प्रकाण्डका छोरा नरेन्द्रलाई खरखजना मुद्दा
विराटनगर, माघ १८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विकविरुद्ध हात हतियार तथा खरखजना मुद्दा चलाइने भएको छ । पेस्तोलको गोलीसहित पक्राउ परेकाले उनीविरुद्ध खरखजना मुद्दा चलाइने भएको हो ।
मुद्दा चलाउनलाई अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङबाट शुक्रबार सात दिनको म्याद थप गरेको छ । प्रकाण्डका छोरा नरेन्द्रलाई बिहीबार साँझ प्रहरीले विराटनगर विमानस्थलबाट पेस्तोलमा लोड हुने तीनवटा गोलीसहित पक्राउ गरेको थियो । मोरङ प्रहरीले मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रहरीका अनुसार कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र केही दिन अघि पूर्व आएका थिए । उनी विराटनगर विमानस्थलबाट यति एयरलायन्सको जहाजमार्फत बिहीबार साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । सुरक्षा चेकजाँचका क्रममा उनले बोकेको झोलामा पेस्तोलमा लोड हुने गोली फेला परेको प्रहरीले जनाएको छ ।
बाबुराम भट्टराई भन्छन्, ‘पुँजीवाद र साम्यवादको विकल्प आवश्यक’
धनकुटा, माघ १८ । नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले विश्वबाटै पुँजीवाद र साम्यवाद दुवै शक्ति संकटमा पर्दै गएकोले नेपालबाट नयाँ मोडलको शक्ति शुरुवात हुने दाबी गरेका छन् । पुँजीवादी र साम्यवादी धारको विकल्पको रुपमा अघि सारिएको मानवतावाद र भातृत्ववादसहितको विचारलाई आफ्नो पार्टीले नयाँ मोडलको रुप दिने भट्टराईको दाबी थियो । नयाँशक्ति पार्टीले सञ्चालन गरेको जनसंवाद यात्राका क्रममा धनकुटा पुगेका भट्टराईले शुक्रबार धनकुटामा आयोजित पत्रकार भेलामा उक्त कुरा बताएका हुन् । ‘हामी पुँजीवादी र साम्यवादी दुवैभन्दा माथि उठेको विचार नेपालबाट अघि सार्दै छौं’ भट्टराईले भने, ‘यो हाम्रो दुस्साहस हो, तर सफल हुने विश्वास छ ।’ पछिल्लो समय राजनीतिक दल र नेताप्रति वितृष्णा जाग्दै गएकोले आम नागरिकको भावना समेट्ने विचार जन्मन जरुरी रहेको उनको तर्क थियो । लोकतन्त्र, दलतन्त्र हुँदै आसेपासेतन्त्रको रुपमा सीमित बनेको भन्दै उनले जनता मालिक हुन् भन्ने बिर्सिएर सत्ता मोहमा आश लाग्दा राजनीतिक पार्टीले समेत जनतालाई धोका दिएको उनको आरोप थियो । धेरै राजा भए भनेर फेरि राजतन्त्र आवश्यक ठान्नु समाधान नहुने भन्दै भट्टराईले गल्ती गर्नेप्रति खबरदारी जरुरी रहेको टिप्पणी गरे । फरक प्रसंगमा उनले चिकित्सा शिक्षाबारे आमरण अनसन बसेका गोविन्द केसीको माग जायज भएपनि असान्दर्भिक माग घुसाएर समस्यामा पार्ने काम भएको बताए । कान्तिपुर दैनिकबाट
नयाँ शैक्षिक योग्यताः अब प्रहरी जवान बन्न एसइई पास गरेको हुनुपर्ने
काठमाडौं, माघ १८ । नेपाल प्रहरीको जवानमा जागिर खानका लागि शैक्षिक योग्यता तोकिएको छ। प्रहरी नियमावली २०७१ लाई संशोधन गरेर प्रहरी जवानका लागि एसइई पास गरेका नेपाली नागरिकले आवेदन दिन प्रवाधान ल्याइएको हो। यसअघि ८ कक्षा पास गरेका नेपाली नागरिक प्रहरी जवानका लागि योग्य हुने व्यवस्था थियो। प्रहरी नियमावली संशोधन गरेर पुरानो व्यवस्था हटाएको हो। संशोधित नियमावलीको भाग तीनको उपखण्ड १ को ‘क’ मा प्रहरी जवानका लागि शैक्षिक योग्यता ‘एसइई’ वा सो सहर उत्तीर्ण गरेको हुन पर्नेु भन्ने उल्लेख गरिएको छ। प्रस्तावित नयाँ व्यवस्था राजपत्रमा समेत प्रकाशित भइसकेकोछ ।
राजदूत लक्की शेर्पा दिइन् राजीनामा
काठमाडौं, माघ १८ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लागेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्। उनका चालकले नै उनी माथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए। परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले रिपोर्ट मन्त्रालयलाई बुझाएपछि उनी अष्ट्रेलिया गएर आफ्नो सामानसहित फिर्ता भएकी हुन्। तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा विवादमा तानिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन सुझावएपछि उनी राजीनामा दिएको स्रोतले बताएको छ।
देशभर १० हजार दुर्घटना, एक हजार बढीको मृत्यु
काठमाडौं, माघ १८ । साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ महिनामा देशभर उक्त संख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०, जीप, कार दुई हजार ९५२, बस एक हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ सवारी दुर्घटना भएका छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउँदै ‘साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना भएको हो’ भने । प्रहरीले दुर्घटना घटाउनका लागि ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदलयात्रुलाई प्रदान गर्दै आएको छ । यसैगरी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा सातै प्रदेशमा रि–फेसिङ सेन्टर (आरामस्थल) स्थापना गरिएको छ । उक्त आरामस्थलमा चालक, सहचालक र पैदलयात्रुलाई आराम गर्नुका साथै ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको छ । उपत्यकामा धेरै दुर्घटना, कर्णाली प्रदेशमा कम सवारी दुर्घटना भएकामध्ये सवैभन्दा धेरै काठमाण्डौ उपत्यकामा भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्र सात हजार २६० दुर्घटना भएका छन् । प्रदेश–१ मा ९२४, प्रदेश–२ मा ६६८, प्रदेश–३ मा ५३३, गण्डकी प्रदेश ३४१, प्रदेश–५ मा ७४६, कर्णाली प्रदेश ७८ र सुदूरपश्चिम प्रदेशमा १३० सवारी साधन दुर्घटना भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले साँघुरो बाटो र अत्यधिक सवारी साधन भएका कारण बढी दुर्घटना हने गरेको बताए । ‘चालकको लापर्वाही र सवारी नियम नमान्दा बढी दुर्घटना भएको हो’ उाले भने । एक हजार ४१३ जनाको मृत्यु चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा परी एक हजार ४१३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक हजार ४३ पुरुष, २४५ महिला, ७६ बालक र ४९ बालिका छन् । यस्तै, दुई हजार १५३ व्यक्ति गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये एक हजार ५२२ पुरुष, ४१८ महिला, १२९ बालक र ८४ बालिका छन् । यसैगरी पाँच हजार २१२ सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो समयदेखि महानगरीय ट्राफिक कार्यालयमा कार्यरत पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँदै ‘चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुन्छ भने।’ यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चालनमा छन् । तीमध्ये झण्डै नौ लाख सवारी साधन काठमाडौं उपत्यकामा सञ्चालित छन् । रासस
६ औषधी गुणस्तरहीन प्रमाणित, बेचबिखनमा राेक (नामसहित)
काठमाडौं, माघ १८ । नेपाल औषधि व्यवस्था विभागले औषधिको गुणस्तर न्युन रहेको भन्दै विक्रीवितरणमा रोक लगाएको छ । तीमध्ये सबैभन्दा धेरै क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको औषधि छ । यो औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छन् । लेबन ल्याब्रोटोरिज प्रालि इन्डियाको ‘जाइलो–पी’, ओम फर्मास्युटिकल्स नेपालको ‘लोटेम्प’ नाम औषधिका तीन ब्याच, केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोला’ र सुमीफर्मास्युटिकल्सको ‘मेगाफल’ न्युन गुणस्तरका भेटिएका हुन् । विभागले यी औषधि प्रयोग र विक्रीवितरण नगर्न भनेको छ। यसैगरी आर्या फर्मास्युटिकल्सको ‘मुपिर ओइनमेन्ट’लाई बजारबाट फिर्ता लिन भनिएको छ । स्वास्थ्यखबरबाट
जेसिबीले ठक्कर दिँदा दुईकाे मृत्यु
सिरहा : सिरहा नगरपालिका ११ पदमपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । गएकाे राती चोहर्वाबाट सिरहातर्फ आउँदै गरेको ‘अन टेष्ट’ जेसिबीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गएको हो । दुर्घटनामा स ७ प ८७४८ को मोटरसाइकलमा सवार सिरहा नपा ११ का ३५ वर्षिय विरेन्द्र पंडित र २८ वर्षिय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन सिंह बस्नेतले जानकारी दिए । उनकाअनुसार दुर्घटनापछि जेसिबी चालक फरार भएका छन् । जेसिबी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनामा जेसिबीको लापरवाही देखिएको प्रहरीको भनाई छ ।
अनकण्टार जंगलमा जबर्जस्ती करणी गर्न खाेज्दा यसरी प्रतिकार गरे चेपाङ किशोरीले
राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताउनुभयो । घटनाको साँझ ७ बजे जानकारी भएपछि राति दुवै जनालाई उद्धार गरी आज बिहान भरतपुर अस्पताल ल्याइएको आचार्यले बताउनुभयो । पीडितका अनुसार कुटपिट गर्ने अन्दाजी १८/२० वर्षका युवक उनीहरुले हालसम्म नदेखेको जनाएका छन् । प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो । आचार्यका अनुसार घरबाट किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जङ्गल र भीरको बाटोबाट हिँडिरहेको मौका छोपी दुईमध्ये किशोरीलाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए । आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा गम्भीर चोट लागेको छ । लाठीले हानेर लखेटी अर्की किशोरीलाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती किशोरीलाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाइ बलात्कार प्रयास भएको पीडितले जनाएका छन् । भरतपुर अस्पतालमा उपचाररत् किशोरीको परीक्षण भइरहेकाले जबर्जस्ती करणीको प्रयास मात्रै हो वा करणी नै हो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइते बालिकाको टाउकोमा रगत जमेको छ भने किशोरीको टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ । यसैबीच मितेरी फाउण्डेशन नेपालका अध्यक्ष एकल सिलवालले एक विज्ञप्ति जारी गरी पीडित बालिकाको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनस्र्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी निजलाई पक्रेर हदैसम्मको कानूनी सजाय गर्न सरकारसँग माग गर्नुभएको छ । दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि सो संस्थाको पहलमा काठमाडौँको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । उनीहरू सबै जना यतिबेला विद्यालयले दिएको जाडो बिदामा घर आएका छन् । तिनैमध्येका दुई बालिकामाथि घटना भएको फाउण्डेशनले जनाएको छ । (रासस)
अाज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । देशका अधिकांश भूभागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको माैसम महाशाखाले जनाएको छ । पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली हुने महाशााखाको भनाइ छ । त्यसैगरी पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमी र मध्यका हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाले मंगलबार राति देशको पहाडी भुभागमा सामान्यदेखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदली हुने तथा पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमी र मध्यका हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार दिउँसोः देशभर सामान्यतया बदली हुनेछ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ । रातिः देशभर सामान्यतया बदली हुनेछ । पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ । माघ १० गते बिहीबार – दिउँसोः देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पुर्वी तथा मध्यका पहाडी भुभागमा आंशिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिः देशको पहाडी भुभागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । तथापि मध्यरात पश्चात देशभर आंशिक बदली रहने संभावना छ ।
मेलम्ची: ठेकेदार नआए बाँकी काम विभाजन गरि अघि बढाइने , २ अर्ब ५० कराेड धराैटी जफत हुने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार ईटालियन कम्पनी सिएमसीलाई अन्तिम ताकेता गरिएपछि सरकारी पक्ष बलियाे बनेकाे छ । याे सँगै एशियालि विकास बैंकसँग बाँकी रहेकाे कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने सहमति भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क(एडीबी)सँग गरेको जनाएको हाे । ठेकेदार कम्पनीकाे सम्झौता म्याद समाप्त हुन लागेकाे अवस्थामा सरकारले समयमा नै अन्तिम ताकेता पठाएकाे हाे । अब ठेकेदारले काममा नफर्किए उसले सम्झाैता सरकारका कारण भंग भएकाे भन्न पाउने अवस्था छैन । खानेपानी मन्त्री बीना मगरले व्यापक छलफल र भविष्यकाे तयारीका बारेमा समेत ध्यानमा राखि सचेततापुर्वक याे निर्णय गरिएकाे बताइन । ठेकेदार नआएकाे अवस्थामा समेत काममा समस्या नहुने मन्त्री मगरकाे दावी छ । यही विषयमा मेलम्चि विकास समिति र एडीबीबीच सम्पन्न सोमबारको बैठकमा कम्पनी नआए बाँकी काम विभाजन गरी अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उहाँका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ । समितिका अनुसार सीएमसीलाई किन ठेक्का रद्द नगर्ने ?भन्दै ठेक्का रद्द गर्नेे जानकारी पठाइएको छ । यसले गर्दा भविष्यमा डिसजन बाेर्ड या अन्य निकायमा उजुरि गर्न सक्ने अवस्था कमजाेर बनेकाे हाे । चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराइने समितिले जनाएको छ । अन्तिम समयसम्म पटक–पटक वार्ताका लागि पहल गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको हो । सीएमसी काममा नफर्किए सीएमसीको दुई अर्ब ५० करोड रुपियाँ धरौटी पनि जफत हुनेछ । एक महिनाअघि निर्माण कम्पनीले ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन । कम्पनी आर्थिक सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका कर्मचारीहरू एक महिनाअघि काम छाडेर स्वदेश फर्किएका थिए । कम्पनी काममा फर्किनुको साटो भुक्तानी गर्न बाँकी रकम, भेरियसनबापतको थप दावी रकम छिटो दिनुपर्ने लगायतका सर्तहरु अगाडि सारिएको थियो । झण्डै दुई दशकदेखि भइरहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणमा करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका अधिकारीहरूले बताएका छन्। सिनियर डिभिजनल इन्जिनियर पन्तका अनुसार २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति ‘इन्भर्ट कन्क्रिट’को काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शाफ्टको काम बाँकी छ। त्यसैगरी सुरुङ्गको दैनिक अनुगमन गर्ने प्रणाली स्थापना गर्न बाँकी रहेको पन्तले बताए। माथि उल्लेखित काममध्ये अनुगमन प्रणाली स्थापना गर्ने बाहेकका काम नेपाली कम्पनीहरूले गर्न सक्ने आयोजनाका अधिकारीहरूको भनाइ छ।
नेविसंघ अधिवेशनमा कांग्रेस नेताबीच कुटाकुट
ओखलढुंगा, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा विवाद भएपछि पार्टी काग्रेस नेताबीच कुटाकुट भएको छ । अन्नपूर्ण पाेष्ट दैनिकका अनुसार, सोमबार साँझ उद्घाटन सत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ । उनले कुटपिटका क्रममा आँखामा चोट लागेको बताएका छन् । सामुदायिक अस्पता स्रोब्रुमा आँखा परीक्षण गरेको पनि उनले बताए । त्यस्तै पूर्व सभापति गोमा केसी पनि कुटिएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् । केसीले पत्रकार सम्मेलनमा आफुमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेको आरोप लगाएकी छिन् । अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको थियो । कार्यक्रम सुरु हुँदा जिल्ला सभापति प्रदिप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको नेविसंघका कार्यकर्ता सुजन दाहालले बताए । प्रतिनिधि एकपक्षीय बनाएर आफु अनुकूल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसीले मञ्चमै पुगेर कार्यक्रम रोक्न माग गर्दा झडपको अवस्था भएको हो । मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्लभ दाहाल काका र पूर्व सभापति गोमा केसीबीच हात हालाहाल भएको प्रत्यक्षदर्शी नेता विनोद केसीले बताए । उनले सभापति सुनुवार र उपसभापति खनालले आक्रमण गरेको पनि आरोप लगाए । झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कुटाकुटपछि अधिवेशनमा आएका विद्यार्थीसमेत दुईपक्षमा विभाजित भएका छन् । वर्तमान पदाधिकारी र प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने जारी छ । केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगनको विज्ञप्ती निकालेका थिए । त्यसपछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएर अधिवेशनको बन्दसत्र चलिरहेको छ । सभापतिको राजीनामा माग संस्थापन (शेरबहादुर देउवा) पक्षले विधि मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरी जल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको रामजीनामा मागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता टेकराज भट्टराईले महिना नेतृमाथि दुव्र्यवहार गर्ने सभापतिलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे । उनले केन्द्रीय सभापति देउवासमक्ष सुनुवारलाई बर्खास्त गर्न माग गरिने बताए । पत्रकार सम्मेलनमा नेतृ गोमा केसीले सभापतिले आफुमाथि दुव्र्यबहार गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् । उनले बर्तमान पदाधिकारी बर्खास्त गर्न केन्द्रसँग मागसमेत गरेकी छन् । माहिलमाथि हिंसा गर्ने सभापतिलाई पदमा बस्न अधिकार नभएको भन्दै उनीहरुलाई अस्वीकार गर्ने केसी लगायतका नेताहरुले पत्रकार सम्मेलनमा बताएका छन् । जिल्ला सभापति प्रदिप सुनुवारले भने मादक पदार्थ पिएका केही व्यक्ति घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरुले आफुमाथि आक्रमण प्रयास गरेको उद्घाटन सत्रमा सम्बोधन गर्दै बताएका थिए । उनले आफुमाथि आक्रमण प्रयास गर्नेहरुलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिए । लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ । संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको सभापति सुनुवारले बताए । गुण्डागर्दीको शैलीमा कार्यक्रम विथोल्न खोजे पनि असफल पारिएको सुनुवारले बताए ।
दश लाख धरौटी बुझाएर छुटे पूर्वगभर्नर रावल
काठमाडौं, माघ ७ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । दश रुपैयाँ दरको पोलिमर नोट छपाइमा भएको भ्रष्टाचारमा मुछिएका उनी अदालतलाई १० लाख रुपैयाँ बुझाउदैं सोमबार धरौटीमा छुटेका हुन् । आज सकिएको थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले रावलसँग १० लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । करिब १६ वर्ष पुरानो अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाईमा भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही पुस ५ गते रावल, राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट भनिएका हिमालयबहादुर पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । उनीहरु तीनैजनाविरुद्ध अख्तियारले ९१ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा चलाएको थियो । रावल विशेष अदालतमा उपस्थित भए पनि अन्य उपस्थित नभएको विशेष अदालत श्रोतले जनाएको छ । अन्नपूर्ण पोस्ट्बाट
कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा डा. भट्टराईले जनाए असन्तुष्टि
काठमाडौं, माघ ७ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई जिम्मेवार बन्न पनि आग्रह गरेका छन् । सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना पार्टीका पूर्व सभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारको मातहतमा राख्न माग गर्दै संसद बैठक अवरुद्ध पारेको थियो । त्यसप्रति आपत्ति जनाउँदै संयोजक भट्टराईले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेस संसदमार्फत् जनताको समस्या समाधान गर्न गम्भीर नभएको भन्दै चिन्ता पनि व्यक्त गरे । सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सहमति जुटाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
देउवाको आरोप– सरकारले निर्मला पन्तको घटनामा भेटिएका सबै प्रमाण नष्ट गर्यो
लमजुङ, माघ ७ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हत्या, हिंसा, बलात्कारजस्ता अपराधिक घटना नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले भने, ‘सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या हिंसाका घट्नामा वृद्धि हुँदासमेत सरकार मूकदर्शक बनेको छ ।’ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँडेर विकास निर्माणका क्षेत्रमा केही काम नगरेको आरोप लगाए । “नब्बे प्रतिशत राष्ट्रिय योजना काङ्ग्रेस सरकारकै पालामा सुरुआत भएका हुन्”, उनले भने, “कम्युनिष्टहरू हावादारी कुरा मात्र गर्छन, काम केही गर्दैनन्, काम केही नगर्ने र अरुले गरेका राम्रा काम पनि आफैँले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिष्टमा हावी भएकाले विकासले गति लिन सकेको छैन ।” नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिष्ट सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी संसदीय शासन व्यवस्थामाथि नै हस्तक्षेप गरेको आरोप लगाए । कम्युनिष्ट सरकारले ल्याउन खोजेको अधिनायकवादका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन एक भएपछि काङ्ग्रेस पार्टी एकजुट हुने अपेक्षा गर्दै सबै जिल्लामा प्रेस युनियनलाई एकढिक्का बनाउने अभियानमा लागेको बताए ।
रवि लामिछानेले गरे अर्को विवाह !
काठमाडौँ, माघ ७ । चर्चित संचारकर्मी रवि लामिछानेले उनकाबारेमा चलिराखेको हल्लालाई पुष्टि गर्दै चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । रवि र निकिताले सोमबार काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन् । केही समययता यी दुई प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह गर्ने चर्चा व्याप्त थियो । रवि र निकिता दुवैले आफ्ना पूर्व जीवनसाथीलाई पारपाचुके गरेका हुन् । रविले केही महिना पूर्व पत्नी इशा लामिछानेसँग २५ वर्षे वैवाहिक सम्बन्ध औपचारिक रूपमै भंग गरेका थिए । पहिलो श्रीमतीबाट उनका दुई छोरी छन्। यसका अतिरिक्त अमेरिका बसोबासका क्रममा कुनै विदेशी महिलासँग लिभिङ टुगेदरमा बसेको र ती महिलाबाट एक सन्तान पनि जन्मेको रविले यसअघि नै बताईसकेका छन्। निकिताले पनि सात वर्ष अघि आफ्ना पूर्व पतिसँग सम्बन्ध विच्छेद गरेकी हुन् । कोर्ट म्यारिजपछि रविले सामाजिक सन्जालमा स्ट्याटसमार्फत यो कुरा सार्वजनिक गरेका छन् । रविले लेखेका छन्। ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा विवाह दर्ता गरेका छौ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुराचाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।’
अब काठमाडौं झिलिमिली, नगरपालिकाले ८ हजार सडक बत्ती जडान गर्ने
काठमाडौं, माघ ७ । काठमाडौं महानगरपालिकाले रातको समयमा नगरभित्रका सबै सडकलाई उज्यालो बनाउने अभियान सुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत् महानगरपालिकाले रातको समयमा महानगरभित्रका सबै सडक झिलिमिली बनाउने उद्देश्यसहित सडक बत्ती जडान अभियान सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले रातको समयमा महानगरभित्रका सबै सडक उज्यालो बनाउने तयारी गर्दै ८ हजार सडक बत्ती जडान सुरु गरेको छ । महानगरपालिकाले ३२ ओटै वडाको तथ्यांक संकलन गरी विद्युतीय बत्ती जडान गर्न सुरु गरेको हो । महानगरलाई अँध्यारोमुक्त बनाउन चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममासमेत ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत् ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । मुख्य–मुख्य सडक, चोक, गल्लीलगायत आवश्यक स्थानमा बत्ती जडान गर्ने महानगरको योजना छ । बत्ती जडानका लागि महानगरपालिकाले धार्मिक र व्यावसायिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । सबै वडाका सडकमा गरी ८ हजार बत्ती जडान गर्ने योजना रहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । आवश्यकता र ठाउँअनुसार २४ देखि ५० वाटसम्मका बत्ती जडान गर्ने योजना महानगरपालिकाको छ । सडक बत्ती जडानका लागि महानगरपालिकाले कुनै बाह्य सहयोगसमेत लिएको छैन । आफ्नो एकल प्रयासमै यो अभियान सुरु गरिएको प्रवक्ता डंगोलले बताए । महानगरको ‘मेयर उज्यालो कार्यक्रम’ प्रत्येक वडालाई विनियोजन गरिएको बजेटको १० प्रतिशत सडक बत्तीका लागि खर्च गर्नैपर्ने प्रावधान छ । यसअनुसार तीन करोड बजेट छुट्ट्याइएको वडाले सडक बत्तीका लागि झन्डै ३० लाख रुपैयाँ खर्चनुपर्ने हुन्छ । सरकारकै पहलमा पनि राजधानीका धेरै सडकमा सोलार प्यानल जडान गरेर सडकलाई उज्यालो बनाउने प्रयास नभएको होइन । करोडौं रकम खर्च गरेर महानगरपालिकाभित्र हजारौं बत्ती जडान गरिएका छन् । तर, मर्मत–सम्भारको अभावमा अधिकांश बत्ती नबल्ने अवस्थामा पुगेका छन् । त्यस्ता बत्ती मर्मत गरेर बाल्नुको सट्टा पुनः ठूलो धनराशि खर्च गरेर नयाँ बत्ती जडान गर्ने अभियानप्रति भने कतिपयले आर्थिक चलखेलको आशंकासमेत गरेका छन् । ईमेजखबरबाट

