इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपति पुनद्वारा उद्घाटन

काठमाडौं, चैत ४ । युरोपेली संघको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ । लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गरेका छन् ।

त्यस अवसरमा नेपालको भ्रमणमा रहेकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले इयू र नेपालबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन इयू प्रतिबद्ध रहेको बताइन् । “सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने सरकारको लक्ष्य हासिल गर्न इयूले सक्दो सहयोग गर्नेछ, नेपाल सरकारका विकासमा प्राथमिकतामा सघाउन हामी तत्पर छौँ”, समावेशी आर्थिक विकास पनि नेपालका निम्ति उत्तिकै अपरिहार्य भएको बताउँदै उनले भनिन् ।

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले सामाजिक–आर्थिक रुपान्तरणको दिशामा अग्रसर भएको नेपाललाई व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका माध्यमबाट सघाउन सकिने प्रशस्त सम्भावना रहेको बताइन्।

उद्घाटन समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी तथा नेपाल सरकारका वरिष्ठ अधिकारीको उपस्थिति थियो । यसैबीच, नायब प्रबन्ध निर्देशक पाउला पम्पालोनीले अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग बेलाबेग्लै भेटवार्ता गरेका थिए । पछिल्ला समयमा युरोपेली सङ्घले नेपालको ग्रामीण विकास, शिक्षा, सुशासन प्रवद्र्धन तथा पुनः निर्माणका निम्ति आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

सीके राउतको पार्टीकाे नाम परिवर्तन, चुनाव चिह्न अष्टदल

जनकपुरधाम, चैत ४ । सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहनेगरी नयाँ पार्टी खोल्ने निर्णय गरेको हो । पार्टीको चुनाव चिह्न अष्टदल राख्ने निर्णय पनि बैठकले गरेको छ । ३५ केन्द्रीय सदस्य रहने निर्णय पनि भएको केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्तिमार्फत् जनाएका छन् । राउतले केही दिनअघि सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आउने घोषणा गरेका थिए । उक्त घोषणापश्चात तराई मधेश झरेका राउतले मूलधारको राजनीति गर्न भन्दै नयाँ दल गठन गरेका हुन् ।  

राजपाका विरोधको कारण प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं, चैत ४ । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ। पुर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद अनिल कुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । पटक पटक सभामुखले आसन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे । राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक समेत प्रभावित भएको थियो । नयाँपत्रिकादैनिकबाट

राजधानीको मुटुमै झाँक्री संघ, २ सय बढी सदस्य !

काठमाडौं, चैत ४ । २१औं शताब्दी, त्यसमाथि पनि देशकै राजधानीमा समेत धामीझाँक्रीकोमा उपचारका लागि घुँइचो लाग्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । अझ अचम्म त त्यतिबेला लाग्ला जतिबेला तपाईंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नै गराएर धामीझाँक्रीले झारफुक गरिरहेका छन्, भन्ने थाहा पाउनुहुन्छ । ढ्याङ ढ्याङ (ढ्याङ्ग्रोको आवाज) … हात गोडा झम्झमाउने रहेछ बाबु । ढ्याङ ढ्याङ … खान मन नलाग्ने रहेछ बाबु । आइतवार बिहान ११ बजेको समयमा बालाजु र नयाँ बजार जोड्ने पुलको छेवैमा रहेको एक घरको दोस्रो तलामा पुग्दा देखिएको दृष्य हो यो । एक झाँक्री ढ्याङ्ग्रो ठटाउँदै भट्ट्याइरहेका थिए । पुलसँगै एउटा शिव मन्दिर छ । मन्दिरको माथिल्लो तलामा ‘नेपाल झाँक्री संघ उपचार केन्द्र’, ‘नेपालभरी रहेका वोनधामी झाँक्री एकता अभियान’ लेखिएको बोर्ड झुण्ड्याइएको छ । कुराकानीका क्रममा थाहा भयो चेतबहादुर थिङ्ग उक्त संघका अध्यक्ष रहेछन् । झाँक्री संघ भनेर जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गराएको बताउने उनले २ सयभन्दा झाँक्रीलाई सदस्यता दिइसकेका रहेछन् । युवा अवस्थामा नै रहेका झाँक्री थिङ्ग आफूले यो पेशा शुरू गरेको झण्डै १५ वर्ष भएको बताउँछन् । झण्डै २ सयको संख्यामा रहेका आफ्ना चेला काठमाडौं उपत्यकामा छरिएर रहेको बताउँदै उनले देशैभरी सञ्जाल विस्तार गर्ने योजना सुनाए । ‘देशैभरीका झाँक्रीहरूलाई गोलबद्ध गरेर आफ्नो हकहितका लागि लड्ने लक्ष्य छ । हाम्रो संस्कृति लोप हुँदै गइराखेको अवस्थामा यसलाई संरक्षण गर्ने पनि उद्देश्य हो,’ उनले भने । झाँक्रीका नाममा कुटपिट गर्ने, संवेदनशील अंगहरूमा छुने (दुर्व्यवहार गर्ने), धेरै पैसा असुल्ने झाँक्रीहरूलाई निरुत्साहित गर्दै कानूनको दायरामा ल्याएर आफूहरूको पेशाप्रति जनविश्वास घट्न नदिने लक्ष्य पनि झाँक्री संघले लिएको थिङ्ग बताउँछन् । यो समाचार लोकान्तर डटकमबाट साभार गरिएको हो ।

यी हुन्, कम्युनिष्ट कार्यकर्ताले पढ्नैपर्ने ४२ मार्क्सवादी पुस्तक [नाम र लेखक]

काठमाडौं । कम्युनिष्ट पार्टीलाई नेताहरुको पार्टी पनि भनिन्छ । नेता बन्न बौद्धिकता र विषयवस्तुबारे गहिरो ज्ञान चाहिन्छ । कम्युनिष्ट सिद्धान्त त्यस्तो सिद्धान्त हो, जसले बनिबनाउ समाज र मान्यताहरु भत्काएर नयाँ बाटो हिड्छ, विज्ञान र अनुसन्धानमा नयाँ–नयाँ तथ्यमा रमाउँछ । तर, हामीकहाँ पछिल्लो समय पढ्ने संस्कृति कमजोर हुँदै गएको छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पढ्दैनन्, विषयको ज्ञान राख्दैनन्, समाजको भेल जता बगेको छ, त्यतै लहसिन्छन् । यसले कम्युनिष्ट पार्टीको गरिमा नै कमजोर भइरहेको छ । कम्युनिष्ट पार्टीको सदस्य हुनु आफैमा विश्वविद्यालयमा भर्ना हुनु हो । यसले ज्ञान र विज्ञानका प्रायः सबै शाखा बुझ्नुपर्छ, जान्नुपर्छ । कार्यकर्ताले पढ्नैपर्ने दशौं हजार किताब छ । तर, एउटै आलेखमा ती सबैलाई समेट्न सम्भव छैन । यो आलेखमा हामीले कम्युनिष्ट पार्टीका कार्यकर्ताले पढ्नैपर्ने ४२ पुस्तक, त्यसका लेखक र पुस्तकको मुल भाव प्रस्तुत गरेका छौं । तपाई पनि पढ्नुस् र साथीलाई पनि पढ्न प्रेरित गर्नुस् । १. पूँजी, (भाग १, २ र ३)– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा अतिरिक्त श्रमद्वारा पैदा हुने अतिरिक्त मूल्य, पूँजीवाद र सर्वहारा वर्ग, साम्यवाद र कम्युनिष्ट लगायतका विषयमा विपद व्याख्या गरेका छन् । यो कम्युनिष्टहरुका लागि सबैभन्दा महत्वपूर्ण पुस्तक हो । २. अतिरिक्त मूल्यको सिद्धान्त– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक मार्क्सवादी अर्थशास्त्र सम्बन्धि विषद् पुस्तक हो । पुस्तकले अतिरिक्त श्रमद्वारा गर्ने अतिरिक्त मूल्यको विषयमा व्याख्या गरेको छ । यो पुस्तक निकै महत्वपूर्ण छ । ३. कम्युनिष्ट घोषणापत्र– सन् १९४८ मा मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र विश्वका सबै कम्युनिष्टहरुका लागि दिशानिर्देश हो । यस पुस्तकमा सर्वहारा वर्गको विजयबारे संक्षिप्त तर गहन व्याख्या गरिएको छ । ४. दर्शनको दरिद्रता– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक प्रुधोंद्वारा लिखित दरिद्रको दर्शन पुस्तकको खण्डन हो । मार्क्सवादलाई दरिद्रको दर्शन ठान्ने प्रुधों नै दर्शनको दरिद्र रहेको मार्क्सले पुस्तकमा उल्लेख गरेका छन् । ५. पेरिस कम्युन (फ्रान्स गृहयुद्ध) र गोथा कार्यक्रमको आलोचना– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा पेरिस कम्युन, त्यसले पैदा गरेका वैचारिक र राजनीतिक आयामहरुबारे प्रकाश पारिएको छ । ६. ड्युहरिङ मतखण्डन – फ्रेडरिक एंगेल्सद्वारा लिखित यस पुस्तकमा चिन्तक ड्युहरिङको मतको खण्डन गरिएको छ । यो पुस्तक दर्शनसम्बन्धि रुचि राख्ने पाठकका लागि महत्वपूर्ण मानिन्छ । ७. भौतिक विज्ञानको विकासक्रम – अल्वर्ट आइन्स्टाइनद्वारा लिखित यस पुस्तकमा भौतिक शास्त्र र आइन्स्टाइनले गरेको अनुसन्धानको बारेमा चर्चा गरिएको छ । ८. मानव समाज – राहुल सांस्कृत्यायनद्वारा लिखित यस पुस्तकमा मानव जातिको उत्पत्ति, राज्यको उत्पत्ति र विकास, मानव समाज र सङ्घर्षबारे व्याख्या गरिएको छ । ९. प्रकृतिको द्धन्द्धात्मकता – एंगेल्सद्वारा लिखित यस पुस्तकमा प्रकृति, यसको द्धन्द्धात्मक सम्बन्ध, भौतिक विज्ञान र सामाजिक अन्तर्सम्बन्धबारे गहन व्याख्या गरिएको छ । १०. परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति – एंगेल्सद्वारा लिखित यो पुस्तक धेरै गहन छ । पुस्तकमा नश्ल, गोत्र, वंश, जात, जाति, राष्ट्रको उत्पत्ति र विकासबारे व्याख्या गरिएको छ । पुस्तकमा नीति सम्पत्ति, राज्यको उत्पत्ति र यसका कारणबारे व्याख्या गरिएको छ । ११. राज्य र क्रान्ति – यो लेनिनद्वारा लिखित पुस्तक हो । पुस्तकमा लेनिनले राज्य, राज्यको चरित्र, राज्यसत्ता परिवर्तनमा क्रान्तिको भूमिका, यसका वैचारिक आधार, कम्युनिष्ट कार्यनीति, संगठन र सङ्घर्षबारे गहिरो विवेचना गरेका छन् । १२. वामपन्थी साम्यवाद : एक बाल रोग – लेनिनद्वारा लिखित यस पुस्तकमा उग्रवामपन्थी भड्कावबारे चर्चा गरिएको छ । आत्मगत र वस्तुगत परिस्थिति तयार नहुँदै मनोगत आकांक्षाका भरमा क्रान्ति हुन नसक्ने तथ्यलाई पुस्तकमा प्रकाश पारिएको छ । १३. कम्युनिष्ट नैतिकता – कम्युनिष्टहरुका पाँच मूख्य नेताहरुका दृष्टिकोणमा आधारित यो पुस्तक संकलित रचना हो । यस पुस्तकमा सामाजिक एवं व्यक्तिगत जीवनमा कम्युनिष्टहरुले अपनाउने बानी, व्यहोरा, दृष्टिकोण, संस्कार र संस्कृतिबारे चर्चा गरिएको छ । १४. आमा – म्याक्सिम गोर्कीद्वारा आमा पुस्तक लिखित क्रान्तिकारी उपन्यास हो । यो रुसी क्रान्तिका दौरानमा लेखिएको विश्वप्रख्यात उपन्यास हो । नयाँ पुस्ताका क्रान्तिकारीले पढ्नैपर्ने पुस्तक हो आमा । १५. स्टालिनका छानिएका रचना – कृष्णदास श्रेष्ठद्वारा लिखित यस पुस्तकमा स्टालिनको शासन कालका उनका महत्वपूर्ण रचना र विचार समेटिएको छ । स्टालिनबारे जान्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ । १६. राजनीतिक अर्थशास्त्रको मुलभूत सिद्धान्त (साङ्घाई टेक्टबुक) – माओत्सेतुङका गहन विचारहरुलाई समावेश गरेर तयार पारिएको यो पुस्तक प्रसिद्ध रचना हो । मार्क्सवादी दर्शन, अर्थशास्त्र र समाजशास्त्रका दृष्टिले यो पुस्तक गहन छ । १७. दर्शनबारे पाँच कृति – माओत्सेतुङद्वारा लिखित यस पुस्तक संक्षिप्त तर गहन छ । पुस्तकमा ज्ञानको स्रोत, ज्ञानको व्यवहारिक प्रयोग र यसका दार्शनिक पक्षबारे चर्चा गरिएको छ । मार्क्सवादी दर्शनमा यो पुस्तक धेरै गहन मानिन्छ । १८. माओत्सेतुङ्का सैनिक रचना – विभिन्न भागमा प्रकाशित यस पुस्तकमा माओत्सेतुङका सैनिक दृष्टिकोण, निर्देशन र फौजी कार्यदिशा सम्बन्धि महत्वपूर्ण दस्तावेजहरु समेटिएका छन् । १९. सर्वहारा सांस्कृतिक क्रान्तिका ऐतिहासिक दस्तावेज – यस पुस्तक सन् १९६६–१९७६ को चिनियाँ सांस्कृतिक क्रान्तिलाई बुझ्न धेरै उपयोगी छ । यस पुस्तकमा सांस्कृतिक क्रान्ति कालका दस्तावेजहरु समाविष्ट छन् । २०. महान बहस – यो पुस्तक रुसमा ख्रुश्चेवको नेतृत्व (सन् १९५६) पछि रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच चलेका वैचारिक बहसको संकलित रचना हो । यसमा रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक बहसका रुपमा एक–अर्कालाई पठाएका प्रायः सबै चिठीहरु संकलित छन् । २१. नयाँ जनवादी क्रान्ति – चिनियाँ लेखक हो कान चद्वारा लिखित यस पुस्तकमा चिनियाँ नयाँ जनवादी क्रान्ति, यसका विशेषता र विश्व कम्युनिष्ट आन्दोलनमा यसको योगदानबारे चर्चा गरिएको छ । २२. चीनको आधुनिक इतिहास – सी चिनफिङका वैचारिक लेख, प्रतिवेदन र मन्तव्यहरु संग्रह गरेर तयार पारिएको यो पुस्तक चीनको पछिल्लो विकास र समाजवादको अभ्यासबारे बुझ्न निकै उपयोगी छ । यसमा सीले चीनको रणनीतिक विकास र सुदृढीकरणबारे बृहत दृष्टिकोण प्रस्तुत गरेका छन् । २३. मार्क्सवादी दर्शन – यो पुस्तक मोहन वैद्यद्वारा लिखित दार्शनिक तथा वैचारिक आलेखहरुको संग्रह हो । पुस्तकमा वैद्यले दर्शन, अर्थशास्त्र र समाजवादका आयामहरुबारे व्याख्या गरेका छन् । मार्क्सवादी दर्शनमा रुचि राख्नेहरुका लागि यो उपयोगी पुस्तक हो । २४. सङ्घर्षको दर्शन – मोहन वैद्यद्वारा लिखित सङ्घर्षको दर्शनमा मार्क्सवाद र संशोधनवाद बीचको वैचारिक अन्तर खुट्याउने प्रयास गरिएको छ । मार्क्सवाद रुचि राख्ने पाठकहरुका लागि यो उपयोगी पुस्तक हो । २५. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान – रुसी लेखक भिक्टर आफानास्योभद्वारा लिखित यो पुस्तक धेरै गहन र सरल छ । पुस्तकमा दर्शन, यसको उत्पत्ति, राज्य र यसको विकास, ब्रह्माण्ड र त्यसको भौतिक जीवनमा सम्बन्ध, समाजवाद र यसका आयामबारे स्पष्ट व्याख्या गरिएको छ । यो मार्क्सवादका विद्यार्थीहरुले पढ्नैपर्ने पुस्तक हो । २६. नेपाली क्रान्तिका समस्याहरु (भाग १, २, ३ र ४) – यो नेकपाका अध्यक्ष प्रचण्डका नीजि लेखहरुको संग्रह हो । चार खण्डमा प्रकाशित पुस्तकमा नेपाली क्रान्ति, यसको सम्भावना र चुनौतिबारे विविध लेख समेटिएका छन् । नेपालको जनयुद्ध र त्यसको तयारीको वैचारिक दिशा बुझ्न पुस्तक धेरै उपयोगी छन् । २७. पूर्वीय दर्शन – डा. भक्त राईद्वारा लिखित यो पुस्तक धेरै गहन छ । पुस्तकमा भौतिकवादी दर्शन, दर्शनका विभिन्न कालखण्ड र त्यस समयका दार्शनिकहरुबारे चर्चा गरिएको छ । दर्शनको उत्पत्ति र भौतिकवादबारे जान्न चाहनेहरुका लागि पुस्तक धेरै उपयोगी छ । २८. हाम्रो समाज – जनकलाल शर्माद्वारा लिखित पुस्तक धेरै उपयोगी छ । पुस्तकमा पृथ्वीको उप्पत्ति, प्राणिहरुको उत्पत्ति, एककोषीय जीव, मानवको उत्पत्ति, आदिम साम्यवाद, कबिला समूह, श्रमको उत्पत्तिदेखि मानव सभ्यताका विविध आयामहरुलाई गहन रुपमा प्रस्तुत गरिएको छ । यो पुस्तक निकै सरल र विषद् पनि छ । २९. नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास (भाग १, २, ३) – डा. सुरेन्द्र केसीद्वारा लिखित यस पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलनबारे उल्लेख गरिएको छ । पुस्तकमा नेकपाको स्थापना, विकास, विभिन्न राजनीतिक धारा र सङ्घर्ष लगायतका विषयलाई तीन भागमा व्याख्या गरिएको छ । ३०. विश्व कम्युनिष्ट आन्दोलनको इतिहास – मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक धेरै संक्षिप्त र गहन छ । पुस्तकमा पेरिस कम्युन, रुस, चीन, फिलिपिन्स, भारत लगायत विश्वभर चलेका कम्युनिष्ट आन्दोलन, त्यसका नेता र प्रवृत्तिबारे चर्चा गरिएको छ । ३१. सोभियत कम्युनिष्ट पार्टीको इतिहास – रुसी कम्युनिष्ट पार्टीको इतिहास समेटिएको यो पुस्तक रुसी क्रान्ति, सशस्त्र विद्रोह र यससम्बन्धि दृष्टिकोण बुझ्न निकै उपयोगी छ । ३२. चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास – यस पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना, दीर्घकालीन जनयुद्धको थालनी, जापानद्वारा चीनमाथि गरिएको हमला, जनवादी क्रान्तिको विजय लगायतको चीनको क्रान्तिकारी आन्दोलनको इतिहास समाविष्ट छ । ३३. पेमालामा प्रश्नोत्तर माला – मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे जान्न चाहनेहरुका लागि प्रारम्भिक पुस्तक हो । पुस्तकमा कम्युनिष्ट आन्दोलन र विचार सम्बन्धि आधारभूत कुराहरुलाई पेमा र लामाबीचको सम्वादका रुपमा प्रस्तुत गरिएको छ । मार्क्सवादबारे आधारभूत ज्ञान राख्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ । ३४. प्राकृतिक भौतिकवाद – गोपीरमण उपाध्यायद्वारा लिखित यो पुस्तक गहन छ । पुस्तकमा भौतिक चिन्तन, चिन्तकहरु, त्यसको कालखण्ड र विकासबारे गहन प्रकाश पारिएको छ । ३५. धर्म र मार्क्सवाद – यो पुस्तक धर्म र मार्क्सवादी दृष्टिकोणबारे लेखिएका लेखहरुको संग्रह हो । पुस्तकमा धर्म र मार्क्सवाद सम्बन्धि मार्क्सवादी दृष्टिकोण प्रस्तुत गरिएको छ । ३६. नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु – यो नेकपा (माओवादी) द्वारा प्रकाशित कृति हो । पुस्तकमा नेकपाको स्थापनादेखि महान् जनयुद्ध लगायत सबै कालका महाधिवेशन, सम्मेलन, विस्तारित बैठक र केन्द्रीय समितिमा प्रस्तुत भई पारित भएका दस्तावेजहरु संग्रहित छन् । माओवादी आन्दोलनको वैचारिक श्रृङ्खला बुझ्न चाहनेहरुका लागि यो निकै उपयोगी पुस्तक हो । ३७. राजनीतिक अर्थशास्त्रको आँखीझ्याल – डा. बाबुराम भट्टराईद्वारा लिखित यो पुस्तक निकै महत्वपूर्ण छ । नेपालको परिप्रेक्ष्यमा उत्पादन सम्बन्ध र अर्थतन्त्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा पुस्तकमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ । ३८. मार्क्सवादी अर्थशास्त्र – डा. विजयकुमार पौडेलद्वारा लिखित यस पुस्तकमा राजनीतिक अर्थशास्त्र परिचय, अभ्यास र नेपाली सन्दर्भमा यसको प्रयोगबारे चर्चा गरिएको छ । प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीभित्र मार्क्सवादी अर्थशास्त्रको अभ्यासका लागि पुस्तक उपयोगी छ । ३९. नयाँ घर – नेता एवं साहित्यकार आहुतिद्वारा लिखित यो उपन्यास क्रान्तिकारी विचार र भावनाले ओतप्रोत छ । पुस्तकमा क्रान्तिका लागि क्रान्तिकारी सङ्घर्षमा लाग्न अभिप्रेरित गरिएको छ । ४०. मार्क्सवाद चिनारी – कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे आधारभूत कुरा जान्न चाहने विद्यार्थीका लागि उपयोगी छ । यसमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ । ४१. मार्क्सवादको पहिलो पुस्तक – कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तकमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ । नयाँ विद्यार्थीका लागि यो निकै उपयोगी पुस्तक हो । ४२. मार्क्सवादको मुल सिद्धान्त – जनेश्वर बर्माद्वारा लिखित यस पुस्तकमा मार्क्सवादका तीन संघटक अंगको विवेचना गरिएको छ । मार्क्सवादप्रति रुचि राख्ने विद्यार्थीहरुका लागि पुस्तक उपयोगी छ । यो सामग्री लोकपाटी डटकमबाट लिइएको हो ।

पत्रकार श्रेष्ठको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाडौं, चैत ४ । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वसभापति वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । “ शनिबार दिउँसो ८६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको दुःखद् खबरले महासङ्घ स्तब्ध भएको छ”, महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा उनको बाटोमै निधन भएको थियो । काठमाडौं महानगरपालिका ताहाचल निवासी पूर्वसभापति श्रेष्ठ राष्ट्रिय समाचार समितिका संस्थापक सदस्यसमेत थिए । उनले ‘मदरल्याण्ड’ अङ्ग्रेजी दैनिकको सम्पादनसमेत गरेक थियो । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासङ्घले अभिभावक गुमाएको विज्ञप्तिमा उल्लेख छ छ । महासङ्घले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् । फोनिजद्वारा दुःख व्यक्त नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । फोनिजका महासचिव मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गरी दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । “उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले अपुरणीय क्षति व्यहोरेको छ, आदिवासी जनजाति पत्रकारहरुले एकजना अभिभावक गुमाएका छन्”, विज्ञप्तिमा भनिएको छ । रासस

सरकार कार्यकर्तामुखी भएको डा. आरजु देउबाको आरोप

धनगढी, ४ चैत । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले वर्तमान सरकार जनतामुखी नभएर कार्यकर्तामुखी भएको आरोप लगाएकी छन् । आईतबार धनगढी उपमहानरपालिका ११ र १३ नम्बर वडामा काँग्रेस कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गर्दै देउबाले अहिले नेकपाको सरकार भ्रष्ट्राचार तर्फ लम्कदै गरेका आरोप लगाएकी हुन्  । सुदूरपश्चिम सरकारले मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाँड्दै सरकारको ढुकुटी सकिरहेको उनको भनाई थियो । दुई दुई तिहाईको सरकार  र जनताको सम्बन्ध टुट्दै गएको छ नेतृ देउवाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ । आफू कैलाली निर्वाचन क्षेत्र ५ बाट पराजित भएपनि जनताका सेवा गर्न कहिले पछाडी नहट्ने दावी नेतृ देउवाले गरिन । निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कुनै हालतमा नछोड्ने बताउदै पार्टी गतिबिधि बिरोध पार्टी भित्रका नेताकार्यकर्ताहरुलाई कार्वाही गरेरै छोड्ने नेतृ देउवाको दाबी छ । कुनै समुदाय, जिल्लाका भौगोलीक क्षेत्रीयता नारा भन्दा पनि सिद्धान्तका साथ पार्टीको अभियानमा लाग्नुपर्ने उनले नेता कार्यकर्तासँग आग्रह गरिन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काग्रेस जितेका निर्वाचन क्षेत्रमा बजेट नहालेको आरोप लगाए । सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको आरोप पन्तको थियो । धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेको बताए । उनले धनगढी उपमहानगरपालिका प्रति प्रदेश सरकारले सौतेलो ब्यावहार गरेको आरोप समेत लगाए । कार्यक्रममा प्रदेशसभा सांसद टेकबहादुर रैका, धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

डडेल्धुरा दुर्घटना अपडेट: एक जनाको मृत्यु

डडेल्धुरा, चैत ४ । डडेल्धुरामा हाईस दुर्घटना हुँदा डोटीको सायल गाउंपालिका वडा नम्बर १ बस्ने २६ वर्षिय गणेश साउँदको मृत्यु भएको छ। दुर्घटनामा परि घाइते हुने अन्य ११ जनामध्ये ६ जनाको डडेल्धुरा उपक्षेत्रिय अस्पताल, २ जनाको शैलेश्वरी अस्पताल र २ जनालाई धनगढी रेफर गरिएको जनाइएको छ। सोमबार बिहान दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना भएको थियो ।  

रोकिराखेको हाइस आफैँ गुडेर दुर्घटना, १२ जना घाइते

डडेल्धुरा, चैत ४ । डडेल्धुरामा एक यात्रुबाहक माइक्रोबस दुर्घटना हुँदा १२ जना घाईते भएका छन्। दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना हुँदा १२ जना घाईते भएका हुन्। घाईतेको उद्धार गरिसकेको र उनीहरूको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। रोकिराखेको हाईस भिरालो भएका कारण अचानक झाडिमा गएर दुर्घटना भएको यात्रुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ब्रेथलाइजर उपकरण नहुँदा मापसे जाँचमा समस्या

डोटी, चैत ४ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो । ब्रेथलाइजरको अभाबमा ट्राफिक प्रहरी सवारी चालकको मुख सुघेर मादकपर्दाथ सेवन गरे नगरेको पत्ता लगाउन बाध्य छन् । दिपायल जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालकको मुख सुघने विषयमा कहिलेकाहीँ त ठूलै विवाद हुने गर्दछ । उक्त कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धामीले जिल्लाभर एकमात्र ब्रेथलाइजर भएको र त्यो पनि बिग्रेर मर्मतका लागि कैलाली पठाएको बताए । उनले भने, ‘एउटामात्रै मेशिन थियो, त्यो पनि वर्षौं पहिले बिग्रेकाले मर्मतका लागि पठाएकाछौँ, बनेर फिर्ता नआएकाले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखामा हेरेर र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था रहेको बताए । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी केदार रजौरेले बिग्रेका ब्रेथलाइजर उपकरण मर्मतका लागि केन्द्रीय कार्यालय पठाएकामा हालसम्म फिर्ता नआएको बताए । उक्त कार्यालयको जिन्सी शाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीमा एक, कञ्चनपुरमा एक र अत्तरिया दुईबाहेक अन्य सात जिल्लाका कुनै पनि ट्राफिक प्रहरीसँग ब्रेथलाइजर छैन । ब्रेथलाइजरको अभाव भएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर किनिदिन स्थानीय तहसँग माग गरेका छन् । सो उपकरण रू २८ हजारसम्म रकम पर्ने र ट्राफिक प्रहरीसँग बजेट नभएकाले किन्न नसकेको बताइएको छ । कञ्चनपुरमा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर गाडी चलाउने बढ्न थालेपछि त्यहाँ रहेको जिल्ला ट्राफिक प्रहरीको आग्रहका स्थानीय भिमदत्त नगरपालिकाले हालै एउटै ब्रेथलाइजर किनिदिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय जनाएको छ । प्राय खैनी गुट्खा खाएका चालकलाई जाँच गर्दा उनीहरुले खाएको खैनी, गुट्खा ब्रेथलाइजरभित्र पर्ने भएका कारण बढी छिटो बिग्रिने गरेको ट्राफिक प्रहरीको गुनासो छ । कैलालीको अत्तरियादेखि डोटीको सिलगढीसम्म ट्राफिक प्रहरीका ७ वटा जाँच पोष्ट भएपनि कुनै पनि पोष्टमा ब्रेथलाइजर नभएकाले ट्राफिक प्रहरीलाई चालकले कति प्रतिशत मादक पदार्थ सेवन गरेको छ छुट्टयाउनै मुस्किल पर्ने गरेको बताइएको छ । स्थानीय निकायलाई ब्रेथलाइजर किनिदिन आग्रह गरे पनि हालसम्म कसैले पनि नकिनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी बताउँछन् । रासस

नेपाल वैदेशिक लगानीका लागि वातावरण बनेको छ- अर्थमन्त्री

काठमाडौं, चैत ४ । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रहपनि गरेका छन् । सोमबार काठमाडौंमा नागरिक लगानी कोष भवनको शिलान्यास तथा कोषको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीको वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । कोषले जनताको हितमा हुनेगरी काम गर्नुपर्ने भन्दै उनले लगानीबाटमात्र मुलुकको समृद्धि सम्भव रहेको बताए । अर्थमन्त्री डा. खतिवडाले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताए। डा. खतिवडाले लगानी सम्मेलनको तयारी भइरहेकाले नेपाल लगानी गर्न उपयुक्त मुलुक भएको पनि बताए । कार्यक्रममा लगानी कोषका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

दैलखमा सम्बन्धविच्छेदका घटना बढ्दै

दुल्लु, चैत ४ । नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महिनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षका जिम्मेवारी सरेका ५२ र यस वर्ष १७३ गरी २२५ मुद्दा पुग्नसक्ने अपेक्षा थियो तर चालू आवको आठ महीनामा मात्रै २२९ मुद्दा दर्ता भइसकेको छ । अदालतले यस वर्ष १६७ मुद्दा फछ्र्योट गर्ने लक्ष लिएकामा अहिलेसम्म १२२ मुद्दा र चार वटा निवेदन फछ्र्योट गरेको छ । फछ्र्योट हुन बाँकी १५९ मुद्दामध्ये ४१ सरकारवादी र ११८ दुनियावादी मुद्दा छ । गत आवको तुलनामा यो वर्ष मुद्दा दर्ता हुने क्रम बढेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।  दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी (३९ प्रतिशत) मुद्दा सम्बन्धविच्छेदका छन् । मुलुकी देवानी संहिता कार्यान्वयनमा आएपछि पुरुषसमेत सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन् । गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको सङ्ख्या बढिरहेको हो । अदालतमा गत वर्ष जिम्मेवारी सरेर आएका र चालू आवको हालसम्म गरी १११ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दा ३९ वटा छन् । महिलाबाट आएको मुद्दा ७२ वटा छन् । तीमध्ये महिलाका ४३ र पुरुषका ११ वटा मुद्दा फछ्र्योट भइसकेको छ । “पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानूनले पुरुषलाई महिलासरह सम्बन्धविच्छेदको अधिकार दिएको छ”, जिल्ला न्यायाधीश सनतचन्द्र लवटले भने, “यसअघि महिलाले चाहेमा मात्रै सम्बन्धविच्छेद गर्न पाउने कानूनी प्रावधान थियो, “संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि भने सम्बन्धविच्छेद गर्ने पुरुषको समेत निवेदन आइरहेको छ ।” केही घटनामा ‘मेरो जीवन मेरो अधिकार’ भन्दै स्वतन्त्र भएर बाँच्न चाहने पुरुष तथा श्रीमान्ले खान लाउन नदिने, हेरचाह नगर्ने, पारिवारिक बहिष्कारका कारण महिलाले पनि सम्बन्धविच्छेद गर्ने गरेको उनको भनाइ थियो । जिल्लामा लागुऔषध सेवन, बेचबिखन तथा ओसार–पसारका घटना वृद्धि भए पनि उक्त अदालतसम्म अहिलेसम्म यस्ता मुद्दा दर्ता भएको छैन । अदालतको तथ्याङ्कमा लागुऔषधसम्बन्धी एक वटा मुद्दामात्रै दायर भएको थियो । जिल्ला न्यायाधीश लवटका अनुसार ६६ मुद्दा साविकको कानुन र ५६ मुद्दा नयाँ कानूनअनुसार फछ्र्योट गरिएको हो । उक्त अदालतले चालू आवको फागुन मसान्तसम्म ६८ मुद्दा मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएकामा २५मा मेलमिलाप भएकोे २६ मुद्दा मेलमिलाप हुन नसकेर अदालतमै फर्किएको थियो । अहिले पनि १७ मुद्दा मेलमिलाप गराउन बाँकी छ । रासस

पुर्जा भएको जमीन भारतद्वारा कब्जा

कञ्चनपुर, चैत ४ । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । ‘विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।’ सुनारले भने, ‘खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।’ पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ । ‘सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।’ आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भने, “लिखितरुपमै सरकारलाई जानकारी गराउँद पनि केही भएन् ।’ उनले मुलुकको व्यवस्था फेरिएर सिंहदरबार गाउँमा पुग्दा पनि जग्गाको विषय छिनोफानो हुन नसकेको दुखेसो पोखे । विसं२०३१ देखि गाउँमा बस्दै आएका स्थानीयवासी मानबहादुर सुनारले नेपाल–भारत २०० नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताए । “सीमाको विवाद यथावत रहँदा बेला÷बेला भारतीय सुरक्षाकर्मीसित पनि मनमुटाव हुने गर्छ ।” उनले भभने, “पुर्नवासमा शहीद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।” सरकारले पुर्नवास÷बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ । नोटः समाचारमा देखाइएको फाइला फोटो हो ।

तीन दिनसम्म वर्षा हुने

काठमाडौं, चैत ४ । देशका पहाडी भूभागमा सोमबारदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित हल्का पानी पर्ने संभावना रहेको जल तथा मौसम नुमान शाखाले जनाएको छ । सोमबार, मंगलबार र बुधबारसम्म देशका पुर्वी भू–भाग र पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । सोमबार देशको पूर्वी भागमा हल्का बर्षा हुने, मंगलबार पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ । यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । उनले भनिन– ‘छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि छिटपुट बर्षा हुने संभावना छ ।’ आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । यस्तै मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

विप्लवको पार्टी छोडेर टेकतारा नेकपा प्रवेश

बेंसीसहर, चैत ४ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लमजुङ जिल्ला संगठन कमिटिका सदस्य टेकबहादुर बोहोरा (टेकतारा) सत्तापक्षीय नेकपामा प्रवेश गरेका छन्। नेकपा बेंसीसहर नगरपालिका ६ संयन्त्रले सारिङमा एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो। लमजुङमा कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक मानिएका उनी पछिल्लो समय विप्लव नेतृत्वको पाटीमा आवद्ध थिए। तत्कालीन पार्टी अध्यक्ष प्रचण्डसँग मतभेद भएपछि २०७१ सालमा मोहन बैद्य नेतृत्वको पार्टीहुँदै उनी पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा संगठित भई सक्रिय थिए। उनले आफू आवद्ध पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरेका छन् । उनी २०५३ देखि तत्कालीन नेकपा माओवादीमा लागेका थिए। करीब ७२ वर्षीय उनी नेकपा प्रवेश गरेपछि गाउँमा खुसियाली छाएको छ । स्थानीयले खदा, टोपी लगाइदिनुका साथै अबिरजात्रा गरेका थिए । उनले आफू जुन गाडीमा चढ्यो, त्यही गाडी पन्चर मात्रै हुने गरेको भन्दै पुरानै घर (पार्टी) फर्किएको बताए। उनले आफ्नो छरछिमेक, इष्टमित्र, आफन्त र परिवारबाट टाढा रहन नसक्ने बताउँदै बरु कुनै पद नचाहिने र अभिभावक भएर बस्न तयार रहेको बताए । पछिल्लो समय आफू रहेको पार्टीका नेताले आफ्नो हैकम जमाएको र पार्टीले लिएको एकीकृत जनक्रान्तिका कुरा छोडी हतियार लिएर हिँडेकाले आफू पुरानै घरमा फर्किन बाध्य भएको बताए। ‘संघर्ष भनेको युद्ध होइन, हतियारसहितको युद्धले क्रान्ति अब सम्भव छैन । त्यसैले आफ्नै घरमा बसेर संघर्ष गर्ने भनी म आफ्नै घर फर्केँ’ उनले भने । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

परराष्ट्रमन्त्री आज अर्जेन्टिना जाँदै

काठमाडौं, चैत ४। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अर्जेन्टिना प्रस्थान गर्ने भएका छन् । अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । चैत ६ देखि ८ गतेसम्म आयोजना हुने सम्मेलनमा मन्त्री ज्ञवालीले ‘दिगो विकासका चुनौती र अवसर’ विषयमा मन्तव्य दिनुहुने कार्यक्रम छ । त्यसैगरी, अर्जेन्टिनाका विदेशमन्त्रीद्वारा चैत ७ गते आयोजना गरिने एशियाली मुलुकका अधिकारीसँगको उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुने कार्यक्रम छ । मन्त्री ज्ञवाली अर्जेन्टिनामा रहँदा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम समेत तय भएको जनाइएको छ । सम्मेलनमा मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारीको समेत सहभागिता रहने छ । उनी चैत ९ गते स्वदेश फर्कने छन् ।