तरकारी ढिलो पकाएको भन्दै श्रीमतीमाथि गोली प्रहार !
बागलुङ, फागुन १८ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन्। कम्मरको भागमा छर्रा लागेर घाइते भएकी घर्तीलाई मोटर बाटोमा हिँउ जमेको कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) चिरञ्जिवी कोईरालले जानकारी दिए ।
विहीबार मापद पदार्थ सेवन (मापसे) गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकालेपछि भनाभन हुँदा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिएकी छन्। बन्दु प्रहार गर्ने चन्द्रबहादुर फरार रहेका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। बन्दुकको लाईसेन्स समेत नभएको प्रहरी नायव निरीक्षक बानियाँको भनाई छ। यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
रवीन्द्रसँग चुनाव हारेका चालिसे भन्छन्, ‘कास्कीले तत्काल अर्को रवीन्द्र पाउँदैन’
काठमाडौं, फागुन १७ । गतवर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा रविन्द्र अधिकारीसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेद्वार देवराज चालिसेले अधिकारीजस्तो नेता पाउन मुस्किल रहेको बताएका छन्। पृथ्वी नारायण क्याम्पस पोखरामा रवीन्द्र अधिकारीले विद्यार्थी राजनीति गर्दा देवराज चालिसेले प्राध्यापन गर्दथे। विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा प्रवेश पाएका अधिकारीले गत निर्वाचनमा पृथ्वी नारायण क्याम्पसका आफ्नै गुरुसँग प्रतिस्पर्धा गरेका थिए। गुरु र चेलाको सम्वन्ध दुई फरक पार्टी हुँदै चुनावी प्रतिस्पर्धामा पुगेको थियो। वामगठबन्धनबाट अधिकारी उम्मेदवार बनेका थिए भने कांग्रेसले चालिसेलाई चुनावी मैदानमा उतारेको थियो।कास्की २ बाट चेला अधिकारी विजयी भए। गुरु चालिसे पराजित भए। अधिकारीसँग प्रतिस्पर्धा गर्नकै लागि चालिसेले १७ वर्षे प्राध्यापन पेसा त्यागेका थिए। हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका अधिकारीलाई उनका प्रतिस्पर्धी चालिसेले दुरदर्शी नेताका रुपमा स्मरण गर्छन्। काँग्रेसका निष्ठावान र बौद्धिक व्यक्ति रुपमा परिचित चालिसे भन्छन् ‘हामी चुनावमा पार्टी÷पार्टी विच प्रतिस्पर्धा गर्र्यौ। व्यक्तिगत प्रतिस्पर्धा गरेनौं।’ पार्टी फरक भएपनि व्यक्तिगत सम्वन्ध सधैं हार्दिक रहेको चालिसेले स्मरण गरे। प्रतिस्पर्धा चुनावमा रहेपनि प्रतिद्धन्द्धता नरहेको उनले बताए। अल्पायुमा निधन भएका अधिकारीसँग सधैं मित्रवत सम्वन्ध रहेको चालिसेले बताए। उनले भने ‘मित्रवत प्रतिस्पर्धाले सकरात्मक संस्कारको विकास गर्यो।’ राजनीति बुझेको व्यक्तिमा हार्दिकता र सरलता हुने बताँउदै चालिसेले ती गुण अधिकारीमा रहेको बताए। चुनावी प्रतिस्पर्धाका क्रममा कतिपय उम्मेदवारले एक अर्काले आक्षेप लगाउने गलत परम्परा प्रचलनमा छ। त्यस्तो चालिसे र अधिकारीका विचमा देखियो? चालिसे भन्छन् ‘अहँ हामी विच सौहार्द प्रतिस्पर्धा भयो। गाली गलौज र तथ्यहिन आरोप प्रत्यारोप भएन।’ चुनावी प्रतिस्पर्धाका क्रममा कुनै कटुता नभएको उनले स्मरण गरे। प्रचारप्रसारकै क्रममा अधिकारीसँग पटकौं भेट भएको उनीसँग सम्झना छ। दुई प्रतिस्पर्धीले फेवातालबाटै सञ्चारमाध्यमलाई सँगै अन्तरवार्ता दिएका थिए। स्थानीय एफएम र टेलिभिजनमा दुबैको एकसाथ अन्तवार्ता दिएको चालिसेले बताए। घरदैलो अभियानमा पनि दुई प्रतिस्पर्धीको दर्जनौं भेट भएको चालिसे सम्झन्छन्। चुनावी प्रतिस्पर्धी भएपनि चुनाव सकिएसँगै मित्रवत् व्यवहार उतिकै भएको चालिसेले बताए। अधिकारी मन्त्री भइसकेपछि विकासका कार्यमा आवश्यक छलफल हुने गरेको उनले बताए। उनले भने ‘समग्र पोखराको विकासको बारेमा हाम्रो ‘कमन धारणा’ थियो। पार्टी भन्दा माथि उठ्नुपर्छ ,कास्की बनाउनुपर्छ भन्ने थियो।’ राजनीतिशास्त्रका प्राध्यापक चालिसेले अधिकारीकै उचाईको नेता कास्कीले प्राप्त गर्न समय लाग्ने बताए। अधिकारीको निधन राष्ट्र र कास्की जिल्लाको लागि अपूरणीय क्षति भएको उनले बताए। गत प्रतिनिधि सभाको निर्वाचनमा कास्की २ बाट अधिकारीले २७ हजार २०७ मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी चालिसेले १८ हजार ६६१ मत पाएका थिए। नेपाललाइभ अनलाइनबाट साभार
जनार्दन शर्मा भन्छन्, ‘सिंहदबारमा स्थानीय तहलाई कमजोर पार्ने नियत देखियो’
काठमाडौं, फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारमाथि नियतवश संघीयता कार्यान्वयन गर्न नखोजेको गुनासो गरेका छन् । संविधानमा व्यवस्था गरिएको प्रदेश र स्थानीय तहको अधिकार कटौती गर्ने गरी ऐन–कानून तर्जुमा गर्ने काम भइरहेको भन्दै उनले असन्तोष पोखे । गाउँपालिका राष्ट्रिय महासंघको कार्यक्रममा पूर्वमन्त्री शर्माले भने, ‘संविधानअनुसार ऐन–कानून बनाउनुपर्नेमा सिंहदबारबाट तल जानु पर्ने अधिकार गएन, यस्तो केन्द्रीकृत सोचले फाइदा गर्दैन ।’ संघीय सरकारले बनाईदिनुपर्ने धेरै ऐन, कानून, कार्यविधिमा नियतवस अधिकार केन्द्रीकृत गर्न खोजिएको उनको भनाइ छ । अहिले संघीयता कार्यान्वयन गर्ने र नगर्न चाहने पक्षबीच संघर्ष चलिरहेको भन्दै उनले संविधान अनुसार अधिकार नदिए संघीयता कार्यान्वयन नहुने र मुलुक फेरि द्वन्द्वतर्फ जाने चेतावनी दिए । स्थानीय तहका जनप्रतिनिधिले पनि पाएको अधिकारको दुरुपयोग नगर्न सचेत गराउँदै शर्माले जोडर चलाउन छाडेर शिक्षा र स्वास्थ्यमा जोड दिन सुझाव दिएका छन् ।
कसरी बन्ने इन्स्पेक्टर? यस्ता छन् महत्वपूर्ण उपाय
एसएसपी उत्तमराज सुवेदी, प्रहरी प्रवक्ता । प्रहरी निरीक्षक (पोलिस इन्स्पेक्टर) पद नेपाल प्रहरीमा अधिकृत स्तरको जागिर हो । यो पदमा वार्षिक करिब ५० देखि सयजनाको पदपूर्ति हुन्छ । तर, करिब ३२ देखि ३५ सयको हाराहारीमा युवाले आवेदन दिने गरेका छन् । अन्य सरकारी जागिरजस्तै प्रहरीमा पनि युवाको आकर्षण बढ्दो छ भन्ने यसले देखाउँछ । यसै परिपे्रक्षमा प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले इन्स्पेक्टर हुन चाहने युवाका लागि केही सुझाब दिएका छन् । निरन्तर अभ्यास शारीरिक सुगठनको परीक्षा दिनुअघि आवश्यक व्यायाम गर्नुपर्छ । नियमित व्यायाम गरेमा शारीरिक सुगठनमा पास गर्न सकिन्छ । साथै, व्यायामले फिटनेसमा पनि भूमिका खेल्छ । तालिमको समयमा सबै किसिमका फिटनेस सूत्र अपनाइने भएकाले त्यसका लागिसमेत अभ्यास गर्न सकिन्छ । त्यसैगरी, परीक्षामा दौड, हाइजम्फ, लङजम्प आदिजस्ता क्रियाकलाप पनि गराइने भएकाले यिनीहरूको पूर्वाभ्यास गर्न जरुरी छ । आत्मविश्वास परीक्षामा पास गर्नलाई आत्मविश्वास जरुरी छ । तसर्थ, सबैभन्दा पहिले त आफूसँग पास गर्न सक्ने क्षमता छ भन्ने सकारात्मक धारणा बनाउनुपर्छ । इन्स्पेक्टरका लागि विभिन्न चरणमा परीक्षा हुन्छन् । मुड फ्रेस बनाएर सबै परीक्षाका लागि तयारी गर्नुपर्छ । धेरै तनाव वा दबाब महसुस गर्नुहुन्न । विषयवस्तुुमा आधारित हुने इन्स्पेक्टरको लिखित परीक्षा लोकसेवा आयोगले लिने गर्छ । यसका लागि विभिन्न प्रकाशनले पाठ्यक्रमका पुस्तक निकालेका हुन्छन् । लिखित परीक्षाका लागि लामो समय प्राप्त हुने भएकाले राम्ररी परीक्षाको तयारी गर्न सकिन्छ । पढ्ने नाममा रट्ने, अनावश्यक भार महसुस गर्ने गर्नुहुँदैन । समूह बनाएर पढ्ने एक्लै बसेर पढ्नुभन्दा साथीहरूसँग छलफल गरेर पढ्दा बढी लाभ मिल्छ । साथीहरूबीच दुईजना जनाको समूह बनाएर पढ्न सकिन्छ । त्यस्तै, लोकसेवाका लागि सञ्चालन गरिने तयारी कक्षाहरूमा भाग लिएर पनि आफूमा आत्मविश्वास बढाउन सकिन्छ । परीक्षाका दौरान सजग कतिपय परीक्षाको समयमा बेकारमा आत्तिएर फेल हुने गरेका छन् । प्रहरी निकाय र लोकसेवा आयोगबीचको संयुक्त परीक्षा अलि गाह्रो पनि हुने गर्छ । साथै, परीक्षाका विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । त्यसैले हरेक चरणमा उत्तिकै सजग हुन आवश्यक छ । सजग भएमा कठिन परीक्षा पनि पास गर्न सकिन्छ । शारीरिक तन्दुरुस्ती प्रहरी निरीक्षक हुनका लागि सबैभन्दा पहिला त शारीरिक सुगठन जरुरी छ । शरीर पूर्ण रूपमा स्वस्थ हुनुपर्छ । शरीरमा कुनै किसिमको चोट नभएको हुनुपर्छ । महिलाको हकमा न्यूनतम उचाइ ५ फिट र पुरुषको हकमा ५ दशमलव २ फिट हुनैपर्छ । त्यस्तै, छाती पुरुषको हकमा नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुन अनिवार्य छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
गोदामचौर बलात्कार प्रकरणः संलग्न तीनै जनालाई १० वर्ष कैद
ललितपुर, फागुन १७ । गोदामचौरका सामूहिक बलात्कार घटनाका तीनै जनालाई दस वर्ष कैद सजाय तोकिएको छ । बलात्कारमा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई ललितपुर जिल्ला अदालतले दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो । अदालतका अनुसार दोषी तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ।उनीहरुले०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए। ज्यान मार्ने उद्योग तर्फ पनि तीनै जनालाई १०-१० वर्ष कैद सजाय तोकेको छ। चोरीको बिगोबराबर ३ हजार रुपैयाँ तिराउने फैसला भएको छ। चोरीतर्फ ६० दिन कैद सजाय तोकेको छ।
वाइडबडीमा रवीन्द्र अधिकारीलाई मुछ्नु दुखदः प्रधानमन्त्री
काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी ओलीले वाइडबडी खरिद प्रक्रियामा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीलाई मुछ्नु दुखद् भएको बताएका छन् । अधिकारीको शोक प्रस्ताव पारित गर्न नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर केही तत्वले बदनाम गर्न खोजेको बताए । ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको विषय वाइडबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो’ उनले भने, ‘उनले कुनै लोभलालचका लागि होइन र उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।’ वाइडबडीमा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भनेका छन्, ‘मलाई दुःख लाग्छ कि उहाँजस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छना लगाउने र अपमान गर्ने कामहरु पनि भयो । मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गरेको उनले दाबी गरे ।’ छ वटा विमास्थलमा रात्रि उडान सञ्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने
पोखरा, फागुन, १७ । ताप्लेजुङको दारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा समापन गरिने भएको छ । पोखराको प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा बोल्दै अधिकारीका बालसखा धनराज आचार्यले उक्त कुरा बताएका हुन् । आचार्यले पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासमा उनको काजकिरिया ७ दिनमा र्यले बताए । मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए । त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको उनले श्रद्धाञ्जली सभामा जानकारी दिए । उनका अनुसार अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ । पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ । रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनेछन् ।
‘सी डिसाइडस’ अभियान नेपालमा
काठमाडौँ, फागुन । बिना हिचकिचाहट प्रत्येक महिला तथा किशोरीले आफ्नो शरीर, जीवन र भविष्यको बारेमा आत्मनिर्णय गर्ने अधिकार (सी डिसाइडस) विश्वव्यापी अभियान नेपालमा शुक्रबारबाट औपचारिकरूपमा सुरु गरिने भएको छ । वियोङ्ग बेइजिङ कमिटि (बीबीसी) नामक संस्थाको संयोजकत्वमा नेपालमा उक्त अभियान सुरू गर्न लागिएको हो । सी डिसाइडस्ले एसिया प्रशान्त क्षेत्रका अभियान्तासहितको सहभागितामा काठमाडौँमा शुक्रबार र शनिबार यस अभियानका बारेमा चेतना जगाउने कार्यक्रमको आयोजना गरिनेछ । अभियानका अवसरमा २५ देशका २५ वर्ष उमेर पुगेका २५ जना युवाको अवस्था पनि सार्वजानिक गरिनेछ । वीबीसीका अध्यक्ष शान्ता श्रेष्ठले नेपाली महिला वा किशोरीको शरीर र जीवन अधिकारको सुनिश्चित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालमा उक्त अभियानको थालनी गर्न लागिएको जानकारी दिए ।
भारत–पाकिस्तानको तनाबप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त
काठमाडौं, फागुन १७ । भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपति विद्या भण्डारीले चिन्ता व्यक्त गरेकि छन् । उनले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन्। शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गरिन्। राष्ट्रपति भण्डारीले हाम्रो सनातन चिन्तनले सहिष्णुता, सह–अस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रबर्द्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याइन् । ३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन्।
नेकपा नेता भरतमोहन अधिकारी अचेत, भेन्टिलेटरमा राखियो
काठमाडौं, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अचेत भएपछि भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ । अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेका ह्याम्स अस्पतालले जनाएको छ ।
हेलिकोप्टर दुर्घटनाः प्रचण्डद्वारा मृतकका परिवारलाई भेट
काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका परिवारलाई भेट गरेका छन्। प्रचण्डले विहीवार विहान पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरे । यस्तै, प्रचण्डले पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटेर समवेदना दिएको सचिवालयले जनाएको छ। मन्त्री अधिकारीको मृत्य भएपछि पोखरबाट काठमाडौं ल्याइएका बाबु अझै अर्धचेत अवस्थामा रहेका छन्। बुधबार अपरान्ह ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो।
हेलिकप्टर दुर्घटना अपडेट: शव काठमाडौँ ल्याइने तयारी
काठमाडौँ, फागुन १६ नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपुऱ्याइएको छ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरू सबै शवको विमानस्थलमा मुचुल्का गरी आजै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । रासस
पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका यी हुन् मुख्य उपलब्धि
काठमाडौं, फागुन १६ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सातजनाको निधन भएको छ । तेह्रथुमको चौहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई (एएस ३५०–बी३ई)’ हेलिकोप्टर दुर्घटनामा परेको हो । मन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य उपलब्धि १. मन्टियल सन्धि संसद्बाट पास गरी कार्यान्वयनमा ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुग्यो। २. राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा तीव्रता, अल्झन फुकाउने काममा उनको सक्रियता विशेष थियो। ३. उनको कार्यकाल अवधिमा नेपालमा सर्वाधिक पर्यटक नेपाल भित्रिए, सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए । ४. नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम गरे । पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन उनको ठूलो भूमिका छ । ५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन, त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन सहजीकरण गरे। ६. धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु गरे । आन्तरिक नेपाली वायुसेवा कम्पनीले रात्रिकालीन विमान उपत्यकाबाहिर बस्ने गरी काम सुरु गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ। यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको छ ।
विज्ञ भन्छन्- दबाबमा जोखिम मोलेर उडान गर्दा दुर्घटना
काठमाडौं, फागुन १६ । खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने । ‘दुर्घटना हुनुअघि मौसम खराब थियो भन्ने त थाहा भएकै विषय भयो । त्यसमा पनि पर्यटनमन्त्री, हेलिकप्टर मालिक, उड्डयन प्राधिकरणका पदाधिकारी रहेको उडानमा जोखिम हुँदाहुँदै पनि पाइलटले भन्न नसकेका हुन सक्छन् । मन्त्री र हेलिकप्टर मालिक हुँदाहुँदै जोखिम लिएर उडेको हुन सक्छ’, उनले भने । अन्नपूर्ण पोस्टका लागि राजु बास्कोटाले लेखेको समाचारमा लेखिएको छ- नियामक निकाय, एयरलाइन्सका मालिक र मन्त्री भएकाले सानोतिनो जोखिम टार्न सकिन्छ भनेर लिएको जोखिमले ठूलो दुर्घटना भएको अनुमान मानन्धरको छ । दुर्घटनामा परेको हेलिकप्टर १२ हजार ४४८ फिट उचाइमा ७ जना यात्रु बोकेर उडेको थियो । मानन्धरका अनुसार जाँदा तौल बढी भए पनि फर्किएर तेल खपत भइसकेकाले तौलका कारण जोखिम कम भएको हुनुपर्छ । तर त्यो अल्टिच्युडमा यात्रु बोक्नु र नियम केलाउने हो भने १० हजार फिटमाथि उड्दा अक्सिजन लगाउनुपर्ने नियम पनि पालना भयो कि भएन भनेर पनि हेर्नुपर्ने मानन्धर बताउँछन् । जहाज दुर्घटना जाँच आयोगले दिने हरेक प्रतिवेदनको सुझाव कार्यान्वयनको पाटो पनि अर्को महत्वपूर्ण पक्ष रहेको उनको भनाइ छ । प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली दुर्घटनालाई इतिहासभन्दा फरक रूपमा हेर्नुपर्ने बताउँछन् । उनले भने, ‘साधारण मान्छेले बुझ्ने त मौसम हो । तर विस्तृत विवरण अनुसन्धानबाटै आउँछ ।’ पाइलटले कसैले दबाब दिँदैमा ज्यानै जाने गरी जोखिम लियो भनेर भन्न नसकिने उनले बताए । उनले भने, ‘एउटै कारणले दुर्घटना हुने होइन । यसअघिका केही दुर्घटनाका प्रतिवेदन कार्यान्वयन भए वा भएनन्, त्यो हेर्नुपर्छ ।’ उनले कमजोरीलाई सुधार गर्दै जानुपर्नेमा त्यस्तो नभएको बताए । ‘नेपालको हवाई उड्डयनको इतिहासमा भएको यो खालको दुर्घटनाको विस्तृत अध्ययन हुनुपर्छ । अहिले नै कसैलाई दोष लगाउनु उपयुक्त हुँदैन’, दलीले भने । दुर्घटना जाँच आयोग गठन सरकारले हेलिकप्टर दुर्घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न जाँच आयोग गठन गरेको छ । पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित जाँच आयोगमा चारजना सदस्य छन् । आयोग सदस्यमा नेपाली सेनाका सहायक रथी दीपक बास्तोला र अवकाश प्राप्त क्याप्टेन प्रमोद लामा सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन् । क्याप्टेन प्रभाकर केसी क्याप्टेन प्रभाकर केसीले एयर डाइनेस्टीको हेलिकप्टर उडाउन थालेको ६ वर्ष भएको थियो । उनले विगत साढे ३ वर्षदेखि क्याप्टेनका रूपमा हेलिकप्टर उडाइरहेका थिए । काठमाडौं ताहाचलका स्थायी बासिन्दा केसीको परिवारमा बुबाआमा र दाजु छन् । अन्नपूर्ण पोस्टबाट
राजधानीमा हिमपात
काठमाडौँ, फागुन १६ । राजधानीमा एकाबिहानै हिउँ परेको छ । एकाएक मौसममा आएको परिवर्तनपछि बिहिबार सखारै राजधानी काठमाडौँ लगायत भक्तपुर र ललितपुरका सहरी क्षेत्रमा समेत हिमपात हो ।
आज राष्ट्रिय शोक र सार्वजनिक बिदा
काठमाडौँ, फागुन १६ । मन्त्रीपरिषदको आकस्मिक बैठकले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङ हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले आज (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको हो। पाथिभरा जाँदा त्यो हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि सवार थिए। मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायतको बुधबार निधन भएको हो।


>
>
>