पहिरोले पुरिएर एकको मृत्यु, ४ जना घाइते
बझाङ, चैत १० । बझाङमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकाको वडा नं. ४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नं. ४ का ३५ वर्षीया मनादेवि भट्ट रहेकी छन् । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेमा निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट हुन् ।
घाइतेमध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारको लागि देउरा पठाइएको स्थानीय लोकराज भट्टले जानकारी दिए । सिचाईँ नहरको लागि बालुवा निकाल्दै गर्दा पहिरो खसेको हो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै
काठमाडौं, चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बैठकलाई सम्बोधन गर्ने छन् । प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यसूची भएपनि २ घन्टा पर सारिएको प्रधानमन्त्री प्रेस संयोजक अधिकारीले जानकारी दिए । संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदैछ।
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
चितवन, चैत १० । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।’ नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताउनुभयो । काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा. डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।
बौद्धबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ
साँखु, चैत १० । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित सात रहेको चन्दले बताए । पक्राउ परेका उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान गरी प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकम सहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । रासस
आफ्नाबाटै यसरी बलात्कारको शिकार भइरहेका छन् हाम्रा छोरीचेली ?
काठमाडौंँ, चैत १० । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कारपछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे । धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् । अधिकारकर्मी एवं कानून व्यवसायी मीरा ढुङ्गानासँग अहिले पनि साना बालिका बलात्कारका तीन वटा मुद्दा छन् । पछिल्लो समय यसैगरी छिमेकी, चिनजान र आफन्तले नै छोरीचेलीलाई बलात्कारका घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । बलात्कारका घटना बढ्नुमा सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक, प्रविधिको सही प्रयोग गर्न नजान्नु, सामाजिक मूल्य मान्यताअनुरुपको नैतिक शिक्षाको कमी तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा. मीना उप्रेती बताउँछन् । व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था, काम तथा जिम्मेवारीको बोझ कम हुन र मानसिक रोग र प्रविधिको बेप्रवाह प्रयोगजस्ता मनोरोग कारक रहेको मनोचिकित्सक डा।सरोज ओझाको भनाइ छ । ‘आफन्त र चिनजानका व्यक्तिबाटै बलात्कारमा पर्ने बालबालिका ७४ प्रतिशत छन्,’ प्रवक्ता सुवेदीले भने, ‘अधिकांश घर, स्कुल छेउछाउमै परिचितका सिकार भएका छन् ।’ उनका अनुसार गलत व्यक्तिले सजिलो सिकार खोज्ने प्रवृत्ति पछिल्लो समय देखिएको छ । ‘घरमा कोही नभएका बेला बालिका, समान्य रूपमा फकाउँदा नै मान्ने साना बालिका वा स्कुल जाँदा आउँदा एक्लै हुने बालिकाको पछि त्यस्ता व्यक्ति लागिरहेका छन्,’ उनले थपे । सामाजिक विकृतिले यस्ता घटनालाई बढावा दिइरहेको उनको भनाइ छ । अधिकारकर्मी तथा अधिवक्ता ढुङ्गाना घरपरिवार मात्र हैन सशस्त्र द्वन्द्वपछि समाज स्वतन्त्र हुँदै स्वच्छन्दताको बाटोतिर गएकाले पनि यस्ता घटना वृद्धि भएको बताउँछन् । विभिन्न मुद्दा हेर्दाको अनुभव सुनाउँदै उनले हेप्न सकिने, भनेको मान्ने र मार्न सकिने बालिका नै भएकाले वयस्क युवतीभन्दा चिनेजानेका साना बालिका बलात्कारका लागि चुनिन थालेको अपराध विश्लेषण उनको छ । ‘घरपरिवार, समाज र पुरुष वर्गलाई यस्ता विषयमा नैतिक शिक्षा दिनेबेला आएको छ,’ उनले भो, ‘अझ छोरालाई सानैदेखि यस्ता कुरामा सचेत गराउनै पर्छ, ताकि भविष्यमा ऊ बलात्कारी नबनोस् ।’ छोरालाई अङ्कुश नलगाउने तर छोरीलाई अङ्कुश लगाइरहने चलनले छोरा स्वच्छन्द हुन थालेको उनी बताउँछन् । यसरी बलात्कारका घटना बढ्नुमा नेपालको सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा.मीना उप्रेती बताउँँछन् । ‘मूल्य मान्यता, नैतिकता, इमानदारी हराउँदै समाज विचलनतिर गइरहेको छ,’ उनले थपे, ‘अर्कोतिर हातहातमा प्रविधि पुगेकापछि उत्सुकताबस विभिन्न साइट हेरेर अनावश्यक उत्सुक बढ्नाले बलात्कार घटना हुन थालेको देखिन्छ ।’ उनका अनुसार माथिल्लो जात वा वर्गले तल्लो जात वा वर्गमाथि गरिने हिंसामध्ये एक बलात्कार पनि हो । पछिल्लो समय सञ्चार क्षेत्रको सक्रियताले यस्ता घटना बाहिर आए पनि न्यूनीकरण हुन नसकेको उहाँको विश्लेषण छ । प्रहरी प्रशासनले बलात्कार भएको प्रमाण खोजिरहने र राज्यले बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो भइरहेको तर्क उनको छ । ‘राज्यको उच्च पदमा अधिकांश पुरुष त्यो पनि उच्च वर्गका रहेका छन्,’ उनले थपे, “उनका छोरीचेली बलात्कार हुँदैनन् भन्ने धारणाले पनि कमजोर छोरी चेली बलात्कारमा परिरहेका छन् ।’ बलात्कारका घटना बढ्नुमा व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था कारक रहेको मनोचिकित्सक डा।सरोज ओझा बताउँछन् । कतिपय व्यक्तिमा पिलोफेलिया (वयस्क बच्चातर्फ बढी आकर्षित हुने मानसिक रोग) हुनसक्छ उनले प्रष्ट्याए तर अधिकांश त्यो नभई उसको सामाजिक परिवेशको असर हुन सक्छ । पिलोफेलिया मनोरोग भने पीडकको परीक्षणपछि मात्र पत्ता लाग्ने गर्छ । डा। ओझाका अनुसार शिक्षा तथा कामको चापको कमी भएकाले बलात्कार जन्य घटनामा संलग्नता बढाउन सक्ने बढी सम्भावना रहन्छ । ‘‘सामान्यतया १२ वर्षको उमेरपछि हरेक व्यक्तिमा यौन चाहनाको सुरुवात हुुने गर्छ । तर त्यसको सही व्यवस्थापन नगरी इन्टरनेट हेरेकै भरमा बलात्कार गर्नेतर्फ लक्षित हुने मानसिकता हालका किशोर वर्गमा विकास भइरहेको देखिएको छ’, उनको अनुमान छ। सामाजिक सञ्जाल र भर्चुअल लाइफको बढोत्तरीका कारण परिवारकै सदस्यबीच कुराकानी कम हुँदा नयाँ पुस्ताको ध्यान यस्ता घटनातिर मोडिन थालेकामा प्रहरी अनुसन्धानकर्मी पनि सहमत छन् । “भात खान पनि च्याटबाट बोलाउँछन् आमा अनि बाबु अर्को कोेठामा टेलिभिजनमा मख्ख,” प्रहरी प्रवक्ता सुवदीले थपे, ‘छोराछोरी के गरिरहेका छन् भन्ने बुझ्न फुर्सद हुन्न ।’ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छोरीको सुरक्षा, परिवार तथा शिक्षकको समाजमा भूमिकाजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । नेपाल प्रहरी र विभिन्न सङ्घ संस्थाको तथ्याङ्क अनुसार आव २०५३–५४ देखि २०७२÷७३ को २० वर्षमा नेपालमा बलात्कारका घटनामा दश गुणा वृद्धि भएको छ । आर्थिक वर्ष २०५३–५४ मा देशभरिमा ११२ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकोमा २० वर्षपछि २०७२÷७३ मा एक हजार ८८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकाले पनि बढ्दै गएको देखिएको हो । यो बढोत्तरी नेपालको जनसङ्ख्या वृद्धिको तुलनामा बढिरहेको समाजशास्त्रीहरू बताउँछन् । आर्थिक वर्ष २०७४÷७५ को प्रहरी तथ्याङ्क अनुसार कुल दुई हजार ८७१ बलात्कारका घटना भएका थिए । जसमध्ये साथीभाइ र छिमेकीबाट सबैभन्दा धेरै ७३० बलात्कारमा परेका थिए । त्यसबाहेक १४१ बलात्कार एकैघरका आफन्तबाट भएको प्रहरीले जनाएको छ । त्यस्तै, नातेदारबाट ४८ जना, अन्य चिनेजानेकोबाट ६९२ जना बलात्कृत भए । स्कुलमा पढाउने शिक्षक र मालिकबाट २६ जना बलात्कृत भए । जम्मा ४०४ जनामात्र नचिनेका व्यक्तिबाट बलात्कारमा परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्र करणीका एक हजार ४५३ मुद्दा दर्ता भए ।
७० पुगेका झलनाथ भन्छन्, ‘म ५० वर्ष जस्तो देखिन्छु’
काठमाडौं, चैत १० । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चैत ५ देखि ७० वर्षमा लागे। उमेर सात दशक पुगेको अवसरमा उनले नयाँ जुक्ति निकाले– एकल शब्द रचनामा दोस्रो गीति एल्बम बजारमा ल्याउने। यसकै अवसर जुरेको थियो, शनिबार। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली। पार्टीका शीर्ष नेताको बाक्लो उपस्थितिसँगै खचाखच दर्शकका अगाडि खनाल बोले, ‘म ७० वर्ष पुगें । तपाईंहरूलाई विश्वास लाग्दैन होला तर म अझै ५०–६० तिरै छु जस्तो लाग्दै छ।’ उनी २००६ सालमा इलाममा जन्मिएका हुन् । उनलाई ७० वर्षमा पाइला टेकेको विश्वास लागेको रहेनछ । उनले आफ्ना नौ गीत संग्रहित ‘परिवर्तनका स्वरहरू–२’ लोकार्पण कार्यक्रममा ‘तन्नेरीपन’ देखाउन खोजे। ‘म अझ कम्तीमा १५ वर्ष युवा अवस्थामै रहन्छु जस्तो लाग्छ’, उनले भने । उनले यसो भनिरहँदा हल हाँसोले गुञ्जिएको थियो। खनालपछि बोल्ने पालो आयो प्रधानमन्त्री ओलीको । उनी के कम उनले सुरुमै खनालको युवा मनको प्रशंसा गदै दर्शकलाई हँसाए। ‘गीतकार मात्रै होइनन् जेएन कमरेड, यो कार्यक्रमका पनि रचनाकार हुनुहुन्छ’, उनले भने, ‘युवा मनका, जन्मले जन्तरे, कवि÷गीतकार झलनाथ खनाल नेता त भन्नै परेन । पार्टीका पूर्वअध्यक्ष भइसक्नुभएका, पूर्वप्रधानमन्त्री भइसक्नुभएका र लामो समय पार्टीलाई नेतृत्व गरेका व्यक्ति हुनुहुन्छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। खनालले २०६२÷६३ को आन्दोलनपछि ‘अभूतपूर्व अवसर’ आएको उल्लेख गरेका थिए । सरकारको नेतृत्वकर्ताले राजनीतिक र आर्थिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति पनि अघि बढाउनुपर्ने सुझाव उनले दिएका थिए । खनालको गीति एल्बम जनसांस्कृतिक महासंघले बजारमा ल्याएको हो । एल्बमका गीतमा मिलन तिमल्सिनाले संगीत भरेका छन । यम बराल, खुमन अधिकारी, पूर्णकला बीसी, मिलन नेवार, धीरेन्द्र लकान्द्री, अञ्जु घिमिरे, दीपक लिम्बूलगायतले स्वर दिएका छन्।
सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ
काठमाडौं चैत १० । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही दिन अघि आफनो इन्स्टाग्राम र फेसबुक एकान्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन् । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
२६८ रोजगार संयोजकका लागि १० हजारद्वारा आवेदन
काठमाडौं, चैत १० । रिक्त २६८ रोजगार संयोजकका लागि ९ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । शनिबार बेलुका ५ बजेसम्म प्रदेश नं १ बाट दुई हजार २५९, प्रदेश नं २ बाट एक हजार ४२२, प्रदेश नं ३ बाट दुई हजार १२०, गण्डकी प्रदेशबाट ६३२, कर्णाली प्रदेशबाट एक हजार ८९७ र सुदूरपश्चिमबाट एक हजार ५४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दर्खास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीनगुणा बराबर आवेदकको योग्यताक्रमको प्रारम्भिक सूचि प्रकाशन गरिने जनाएको छ । प्रारम्भिक छनौटमा परेको व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ । परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची सङ्कलन गरी उनीहरुलाई रोजगारीको अवसरसँग जोड्ने छन् । रासस
कार चढेर एसईई परीक्षा दिन पुगिन् करिश्मा
काठमाडौं, चैत १० । नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । उनले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् । विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडाैं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परीक्षा दिन उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।
प्रदेश प्रमुख भए गुमनाम, के गर्दै छन् उनीहरु?
काठमाडौं, चैत १० । अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्यो। प्रदेश प्रमुखमा नियक्त व्यक्तिहरुको निकै चर्चा भएको थियो। तर, यतिबेला उनीहरु निश्क्रिय जस्तै छन्। संघीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुख सेरेमोनियल पद हो। प्रदेश प्रमुखमा नियुक्त हुनुअघि उनीहरु आआफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए। प्रदेश १ मा प्रदेश प्रमुख नियुक्त हुनु अघि गोविन्दबहादु सुब्बा अंग्रेजीका प्राध्यापक थिए। प्रदेश २ का रत्नेश्वरलाल कायस्थ पूर्व सचिव हुन्। प्रदेश ३ की अनुराधा कोइराला पूर्वमन्त्री तथा माइती नेपालकी संस्थापक हुन्। गण्डकी प्रदेशका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता एवं कानुन व्यवसायी हुन्, प्रदेश पाँचका उमाकान्त झा पूर्व सचिव, पूर्व मन्त्री हुन्। कर्णाली प्रदेशका दुर्गाकेशर खनाल राष्ट्रियसभाका पूर्व सदस्य हुन् भने सुदुरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल पूर्व रापंस हुन्। पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्ष नै गुमनाम भएका छन्। सेरेमोनिलय राष्ट्रपतिको भने सञ्चारमाध्यममा चर्चा भइरहन्छ। तर, अधिकांश प्रदेश प्रमुखका गतिविधिबारे आम नागरिक बेखबर छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
बस र ट्रक ठोक्किँदा २१ घाइते, ४ जनाको अवस्था गम्भीर
कपिलवस्तु, चैत ९ । कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। दुर्घटनामा बसका चालक बर्दिया बारबर्दिया ४ बस्ने २६ वर्षीय खिमराज बिकसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए । दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीया कल्पना सुनार, १५ वर्षीय भीम सुनार घाइते भएका छन्। दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि।क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवी चौधरी लगायत २१ जना घाइते भएका छन्। दुर्घटनामा परेका १७ जनालाई बुटवलका विभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए । घटनास्थलबाट बस र ट्रकलाई क्रेनमार्फत हटाउने प्रयास भइरहेको छ ।
भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक
कञ्चनपुर, चैत ९ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताए । “वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय एसएसबीका जवानले घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट रोकेको छ”, उनले भने । घर मर्मतका लागि भूमि सुधार कार्यालयले मुक्तहलिया परिवारलाई रु एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो । “निर्माणकार्य गरे घर नै भत्काइदिने भारतीय एसएसबीका जवानले धम्की दिने गरेको छ”, खड्क सार्कीले भने, “पुरानो बस्दै आएको घर भत्काएर मर्मतका लागि पाएको रकम थपेर घर निर्माण थालेका थियौँ, त्यो पनि बनाउन नपाइने भएपछि खुला आकाशमा परिवारसहित बस्नुपरेको छ ।” प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बैठक बस्ने सहमति भएको बताए। उनले सो बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताए । यसैगरी भारतीय एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्य समेत शुक्रबार रोक्न लगाएको थियो । एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माणकार्य रोकिएको छ । दुई देशका प्रशासन प्रमुखबीच यही चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ । नगरपालिकाले ब्रह्मदेव बजारदेखि ३ नं सीमा स्तम्भसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो । भीमदत्त नगरपालिकाले ठेक्का आह्वान गरी सडक निर्माण शुरु गरेको थियो । पिल्लर नं ३ देखि ब्रह्मदेव बजारसम्म १३८ मिटर सडक कालोपत्रका लागि ठेक्का दिइएको थियो । यसअघि भारतले ब्रह्मदेव बजारसम्म सडक कालोपत्रका लागि रेखाङ्कन गरेको थियो । भीमदत्त नगरपालिका र स्थानीय प्रशासनको दबाबपछि भारतीय पक्ष नेपाली भूमिमा सडक निर्माणबाट पछि हटेको थियो । टनकपुर बाँधदेखि ब्रह्मदेव बजारसम्म एक हजार ३०० मिटर बाटो छ । त्यसमध्ये भारतीय पक्षले आफ्नो भूमिमा सडक निर्माण गरिसकेको छ । रासस
विप्लवसँग वार्ता गर्न तयार छौंः नेकपा प्रवक्ता
गोरखा, चैत ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् । शनिबार गृहजिल्ला आएका श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकार वार्ता गर्न तयार भए पनि विप्लव समूह भने वार्तामा आउन नचाहेको आरोप लगाए । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाँहरुले गरेको क्रियाकलाप गलत छ’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’ नेता श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए ।
हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौंः मन्त्री बाँस्कोटा
काठमाडौं, चैत ९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे । सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब) को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियोः नीतिगत बहस’ कार्यक्रममा आज उनले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । उनले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताए । “हिंसा प्रोत्साहन नगरौँ, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौँ”, उनले भने, “हिंसाका विषयवस्तु सञ्चारमाध्यममा दिए सरकारले त्यसलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर हेर्दैन, त्यसलाई आफ्नो घोषित कानूनअनुसार सरकारले हेर्दछ ।” उनले हिंसालाई अभिप्रेरित गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हुने कि नहुने भनेर प्रश्न गरे । उनले ५/६ सञ्चारमाध्यमले हिंसाका कुरालाई प्रोत्साहन गरेको उल्लेख गरे । सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको उल्लेख गर्दै उनले भने, “त्यस्तो हिंसाका विषयवस्तु दिने सञ्चारमाध्यमलाई कारवाही हुने कि प्रेस स्वतन्ता हनन हुने ।” मन्त्री बाँस्कोटाले नेपाली समाजमा पीडा र हिंसा अवसान नहुँदै कसैलाई हिंसा शुरु गरौँगरौँ लागेर नचाहिएका काम गर्न खोजिरहेको बताए । उनले कञ्चनपुर घटनाका दोषी पत्ता छिटो लगाऊ भनेर सञ्चारमाध्यमले दबाब दिने कुरा राम्रो भएको उल्लेख गर्दै तर अपराधी पत्ता लगाउने क्रममा कसैलाई समात्यो भने त्यो कसरी समात्यो भनेर प्रश्न उठाउने कुरा राम्रो नभएको बताए । उनले अब सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले समेत कस्ता विज्ञापन प्रसारण वा छाप्ने भनेर आ–आफ्नो आचारसहिंता हुनुपर्ने धारणा राखे । मन्त्री बाँस्कोटाले काठमाडौँमा रेडियो फ्रिक्वेन्सी होल्ड गरेर राख्ने काम अत्याचार पूर्ण ढङ्गले रहेको उल्लेख गर्दै भने, “कसैले फ्रिक्वेन्सी नपाउने र कसैले नचलाएर होल्ड गरेका छन्, अब त्यो होल्ड गरेर राख्ने प्रावधान हटाउनु पर्दछ ।” कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले सामुदायिक रेडियोमा समुदायको प्रतिनिधित्व बढाउन सरकार लागिरहेको बताए। नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले सामुदायिक रेडियोको व्यावसायिक क्षमता विकास गरेर स्थानीय तहलाई पनि समेटेर जानुपर्ने धारणा राखे । रासस
मन्त्री पुनद्वारा ‘माथिल्लो तामाकोसी’ को निरीक्षण, मंसिरभित्र आयोजना सम्पन्न
काठमाडौं, चैत ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । मन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी लिन शुक्रबार साँझ दोलखा पुगेका थिए । मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण ओलीसहित आयोजनास्थल पुगेका हुन्। उनले तोकिएको समयमा आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भीर भएर काम गर्नसमेत निर्देशन दिए। शनिबार बिहान आयोजनाको बांधस्थल,सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर उनले जानकारी लिए। मन्त्री पुनले करिब ३ घन्टा आयोजना स्थलकै निरीक्षणमा बिताएका हुन् । उनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफू प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए । आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग समेत आयोजनाको प्रगतिबारे उनले जानकारी लिए । ऊर्जामन्त्री पुनले माथिल्लो तामाकोसी आगामी मंसिरभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलतः नेता पौडेल
सिन्धुली, चैत ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उनले बताए । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए । “ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”, उनले भने। शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ । विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ थियो । “कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ”, उनले भने । राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने उाले बताए । नेपाली काङ्ग्रसले आइतबारदेखि ‘मधेश संवाद अभियान’ सञ्चालन गर्न लागेको नेता पौडेलले बताए । काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । “समय आए नेतृत्व लिन तयार छु”, नेता पौडेलले भने ।

