कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, माघ ७ । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सन्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको कांग्रेसले दोस्रो बैठकमासमेत अवरोध जारी राखेको हो ।

दोस्रो बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई आसनग्रहण गर्न पटक–पटक आग्रह गरे ।

अध्यक्षको आग्रहलाई कांग्रेसका सांसदले अस्वीकार गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक यही माघ १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरे । रासस

पोखरेल बने कार्यवाहक प्रधानमन्त्री

काठमाडौं, माघ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ। स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेकाले संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओली माघ १२ गते स्वदेश फर्कने कार्यक्रम छ।

सर्ने भयो दक्षिण एसियाली खेलकुद

काठमाडौं, माघ ७ । सन् २०१९ मार्चमा नेपालमा आयोजना हुने भनिएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमा नहुने भएको छ । पर्याप्त तयारी नभएको भन्दै साग सचिवालयले खेलको कार्यतालिका छ महिना पर सारिदिन नेपाल ओलम्पिक कमिटि (एनओसी) लाई पत्राचार गरेको हो । साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका लागि तय भएको साग सर्ने निश्चित भएको छ । सरकार मातहत गठित १३औँ साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माणलगायत कारण प्रतियोगिता छ महीना सार्न पत्र प्राप्त भएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले भने, “राष्ट्रिय खेलकुद परिषद्बाट पत्र प्राप्त भएको अब यो विषयलाई दक्षिण एशियाली ओलम्पिक काउन्सिलमा छलफल गर्नेछौं ।” दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका श्रेष्ठले सागको नयाँ तिथिका बारेमा छलफल गर्न यही महीना बैठक राख्ने प्रयास गरे पनि अन्य पदाधिकारीको व्यवस्थाका कारण सफल नभएकाले अब मार्चमा बैठक बसी यसबारे निर्णय गर्ने बताए । सागको मिति सार्ने विषयमा काउन्सिलका सबै सदस्य राष्ट्रको सहमति जुट्न आवश्यक हुन्छ । १३ औँ सागमा ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल गरी २७ खेल समावेश गर्ने यसअघि नै निर्णय भइसकेको छ । यसैबीच पूर्वाधार अभावकै करण मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकुदसमेत पटक पटक सर्दै आएको छ । प्रदेश नं ५ मा हुने तय भएको उक्त प्रतियोगिता आगामी फागुनमा गर्ने सहमति भए पनि अझै मिति टुङ्गो लाग्न सकेको छैन । प्रतियोगिता आयोजना गर्ने विषयमा राखेपकै पदाधिकारीबीच एकमत नहुँदा प्रतियोगिता कहिले गर्ने भन्न टुङ्गो लाग्न नसकेको राखेप सञ्चालक समितिका एक सदस्यले भने ।  

कलाकार गणेश न्यौपाने ‘मुनाल’ को निधन

काठमाडौं, माघ ७ । पुराना कलाकार गणेश न्यौपाने ‘मुनाल’ को निधन भएको छ। उनको सोमबार बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले जानकारी दिए। उनका अनुसार न्यौपानेलाई सुगर र प्रेसरको समस्या थियो। न्यौपानेले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।

सेनाका घाेडा, प्रहरीलाई “घाँडाे”

नेपाली सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका १० वटा घोडा मध्ये तीनवटा मरिसकेका छन् भने ६ वटा विविध कारणले काम लिन नसकिने अवस्था छन्। प्रहरीसँग रहेका १३ वटा घोडामध्ये चारवटा मात्र ‘ड्यूटी’ गर्न सक्ने अवस्थामा रहे पछि अन्य घोडा पाल्न आर्थिक भार परेको गुनासो प्रहरी अधिकारीहरूको छ। सडकमा अत्यधिक चाप हुने समयमा निश्चित चोक, सार्वजनिक स्थान तथा विशेष चाडपर्वका अवसरमा जम्मा हुने भिड नियन्त्रण गर्न ट्राफिक प्रहरीले घोडाको प्रयोग गर्दै आएको छ। २०७२ सालको कार्तिक महिनामा १७ वर्ष उमेरसम्मका १० घोडाहरू सेनाले ट्राफिक व्यवस्थापन प्रयोजनका लागि प्रहरीलाई हस्तान्तरण गरेको थियो। घोडा पाल्ने खर्चै चर्को प्रहरीसँग रहेका घोडाहरूको परिचालन, रेखदेख र प्रशिक्षणका लागि १८ जना खटिएका छन्। माउण्टेड भनिने घोडचढी प्रहरी शाखाका हवल्दार रामहरी कोइरालाले भने, “१३ घोडालाई दानापानी, स्याहार-सुसार, तालिम तथा व्यायाम गराउनुपर्छ। तर प्रयोग गर्न ४ घोडाहरूमात्र तयार छन्।” उनका अनुसार हरेक दिन प्रत्येक घोडालाई झण्डै साढे दुई किलो चना, डेढ केजी जौ, र एक केजी चोकर खुवाउनुपर्छ। झण्डै १९ केजी सुकेको घाँस सोत्तरको रुपमा प्रयोग हुन्छ। त्यसका अतिरिक्त प्रतिमहिना एक घोडालाई दुई जोर टाप लगायतका अन्य सामग्रीको पनि आवश्यक पर्छ। काठमाण्डू उपत्यकाको ट्राफिक व्यवस्थापनमा वर्षौदेखि प्रयोग हुँदै आएका घोडाहरूलाई महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा राखिँदै आएको थियो। तर स्थान अभावका कारण हाल रानीबारीमा २० क्षमताको नयाँ घोडा कवल निर्माण गरि उक्त घोडाहरूलाई सारिएको महाशाखाले जनाएको छ। घोडाका ड्युटी प्वाईन्ट १३ मध्ये ४ घोडा मात्र ट्राफिक व्यवस्थापनामा खटिन सक्ने अवस्थामा रहेपछि प्रहरीले हाल ‘ड्युटी प्वाईन्ट’ अर्थात् खटिने स्थानहरू समेत कटौती गरेको छ। प्रहरी हवल्दार कोइरालाका अनुसार पहिले सुन्धारा, भोटाहिटी, नयाँ बानेश्वर, कोटेश्वर र कालिमाटी लगायतका क्षेत्रमा खटिने घोडा हाल सुन्धारा र भोटाहिटीमा मात्र सीमित बनेका छन्। नयाँ बनेको घोडा कवल रानीबारीमा भएपछि ट्राफिक व्यवस्थापनको अवधि समेत घटेको घोडचढी प्रहरीहरूको अनुभव छ। “विगतमा साढे दुई घण्टासम्म काम गर्ने घोडाहरु हाल एक-डेढ घण्टामात्रै काम गर्न सक्छन् र आउजाउमै दुईघण्टा खर्च हुन्छ,” एक प्रहरी जवानले भने। हाल प्रहरीसँग रहेका घोडाहरु अस्वस्थ, अशक्त र घाइते नभएको भए उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुस्त हुने बुझाइ स्वयम् प्रहरीको छ। भोटाहिटीमा खटिएका प्रहरी हवल्दार मधुकर कँडेल भन्छन्, “१०-१२ जना प्रहरीले गर्ने ट्राफिक व्यवस्थापन एउटा घोडाको सहयोगमा गर्न सकिन्छ।” घोडाबाट टाढासम्म सडक अनुशासन पालना गरे नगरेको अवलोकन गर्न सकिने, घोडाको उपस्थितिले सडक प्रयोगकर्ता तथा पैदलयात्री केही संयमित रहने लगायतका कारणले पनि ट्राफिक व्यवस्थापन सहज हुन्छ। -बिबिसी नेपालीबाट

पावरबिना टिचिङ अस्पतालमा आइसीयू कक्ष नपाइने १ विरामीको अकालमै मृत्यु

काठमाडौँ । सघन उपचार कक्ष अर्थात् आइसीयूमा भर्ना भएका डा. गाेविन्द केसी अाईतबारदेखि जनरल वार्डमा सारिए । अाफु अाईसियुमा बसेपछि सर्वसाधारणलाई समस्या परेने भन्दै उनी जनरलमा सरेका थिए । तर गम्भिर प्रकृतिका विरामीलाई विशेष निगरानीका साथ उपचार गरिने अाइसियु कक्ष पाउन भने ठूलै साेर्ष चाहिने एक मिडिया रिपोर्टमा उल्लेख छ । न्युज२४ टेलिभिजनमा प्रसारित रिपोर्टमा भनिएकाे छ: पावर नहुनेहरु उपचार अभावमा मर्न वाध्य छन् । आइसीयूमा पालो कुरेर बसेका विरामी र विरामीका आफन्तको दर्द एकातिर छ, तर अस्पताल प्रशासन भने क्षमता अभावका कारण विरामीलाई आवश्यक उपचार दिन नसकेको बताउँछ । र, पहुँचवालाको सोसफार्सले अप्ठेरो परेको स्वीकार्छ । दर्शकहरु, महाराजगञ्जस्थित शिक्षण अस्पतालमा विरामीको उपचार र भर्नाका लागि समेत पहुँचवालको पावर चहिने पट्यारलाग्दो सत्य र विरामीसँगै तिनका आफन्तको पीडाबारे चर्चा गरिरहेका छौं । मन्त्री, नेता वा कोही पहुँचवालाको भनसुन नभए सरकारी अस्पतालमा समेत उपचार गर्न नपाएर विरामी मर्नुपर्ने अर्थात् आफन्त गुमाउनु पर्ने वाध्यता धेरैको छ । तर, उस्पताल प्रशासनको गुनासो पनि उस्तै छ । ७ सय १३ शैया क्षमताको शिक्षण अस्पतालमा ६ सय ३९ वटा शैयामा मात्रै विरामीको उपचार हुन्छ । त्योमध्ये मुख्य आइसीयूका कक्षमा १९ वटा बेड छ । तर, विरामीको चाप क्षमता भन्दा अधिक भएकाले समस्या भइरहेको अस्पताल प्रशासनको भनाइ छ । शिक्षण अस्पतालमा प्र्रतिमहिना ६० हजारभन्दा बढी विरामी उपचारका लागि आउँछन् । तीमध्ये करिब चार हजार विरामीको स्थिति गम्भीर हुन्छ । यो हिसाबमा अस्पतालले क्षमता भन्दा बढी विरामीको उपचार परिरहेको स्पष्ट हुन्छ । तर, पहुँचवालाको भनसुन हुने वित्तिकै विरामीले उपचारका लागि ठाउँ पाउने, पहुँच नहुनेले नपाउने स्थिति भने दुःखद हो । यो समस्या शिक्षण अस्पतालको मात्रै होइन, देशका प्रायः सरकारी अस्पताल यही अवस्थामा छन् । तर, उपचारजस्तो संवेदनशील विषयमा समेत भनसुनले काम गर्ने अवस्थाको अन्त्यमा प्रथमतः अस्पताल प्रशासन नै जिम्मेवार हुनुपर्छ । ठूलावडा रिझाउन वा आदेश शिरोपर गर्न संभावित सोर्स÷फोर्सवाला विरामीका लागि आइसीयू खाली राख्ने प्रबृत्तिको अन्त्य जरुरी छ । कसैका लागि आइसीयू खाली राख्ने, कसैले नपाउने यो विभेदको अन्त्य अनिवार्य छ ।

नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने

काठमाडौं, माघ ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताएकी छिन् । संसद् सचिवालयमा यसअघि काठमाडौंमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उनले बताइन् । विवाह गर्नुअघि बुबाको घरमा र विवाहपछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उनले बताइन् । ‘संसद् सचिवालयले काठमाडौंमा घर भएका र नभएका विवरण फारम भराउँदा मैले काठमाडौंमा घर भएको पहिले नै उल्लेख गरेकी थिएँ,’उनले आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छिन्, ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’ सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको उनले बताइन् ।

पाँच आयोगमा अध्यक्ष नियुक्त गर्न सिफारिस 

काठमाडौं, माघ ६ । संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित ५ आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएको छ । उनीहरुलाई आइतबार संवैधानिक परिषद्ले नियुक्त सिफारिस गरेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेसी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोगमा र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ। ५ वटै आयोगमा अध्यक्ष र चार सदस्य रहने व्यवस्था भए पनि अध्यक्षमा मात्र नियुक्तिको सिफारिस गरिएको हो। सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई आयोगको अध्यक्ष नियुक्त गर्ने छिन्।

तीन वर्षअघि बुद्धको मूर्ति चोर्ने काठमाडौंबाट पक्राउ

डोल्पा, माघ ६ । तीन वर्ष अघि बुद्धको मूर्ति र पुस्तक चोरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । डोल्पो बुद्ध गाउँपालिका ३ का धावा थापालाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको हो । २०७२ साल चैत्र २८ गते साबिकको धो गाविसमा रहेका गाकर गुम्बा र मेकिङ गुम्बाका ३ थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सयौं वर्ष पूरानो मूर्तिसहित पुजारी पेम्बा ठिन्ले गुरुङको घरबाट सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट चोरीमा प्रयोग भएको ३ नाल पेस्तोल,२३ राउण्ड गोली,३ थान खोका र चोरी भएको दुई थान मूर्ति सहित बरामद गरेको प्रहरी नाउव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए। डीएसपी बिष्टका अनुसार सोही चोरीको घटनामा संलग्न धावा थापा काठमाडौंमा लुकीछिपी बस्दै आएका थिए। केन्द्रीय प्रहरी अनुसन्धान व्युरोको सहयोगमा काठमाडौंबाटै पक्राउ गरिएको उनले बताए।

सभापति देउवा भन्छन्, ‘पार्टीमा छाडातन्त्र मौलायो, छिट्टै अनुशासन समिति बन्छ’

तनहुँ, माघ ६ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छाडातन्त्र मौलाएको बताएका छन् । कांग्रेस तनहुँले दमौलीमा आइतबार गरेको कार्यकर्ता भेटघाटमा देउवाले यस्तो बताएका हुन् । उनले अब छिट्टै अनुशासन समिति बनाएर त्यसलाई अन्त्य गर्नेसमेत बताए । सभापति देउवाले पार्टीको अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने उद्घोष पनि गरे । ‘गुटउपगुटले पार्टीलाई क्षति पुर्‍याएको छु, उनले भने, ‘महासमिति बैठकले पार्टीलाई एक ढिक्का बनाएको सन्देश दिएका छौं ।’ पार्टीमा एक ढिक्का भए काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने उनले जिकिर गरे । एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई देउवाले निर्देशन दिए ।

परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या, हत्यापछि प्रेमिकालाई एसएमएस

बुटवल, माघ ६ । नवलपरासीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वर्दघाट नगरपालिका–२ का न सुनिल चौधरीले श्रीमतीको हत्या गरेका हुन् । उनकी श्रीमती २१ वर्षीया कमला चौधरीको शव शनिबार नवलपरासीको चिसापानी जंगलमा फेला परेको थियो । शव फेला परेलगत्तै प्रहरीले गरेको अनुसन्धानमा प्रेमिकालाई सूचना दिँदै कमलले आफ्नी श्रीमतीको हत्या गरेको रहस्य खुलेको हो । सुनिलले पनि आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘अनुसन्धान पछि श्रीमतिको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा श्रीमान्ले हत्या गरेको स्वीकार गरेको छ । साथै श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ ।’ उनका श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । श्रीमतीको हत्या गरे पछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए । त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएएको प्रहरी निरीक्षक सिंहले बताए । ‘चिसापानी जङ्गलदेखि तल खोल्सामा श्रीमतिको शव लुकाउन भन्दै फालिएको देखिन्छ’– सिंहले भने, ‘तल खोल्सामा नखसेर डिलमा शव अडिएपछि सेउलाले ढाकिएको पाइयो । कसैले बलात्कार गरेर फालेको भन्ने पार्न र आफू बच्न निजको पतिले उनका भित्री बस्त्र फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेको स्वीकार गरेका छन् ।’ बुहारीको शव लुकाउन ससुरालेसमेत भूमिका खेलेको पाइएपछि उनलाईसमेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक सिंहले बताए । श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् । यद्यपि, उनले आफूलाई ‘श्रीमतिको बानी–व्यवहार ठीक नभएको’ भन्ने गरेको ती महिलाको बयान छ ।

फागुनभित्र कर्मचारी समायोजन, फारम नभर्नेलाई पनि खटाइने

काठमाडौं, माघ ६ । सरकारले एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी थालेको छ । अनलाइनबाट फारम भरेका ७७ हजार जना निजामती कर्मचारीको ‘डाटा भेरिफाइ’ गरेपछि कर्मचारी समायोजन सुरू गर्ने मन्त्रालयको तयारी छ। ‘समायोजनमा आवेदन दिएका कर्मचारीको डाटा भेरिफाइ हुँदैछ। यो काम सक्न केही दिन लाग्छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले भने, ‘डाटा भेरिफाइ गरेपछि समायोजन सुरू गर्छौं।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका अनुसार सचिव र सहसचिव समायोजन सुरूमा गरिन्छ। यी दरबन्दी संघमार्फत् छन्। मन्त्रालयले फागुन ३ गतेभित्र कर्मचारी समायोजन सक्ने गरी काम गरेको अधिकारीले बताए। नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको फागुन ३ मा एक वर्ष पुग्छ। सोही दिनलाई आधार मानेर कर्मचारी समायोजन सिध्याउने गरी तीव्र गतिमा काम भइरहेको उनले बताए। ‘सरकार बनेको फागुन ३ मा एक वर्ष पुग्छ। त्यही मितिलाई आधार मानेर कर्मचारी समायोजन सक्छौं,’ अधिकारीले भने। मुलुकमा ९० हजार निजामती कर्मचारी छन्। मन्त्रालयले निकालेको २१ दिने सूचना अटेर गरी समायोजन प्रक्रियामा भाग नलिने कर्मचारीलाई पनि समायोजनमा पठाइन्छ। १३ हजार कर्मचारीले समायोजन फारम भरेका छैनन्। कर्मचारी समायोजन अध्यादेशले वृत्तिविकासको ढोका बन्द गरेको भन्दै कर्मचारी आन्दोलनमा थिए। निवृत्तिभरण हुन एक वर्ष मात्रै बाँकी रहेका कर्मचारीलाई समायोजनमा नपठाउने अध्यादेशमै उल्लेख छ। सरकारले स्वीकृत गरेको दरबन्दीअनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय तीन कर्मचारी समायोजन हुनुपर्छ। समायोजनका लागि सहभागी हुन सरकारले पुस ११ मा सूचना निकालेको थियो। सेतोपाटीबाट साभार

दार्चुलाको व्यास गाउँपालिका सडक संजालमा जोडियो

दार्चुला, माघ ६ । दार्चुलाको उत्तरी क्षेत्रमा रहेको तिंकरलाई सदरमुकामसँग जोड्ने सडकको ट्रयाक खन्ने काम सुरु भएको १० वर्ष पछि उक्त सडकले व्यास गाउँ पालिकालाई छोएको छ । कुल १ सय ४० किलोमिटर लम्बाई रहेको यस सडकखण्डको ३४ किलोमिटर भागको मात्र ट्रयाक खोलेपछि उक्त सडक व्यास गाउँपालिका-५, धौलाकोट पुगेको हो । दश वर्षभित्र सक्ने गरेर २०६५ मा शुरु गरिएको यस आयोजनाको २४ प्रतिशत काममात्रै पूरा भएपछि यसको म्याद २०७९ सम्म थप गरिएको छ । यस अघि विष्फोटकको अभावमा आयोजनाको काममा ३ वर्षसम्म देखिएको ढिलासुस्ती पछि यस सडक आयोजनाले ७ महिनाअघि बझाङबाट सापटीमा विस्फोटक पदार्थ जिल्ला पुगाएपछि मंसिरदेखि निर्माण कार्यले तीव्रता पाएको थियो । महालक्ष्मी कन्स्ट्रक्सनले दुहु गाउँपालिका १ को तङ्लेभिरबाट सुरु गरेको सडक कटिङ कार्य करिब डेढ महिनामा व्यास गाउँपालिकाको धौलाकोट पुर्‍याएको महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले बताए । ‘डेढ महिनादेखि सडक निर्माण कार्यले तीव्रता पाएको छ,’ उनले भने, ‘यही गतिमा निर्माण कार्य हुन सके यो महिनाभित्र व्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्म गाडी गुड्ने ट्रयाक खोलिनेछ ।’ तिंकर सडकको व्यास खण्डमा दु्रत गतिमा काम भइरहेको छ । डेढ महिनाअघिसम्म सडकको २३ किलोमिटरसम्म ट्रयाक खोलिएको थियो । शनिबार ३४ किलोमिटरको दूरीमा पर्ने गडानसम्म ट्रयाक खोलिएको उनले उनले बताए । हुतीको वडा कार्यालयसम्म सडक पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा संलग्न पदाधिकारीलाई सम्मान पनि गरेका छन् । व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झन्डै एक महिनाभन्दा बढी समय लाग्यो । खलंगादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेका छन् । ट्याक्टर हुतीसम्म पुगेपछि स्थानीयले सामान ढुवानी गर्न सहज भएको  समाचार कान्तिपुरका लागि मनोज बडूले लेखेका छन् । सडकको ट्रयाकलाई थोरै सुधार गर्न सके हुतीसम्म नियमित जिप सञ्चालन हुन सक्ने स्थानीयको भनाइ छ । पीपलचौरीसम्म जिपहरू सञ्चालनमा आइसकेका छन्,’ व्यास ६ का वडाध्यक्ष मनोज कुँवरले भने, ‘पीपलचौरीदेखि हुतीसम्म खोलिएको ट्रयाकलाई सफा गर्न जिपहरू सञ्चालन गर्न सकिन्छन् । ट्रयाक्टर चल्न थालेका छन् । ट्रयाक्टरबाटै ठेकेदारको तेल ढुवानी भइरहेको छ । पीपलचौरीको तङ्लेभीरमा केही ठाउँमा सपोर्टिङ वाल र सम्याउने हो भने मान्छे बोक्ने यातायात (जिप) सञ्चालन गर्न सकिने उनको भनाइ छ । व्यास गाउँपालिकाको सुन्सेरासम्म एक महिनाभित्रै सडक पुर्‍याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकन्द नेपालले बताए । धौलाकोटको धौओराड र नाजीभीरमा कटानी भूभाग छ । त्यसमध्ये धौओराडमा कटान कटिङ भइसकेको र सानोतिनो कटिङ गर्नुपर्नेछ । नाजीभीरको चट्टान कटिङका लागि कम्प्रेसर उपकरण मगाइएको हुनाले एक महिनाभित्र सुन्सेरासम्म ट्रयाक खोल्ने गतिमा निर्माण कार्य चलेको उनले बताए । त्यस क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको निर्माण व्यवसायीले जनाएको छ । ‘धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुन्सेरासम्म सडक पुग्छ,’ व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, ‘हुतीदेखि सुन्सेरा १२ किलोमिटरको दूरीमा छ ।’ अहिले सडकको काम तीव्र गतिमा भइरहेका कारण स्थानीयवासी पनि सुन्सेरासम्म गाडी गुड्नेमा ढुक्क छन् । दुई किलोमिटर कटिङ भइसकेको हुनाले गाउँपालिकाको केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए यहाँका ३ देखि ६ नम्बर वडाका बासिन्दालाई आवतजावतमा सहज हुने उनी बताउँछन् । व्यासमा अहिलेसम्म सडकको पहुँच नहुँदा यहाँका स्थानीय भारतीय मोटर मार्गको प्रयोग गरी जोखिमपूर्ण तुइनको सहायताले महाकाली नदी तर्दै आएका थिए । तत्काललाई गाउँपालिकाकाभरिका नागरिकको पहुँचमा सडक नपुगे पनि ठूलो जनसंख्याले सडक लाभ उठाउन सकिने आस धेरै नरहेको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताए । ‘आफू निर्वाचित भएदेखि अहिलेसम्म बढी समय तिंकर सडकलाई दिएको छु,’ उनले भने, ‘स्थानीयवासीको पहिलो प्राथमिकता भनेकै तिंकर सडक भएकाले यो सडकलाई उत्तरी सीमा नाकासम्म पुर्‍याउन आफू निरन्तर प्रत्यन गरिरहने छु ।’ पछिल्लो समय महाकाली करिडोरमा गाभिएको यस सडक राष्ट्रिय महत्वको बनेको छ  । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म करिडोरको कुल लम्बाइ २९१ किलोमिटर छ ।  

यी हुन् भरतपुरका ठूला योजना, जसले महानगरको मुहार परिर्वतन हुनसक्छ

चितवन, माघ ६ । जिल्लाको भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार आयोजनाका काम सुरु भएका छन् । महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्न सक्ने गरी तयार गरिएका योजनाका काम अगाडि बढेका छन् । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अगाडि बढाएको बताउँदै महानगरपालिका प्रमुख रेनु दाहालले ठूला परियोजनाहरुको काम अगाडि बढिसकेको जानकारी दिइन् । नेपालकै नमुना महानगर बनाउन स्वदेशी र विदेशी संघसंस्थासँगको सम्बन्ध र सहयोगलाई विशेष प्रथामिकता दिएको उनले बताइन् । हरेक क्षेत्रमा काम गर्नका लागि स्वदेशी तथा विदेशी संघ संस्थाहरुको चासो बढिरहेको बताउँदै उनले पछिल्लो समय चितवनमा ठूलो प्लान्टमा अर्गानिक कृषि प्रविधि ल्याउन, प्रविधिक शिक्षालय बनाउन र विकास निर्माणका लागि चासो बढी रहेको मेयर दाहालले बताइन् । महानगर क्षेत्रमै पर्ने चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको साथले पनि महानगरभित्रका ठूला आयोजनाले गति लिन थालेका हुन् । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासका लागि सहयोग गर्न स्वदेशी एवं विदेशी लगानीकर्ताको चासो बढ्दै गएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला महानगरभित्र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काममा लामो समयदेखि प्रयास जारी रहेको थियो । केही समय अन्यौलजस्तो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काम अगाडि बढेको छ । महानगरभित्रै पर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरमा जग्गा प्राप्त भएपछि निर्माणको प्रकृया अगाडि बढेको हो । धुर्मुस सुन्तली फाउण्डेशनसँगको सहकार्यमा निर्माण हुने गरी प्रकृया अगाडि बढेको प्रमुख दाहालले बताइन् । यही महिनामा एउटा विशेष कार्यक्रमको आयोजना गरी कामको सुरुवात हुने उनले बताइन् । ३० बिघा क्षेत्रफलमा बन्ने रंगशाला निर्माणका लागि लगभग ३ अर्ब रुपैयाँ लगानी हुने र एशियाकै नमूना रङ्गशाला बन्ने महानगरले जनाएको छ । नमुना सिटी हल परिकल्पना पहिल्यैको भएपनि जमिनको बिषयमा विवाद भएका कारण केही समय अन्यौलमा रहेको सभागृह निर्माणको काम पनि अगाडि बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ । सिटी हल निर्माणको लागि नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम शुरु गरिसकेको जानकारी दिँदै महानगर प्रमुख दाहालले जतिसक्दो छिटो नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने जानकारी दिइन् । शहरी विकास तथा भवन निर्माण विभाग मार्फत ५१ करोड रुपैयाँ विनियोजन गरिसकेको र अपुग हुने रकमका लागि संघीय सरकारबाट उपलव्ध गराउने प्रतिवद्धता भइसकेको महानगर प्रमुख दाहालले बताइन् । सिटी हल निर्माणका लागि परामर्शदाताद्वारा जग्गाको नापजाँच भएको र शहरी विकास तथा भवन निर्माण विभागले चैत महिना सम्ममा डिपीआर दिएमा असारमा शिल्यान्यास गर्न सकिने बताइएको छ । बहुउद्देश्यीय व्यावसायिक भवन नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन बनाउने कामको प्रकृया पनि महानगरले अगाडि बढाएको छ । केही समय अगाडिसम्म फलफूल तथा तरकारी बजार रहेको त्यस क्षेत्रमा ८० करोड रुपैयाँ बराबरको लागानीमा पार्किङसहितको बहुतले भवन बनाइने प्रमुख दाहालले बताइन्। विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको बताउदै उनले व्यस्त बजार नजिकै आधुनिक शैलीमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण भएपछि नारायणगढ बजार थप व्यवस्थित हुने जानकारी दिइन् । रिङरोड र लिङ्करोड महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सडकको स्तर उन्नति, कालोपत्रे र सडक बिस्तारको कामलाई प्रथामिकतामा राखेको दाहालले बताइन् । महानगरको योजनामा परेका सघन शहरी विकास कार्यक्रम अन्तर्गत १३ वटा सडक कालोपत्रे निर्माणको लागि सम्झौता भई काम थालिएको छ । महानगरभित्र रिङरोड र लिङ्करोड निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले भरतपुर महानगरमा एक अर्ब ५० करोड खर्च गर्न सक्ने गरी काम अघि बढाएको छ । रिङरोड र लिङ्करोडका लागि बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम अघि बढाइसकेका छन् । बसपार्क सोही कार्यालयको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क र नारायणगढमा रहेको बसपर्कलाई थप व्यवस्थापन गर्ने योजना महानगरले अगाडि बढाएको छ । ठेक्का सम्झौता भई काम अगाडि बढिसकेको महानगर प्रमुख दाहालले बताइन् । कुनै समय दक्षिण एसियाकै नमुना बसपार्क भनिएको केन्द्रीय बसपार्कको व्यवस्थापनदेखि थप भौतिक पूर्वाधार विकास गरी नमुना बसपार्क बनाउने गरी काम अगाडि बढेको उनले बताइन् । आधुनिक पार्क महानगरपालिकाले नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । नगरवन, रानीपोखरी, लक्ष्मीनारायण मन्दिरमा पार्क निर्माणका लागि लगभग १४ करोड खर्च गर्ने गरी काम अगाडि बढाएको छ । महानगरमा रहेका तीन वटा पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्मााणका लागि बोलपत्र आह्वान भइसकेको बताउँदै उनले स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिइन् । नारायणी नदी किनारमा रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गरी अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत आकर्षित गर्ने गरी पर्यटकीय क्षेत्र बनाइने उनले बताइन् । विभिन्न क्षेत्रबाट सहयोगको प्रस्ताव आइरहेकोले यसलाई विभिन्न सरोकार राख्ने निकायहरुसंग समन्वय गरेर काम सुरु गर्ने उहाँले जानकारी दिए । अस्पताल विकास महानगरले जिल्लामा रहेका दुई वटा अस्पताललाई ठूलो अयोजनाको रुपमा लिएर काम अगाडि बढाएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा ६ करोड रुपैयाँ लगानी गरी बिरामी कुरुवा घर निर्माणको काम अगाडि बढिसकेको दाहालले बताइन् । चौंथो प्याकेज अन्तर्गत ६ करोड रुपैंयाँको लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग सम्झौता भएको हो । कुरुवा घरमा ५० वटा बेड रहने छन् । कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ लगायतको व्यवस्था हुनेछ । महानगरले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न गृहकार्य अघि बढाइएको छ । क्यान्सर रोगसँग सम्बन्धित बिषय अध्ययन अनुसन्धानका लागि प्रतिष्ठनकै रुपमा अस्पतालको विकास गर्ने लक्ष्य राखिएको उनले बताइन् । शव दाहगृह देवघाटमा १० करोडको लागानीमा शव दाहगृह बनाउने तयारी भइरहेको छ । ठेक्का सम्झौता भइसकेको छ । सरकारको लगानीमा देवघाटमा बन्ने शवदाह गृह निर्माणका लागि मिलिनियम–सिद्धगढी जेभी काठमाडौंसँग यसै हप्ता सम्झौता हुने प्रमुख दाहालले बताइन् । १० करोड रुपैयाँको लगानीमा दुई वर्ष्भित्र शवदाह गृह निर्माण हुने निर्माण भएपछि एक घण्टामा एउटा शव दहन गर्न सकिने छ । सफल खबरबाट साभार

अत्तरियामा युवकको हत्या, प्रादेशिक महोत्सव स्थगित

धनगढी, माघ ६ । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच भएको कुटाकुटमा एक जनाको ज्यान गएको छ । अत्तरियामा चलिराखेको ‘सुदूर पश्चिम प्रादेशिक महोत्सव’बाट फर्किरहेका युवाहरूको समूहबीच झडप हुँदा उक्त घटना भएको हो । मृत्यु हुनेमा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ । घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो । घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । उक्त घटनापछि महोत्सव आइतबार एक दिनका लागि स्थगित गरिएको छ । महोत्सव आयोजकले युवक हत्याको शोकमा महोत्सव स्थगित गरिएको जनाएको छ । महोत्सव स्थल नजिकै घटना भएका कारण एक दिनलाई महोत्सव स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । यस्तै घटनाको विरोधमा अत्तरिया बजार समेत बन्द गरिएको छ । धेरैले संस्कृतिको जगेर्ना र व्यापार प्रवर्द्धनका नाममा आयोजना गरिने यस्ता मेला महोत्सवले झैझगडा र होहल्ला हुने वातावरण सिर्जना हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गरिरहेको जनाएको छ ।    

किन एक्लियो निर्मला पन्तको परिवार ?

कञ्चनपुर, माघ ६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्ने क्रममा प्रहरीले उनका छिमेकीहरूको नै डीएनए परीक्षणका लागि रगत संकलन गर्न थालेपछि उनको परिवार एक्लिन थालेको छ । प्रहरीले घटनाको सुरुवातदेखि नै पन्त परिवारलाई सघाइरहेकाहरू माथि पनि शंका गर्न थालेपछि छिमेकीहरू निर्मलाकी आमासँग रुष्ट भएका हुन् । छिमेकीहरूले आमाले नै नाम दिएकाले प्रहरीले आफूहरुको डीएनए परीक्षण गर्न रगतको नमुना लिएको आरोप लगाएका छन् । निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीले रगत संकलन गरेपछि छिमेकीहरु आफूसँग रुष्ट बनेको गुनासो गरिन् । ‘सुरुमै प्रहरीको लापरवाहीका कारण अहिलेसम्म दोषी पत्ता लाग्न सकेन, उनले भनिन्, ‘दोषी पत्ता लगाउन भन्दै प्रहरीले स्थानीय युवाको रगत संकलन गरेपछि छिमेकीहरु मसँग रुष्ट हुन थाले, मैले नै नाम भनेर प्रहरीले रगतको नमूना संकलन गरेको उनीहरुको बुझाइ छ ।’ कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भने अनुसन्धानका क्रममा शंकास्पद देखिएका व्यक्तिको मात्रै डिएनए परीक्षण गरिएको भन्दै परिवार वा अन्य कसैले छिमेकीको नाम नदिएको स्पष्ट पारे । अनुसन्धानका क्रममा शंकास्पद देखिएको भन्दै प्रहरीले झन्डै दुई दर्जन छिमेकीसहित एक सय जनाको डीएनए परीक्षण गरिसकेको छ । तर हालसम्म घटनामा संलग्न व्यक्तिको भने पहिचान हुन सकेको छैन । इमेजखबरबाट