बेनी–जोमसोम सडक कालोपत्र हुँदै

गलेश्वर, माघ २७ । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ ।

प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने जानकारी दिएका हुन् । कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजना हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै आयोजना प्रमुख अधिकारीले चालू आर्थिक वर्षभित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने दाबी गरे ।

बेनीबजार संरक्षणका लागि प्याकेजमा निर्माण शुरु

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्य शुरु भएको छ ।

पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनासँग सम्झौता गरी उपभोक्ता समितिमार्पmत शुक्रबारदेखि काम शुरु गरिएको हो । चार उपभोक्ता समिति गठन गरी निर्माणकार्य थालिएको बेनी नगरपालिका–८ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनलाई अगाडि बढाइएको उनको भनाइ थियो ।

रु दुई करोड ८५ लाख लागतमा निर्माण हुन लागेको आयोजनामा स्थानीयवासीको १० प्रतिशत श्रमदान रहने वडाध्यक्ष बराइलीले बताए । तीन महीना ९वैशाख० सम्ममा सक्ने सम्झौता भए पनि उपभोक्ता समितिले डेढ महीनामा नै निर्माण सम्पन्न गर्ने गरी फास्टट्रयाकमार्फत निर्माण कार्य अगाडि बढाइने गणेश टोल कालीगण्डकी संरक्षण उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जानकारी दिए ।

बेनी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीगण्डकी नदीको किनारमा १७१ मिटर ग्याविनसहितको अस्थायी पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १८० मिटरमा जाली बिछ्याइने उपभोक्ता समितिका अध्यक्ष कर्माचार्यले बताए । रासस

लापरबाहीको कारण सवारी दुर्घटना हुँदा चालकको मृत्यु, १३ घाइते

धादिङ, माघ २७ । लापरबाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेंसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा.३.ख २७३१ नं.को यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस

बसन्त पञ्चमीको अवसरमा राष्ट्रपतिबाट शुभ साइतमा बसन्त श्रवण

काठमाडौँ, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्त पञ्चमीका अवसरमा आइतबार बिहान ८ः२४ बजेको शुभ साइतमा बसन्त श्रवण गरे । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे। श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले बसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ । बसन्त पञ्चमीको दिनदेखि बसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ । गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकद्वय पनि वसन्त श्रवणका लागि हनुमानढोका पुगेका थिए । त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो । रासस

बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। याङिबाट मेलम्ची आउँदै गरेको बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २० मिटर तल खोलामा खस्दा बोलेरो चालक मेलम्ची नगरपालिका–७ का भीम रसायलीको घटनास्थलमै मृत्यु भएको मानेखर्क प्रहरी चौकीका प्रमुख रमेश महतले जानकारी दिए। बोलेरोमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त !

काठमाडौं, माघ २६ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने प्रावधान छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न भए वा राजनीतिक गतिविधिमा भाग लिए बर्खास्त गरिने’ उल्लेख छ । विदेशमा स्थायी बसोबासको अनुमतिपत्र (डीभीरपीआर) का लागि आवेदन दिएको पाइए पनि कर्मचारीलाई सिधै बर्खास्त गरिनेछ । तल्लोदेखि माथिल्लो तहसम्मकै निजामती कर्मचारी दलका झन्डा बोकेर राजनीतिक गतिविधिमा होमिन थालेपछि सरकारले नियमन गर्न खोजेको हो । विधेयकमा ‘राजनीतिक गतिविधिमा भाग लिए वा कुनै राजनीतिक पदका लागि उम्मेदवार बने’ सेवाबाट बर्खास्त गरिने प्रस्ताव छ । त्यस्तै राजनीतिक दलको चुनावको प्रचारप्रसार गर्न, जुलुसमा भाग लिन, चन्दा दिन, कसैलाई भोट माग्न, घेराउ गर्न, दबाब दिन, कलम बन्द गर्न, सरकारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले अनशनमा बस्नसमेत कर्मचारीलाई प्रतिबन्ध लगाइएको छ । निजामती कर्मचारीका तर्फबाट ट्रेड युनियनको राजनीति गर्नसमेत बन्देज लगाइएको छ । दलका शुभेच्छुक संगठन बनाउन भने छुट छ । पार्टीअनुसारका ट्रेड युनियन खडा गरी राजनीति गर्ने र नाजायज माग पूरा गराउन राजनीतिक नेतृत्व र सरकारलाई दबाब दिने क्रम बढेपछि रोक लगाउन खोजिएको हो । निजामती कर्मचारीको हकहितका लागि एउटा मात्र आधिकारिक ट्रेड युनियन हुने र त्यसैमार्फत सरकारसँग संवाद र सहमति गर्ने प्रावधान राखिएको छ । विधेयकमा आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै समूहले माग राख्न नपाउने र आधिकारिक युनियनमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने उल्लेख छ । युनियनको निर्वाचन हरेक तीन वर्षमा हुने प्रस्ताव गरिएको छ । युनियनका पदाधिकारी र सदस्य रहेका कर्मचारी पदीय जिम्मेवारीबाट उम्कन नपाउने व्यवस्था गरिएको छ । ‘कुनै पनि कर्मचारीले पदीय जिम्मेवारीबमोजिमको कामबाट उन्मुक्ति पाउने छैन,’ विधेयकमा भनिएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत होइनः गगन थापा

गोरखा, माघ २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन्। कांग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका हुन्। अहिले आर्थिक जोखिममा परेको नेपाललाई आर्थिक जोखिमबाट मुक्त गर्नतर्फ सरकार लाग्नुपर्ने भए पनि सरकारको पहिलो प्राथमिकताको विषय अलग हुनु गलत भएको उनको भनाइ छ । नेता थापाले देशमा लगानीको उपयुक्त वातावरण अझै बन्न नसकेको भन्दै देशभित्रको उद्योगधन्दा र आर्थिक क्रियाकलाप चलायमान भए मात्र वैदेशिक लागनी भित्र्याउन सकिनेमा जोड दिए ।

विप्लव निकट प्राध्यापकको केन्द्रीय समिति चयन, हेर्नुस् को–को छन् समितिमा ?

परासी, माघ २६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको चौंथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले नयाँ केन्द्रीय समिति गठन गर्दै शनिबार सकिएको हो । साथै, सम्मेलनले १४ बुँदे शैक्षिक घोषणा पत्रसमेत जारी गरेको छ । डा. मोहन खतिवडाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा डा. भगवानचन्द्र ज्ञवाली, महासचिवमा हिमलाल पराजुली, सचिवमा खोपीराम वली र कोषाध्यक्षमा भीमबहादुर भण्डारी छन् । सदस्यहरुमा कृष्ण घिमिरे, धर्म थापा, डा. तीर्थ श्रेष्ठ, हरिचन्द्र कमली, प्रेमसिंह भाट, कुम्भराज बडुवाल, भुवन मल्ल, वंशिधर आचार्य, सूर्यप्रसाद भट्टराई, गणेश राना, शेरचन्द्र गिरी, हेमराज पौडेल, सुशिल भट्टराई, सागर अधिकारी, डा. शिवशंकर बस्याल छन् ।

आफ्नै छोरीलगायत बलात्कारका १९३ घटनामा प्रहरीले खोज्दै आएको व्यक्ति कानुनको फन्दामा

मनिला । बलात्कारका एक सय ९३ घटनामा प्रहरीले खोजी गर्दै आएको एक व्यक्ति अन्ततः प्रहरीको कब्जामा पर्न सफल भएको छ । प्रहरीले एउटा छापा मार्ने क्रममा उक्त व्यक्तिलाई पक्रिन सफल भएको हो । पक्राऊ परेको व्यक्तिबाट कैयन आपत्तीजनक सामग्री पाइएको समेत प्रहरीले जनाएको छ । घटना फिलिपिन्सको हो । यहाँको अपराधिक जाँच समूहका अनुसार राजधानी मनिलामा एकजना व्यक्तिलाई १ सय ९३ वटा बलात्कारको घटनामा खोजी भइरहेको बेला अन्ततः पक्रिन सफल भएको हो । शनिबार बिहान उक्त व्यक्तिलाई पमपंगा भन्ने स्थानबाट हिरासतमा लिइएको थियो । अधिकारीहरुले संदिग्ध व्यक्तिको पहिचान ३६ वर्षीय एन्थोनी नोपितका रुपमा गरेको छ । उक्त व्यक्ति पछिल्लो दुईवर्षदेखि लुकेको जनाइन्छ । आरोपि व्यक्तिमाथि आफ्नै छोरीमाथि समेत यौन शोषण गरेको आरोप छ । २७ मार्च २०१७ मा क्षेत्रीय अदालतको आदेशबाट उक्त व्यक्तिका नाममा सर्च वारेन्ट जारी भएको थियो । सुनसान क्षेत्रमा युवतीहरुलाई पक्रेर बलात्कार गर्दै आएका ती व्यक्तिले आफ्नै १७ वर्षीय छोरीमाथि समेत बलात्का गरेको आरोप छ ।

मञ्चमै ढले गाउँपालिका अध्यक्ष

पाँचथर, माघ २६ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेर बेहोस भएका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेका हुन् । उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्‍याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको छ। उनी अचेत अवस्थामा रहेको स्थानीयले बताएका छन्। प्रारम्भिक उपचारमा उनको बीपी कम देखाएको स्थानीयले बताए।

उडिरहेको जहाजको ढोका अकस्मात खुलेपछि इमर्जेन्सी अवतरण

काठमाडौं, माघ २६ । उडिरहेको जहाजको ढोका अचानक खुलेपछि आकस्मिक अवतरण गरिएको छ । भारतको पन्तनगर एयरपोर्टबाट पिथौरागढतर्फ गइरहेको ९ सीटर यात्रु विमानको आकस्मिक अवतरण गरिएको हो । जहाजले उडान भरेको केही समयपछि एकाएक ढोका खुलेपछि पन्तनगर एयरपोर्टमा नै आकस्मिक ल्याण्डिङ गरिएको थियो । विमानमा ३ महिलासहित ९ जना यात्रु रहेका थिए । जहाज आकस्मिकरुपमा अवतरण भएपछि सडकको बाटोबाट यात्रुहरु पिथौरागढ गएको अमरउजालाले जनाएको छ । जहाजको ढोका खुलेपछि यात्रुहरु रुन थालेको एक यात्री पंकज चन्दले बताए । जहाज कम्पनीका म्यानेजर मोहित नेगीले भने ढोका नखुलेको बरु प्राविधिक खराबी भएपछि आकस्मिक अवतरण गरिएको बताएका छन् ।

अध्यक्ष केसी भन्छन्, ‘भेनेजुएला प्रकरणमा ओली डराए, प्रचण्ड प्रष्ट’

बुटवल, माघ २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भेनेजुएला प्रकरणमा पूर्व एमालेका केही नेताहरु र सरकारमा रहेकाहरु अमेरिकाको डरमा वास्तविक कुरा बोल्न डराइरहेको बताएका छन् । बुटवलमा प्रगतिशिल पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भने, ‘अमेरिकाको तानाशाही प्रवृत्तिको विरोध गर्नुपर्ने ठाउँमा लोलोपोतो गरिरहेका छन्, उनले भने–पूर्वमाओवादीहरु प्रष्ट देखिए, उनीहरु सही बाटोमा छन् ।’ उनले भेनेजुएलाको विषयमा नेकपा अध्यक्ष प्रचण्डले दिएको धारणाप्रति समर्थन गरे । ‘वास्तविक कुरा नै त्यही हो, उनी भन्छन्–भएको कुरा बोल्न किन डराउने ?’

प्रचण्डले माओवादी जन्मिने चेतावनी दिएपछि राती पौने १२ बजे ईश्वर पोखरेलले लेखे यस्तो स्टाटस

काठमाडौ, माघ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचाण्डले फेरि माओवादी जन्मन सक्छ भन्दै दिएको अभिव्यक्ति सुनेपछि नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले मध्यराती त्यसको प्रतिक्रिया दिएका छन । राती ११ः४५ बजे सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका पोखरेलले त्यसको प्रतिक्रिया दिएका हुन् । के भनेका छन् पोखरलेलले स्टाटसमा ? हेर्नुस्– परिस्थिति र पार्टी एकताका सम्दर्भमा (१) परिस्थिति : –अहिले सरकार मात्र परिवर्तन होइन, प्रणाली परिवर्तन भएको हो । यसको संवैधानिक र राजनीतिक घोषणा त भयो– तर त्यस अनुरूप कानून र संरचनाहरू परिवर्तन वा अद्यावधिक भैसकेका छैनन् । गरिदैछन्- हुँदैछन् । अहिलेको यो स्थितिले एउटा अन्तर्विरोध देखिदैछ । अभ्यास र आदत एकातिर ,अवस्था र आवश्यकता अर्कोतिर । –सरकार मात्र परिवर्तन होइन, शासन सत्ताको माथिल्लो तह परिवर्तन भएको हो । स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेकोछ । तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै छन् । त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ । त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न– डढेलो सल्काउन ज्यान फालेर लागेका छन् , पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन् । त्यस्तासित होशियार बन्नुपर्ने अहिलेको आवश्यकता हो । र, यो होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ । आमरूपमा आउने गरेका– उठ्ने गरेका प्रश्नहरू , जिज्ञासा , आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ । धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरीछ । (२) दुइटा कम्युनिष्ट पार्टी विचको एकता– –यो एकता कम्युनिष्ट आन्दोलनका कार्यकर्ताहरूको चाहना, कम्युनिष्ट पार्टीप्रति आशा अपेक्षा गर्ने आम नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकतामा आधारित छ । एकताका सन्दर्भमा यी मूलत: भावनात्मक पक्ष हुन् । एकतासित गाँसिएको सार पक्ष भनेको विचारको पक्ष , संगठनात्मक संरचनाको पक्ष र नेतृत्वको पक्ष हो । एकताको घोषणा गरिरहँदा यी विषयमा त्यति गहिराइका साथ छलफल हुन सकेन । अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गंभीर महत्वका साथ लिदै छलफल वहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ । एकताको घोषणा गरिरहँदा सकारात्मक र सार्थक वहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ । आफ्नै देशको कम्युनिष्ट आन्दोलनबाट विकसित भएको, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । यस मामिलामा अलमलिएर वा यसमा ‘ग्रे एरिया’ राखेर कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्तैन । –सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिष्टका नाममा भीड शक्ति हुनसक्तैन । विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै–बन्नै सक्तैन । –कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन– ल्याइनै हुँदैन । अझ , शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । आज नेकपा ( एमाले) र माओवादी केन्द्र विच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले यही बाटो हिंड्नुपर्छ । चुनौतीपूर्ण अभिभारा पुरा गर्ने ऐतिहासिक क्षणमा उभिएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले योग्यतापूर्वक यो काम गर्न सक्छन् कि सक्दैनन्– यसैमा नेपालको कम्युनिष्ट आन्दोलन र सिंगो मुलुकको भविष्य गाँसिएको छ । टुट्न मात्र होइन, जुट्न पनि जानेका छन् भनेर आफ्नो परिचय बनाएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा यो ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पुरा गर्नेछन् ।

धनगढीमा हेलिकोप्टर उडाउँदा भारतले बढायो निगरानी

कैलाली, माघ २४ । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा दर्शकलाई हेलिकप्टरबाट धनगढी घुमाउने कार्यप्रति भारतले निगरानी वढाएको छ । नेपाली आकाशमा उडिरहेको हेलिकप्टरद्वारा जासुसी हुन सक्ने भन्दै भारतीय सुरक्षा निकाय हाई अलर्ट रहेको भारतीय पत्रिका हिन्दुस्तानले समाचार लेखेको छ । यसका साथै, भारतले अन्तराष्ट्रिय कानुन र मर्यादाको प्रश्न समेत उठाएको छ। भारतले सिमा क्षेत्रभन्दा ५ कि.मी. दूरीसम्मको आकाशमा वायुयान उडाउन नागरीक उड्डयनका महानिर्देशकबाट अनुमति लिनुपर्ने समेत उल्लेख गरेको छ।

सिन्धुली जीप दुर्घटनाः पाँच जनाको मृत्यु, ७ जना घाइते (अपडेट)

सिन्धुली, माघ २४ । सिन्धुलीको फिक्कल गाँउपालिका–२ चण्डीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते रहेको पनि उनले बताए ।

कान्छी ल्याएर जेठीलाई सताउने श्रीमान पक्राउ

अर्घाखाँची, माघ २४ । दोस्रो विवाह गरी जेठी पत्नीलाई शारीरिक, मानसिक तथा आर्थिक हिंसा गर्ने पति र कान्छी पत्नी पक्राउ परेका छन् । अर्घाखाँचीको छत्रदेव गाँउपालिका वडा नम्बर–१, चिदिका घर भएका ३४ वर्षीय दिपक खनाल र निजले दोश्रो विवाह गरी ल्याएका पाल्पा घर भएकी २० वर्षीय महिला पक्राउ परेका हुन् । दोश्रो विवाह बदर गर्न माग गर्दै खनालकी पहिलो श्रीमतीले बहुविवाह सम्बन्धी जाहेरी दिएपछि खनाल र उनकी कान्छी पत्नीलाई रुपन्देहीको बुद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

१९ हजार सवारी चालक कारबाहीमा

चितवन, माघ २४ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारबाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३०८ र सवारी चालक अनुमतिपत्र नभएका २ हजार ७२६ जना रहेका छन् । यस्तै सवारी साधनमा बत्तीको अवस्था ठिक नभएका १५३, अन्यमा छ हजार ६६९, तीव्रगतिमा सवारी चलाउने ३४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६२८ सवारी चालकलाई कारवाही गरिएको हो । जिल्लाको विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारवाहीमा परेका उनीहरुबाट एक करोड ४६ लाख ३१ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरवाहीले चलाउनेको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । बाघको आक्रमणबाट एक घाइते कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहेका छन् । राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केसीको हात र खुट्टामा चोट रहेको छ । यस्तै नारायणगढबाट काठमाडौं जाँदै गरेको माइक्रोबसमा ढुङ्गा लाग्दा एक घाइते भएका छन् । प्रहरीका अनुसार बा३ख १७७३ नंको माइक्रोबसमा इच्छाकामना गाउँपालिका–६ जलबिरेमा माथिबाट खसेको ढुङ्गा लागी कालिका नगरपालिका–६ बस्ने ६० वर्षीय विर्जलाल मर्दनीया घाइते भएका हुन् । घाइते मर्दनीयाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मर्दनीयाको टाउको र गालामा चोट लागेको प्रहरीले जनाएको छ । रासस