हेर्नुस्, मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं, पुष २६ । सरकारले सोमबारको मन्त्रीपरिषद्का निर्णय आज सार्वजनिक गरेको छ । सूचना प्रविधि तथा संञ्चार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै मन्त्री गोकुल बाँस्कोटाले निर्णयहरू सार्वजनिक गरेका हन् ।

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख १४ निर्णयहरू यस्ता छन् :

१. नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ।

२. राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम स्वीकृत गरिएको छ।

३. नेपालगञ्ज (बाँके) रंगशाला परिसरभित्र रहेको दुई कठ्ठा सात धुर जग्गा प्राप्त गर्न राष्ट्रिय खेलकुद परिषद्लाई स्वीकृति दिइएको छ।

४. सात जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरूवा गर्ने निर्णय गरिएको छ।

५. दूरसञ्चार (आठौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ।

६. विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ।

७. भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई सचिव डा. संजय शर्मालाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी भाग लिन पठाउने निर्णय गरिएको छ।

८. नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ।

९. गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको संशोधित विधान, २०७४ स्वीकृत गरिएको छ।

१०. झापा जिल्ला महारानीझोडा, लखनपुर, सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका श्री राधाकृष्ण खनाललाई र समितिको सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका श्री मदन प्रसाद अधिकारीलाई तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ।

११. रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ स्वीकृत गरिएको छ।

१२. महेन्द्रनगर नगर विकास समिति विघटन गरिएको छ।

१३. स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न विकास समितिहरूमध्ये निम्न विकास समितिहरू संघ अन्तर्गत रहने गरी कायम गरिएको छ– क) कान्ति बाल अस्पताल विकास समिति (गठन) आदेश, २०४० बमोजिम गठित कान्ति बाल अस्पताल, काठमाडौं। ख) परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल विकास समिति (गठन) आदेश, २०४६ बमोजिम गठित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, काठमाडौं। ग) शुक्रराज ट्रपिकल तथा सरूवा रोग विकास समिति (गठन) आदेश, २०४९ बमोजिम गठित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, काठमाडौं।

घ) सिंहदरबार बैद्यखाना विकास समिति (गठन) आदेश, २०५१ बमोजिम गठित सिंहदरबार बैद्यखाना, काठमाडौं। ङ) किटजन्य रोग अनुसन्धान तथा तालीम विकास समिति (गठन) आदेश, २०५६ बमोजिम गठित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, काठमाडौं। च) मानसिक अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित मानसिक अस्पताल, ललितपुर। छ) नरदेवी आयुर्वेद अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित नरदेवि आयुर्वेद अस्पताल, काठमाडौं। ज) मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ बमोजिम गठित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर। झ) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति (गठन) आदेश, २०६९ बमोजिम गठित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर, काठमाडौं।

१४. राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री दिलिपराज रेग्मीको सेवा अवधि तीन वर्ष पुरा भएकाले पुस २३ देखि लागू हुनेगरी निजलाई राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट अवकास दिने निर्णय गरिएको छ। रिक्त रहने उक्त पदमा विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक श्री गणेशकुमार अधिकारीलाई सोही दिनदेखि लागू हुनेगरी बढुवा गरिएको छ।

इन्धनको मूल्य १० रुपैयाँ घट्यो

काठमाडौं, पुष २६ । हवाई इन्धनको मूल्य घटेको छ ।  नेपाल आयल निगमको ४९औं वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए । निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । साविकको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको उनले बताए । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले जानकारी दिए । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।

शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्छुः निगम प्रमुख पौडेल

काठमाडौं, पुस २६ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने दाबी गरेका छन् । बिहीबार निगमको ४८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । साथै, नवनियुक्त निर्देशक पौडेलले निगमलाई यही अवस्थामा रहन नदिने प्रतिवद्धतासमेत जनाए । उनले निगममा हुने गरेका बिकृती, बिसंगतिको अन्त्य गर्दै निगमको हरेक गतिविधिलाई पारदर्शी बताउने दाबी गरे । निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने निर्देशक पौडेलले बताए ।

दोषीलाई कारबाही माग गर्दै वीरगञ्जको घण्टारमा जुलुश प्रदर्शन

वीरगञ्ज, पुस २६ । वीरगन्ज महानरपालिका ६ की २६ वर्षीया महिला माधुरी वर्णवालका शंकास्पद मृत्युको विषयमा तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै बरनवाल सेवा समितीले बिहीबार वीरगन्जको घण्टाघरमा जुलुश प्रदर्शन गरेका छन् । मृतक वर्णवालको विवाह भएको एक वर्ष नबित्दिै नेपालगन्जस्थित आफनै घरको कोठामा पंखामा गत १७ पुसमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । दाइजो कम ल्याएको निहुमा पति मनिष वर्णवाल, ससुरा गोपीचन्द्र बर्णवाल र सासू राजकुमारी देवीले हत्या गरेको माधुरीको माईती पक्षले आरोप लगाएका छन्। वर्णवालको हत्यामा उनको श्रीमा, ससुरा र सासूको संलग्नता रहेको माइती पक्षको आरोप छ । भेरी अस्पताल नजिकै औषधीको थोक पसल रहेको माधुरीको ससुराल पक्षले त्यहाँका डाक्टरलाई मिलाएको भनी आशंका जनाउँदैं पोस्टमार्टम रिपोर्ट सही आउने भरोसा नरहेको मृतकका आफन्तको भनाई छ । नेपालगन्जको प्रहरीले पनि दोषीलाई जोगाउने प्रयास गरिरहेको भन्दै उनीहरुले प्रहरीले अत्महत्या भन्दै सुरुमा जाहेरी लिन नमानेको र निकै प्रयास पछि मात्र जाहेरी लिएको आफन्त बताउँछन् । माइतीपक्षले माधुरीको श्रीमान, सासु र ससुराविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएको छ । नयाँपत्रिकादैनिकबाट साभार

कुलमानको अर्को कदमः अब एक हप्तामै ‘नयाँ मिटर’ उपलब्ध

काठमाडौं, पुस २६ । तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमशः १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । मुलुकभर विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने र महसुल बक्यौता असुलीमा कडाइ गर्दै आएको छ । यस्तै प्राविधिक चुहावट नियन्त्रण गर्न काठमाडौं उपत्यका र प्रमुख शहरी क्षेत्रमा पाँच हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यस्तै वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणको काम पनि अगाडि बढाइएको छ । सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्ने व्यवस्थासमेत मिलाइएको छ । नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको तथा घुस मागेको र घुस माग्दामाग्दै प्राधिकरणका कर्मचारी समेत पक्राउ पर्न थालेपछि प्राधिकरणले नयाँ व्यवस्था गरेको हो । प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्ने व्यवस्थासमेत मिलाएको छ । हरेक वितरण केन्द्रले आफूले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क मोबाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार सिङ्गल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिनभित्र मर्मत गरिनेछ । यस्तै थ्रि फेजको तीन दिन र टिओडी १० दिनभित्रमा जडान÷मर्मत गर्ने व्यवस्था समेत मिलाइएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा पनि उजुरी गर्न सकिने व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रीत भई क्षेत्रीय कार्यालय र त्यसअन्तर्गतका केन्द्र प्रमुखसँग धमाधम कार्यसम्पादन करार सम्झौतासमेत गर्दै आएको छ । रासस

मुण्डन गरेर आमाको किरिया बसिन् सांसद उषाकला राई

काठमाडौं, २६ पुस : प्रदेशसभा सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको किरियापुत्री बसेकी छिन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो । परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । सांसद राई पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । सांसद राईका दाजुभाइ छैनन् । उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले उषाको कामलाई महान् भनेका छन् । सामाजिक सञ्जालमा तस्बिर हाल्दै लेखेका छन्, ‘साँच्चै महान् हुनुहुन्छ ।’ महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्ने उनले लेखेका छन् । तामाङले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौं । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ ।’ सांसद राई अब ५ दिनसम्म काठमाडौंमा क्रियापुत्री बस्ने र खोटाङ जन्मघर जाने भएकी छिन् ।

सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण

काठमाडौँ, पुस २६ । नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हाल्ने भएका छन् । यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले बिहीबार एक कार्यक्रमका बीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगत्को सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।

सात सय विदेशी निष्कासित, सबैभन्दा बढी चिनियाँ

काठमाडौं, पुष २६ । गृह मन्त्रालयले अध्यागमन कानुन उल्लंघन गर्ने ७ सय १ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। भिसा अवधिभन्दा बढी बसेका र फरकफरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको हो। यो सन २०१८ को तथ्यांक हो। उनीहरूमाथि धर्म परिवर्तनमा संलग्न, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र भिसाबिना बसेको अभियोग छ। निष्कासित हुनेमा चिनियाँ नागरिक सबैभन्दा बढी छन्। गृह मन्त्रालयका अनुसार सन् २०१८ मा ३ सय ७३ जना चिनियाँ नागरिकलाई निस्कासन गरिएको छ। उनीहरू धर्म परिवर्तनमा भने संलग्न छैनन्। एक वर्षको अवधिमा अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ, जसमा दुई जापानी महिला, एक अस्ट्रेलियन युवती र एक फिलिपिन्सका दम्पती थिए। पर्यटक भिसामा नेपाल आई धर्म परिवर्तनमा संलग्न भएको पाइएपछि गृह मन्त्रालयले उनीहरूलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको थियो। अन्य निस्कासित हुनेहरूमा अधिकांश विदेशी भिसाबिना बसेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र कैद भुक्तान गरेका छन्। सरकारले विदेशीहरूको उपस्थितिलाई निगरानी नगर्दा अवैध रूपमा नेपाल बस्ने विदेशीको संख्या बढ्दै गएको छ। यो समाचार अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।

छोरी जन्मिए गाउँपालिकाले दिने भयो यस्तो उपहार

चितवन, पुस २६ । यहाँको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुणहत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ । सो गाउँपालिकाको चारवटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको उनले बताइन् । सो गाउँपालिकामा जनसङ्ख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला छन् । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको अध्यक्ष गुरुङले बताइन् । ती खातामा कम्तीमा रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुने छन् । हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताइन् । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीमसमेत दिँदै आएको छ । रासस  

मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार

हेटौडा, पुस २६ । हेटौँडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत छिन् । आफ्नो छोराको असाध्यै माया गर्ने उनले छोरालाई दैनिक एक–दुई सय खर्च दिने गर्थिन, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्यार्इं गनिन् । ९ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उनले ध्यान नै दिन भ्याउनुभएन । आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुन्थिन् । बिस्तारै छोरो धेरै नै सुत्ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहापाएपछि भने छाँगाबाट खसेको जस्तै भइन् । बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उनले धेरै नै कुर्नुपर्‍यो । छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उनले अस्पताल मात्र होइन, ‘माता’ कहाँसमेत धाइन् । माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गरिन् । डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुरव्यसन विरुद्धको अभियानमा लागेका व्यक्ति हुन् । डिसीले कमलाको छोरालाई दुर्व्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए । प्रशस्त पैसा भएपनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहारण हो । कमला मिजारको सत्यकथा । जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाएकी हुन् । आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए । जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन् । अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा छ वटा पुनःस्थापना केन्द्र छन् । देवानी र फौजदारी संहितासम्बन्धी सचेतना कानून, न्याय तथा संसदीय मामिला मन्त्रलयको आयोजनामा हेटौँडामा देवानी र फौजदारी संहितासम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । बुधबार आयोजित कार्यक्रममा दुबै संहिताको विविध विषयमा जानकारी गराउनाका साथै सूचना प्रविधिको विकासलाई समेत विचार गरी न्याय प्रशासन तथा सम्पादनलाई आधुनिकीकण गर्न तथा प्रविधिमैत्री बनाउन एवं प्रविधिको विकासबाट सिर्जित कतिपय कसुरजन्य कार्यलाई कानूनको दायरामा ल्याउन संहिता आवश्यक भएको जानकारी दिइएको थियो । रासस

किन रोकिए ८ बालविवाह ?

दुल्लु, पुस २६ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा ८ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महिनामा ८ बालविवाह रोकिएको हो । वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महिनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका ८ बालविवाह रोकिएका हुन् । भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो । गत दुई वर्षको अवधिमा बालविवाह गर्नेको सङ्ख्यामा कमी आएपनि पछिल्लो समय बालविवाह गर्नेको सङ्ख्या बढेकाले वडा कार्यालय र त्यहाँ कार्यरत गैससले सक्रियता देखाएका हुन् । वडामा रहेको स्वास्थ्यचौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्न जुटेको छ । बालविवाह हुने तयारीबारे जानकारी हुनेबित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बालविवाहबाट हुने असर, बालविवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकाइएको थियो । केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् भने उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले बताए ।

निर्मलाकी आमामाथि हातपात

कञ्चनपुर, पुस २६ । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तमाथि श्रीमान र कान्छि श्रीमतीले हातपात गरेका छन् । क्षतिपूर्तिको रकम बुझ्ने र डिएनएका लागि रगत दिने विषयमा विवाद भएपछि श्रीमान यज्ञराज पन्तले कान्छी श्रीमतीसँग मिलेर हातपात गरेका हुन । निर्मलाको योनीबाट संकलित भनिएको भेजाइनल स्वाबकै विश्वसनीयतामाथि शंका उब्जिन थालेपछि गत पुस १५ गते कंचनपुर पुगेका प्रहरी निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्किएको थियो । आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् । यही बीचमा निर्मलाकी आमाले क्षतिपूर्तिको रकम समेत बुझ्ने बताएकी थिइन । छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलाइ दिएकी थिइन् । डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको विषयमा असन्तु्ष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथी दूव्र्यवहार गरेको दुर्गादेवि पन्तले बताइन् । विवादका क्रममा श्रीमानले आफूमाथी हातपात गरेको उनको भनाई छ । छोरीको बलात्कार पछि हत्या भएको ६ महिना वितिसक्दा समेत न्याय नपाएको भन्दै दुर्गादेवीले राहत रकम बुझ्ने निर्णय गरको रगतको नमूना दिएपछि सोही विषयलाई लिएर घरमा विवाद भएको छिमेकीले बताएका छन् ।

एक करोड पचास लाख ठगी गर्ने पक्राउ

काठमाडौं, पुस २६ । महानगरीय अपराध महाशाखाले विदेश पठाइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडा लगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए ।

काठमाडौं–टोकियो सिधा हवाई सेवा सञ्चालनका निम्ति मार्ग प्रशस्त

काठमाडौं, पुस २६ । करीब २५ वर्षपहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रबर्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ । नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउने सम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् । परामर्श संयन्त्रले नेपाल–जापान सम्बन्धका सबै पक्ष र आयाममा बृहत् छलफल गर्नुका साथै सहायताका नयाँ क्षेत्र पहिल्याउनेछ । साथै आपसी हित र स्वार्थका साझा मामिला तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका लागि सेतुको भूमिका निर्वाह गर्नेछ । मन्त्रिस्तरीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सहमतिपत्रमा दुवै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षरपछि आदानप्रदान गर्नुभयो भने मन्त्रीद्वयको उपस्थितिमा हवाईसेवा सम्झौता पुनरावलोकन सम्बन्धी सहमतिपत्रमा परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको थियो । बैठकपछि पत्रकारहरूलाई संयुक्तरुपमा सम्बोधन गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासका मेरुदण्ड मानिएका भौतिक पूर्वाधार निर्माणमा जापानी सहायताको निरन्तरता, प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी चैतको अन्त्यमा आयोजना हुने लगानी सम्मेलनमा जापानी लगानीकर्ता र उद्यमीको सक्रिय सहभागितालगायत विषयमा विचारविमर्श भएको जानकारी दिए । जापान सरकारको नयाँ आप्रवासन नीतिअनुरुप त्यहाँको श्रम बजारमा नेपाली कामदार पठाउनेबारेमा पनि आफूहरूबीच छलफल भएको मन्त्रीद्वयले बताए । पर्यटन प्रवद्र्धन तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन जापान र नेपालले साझेदारी गर्नेबारेमा पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । मन्त्री कोनोले काठमाडौं र टोकियो चाँडोभन्दा चाँडो हवाई सम्पर्कबाट जोडिने विश्वास व्यक्त गर्दै त्यसले जापानी पर्यटक नेपाल भित्र्याउन तथा व्यापार–वाणिज्य प्रवरधनमा टेवा पुग्ने बताए । नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रत्यक्ष हवाई सेवाबाट मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । नेपाल सरकारका विकास–निर्माणका प्राथमिकता, आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरू, कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन‚ पूर्वाधार विकास, पर्यटन तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोगबारे पनि बैठकमा छलफल भएको थियो । वर्तमान सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न तथा आर्थिक रुपान्तरणका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न जापानी सहयोगको अपरिहार्यतामा बैठकमा जोड दिइएको थियो भने अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति गर्ने अर्को लक्ष्य साकार पार्न पनि जापानी सहायता अभिवृद्धिमा नेपालले जोड दिएको थियो । सन् २०३० सम्ममा मध्यमआययुक्त देशका रुपमा विश्व मानचित्रमा नेपाललाई चिनाउन जापानले निःशर्त निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेको बैठकमा सहभागी एकजना अधिकारीले राससलाई बताए । बैठकमा भूकम्पपछिको पुनःनिर्माण, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार, प्रविधि हस्तान्तरण, गरीबी निवारण, जलवायु परिवर्तन, सूचना प्रविधि, पर्यटन, विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । रासस

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

काठमाडौं, पुस २६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार भारत जाँदैछन् । भारतीय विदेश मन्त्रालय र अब्जर्भर रिसर्च फाउण्डेशनको सहकार्यमा आयोजना हुने रासयिना संवादमा भाग लिन उनी नयाँ दिल्ली जान लागेका हुन् । चौथो संस्करणको यो कार्यक्रमको विषय अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ तय भएको छ । कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नो धारणा राख्ने छन् ।

सिंहदरबारको सुन्दरता र हरिभरा बनाउनका लागि यस्तो तयारी हुँदै

काठमाडौँ, पुस २६ । सिंहदरबारलाई सुन्दर बनाउने अभियान जारी छ । मुलुकको मुख्य प्रशासनिक केन्द्रबिन्दु सिँदरबारलाई व्यवस्थित बनाई नमुनायोग्य बनाउन थालेका प्रयासहरू सार्थक हुँदै छन् । देशको प्रमुख प्रशासनिक निकाय हरेक हिसाबले नमुनायोग्य हुनुपर्ने भएपनि चारैतिर अस्तव्यस्त, फोहोर तथा कार्यालय वरिपरि थुपारिएका थोत्रा सवारीले कुनै कवाडीखानामा पुगेजस्तै लाग्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदैछ । सिंहदरबारका कुनाकाप्चासम्मै पुगेर फोहोर उठाइँदै छ र ती ठाउँहरूलाई बगैँचा बनाई फलफुलका बोटहरू रोपिँदै छ । सिंहदरबार परिसर व्यवस्थापन सम्बन्धमा मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भदौ ३१ बसेको बैठकले गरेका विभिन्न २६ बुँदे निर्णयसँगै सिंहदरबार सफाई योजनाले तिव्रता पाएको हो । बैठकले गरेको निर्णयको बुँदा नं.२३ मा सिंहदरबार परिसरको शहरी विकास मन्त्रालय मार्फत अनुगमन गर्ने व्यवस्था मिलाउने र सोको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख, उक्त कार्यालयका सिडिई, सहरी विकास मन्त्रालयका उपसचिव (प्रशासन), शहरी विकास तथा भवन निर्माण विभागका सीडीई सदस्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहेको ‘सिंहदरवार परिसर अनुगमन समिति’ गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिले कार्तिकदेखि प्रत्येक महिनाको पहिलो शुक्रबार सिंहदरवार परिसरको अनुगमन गर्दै आएको छ । देशको कार्यकारी प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मको कार्यालय यही परिसरमा रहँदै आएको भए पनि सिंहदरबारभित्रको फोहोरमैला व्यवस्थापन तथा हरियाली प्रवर्द्धनमा कसैको चासो पुगेको थिएन । सिंहदरबारप्रतिको आम मानिसको चाहना र सोचसहित जथाभाबी फालिएका फोहोर तथा काठ र भूकम्पले भत्किएको संरचनाले यहाँको सौदर्यता बिगारेको बारे प्रशासन डटकमले निरन्तर समाचार लेखेको थियो । यससँगै तत्कालीन सिंहदरबार सचिवालय पुनर्निर्माण सचिवालय समितिले फोहोर व्यवस्थापनमा चासो देखाएको थियो । सिंहदरबारभित्रको वास्तविकतामा निरन्तर फलोअपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरवारलाई सुन्दर बनाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । यससँगै प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्त्ता विनोदबहादुर कुँवरको संयोजकत्वमा गठित सिंहदरबार परिसर अनुगमन समितिले भत्केका संरचना र फोहोरका थुप्रो उठाउने तथा बगैँचा व्यवस्थापनबाट कार्य थालनी गरेको थियो । सिंहदरबारलाई स्वच्छ, सफा र हरियालीयुक्त बनाउने योजनाअनुसार प्रत्येक मन्त्रालयलाई जिम्मेवार बनाइ पनि स्वस्फूर्तरुपमा अग्रसर नभएको देखिएपछि पुनः समितिका संयोजक कुँवर आफैं अग्रसर भएर उनको संयोजकत्वमा गठित टिमलाई सक्रिय बनाई हरेक दिन बिहान ७ बजेदेखि नै सरसफाइमा जुट्न सुरु भएको छ । प्रत्येक दिन दुईवटा मन्त्रालय परिसरमा भएको फोहोर उठाई पानीको फोहोराबाट सफा गर्ने काम जारी रहँदा बुधवार अबेर मुख्य सचिवको संयोजकत्वमा सिँहदरवार परिसरको सरसफाइ व्यवस्थापन, सवारी साधन व्यवस्थापन, सौदर्यीकरण तथा हरियाली व्यवस्थापनलगायत त्यो सम्बन्धित सरोकारवाला मन्त्रालयका सचिवहरूको बैठकले थप ११ वटा निर्णय गरेको छ । जसमा पहिलो बैठकले गरेका २६ वटा निर्णयहरूमा नै केन्द्रित हुँदै जिम्मेवार निकाय तथा पदाधिकारी, सहयोगी निकाय, अनुगमन गर्ने निकाय र पदाधिकारी र समय सीमासहित तोकेको छ । बैठकमा समितिको अभियानलाई निरन्तरता दिने सम्बन्धमा आ–आफ्नो तर्फबाट सहयोग गर्ने सचिवले प्रतिबद्धता व्यक्त गरेका छन् भने मुख्यसचिवले अभियानलाई निरन्तरता दिन पूर्ण सहयोग रहने बताएका छन् । हेर्नुहोस निर्णय– काठमाडौंको मध्यभागमा अवस्थित सिंहदरबार परिसरभित्र हालको प्राकृतिक सुन्दरतालाई कायम राख्दै मानवीय लापरबाहीका कारण बन्न पुगेको कुरुपतालाई हटाउने हो भने साच्चिकै सिंहदरबार निकै सुन्दर र मनमोहक हुन धेरै समय लाग्ने छैन । प्रशासनबाट