विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने शिक्षक पक्राउ
रोल्पा, पुष २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसी पक्राउ परेका छन् । सल्लीबोट आधारभुत विद्यालय रोल्पा नपा–१ मा अध्यापन गराइरहेका शिक्षक केसी आइतबार विद्यालयबाटै पक्राउ परेका हुन् ।
प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काका अनुसार शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरुलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक उदय महराले विद्यालयमा पढाइरहेका शिक्षक केसीलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेको बताए । महराका अनुसार विद्यालय पोसाकमै शिक्षक केसीलाई गिरफ्तार गरिएको थियो ।
विप्लव निकट अखिल नेपाल शिक्षक सठन रोल्पाका अध्यक्ष प्रेम केसीले विद्यालयमा पढाउँदै गरेका शिक्षकलाई प्रहरीले पक्राउ गर्नु दुःखद भएको भन्दै बिना सर्त रिहाई नगरे आन्दोलन गर्ने चेतावनी दिए ।
नगरकोट, चन्द्रागिरि लगायत डाँडामा हिमपात, काठमाडौंमा सामान्य वर्षा
काठमाडौँ — काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भएको बताइन्। वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ। पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो। पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै गएपछि काठमाडौंसहितका पूर्वी भागमासमेत वर्षासहित हिमपात भएको हो। सोमबार दिनभरी नै काठमाडांैसहित देशका धेरैजसो भागमा वर्षा हुने मौसमविद कँडेलले बताइन्। मंगलवारदेखि भने पश्चिमी क्षेत्रको मौसममा केही सुधार आउने महाशाखाले अनुमान गरेको छ। बुधबारदेखि भने पूर्णरुपमा सुधार आउने महाशाखाले सूचना जारी गरेको छ।
संसद पदाधिकारीका लागि किनिए १३ करोडका गाडी, बजारमूल्य भन्दा महंगो भन्दै बिरोध
रुपन्देही – प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो। अहिले उनीहरू नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन्। अरूबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ। गाडी खरिदमा प्रदेशसभाले सात करोड ९१ लख ४४ हजार रुपैयाँ खर्च गरेको छ। १३ मध्ये ११ वटा गाडी टाटा कम्पनीको सफारी स्ट्रोम भिएक्स छन्। बाँकी दुईटामध्ये एउटा निसान टेरानो र अर्को महेन्द्रा स्कार्पियो छन्। भदौ २६ गते प्रदेससभा सचिवालयले विभिन्न प्रकृतिका १४ वटा गाडी किन्न बोलपत्र आह्वान गरेको थियो। बोलपत्रअनुसार १४ वटा गाडी किनिए पनि सभामुख पूर्ण घर्तीले मन नपराएपछि एउटा फिर्ता गरिएको स्रोतले बतायो। किनिएका ती गाडी उपसभामुख, विषयगत छ वटा समितिका सभापति, सत्तापक्ष र प्रतिपक्षका सचेतक तथा सचिवले प्रयोग गरेका छन्। बजार मूल्यभन्दा महँगोमा खरिद प्रदेशसभाले खरिद गरेका टाटा कम्पनीका सफारी स्ट्रोम भिएक्स गाडीहरू महँगो मानिन्छन्। प्रदेशसभाका अनुसार टाटा सफारी स्ट्रोम भिएक्स एउटा गाडीलाई ७१ लाख ९४ हजार रुपैयाँ तिरिएको छ। निसान टेरानो ५३ लाख ९५ हजार र महेन्द्रा स्कार्पियो ३५ लाख ८५ हजार रुपैयाँमा खरिद गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयले बजार मूल्यभन्दा बढी तिरेर गाडी किनेको भन्दै सत्तापक्षबाटै आलोचना गरिएको छ। प्रदेश ५ मा नेकपा नेतृत्वमा सरकार छ। सरकारको नेतृत्व शंकर पोखरेलले गरेका छन्। गाडी किन्दा आर्थिक घोटाला भएको स्रोतको दाबी छ। तर प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले ई–बिडिङमार्फत खरिद गरिएकाले कुनै पनि चलखेल नभएको बताए। सत्तापक्षका मुख्य सचेतक भूमिश्वर ढकाल लु१झ ४५६ नम्बरको गाडी चढ्छन्। विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल लु१झ ब्ःए४ र सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे लु १ झ ४४५ नम्बरको गाडी चढ्छन्। यी तीनवटै टाटा सफारी स्ट्रोम भिएक्स हुन्। प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमाल लु१ झ४४३ नम्बरको गाडी चढ्छन। अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने शर्मा लु१झ ४४९ नम्बरको, कृषि, वन तथा वातारण समितिका सभापति विजयबहादुर यादव लु१झ ४४२ नम्बरको, भौतिक पूर्वधार विकास समितिका सभापति आशा स्वर्णकार लु१झ ४४६ नम्बरको, प्रदेश मामिला तथा कानुन समितिका सभापति दामाकुमारी शर्मा लु१झ ४४० नम्बरको र सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी लु१झ ४४१ नम्बरको र विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ लु१झ ४४८ नम्बरको गाडी चढ्छन। स्थायी राजधानी र नामकरण तोक्न गठन भएको विशेष समितिका संयोजक दीपेन्द्र पुनमगरले पनि गाडी पाएका छन। उनलाई लु१झ ४५२ नम्बरको महिन्द्रा पिकअप गाडी दिइएको छ। प्रदेशसभाका सचिव पुनले रातो नम्बर प्लेटमा लु१झ ४६७ नम्बरको निसान टेरानो गाडी चढ्छन्। उनले अहिले गाडीको प्लेट परिवर्तन गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
वाईडबडी प्रकरणबारे पर्यटनमन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदको विषयमा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने भएका छन्। वाइडबडी खरिदमा अनियमितता भएको र उक्त अनियमिततामा मन्त्री अधिकारीपनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकालेपछि पहिलोपटक मन्त्री अधिकारीले औपचारिक कार्यक्रम गरेर बोल्न लागेका हुन्। वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न बनेको समितिले मन्त्री अधिकारीसहितका पदाधिकारी संलग्न रहेको निष्कर्ष निकालेको थियो। यो निष्कर्ष सार्वजनिक भएपछि विवादमा तानिएका अधिकारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन्। मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन्। पत्रकार सम्मेलनमा सचिवसहित सम्बद्ध अधिकारी सभागी हुने मन्त्रालयले जनाएको छ। कांग्रेस सांसद राजन केसी नेतृत्वको उपसमितितले नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। उक्त भ्रष्टाचारमा पूर्व पर्यटनमन्त्रीसँगै बहालवाला मन्त्रीको संलग्नता रहेको दाबी गरिएको छ। अन्नपूर्ण पोष्टबाट
सुन र नगद चोरी गर्ने एकजना पक्राउ
काठमाडौँ, २३ पुस (रासस) ः महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिनुभयो । “अधिकारीको शरीर खानतलास गर्दा आफूले सुन र नगद चोरी गरेर ल्याएको स्वीकारेका छन्”, उहाँले भन्नुभयो । पक्राउ अधिकारीसँग प्रहरीले रु २३ हजार ६५० नगद, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान बरामद गरेको छ । प्रहरीले अधिकारीलाई चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोे वृत्तले जनाएको छ ।
१० किलो लागू औसधसहित एक भारतीय पक्राउ
कपिलवस्तु । लागूऔषध खैरो हेरोइन र चरेससहित नवलपरासी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ ग्राम चेतराका २७ वर्षीय मुकेश चौरसिया छन् । उनको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेश बरामद गरेको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ कृष्णनगरबाट यु पी ५५ आर ७५२० नं.को मोटरसाइकलमा गोरुसिंगेतर्फ जाँदै गरेको बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २३ घाइते
नवलपुरः सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस नवलपुरको मध्यविन्दुमा दुर्घटना भएको छ । सोमबार बिहान करीव ३ बजेतिर सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भै पल्टदा दुर्घटना भएको थियो । बस सडकबाट करीव १०० फिट उत्तर साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनीहरूलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुमा जाजरकोट सिरा गापा ९ बस्ने वर्ष २५ को विमल शाही, कालिकोट बस्ने बर्ष ४५ को पर्याक शाही, सुर्खेत सिम्ता गापा २ बस्ने बर्ष २२कि अस्मिता मल्ल, सुर्खेत छोल्पा गापा ५ बस्ने बर्ष १०को अर्जुन मल्ला, दैलेख चामुण्डा नपा ३ बस्ने बर्ष २५को होम प्रसाद रेग्मी, बर्ष ३५ निषा शर्मा, सुर्खेत रानछिङ नपा १० बर्ष ७० कि बुद्धिहरि कार्की, जुम्ला तिला गापा २ बस्ने बर्ष ३७कि ललिता रावत, बर्ष ४५ को कलसे राउत, बर्ष ४० कि मननि राउत, बर्ष ३० को टोप बहादुर कार्की रहेका छन् । । त्यस्तै कालिकोट मानमा खर्चना गापा २ बस्ने बर्ष ५० को धर्म बहादुर शाहि, बर्ष ४० कि लुमा बोहोरा, सुर्खेत बिरेन्द्रनगर नपा १६ बस्ने बर्ष ३० को भूपेन्द्र बिरकट्टा, बर्ष २५ को कमल मल्ल, कालिकोट बस्ने बर्ष ३५ कि बिमला बम, दैलेक बस्ने बर्ष ४६को टोप बहादुर रावल, जुम्ला बस्ने बर्ष २७ कि मैना बुढा कार्की, बस्ने बर्ष ३ को एन्डी कार्की, दैलेख बर्ष २५ कि रामा खत्री, जुम्ला चनाम गापा १० बस्ने बर्ष ४५ को नन्दप्रसाद देबकोटा, बर्ष ३८ की धर्मा देबकोटा र सुर्खेत पञ्चपुरी नपा ८ बस्ने बर्ष ४० को सुरेन्द्रराज गिरी रहेका छन् । बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उद्योग मन्त्रीको घोषणाः निर्यातजन्य उद्योगलाई सहुलियत दिइने
काठमाडौं, पुष २२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताएका छन् । तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औं वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात अत्यन्त न्यून रहेकामा चिन्ता व्यक्त गर्दै विद्यमान व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग तथा निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताए । मन्त्री, कर्मचारी र व्यापारीलाई जनताले सकारात्मक दृष्टिकोणले हेर्न छाडेको बताउँदै उनले भने, “हामी जो जहाँ छौँ, सोही स्थानबाट देशको विकास र समृद्धिका लागि प्रण गरौं, देश बने सबैले सुख पाउछौँ ।” मन्त्री यादवले उद्योगी तथा व्यवसायीले सरकारसँग विभिन्न सहुलियत माग्ने तर जनतालाई सेवा र सुविधा दिन नसक्ने गरेको आरोप लगाए । वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले कुन स्वदेशी उत्पादनको विदेशमा माग छ, त्यसको अध्ययन गरी बहुपक्षीय रणनीति बनाएर मात्र निर्यात वृद्धि गर्न सकिने बताउँदै भूपरिवेष्ठित देश भएका कारण वस्तु आयातमा ढुवानी खर्च बढ्ने गरेको जानकारी दिए । निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यात गृह निर्माणका लागि व्यवसायीको माग रहेको जानकारी गराए । रासस
सरकारको लोकप्रियता देख्न नसकेर कांग्रेसमा निरासाको प्रवृत्ति बढ्योः नेता नेपाल
धनुषा, पुष २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन् । उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गरे । नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गरे । नेकपाले आज जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइ रहेको बताए । नेता नेपालले भने, “वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।” नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताए ।
हाब्रेको छालासहित २ जना पक्राउ
जाजरकोट, पुष २२ । जाजरकोट खलङ्गाबाट दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित नलगाड नगरपालिका – ५ कालीमाटीका २५ वर्षीय गणेश सुनार र अर्का २५ वर्षीय युवराज विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित रातो हाब्रेको छाला बिक्री गर्ने तयारीमा रहेका उनीहरुलाई होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रवीन्द्रबहादुर सिंहले बताए । छालाको तस्करीमा मुख्य भूमिकमा खेल्ने डोल्पा घर भएका दिपक भनिनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुई जनालाई पक्राउ भएकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु रातो हाब्रेको बासस्थान रहेको बारेकोट र कुसे गाउँपालिकाबाट तस्करले छालाको चोरी निकासी गर्ने गरेको प्रहरीको अनुमान छ । रासस
सरकारी सम्पतिमा गैरकानूनी ढङ्गबाट काम गर्नेलाई कारबाही हुन्छः मुख्यमन्त्री भट्ट
कैलाली, पुष २२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी स्वामित्वमा रहेको सम्पत्तिमा कसैले पनि गैरकानूनी ढङ्गबाट काम गर्न नपाउने बताएका छन् । कञ्चनपुरका राजनीतिक दलका भातृ सङ्गठन र प्रदेशसभा सदस्यले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भीमदत्त नगरपालिका नगर विकास समितिको नामको ६३८ बिघा जमिनको केही अशं केही व्यक्ति, व्यापारी, कर्मचारी र ठेकेदारलाई वितरण गरेको देखिएको र त्यसमा भौतिक संरचना निर्माण गरेको विषयसम्बन्धी ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले सो धारणा व्यक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले नगर विकास समितिको जमिनमा गैरकानूनी रुपबाट बनेका घर तथा टहरा कानून विपरित भएको बताउँदै तीनलाई कसैले पनि स्वीकार गर्न नसक्ने बताए । ज्ञापनपत्रमा अवैध ढङ्गबाट वितरण गरिएका लालपूर्जा तथा लिज सम्झौता खारेज हुनुपर्ने, औद्योगिक तथा सुकुम्वासीका नाममा वितरण गरिएको जग्गामा भवन निर्माण भएकाले सो सम्झौता खारेज हुनुपर्ने, पद र जिम्मेवारीको दुरुपयोग गरी व्यापक अनियमितता भएको देखिएकाले यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने लगायतका माग उल्लेखित छन् । भीमदत्त नगरपालिकाअन्र्तगत तत्कालीन सरकारले २०३६ सालमा महेन्द्रनगर नगर निर्माण समिति गुरुयोजना स्वीकृत गरी महेन्द्रनगर निर्माण समितिमा स्वामित्व हस्तान्तरण गरेको थियो । नगर विकास समितिलाई तत्कालीन सरकारले ३३८ बिघा जमीन गुरुयोजनाअनुसार संरक्षण, संवद्र्धन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरेको थियो ।
मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा
क्वालालम्पुर, पुष २२ । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ ।’ तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए । उनले विदा लिएलगत्तै केही अनलाइन सञ्चार माध्यममा राजा सुल्तानले रुसकी पूर्व सुन्दरी (मिस मस्को) सँग विवाह गरेको खबर आएको थियो । मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । एजेन्सी
भोजपुरमा जिप दुर्घटनाः ११ घाइते, तीनजना गम्भीर घाइते
भोजपुर, पुष २२ । भोजपुरको हतुवागढी गाउँपालिकाको हसनपुरबाट घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । हसनपुरबाट घोरेटार आउदै गरेको स १ ज ९० नम्बरको जिप आज दिउँसो १ बजे ब्रेक फेल भएर वडा नम्बर ४ – खैराङ्को वडा कार्यालय छेउमा दुर्घटना भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । दुर्घटनामा परी घाइते हुनेमा हतुवागढी गाउँपालिका ४ खैराङ्का अम्बर कार्की, हतुवागढी २ का लङ्कमान राई, मनमाया राई, पृतम राई, आमचोक गाउँपालिका –६ का जितमान राई, आश्मा राई, कुशुम राई, आमचोक – २ का शन्तोष चौहान, हतवागढी –१ का गोपाल बस्नेत, चालक सुनसरी बराहाक्षेत्रका जिवन सुवेदी, सहचालक हतुवागढी –५ का यादव श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा हतुवाढी –२ शंखरानी आधारभूत विद्यालयका शिक्षक लङकमान राई, पृतम राई र जितमान राई गम्भिर घाइते भएका छन् । घाइते सबैको दुर्घटना प्राथामिक स्वास्थ्य चौकि घोरेटारको समान्य उपचार पछि थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रीफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।
सपथ ग्रहण नगराउने भएपछि मनाङेले भने, ‘यिनीहरुलाई कानुन नसिकाई भएन’
पोखरा, पुष २२ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल पश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि राजीव गुरुङ उर्फ दीपक मनाङेले आफै आएर कानुन सिकाउने प्रतिक्रिया दिएका छन्। तपाईलाई सपथ ग्रहण नगराउने निर्णय सभामुखले गर्नुभएको छ, यसमा तपाईको प्रतिक्रिया के छ भनेर फोनमार्फत प्रश्न गर्दा उनले भने, ‘उनीहरुलाई कानुन थाहा नभएर हो, उनीहरुलाई कानुन नै थाहा छैन्, भोलि आएर म बुझाउँछु, म सिकाउँछु, अलिकति नसिकाई पनि भएन।’ उनले अगाडि थपे, ‘उनीहरु हावाहावा कुरा सोच्छन, उनीहरुले बैठक बस्ने कुरा नै होईन, मुख्य न्यायधीवक्तासँग सल्लाह गरेर सभामुखले निर्णय गर्नुपर्ने विषय हो, उनीहरु सर्वदलीय बैठक राख्छन्।’ तर, आजको निर्णय त सभामुखले मुख्य न्यायधीवक्तासहित परामर्श समितिका सदस्यहरुको छलफलबाट लिनुभएको हो, तपाईले भनेजस्तो सर्वदलीय बैठकबाट निर्णय भएको होईन नि भन्ने प्रश्नमा उनले भने, ‘उस (मुख्य न्यायधीवक्ता) लाई भेटेर मैले सल्लाह दिएको हो, सल्लाह उनीहरुले होईन मैले दिने हो, विदेशमा पढेको मान्छे रहेछ, यहाँ आएर राजनीतिक नियुक्ती भएको मान्छे हो ऊ, उनीहरुलाई थाहा रहेनछ, सपथ ग्रहण गर्न मिल्दैन भनेर लिखित रुपमा दिनुपर्यो, सर्वदलीय बैठक बोलाउनै नपर्ने विषय हो।’ सोमबार पोखरा आउने र थप सल्लाह गर्ने उनले बताए। नागरि न्युजबाट
परिवर्तनकामी शक्तिहरूमा अभिमान आए प्रतिगमन हुने- प्रचण्ड
काठमाडौँ, पुस २२ । परिवर्तनकामी शक्तिहरूमा अभिमान आए, घमण्ड पलाए र आफ्ना गलती कमजोरीहरू देख्न छोडे र जनताको कुरा सुन्न छोडे भने प्रतिगामी शक्तिहरू हावी हुने कुरा नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । बुटवलबाट प्रकाशित हुने गइरहेको पत्रिका लोक अभियाको विमोचनको अवसरमा बोल्नेक्रममा प्रचण्डले यसो बताएका हुन् । अहिले शक्तिशाली अवस्थामा रहेको कम्युनिस्ट जनमत पानीको फोका झैं हुनबाट बचाउन समेत प्रतिगमन र प्रतिक्रान्तिका सम्भावनाहरूलाई चिन्नु आवश्यक रहेको प्रचण्डको भनाइ रहेको थियो । अध्यक्ष प्रचण्डले जनमतलाई सधैं प्राप्त उपलब्धिहरूको पक्षमा पारिराख्ने र सरकारका गल्ती कमजोरीहरूलाई औंल्याएर पत्रकारिता क्षेत्रले रचनात्मक योगदान गर्न सक्ने समेत बताए । क्रान्ति र प्रतिक्रान्ति दुवै बिना जनमत सम्भव नहुने बताउँदै प्रचण्डले क्रान्तिले परिवर्तनको पक्षमा र प्रतिक्रान्तिले भ्रम सिर्जना गर्ने खालको चेतना जनतामा फैलाउने भएकाले यसलाई चिर्न समेत पत्रकारिता क्षेत्रको ठुलो योगदान बताए । देश वर्तमान अवस्थामा पुग्न लेखक र पत्रकारहरूको योगदान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष प्रचण्डले जनतालाई सत्य कुरा बताउने र जगतलाई वस्तुगत दृष्टिकोण दिने काम समेत पत्रकारिता क्षेत्रको रहेको बताए । कसैले नचढेको पहाड चढ्नुपर्ने चुनौती वर्तमान समयमा रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलन विज्ञानको नियमानुसार निरन्तर अगाडि बढ्ने प्रक्रियामा रहेको प्रचण्डले बताए । अहिले आफूहरू नयाँ परिस्थितिमा समाजवादको नयाँ स्वरूपबारे खोजी गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीमा रहेको बताउंदै प्रचण्डले आफूहरूले अहिलेसम्म कसैले नचढेको पहाड चढ्नु परिरहेको बताए । विश्वमै रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनको लागि नेपालको अनुभव उदाहरण बन्ने समेत उनको भनाइ थियो । देशमा जनतालाई भ्रमित पार्ने प्रयास हुनु नयाँ नभएकोले यसबारे सचेत रहनुपर्ने समेत बताए । प्रतिगामी शक्तिहरूलाई सुरुमा सामान्य मानिसहरूको नारा-जुलुसले आफ्नो स्वर्ग ढल्ने कुरामा विश्वास नहुने भएपनि पराजित भैसकेपछि त्यस्ता शक्तिहरू झनै शक्तिशाली भइ आउने वैश्विक अनुभव रहेको समेत बताए । त्यस्ता शक्तिहरूले आफ्नो लामो शासन संचालनको अनुभव र आर्थिक शक्तिको प्रयोगले जनमतलाई भ्रमित पार्नसक्ने प्रचण्डले बताए । साथै प्रचण्डले वरिष्ट पत्रकार कर्णबहादुर कार्कीले प्रकाशन गर्ने गरेको जमर्को पत्रिकाले आफूलाई तीसको दशकमा निकै प्रभाव पारेको समेत बताए ।
‘आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ, रेल र पानीजहाजको टिकट काटिन्छ’ : प्रधानमन्त्री
काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दाबी गरेका छन् । संसदको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलकुको आर्थिक सूचकाकंहरु सबै सकारात्मक बताए । सरकारका काम कारबाही बारेमा विभिन्न आलोचना र बहस भई रहेको बेला आफू तर्क र बहसमा समय नर्खचने भन्दै सम्बोधन सुरु गरेका प्रधानमन्त्रीले सरकारले गरेका प्रगतिको फेहरिस्त प्रस्तुत गरे । उनले भने ‘म कुनै तर्क र बहस गर्न आज आएको होइन सरकारको नीति तथा कार्याक्रम, बजेट, प्राप्त उपलब्धिको बारेमा सदनलाई जानकारी गराउन आएको हुँ ।’ प्रधानमन्त्रीले संसदमा जानकारी गराएअनुसार गतवर्षको यही समयको तुलनामा राजश्व संकलन ३२ प्रतिशतले वृद्धि भएको छ भने सरकारी खर्च ३४ बाट झरेर १४ प्रतिशतमा पुगेको छ । मूल्य बृद्धि ४।२ बाट घटेर ३.७ प्रतिशत कायम रहेकोे छ भने कुल वैदेशिक सहयोगमा १६२।७२ प्रतिशतले वृद्धि भएको छ । प्रधानमन्त्रीका अनुसार– ‘उद्योग दर्ता गर्नेक्रम गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ ।’ बैंक तथा वित्तिय संस्थाहरुले १७.९ प्रतिशतले नक्षेप बढाएको बताउँदै प्रधानमन्त्री ओलीले उत्पादनशित क्षेत्रमा गरिएको लगानी पनि गतवर्षको तुलनामा बढेको छ । गतवर्ष १३.४ प्रतिशतमा रहेको उक्त लगानी अहिले ३२.३ प्रतिशतले बढेको छ । प्रधानमन्त्रीका दिएको जानकारी अनुसार परियोजनाहरुमा वैदेशिक लगानी २५ प्रतिशतले बढेको छ । देशको समग्र निर्यात १२।३ प्रतिशतले बढेको प्रधानमन्त्रीको दावी छ । निर्माण सामाग्री तथा औद्यौगिक औजारको आयतले शोधानन्तर बचत केही कम भएपनि विस्तारै बढ्दै जाने प्रधानमन्त्रीको विश्वास थियो । प्रधानमन्त्री ओलीले सन् २०१९ को जुनभित्र लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरिने र ६ महिनाभित्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पीच गरिने जानकारी दिए । भेरी डाईभर्सन परियोजनामा २ किलोमिटरमात्रै सुरुङ खन्न बाँकी रहेको जानकारी दिदै प्रधानमन्त्री ओलीले भेरी ववाई परियोजनाबाट २६ हजार हेक्टर जमिन सिँचाई भइरहेको बताए । फाष्ट ट्रयाकमा उत्साहजनक प्रगती भएको बताएका प्रधानमन्त्रीले मेलम्चीमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको बताए । सरकारले रेल र पानीजहाज सञ्चालनका लागि सबै प्रक्रिया तिब्र गतिमा अघि बढाइएको भन्दै टिकट काट्नका लागि सरकारले सार्वजनिक सूचना जारी गर्ने प्रधानमन्त्रीको भनाई थियो । मेरोलगानीबाट

