प्रधानमन्त्री आज जेनेभा जाँदै, को को छन् त टोलीमा ?

काठमाडौं, नेपालका लागि निकै महत्वपूर्ण मानिएको विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज स्वट्जरल्याण्ड जाँदैछन् ।

स्वीट्जरल्याण्डको डाबोसमा हुने विश्व आर्थिक मञ्चको सम्मेलनमा आज बेलुका ८ः५० बजे प्रस्थान गर्ने प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य रहने जनाइएको छ ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी ओली हुन लागेका हुन् । सम्मेलनबाट विदेशी लगानी भित्रयाउँन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ ।

टोली सम्मेलनपछि माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।

अब तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा अनिवार्य जम्मा गर्नुपर्ने

काठमाडौं, पुस २७ । नेपालमा अब छोराछोरीले तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने कानुन आउँदैछ । कानुन ल्याउन सरकारले आवश्यक गृहकार्य पनि शुरु गरिसकेको छ । जेष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद धारणा गरेका, निजी तथा संगठित क्षेत्रमा कार्यरत तथा अन्तराष्ट्रिय संस्थाहरूमा काम गर्नेहरूले अनिवार्य रूपमा आमाबुबाको संयुक्त खातामा प्रत्येक महिना निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नियमित पारिश्रमिक पाउने व्यक्तिले १० प्रतिशत रकम अनिवार्य रूपमा आमाबाबुको संयुक्त खातामा जम्मा गर्नुपर्ने गरी व्यवस्था प्रस्ताव गरेको थियो। प्रधानमन्त्री कार्यालयले भने दश प्रतिशतको व्यवस्था हटाएर सरकारले फेरबदल गर्न सक्ने लचिलो व्यवस्था संशोधनमा ल्याएको छ । सरकारले ल्याएको संशोधन विधेयकमा आमाबाबुबाट छुट्टिएको अवस्थामा समेत सन्तानले बैंक खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

पुर्खाहरूको वीरताले शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको छः राष्ट्रपति भण्डारी

काठमाडौं, पुष २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले २९७ औं पृथ्वीजयन्तीको अवसरमा पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाएकी छिन् ।सिंहदरबारको पश्चिम ढोकास्थित पृथ्वीनारायणको सालिकमा राष्ट्रपति भण्डारीले शुक्रवार बिहान पुष्प गुच्छा अर्पण गरेकी हुन् । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिले एक सन्देश दिँदै ‘पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकको रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको हो’ भनेकी छिन् ।

प्रधानसेनापति भारत प्रस्थान

काठमाडौंं, पुस २७ । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा शुक्रबार भारत प्रस्थान गर्ने भएका छन् । प्रधानसेनापति भइसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिवार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मानबाट सम्मानित गर्ने परम्परा छ । यसैबीच, अमेरिकी सेनाको इन्डो–प्यासेफिक कमाण्डका प्रमुख फिलिप एस.डेभिड्सन दुई दिने औपचारिक नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौंं आइपुगेका छन् । उनले शुक्रबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण निरीक्षण गर्ने भएका छन् ।

साढे तीन लाख घर बनिसके

काठमाडौँ, पुस २७ । निजी आवास पुनर्निर्माण अन्तर्गत अहिलेसम्म तीन लाख ४७ हजार ७४८ नयाँ घर निर्माण सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भूकम्पपछि निजी आवास पुनर्निर्माणमा तीव्रता दिइएको बताए । २१औँ भूकम्प सुरक्षा दिवस मनाउने सम्बन्धमा भएका तयारीबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले निजी आवास पुनर्निर्माण अन्तर्गत अहिले ५ लाख ७८ हजार ७५६ घरहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। भवन निर्माणसम्बन्धी ५१ हजार ६४९ प्राविधिक जनशक्ति उत्पादन भएको विभागले जनाएको छ । सरकारले आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । यसपटक ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारा तय गरिएको छ ।

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

डोल्पा, पुस २७ । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो । गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए । शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंको बौद्धबाटै पक्राउ गरेको थियो । वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टसँग बुझ्दा मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको उनले बताए । प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका चार जनालाई केही दिन अगाडिमात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति ८ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए । रासस

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

गलेश्वर, पुस २७ । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् । चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो । गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराएका थिए । केन्द्रका प्रमुख चिकित्सक जीवन आचार्यको नेतृत्वमा गएको टोलीले विषालु घाँस खाएर बाख्रा मरेका जनाएको छ । बाख्रा मरेपछि करीब रु तीन लाखको क्षति भएको कृषक शाहीले बताउनुभयो । केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले दिएको जानकारीअनुसार चरन क्षेत्रमा पाइने विशाक्त घाँसकै कारण बाख्रा मरेका हुन् । ‘अज्ञात रोग वा महामारी होइन्, चरन क्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुँदा बाख्रा मरे’, रेग्मीले भने । रेग्मीका अनुसार मरेका सबै बाख्रामा एकै किसिमको समस्या देखिएको छ । १२ बाख्रा मरेका र पाँचको उपचार भइरहेको रेग्मीले बताउए । ऐतिहासिक पोखरी मर्मत साविकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित ‘बूढो पोखरी’लाई मर्मत–सम्भार गरेर स्थानीयवासीले चिटिक्क बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित यो पोखरी राजा गीर्वाणयुद्धको इतिहाससँग जोडिएको छ । राजा गीर्वाणयुद्धका नीर सुब्बा (अहिलेको स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले वि.सं १८६६ मा राजाको इच्छा अनुसार सो पोखरीको निर्माण गरेका स्व वसन्त बोगटीका सातौँ पुस्ताका सन्तती चिरञ्जीवी बोगटीले जानकारी दिए । बोगटीले दिएको जानकारीअनुसार त्यतिबेला रत्नेचौरमा पानीको हाहाकार थियो । गाउँमा कतै पनि पानीका स्रोत नभएपछि ढोडेनीबाट पानी बोकेर खाने, सरसफाइ गर्ने र पशु चौपायालाई खुवाउने गर्नुपर्दा स्थानीयवासी आजित भएका थिए । स्व बोगटीले यो कुरा राजा गीर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी संकलन गरेर स्थानीयवासीले पानीको समस्याबाट मुक्ति पाएका थिए । करीब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । पोखरीबाट करीब २२ मिटरमाथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालेर अहिले पोखरीलाई नयाँ स्वरुपमा मर्मत सम्भार गरिएको छ । पोखरीको पानी स्थानीयवासीले प्रयोग गर्ने गरेका छन् । गत आर्थिक वर्ष पोखरी संरक्षणका लागि बेनी नगरपालिकाबाट रु ५० हजार र साविकको जिल्ला भू–संरक्षण कार्यालयबाट रु ५० हजार सहयोग भएको थियो । त्यसैगरी स्थानीयले करीब रु ६० हजारको जनश्रमदान गरी पोखरी मर्मत सम्भार गरेपछि अहिले बूढो पोखरी चिटिक्क परेको र पोखरी हेर्नका लागि टाढाटाढाबाट समेत मानिस आउने गरेका बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए । रासस

भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै

पर्वत, पुस २७ । पर्वतको फलेवास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने । ‘घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरें’, भुसालले भने, ‘दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखें ।’ भुसालमात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता फिर्ता गरे । मर्मत गरेर बस्न मिल्ने घर भत्काउनुभन्दा पूर्ण क्षतिमा परेका परिवारले अनुदान नै फिर्ता गर्ने क्रम बढेको छ । पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ । उनीहरुमध्ये पूर्ण क्षतिमा परेका ७ जनाले घर नबनाई अनुदान फिर्ता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्यांकअनुसार हालसम्म जम्मा ७०ले मात्रै घर सम्पन्न गरेर अनुदान बुझेका छन् । घर निर्माणको अनुदान पाउने लाभग्राहीमध्ये पहिलो किस्ता रकम सम्झौता गर्नेको सङ्ख्या चार हजार ८४६ छ । जसमध्ये एक हजार ६०६ ले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । अधिकांश घर केही चर्के पनि बस्न मिल्ने भएकाले घर बनाउनेतर्फ बढी चासो दिएका छैनन् । अर्कोतर्फ घर निर्माणमा दक्ष जनशक्तिको अभाव, गाउँमा प्राविधिक नपुग्नु र किस्ता लिन झन्झट भएका कारण पुनःनिर्माण अपेक्षित गतिमा नभएको पाइएको छ । ‘घर बनाउनेभन्दा पहिलो किस्ता बुझेर त्यसै बस्ने धेरै भए’, जिल्ला अनुदान व्यवस्थापन एकाइका प्रमुख जगदीश शर्माले भने, ‘अनुदान फिर्ता गर्न सञ्चारमाध्यम र सबै निकायलाई प्रयोग गरेर ताकेता गरेका छौं ।’ सानोतिनो राहतमा खाद्यान्न, आश्वासन र प्राविधिकको सल्लाह सुन्दासुन्दै हैरान परेका बिहादी–३ रानीपानीकी गङ्गा पराजुली आफैंले घर निर्माण सके । तर, प्राविधिक स्टिमेट नमिलेको भन्दै पाउनुपर्ने अनुदान रकम अझै पाउनुभएको छैन । फलेवास–३ का टीकाराम तिवारीले पनि भत्किएको घर बनाएर सकेको दुई वर्ष पुग्यो । तर, अहिलेसम्म सबै किस्ता रकम पाउनै सकेका छैनन् । ‘मैले घर सक्दा रु १० लाखभन्दा बढी खर्च भयो”, फलेवासका टीकारामले भने, ‘प्राविधिकले यो पुगेन र त्यो पुगेन भन्दै पुरै घर भत्काउने भन्छ । अब घर भत्काउनुभन्दा राहतै नलिन बेस भएन ?’ २०७४ कात्तिकमा शुरु गरेको रानीपानीकी विष्णु श्रेष्ठको घरको जग, पिल्लर र बिम बाँधेर छोडेपछि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । मर्मत गरी बस्न सक्ने ४१७ परिवारले प्रवलीकरण लाभग्राहीका रुपमा रकम बुझिसकेको शर्माले बताए । कार्यालयले ११३ सँग प्रवलीकरण अनुदान सम्झौता गरिएकामा भने सबैले प्रवलीकरण किस्ता लिएका छन् । पर्वतका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका दुई हजार ८७४ ले गुनासो फाराम भरेका छन् । गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका छन् । बिहादीका ७६५ परिवारले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ । फलेवास नगरपालिकाका ६६७ ले गुनासो फाराम भरेका छन् । घुम्ती शिविरबाट झण्डै दुई सय लाभान्वित जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाउँका दुई सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा बिहीबार सञ्चालन गरिएको शिविरबाट सदरमुकामसम्म आउन नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा असहाय परिवारका २०० जना लाभान्वित भएका छन् । शिविरमा ७७ लाई नागरिकताको प्रमाणपत्र र ५४ को फोटोसहितको मतदाता नामवली सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । जसमध्ये ३२ लाई प्रतिलिपि र ४५ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो । रासस

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् । २९७औँ पृथ्वी जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिएका छन् । ‘उनको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्व मानचित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यस बेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।’ प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्त्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘उनले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साँस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताको आधार तयार गरे,’ शुभकामना सन्देशमा भनिएको छ, ‘अनेकताबिचको एकताको गौरवमय परम्पराको बीजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकता बिचको एकता नेपालको पहिचान बनेको छ ।’ संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ‘पृथ्वीनारायण शाहको स्मरण गर्दै गर्दा प्रतिकात्मक रूपमा हामी एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गरिरहेका छौँ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्यताप्रति हामी सदैव गौरव गर्दछौँ ।’ ंसंघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मान सहितको समतामूलक समाज सुनिश्चित गरेको बताएका छन् । ‘हामी राज्य सञ्चालनका आधुनिक लोकतान्त्रिक विधि अनुरूप अघि बढिरहेका छौँ । आजको युगमा अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानका आधार हुन्,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

अवकाश पाएका ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिए

काठमाडौं, पुष २७ । अवकाश प्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ । एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो । पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् । त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकोमा फिर्ता गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कोठामै बोलाएर बालिकामाथि बलात्कार, चारजना पक्राउ

भक्तपुर, पुष २६ । उदयपुर त्रियुगा घर भई हाल काठमाडौं बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन् । यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारै जनालाई पक्राउ गरी अनुसन्धान गरी आजै भक्तपुर जिल्ला अदालतमा पेश गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । रासस

उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ राजदूतले भनिन्, ‘नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो’

काठमाडौं, पुष २६ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गरेकी छन् । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत याङछीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेकी हुन् । भेटमा चीनका उपराष्ट्रपतिले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले उपराष्ट्रपतिलाई हस्तान्तरण गरिन् । भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको बताए । उनले दुईदेशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताए । उपराष्ट्रपतिल उनले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उपराष्ट्रति पुनले नेपाल एक चिन नीति प्रति प्रतिबद्ध रहेको बताए । ‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ,’ उनले भन्ने, ‘चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ । नेपाल पनि आफ्नो भूमीमा चीन विरोधी क्रियाकलाप हुन दिने छैन ।’ उपराष्ट्रति पुनले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए । उनले नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको बताए । उपराष्ट्रपति पुनले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको बताए । ‘हामी चीनबाट प्रविधिको आयात गर्न चाहन्छौँ । रेलवेद्वारा जोडिन चाहन्छौँ’, उनले भने, ‘हामी कम्तिमा ७ वटा उत्तर दक्षिण राजमार्गद्वारा चीनसित जोडिन चाहन्छौँ । हामी विकासको लागि भौतिक पूर्वाधारहरु निर्माण गर्न चाहन्छौँ ।’ उपराष्ट्रपतिले सन् २०१९ मा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउनुहुँदै चिनियाँ लगानीकर्ताहरु नेपाल आउने विश्वास व्यक्त गरे । उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि चीन सरकारले प्रोत्साहन गरिदिनुपर्ने बताए । ‘२०१९ मा हामीले अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेका छौँ । चीनबाट गतिला लगानीकर्ताहरु आएको हेर्न चाहन्छौँ’, उनले भने, ‘२०२० नेपाल भ्रमण वर्ष हो । यसलाई सफल पार्न धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणको निम्ति चीन सरकारले प्रोत्साहन गरिदिनु पर्यो ।’ उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताइन् । उनले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताइन् । ‘नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ । अरु देशमा यति सहज हुँदैन’, उनले भनिन्, ‘हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ ।’ राजदूत याङछीले अग्रजहरुले स्थापना गरेका दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने आफ्नो निरन्तर प्रयास हुने बताइन् । उनले नेपालको स्वतन्त्रता, विकास र समृद्धिमा चीनको सदैव समर्थन र साथ सहयोग हुने बताइन् । उनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालको विकास र समृद्धिमा सकेको योगदान गर्ने समेत बताइन् । उनले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताइन् । नेपाल सांस्कृतिक रुपमा विश्व सम्पदामा सुचीकृत रहेको, वुद्धको जन्मस्थल यहीं रहेको र संसारको सर्वोच्च शिखर सगरमाथा यहीं रहेकाले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको बताइन् । राजदूत याङछीले आफ्नो कार्यकालमा दुईदेशबीचको हवाई उडान थप गर्न चाहेको बताइन् । उनले चीनमा विकास भईरहेको प्रविधिले नेपालको विकासलाई सघाउ पुग्ने बताइन् । ‘केही वर्षयता चीनमा नयाँ प्रविधिहरुको विकास भैरहेका छन् । माओले भन्नु भएको छ, मानिसको क्षमता भगवानको भन्दा बढि हुन सक्दछ’, उनले भनिन्, ‘अब हामीबीच प्रविधि र तालिमको आदानप्रदान, युवाहरुको आदानप्रदान हुनुपर्दछ । यो मेरो कार्यकालको लक्ष्य हो ।’ तस्वीर- उपराष्ट्रपतिको नीजि सचिवालय

पृथ्वी जयन्तीमा उपमहानगरमा सार्वजनिक बिदा

बाँके, पुष २६ । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको विहीबार बसेको बैठकले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । संघीय सरकारले पृथ्वी जयन्तीलाई बेवास्ता गरिरहेका बेला उपमहानगरपालिकाले आफ्नो मातहतका कार्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए।  

महाकाली नदीमा पहिलो पटक र्‍याफ्टिङ

महेन्द्रनगर, पुष २६ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीमा पहिलाे पटक साहसिक जलयात्रा ‘र्‍याफ्टिङ’ गराएको छ । भीमदत्त नगरपालिका ९ मुसेट्टीदेखि खल्लासम्म पहिलो पटक परीक्षणका रुपमा र्याफ्टिङ्ग गरिएको हो । गत आर्थिक वर्षमा नदीमा र्याफ्टिङ्ग सञ्चालनका लागि स्थलगत अध्ययन गरिएको थियो । महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवद्र्धनका लागि महाकाली नदीमा र्याफ्टिङ्ग परीक्षण गरिएको छ । महाकाली नदीमा पहिलो पटक परीक्षण गरिएको हो । भारतीय पक्षले नदीमा र्याफ्टिङ्ग सञ्चालन गर्दै आए पनि नेपालले हालसम्म चलाउन सञ्चालन गर्न सकेको थिएन् । भीमदत्त नगरपालिकाले विशिष्ठ व्यक्तिको सहभागितामा पहिलो पटक परीक्षणका रुपमा नदीमा र्‍याफ्टिङ गराएको छ । नेकपाका सुदूरपश्चिम अध्यक्ष एवम् पूर्ण उद्योग मन्त्री कर्ण बहादुर थापा, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, डडेल्धुराका पूर्व सभापति गजेन्द्र शाही सहित सहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहभागी भएका छन् । उनीहरु सहित भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह, कार्यपालिका सदस्य गीता ओली, वडा अध्यक्षहरु परमानन्द जोशी, लाल बहादुर शाही, पत्रकारहरुले मुसेट्टीबाट खल्लासम्म र्‍याफ्टिङ गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, नेपाली सेनाका मेजर विदुर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक विनोद श्रेष्ठ जलायात्रामा सहभागी भए । ‘महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा केही काम गर्न खोजेका छौ, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका छौ’ नगर प्रमुख विष्टले भने, ‘महाकाली नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न परीक्षणका रुपमा यो कार्य गरिएको छ, यसलाई आगामी दिनमा निरन्तरता दिने लक्ष्य लिएर अघि बढेका छौ ।’ महाकाली नदीमा साहसित्र जलयात्रा सञ्चालनका लागि मुसेट्टीसम्म सहज पहुँच मार्ग र नीति नियम बनाएर निरन्तरता दिइने बताए । ‘आज सफल परीक्षण गरिएको छ, आगामी दिनमा निरन्तरता दिने गरी कार्यक्रम बनाउँछौ’ उनले भने । कैलालीको कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लि.ले नदीमा तीन बोटमा पूर्व मन्त्री थापा सहितका सहभागीलाई चढाएर साहसित्र जलयात्रा गराएको छ । महाकाली किनारमा पूर्व उद्योग मन्त्री थापा सहित सहभागी सबैले गोलो घेरा बनाएर महाकाली नदीको बहुउपयोग गरी समृद्ध भीमदत्त बनाउने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै र्याफ्टिङ्ग सुरु गरिएको हो । पूर्व मन्त्री थापा, सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावल र भीनपाका मेयर विष्टको नेतृत्वमा छुट्टाछुट्टै बोटमा यात्रा गरिएको छ । नेकपाका प्रदेश अध्यक्ष एवम् पूर्व मन्त्री थापाले भीमदत्त नगरपालिकाले सुरु गरेको साहसित्र जलयात्रा नगर र देश विकासका लागि महत्वपूर्ण हुने भएकाले प्रशंसा व्यक्त गरे । ‘साहसिक जलयात्रा महत्वपूर्ण खेल हो, यो पनि समृद्धिको आधार हो, त्यसैले समृद्धिका आधार पहिल्याउने र त्यसमा जाने हो’ उनले भने,‘नगर र देश विकासका लागि गरिएको यो यात्राको उच्च प्रशंसा गर्दछु ।’ राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै उनले अनावश्यक विवाद गरी विकासलाई अवरोध गर्न नहुनेमा जोड दिए । ‘अहिले अनावश्यक विवादमा अल्झिने समय होइन, जल, नदी, वनको उपयोग गरी विकास समृद्धि ल्याउने हो, संसारका विकसित देशहरु तिनै स्रोतको प्रयोगले भएका हुन्’ उनले भने,‘त्यसैले हामी पनि सबै सम्भावना प्रयोग गरी विकसित हुन हो ।’ महाकाली नदीमा गरिएको साहसित्र जलायत्रा नयाँ कामको सुरुवात गरिएको उल्लेख गर्दै उनले भीमदत्तको समृद्धिमा सहयोग पुग्ने बताए । सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री रावलले महाकाली नदीमा साहसिक जलयात्राले भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए । ‘हिजोसम्म महाकाली नदीको ढुङ्गा, बालुवा मात्रै प्रयोग गरियो, त्यसको बहुउपयोग सिद्धान्त अनुसार आज र्याफ्टिङ्गको परीक्षण गरिएको छ, यो नयाँ काम हो’ उनले भने, ‘यसबाट भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ, त्यसले पर्यटन प्रवद्र्धन हुन्छ, स्थानीको जीवन स्तरमा सुधार आउँछ ।’ सकारात्मक सोचका साथ अघि बढे समृद्ध आउने उल्लेख गर्दै मन्त्री रावलले साहसिक जलयात्रालाई पर्यटनका रुपमा विकास गर्न प्रदेश सरकार सहयोग गर्ने बताए । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै भीमदत्तको समिद्धिमा सबैको सहयोग पाउने आशा व्यक्त गरिन् । साहकि जलयात्रामा सहभागीहरुलाई मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयमा स्थानीयले फूलमाला र टिका लगाएर स्वागत गरे । नदी किनारमा र्याफ्टिङ्ग हेर्न खल्ला, टुँडिखेल र ब्रह्मदेबका स्थानीय नदी किनार पुगे । मुसेट्टीका स्थानीय विर बहादुर चन्दले महाकाली नदीमा गरिएको र्याफ्टिङ्ग परीक्षणले खुसी लागेको बताए । ‘निकै खुसी लागेको छ, गाउँको विकास हुन्छ, अब रोजगार पाइन्छ, आलु तरकारी बेचिन्छ’ उनले भने,‘मूला तरकारी बेचेर पनि गुजारा चलाउन सकिने आशा आयो ।’नदीमा र्याफ्टिङ्ग परीक्षणका लागि मुसेट्टीसम्म सडक निर्माण गरिएको छ । साहसित्र जलयात्रामा नेकपा नेता नर बहादुर विश्वकर्मा, नन्दलाल चटौत, कर्ण बहादुर चन्द, काँग्रेसका नेता केशव सिह नायक, भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, ५ का अध्यक्ष मदन बहादुर चन्द, भीनपाका इन्जिनियर हिमालय सिह ऐर, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतका सहभागी भएका छन् ।

दलहरूमाथि खनिए पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठसहित]

काठमाडौं, पुष २६ । पूर्वराजा ज्ञानेन्द शाहले दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मुलकुको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् । राष्ट्र एकीकरणका नायक पृथ्वी नारायण शाहको दुई सय ९७ औँ जयन्तीको पूर्वसन्ध्यामा जारी वक्तव्यमा पूर्वराजाले यस्तो बताएका हुन् । हुने वक्तव्यमा भनेका छन्, ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो, मेरा साना दुखले आर्ज्याको मुलुक हैन सबैलाई चेतना भया’ भन्ने दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभुमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ ।’ नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसाथ गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराजको पदचापमा हिँडने प्रेरणा सबै नेपालीलाई प्राप्त हुने विश्वास व्यक्त गर्दै सन्देशमा उनले भनेका छन्, ‘एउटा स्वतन्त्र देश राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण राष्ट्र निर्माणकै दिन हो। राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर विरंगना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौँ। भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदै छ यसले बडामहाराधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराई रहेको छ। नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो, मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया भन्ने दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ। एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद र विचार हुनसक्दैन। नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ।’

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छः मन्त्री विष्ट

पोखरा, पुस पुष २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने बताएका छन् । आज (बिहीबार) गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौं युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरे । उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौं जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए । मन्त्री बिष्टले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए । उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे ।