वैशाखदेखि पाइपलाइनबाट पेट्रोल आयत
बारा, चैत ८ । बहुप्रतीक्षित मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो ।
निकुञ्जको नौ किलोमिटर क्षेत्रको रुख कटान गरी पाइपलाइन बिछ्याउने काम सुरु भइसकेको र वैशाख पहिलो हप्ता निर्माण सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन् । आयोजना प्रमुख प्रदिप यादव भन्छन्, ‘पाइपलाइनको ८० प्रतिशत काम सकिएको छ । बाँकी रहेको पाइप बिछ्याउने कार्य एक महिनाभित्रमा पूरा हुन्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
स्थानीय तहलाई केन्द्र सरकारको निर्देशन, ‘दमकल २४ सै घण्टा तयारी अवस्थामा राख्नु’
काठमाडौं, चैत ७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम सुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम सुरु भइसकेकाले सबै स्थानीय तहलाई छ बुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिइएको जानकारी गराइन् । उनले हावाहुरीबाट आगलागी सम्भावना बढी हुने र जसले जीउधनको क्षति हुने भएको पूर्व सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिएको बताइन् । हावाहुरीबाट बच्नका लागि दमकल (बारुणयन्त्र) मर्मतसम्भार गर्नुपर्ने अवस्था भए तत्काल मर्मतसम्भार गरी चालू अवस्थामा राख्नुपर्ने आगलागी तथा डढेलोका घटना घटेको सूचना पाउनसाथ बारुणयन्त्र र जनशक्ति परिचालन गरी क्षति हुन नदिने तर्फ सजकता अपनाउने स्थानीय तहलाई निर्देशन दिइएको छ । यस्तै हावाहुरीको कारणले आगलागी तथा डढेलोको प्रकोप हुन सक्नेबारे स्थानीयलाई जनचेतना जगाउने तथा सजग गराउने, स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र र नागरिकलाई विपद् व्यवस्थापन सम्बन्धमा तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायसँग अग्नि नियन्त्रण सम्बन्धमा समन्वय र सहकार्य गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ । चैत र वैशाखमा देशभरि नै हावाहुरी लाग्ने गरेको छ । जसको कारण ठूलो भौतिक र जीउधनको क्षति हुने गर्दछ । रासस
जनताको जलविद्युत्मा सेयर खरीद सुरु, प्रधानमन्त्रीले दिए पहिलो आवेदन
काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को सेयर खरीद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । प्रधानमन्त्री पत्नीराधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन्। यस आयोजनामा सुरुमा सेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ। ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ को नारासहितयो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो।
अन्सारीसहित ५ जनाले पाए विभिन्न संवैधानिक आयोगमा नियुक्ति
काठमाडौं, चैत ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकाे हाे । राष्ट्रपतिको समुपस्थितिमा शीतलनिवासमा आजै आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको सपथ गराएका छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थिति थियो ।
प्रचण्ड र पूर्व अमेरिकी राजदूत स्कट डेलिसीबीच भेट, यस्तो भयो कुराकानी
काठमाडौं, चैत ७ । नेकपा माओवादीको शान्ति प्रक्रियामा अवतरणको बेला महत्वपूर्ण भूमिका खेलेका पूर्व अमेरिकी राजदूत स्कट र प्रचण्डबीच भेट भएको छ । उपचारका लागि अमेरिकामा रहेका प्रचण्डसँग भेटबारे सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै डेलिसीले शान्ति प्रक्रियालाई अघि बढाउन प्रचण्डसँग लामो सहकार्य गरेको सम्झना गरेका छन् । ‘म राजदूत छँदा उहाँ माओवादी नेता हुनुहुन्थ्यो । मैले शान्ति प्रक्रिया टुंग्याउन नजिक रहेर काम गरे ।’ डेलिसीले लेखेका छन, ‘हाम्रो प्रायजसो भेट हुन्थ्यो, छलफल हुन्थ्यो । हाम्रा छलफल गतिशील हुन्थे, कतिपय अवस्थामा मतभेद पनि । तर हामी शान्तिको बाटो पहिल्याउने विषयमा हामीले सँगै काम गर्यौ ।’ डेलिसीले झण्डै सात वर्षपछि प्रचण्डसँग भेट भएको बताउँदै डेलिसीले नेपालले अहिले शान्ति र मेलमिलापको यात्रालाई पूर्णता दिने अवस्थामा पुगेकोमा खुशी भएको बताएका छन् । ‘अब विगतमा झुण्डिने होईन’ डेलिसिले लेखेका छन, ‘बरु भविष्यका चुनौतीबारे छलफल गर्दै सुदृढ र समृद्ध नेपालको निर्माणबारे हामीले कुरा गर्यौं ।’ डेलिसिले देशको नेता भएको हैसियतले प्रचण्डले नेपालका सामु रहेका चुनौती हल गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् । स्कटले हाल सोरअवे फाउण्डेसनमार्फत नेपालको सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छः प्रधानमन्त्री
काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी संकलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैं बनाउन सकिने बताएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताए । उनले भने, ‘नेपाल ऊर्जाको धनी देश हो । पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्छ । यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएर शेयरको शुभारम्भ गरेका थियो । प्रधानमन्त्री ओली शेयरमा लगानी गर्नुभएको यो पहिलोपटक हो । जनताको जलविद्युत् कार्यक्रम गत फागुन २ गते उद्घाटन भएको थियो । रासस
बेरोजगारको विवरण संकलन शुरु, रोकिएला विदेश यात्रा?
काठमाडौं, चैत ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण संकलन गर्ने निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा. लोकनाथ भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण संकलन गर्न निर्देशन दिएका हुन् । मन्त्रालयले बेरोगजारको विवरण संकलन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक तोकेको छ । उनका अनुसार रोजगार संयोजकबाट स्थानीय तहका सबै वडामा बेरोजगारका विवरण संकलन गरिने छ । यस्तै रोजगार संयोजक नतोकिएका स्थानीय तहमा भने स्थानीय तहले आफैं एक जना कर्मचारी खटाई बेरोजगारको विवरण संकलन गर्न निर्देशन दिइएको उनले बताए । सरकारले ४८५ स्थानीय तहमा बेरोजगारको विवरण संकलन गर्न रोजगार संयोजक खटाइसकेको छ भने बाँकी स्थानीय तहमा रोजगार संयोजक तोक्ने कार्य अगाडि बढाएको छ । सरकारले चैत मसान्तभित्र आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहमा बेरोजगार भएकालाई नाम दर्ता गर्न आह्वान गरिसकेको छ । रोजगारी हकसम्बन्धी ऐन–२०७५, रोजगारी हकसम्बन्धी नियमावली–२०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका–२०७५ अनुसार बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतमत १०० दिनको रोजगारी सुनिश्चित गरेको छ । सय दिनको रोजगारी नसकेमा सरकारले रोजगारी प्राप्त गर्न नसकेको दिनको पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।
मन्त्री अधिकारी सवार ‘हेलिकोप्टर दुर्घटना’ को छानबिनमा फ्रान्सद्वारा चासो
काठमाडौं, चैत ७ । गत फागुन १५ मा ताप्लेजुङको तारेढुंगा सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारसहित सातजनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुने चासो व्यक्त गरेको छ। हेलिकोप्टर दुर्घटनबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस (युरोकोप्टर) रहेको देश फ्रान्सको दर्घटना जाँच एजेन्सी (ब्यूरो अफ इन्क्वाइरी एन्ड एनलाइसिसि फर सिभिल एभिएसन सेफ्टी)ले पनि दुर्घटनाबारे अनुसन्धानमा सहभागी हुने चासो व्यक्त गरेको छ। आयोगका संयोजक यज्ञप्रसाद गौतमले फ्रान्सेली जाँच एजेन्सीले सहभागिताका लाग खबर पठाएको र त्यसबारे के गर्ने भन्नेमा आयोग सकारात्मक रहे पनि निर्णय भने भइनसकेको जानकारी दिए। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
होलीमा जथाभावी सवारी चलाउने ९१८ चालकलाई कारबाही
काठमाडौं, चैत ६ । होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९ सय १८ चालकलाई प्रहरीले पक्राृ गरि कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए। महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरवाही तरिकाले चलाउने ३६, सरकारी २५ र अन्य कसुरमा ३० चालकलाई कारबाही गरेको छ। जसमध्ये २४३ सवारी साधनलाई कारवाही गरेर छाडेको र बाँकी ६७५ सवारी साधनलाई महाशाखामा ल्याएर राखिएको छ। महाशाखाले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो। बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखाले ७७ स्थानबाट ट्राफिक जाँच गरेको थियो भने १९ वटा मोबाइल चेकजाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेकोे महाशाखाले जनाएको छ। महाशाखाले होली पर्वमा कारबाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरेको छ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन
काठमाडौं, चैत ६ । शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई बुधबार अभिनन्दन गरेको छ । विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन गरेका हुन् । सो अवसरमा पूर्वप्रम चन्दले साहित्यले जनतामा जागरण ल्याउने उल्लेख गर्दै त्यसबाट समाजमा रहेको विकृति तथा विसङ्गती हटाउन सहयोगी हुने बताए । उनले निबन्धकार लामिछानेका निबन्धमा मानिसको पीडा झल्केको हुन्छ भन्दै समाजमा भएका खराब कुरा त्याग्ने र असल कुरा ग्रहण गर्नुपर्ने विचार व्यक्त गरे । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाका निबन्ध अनुशरण गर्ने लामिछानेले निबन्धमार्फत जीवन हेर्ने नयाँ दृष्टि र चिन्तन प्रकट भएको पाइएको बताए । वरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारले साहित्य तथा निबन्धबाट समाजमा सकारात्मक सञ्चार सम्प्रेषण गर्न साहित्यको महत्वपूर्ण भूमिका हुने बताए । युवा निबन्धकार मोमिला जोशीले आफूलाई शङ्कर लामिछानेको निबन्धबाट साहित्य क्षेत्रमा आउन प्रेरणा मिलेको उल्लेख गरे । कुलपति उप्रेतीले वरिष्ठ निबन्धकार राजकर्णिकारलाई शङ्कर लामिछाने निबन्ध पुरस्कार तथा जोशीलाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार वितरण गरे । पुरस्कारको रकम क्रमशः ५० हजार र २५ हजार रहेको छ । सोही अवसरमा उप्रेतीले लामिछानको निबन्ध सङ्ग्रह एब्स्ट्राक्ट चिन्तन प्याज, कथा सङ्ग्रह गौँथलीको गुँड,निबन्ध सङ्ग्रह गोधुली संसार तथा विम्ब प्रतिविम्बको बिमोचन गरेकाछन् । रासस
मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना लगत्तै उद्धारमा खट्ने प्रहरी पुरस्कृत
काठमाडौं, चैत ६ । गत फागुन १५ गते तत्कालिन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको उद्धारमा खटिने ३ प्रहरी पुरस्कृत भएका छन् । पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको उक्त हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । सोही घटनामा उद्धार कार्यमा जुटेका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्। उनीहरु तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका थिए । ३ प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। उद्धार तथा खोजतलास एवम् शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिकसमक्ष नेपाल प्रहरीको छवि उच्च बनाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्ने भिरमा दुर्घटनामा परेको थियो ।
आवश्यकता परे जनमत बुझ्न ‘जनमत संग्रह’मा जान सकिने- डा. शशांक कोइराला
काठमाडौं, चैत ६ । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले राज्य धर्म निरपेक्ष र सापेक्ष दुबै नहुनसक्ने भन्दै धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि दबाब सिर्जना गर्न आव्हान गरेका छन् । टोखास्थित आफ्नै निवासमा बुधबार आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानसकिने बताएका हुन् । उक्त अवसरमा बोल्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरे । महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफुले पहल गर्ने बताए। उनले पार्टीको विभागहरु तत्काल गठन गर्नपनि सभापति देउवालाई आग्रह गरे। पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउँदै कोइरालाले कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नभए कांग्रेसले ठुलो मुल्य चुकाउनुपर्ने धारणा राखे । महामन्त्री कोइरालाले धेरैजसो हिन्दु धर्मालम्बीहरुले आफूहरूलाई सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे। उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए।
थाइल्याण्ड उडे आइजिपी खनाल
काठमाडौं, चैत ६ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् । आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापालगायत आज दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागूऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । तीन वर्षदेखि वार्षिक रुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मा बिमस्टेकका सदस्य राष्ट्र हुन् ।
वाशिङटनस्थित नेपाली दूतावासद्वारा प्रचण्डलाई स्वागत
काठमाडौं, चैत ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई अमेरिकास्थित नेपाली दूतावासले स्वागत गरेको छ । उनलाई वाशिङटनस्थित नेपाली दूतावासमा राजदूत अर्जुन कार्की र कर्मचारीले स्वागत तथा ब्रिफिङ गरेका हुन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका हुन् । अमेरिकाको जोन हकिन्स् आउटप्यासेन्ट सेन्टरमा सीताको उपचार हुनेछ ।
होली पर्वले सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस्ः राष्ट्रपति
काठमाडौं, चैत ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । आज फागु पूर्णिमा (होली) का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेकी हुन् । सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताएकी छन् । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत उहाँले शुभकामना सन्देशमा व्यक्त गरेकी छन् । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख गरिएको छ । होली पर्व यही बुधबार र बिहीबार नेपालभर मनाइँदैछ ।
काठमाडौंका ५० स्थानमा सिसिक्यामेरा
काठमाडौं, चैत ६ । महानगरपालिकाले मुख्य ५० चोकमा सिसिक्यामेरा जडान गर्ने प्रक्रिया थालेको छ । महानगर र प्रहरीको संयुक्त टोलीले आवश्यक स्थानको पहिचान गरिरहेको छ । क्यामरा जडान गर्न महानगरले महानगरीय प्रहरी परिसरलाई १५ फागुनमा तीन करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ । ‘५० चोकमा सिसिक्यामेरा जडान गर्न महानगरले प्रहरीलाई प्रस्ताव राखेको छ । अध्ययनपछि केही थपघट हुन सक्छ,’ नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘शान्तिसुरक्षासँगै फोहोर व्यवस्थापनमा समेत सघाउ पुग्ने हिसाबले सिसिक्यामेरा जडान हुन्छन् ।’ क्यामेरा जडान र व्यवस्थापनको काम प्रहरीले गर्नेछ भने सडक बत्तीको जिम्मा महानगरले लिनेछ । संवेदनशील स्थानमा घुम्ने क्यामेरा सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा भने घुम्ने प्रकृतिका क्यामेरा जडान हुनेछन् । दुई वा दुईभन्दा बढी बाटो जोडिएका ठाउँमा समेत घुम्ने क्यामेरा जडान गर्ने तयारी भइरहेको छ । बजारमा उपलब्ध भएका उत्याधुनिक क्यामेरा जडान गरिने सापकोटाले जानकारी दिए । सिसिक्यामेरा जडानपछि शान्तिसुरक्षा, अमनयचन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनार तथा सांस्कृतिक तथा सम्पदा क्षेत्रको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ट्राफिक जाम तथा अनैतिक गतिविधि नियन्त्रण हुने विश्वास गरिएको छ । यसैबीच, काठमाडौं महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमरबाट सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेको ब्रुमर पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको महानगरले जनाएको छ । ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालिम दिने कामसँगै पार्टपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा साभार गरिएको छ ।

