चन्दको अनधिकृत झुण्डलाई सरकारले चिन्दैनः प्रधानमन्त्री ओली

विराटनगर, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहलाई अनधिकृत झुण्डको संज्ञा दिएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसहित कहीँकतै दर्ता नभएको समुहलाई सरकारले नचिन्ने उल्लेख गरे । प्रधानमन्त्रीले चन्द समूह राजनीतिक दल नभएको उल्लेख गर्दै सो समूहले गरेका ध्वंसात्मक गतिविधिमाथि मात्र सरकारले प्रतिबन्ध लगाएको उल्लेख गरे । चन्द समुहलाई सरकारले लगाएको प्रतिबन्धबारे नेकपा भित्रैबाट बिरोध भएपछि प्रधानमन्त्री ओलीले सो समुह बारे धारणा राख्दा बिचार पुर्याउन नेताहरुलाई आग्रह गरे ।

प्रधानमन्त्रीले भने, बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानूनविपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए । फरक प्रसंगमा उनले तत्कालन मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो । पुनर्गठन हुँदैन ।” एकदिनको भ्रमणका लागि विराटनगर पुगेका प्रधानमन्त्री ओली कृषि बजारको उद्घाटनदेखि ताल निरीक्षणसम्मको कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीले मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्ने कार्यक्रम छ ।

सो लगत्तै नेपाल कम्यूनिष्ट पार्टीको प्रदेश नम्बर १ का सदस्यहरुलाई शपथ गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अपरान्ह बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी साँझ काठमाडौं फर्कने छ । कान्तिपुरदैनिकबाट

प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौं, चैत २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड आइतबार साँझ अमेरिका प्रस्थान गर्ने भएका हुन् । पार्किन्सन रोगबाट ग्रसित सीतालाई सुगर र उच्च रक्तचापको समस्या पनि छ ।

प्रशिक्षक जिदानको सुखद पुनरागमन, सेल्टा डि भिगोमाथि रियल मड्रिडको शानदार जित

एजेन्सी । जिनेदिन जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । मड्रिडले सेल्टा डि भिगोलाई २–० ले पराजित गर्दै जिदानको पुनरागमन सुखद बनाउन सफल भयो । सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो। ६२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ७७औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए । उनले मार्सेलोको पासमा गोल गरेका थिए । जितसँगै रियलले २८ खेलबाट ला लिगाको तालिकामा ५४ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक रहेको छ । सेल्टा भने २५ अंकसहित रेलिगेसन जोनमा छ ।

विप्लव समूहमाथि निगरानीः घुँडामुनी गोली हान्न निर्देशन

रोल्पा, चैत ३ । नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए । ‘चन्द समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ प्रजिअ एमसीले भने, ‘हामीले सुरक्षाकर्मीलाई अलर्ट राखेका छौं ।’ उनका अनुसार चन्द समूहका कार्यकर्ताले तीन साताअघि यहाँ टेलिफोनका दुई टावरमा बम हानेका थिए । स्थानीय तहका गाडीहरूमा आगजनी गरेका थिए । सदरमुकामका साथै ग्रामीण क्षेत्रका आधा दर्जन स्थानमा विस्फोटक पदार्थ भेटिएको थियो । ‘बम राखेर तर्साउन खोजेजस्तो देखिएको छ, सुरक्षा संयन्त्रलाई सचेत बनाएका छौं,’ प्रहरी नायब उपरीक्षक दीपक खड्काले भने । विस्फोट र केही कार्यकर्ताले हतियार देखाएको सूचनापछि रोल्पाका सबै प्रहरी इकाईमा सुरक्षाकर्मी थपिएको उनले बताए । जिल्ला सुरक्षा समितिले विस्फोट र आगजनीका घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ । हिंसात्मक गतिविधि रोक्न सबै सुरक्षा संयन्त्रबीच समन्वय गरेर परिचालन गरिएको समितिले जनाएको छ । समितिका अनुसार अहिले सयभन्दा बढी प्रहरी थपिएको छ । संघीय र प्रदेश सुरक्षा संयन्त्रले थप प्रहरी बल पठाएका हुन् । प्रजिअ एमसीका अनुसार सुरक्षा व्यवस्था खस्किन नदिन सबै अंग परिचालन गरिएको हो । अहिले जिल्लामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन् । सबै सुरक्षाकर्मीको संख्या २ हजार बढी छ । सेनालाई लामो दूरीको निगरानी गर्न स्वीकृति दिइएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

महानगरभित्रका पेट्रोल पम्प हटाउने अध्ययन कार्य सुरु

काठमाडौँ चैत ३ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रका साँघुरो स्थानमा रहेका पेट्रोल पम्प हटाउन अध्ययन थालेको छ । सुरक्षाका दृष्टिकोणले मानवीय क्षति हुन सक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पहरुलाई हटाउन यस्तो अध्ययन थालिएको हो । हाल सञ्चालनमा रहेका पम्पको अवस्था पहिचार गर्न महानगरपालिकाले अध्ययन समिति बनाएर काम थालेको समितिका संयोजक एवं महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । समितिमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभागलगायतका निकायको प्रतिनिधि छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भाषा संस्कृतिको संरक्षण राष्ट्रिय दायित्वको विषय होः सभामुख महरा

दाङ, चैत्र २ । सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन् । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताए । संविधानले बहुपहिचानयुक्त राष्ट्र स्वीकार गरेको भन्दै सभामुख महराले संविधानमा बहुपहिचानको सम्बोधन हुनु सबै समुदायको लागि ठूलो उपलब्धि भएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सभामुख महराले देशभित्र रहेका सबै भाषा तथा संस्कृतिको संरक्षणका लागि अझैं केही ऐन कानूनको अभाव रहेको र सरकारले छिट्टै त्यसको मस्यौदा बनाएर संसदमा ल्याउने विश्वास व्यक्त गरे । आफू पनि मगर समुदायकै बीचमै हुर्किएको भन्दै सभामुख महराले राजनीतिक यात्रामा मगर समुदायको विशेष भूमिकाले आफू राज्यको विशिष्ट स्थानसम्म पुग्न सफल भएको स्मरण गरे । यसैबीच सभामुख महराले प्रतिष्ठानमा गत बर्ष आफूले ५० हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेको भन्दै यस बर्ष उक्त अक्षयकोषमा ५० हजार रुपैयाँ थप गर्ने घोषणा गरे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृति र मौलिकता राष्ट्रिय पहिचान भएको बताउँदै नगरले सबै समुदायको भाषा, भेषभुषा र संस्कार संस्कृति संरक्षण गर्ने नीति लिएको उल्लेख गरे ।

न्यूजिल्याण्डको गोलीकाण्डमा मारिएकाप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं, चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँकी प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्डेनलाई आज एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा त्यस्ता अमानवीय र पाशविक कृत्यलाई न्यायसङ्गत मान्न नसकिने बताएका छन् । उनले आतङ्कवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा जोड दिएका छन् । न्यूजिल्याण्ड सरकार, त्यहाँका जनता तथा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनमा प्रधानमन्त्री ओलीले गहिरो दुःखका साथ हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

शहीद गंगालाल श्रेष्ठको जन्मशताब्दी भोलि, प्रचण्डले संवोधन गर्ने

काठमाडौं, चैत २ । शहीद गङ्गालाल श्रेष्ठ जन्मेको एकसय वर्ष पूरा भएको अवसरमा अवसरमा आइतबार काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधव नेपाल र कांग्रेस सभापति शेर बहादुर देउवाले संवोधन गर्ने छन् । मध्यान्ह १ बजे बसन्तपुरमा जन्म शताब्दी सभा हुनुअघि रामेछाप–काठमाडौं सम्पर्क मञ्च र संघीय जनसम्पर्क मञ्च रामेछापले विशेष झाँकी सहित र्याली निकाल्ने आयोजकमध्येका ईलक सिंह तामाङले जानकारी दिए । उनका अनुसार सभा हुनुअघि गंगालाल श्रेष्ठको प्रतिमा भएको स्थान शोभा भगवतीमा माल्यार्पण गरिने छ । वि.सं. १९७५ सालमा रामेछापको भँगेरीमा जन्मेका शहिद गङ्गालाल श्रेष्ठलाई राणा शासन बिरोधी गतिविधी गरेको भन्दै १९९७ साल माघ १५ गते सेन्ट्रल जेलबाट घरछेउको बाटोहुँदै विष्णुमती किनारमा रहेको शोभा भगवतीमा गोली हानेर मृत्युदण्ड दिईएको थियो । नेपालको राजनीतिक परिवर्तनको आन्दोनमा एक धरोहर गङ्गालालको जन्म शताब्दी मनाउनका लागी ‘शहीद गंगालाल श्रेष्ठ जन्मशताब्दी आयोजना समिति’ बनेको छ ।

उपराष्ट्रपति पुन लैनचौर सर्दै

काठमाडौं, चैत २ । उपराष्ट्रपतिको कार्यालय एक महिनापछि बहादुरभवन कान्तिपथबाट लैनचौरस्थित नयाँभवनमा सर्ने भएको छ । सरकारले गत वर्ष जेठमा समाज कल्याण परिषद्ले प्रयोग गर्दै आएको सो भवनलाई उपराष्ट्रपतिको आवासीय सुविधासहितको कार्यालय बनाउने निर्णय गरेको थियो । उपराष्ट्रपति कार्यालयका प्रवक्ता तेजराज पाण्डेले नयाँ वर्ष–२०७६ को दिन पारेर सर्ने योजना हो, तर त्यो दिनमा सम्भव नभएपछि बैशाख १५ गतेसम्म सरिसक्ने तयारी भइरहेको जानकारी दिए । समाज कल्याण परिषद् फागुन २२ गतेबाट ललितपुर पुल्चोकस्थित केन्द्रीय बालकल्याण समितिको भवनमा सरिसकेको छ । उपराष्ट्रपतिको आवास तथा कार्यालय निर्माण तथा सुरक्षा व्यवस्थापनका लागि भवन निर्माण कार्य जारी रहेको छ ।नयाँ कार्यालय मुख्य सडकसँगै भएकाले पर्खाल अग्लो र सुरक्षित बनाउने, सुरक्षा निकायका लागि आवासगृह (ब्यारेक) निर्माण तथा उपराष्ट्रपति आवास र कार्यालय निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी प्रवक्ता पाण्डेले दिए । सवारी सञ्चालनका लागि उत्तर र पूर्वी मोहडामा गरी दुईटा प्रवेशद्वारको व्यवस्था गरिएको छ । उत्तरी मोहडाको पुरानोलाई मुख्य प्रवेशद्वार र पूर्वतर्फको प्रवेशद्वारलाई वैकल्पिक रुपमा प्रयोग गरिने भएको छ । करिब २८ रोपनी १४ आना जमिनमा कलात्मकशैलीको चारतले पुरानो भवन रहेको छ । यो भवनको चौथो र तेस्रो तल आवास र दोस्रो तला र भुइँतला कार्यालय सञ्चालनमा प्रयोग हुने बताइएको छ । उपराष्ट्रपतिको कार्यालय आयोजना हुने औपचारिक सभा समारोह र कार्यक्रम सञ्चालनका लागि एउटा छुट्टै ‘अडिटोरियम’ हल निर्माण गर्ने तयारी भइरहेको छ । सर्वसाधारण तथा सवारीसाधनको बाक्लो ओहोरदोहोर हुने सडक नजिक कार्यालय भएकाले बाहिरी पर्खाल १२ फिट अग्लो र त्यसमाथि काँडे तारजालीसहित चारै दिशामा सीसी क्यामेरा जडान गरिँदै छ । एक दर्जन सुरक्षा डिउटी पोस्टहरु स्थापना गरिएको छ । पुरानो भए पनि भूकम्प प्रतिरोधक भवनलाई रङरोगन गरी कलात्मक र सुविधायुक्त बनाइँदै छ उपराष्ट्रपति कार्यालयका प्रवक्ता पाण्डेले भने, जनशक्ति पनि थारै भएकाले आवासीय सुविधासहितको उपराष्ट्रपति कार्यालय सञ्चालन गर्न लैनचौर उपयुक्त नै छ । कार्यालयको प्रवेशद्वार नजिक बसस्टप (पिक एन्ड ड्रप) र प्रतीक्षालय भएकाले सो स्थानलाई चार मिटर अगाडि सार्न आग्रह गरिसकेको छ । सुरक्षाको दृष्टिकोणले प्रतीक्षालय र बसस्टप सार्न पर्ने भएकाले सम्वन्धित निकायलाई आग्रह गरिएको उनले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

विप्लवका पोलिटब्यूरो सदस्य कार्की पक्राउ

काठमाडौं, चैत २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट पक्राउ गरिएको हो । केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ ।

१४ करोडका ‘कारगेड बाइक’ किन्दै सरकार, राष्ट्रपतिको सवारीमा १३ कारगेड प्रयोग

काठमाडौं, फागुन २६ । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो। उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । खरिद क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ। प्रहरीले २०५८ सालपछि पहिलोपटक गुणस्तरयुक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको जनाएको छ । ‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । त्यहीं निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ ।

नेकपा बाहेक कुनै पार्टीले समृद्धिको सपना पूरा गर्न सक्दैनः प्रचण्ड

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेकपा बाहेक कुनै पनि पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न नसक्ने बताएका छन् । रौतहटको गरुडामा नेकपा प्रदेश २ ले गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताए । उनले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट गर्दै वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको बताए । अध्यक्ष प्रचण्डले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउँदै तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताए । विभेद, असमानता र अन्यायविरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा रहेका भन्दै उनले मधेसी जनताको प्रशंसा गरे । देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिता रहेको प्रचण्डको भनाई थियो । तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउँदै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट पारे। नेकपाको एकीकरण सानोतिनो ऐतिहासिक काम नभएको बताउँदै जिल्ला र तल्लो तहसम्म छिट्टै पार्टी एकताको काम सम्पन्न गरी देश दौडाहामा आफूहरु जाने पनि प्रचण्डले बताए ।

मेयर चढ्ने गाडीको ठक्करबाट अर्नाको मृत्यु

इनरुवा, फागुन २५ । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गएराति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा सरकारी गाडीको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको स१झ ४९३ नंको त्रियुगा नगरपालिकाका नगर प्रमुख चढ्ने गरेको गाडीको ठक्करबाट अर्नाको मृत्यु भएको हो । रातिकोे समयमा चरिचरनका लागि निस्किएको आरक्षको वयस्क पोथी अर्नाको गाडीको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो । गाडीमा समेत क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको फुयाँलले बताए । रासस

चैतपछि खुला दूध बिक्री गर्न नपाइने

पाल्पा, फागुन २५ । सरकारले जारी गरेको दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका चैत ४ गतेदेखि पाल्पामा पनि लागू हुने भएको छ। निर्देशिका लागू भएपछि खुला प्लाष्टिकमा दूध बिक्री गर्न पाइने छैन। निर्देशिका अनुसार डेरी उद्योगले खुला तथा प्रशोधित नगरिएको दूध बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। अबका दिनमा दूध डेरी उद्योगले लेवलिङ गरेको दूध मात्र बिक्री वितरण गर्न पाउने छन्। निर्देशका पारित भएको ६ महिनापछि अनिवार्य रूपमा लागू हुने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले दूध उत्पादक, संकलनकर्ता, दूध संकलन सहकारी, ढुवानीकर्ता, चिस्यान केन्द्र, दूध बिक्रेता तथा डेरी उद्योग, उपभोक्तावादी संघसंस्थाबीच छलफल गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले खाद्य स्वच्छता तथा दूधजन्य खाद्य पदार्थसम्बन्धी कार्यक्रममा जिल्लाका सरोकार निकायसंँग उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय दूध वितरण गर्ने विषयमा छलफल गराएको हो।

१५ लाख माग गरी झुठो सूचना दिने व्यापारी पक्राउ

धनगढी, फागुन २५ । आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठो सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुठो सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढीका स्थानीय व्यापारीसँग लिएको ऋणको कर्जावापत अनादर चेक दिनुपरेको र सोही कारण आफू समस्या पर्ने डरले पञ्जाव गई त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको निजले प्रहरी समक्ष स्वीकारेका छन् । सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फैन्सी नामको पसल समेत सञ्चालन गरेको जनाइएको छ ।

कार र ट्रक ठोक्किँदा एकै परिवारका १० जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्डमा कार र ट्रक आपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका १० जनामध्ये तीन जना महिला र दुई जना बालबालिका छन् । पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।