सरकारले कोट दियो, राउटेले रक्सी खान बेचे गाउँलेलाई

काठमाडौं, दिएर मात्र नहुने रहेछ, लिनेले त्यसलाई सही ढङ्गले उपयोग गरेन भने ।

यस्तै एउटा समाचार अहिले चर्चामा छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जाडोमा राउटेहरुलाई सुविस्ता होस भनेर दिएको कोट उनीहरुले बेचेको कुरा सार्वजनिक भएको छ ।

अचम्म त के छ भने रक्सी खान उनीहरुले सस्तो मूल्यमा कोट बेचेका हुन ।

सुर्खेतको लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा बस्दै आएका राउटे समुदायका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले केही दिनअघि कोटलगायतका अन्य विभिन्न सामग्री वितरण गरेको थियो।

तर राउटेहरु पनि के कम, रक्सी खान पैसा नपुगेपछि उनीहरुले पैसा जुटाउन कोटलगायत अन्य सामान बेचे ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी मणिराम खरालका अनुसार राउटे समुदायमा पुरुषका लागि कोट, महिलाहरुका लागि गुन्यु, चोलो, ओछ्याउने फर्मलगायतका सामाग्री वितरण गरिएको थियो।

लेकवेशी नगरपालिकाकी कार्यपालिका सदस्य धनसरा सुनारले राउटेहरुले महंगो सामान सस्तो मूल्यमा बिक्री गरेको आफूले सुनेको बताइन्।

‘राउटेले कोट बिक्री गरे भन्ने सुनेर बुझ्न यही समुदायमा आएकी छु,’ उनले भनिन्, ‘उनीहरुले हामीसँग बिक्री गर्‍यौं त भन्न सकेका छैनन्। तर वरिपरिका मानिसले कोट ५०० देखि १ हजार रूपैयाँसम्ममा बिक्री गरेर सस्तो खालको रक्सी खाने गरेको सुनाएका छन्।

सुनारले महिलाहरूले लगाउने सामाग्री बिक्री नगरेको र पुरुषहरूलाई दिइएको कोट, जुत्ता, ब्लांकेटलगायतका सामानहरु बेच्ने गरेको पाइएको बताइन्। राउटेले सामान बेचेको पाइए पनि किन्ने व्यक्तिहरु भने पत्ता लगाउन नसकिएको उनले बताइन्।

राउटेहरुबाट सामान किन्नेहरूबारे बुझ्ने र उनीहरुलाई कारबाही गरिने सदस्य सुनारले बताइन्।

‘लोपोन्मुख जातिलाई सहयोग गर्नुको साटो राउटेहरुबाटै कोट, जुत्ता किन्ने व्यक्तिको बुझाइ कस्तो होला,’ उनले भनिन्, ‘सहयोग स्वरूप दिइएको सामग्री राउटेहरूबाट किन्ने व्यक्ति पत्ता लगाएर कारबाही गर्छौं।’

त्रिविद्वारा परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वबिद्यालयले स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ । सुचना जारी गर्दै त्रिविले यही मङ्सिर महिनामा संचालित मानबिकी तथा समाजशास्त्र संकाय अन्तर्गत तीन बर्षे बिए प्रथम बर्षको नतिजा प्रकाशित गरेको हो ।

नेकपा नेता श्रेष्ठ भन्छन्, ‘पाँच वर्ष ओली नै प्रधानमन्त्री बन्नुहुन्छ’

सिरहा, पुष २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले केपी ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । सिरहाको कर्जन्हामा कम्युनिष्ट नेता जयगोविन्द साहको २९औं स्मृतिसभामा नेता श्रेष्ठले सरकार परिवर्तनको हल्ला निराधार रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । केपी ओलीले नै वर्तमान सरकारको पाँच वर्ष नेतृत्व गर्ने उनको भनाइ छ । ‘नेताहरुबीचको मतभेदका कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको होला’, उनले भने, ‘तर, सरकार परिवर्तन हुँदैन, परिवर्तनको कुनै सम्भावना छैन ।’ सरकारको कामकारबाहीमा शतप्रतिशत सन्तुष्टि हुन नसकिने स्वीकार गर्दै श्रेष्ठले तर, सरकार गलत बाटोमा नरहेको जिकिर गरे । श्रेष्ठले दुई तिहाइको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए । वर्तमान सरकार असफल हुँदा परिवर्तनको प्रक्रिया नै असफल हुने र राष्ट्रियता कमजोर हुने उनको भनाइ थियो ।

कांग्रेस नेता जोशी पार्टीबाट निष्कासित

काठमाडौं, पुष २५ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई पार्टीबाट निष्कासित गरिएको छ । उनलाई पार्टी केन्द्रीय कार्यालयले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो। नेता जोशीले सदरमुकाम दमौलीमा कार्यालयसमेत खोलेर ८ माघमा पार्टीको विशेष जिल्ला अधिवेशन गराउने घोषणा गरेका छन्। पार्टी केन्द्रीय कार्यालयका महासचिव कृष्णप्रसाद पौडेलले तनहुँ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै जोशीको नाम नलिई गत प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका नेताहरू २१ वैशाख २०७५ देखि पार्टीमा नरहेको उल्लेख गरेका छन्। “आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको सदस्यता २१ वैशाख २०७५ देखि नै स्वतः नरहेको जानकारी गराइन्छ,” पार्टीको तनहुँ जिल्ला कार्यसमितिलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ। जोशीले २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका थिए। जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतबाट सजाय पाएको देखिन आएको उल्लेख गर्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो। जोशीकै गतिविधिका कारण कांग्रेस वरिष्ठ नेता पौडेल ६ हजार ४१४ मतान्तरले तत्कालीन एमालेका उम्मेदवार किसनकुमार श्रेष्ठसँग पराजित भएका थिए।

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘चीन र भारतबाट नेपाल त्रस्त हुनुपर्ने कारण छैन’

काठमाडौं, पुष २५ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको बलियो सरकार र बलियो परराष्ट्रनीति कैयौंलाई पाच्य नभएकाले आलोचना गर्ने गरेको बताएका छन्। उनले आफ्नो भेटवार्ता अमेरिकी समकक्षी माइक पोम्पेओसँग हुनुलाई ठूलो उपलब्धिको रूपमा चित्रित गरेको भए पनि अमेरिकाले भनेको जस्तो ‘केन्द्रीय भूमिका’ मा नेपाल नजाने उनका पछिल्ला गतिविधिले प्रष्ट पारेको देखिन्छ। शक्तिशाली मुलुक अमेरिकाको जोड दिएका कुरामा पछि सरेको भन्ने बीबीसीको प्रश्नमा उनले भने, ‘हरेक मुलुकको आफ्नो प्राथमिकता हुन्छ, नेपालको प्राथमिकता अहिले विकास र समृद्धि हो।’ भारतले विद्युत् खरिदसम्बन्धी व्यवस्था परिवर्तन गरेको, जलमार्गमा पहुँच र कृषिमा साझेदारीलाई उपलब्धिको रूपमा व्याख्या गरे। अहिलेको सरकारको बाह्य सम्बन्धलाई दलीय आँखाले हेरेको भनेर सरकारको विरोध गर्ने लत कसैलाई लागेको भन्दै उनले विपक्षी दलहरूको आलोचना गरे। दुई लाख अमेरिकी डलर खर्च गरेर नेपाल र भारतले तयार पारेको प्रबुद्ध समूहको प्रतिवेदन भारतलाई अस्वीकार्य भएको र रद्दीको टोकरीमा पुग्ने स्थितिमा रहेको कतिपय जानकारहरूले बताएका छन्। तर मन्त्री ज्ञवालीले त्यसबारे भारतसँग निरन्तर कुराकानी भइरहेको र अन्ततस् स्वीकृत हुने विश्वास व्यक्त गरे। भारतले गरेको नोटबन्दी पछि नेपालका ब्याङ्क र सर्वसाधारणसँग करोडौँ रुपैयाँ कागजको खोस्टोमा परिणत भएको छ। त्यस्ता नोटहरू भारतले भुटानबाट फिर्ता लिएको तर नेपालले किन त्यसमा केही गर्न नसकेको भन्ने प्रश्नमा उनले विरोध गर्नेहरूप्रति चर्को असन्तुष्टि व्यक्त गरे। उनले दुई देशको सम्बन्ध अस्थीर हुँदा कतिले त्यसलाई कमाइ खाने भाँडो बनाउन पाउने हुनाले विरोध गरेको आरोप लगाए। उनले भने, ‘हाम्रा छिमेकीप्रति राम्रो सम्बन्ध राखेको कसैलाई पाच्य भइरहेको छैन। त्यसैले यसका बारेमा अनावश्यक विवाद सिर्जना गर्ने प्रयास भइरहेको छ त्यसलाई हामीले नजिकबाट हेरिरहेका छौँ।’ उनले देशभित्र र बाहिर पनि त्यस्ता समूह रहेको बताए। बीबीसीबाट

कांग्रेसका शिक्षक नेता नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश

पर्वत, पुष २५ । नेपाली कांग्रेस र शिक्षक संघमा आवद्ध शिक्षक विष्णुवहादुर विक ‘दिपक’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन् । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविमा अध्यापनरत विक बुधवार एक कार्यक्रमकाबीच नेकपा निकट शिक्षक संगठनमा प्रवेश गरेका हुन् । तत्कालीन नेपाली काँग्रेस ठुलीपोखरीका उपसभापति र शिक्षक पेशामा प्रवेश गरेपछि शिक्षक संघमा आवद्धसमेत रहेका बि.कलाई नेकपाका नेता मेघनाथ सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य शारदा कुमारी शर्मा लगायतले टिका र खाँदा लगाएर स्वागत गरेका थिए । सो अवसरमा नवप्रवेशी शिक्षक बिकले नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपाले निर्देशित गरेका कुराहरुमा विशेष भूमिका निर्वाह गर्ने बताए ।

नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ निर्माण

काठमाडौं, पुष २५ । नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज निर्माण भएको छ । काठमाडौंको बिजुलीबजार स्थित धोवीखोलामाथि नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज निर्माण भएको हो। उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठका अनुसार अहिलेसम्म निर्माणाधिन दुई पुलमध्ये एउटाले पूर्णता पाएको छ । अब पुल पूरा गर्न रंगरोगन र बत्तीराख्न मात्र बाँकी रहेको छ । केही समयमै पुलमाथि सवारीसाधन गुड्न सक्ने तर पुललाई सडकसँग जोड्ने पहुँच मार्ग निर्माण नभएकाले सञ्चालनको टुंगो भन नलागेको उनले बताए । अरनिको राजमार्ग अन्तर्गतको आठ लेन चौडाईको सडकमा एउटा मात्रै पुल थियो। मुख्य सडक र सर्भिस लेन भएर गुड्ने सडक साँघुरो पुलमाथि गुड्नुपर्ने बाध्यता थियो। नयाँ पुल बानेश्वरतर्फको सर्भिस लेन भएर गुड्ने सवारीका लागि निर्माण गरिएको हो। पुल र सडकको उचाई समान छैन।  फाइल फोटो

डा. गोविन्द केसीको १६औं अनशन इलाममा सुरु

इलाम, पुष २५ । डा. गोविन्द केसीले बुधबार साँझबाट १६ औं अनशन सुरु गरेका छन् । सरकारले आफुलाई धोका दिएको बताउँदै उनले यो पटक इलाममा अनशन सुरु गरेका हुन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार दिउँसो पारित गरेपछि डा. गोविन्द केसीले अनशनको तयारी सुरु गरेका थिए। त्यसअघि अनशनको दिन तोकेको भएपनि समितिबाट सुधार अपेक्षा गर्दै दिउँसोसम्म पर्खेका थिए । अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा. केसीले सरकारले आफुलाई धोका दिएको बताए। उपसिमितले प्रस्ताव गरेको बिधेयकमा आफुसँग सरकारले गरेको सम्झौतालाई वेवास्ता गरेकाले अनशन बस्ने बताउँदै आएका उनले समितिले त्यही प्रस्ताव पारित गरेपछि अनशन सुरु गरेका हुन्।

डीएनए परीक्षण गराउन निर्मलाकी आमाले दिइन् रगतको नमूना

कन्चनपुर, पुस २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले आफ्नो डीएनए परीक्षण गराउन रगतको नमूना दिएकी छन् । निर्मलाको ‘भजाइनल स्वाब’को डीएनए वास्तविक भएनभएको पुष्टि गर्न डीएनए परीक्षण गराउन लागेको उनले बताइन् । बुधबार रगतको नमूना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्मलाको हत्या भएको ६ महिना बितिसके पनि अझै वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धानकाक्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिसकेको छ ।

नेपाल र जापानबीचको ‘हवाई सम्झौता’ नवीकरण गर्ने सहमति

काठमाडौं, पुष २५ । नेपाल र जापानबीचको हवाई सम्झौता नवीकरण गर्ने सहमति भएको छ । बुधबार होटल याक एण्ड यतीमा भएको वार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी समकक्षी तारो कोनोबीच हवाई सम्झौता नवीकरण गर्ने सहमति भएको हो । वार्तामा दुवै देशका परराष्ट्र मन्त्रीहरुले नेतृत्व गरेको प्रतिनिधिमण्डलहरुको सहभागीता रहेको थियो । यो सहमतिले दुई देशबीचको हवाई उडानलाई थप सहज बनाउने बताइएको छ । जापानी पक्षबाट नेपालले चाडै नै जापानमा उडान सुरु गरोस् भन्ने चाहना राखेको वार्तामा सहभागी एक परराष्ट्र अधिकारीले बताए।नेपाल र जापानबीच सन् १९९३मा पहिलो पटक हवाई सम्झौता भएको थियो । जापानका विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणका लागि बुधबार अपराह्न काठमाडौमा उत्रिएका हुन्।

जापानी विदेशमन्त्री काठमाडौंमा, यस्ता महत्वपूर्ण विषयमा छलफल हुने

काठमाडौं, पुष २५ । जापानका विदेश मन्त्री तारो कोनो बुधबार काठमाडौं आइपुगेका छन् । उनी दुईदिने नेपाल भ्रमणका क्रममा यहाँ आइपुगेका हुन् । मन्त्री तारो कोनो परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आएका परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानी विदेश मन्त्री कोनोले नेपालमा रहँदा उच्चस्तरीय भेटघाट गर्ने र संयुक्त प्रेस सम्बोधन गर्ने छन् । केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमण गर्दा नेपालको विकास निर्माणमा थप सहयोगको आग्रह गरेका थिए । यस्तै जापानले आउँदो वर्षदेखि नेपाली कामदार पनि भित्राउने तयारी गरेकाले त्यस विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

माइनस २० डिग्रीमा ड्युटी गर्दै प्रहरी, गर्मीमा मात्र ज्याकेट आउने !

काठमाडौं, पुष २५ । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ । समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन् । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् । उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ । प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो छ । प्रहरीको प्रबन्ध शाखाका प्रमुख डिआइजी नारायणसिंह खड्काले १५ हजार पाँच सय ज्याकेटसहित आवश्यक अन्य पोसाक, जुत्तालगायतका सामान खरिदका लागि १८ पुसमा टेन्डर आह्वान गरिएको बताए । उनका अनुसार टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा दुई महिना लाग्छ । एक महिनाको समय दिएर टेन्डर आह्वान गरेकाले माघ दोस्रो सातासम्म टेन्डर हाल्ने समय हुनेछ । त्यसपछि आशयपत्र माग्ने तथा टेन्डरको निर्णय गर्न थप एक महिना लाग्नेछ । टेन्डर परेपछि मात्र ठेकेदार कम्पनीले ज्याकेट सिलाउन सुरु गर्ने भएकाले चैतअघि प्रहरीले ज्याकेट पाउने सम्भावना कम छ । प्रशासन विभाग र प्रबन्ध शाखा लामो समय नेतृत्वविहीन भएकाले ज्याकेट खरिदमा ढिलाइ भएको हो । दुवै निकायमा प्रमुख आएपछि खरिद प्रक्रिया अघि बढाइएको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले विगतमा समयमै ज्याकेट खरिद हुन नसक्दा अहिले समस्या देखिएको बताए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

गगन थापाको आरोप- सरकारले शक्तिको दुरुपयोग गर्दै ‘चिकित्सा शिक्षा विधेयक प्रतिवेदन’ पारित गर्‍यो

काठमाडौं, पुस २५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे । सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गरे ।

अन्ततः पारित भयो चिकित्सा शिक्षा विधेयक, के के छन् त नयाँ व्यवस्था ?

चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित काठमाडौँ, पुस २५ गते । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले विधेयकको विपक्षमा आफ्नो मत राख्नुभएको थियो । सङ्घीय संसद्, प्रतिनिधिसभा नियमावली २०७५ को १८१ धाराअनुसार समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको थियो । समितिका सदस्य भैरवबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको सो विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई समितिका सभापति जयपुरी घर्तीले बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि समितिको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीका बीच विगतमा भएका सहमतिका भावनाअनुरुप विधेयक बन्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले विधेयकका प्रस्तावलगायत लेखनका विषयवस्तु कानून मन्त्रालयले मिलाउने उल्लेख गर्दै विधेयकमा प्रस्तावित चिकित्सा शिक्षा आयोगले चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । समितिका सदस्य योगेश भट्टराईले सरकार र डा गोविन्द केसीका बीच भएका सहमतिका भावना र संसद्को सर्वाेच्चतालाई ध्यानमा दिई विधेयक आएको जानकारी दिँदै विधेयकलाई डा केसीले स्वीकार गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “संसद्बाट डा केसीको जित भएको छ । उहाँले विधेयकलाई स्वीकार गर्नुपर्छ ।” समितिको बैठकमा फरक मत प्रस्तुत गर्दै समितिका सदस्य गगनकुमार थापाले सरकार र डा गोविन्द केसीका बीच भएका सहमति विपरीत विधेयक समितिको बैठकबाट बहुमतका आधारमा पारित हुनु अन्यन्त दुःखद् हो भन्नुभयो । समितिका अर्का सदस्य उमाकान्त चौधरीले सरकार र डा गोविन्द केसीका बीच भएका सहमति विपरीत विधेयक आउनु दुःखद् रहेको उल्लेख गर्नुभयो । विधेयक प्रतिवेदनमा के छ त ? काठमाडाँै उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आशयपत्र नदिइने, चिकित्सा शिक्षा अध्ययन गर्न केन्द्रीय प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले दुईवर्ष सरकारी सेवा अनिवार्य गर्नुपर्ने रहेका छन् । एउटा विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययनका लागि पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन नदिइने तर सम्बन्धन प्राप्त गरिसकेका, मापदण्डसमेत पूरा गरिसकेका कलेजलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगले निर्णय लिने पारित विधेयकमा रहेको छ । विद्यार्थीको पढाइ र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा ३०० तथा डेण्टल र नर्सिङतर्फ १०० श्ययाको अस्पताल सञ्चालन नभएसम्म शिक्षण संस्थालाई आशयपत्र नदिने, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सङ्घ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह तथा विधाको मापदण्ड र स्तर निर्धारणसम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकताअनुसार निर्देशन दिने विधेयक प्रतिवेदनमा रहेको छ । प्राविधि शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रम राष्ट्रिय चिकित्सा शिक्षा आयोगले तोकेको निकायले गर्ने, सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट सङ्ख्याको कम्तीमा ५० प्रतिशत सिट निःशुल्क व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्न गराउन एक चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने तथा चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रुपमा रहने विधेयक प्रतिवेदनमा रहेको छ । (रासस)

रेशम चौधरीले सांसदको सुविधा नपाउने– सभामुख

काठमाडौँ, पुस २५ गते । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिनुभएको थियो । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभएको थियो । ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको थियो । साथै बैठकले कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको थियो । बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहनुभएका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी गराउनुभयो । साथै सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ । (रासस)

सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, एक करोड ३४ लाख अवैध सम्पत्ति आर्जन

काठमाडौं, पुष २५ । वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो । उनले यातायात व्यवस्था विभागमा महानिर्देशन रहेका बेला भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गर्दा एक करोड ३४ लाख ५ सय ७६ रुपैयाँ गैरकानुनी आर्जन गरेको पाइएको थियो । अख्तियारले बुधवार जारी गरेको विज्ञप्तिमा २०३८ सालमा सेवा प्रवेश गरेका सहसचिव श्रेष्ठले कुल २ करोड १० लाख ७७ हजार कमाइ गरेकोमा उनी र उनको परिवारको नाममा तीन करोड ४४ लाख ७७ हजार रुपैयाँ सम्पत्ति देखिएकोले एक करोड ३४ लाख रुपैयाँ अवैध रूपमा कमाएको देखिएको उल्लेख छ।