खानेपानी मन्त्री थारु पहिरनमाः भन्छिन्, ‘मौलिक भेषभुषालाई माया गरौं’
कञ्चनपुर, चैत ११ । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाएको पहिरन देख्दा धेरै जना अचम्मित परे ।
खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले पहिरन लगाएको स्पष्ट पारिन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो ।
कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होम स्टे र उधान (गार्डेन) को शिलान्यास समेत गरेकी थिइन् । कला संस्कृतिको मात्रै जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ । खानेपानी मन्त्री मगरले कञ्चनपुर जिल्लाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताए । बाटो घाटो, पुल पुलेसा देखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेको उनले स्पष्ट पारिन् ।
ब्रह्मदेबमा भारतीय एसएसबीद्वारा रोकिएको सडक निर्माणलाई सीमा बैठकपछि निरन्तरता
कञ्चनपुर, चैत ११ । भीमदत्त नगरपालिकाले ब्रह्मदेबमा भारतीय एसएसबीले अवरोध गरेको सडक निर्माणलाई सीमा बैठकपछि निरन्तरता दिने भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भारतीय पक्षको आग्रहमा चैत १३ गते अर्थात मार्च २७ तारेखमा वनबासामा बस्ने सीमा बैठकसम्म निर्माण रोकिएकाले त्यसपछि निरन्तरता दिने बताएका हुन् । ‘नेपाली भूमिमा सडक कालोपत्रेको कार्य हुँदैन, एसएसबी आएर त्यसमा अवरोध ग¥यो, स्थानीय प्रशासनले भारतसित कुरा गर्दा सीमा बैठकबाट हल गर्ने कुरा आएको छ’ नगर प्रमुख विष्टले भने,‘ बैठकपछि लगत्तै सुरु गर्छौ ।’ भीमदत्त नगरपालिकाले टनकपुर बाँधको पूर्वपट्टि ३ नम्बर सीमा स्तम्भदेखि ब्रह्मदेब बजारसम्म १ सय ३८ मिटर सडक निर्माण कार्य सुरु गरेको हो । न्यू जोशी कन्स्ट्रक्सनले निर्माण सुरु गरेपछि एसएसबी आएर निर्माण अवरोध गरेपछि काम रोकिएको छ । नगर प्रमुख विष्टले सडक निर्माण स्थलको स्थलगत अनुगमन गर्दै नेपाली भूमिमा सडक बनाउन कुनै अप्ठेरो नहुने बताए । ‘दुई देशको कुरा हो, उताबाट सीमा बैठकसम्म रोक्न आग्रह आएपछि त्यसलाई रोकिएको छ, उनले भने,‘ नेपाली भूमिमा सडक बनाउन कुनै अप्ठेरो छैन ।’ भारतीय पक्षले संयुक्त सीमा सर्भे टीमलाई बोलाएर विवाद अन्त्य गरी सडक निर्माण गर्नु पर्ने भन्दै सीमा बैठकसम्म निर्माण रोक्नका लागि आग्रह गरेको थियो । भारतले यस अघि आफ्नो क्षेत्रमा पर्ने सडक निर्माण गरि सकेको छ । भारतले अहिले सडक कालोपत्रे हुन लागेको नेपाली भूमि कब्जा गरी ब्रह्मदेब बजारसम्म सडक बनाउन लागेको थियो । स्थानीय प्रशासनले नेपाली भूमिमा सडक निर्माण कार्यलाई रोक्का गरेको थियो । भारतले ३ नम्बर सीमा स्तम्भसम्म सडक निर्माण गरेको छ । भीमदत्त नगरपालिकाले नेपाली भूमिमा पर्ने ब्रह्मदेब बजारदेखि ३ नम्बर सीमा स्तम्भसम्मको क्षेत्रमा सडक कालोपत्रे गर्न लागेको हो । नेपालले ब्रह्मदेब बजारसम्म सडक बनाउन नदिएको प्रतिशोध साँध्न समेत भारतले सडक निर्माणमा विवाद झिकेको स्थानीय बताउँछन् । ‘उसले ३ नम्बर सीमा स्तम्भसम्म बनाउँदा केही नचाहिने, हामीले बनाउँदा किन चाहिने’ एक स्थानीयले आक्रोशित हुँदै भने,‘यो नेपाली भूमि कब्जा गर्न नदिएको रिस बाहेक अरु केही होइन ।’ महाकाली नदीमा टनकपुर बाँध बनाउँदा ३ नम्बर सीमा स्तम्भ गायब भएको छ । सीमा स्तम्भ नहुँदा भारतीय पक्षले अनावश्यक विवाद गर्दै आएको छ । सीमा स्तम्भ नजिकको बाँध नजिक क्षेत्रमा सिडीलाई आधार बनाएर दुबै देशको सीमा क्षेत्र छुट्याएको स्थानीय बताउँछन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सीमा स्तम्भ नभएकाले सिढीका आधारमा सीमा छुट्टिएको बताए । ‘बाँध बनाउँदा सीमा स्तम्भ नदीमा गयो, त्यहीं स्तम्भका आधारमा सिढी बनाइएको छ, यताको नेपाली भूमि हो, उताको भारतको हो, यसमा विवाद गर्नुु पर्ने कुरा नै छैन’ उनले भने । भीमदत्त नगरपालिकाले ब्रह्मदेबस्थि सिद्धनाथ बाबाका दर्शनार्थी र स्थानीयलाई आवतजावतमा सहजताका लागि सडक कालोपत्र बनाउन सुरु गरेको हो । १ सय ३८ मिटर लम्बाईको सडक निर्माणका लागि ४३ लाखमा ठेक्का दिइएको छ । भारतीय पक्षले ब्रह्मदेब बजारसम्म नेपाली भूमिमा समेत सडक बनाउन थालेपछि नगर प्रमुख विष्टको अगुवाईमा निर्माण रोकिएको थियो । त्यसपछि उनले नगरपालिकाबाट सडक निर्माणको लगत र स्टिमेट गरी सडक निर्माण बजेट विनियोजन गरेका थिए । भारतीय एसएसबीले सडक निर्माण अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्य सहितका सरकारी अधिकारीले ब्रह्मदेब पुगेर भारतीय पक्षसित कुराकानी गरेका थिए ।
नेता नेपाल भन्छन्, ‘विप्लवलाई प्रतिबन्ध लगाएको खबर पत्रपत्रिकाबाट मात्र थाहा पाए’
चितवन, चैत ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् । यहाँ आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।” नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज यहाँ पुगेका हुन् । डा. सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उनले बताए । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उनले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिए । उनले थपे, “असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ ।” नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताए । “नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन”, नेकपा सचिवालय सदस्य नेपालको भनाइ थियो । पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताए । उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए । पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए। उनले पार्टी स्थापना भएको दिन अप्रिल २२ (आगामी वैशाख) सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।
ओली सरकारले बहुमतको दम्भमा संविधानको मूल मर्म विर्सियोः कांग्रेस नेता सिंह
विर्तामोड, चैत ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै, ‘निर्वाचनअघि कांग्रेसले जनता समक्ष भनेकोे जनवादी सत्ता लादिन्छ भनेको थियो अहिले क्रमशः सरकार त्यतैतिर लम्किरहेको छ’– पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले भने । मन्त्रालय, संवैधानिक आयोग लगायतका निकायलाई ‘प्रधानमन्त्रीले आफूमा शक्ति सञ्चय गरेर शक्तिशाली बन्न खोजेको बताउँदै’– सिंहले भने– ‘सम्पत्ति शुद्धिकरण आयोग प्रधानमन्त्रीकै मातहतमा ल्याउनु, संसदमा पेश गरिएको सुरक्षा ऐनमा उल्लेखित आदेशका भरमा सेना परिचालन गर्नसक्ने ब्यवस्था गर्न खोज्नु, प्रदेश र स्थानीय तह सुहाउँदो कानून बनाउन आलटाल गर्नुले लोकतन्त्रमाथि जोखिम देखिएको छ ।’ लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता सुरक्षित हुने भन्दै सिंहले यसका लागि मिसन पत्रकारिता आवश्यक रहेको बताए । ‘ओली नेतृत्वको सरकारले बहुमतको दम्भमा संविधानको मूल मर्म विर्सिएको छ’ आरोप लगाउँदै नेता सिंहले संविधानअनुरुप लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकारले तदारुकता नदेखाएको धारणा राखे । ‘सरकारले ठूल्ठूला कुरामात्रै गरिरहेको छ’– सिंहले भने– ‘आफ्नै सरकारले छुट्याएको विकास बजेट खर्चन नसक्नु सरकारको असफलता हो ।’ सरकारी लगानीकर्ता र उद्योगी–ब्यवसायीलाई हतोत्साही गर्दै लगानीको वातावरण नबनाएको सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्नुको अर्थ के ? भन्दै सिंहले सरकारलाई प्रश्न थियो । सशस्त्र द्वन्द्वमा रहेको विप्लब नेतृत्वको पार्टीलाई प्रतिबन्ध गर्नु उचित नभएको बताउँदै उनले वार्ता, संवाद र सहमतिबाटै समस्या समाधान गर्न सरकारलाई सुझाव दिए । सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा माओवादीलाई कांग्रेसकै नेतृत्वमा सहमतिमार्फत संसदीय राजनीतिक पद्धतिमा ल्याएको उदाहरण प्रस्तुत गर्दै उनले विप्लबसँगको समस्या पनि वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । फरक प्रसङ्गमा नेता सिंहले नरम बोल्दा समाचारको विषयबस्तु नबन्ने र कडा बोल्दा प्रेसले आफू अनुकूल प्रस्तुत गरिदिँदा विवाद निम्तिने गरेको बताउँदै गम्भीर राजनीतिक मुद्दामा संवेदनशिलता बुझेरमात्रै प्रस्तुत गरिदिन आग्रह गर्दै केही दिनअघि पार्टी महामन्त्री शशांक कोइरालाले धर्मका विषयमा दिएको अभिव्यक्ति व्यक्ति भएको स्पष्ट पार्दै पार्र्टीको आधिकारीक धारणा नभएको बताए । परिवर्तनका लागि जनताले गरेको आन्दोलनका कारण प्राप्त उपलब्धिका बारेका कांग्रेस पछाडि फर्कन नसक्ने सिंहको प्रष्टोक्ति थियो । संस्थागत रुपमा विधिसम्मत तरिकाले पार्टी चलाउनु कांग्रेसभित्रको चुनौति रहेको बताउँदै नेता सिंहले विधि, प्रक्रिया र पद्धति मिच्ने अधिकार कसैलाई नहुने धारणा राखे । नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाई, हृदयराम थामी, नेपाली कांग्रेस झापा सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, काठमाडौं सभापति सबुध बानिया, पाँचथर सभापति नरेन्द्र केरुङ, झापा कोषाध्यक्ष केशवराज पाण्डे, ट्रेड युनियन केन्द्रीय सदस्य उर्मिला ढकाल, झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, क्षेत्रीय सभापतिहरु मणि उप्रेती, खगेन्द्र मैनालीलगायतको उपस्थिति रहेको थियो । प्रेस युनियन झापा सल्लाहकार राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गरेका थिए ।
महिला कैदीबन्दीका लागि ब्यूटीपार्लर तालिम
धनगढी, चैत ११ । जिल्ला कारागार शाखा कैलालीका महिला कैदीवन्दीका लागि सोमबारदेखि ब्यूटीपार्लर तालिम सुरु गरिएको छ । धनगढी उप–महानगरपालिकाको सहयोगमा सुनौलो भबिष्य नेपालले ३ महिने ब्यूटीपार्लर तालिम सुरु गरेको हो । तालिमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै नगरप्रमुख वडले कानुन हातमा लिएका कारण कुनैपनि ब्यक्तिले सजाय भोग्नुपर्ने अवस्था आउने बताए । यहाँबाट निस्केपछि समाजमा असल काम गरेर देखाउनु होस नगरप्रमुख वडले भने, त्यसका लागि नै उप–महानगरपालिकाले ब्यूटीपार्लर तालिमको आयोजना गरेको हो । नगरप्रमुख वडले बेरोजगारी र अभावका कारण समेत अपराध बढीरहेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले यस ब्यूटीपार्लर तालिमलाई अवसरको रुपमा लिन कैदीबन्दीहरुलाई आग्रह गरे । तपाईहरु तालिममा राम्रो संग सिप सिक्नु होस प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘यसले तपाईलाई आत्मनिर्भर बनाउँछ । सुनौलो भविष्य नेपालका अध्यक्ष तुलसी देवकोटाले तालिममा बढीभन्दा बढी समय दिन सहभागीहरुसँंग आग्रह गरिन् । देवकोटाका अनुसार तालिममा जिल्ला कारागार शाखा कैलालीमा रहेका २४ जना कैलीवन्दी सहभागि रहेका छन् । ३४ जना महिला कैदीवन्दी रहेकोमा १० जनाको जेलको म्याद छोटो भएकाले सहभागि गराउन नसकिएको बताईन ।
मेयर रेणु दाहालद्वारा भरतपुरमा ‘निर्माण सामग्री प्रयोगशाला’ उद्घाटन
चितवन, चैत ११ । भरतपुर महानगरपालिकामा रहेको निर्माण सामग्री प्रयोगशाला (ल्याब)को सोमबार उद्घाटन गरिएको छ । भरतपुर महानरगर प्रमुख रेणु दाहालले प्रयोगशाला उद्घाटन गरेकी हुन् । विकास निर्माणका कामहरुलाई प्रभावकारी, गुणस्तरीय र दिगो बनाउनका लागि निर्माण सामग्रीहरुको गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला निर्माण गरेको प्रमुख दाहालले बताइन् । विकास र गुणस्तरलाई सँगसँगै लैजान चाहेको बताउँदै प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्राथमिकता निर्माणमात्र नभई गुणस्तर कायम गर्नुपनि भएको बताइन् । यस प्रयोशालाबाट प्रवाह हुने सेवाको भरपुर उपयोग गर्न महानगरवासीलाई उनले आग्रह गरे । प्रमुख दाहालले तोकिएको मापदण्डभित्र रहेर गुणस्तर परीक्षण नगरी निर्माण गर्ने निर्माण व्यावसायी, प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिलाई समेत नछाडिने चेतावनी दिए । भरतपुर महानगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले तोकिएको काम नगर्नेहरूलाई कारबाहीको प्रकृया अगाडि बढाइएको बताइन् । गुणस्तर कायम गर्नका लागि प्रयोगशाला स्थापना गरिएको महानगर प्रमुख दाहालको भनाइ छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले गुणस्तर परीक्षण प्रयोगशाला भरतपुर महानगरपालिकाको पूर्वाधार विकासमा गुणस्तर कायम गर्न सहयोगी हुने विश्वास व्यक्त गरेकी छन् । उनले आफू अनुगमन समितिको संयोजक समेत भएको बताउँदै यस प्रयोगशालाबाट सम्पूर्ण नगरवासीहरुले लाभ लिन आग्रह गरेकी । विकास निर्माणको गुणस्तर वृद्धिमा आम जनसमुदायको निगरानी र खबरदारी रहनु पर्ने उनको धारणा छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी (प्रयास)ले सञ्चालित प्रयोगशालालाई चाहिने आवश्यक औजार उपकरणहरु थप्दै व्यवस्थित बनाउँदै लगिने बताइन् । प्रयोगशालाको सञ्चालनले महानगरपालिकाको विकास निर्माण गुणस्तरीय हुने विश्वास व्यक्त गरेकी छन् । भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीले जसरी मानिस, पशु आदिको स्वास्थ्य परीक्षण गरिन्छ, त्यसरी नै विकास निर्माणको पनि नियमित परीक्षण गर्नुपर्ने बताउँदै त्यसैका लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन् । वडा नं.८ का अध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक दामोदर न्यौपानेले प्रयोगशाला सञ्चालनले विकास निर्माणमा थप गुणस्तर कायम गर्न सकिने बताएकी छन् । भरतपुर महानगरपालिकाका इन्जिनियर तथा ल्याब इन्चार्ज सूर्यप्रकाश लामाले प्रयोगशालाले दिने सेवा सुविधाका बारेमा जानकारी गराएकी थिए । यस प्रयोगशालामा निर्माण सामग्रीहरु रड, सिमेन्ट, गिटी, बालुवा, बिटुमिन, रंग तथा निर्माण भएका भवन, सडक, पुलपुलेसा तथा अन्य संरचनाहरुको गुणस्तर परीक्षण गरिने उनले बताइन् । इन्जिनियर लामाले आउँदा दिनहरूमा यो प्रयोगशाला स्थापनासँगै निर्माण कार्य अझै गुणस्तरीय हुने विश्वास व्यक्त गरेकी छन् । महानगरपालिकाका विकास निर्माणका अलवा नगरवासीहरूले आफ्ना निर्माण सामग्रीहरुको समेत सशुल्क परीक्षण गर्न पाउने उनले जानकारी गराइन् । प्रयोगशालाको सञ्चालनसँगै गुणस्तरहीन निर्माण सामग्रीबाट उपभोक्ता ठगिने क्रम रोकिने विश्वास गरिएको छ । प्रयोगशाला भरतपुर महानगरपालिका वडा नं.५ को साविक १४ नम्बर वडा कार्यालयको भवनमा संचालनमा आएको छ । वडा नं.५ का अध्यक्ष पदमपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्राविधिक, राजनितिक दलका स्थानीय प्रतिनिधि, टोल सुधार समिति, आमा समूह लगायत स्थानीयको सहभगिता रहेको थियो ।
कामदार लैजाने विषयमा आज नेपाल–जापानबीच समझदारीमा हस्ताक्षर हुँदै
काठमाडौं, चैत ११ । नेपाल र जापानबीच नेपाली कामदार लैजाने भन्ने विषयमा आज श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर हुँदैछ । काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ । सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय ९जिट्को० सम्झौता अन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । त्यसैअनुसार आर्थिक वर्ष ०६४र ०६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो । जापान सरकारले आउँदो अप्रिल १ तारिखदेखि विभिन्न ९ देशबाट कामदार लैजाने घोषणा गरेको थियो । त्यसैअनुसार अप्रिल १ तारिखदेखि नै कार्यान्वयनमा आउने गरी नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर हुन लागेको हो । यो समझदारीले नेपाली कामदार जापान जाने सबै प्रक्रिया भने टुंगिन बाँकी नै रहेको पनि मन्त्रालयले जनाएको छ । जापान सरकारी संयन्त्रबाटै कामदार पठाउने विषयमा भने सहमत भइसकेको छ ।
नेकपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं, चैत ११ । संघीय संसदको दुबै सदनको तेस्रो अधिवेशन सकिए लगत्तै सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्माणमा सहयोगको पहल थालेको छ । संसदको चौंथो अर्थाट बजेट अधिवेशनको सुरुवातमै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल थाल्न लागेको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आवको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनुपर्ने छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बिहान ११ बजे बस्ने संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, संसद अधिवेशन समेत नभएको समय गाउँ गाउँ गएर जनताको प्राथमिकता बुझ्न तथा प्राथमिकताका आधारमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने योजनाबारे सुझाव दिन प्रधानमन्त्री ओलीले आफ्नो दलका सांसदलाई निर्देशन दिने छ । बैठकमा तेस्रो अधिवेशनको समीक्षा हुनुका साथै सरकारको कामबारे समेत सांसदबाट सुझाव तथा प्रतिक्रिया लिने तयारी दलको छ । सरकार र सीके राउतबीचको सहमति, नेत्रविक्रम चन्द समूहको गतिविधिमा लगाईएको प्रतिबन्ध लगायतमा भने पार्टी कै शीर्ष नेताले विरोध गर्दै आएका छन् । कान्तिपुरदैनिकबाट
सिंहदरबारमा अपरान्ह ३ बजे संवैधानिक परिषदको बैठक बस्दै
काठमाडौं, चैत ११ । निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सम्बन्धमा छलफल गर्न संवैधानिक परिषद्को बैठक सोमबार बस्दै छ । बैठक सिंहदरबारमा अपरान्ह ३ बजेपछि बस्ने छ । ८ मध्ये ५ आयोगमा अध्यक्ष नियुक्त भएपनि थप ३ आयोगमा नियुक्ति हुन बाँकी छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेशी आयोगमा अध्यक्ष नियुक्त भएपनि संवैधानिक व्यवस्था अनुसार नयाँ गठन भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगमा भने अध्यक्ष नियुक्त हुन बाँकी छ । यस्तै, बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तबारे समेत छलफल हुने छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल आइतबार सकिएको थियो । आफ्नो उपस्थितिबिना नै परिषदले विभिन्न ५ आयोगको अध्यक्षमा सिफारिस निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सदनमा समेत विरोध गरेको थियो । सोमबारको परिषद बैठकमा कांग्रेसले सोबारे समेत धारणा माग्ने तयारी गरेको छ । कान्तिपुरदैनिकबाट
आगामी वैशाखदेखि सबै सडकमा ट्राफिक लाइट संचालनमा ल्याइने
काठमाडौं, चैत ११ । काठमाडौं उपत्यकामा यसअघि बन्द रहेका सबै स्थानका ट्राफिक लाइट २०७६ वैशाखदेखि सञ्चालनमा ल्याइने भएका छन् । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले केही वर्षदेखि बन्द रहेका उपत्यकाका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । त्यसका लागि बोलपत्र आह्वान भई कम्पनी छनोट समेत भइसकेको जानकारी दिए । उपत्यकाभित्रका ट्राफिक लाइटको मर्मत सम्भारको काम सुरु भइसकेको जानकारी दिंदै भने, ‘वैशाखभित्र उपत्यकाका सबै स्थानका ट्राफिक लाइट सञ्चालनमा आउने छन् ।’ काठमाडौँ उपत्यकामा तत्काल नयाँ ट्राफिक लाइट थप्ने कुनै योजना नरहेको स्पष्ट पार्दै उनले यसअघि जडान गरिएका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइने बताए । अहिले काठमाडौं जिल्लाको १५ स्थान र भक्तपुरको चार स्थानमा ट्राफिक लाइट बिग्रिएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि झण्डै १२ वर्षपछि २०७४ चैत १३ गते राजधानीको आठ ठाउँमा ‘स्मार्ट ट्राफिक लाइट’ को उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । पूर्णरूपमा नेपाली प्रविधि र इञ्जिनियरको सहयोगमा सीसी क्यामेरासहित तयार पारिएको ट्राफिक लाइट अहिले काठमाडौंको नयाँबानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड र नारायण गोपाल चोकमा ‘इन्टरसेक्सन ट्राफिक लाइट्स’ (मुख्य चोकमा जडान गरिने ट्राफिक लाइट) सञ्चालनमा रहेका छन् । नारायणगोपाल चोकमा पहिलो पटक नयाँ ट्राफिक लाइट जडान गरिएको थियो । त्यसैगरी, नयाँ सडक, सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालय अगाडि, पुतलीसडक कुमारी बैंक अगाडि, सोल्टिमोड र दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि पैदल यात्रुका लागि सहज हुनेगरी ट्राफिक लाइट सञ्चालनमा रहेका छन् । उपत्यकाका चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायतका ३४ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेकोे ट्राफिक महाशाखा स्रोतले जनाएको छ । नेपालमा पहिलो पटक विक्रम सम्बत् २०२४ सालमा सुन्धारा, नयाँ सडक गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा ट्राफिक लाइट जडान गरिएको थियो । तर ती लाइट विभिन्न कारणले लामो समयसम्म सञ्चालनमा आउन सकेन । त्यसपछि जापान सरकारको सहयोगमा २०५८ सालमा थापाथलीसहित राजधानीको केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो । जुन २०६३ सालदेखि बन्द भएका थिए । गोरखापत्रबाट
सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन
गाईघाट, चैत ११ । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगेपनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महिनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या आएको कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेको बेला अहिले एक हप्तादेखि विद्युत् आपूर्ति पुनः सहज भएपछि उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार तीव्र गतिमा उद्योगले सिमेन्ट उत्पादन गरिरहेको बेला गत माघको पहिलो हप्तादेखि फागुनभर धनुषा, ढल्केबर विद्युत् आपूर्ति केन्द्रबाट नियमित विद्युत् आपूर्ति नहुँदा उद्योगमा सिमेन्ट उत्पादन कार्य ह्वात्तै घटेको थियो तर अहिले सम्बन्धित निकायमा ध्यानाकर्षण गराएर विद्युत् आपूर्ति सहज भएपछि एक हप्तादेखि उद्योगले दैनिक १८ हजार बोरासम्मअर्थात् ८०० मेट्रिक टनभन्दा बढी गैँडा छाप सिमेन्ट उत्पादन गर्न थालेको छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने पूर्ण क्षमता दैनिक ८०० मेट्रिक टन हो । डेढ वर्ष अघिसम्म विद्युत् आपूर्तिकै कारण घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्ति सहज भएपछि वार्षिक अर्बौं रुपैयाँको आम्दानी गर्न थालेको छ । तर पटक–पटक हुने विद्युत् अवरोधको कारण उद्योगले सोचेजस्तो सिमेन्ट उत्पादन गर्न नसक्दा घाटा व्यहोर्नुपरेको उद्योग प्रशासन बताउँछन् । अहिले विद्युत् आपूर्ति सहज भएपछि सिमेन्ट उद्योगले प्रत्येक दिन रु ३ करोड मूल्य बराबरको सिमेन्ट उत्पादन गर्न शुरु गरेको उद्योग प्रशासनले बताएको छ । उद्योगमा अहिले ४३९ मजदूर तथा कर्मचारी रहेका छन् भने कर्मचारीको लागि मासिक रु एक करोड ३२ लाख र विद्युत्मा अढाइ करोड खर्च हुने गरेको बताइएको छ । रासस
प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सुधार
काठमाडौं, चैत ११ । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । एक हप्ताको उपचारपछि उनमा निकै सुधार आएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ । आफै हिडडुल गर्न नसक्ने अवस्थामा रहेकी दाहाल अहिले आफै हिँडडुल गर्ने अवस्थामा पुगेकी छन् । सोमवारको रिपोर्ट हेरेर थप उपचार गराउनुपर्ने वा फर्किनु पर्ने तय हुने बताइएको छ । उनको उपचार अमेरिकाको जोन हप्किङ्स अस्पतालमा भइरहेको छ ।
५० पाइलट माग गर्दा २६ जनाको मात्रै आवेदन
काठमाडौं, चैत ११ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ । निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को पाइलट र जुनियर को पाइलट फागुन १० गते विज्ञापन खुलाएको थियो । आवदेनको अन्तिम मितिसम्ममा मागको ५२ प्रतिशत मात्रै आवेदन परेको निगमले जानकारी दिएको छ । निगममा भन्दा निजी एअरलान्स कम्पनीमा राम्रो सुविधा पाइने भएकाले आवेदन कम परेको हुन सक्ने अनुमान गरिएको छ । निगम सहप्रवक्ता नवराज कोइरालाका अनुसार निगमले १३ जना सिनियर क्याप्टेन माग गरेको थियो । यो पदमा मागको तुलनामा अत्यन्तै कम संख्याले मात्रै आवेदन दिएका छन् । माग १३ जना गरिए पनि आवदेन एक जनाले मात्रै दिएको कोइरालाले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
तीन दिनसम्म वर्षा हुने, उच्च पहाडी भागमा हिमपातको सम्भावना
काठमाडौं, चैत ११ । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विमागका अनुसार मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुनेछ । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद्को अनुमान छ । आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि स्थान तथा अन्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ । भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ । वर्षा हिमपात
विप्लव समूहलाई सके फकाउने नसके तर्साउने
काठमाडौं, चैत ११ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ । सरकारले फागुन २८ गते विप्लव समूहलाएै प्रतिबन्ध लगाइसकेको छ । विप्लव समूहलाई आपराधिक तथा विध्वंसकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ । सरकारले भदौमा असन्तुष्ट पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोसिस गरिरहेका छन् । तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको छ । यो समाचार टपेन्द्र कार्कीले आजको नागरिक दैनिकमा लेखेका छन् ।
डोटीका शिक्षा इकाई प्रमुख पौड्यालमाथि कालोमोसो
डोटी, चैत १० । नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमै कालोमोसो दलेको छ । संघका पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजय ओझाका अनुसार आइतबार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालोमोसो दलिएको हो । इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता, भ्रष्टाचार र कानून विपरीत काम गरी रहेकाले कालोमोसो दलेको नेविसंघले जनाएको छ । साथै, संघले यसबारे डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक–पटक यसबारे जानकारी गराउँदासमेत कुनै वास्ता नगरेकाे आरोप लगाएको छ ।






