हर्षोल्लासपूर्वक मनाइँदै होली, यस्तो छ फागु पूर्णिमाकाे इतिहास

काठमाडौं, चैत ६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको ललितपुर महानगरबाट वसन्तपुर कार्यालयमा आएकी मनिता महर्जनले सुनाउँछिन् ।

यस पर्वका अवसरमा बुधबार काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउँछन् ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदै छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

 

नागरिकतामा उपनाम पनि राख्न पाइने

काठमाडौं, चैत ५ । नागरिकतामा आफ्नो उपनामसमेत राख्न पाइने व्यवस्था गरिने भएको छ । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिले नागरिकता विधेयक माथिको छलफलका क्रममा उक्त व्यवस्था राखेको हो। नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्ना समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको हो। विधेयकमा भनिएको छ, ‘यस ऐन बमोजिम नागरिकता लिने कुनै पनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर वा कुनै उपनाम राखी तोकिए बमोजिम नागरिकताको प्रमाणपत्र लिन सकिनेछ ।’ नागरिकता विधेयक हाल राज्य व्यवस्था समितिमा छदफलका क्रममा छ । सोही विधेयकको छलफलमा यसअघि आफ्ना सन्तानलाई नागरिकता दिनु बुवाआमाको कर्तव्य रहने व्यवस्था राखिएको थियो। कतिपय अवस्थामा बाबुआमाले सन्तानलाई नागरिकता दिन आनाकानी गरेको पाइएकाले यस्तो व्यवस्था राखिएको हो। सन्तानलाई नागरिता दिलाउनु आमाबुवाको दायित्व भएकोले यदि त्यसका लागि आनाकानी गरेको फेला परे कानुनी कारबाहीको भागीदार हुनेमा समेत सांसदहरुबीच सहमति बनेको थियो।

विप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडौं, चैत ५ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणाअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ । पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिए । सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको निष्कर्ष छ । गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ । विगतमा चन्दा आतंकदेखि अपहरण, बम विस्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीले जनाएको छ । विप्लव समूहले यसअघि विभिन्न क्षेत्रमा बम विस्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएको थियो । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो ।

अब घरजग्गा लेनदेन गर्न अब लेखनदास नचाहिने

काठमाडौं, चैत ५ । अब घरजग्गा खरिद–बिक्री गर्दा लेखनदास नचाहिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो । मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले आइतबारबाट डिजिटल मालपोतको अभियान काठमाडौंको कलंकी मालपोतबाट सुरु गरेको छ । कलंकी मापलपोतलाई नमुना डिजिटल मालपोत कार्यालयका रूपमा स्थापित गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालयको भनाइ छ । सेवाग्राहीले मालपोत कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागको वेबसाइटबाट फाराम डाउनलोड गर्न सक्नेछन् । सरल भाषामा रहेको उक्त फाराम सेवाग्राही आफैँले भरेर जग्गा खरिद–बिक्री गर्न सक्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताए । मन्त्रालयले पब्लिक एक्सेस मोडुल नामक प्रणालीको विकास गरिरहेको छ । जसको माध्यमबाट घरमा नै बसेर देशभरका आफ्ना घरजग्गा विवरण हेर्न सकिनेछ । यसका लागि सेवाग्राहीले मालपोत कार्यलयबाट युजरनेम र पासवर्ड लिनुपर्नेछ । एकद्वार प्रणालीको विकास गरिने मालपोत कार्यालयमा एकद्वार प्रणालीको विकास गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताइन् । ‘एउटा ढोकामा कागजपत्र बुझाएपछि आधा घन्टामा काम सकिएर अर्को ढोकाबाट निस्कने वातावरण बनाउँदै छौँ,’ उनले भनिन् ‘एउटै कामका लागि दैनिक मालपोत धाएर घन्टाैं कोठा–कोठा चाहार्नुपर्ने कठिनाइबाट मुक्त गर्न यस्तो खालको प्रणालीको विकास गर्न लागिएको हो ।’ एक वर्षभित्र मुलुकभरका मालपोत डिजिटल एक वर्षभित्र देशभरका मालपोत र नापी कार्यलयहरू डिजिटल बनाउने तयारी भएको मन्त्री अर्यालले बताइन् । ‘असारसम्ममा काठमाडौं उपत्यकाका मालपोत कार्यालयलाई डिजिटल बनाइनेछ,’ उनले भनिन् । जनताको सम्पूर्ण सम्पत्ति रहेको मालपोत कार्यालयको संरक्षण गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ । ‘हाल कागजपत्रको फोटो खिच्ने, स्क्यानिङ गर्ने र डिजिटल बनाउने काम भइरहेको छ,’ उनले भनिन् । ७० प्रतिशत भ्रष्टाचार रोकिने मालपोत कार्यलयबाट डिजिटल सेवा सुरु भएसँगै ७० प्रतिशत भ्रष्टाचार रोकिने सरकारको विश्वास छ । अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीले आफ्नै घरबाट मालपोत कार्यालयको काम गर्ने भएपछि भ्रष्टाचार स्वतः कम हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अर्यालले दाबी गरिन् । ‘गत आवमा अनलाइन सेवा सुरु गरिएका १९ मालपोत कार्यालयबाट ३ अर्ब ६४ करोड राजस्व संकलन भएको थियो । चालू आवमा हालसम्म ४ अर्ब ४३ करोड राजस्व संकलन भइसकेको छ । यही तथ्यांकलाई आधार मान्दा पनि अनलाइन सेवाले भ्रष्टाचार रोकिने प्रस्ट देखिने उनले बताइन् ।

बुद्धले थप्यो एक अर्बको एटीआर, जहाजकाे संख्या १२

काठमाडौं, चैत ५ । निजी क्षेत्रको सर्वाधिक यात्रु उडान गर्ने बुद्ध एयरले १ अर्ब हाराहारीमा फ्रेन्च-इटालियन एटीआर ७२-५०० विमान थपेको छ । फ्रान्सको टुलुज शहरबाट बिहीबार उडेको विमान सोमबार बेलुकी काठमाडौंमा अवतरण भएको थियो । उक्त विमान फ्रान्सबाट माल्टा, कायरो, दुबई, अमाहवाद हुँदै काठमाडौं आइपुगेको हो । बुद्ध एयरका अनुसार, अल्फा याँकी माइक नेपाली कल साइन भएको योसहित बुद्धसँग १२ वटा विमान भएका छन्। यीमध्ये ७२ यात्रु क्षमतायुक्त एटीआर-७२ को संख्या ७ पुगेको छ। बुद्धसँग एटीआर४२-३२० तीनवटा र दुईटा १९ सिट क्षमताका अमेरिकन विमान बिचक्राफ्ट १९००-डी छन्। ‘यसको मुल्य १ अर्ब हाराहारी पर्‍यो,’ बुद्धका एक अधिकारीले भने, ‘ हिमालयन र एभरेष्ट बैंकको संयुक्त ऋण लगानीमा खरिद गरेका हौं।’ विमान लिन बुद्धका बरिष्ठ क्याप्टेन प्रमोद थापा र अनन्त डंगोलसहित नौं जना प्राविधिक कर्मचारी फ्रान्स गएका थिए। नामसारी लगायतका सरकारी प्रक्रिया मिलाउन उनीहरुसँगैं नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा विभागका इन्जिनियर रितेशराज पन्तको टोली फागुन ४ गते काठमाडौंबाट त्यता गएको थियो। बुद्धले एटीआरसँग किनेको यो एटीआर यसअघि फ्रान्सेली प्रवासी क्षेत्रमा पर्ने ताहीतीस्थित एयर ताहीतीले उडाउँदै आएको थियो। २००७ मे देखि यो विमान उडाउँदै आएको ताहीतीले एटीआरबाट २ अर्ब ७५ करोड रुपैया हाराहारी पर्ने नयाँ संस्करणको एटीआर ६००-७२ खरिद गरेपछि एटीआरले यो विमानको एक महिनाअघि स्वामित्व लिएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् । अधिकतम उडान भार २२ हजार ५ सय केजी रहेको यो संस्करणको विमानमा क्यानेडियन टर्बोप्रोप पिडब्लू१२७ इन्जिन हुन्छ। क्षेत्रीय शहर र क्रस-बोर्डरकालागि यो विमान पछिल्लोपटक विश्वभर उड्डयन व्यवसायीहरुले रुचाएको उत्पादनमध्ये पर्छ। नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडानमा प्रयोग गर्ने बुद्ध हो। यसपछि यती एयरलाइन्ससँग तीनवटा छन्।बुद्धले जहाज बढाएसँगै भद्रपुर र नेपालगञ्जमा दैनिक तीनवटा उडान भर्ने जनाएकाेछ।

सुनकाण्डको थुनछेक आदेशमाथि अनुसन्धान गर्न समिति गठन

काठमाडौं चैत ५ । न्यायपरिषद्ले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा भएको थुनछेक आदेशमाथि विस्तृत अनुसन्धान गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषद्को सोमबारको बैठकले दुई समितिले बुझाएको प्रतिवेदन बुझ्दै विस्तृत अनुसन्धानका लागि समिति गठन गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको जिम्मेवारी पाएका सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो प्रतिवेदन बुझाएका छन्। आदेशका क्रममा प्रचलित कानुन र न्यायका मान्य सिद्धान्तको पालनामा गम्भीर प्रश्न उठेपछि जाँचबुझ समिति गठन भएको हो। खतिवडा संयोजकत्वको समितिले ४५ दिनको समयसीमा पाएको थियो। परिषद् स्रोतका अनुसार, समितिमा केदारप्रसाद चालिसे संयोजक छन् भने मीरा खड्का र विश्वम्भर श्रेष्ठ सदस्य छन्। उनीहरुले पनि डेढ महिनाको समयसीमा पाएका छन्। सुन प्रकरणमा भएको शंकास्पदआदेशका कारण उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल सहित न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटा न्याय परिषद् तानिएका छन्। उनीहरुले सुन प्रकरणमा प्रभावशाली ठानिएका व्यक्तिहरुलाई सामान्य तारेख वा नाम मात्रैको धरौटीमा छाडेका थिए। अब कसरी कारवाही हुन्छ ? यसअघि न्यायपरिषद् ऐनको दफा १८ अनुसार न्यायाधीशहरुमाथि प्रारम्भिक छानबिन भएको थियो। उक्त दफामा न्याय परिषद्मा प्राप्त उजुरी वा अनुगमन वा निरीक्षण प्रतिवेदनको आधारमा वा न्याय परिषद् आफैले उच्च अदालत वा जिल्ला अदालतको कुनै न्यायाधीशको विरुद्धमा छानबिन गर्न आवश्यक देखेमा न्याय परिषद्ले कुनै सदस्य वा सर्वोच्च अदालतको कुनै न्यायाधीशलाई त्यसको प्रारम्भिक छानबिन गर्नको लागि तोक्न सक्नेछु भन्ने व्यवस्था छ। छानबिनपछि समितिले प्रतिवेदन बुझाउने व्यवस्था छ। प्रतिवेदन प्राप्त भएपछि न्यायपरिषद्ले दफा १९ अनुसार, जाँचबुझ समिति गठन गरेको हो। समितिले प्रतिवेदन दिएपछि न्यायपरिषद्ले सम्बन्धित जिल्ला वा उच्च अदालतका न्यायाधीशलाई प्रशासनिक तहको कारवाहीदेखि बर्खास्तको सिफारिस सम्म गर्न सक्नेछ। भ्रष्टाचारको प्रमाण भेटेमा भ्रष्टाचारको आरोपमा मुद्दा चलाउने अधिकार समेत परिषद्लाई छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

रोबोट प्रविधिको पढाइप्रति विद्यार्थी उत्साहित

काठमाडौं, चैत ५ । यशोधरा बौद्ध माध्यमिक विद्यालयले सुरु गरेको रोबोट प्रविधिको पढाइमा विद्यार्थी उत्साहित भएका छन् । गत शुक्रबारबाट देशमै पहिलोपटक उक्त विद्यालयले रोबोटबाट पढाइ सुरु गरेको हो । प्रधानाध्यापक रमिला शाक्यका अनुसार निकट भविष्यमा विद्यार्थीले आफैँ रोबोट बनाएर सञ्चालन गर्न सक्नेछन् । रोबोट प्रविधिलाई नियमित शैक्षिक क्यालेन्डरमा लगेपछि विद्यार्थीको तार्किक क्षमता र सिर्जनशीलता बढ्ने विश्वास उनको छ । उनले भनिन्, ‘विद्यार्थीले पार्टपुर्जा जोडेर आफ्नो रुचिअनुसार रोबोटलाई आकार दिन र सञ्चालन गर्न सक्छन् । त्यसैले, विद्यार्थीमा उत्साह धेरै देखिन्छ ।’ रोबोटले यसरी काम गर्छ ? इन्जिनियर प्रितेशप्रताप रानाका अनुसार रोबोट प्रविधिमा आइआर रिफ्लेक्सन, साउन्ड सेन्सर, लाइट सेन्सर, टच सेन्सर, स्टुडियोलगायतका सामग्री जडान भएको हुन्छ । जसकारण रोबोटले दूरी मापन गर्ने, रङ छुट्याउने, उज्यालो र ध्वनि मापन गर्ने गर्छ । सर्भो मोटरले रोबोटको चाललाई नियन्त्रण गर्छ । डिसी मोटरले रोबोटलाई चलायमान गराउँछ । साउन्ड सेन्सरले ध्वनि मापन र लाइट सेन्सरले लाइट मापन गर्छ । निर्माण खर्च १७ हजार ललितपुर महानगरपालिकाका अनुसार यशोधरा बौद्ध माध्यमिक विद्यार्थीमा प्रयोग गरिएको रोबोट प्रविधिको मूल्य १७ हजार हो । यस प्रविधिलाई परिस्कृत गर्दा विद्यालयको पाठ्यक्रममा प्रयोगको सम्भावना रहेको इन्जिनियर रानाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएके छ ।

पहिला मुड्की अनि श्रम स्वीकृति !

काठमाडौं, चैत ५ । संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्‍यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो । प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेहरू खुसी भए । यहाँबाट पहिलो श्रम स्वीकृति धनुषा धनौजी-५ का मोहम्मद जिलानी मोमिमनलाई १० मिनेटमै दिइएको थियो । उनलाई श्रम विभागका महानिर्देशक उदयकुमार गुप्ता र जनकपुर कार्यालयका निमित्त प्रमुख मनोजकुमार यादवले फूलमाला लगाई मिठाई खुवाएका थिए । तर, आइतबार बिहान ९ः२५ बजे कार्यालयमा सेवाग्राहीको सास्ती हेरिनसक्नु थियो । एक सातासम्म पनि काम नबनेपछि उनीहरू हैरान थिए । रोजगारी टुट्ला कि भन्ने चिन्ता उनीहरूमा देखिन्थ्यो । उनीहरू राति २ बजेदेखि लाम लाग्छन् । रौतहट गौरका प्रवीण यादव राति ३ बजेदेखि लाइन लागे । उनी शनिबार साँझ जनकपुर आएका थिए । उनलाई तुरुन्त साउदी उड्नु छ तर काम हुने छाँटकाँट थिएन । महोत्तरी मगरथानाका २४ वर्षीय नजामुद्दिन मलेसिया जानु छ । उनी बिहान ५ बजेदेखि लाइनमा थिए । चार दिनसम्म उनको काम बनेको छैन । टोकन लिएपछि उनलाई कर्मचारीले ‘आजभोलि’ भन्दै टार्दै आएका छन् । धनुषाको वीरेन्द्रबजार राधापुरका ४० वर्षीय शिव दास साउदी जाने तरखरमा छन्। उनले चार दिनदेखि श्रम कार्यालय धाइरहेका छन् । पहिला फारम भरे, अर्को दिन टोकन लिए। त्यसपछि कर्मचारीले ‘आज काम हुँदैन, भोलि आउनू’ भनेर फर्काउने गरेको उनले सुनाए। ‘नोटिस टाँसेर हामीलाई फर्काइदिन्छ’, उनले भने, ‘हामीलाई यहाँ निकै समस्या छ।’ राधापुरकै सतन दासका अनुसार काठमाडौंमा एक दिनमै श्रम स्वीकृति बन्छ। ‘त्यहाँबाट श्रम कार्यालय मधेसमा आउँदा सहजै काम हुन्छ भन्ने सुनेको थिएँ’, उनले भने, ‘तर, यहाँ त चार दिनदेखि आउँछु–जान्छु कामै हुँदैन।’ जनकपुरका २६ वर्षीय बिक्कीकुमार दास मलेसिया फर्किनु छ। ‘सानोतिनो कुरामा पनि झमेला छ’, उनले भने, ‘कुनै मिस्टेक छ भने सच्याएर ल्याऊ भन्छन्। सच्याएर ल्याउँदा ढिलो भयो भन्छन्।’ यसले गर्दा कतिपयको हवाई टिकट गुमेको उनको भनाइ छ। ‘टोकन दिन्छन् तर कर्मचारीले वास्तै गर्दैनन्’, उनले भने। बिहान १० बजेसम्ममा भीड थेगिनसक्नु थियो। कोही भोलि बिहानै उड्नु छ, कोही दुई दिनपछि। तर, श्रम स्वीकृतिका लागि चार दिनपछि आउन कार्यालयले टोकन दिएको छ। समयमा कर्मचारी नआएको देख्दा उनीहरू आक्रोशित देखिन्थे। घाम एकाबिहानै चर्को लागेको थियो। आधा रातदेखि लामबद्ध सेवाग्राही आकुलव्याकुल देखिन्थे। न खानको ठेगान न त पानीको प्रबन्ध। भर्खरै सारिएको कार्यालय अस्तव्यस्त देखियो। श्रम कार्यालय एक साताअघि क्याम्पस चोकबाट दुई किलोमिटरपूर्व कपिलेश्वरचौरीस्थित गणेश पार्टी प्यालेसको भवनमा सारिएको छ। आइतबार मूल गेट बन्द थियो। कार्यालयभित्रका चापाकल, शौचालयसम्म पुग्ने बाटो थिएन। सेवाग्राहीहरू शौचका लागि कार्यालयनजिकै खुला ठाउँमा गइरहेका थिए। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण दस्तुर २० अर्ब तोक्यो 

काठमाडौं, चैत ५ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ। प्राधिकरणको आइतबारको बोर्ड बैठकले नेपाल टेलिकमले दोस्रो र तेस्रोपटकको नवीकरण दस्तुर २० अर्बका दरले बुझाउनुपर्ने निर्णय गरेको हो। नेपाल टेलिकमको नवीकरण दस्तुरसहितको निवेदनमा छलफल गरी यस्तो निर्णय गरिएको प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोतम खनालले बताए। ‘नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ’, खनालले भने, ‘नेपाल टेलिकमले माघ २५ गतेभित्रै तेस्रो किस्ता बुझाउँदै मोबाइल सेवा नवीकरणका लागि निवेदन दिएको थियो। त्यसैका अधारमा छलफल गर्दै बोर्डले २० अर्ब रुपैयाँ नै उठाउने निर्णय लिएको हो।’ मोबाइल सेवाको दोस्रोपटक देखिको अनुमतिपत्र नवीकरण दस्तुरका विषयमा दूरसञ्चार ऐन, २०५३ तथा दूरसञ्चार नियमावली, २०५४ मा स्पष्ट व्यवस्था नहुँदा नवीकरण दस्तुर कति लिन भन्ने विषयमा अन्योल थियो। दोस्रोपटक देखिकै अनुमतिपत्र नवीकरण दस्तुर अन्योलमा रहेको अवस्थामा टेलिकमको तेस्रोपटकको नवीकरण गर्ने म्याद पनि सकिने अवस्था छ। टेलिकमको तेस्रोपटकको नवीकरण गर्ने म्याद वैशाखमा सकिँदै छ । दूरसञ्चार नियमावली अनुसार नवीकरणका लागि म्याद सकिनु तीन महिनाअघि नै नवीकरण दस्तुरसहित प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था छ । सोही नियमका आधारमा टेलिकमले एक महिना अघिमात्रै १८ करोड ९० लाख बुझाएर नवीकरणका लागि निवेदन दिएको थियो। उनले भने, महालेखा परीक्षकले पनि दोस्रो नवीकरण दस्तुर नेपाल टेलिकमले २० अर्ब नबुझाए त्यसलाई बेरुजुको रूपमा राख्ने प्रतिवेदन तयार पारेको छ। दोस्रो किस्ताबापत नै २० अर्ब रुपैयाँ असुल गर्दै टेलिकमबाट तिरिसकेको रकमलाई समायोजन गर्नुपर्ने उल्लेख छ। त्यसैले प्राधिकरणले हाललाई यो निर्णय गरेको प्राधिकरणका एक सदस्यले बताएका छन्। ‘यो हालका लागि गरिएको निर्णय हो’, उक्त बोर्ड सदस्यले भने, ‘पछि मन्त्रालयले आवश्यक परे अर्को निर्णय गर्न सक्नेछ।’ हाललाई यो दस्तुर तोकिए पनि दूरसञ्चार नियमावली परिमार्जनको तयारीमा छ। टेलिकमले दोस्रो र तेस्रोपटकको नवीकरण दस्तुर २० अर्बका दरले बुझाउनुपर्ने भएको छ। २०५६ वैशाखबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको टेलिकमले पहिलोपटक २०६६ मा नवीकरण गरेको थियो। सुरुमा टेलिकमलाई मोबाइल सेवाको नवीकरण शुल्क कति लिने, अनुमति दिँदा कति दस्तुर लिने भन्ने निर्णय भएको थिएन। पछि सरकारले मोबाइल सेवाको अनुमतिका लागि लिलाम बढाबढ गर्दा तत्कालीन स्पाइस नेपाल ९हाल एनसेल० प्रालिले सबैभन्दा बढी रकम कबोलेको थियो । उसले अनुमतिपत्रबापत २१ करोड र १० वर्षमा पहिलोपटक नवीकरण गर्दा २० अर्ब बुझाउने भयो। बोलकबोलमा आएको सबैभन्दा बढी रकमलाई नै आधार मानेर टेलिकमलाई पनि नवीकरण शुल्क तोकिएको थियो। मोबाइल सेवाको अनुमति सुरुमा १० वर्ष हुने र त्यसलाई हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । टेलिकमको दोस्रोपटक नवीकरण २०७१ वैशाख भएको थियो। त्यसबेला पनि टेलिकमले १८ करोड ९० लाख बुझाएर अनुमति नवीकरण गरेको थियो। कानुनमा नवीकरणको शुल्क निर्धारण नभएका कारण टेलिकमले दोस्रोपटकको नवीकरण दस्तुर पनि टेलिकमले पूरा तिरेको छैन। त्यसैले टेलिकमले पहिलो शुल्कलाई नै आधार मानेर नवीकरण शुल्क तिर्दै आएको हो। प्राधिकरण बोर्डको आइतबारको निर्णयसँगै टेलिकमले दोस्रोपटकको नवीकरणको बाँकी दस्तुर पनि तिर्नुपर्ने भएको छ। उनले भने, ‘अन्य कम्पनीले पनि २० अर्ब तिर्नुपर्ने भएको छ। एनसेलको पनि आउँदो भदौमा नवीकरणको सयम सकिँदै छ। प्राधिकरणले गरेको निर्णय जानकारी नभएको टेलिकमका प्रमुख कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले बताएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

गाउँ-गाउँमा ‘जनसत्ता’ तयार पार्दै विप्लव समूह

दाङ, चैत ५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको जनाएको छ । जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उनको भनाई छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

नख्खु विस्फोटमा प्रयोग पदार्थ अति खतरनाक, कहाँबाट ल्यायो विप्लव समूहले?

काठमाडौं, चैत ५ । ललितपुरको नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ । गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एक जनाको ज्यान गएको थियो । नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो । यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन। सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटरलगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए। सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो। विप्लव समूहले कमलपोखरीमा राखेको बम ७ किलोग्रामको थियो। प्रेसर कुकरभित्र नियो जेल नाइन्टी, डेटोनेटर र पाँचवटा ब्याट्री राखिएको थियो। रिमोट कन्ट्रोल प्रणालीमा राखिएको उक्त बम विस्फोट हुन पाएन । विस्फोट भएको भए नख्खुको भन्दा बढी जनधनको क्षति हुने सुरक्षा अधिकारीले बताए । सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए । ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ । त्यसैले यो सर्वसाधारणको पहुँचबाहिर हुन्छ,’ ढकालले भने, ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज गर्यो। नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो।’ चन्द समूहले कसरी र कहाँबाट यस्तो घातक विस्फोटक पदार्थ नेपाल भित्र्यायो अनुसन्धानको विषय बनेको छ । भारतमा सुरुङ, सडक निर्माणलगायतका परियोजनामा नियो जेल विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ । नेपाली सेनाले विभिन्न परियोजना निर्माणका लागि हेटौंडास्थित सुनाचुरीमा विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । निजी कम्पनीले नेपाली सेनाको सुपरीवेक्षणमा मात्र विदेशबाट विस्फोटक पदार्थ ल्याउँछन् । स्रोतका अनुसार नेपालमा नियो जेल नाइन्टी आयात हुँदैन । भारतको हैदराबादमा सन् २००७ को अगस्टमा भएको आक्रमणमा पनि आतंककारीहरूले नियो जेल नाइन्टी प्रयोग गरेका थिए । विप्लव समूहले भारतका विभिन्न स्थानबाट नियो जेल नाइन्टी विस्फोटक पदार्थ खरिद गरी बम बनाउन प्रयोग गरेको सुरक्षा निकायको दाबी छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

उद्योग खोल्नेलाई २० वर्ष कर छुट

काठमाडौं, चैत ५ । प्रदेश २ मा उद्योग खोले २० वर्षसम्म सबै कर छुट दिने यहाँको सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उद्योगमैत्री वातावरण बनाउन कर छुटसहित ५ योजना ल्याएको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बताए। उद्योग खोल्न सहज रुपमा जग्गा उपलव्ध गराउने, प्रदेशभित्र उद्योग सुरक्षा इकाइ गठन गरी उद्योग सुरक्षा दिने, उद्योग दर्ता ३ घण्टामा पूरा गर्ने र उद्योग क्षेत्रभित्र नियमित विद्युत् प्रवाह गर्ने निर्णय समेत सरकारले गरेको छ। मुलुकभर रहेका उद्योगहरुको संख्याका आधारमा प्रदेश २ तेश्रो स्थानमा छ। राष्ट्र बैँकले गरेको एक अध्ययनअनुसार मुलुकभर चार हजार ७६ उद्योग छन्। त्यसमध्ये ८ सय १२ वटा प्रदेश २ मा छन्। सबैभन्दा वढी प्रदेश ३ मा ९ सय ६५ छन्। दोश्रोमा प्रदेश ५ मा ८ सय २७ छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपालको जनसंख्या ३ करोड ३ लाख !

काठमाडौं, चैत ५ । केन्द्रीय तथ्यांक विभागले सोमबारको अनुमानित जनसंख्या दुई करोड ९५ लाख ६ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसंख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसंख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ । विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ । विभागका निर्देशक शंकरलाल श्रेष्ठले जन्मदर, मृत्युदर र बसाइ सराइका आधारमा जनसङ्ख्या प्रक्षेपण गर्ने गरिएको बताउँदै भने, “प्रक्षेपण गरिएको जनसङ्ख्या बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।” विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसङ्ख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

सांसद नविना लामा अस्पताल भर्ना

काठमाडौं, चैत ४ । संघीय संसद प्रतिनिधिसभा सदस्य एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामा अस्पताल भर्ना भएकी छन् । छातीमा दुखाई भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् । सांसद लामाको उपचारमा संलग्‍न चिकित्सक डा. जेपी जैसवालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमीत स्वास्थ्य जाँचका निम्ती सोमबार अस्पताल गएकी लामालाई डाक्टरले एकदिन अस्पतालमै आराम गर्न सुझाव दिएको अनेरास्ववियुकी सचिव आरती लामाले जानकारी दिइन् । सांसद लामालाई अस्पतालले मंगलबार डिस्चार्ज गर्ने जानकारी दिइएको छ।

चोरी गरी लैजाँदै गरेको अवस्थामा २ मोटरसाइकल बरामद

काठमाडौं, चैत ४ । चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई मोटरसाइकल बरामद गरेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित हनुमानचोक नजिकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले आज दुई मोटरसाइकल चोरी हुनबाट जोगाएको हो । महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको प्रदेश नं ३–०२­००१ प ३७०८ नं र बा ९३ प २३७४ नंको मोटरसाइकल छाडी चोरीमा संलग्न व्यक्तिहरु फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘शुक्लाफाँटा पर्यटन महोत्सव’ तयारीका लागि समिति गठन

कञ्चनपुर, चैत ४ । जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । सोमबार नगरपालिका कार्यालयमा बसेको सरोकारवालाको बैठकबाट महोत्सव तयारीका लागि विभिन्न उप समिति गठन गरिएका छन् । बैठकबाट स्रोत व्यवस्थापन समिति, आवाश तथा अतिथि सत्कार समिति, प्रचारप्रसार समिति, मञ्च÷समारोह÷कार्यक्रम व्यवस्थापन समिति र समन्वय तथा सोसिएल मार्केटिङ्ग समिति गठन गरिएको छ । स्रोत व्यवस्तापन समितिको संयोजकमा कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, आवाश तथा अतिथि सत्कार समिति संयोजकमा प्रमानन्द भण्डारी, प्रचारप्रसार समितिमा लक्षण तिवारी, मञ्च समारोह व्यवस्थापन समिति संयोजकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन शैलेन्द्र चौधरी र समन्वय तथा सोसिएल मार्केटिङ्ग समिति संयोजकमा माया प्रकाश भट्ट छन् । बैठकमा मूल समितिका संयोजक भीमदत्तका नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक र बाह्य पर्यटनका लागि महत्वपूर्ण क्षेत्र भएकाले प्रचारप्रसार गरिनु पर्ने आवश्यकता औल्याए । ‘शुक्लाफाँटाको जुन जैविक विविधता छ, त्यसको ठूलो महत्व छ, शुक्लाफाँटा निकुञ्ज खुला विश्वविद्यालय जस्तो छ’ उनले भने,‘यसको प्रचारप्रसार गरी यसलाई चिनाउन आवश्यक छ, त्यसका लागि यो शुक्लाफाँटा पर्यटन महोत्सव महत्वपूर्ण हुने आशा लिएको छ ।’ भीमदत्त नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा कार्यपालिकाको बैठक आयोजना गरेको थियो । नगर प्रमुख विष्टले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन मार्ग निर्माण, झोलुङ्ग पुल नजिक उद्यान र पार्क निर्माण, राना थारु होम प्रवद्र्धनका लागि सहयोग गरिएको जानकारी दिए । भीमदत्त नगरपालिकामा झोलुङ्गे पुल आउने पर्यटकहरुलाई बाल उद्यान र पिकनिक स्पट भएर हात्तीसार हुँदै राना थारु होमस्ट पुगाउने लक्ष्य सहित पुल नजिक बाल उद्यान र पार्क बनाउन बजेट विनियोजन गरिएको छ । भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरिएको नगर प्रमुख विष्टले बताए । ‘भ्रमण वर्ष सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरेका छौ, त्यस अनुसार कार्य गरिरहेका छौ’ उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिका सहित सरोकारवालाले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेका हुन् । समिति गठनका लागि बसेको बैठकमा सुदूरपश्चिम प्रदेशका साँसद लाल बहादुर खड्का, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा सहित स्थानीय सरकारका प्रतिनिधि सहभागी भएका छन् । ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगाको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जमा २ हजार ३ सय ४० बाह्रसिंगा छन् ।