रेशम चौधरीले पाउने सुविधाबारे सभामुखद्वारा जानकारी
काठमाडौं, पुष २५ । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताए । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिएका थिए ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरेका थिए ।
‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत गरेका थिए ।
साथै बैठकले कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको थियो ।
बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनः थुनामा रहेको जानकारी गराए ।
साथै, सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पारे । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ । रासस
काठमाडौंको तापक्रम वृद्धि
काठमाडौँ, पुस २५ । काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम नघटेको भएपनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । ‘माघ महिना आउन बाँकी नै रहेकाले उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ’ उनले भने । उच्च हिमाली भेगका कही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । मध्य र पूर्वी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि बिहीबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । रासस
करोडौं नगद हिनामिना गरी लेखा अधिकृत फरार
चितवन, पुस २५ । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए। मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए । सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोवार रोक्का गरिएको पौडेलले बताए । रासस
सवारीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दाङ, पुस २५ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गएराति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । बुढाको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ । रासस
आगोमा जलेर आमासहित दुई बालकको मृत्यु
बाजुरा, पुस २५ । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । उनका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगोे सल्केर सिरकमा टाँसिएर आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् । रासस
राष्ट्रियसभा बैठकमा कमल वलीको प्रश्नः बमजनलाई प्रहरीले किन पक्रेको छैन ?
काठमाडौं, पुष २५ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल वलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् । सांसद वलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उनले आपत्ति प्रकट गरिन् । बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पुर्याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आगलागीका कारण डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह गरे । रासस
चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पारित
काठमाडौं, पुष २५ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतले पारित भएको छ । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन बुधबार हुबहु पारित भएको हो । २३ जना समिति सदस्य मध्ये बुधबार १८ उपस्थित भएका थिए । जसमध्ये १४ जना नेकपाका सांसद थिए भने ४ जना कांग्रेसका सदस्य थिए । कांग्रेस सांसदले सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच भएका सम्झौता अक्षरशः विधेयकमा समेट्नुपर्ने भन्दै विधेयक प्रतिवेदनमा असहमति प्रकट गरेका थिए। तर, प्रतिवेदनमा केसी र सरकारबीच भएको सम्झौता हुबहु समेटिएको थिएन। उपसमितिमा ४ महिनादेखि विधेयकमाथि छलफल भए पनि विवादित विषय टुंगो नलागेपछि सत्तारूढ नेकपाका सांसदले बहुमतको आधारमा पारित गरेका थिए। यसैगरी बुधबार पनि समितिले कांग्रेस सांसदको असहमति हुँदाहुँदै पनि नेकपाका सांसदले बहुमत पुर्याउँदै प्रतिवेदन पास गर्यो। प्रतिवेदन पारित भएपछि समिति सदस्य तथा कांग्रेस सांसद गगन थापाले गोविन्द केसीका मागहरु पूरा नगरी प्रतिवेदन पास हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए। उनले भने, ‘सरकारले सहमति पालना गर्न नसक्ने भए किन केसीसँग सम्झौता गरेको ? सरकारले केसीसँगको सम्झौता कार्यान्वयन गरेन ।’ यस्तै नेकपाका सांसद योगेश भट्टराईले भने संसदीय प्रक्रियाबाट गोविन्द केसीको जित भएको दाबी गरे। विधेयकको प्रस्तावना, काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने, सीटीईभीटीको कार्यक्रम फेजआउट गर्ने, चिकित्सा शिक्षा विश्वविद्यालय र मेडिकल शिक्षालाई १० वर्षभित्र नाफारहित बनाउने विषयमा सत्तापक्ष र विपक्षी सांसदको मत बाझिएको थियो । प्रस्तावना, उपत्यकाबाहिर मेडिकल कलेज सञ्चालन गर्ने र सीटीईभीटीका स्वास्थ्यसम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम ५ वर्षभित्र फेजआउट गर्ने विषय केसी र सरकारबीचको सम्झौतासँग सम्बन्धित छ ।
नेशनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बालकुमार चयन
काठमाडौँ, पुस २५ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बालकुमार गुरुङ निर्विरोध चयन भएका छन् । सोमबार बौद्धमा रहेको सेन्टर फुडल्याण्डको हलमा नेशनल प्याब्सन काठमाडौँले आयोजना गरेका प्रथम ऐतिहासिक नगर अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन । नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ सहित उपाध्यक्षमा मदन राज रेग्मी, सचिवमा मोहन अधिकारी, सह–सचिवमा साधना खतिवडा, कोषाध्यक्षमा निराजन आचार्य, सदस्यहरुमा सिता पाण्डे, सुजित बुढाथोकी, थानेश्वर भुसाल, गणेश धिताल, जे.एस. तामाङ निर्विरोध चयन भएका छन् । नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीको प्रमुख आतिथ्यतामा गरिएको उक्त ऐतिहासिक नगर अधिवेशनमा इस्टपोल स्कुलका अध्यक्ष ईश्वरप्रसाद सापकोटा, नेशनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, नेसनल प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठलगायत नेशनल प्याब्सनमा आवद्ध गोकर्णेश्वर नगरपालिकाका सदस्य विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । सोही अधिवेशनको भेलाबाट इस्टपोल स्कुलका अध्यक्ष सापकोटालाई नेशनल प्याब्सन गोकर्णेश्वर नगर कमिटीको प्रमुख सल्लाहकारमा चुनिएको छ । उक्त नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि एवं नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले देशको संरचनामा परिवर्तन भएसंगै स्थानिय तहमा नेसनल प्याब्सनको प्रतिनिधित्व रहन नेशनल प्याब्सन काठमाडौँले काठमाडौँमा रहेका विभिन्न नगरमा नगर कमिटी गठन गर्दै आएको छ । सोही अनुसार गोकर्णेश्वर नगरपालिकामा पनि कमिटी गठन गरिएको बताएका थिए । नयाँ कार्यसमितिलाई बधाई दिँदै शैक्षिक गतिविधिमा गोकर्णेश्वर नगरपालिकामा नेसनल प्याब्सनको मुख्य भुमिका रहने बताएका थिए । यस्तै नयाँ कार्यसमितिलाई बधाई दिँदै इस्ट पोल स्कुलका अध्यक्ष सापकोटाले आफुले नेसनल प्याब्सन गोकर्णेश्वर नगर कमिटीलाई सम्पुर्ण रुपले सहयोग गर्ने बताएका थिए । नेसनल प्याब्सन काठमाडौँले यसअघि कागेश्वरी मनोहरा नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, तारकेश्वर नगरपालिका र टोखा नगरपालिका नगर कमिटी गठन गरिसकेको बताइएको छ ।
नेकपा गण्डकी प्रदेशको प्रमुख सचेतकमा अधिकारी चयन
कास्की, पुष २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाको संसदीय दलको प्रमुख सचेतक र सचेतकको टुंगो लागेको छ । गएको जेठमा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा कास्कीको प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ (कुसुम) चयन भएका छन् । अधिकारी लमजुङबाट र गुरुङ कास्कीबाट समानुपातिक सांसद भएका हुन् । दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका छन् । नेकपाको उपनेता छान्न भने अझैं समय लाग्ने भएको छ ।
सबै स्थानीय तहमा बैंकिङ सेवा
फिदिम, पुस २५ । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ। सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताए । ‘योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो’, उनले भने, ‘शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए ।’ गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । ‘सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ,’ उनले भने । स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखा समेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ । फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ । तुम्बेवा गाउँपालिकामा स्थापना भएको बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताए । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । विप्रेषणका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । रासस
हुम्लामा अत्याधिक हिमपात हुन थालेपछि जनजीवन प्रभावित
हुम्ला, पुस २५ । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ। हिमपातका कारण पशु चौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । ‘एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने । रासस
आज जापानी विदेशमन्त्री आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुने
काठमाडौंँ, पुस २५ गते । जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उहाँ सोही दिन स्वदेश फर्कने कार्यक्रम छ । त्यस्तै, बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता हुने तय भएको छ । भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ । परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिना अघि जापानको औपचारिक भ्रमण गर्नु भएको थियो । यस अघि नेपालका तत्कालीन परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेले सन् २०१४ को अक्टोबर ५ तारिखमा जापानको भ्रमण गर्नुभएको थियो भने परराष्ट्र सचिव शंकरदास वैरागीले सन् २०१५ को मार्च महिनामा जापानको भ्रमण गर्नुभएको थियो । यस्तै, सन् २००२ मा तत्कालीन जापानी प्रधानमन्त्री योसिहिरो मोरीले दुई दिने नेपाल भ्रमण गर्नुभएको थियो । यसैगरी, जापानी विदेश राज्यमन्त्री नोबु कासीले सन् २०१६ को अगस्टमा र जापानी संसदीय उपमन्त्री कियोसी वडावराले सन् २०१७ को जुलाइमा नेपालको भ्रमण गर्नु भएको थियो । सन् २०१७ को जुनमा जापानी वतावरण राज्यमन्त्री टाडाहिको इटोले नेपालको भ्रमण गर्नु भएको थियो । नेपाल जापान सम्बन्ध १८ औं शताब्दीको अन्त्यतिरबाट शुरु भएको भए पनि कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरबाट स्थापना भएको थियो । सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
न्यायाधिश जोशीको आदेश प्रधान न्यायाधिश राणाले खारेज गरेपछि फेरी समस्यामा सुमार्गी, के गर्लान अब ?
काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीका विषयमा सर्वोच्च अदालतका दुई फरक निर्णयले उनको खाता रोक्का भएको छ । सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का नगर्न सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले झन्डै दुई साताअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई सोही अदालतले खारेज गरेपछि सुमार्गी समस्यामा परेका हुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सुमार्गीको खाता रोक्का नगर्न यसअघि जोशीको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज गरेको हो। अल्पकालीन अन्तरिम आदेश खारेज भएपछि सुमार्गीको खाता रोक्ने राष्ट्र बैंकको निर्णयले निरन्तरता पाएको छ। पुस १२ मा न्यायाधीश जोशीको एकल इजलासले सुमार्गीको खाता रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। मंगलबारको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ निर्णय गरेको छ। न्यायाधीश जोशीले उद्योगले मागेका बेला भुक्तानी दिन राष्ट्र बैंकका नाममा आदेश दिएका थिए। तर, मंगलबारको इजलासले जोशीले दिएको आदेश गलत भएको ठहर गरेको छ। सर्वोच्च अदालतले पुस १२ को आदेशमा ‘रोक्का गरिएको खाता पुस २४ सम्मका लागि सञ्चालन गर्न छुट’ दिएको थियो। सर्वोच्चले मंगलबार राष्ट्र बैंक र मुक्तिश्री सिमेन्टलाई छलफलका लागि बोलाएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अजेयराज सुमार्गीको खाता रोक्का नगर्न यसअघि न्यायाधीश दीपकराज जोशीले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर ९करिब पाँच अर्ब रुपैयाँ० उद्योगको खातामा जम्मा पारेका थिए। त्यो रकम भुक्तानीमा राष्ट्र बैंकले रोक लगाएको थियो। रकम रोकेकाले उद्योग नै धराशयी हुन लागेको दाबीसहित मुक्तिश्री सिमेन्ट इन्डिस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। जोशीको अल्पकालीन अन्तरिम आदेशमा टेकेर सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको साढे २ अर्ब रकम यसअघि नै झिकिसकेका छन्। जोशीको आदेशपछि सुमार्गी रोक्का रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए। तर, राष्ट्र बैंकले सुमार्गीले रकम निकालेको विषयमा औपचारिक जानकारी नगराएको सर्वोच्च स्रोतले जनाएको छ। मंगलबारको सुनुवाइका क्रममा पनि कसैले सुमार्गीले बैंकबाट रकम निकालेको विषयमा जानकारी गराएनन्। सर्वोच्चले सुमार्गीले निकालेको रकमबारे के हुने भन्नेबारे मंगलबार कुनै लिखित आदेश जारी गरेको छैन। लिखित आदेश नआएका कारण सुमार्गीले रकम निकालेको भए के हुने भन्ने स्पष्ट छैन। सुमार्गीले रकम निकालेको भए फिर्ता गर्नुपर्ने वा नपर्ने सर्वोच्चको आदेशमा भर पर्ने देखिन्छ। ‘सुविधा र सन्तुलनका दृष्टिकोणले निवेदन मागबमोजिम उद्योगको खातामा रहेको रकम आवश्यकता र समयतालिकाबमोजिम निवेदक उद्योगले माग गरेका बखत भुक्तानी दिनू–दिलाउनू’ जोशीको इजलासले दिएको आदेशमा भनिएको थियो, ‘त्यससम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नू–नगराउनू भनी विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ।’ जोशीले रकम निकाल्न पाउन मिल्नेगरी आदेश दिएका थिए।
१० वर्ष जेल बसेर पनि सुध्रिएन मति, अपराधमा संलग्न भएपछि फेरी खोरमा
काठमाडौं : कर्तब्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भोगेर निस्केका एक व्यक्तिलाई प्रहरीले ठगी अभियोगमाा पक्राउ गरेको छ। नक्कली सुन देखाए ठगी गरेको अभियोगमा सोलुखुम्बुका ३५ वर्षीय टासी लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। उनले हुम्लाका ग्याल्बो शेर्पालाई सुन दिने भन्दै तीन लाख ७० हजार रुपैयाँ लिएका थिए। टासीले पैसा लिएपछि हुम्लाका ग्याल्बोलाई नक्कली सुन दिएको प्रहरीले जनाएको छ। शेर्पाले केही वर्षअघिदेखि नक्कली सुनको कारोबार गरिरहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी यसअघि ३ पटकसम्म नक्कली सुनसहित पक्राउ परेर धरौटीमा छुट्दै आएका थिए। कर्तव्य ज्यान मुद्दामा २०५५ सालमा जेल परेर ११ वर्षपछि निसकेका उनले फेरि अपराधकर्म सुरु गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। त्यस्तै प्रहरीले मंगलबार नक्कली सुन र नक्कली डलर देखाएर ठगी गर्ने अन्य दुईजनालाई पनि मंगलबार सार्वजनिक गरेको छ। महाहनगरीय प्रहरी वृत्त गोंगबुको टोलीले पक्राउ गरेका सिन्धुलीको दूधौली–१० का कुमसिंह घिसिङ र प्रेम तामाङलाई सार्वजनिक गरिएको हो। दुवैले नक्कली डलर देखाएर २० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट प्रहरीले २३ हजार रुपैयाँ सुनका केही गहना पनि बरामद गरेको छ। -अन्नपूर्ण पोष्टबाट
आगो ताप्ने क्रममा बागलुङमा ३ बालबालिकाको मृत्यु
बागलुङ, पुष २४ । आगलागीमा परेर जिल्लाको पश्चिम ताराखोला गाउँपालिका-४ मा तीन बालबालिकाको ज्यान गएको छ । ताराखोला गाउँपालिका ४ मा आगो ताप्ने क्रममा मंगलबार यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी हुँदा तीन बालबलिकाको ज्यान गएको हो । आगलागीमा स्थानीय रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। साँझपख लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
डा. गोविन्द केसी भोलिदेखि अनशन बस्ने
इलाम, पुष २४ । डा. गोविन्द केसीले भोलिदेखि इलाममा अनशन शुरु गर्ने चेतावनी दिएका छन् । सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्ने चेतावनी दिएका हुन् । उनले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताए । यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएका थिए । यो अवधिमा पनि माग पूरा नभएको भन्दै पुनः सत्याग्रहका लागि उनी आजै इलाम आएका हुन् । डा. केसी लामो समयदेखि स्वास्थ्य शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत छन् ।

