विप्लव नेकपाका सुदर्शनसहित ८ जना पक्राउ

काठमाडौं, चैत ९ । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित ८ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो ।

सुदर्शनसँगैसँगै धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का, सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ पक्राउ परेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।

पानीको मुहान जोगाउन सबै लागौंः खानेपानी मन्त्री

काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् । सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।” खानेपानीमा आम जनताको पहुँच पुर्याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन् । खानेपानीमा सहज पहुँच पुर्याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उनले जानकारी दिइन् । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन् । कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताए । ठूल ठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्व मन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिए ।

‘शुक्लाफाँटा पर्यटन महोत्सव’ सफल बनाउने सम्पूर्ण स्थानीय तहद्वारा प्रतिवद्धता

कञ्चनपुर, चैत ८ । शुक्लाफाँटा घुम्न जाऔं भन्ने नारा सहित आयोजना हुन लागेका शुक्लाफाँटा पर्यटन महोत्सव सफल बनाउन सबै स्थानीय तह एकजुट भएर लाग्ने भएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा शनिबार कृष्णपुर नगरपालिकामा गरिएको सबै स्थानीय तहका प्रमुख र उप प्रमुखको बैठकमा महोत्सव सफल बनाउन सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भीमदत्त नगरपालिकाको संयोजनकमा सबै स्थानीय तह र सरोकारावाला निकायले संयुक्त रुपमा चैत १५ देखि २१ गतेसम्म महोत्सव गर्न लागेका छन् । बैठकमा शुक्लाफाँटा पर्यटन महोत्सव, स्थानीय तहको बजेट विनियोजन, आर्थिक स्रोत व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्दाफाँटामा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भएकाले सबै स्थानीय तहले सहयोग गर्ने बताए । ‘यो निर्कै महत्वपूर्ण महोत्सव हो, यसलाई सफल बनाउन सबैले लाग्ने निर्णय गरिएको छ, यसलाई सफल बनाउन सबै तहको प्रतिवद्धता आएको छ’ उनले भने । जिल्ला समन्वय समितिको अगसवाईमा विकास निर्माण सहित समसामयिक विषयमा स्थानीय तहका प्रमुख र उप प्र मुखबीच मासिक रुपमा बैठक आयोजना हुँदै आएको छ । भीमदत्त नगरपालिकाबाट सुरु गरिएको बैठक यस अघि शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा बसेको थियो । बैठककमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटालाई प्रमुअ पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित सबै तहको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको बताए । ‘शुक्लाफाँटालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित भीमदत्तको संयोजनमा सबै तहको आयोजनामा यो महोत्सव हुन लागेको छ’ उनले भने,‘यसबाट शुक्लाफाँटाको प्रचारप्रसार भएर आन्तरिक र बाह्य पर्यटक आउने विश्वास लिएका छौ ।’ शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनका लागि बेल्डाँडी र बागफाँटा प्रवेशद्वार खोल्ने कार्य अघि बढेको उल्लेख गर्दै उनले भीमदत्त नगरपालिकाको वडा नं. १४ मा सञ्चालन गरिएको होमस्टे प्रवद्र्धन र शुक्लाफाँटा नगरपालिकामा होमस्टे सञ्चालन गर्न लागिएको बताए । शुक्लाफाँटा प्रवेशका लागि सवारी साधनको शुल्क महँगो भएकाले त्यसलाई घटाउन निकुञ्ज सहितका निकायसित पहल गरिएको नगर प्रमुख विष्टले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजगर गरी शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएकाले शुक्लाफाँटा जाऔ भन्ने नारा सहित आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्जभित्र लगिने बताए । ‘यो महोत्सवमा कुनै स्टल हुने छैन, उद्घाटन कार्यक्रममा सबै जना हुनेछौ, उदघाटनपछि दैनिक सात दिन निकुञ्जभित्र घुम्न जान्छौ’ उनले भने,‘यसरी तीन हजारदेखि तीन हजार पाँच सयसम्म पर्यटक निकुञ्ज घुम्ने छन्, यो ऐतिहासिक नै हुनेछ ।’ शुक्लाफाँटा निकुञ्ज घुम्नका लागि नगरपालिकाले कर्मचारीलाई एक दिनको विदा दिने निर्णय गर्ने विषयमा छलफल गरिएको नगर प्रमुख विष्टले बताए । ‘कर्मचारीलाई घुम्नका लागि एक दिनको विदा दिने निर्णय कार्यपालिकाबाट गराउने गरी छलफल गरिरहेका छौ’ उनले भने । बैठकमा शुक्लाफाँटाका नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले शुक्लाफाँटा महोत्सव पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसका लागि सक्दो सहयोग गरिने बताए । ‘यो महोत्सव राम्रो छ, यसमा पर्यटन बोर्डको पनि सहयोग आवश्यक छ, प्रदेश सरकारसित पनि समन्वय गरी जानु पर्ने हुन्छ’ उनले भने । शुक्लाफाँटा नगरपालिकाले पनि जनप्रतिनिधि, कर्मचारी सहितलाई एक दिन घुम्नका लागि उत्पेरित गर्ने नगर प्रमुख ऐरले बताए । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले महोत्सवमा जनप्रतिनिधि, कर्मचारी सबैलाई सहभागी हुने गरी तयारी गरिने बताए । बैठकमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, बेदकोटका नगर उप प्रमुख सुशिला सिह, शुक्लाफाँटाका नगर उप प्रमुख तुलसी हमाल, कृष्णपुरका उप नगर प्रमुख रमिता राना, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला कार्की, लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक, उपाध्यक्ष सत्यादेबी महरा, बेलौरी नगरपालिकाका नगर उप प्रमुख चित्रा चौधरी र पुनर्वास नगरपालिकाका नगर उप प्रमुख शारदा विष्ट सहभागी भएका छन् । अर्को बैठकमा बेल्डाँडी गाउँपालिकामा बस्ने निर्णय गरिएको छ ।

निर्मला हत्या प्रकरणः थुनछेक बहस सकियो, आइतबार फैसला

कञ्चनपुर, चैत ८ । बलात्कारपछि हत्या गरिएकी जिल्लाको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा शुक्रबार थुनछेक बहस सकिएको छ। मंगलबार अदालतमा निवेदनसहित आफैँ उपस्थित भएका विष्टसँग यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएपछि बुधबारदेखि थुनछेक बहस शुरु गरिएको थियो। बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे बुधबार थुनछेक बहस नसकिएपछि शुक्रबार पुनः वादी र प्रतिवादी वकिलले कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आर्चायको एकल इजलासमा थुनछेक बहस गरेका थिए। थुनछेक बहसको कार्य सकिए पनि समय अभावले आदेश आउन नसकेको अदालतका श्रेष्तेदार हरिकृष्ण अबस्थीले बताए। उनका अनुसार बर्खास्त प्रहरी उपरीक्षक विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ। बर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए।

जनता सधैं पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छः प्रधानमन्त्री

बुटवल, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गरेका छन् । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताए । उनले भने, “जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ । अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ ।” प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको बताए । “आँखा चिम्लेर सरकारको विरोध गरिएको छ, आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवी सहभागी छन्”, उनले चभने, “सिके रातसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेरसमेत विरोध भयो, अरुको के कुरा ।” सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न उनले सबैमा अनुरोध गरे । उनले तिलोत्तमामा निर्माण हुन लागेको मेडिकल कलेज सुविधासम्पन्न र स्तरीय सेवा प्रदान गर्ने किसिमले स्थापना गर्न जरुरी रहेको धारणा राखे। उनले भने, “रोगको निदान र उपचारका लागि अन्धविश्वास नराखी वैज्ञानिक पद्धति अपनाउनुपर्छ ।” सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अगाडि सारेको बताए । उनले भने, “यो एउटा सन्तानका रुपमा तिलोत्तमाको आँगनमा निर्माण हुँदैछ, यसलाई सबैले आफ्नो सन्तानका रुपमा माया गर्नु जरुरी छ ।” महासचिव पौडेलले प्रदेशमै स्वास्थ्योपचारका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्न मेडिकल कलेज महत्वपूर्ण सावित हुने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम समयमै पूरा गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । रासस

वामदेव भन्छन्, ‘केही गर्न नसके कम्युनिस्ट समाप्त हुन्छौं’

काठमाडौं, चैत ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले सरकारले नागरिकको चाहनाअनुसार काम गर्न नसकेमा मुलुकबाट सदाको लागि कम्युनिस्ट नै समाप्त हुने बताएका छन्। आर्दश दम्पती तथा युवा सम्मान कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले यस्तो बताएका हुन्। उनले भने, ‘दुई तिहाईको सरकारले केही गर्न सकेनौ भने हामी कम्युनिस्ट समाप्त हुन्छौ ।’, नेता गौतमले शक्तिशाली सरकारबाट देश बन्नुको विकल्प नरहेको बताए। ‘देश बन्नुको विकल्प छैन, अब देश बन्नै पर्छ,’ उनले भने, यत्रो शक्तिशाली सरकारले नबाए देश कस्ले बनाउँछ।’ उनले आफू पूर्ण बेरोजगार भएको बताए। ‘म मन्त्री पनि छैन, संसद पनि छैन, पार्टीमा त्यस्तो जिम्मेवारी छैन, पूर्ण बेरोजगार छु,’ उनले भने, ‘कसैले बोलाउदैनन्।’ राउटे तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले गौतम र उनकी श्रीमती तुलसा थापा, नेकपा नेता अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती तथा डा. मदन सत्याल र नर्मदेश्वरी सत्याललाई आर्दश दम्पत्ती सम्मान गरेको छ। त्यस्तै डा. अनिल भटराई, डा. शरद कार्की, डा. शेखर गुरुङ, डा. रविन खड्का, सुनिलकुमार पोखरेल, गायक कृष्णप्रसाद कँडेल, बद्रीनारायण शाह, रुद्र भण्डारीलगायत पनि सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन् । उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान गरेका हुन्।

भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

बाँके, चैत ८ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताए । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उनले बताए । भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्याङ्करसँगै अन्य मालबाहक ट्रकहरु रुपैडिहामै रोकिएका थिए । रु १० लाखभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिस्नरको अनुमति लिनुपर्छ । गए राति मात्रै इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्याङ्कर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताए । रासस

प्रहरीकै भ्यानले ठक्कर दिँदा होली खेलिरहेका एक युवा गम्भीर घाइते

जनकपुर, चैत ८ । जनकपुरमा होली खेलिरहेका युवाहरुमाथि प्रहरीको भ्यानले ठक्कर दिएको छ । भ्यानकोे ठक्करबाट एकजना युवा गम्भीर घाइते भएका छन् । प्रहरीको भ्यानको ठक्करबाट जनकपुर–३ का रामा ठाकुरका छोरा प्रदीप ठाकुरको २ वटै खुट्टा भाँचिएको छ । हाल उनलाई उपचारको लागि अस्पताल लगिएको छ । होली खेलिरहेका युवा र प्रहरीबीच केही समयअघि भनाभन भएको थियो र यसैको रिसिइबीलाई लिएर प्रहरीले नियोजितरुपमा भ्यान भीडमाथि चलाएको युवाहरुले आरोप लगाएका छन् । यतिखेर युवाहरु यतिखेर प्रहरी बिरुद्ध नाराबाजी र प्रदर्शनमा उत्रिएका छन् । १५ दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट जनकपुरमा फागु पर्व (होली) मनाउने प्रचलन छ । नेपाल र भारतको १ सय ३३ किलोमिटर दूरी पैदल तय गरिने मध्यमा परिक्रमा बिहीबार बाह्रबिघा मैदानमा समापन भएकाले जनकपुरमा शुक्रबार होली मनाइएको हो । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा अस्ती र तराई–मधेसका अन्य क्षेत्रमा बिहीबार होली मनाइएको थियो । जनकपुरबासीले आपसमा रंग दलेर विहानैदेखि शुभकामना आदान–प्रदान गर्दा चोक–चोकमा जोगिरा गायनसँगै ‘मटकाफोर’ कार्यक्रम भइरहेका छन् । होली हेर्न ठूलो संख्यामा विदशी पर्यटक पनि जनकपुर पुगेका छन । न्यूज२४बाट

ऐतिहासिक बगदरबार भत्काउन नमिल्ने

काठमाडौं, चैत ८ । काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ। भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो। बागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले सो आदेश जारी गरेको थियो। उक्त आदेशमा महानगरले भवन भत्काउन दिएको ठेक्का पनि बदर गरिएको छ। महानगरसँग बागदरबारको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो। उक्त आदेशमा बागदरबार संरक्षणका लागि १५ दिनभित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ टोली बनाउन परमादेश जारी भएको थियो। उक्त भवन निर्माण भएको सय वर्ष नपुगेको तर भूकम्पका कारण जीर्ण भएको भन्दै महानगरले भत्काउन खोजेकोमा १०० वर्ष नभए पनि कलात्मक भवन संरक्षण गर्नुपर्ने भएकाले सो विषयमा प्रवेश गर्नै नपरेको परमादेशमा उल्लेख थियो। भूकम्पपछि बागदरबार भत्काउन लाग्दा विरोध भएपछि कामपाले प्रबलीकरण गर्ने निर्णय गरेको थियो तर महानगर प्रमुखमा निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले फेरि बागदरबार भत्काउने निर्णय गरेर ठेक्का प्रक्रिया अघि बढाएका थिए। उनले यो भवन बागदरबार नभएर हरि भवन भएको तर्क अघि सारेका थिए। करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ। प्राचीनकाल, मध्यकाल र आधुनिक गरी तीन कालखण्डको ढाँचामा उक्त भवन निर्माण गर्ने कामपाको योजना थियो। यसअघि पनि सम्पदा बचाऔँ अभियानकर्मीले उक्त दरबार संरक्षण गर्न आग्रह गर्दै आएका थिए। भत्काउने काम शुरु भएको तीन महीनामा सक्ने र एक अर्ब ५० करोड रुपैयाँको लागतमा पुनःनिर्माण गरिने कामपाको योजना थियो। भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारका राजश्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन्। भीमसेन थापाले राजा गीर्वाणवीरविक्रम शाहबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको र विक्रम संवत् १८६८ तिर बागरदरबार बनेको इतिहासकार दिनेशराज पन्त बताउँछन्। उनी भन्छन्, ‘अहिलेको भवन बागदरबारको भवन होइन, बागदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो। हालको दरबार हरि शम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हो तर उक्त दरबारलाई बाग दरबार भन्दा पनि फरक पर्दैन।’ वि.सं. १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनः माथवरलाई नै फिर्ता गरिएको थियो। त्यसको एक वर्षपछि वि.सं. १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंहको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनःसरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ। उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोग गरेका थिए। वि.सं.१९९० को भूकम्पले त्यहाँको संरचना जीर्ण बनाएकाले पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे। त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरि शम्शेरले भोग चलन गरेकाले सो भवनलाई हरिभवन भनिएको हो। विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो। वि.सं. २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले उक्त दरबार कामपालाई दिएकाले त्यसै वर्ष चैत २७ गतेदेखि महानगर त्यहाँ सरेको थियो। रासस

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सर्लाही, चैत ८ । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गएराति श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउँदै आएकी थिइन् । रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टालगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । धारिलो हतियार प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको थियो । यता श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमती सुनिताले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको प्रहरीसमक्ष वयान दिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

एक युवक १७ दिनपछि भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त

गौशाला, चैत ८ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । गत फागुन २२ गते सुरेश साहकी आमा देवसुनर देवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आफ्नो छोरा सुरेश साह अपहरणमा परेको निवेदन दिएपछि सोही दिनदेखि महोत्तरी प्रहरीले प्रहरी निरीक्षक दीपक चोरबारको कमाण्डमा खोजतलास सुरु गरेको थियो । सुरेश अपहरणमा परेपछि उनका भिनाजु अमरनाथ महतोलाई भारतीय नम्बरको मोबाइलबाट भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट फिरौती रकम लिएर आउन फोन आएको थियो । महोत्तरी प्रहरीले परिवारजनको जानकारीमा भारतीय प्रहरीको सहयोगमा मोबाइललाई पछ्याउँदै जाँदा उनलाई भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट बन्धक बनाइराखेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । साथै फिरौती रकम ल्याउन भनिएका नेपालकै बारा जिल्लाको कलैया नगरपालिका–१२ रामपुर बस्ने ५२ वर्षीय मुन्ना भन्ने सुरज चौधरी र काशी साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ५.५६ एमएमको गोली चार थानसमेत बरामद गरेको छ । अपहरणमा संलग्न दुवैलाई भारतीय प्रहरीले पक्राउ गरी भारतमै आवश्यक कारवाही अगाडि बढाएको छ । अपहरणमुक्त भएका साहलाई बिहीबार नै उनका आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । रासस

वैदेशिक रोजगार विभागका नासु ६० हजार नगद घुससहित रंगेहात पक्राउ

काठमाडौं, चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई ६० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाई डरधम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ । नासु फुयाँलले सेवाग्राहीसँग ६० हजाररुपैयाँ घुस लिइ जोरपार्टी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएका थिए । फुयाँलले खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिएको हो । रासस

पत्रकार विक गिरफ्तार, जनपत्रकार संगठनद्वारा खेद प्रकट

काठमाडौं, चैत ८ । विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन कालिकोटका जिल्ला संयोजक कर्ण बिकलाइ प्रहरीले पक्राउ गरेको छ । बिहान बिहान सदरमुकाममा आफू्र कार्यरत रेडियो कार्यालयबाट गिरफ्तार भएका हुन् । उनको गिरफ्तार विषयलाइ लिएर जनपत्रकार संगठन केन्द्रिय समितिले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति निरन्तर सहिष्णुता तथा अनुद्दार बन्दै गएको बताउदै बिकको गिरफ्तारीप्रति संगठनले खेद प्रकट गरेको छ पत्रकार बिकको रिहाइको माग गर्दै निर्बाधरुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने संबिधान प्रदत्त अधिकारको सम्मान गर्न संगठनले सरकारलाई माग गरेको छ ।

मुक्त हलियाले प्रदेश मन्त्रीलाई बुझाए ज्ञापनपत्र

बाजुरा, चैत ८ । बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीका ४८ घरधुरीका हलियाले सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँमा ४८ हलिया परिवार भए पनि तथ्याङ्कमा २८ परिवारले मात्र प्रमाणीकरण भई परिचयपत्र पाएकाले बाँकीलाई पनि प्रमाणीकरण गरिनुपर्ने माग राख्दै मन्त्री शाहलाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारले मुक्त हलिया घोषणा गरेको एक दशक बितिसक्दा पनि बाजुरामा हलिया प्रथा उन्मूलन हुन नसकेको भन्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हलिया खाद्य अधिकार समूहका उपसंयोजक उज्जनी सार्कीले बताए । जिल्लामा रहेका हलियाले पटक–पटक गाँसबास र कपासको प्रत्याभूतिको माग गरे पनि सरकारले वास्ता नगरेको भन्दै आठ बुँदे ज्ञापनपत्र बुझाएको शेरबहादुर सार्कीले बताएका छन् । हलियालाई पुनःस्थापनाको कार्यक्रम ल्याउनुपर्ने, घरसँगै न्यूनतम पाँच कठ्ठा जग्गाको व्यवस्थापन हुनुपर्ने, सरकारसँग भएको पाँच बुँदे सबै सम्झौता कार्यान्वयन हुनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरेको छ । त्यस्तै प्रमाणीकरणमा छुटेका पिपलडालीका २० हलिया परिवारलाई प्रमाणीकरण गरी परिचयपत्र दिनुपर्ने, खाद्यको प्रत्याभूतिसँगै रोजगारीको पहल गर्नुपर्ने, मुक्तिपछि आफूहरुमा परेका समस्याको समाधान गनुपर्ने लगायतका माग ज्ञापनपत्रमा राखेका छन् । ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेश कानूनमन्त्री शाहले हलियाका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशसभामा समेत यो कुरा राख्ने बताए । हलिया मुक्ति आन्दोलन पश्चात नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । हलिया समुदायको खाद्य अधिकारको सवालका बारेमा फियान नेपाल नामक गैरसरकारी संस्थाले समेत बाजुरामा काम गर्दै आएको छ । रासस

शिक्षा मन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौं, चैत ७ । स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । उनी बिहीबार अपराह्न पाटन अस्पताल भर्ना भएका हुन् । गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । ‘भर्ना हुनैपर्छ भनेपछि पाटन अस्पतालमा भर्ना हुनु भएको छ,’ मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ ।’ मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।

१६४ किलो चरेससहित एक जना पक्राउ

धादिङ, चैत ८ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १ सय ६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ को ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । काठमाडौंबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा हालेर लुकाइछिपाइ लान लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो ।लागुऔषध चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई हिरासतमा लिइएको छ । गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस