहित विभिन्न निकायले महोत्सव आयोजना गरेका छन्’ उनले भने,‘आगामी वर्षदेखि यसलाई निरन्तरता दिन संघ सरकार सक्दो सहयोग गर्छ ।’ कार्यक्रमका विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले महोत्सवबाट शुक्लाफाँटामा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर, कञ्चपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले महोत्सव पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए । शुक्लाफाँटाका नगर प्रमुख एृेरले अर्को महोत्सव शुक्लाफाँटा नगरपालिकाले आयोजना गर्ने घोषणा गरे । कार्यक्रमका सभापति मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले शुक्लाफाँटाको पर्यटन प्रवद्र्धन र नेपाल भ्रंमण वर्ष २०२० लाई मध्यनजर गरी महोत्सव आयोजना गरिएको बताए । ‘शुक्लाफाँटा पर्यटन महोत्सव सबै स्थानीय तह र सरोकारवाला निकायको संयुक्त आयोजना गरिएको छ,’ उनले भने, ‘यो महोत्सवबाट शुक्लाफाँटा निकुञ्जको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ, यसको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन्छ ।’ शुक्लाफाँटा निकुञ्ज खुला विश्वविद्यालय भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले शुक्लाफाँटाबाट समृद्धि ल्याउन भीमदत्त नगरपालिका सबै पक्षसित सहकार्य र समन्वय गर्न तयार भएको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत मन्तव्य राखे । उनले प्रचारप्रसार कमीले निकुञ्जमा न्यून संख्यामा पर्यटक आउने गरेको बताए । उद्घाटनपछि कार्यक्रम प्रमुख अतिथि डा. भट्ट, सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावल, नगर प्रमुख विष्ट सहित स्थानीय तहका प्रमुख उप प्रमुख, सुरक्षा अधिकारी, उद्यमी व्यवसायी लगायतले शुक्लाफाँटा निकुञ्ज भ्रमण गरेका छन् । भीमदत्त नगरपालिकाले संयोजन गरेको महोत्सवमा कञ्चनपुरका सबै स्थानीय तह, नाटा, कञ्चनपुर उद्योग बाणिज्य संघ, कञ्चनपुर होटल व्यवसायी संघ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका सरोकारवाला निकाय आयोजक छन् । चैत २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक पर्यटकलाई निकुञ्जभित्र घुमाउने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् । विमानस्थलदेखि कार्यक्रल स्थलसम्म बाजागाजा सहित र्याली निकालिएको छ ।
रोजगार संयोजकको पहिलो चरणको छनोट सूची सार्वजनिक (नामसहित)
काठमाडौं, चैत १५ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि लिइएका आवेदनबाट प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । २ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेदन माग गरिएकोमा ९ हजार ८ सय ७४ जनाको आवेदन परेको थियो । तीमध्येबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योग्यता र अनुभवका आधारमा प्रारम्भिक सूचीमा परेका प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो । सूची हेर्न यहाँ क्लिक गर्नुस्
विप्लव समूहका १७ जना धरौटीमा रिहा
चौतारा, चैत १४ । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लाका चार महिलासहित १७ जनालाई राज्यविरुद्धको अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।पक्राउ परेकाहरूबाट सैन्य तालीम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्ल्पेटलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
अबदेखि पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्यरुपमा लगाउनुपर्ने व्यवस्था
काठमाडौं, चैत १४ । पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा बिहीबार सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रमुमा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो । ‘पोशाक र परिचयपत्र अनिवार्यका लागि विभागले निर्णय गरिसकेको छ, अब चाँडै कार्यान्वयनमा लैजान्छौं’, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने । उनले नेपाल घुम्न आउने पर्यटकलाई राम्रो व्यवहार गर्न र इमान्दार चालक बन्न आग्रहसमेत गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पर्यटन व्यवसायको विकास र विस्तार गरी राष्ट्रलाई समृद्ध बनाउनु सबैको दायित्व रहेको बताए । ‘यस पेशामा रहेका चालकले आफ्नो पेशालाई अझै मर्यादित र सम्मानयोग्य बनाउन स्व–अनुशासनमा रही ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बसाल्नुपर्छ,’ उनले भने, ‘विमानस्थलमा आएका पर्यटकलाई नेपाल घुम्न चालकको साथ महत्वपूर्ण हुने भएकाले पर्यटकलाई राम्रो व्यवहार गर्नु आवश्यक छ । नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता प्रशिक्षणले सहयोग मिल्छ ।’ २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल २६ स्थानमा आफ्नो शाखा विस्तार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको उक्त एकाइका प्रहरी नायब निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । पर्यटक प्रहरीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हालै काठमाडौं महानगरपालिका–२६को सहकार्यमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गर्न लागेको छ। रासस
प्रधानमन्त्री ओलीलाई २० कित्ता शेयर
काठमाडौं, चैत १४ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ । यस्तै ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ लाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाईसमेत २० कित्ता शेयर परेको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारमणि ढकालका अनुसार ५० हजार २६७ लाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता शेयर परेको छ । कूल आवेदनमध्ये ६७ आवेदन रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।
जोरपाटीमा अशक्त मैत्री सडक निर्माण गर्न सरकारसँग माग गर्दै प्रदर्शन
काठमाडौं, चैत १४ । बिहीबार काठमाडौंको जोरपाटीमा शारिरीकरुपमा अशक्त भएकाहरुले ह्वीलचियर मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । जोरपाटी सडकखण्डको फुटपाथसमेत ह्वीलचियर मैत्री नभएपछि शारिरीक रुपमा अशक्त भएकाहरुले सो फुटपाथ भत्काउँदै प्रदर्शन गरेका हुन् । सरकारसँग पटक–पटक आग्रह गर्दा पनि आफूहरु मैत्री फुटपाथ नबनेपछि त्यसको विरोधमा निर्माण गरिएको फुटपाथसमेत भत्काउन बाध्य हुनुपरेको शारिरीकरुपमा असक्त ललितपुरका भोजराज श्रेष्ठले बताए । उनले मानव निर्मित भौतिक पूर्वाधारका कारण आफूहरु घर बाहिर निस्कन सक्ने वातावरणसमेत नभएको भन्दै आक्रोश पोखेका थिए । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र, जोरपाटीबाट ह्वील चियरमा निस्किएका शारिरीकरुपमा अशक्त व्यक्तिहरुले सडक तथा फुटपाथ अशक्त मैत्री बनाउन माग गर्दै सरकारका मन्त्री, सचिव र सडक विभागलाई भन्दा पनि माग सुनुवाई नभएको बताएका छन् । सरकारले आफूहरुलाई घर भित्रबाट बाहिर जान नदिने गरी सडक तथा फुटपाथ निर्माण गरेकाले त्यसको विरोध गर्नु परेको शारिरीक रुपमा अशक्त रहेकी गिता झाले बताइन् । उनले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माणका लागि सरकारलाई दवाव दिन पनि सबैलाई आह्वान गरेकी छिन् । नेपालमा हाल कूल जनसंख्याको १० प्रतिशत शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरु रहेका छन ।
पूर्व प्रधानसेनापति क्षत्री भन्छन्, ‘विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा’
काठमाडौं, चैत १४ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको कदमको आलोचना गरे । गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रतिबन्धित नेकपाका नेता÷कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए। आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न सुझाव दिएको र पहिलेको धारणा र सुझावमा त्यति तात्विक फरक नभएको उनले स्पष्ट पारे। ‘विप्लव र उनी संलग्न नेकपा राष्ट्रघाती र देशविरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ,’ पूर्वप्रधानसेनापति क्षत्रीले भने, ‘समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ताबिनै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्ने जोखिम रहन्छ।’ राजनीतिक कदमबाट सम्भव नभए सेना स्वभाविकरूपमा अघि आउने उनले बताए। फागुन २७ गते विप्लव नेतृत्वको नेकपामाथी सरकारले प्रतिवन्ध लगाएसँगै वरिष्ठ नेता हेमन्तप्रकाश वली (सुदर्शन) सहित ३ दर्जन नेता÷कार्यकर्ता पक्राउ परिसकेका छन्। संविधान र कानुन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कारबाही गर्न सधै सरकारलाई अधिकार भएको तर दलमाथि नै प्रतिबन्ध लगाएर निषेध गर्न खोज्दा असन्तुष्ट पक्ष झन् बलियो हुने उनको तर्क छ। विप्लवले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै आफूहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नगरे सरकारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिइसकेका छन्। यसलाई पूर्वप्रधानसेनापति क्षत्रीले मुठभेडको जोखिम रहेको औंल्याए। यो समाचार आजको नागरिक दैनिकबाट प्रकाशित छ ।
‘ऊर्जा क्षेत्रमा नेपाल र बंगलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा साझेदारी’
काठमाडौं, चैत १४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताएका छन् । यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उनले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए । हार्दिकता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित नेपाल–बङ्गलादेश सम्बन्ध राजनीतिक, आर्थिक, पर्यटन र शैक्षिक क्षेत्रमा समेत विस्तार भएको चर्चा गर्दै मन्त्री पुनले दुई देशबीच पछिल्ला दिनमा ऊर्जा सहायता र साझेदारीका कार्यक्रम पनि भइरहेका बताए । ऊर्जा क्षेत्रमा भएको नेपाल र बङ्गलादेशबीचको साझेदारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता बहुपक्षीय मञ्चमा पनि सहकार्य भइरहेको बताए । “ऊर्जा व्यापार प्रवद्र्धन एवं विस्तारका लागि उपक्षेत्रीय एवम् क्षेत्रीय स्तरमा पनि दुई देशबीच साझेदारी भएको छ,” उनले भने । नेपालका लागि बङ्गालदेशका राजदूत मास्फी विन्ते शाम्सले बङ्गलादेश र नेपाल आर्थिक विकासको बाटोमा अग्रसर भएको वर्तमान अवस्थामा एकअर्काका विज्ञता, अनुभव र सीप आदानप्रदान हुन जरुरी भएको बताए ।

