अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपालका लागि प्रस्थान, भोली आइपुग्ने
काठमाडौं, चैत १३ । पत्नी उपचारका लागि अमेरिकामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड आज नेपाल फर्किने भएका छन् । १० दिनको अमेरिका बसाईपछि प्रचण्ड परिवारसहित नेपाल फर्किन लागेका हुन् । १० दिनको अमेरिका बसाइँपछि बुधबार नेपाल फर्किन लागेका प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दिइन्। उनले सीताको वासिंटनस्थित मेडिस्टार अस्पताल र बरमिंघमस्थित युएबी अस्पतालमा उपचार भएको जानकारी दिइन्। प्रचण्डकी छोरीसमेत रहेकी गंगाकाअनुसार उपचारमा संलग्न चिकित्सकहरूले सीताको स्वास्थ्यमा क्रमिक सुधार आउने बताएको छन्।
‘आमाको उपचारमा सहयोग गर्नुहुने राजदुत डा. अर्जुन कार्की लगायत सबैमा हार्दिक आभार र आमाको स्वास्थ्य जाँच वासिंटनस्थित मेडिस्टार हस्पिटल र बरमिंघमस्थित युएबी हस्पिटलमा भएको छ, डक्टरहरुको अनुसार आमाको स्वास्थ्यमा सुधार आउने विश्वास दिलाएका छन’, गंगाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छन्।
सीता पार्किन्सनको बिरामी छिन्। उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन्। सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि निको नभएपछि अमेरिका लगिएको हो। अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संचारकर्मीमाझ पत्नी सीताले पनि आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको बताएका थिए।
पर्यटन महोत्सवः ३ हजार बढी पर्यटकलाई शुक्लाफाँटा घुमाउने लक्ष्य
कञ्चनपुर, चैत १२ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आन्तरिक र बाह्य पर्यटकहरुलाई निकुञ्जभित्र घुमाउन शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको छ । भीमदत्त नगरपालिकाको संयोजनमा सबै कञ्चनपुरका सबै स्थानीय तह र सरोकारावालाको सहकार्यमा चैत १५ देखि २१ गतेससम्म महोत्सव आयोजना गरिएको छ । महोत्सव अवधिभरि दैनिक तीन सयदेखि पाँच सय पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र घुमाउने लक्ष्य राखिएको छ । त्यसका लागि दैनिक १० देखि १५ सवारी साधन निकुञ्जभित्र पर्यटकलाई घुमाउने छन् । महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजनाको तयारी सुुरु गरिएको बताए । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी यो महोत्सव आयोजना हुन लागेको छ’ महोत्सव सम्बन्धि जाकारी गराउन मंगलबार भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख विष्टले भने,‘यो महोत्सव सबैको सहकार्य, समन्वय र सहयोगमा हुन लागेको छ, सबै आयोजक छौ, सबैको लक्ष्य शुक्लाफाँटामा पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो ।’ शुक्लाफाँटा घुम्न जाऔ भन्ने नारा सहित महोत्सव अवधिभरि आन्तरिक र बाह्य पर्यटकलाई उत्प्रेरित गरिने नगर प्रमुख विष्टले बताए । ‘यो महोत्सवमा अरु महोत्सवझै स्टल केही हुने छैन, चैत १५ गते औपचारिक उद्घाटन गरी शुक्लाफाँटा घुम्न जाऔ भन्ने नारा सहित पर्यटकलाई उत्प्रेरित गरिनेछ’ उनले भने,‘त्यसैले यो अवधिमा बढी भन्दा बढी पर्यटकलाई निकुञ्जमा घुमाउन सबै लाग्ने छौ ।’ नगर प्रमुख विष्टले महोत्सव अवधिभरि दैनिक तीन सयदेखि पाँच सय घुमाउँदा अहिलेसम्मकै सबैभभन्दा बढी पर्यटकले निकुञ्ज घुम्ने भएकाले महोत्सव ऐतिहासिक हुने बताए । ‘दैनिक यो संख्यामा पर्यटक जाँदा तीन हजारदेखि तीन हजार पाँच सयसम्म पर्यटक भित्र जान्छन्, यो अहिलेसम्मकै ठूलो हुनेछ’ उनले भने,‘यो महोत्सव ऐतिहासिक हुनेछ, यसलाई भव्य बनाउन सबै लाग्नेछौ ।’ भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार निर्माणको वर्ष घोषणा गरेको उल्लेख गर्दै नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटन हब बनाउन विशेष प्राथमिकता दिएको बताए । शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि गत वर्ष नगर कार्यकालिकाको बैठक शुक्लाफाँटामा गरिएको थियो । पत्रकार सम्मेलनमा नाटाका सुदूरपश्चिम प्रदेश संयोजक माया प्रकाश भट्टले शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनबाट निकुञ्जको प्रचार हुने, आन्तरिक तथा बाह्य पर्यटक आउने, स्थानीयको आर्थिक अवस्था सुधार आउने र शुक्लाफाँटालाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने बताए । ‘यो महोत्सवबाट सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ’ उनले भने,‘बाहिरबाट आउने पर्यटकका केही समस्या छन्, ती समस्यालाई पनि समाधान गरी पर्यटकलाई सहज आवागमनका लागि छलफल अघि बढाउँछौ ।’ नाटाको अगुवाईमा यस अघि पहिलो पटक शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । महोत्सव औपचारिक कार्यक्रम गरी उद्घाटन गरिने छ । उद्घाटन कार्यक्रममा जन प्रतिनिधि, राजनीतिक दल, उद्यमी व्यवसायी, पर्यटन व्यवसायी लगायतका विभिन्न क्षेत्रका व्यक्तिलाई समावेश गराइनेछ । महोत्सवमा सहभागीहरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तस्बिर सहित विभिन्न जानकारी मुलक पर्चाहरु वितरण गरिनेछ । पत्रकार सम्मेलनमा नगर प्रमुख विष्ट सहित नाटका प्रदेश संयोजक भट्ट, सुदूरपश्चिम प्रदेश उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद पाठक, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष प्रमानन्द भण्डारी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतका सहभागी भएका छन् । महोत्सव तयारीका लागि स्रोत व्यवस्थापन समिति, आवाश तथा अतिथि सत्कार समिति, प्रचारप्रसार समिति, मञ्च÷समारोह÷कार्यक्रम व्यवस्थापन समिति र समन्वय तथा सोसिएल मार्के्टिङ्ग समिति गठन गरिएका छन् । स्रोत व्यवस्तापन समितिको संयोजकमा कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, आवाश तथा अतिथि सत्कार समिति संयोजकमा प्रमानन्द भण्डारी, प्रचारप्रसार समितिमा लक्षण तिवारी, मञ्च समारोह व्यवस्थापन समिति संयोजकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन शैलेन्द्र चौधरी र समन्वय तथा सोसिएल मार्के्टिङ्ग समिति संयोजकमा माया प्रकाश भट्ट छन् । ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगाको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जमा २ हजार ३ सय ४० बाह्रसिंगा छन् ।
आमाको क्रिया गर्न कांग्रेस बन्नुपर्ने शर्त राखेपछि…..
काठमाडौं, चैत १२ ।‘विरामी हुँदा त आमा भेट्न पाइएन तर प्राणविनाको आमाको अन्तिम मुख पनि मैले हेर्न नपाउने ?’ अम्बर तामाङले आफ्नो बेदना पोख्न नपाउँदै भाई कान्छाराम तामाङले जंगिदै जवाफ दिए ‘अहँ… तँ आमालाई भेट्न पाउँदैनस् । आमालाई भेट्ने भए शेरबहादुर देउवाको हातबाट टिका लगाएर आइज । मेरो आमाको मुख तँ कम्यूनिष्टलाई हेर्न दिन्न ।’ रामेछाप चुचुरेकी जमुना तामाङका साइला छोरा हुन् अम्बर तामाङ । २०३६ सालदेखि अखिलको राजनीतिमा लागेका अम्बर पेशाले निर्माण ब्यवसायी हुन् । तर घरभित्रको राजनीतिक लफडाले उनी तनावमा परेका छन् । उनका पाँच भाई मध्ये चार भाई कांग्रेस समर्थक छन् भने अम्बर नेकपामा सक्रिय छन् । नेकपा भएकै कारण उनले न विरामी हुँदा आमा भेट्न पाए नत मृत्युपछि काजकिरिया नै गर्न पाए । ‘मृतक आमाको मुख हेर्न नदिएपछि मैले प्रहरीलाई खवर गरेँ, प्रहरीको भ्यानमा बसेर आमाको मुख हेर्न कान्छाभाईको घर चावहिल पुगेँ’ अम्वरले एसकाठमाडौंसँग भने ‘प्रहरीलाई देखेपछि आमाको मुख त हेर्न दिए तर सँगै काजकिरिया गर्न दिएनन् म छुट्टै काजकिरिया गर्ने तयारी गरेको छु ।’ रामेछाप चुचुरेमा घर भएपनि आमा जमुना कान्छाछोरा कान्छाराम तामाङसँगै चावहिलमा बस्दै आएकी थिइन । आमा विरामी हुँदा पनि उनले भेट्न खोजेका थिए तर भाईले भेट्न नदिएको गुनासो उनले सुनाए । २ चैतमा आमा जमुनाको मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि बर्षाैदेखि बोलचाल नभएपनि भाईको घरमा उनी पुगेका थिए । तर घरको गेट नै नखोलेपछि प्रहरीलाई खवर गरेको अम्बरले बताए । ‘प्रहरी देखेर गेट खोले, भित्र पसेर मृतक आमाका खुट्टामा ढोकेर फर्किए’ अम्बरले भने । कांग्रेसको झण्डा ओडाएर स्वयम्भुमा आमाको अन्तिम दाहासंस्कार गरिएको थियो । ‘तर मेरा दाजुभाईलेसँगै कापाल खौरिन समेत दिइएनन्’ उनले भने ‘कांग्रेसमा प्रवेश गरेपछि मात्र आमाको काजकिरिया गर्न दिने र कान्छाभाईको नाममा रहेको कन्सटक्सनको शेयर दिने सर्त राखे त्यो मैले मानिन ।’ अम्बर २०३६ सालदेखि नै तत्कालिन नेकपा मालेबाट राजनीति शुरु गरेका थिए । २०५४ मा उनी रामेछाप चुचुरेबाट गाविसमा निर्वाचित सदस्य पनि भएका थिए । हाल नेकपा निकट नेपाल निर्माण व्यवसायी संगठनको केन्द्रीय सचिवालय सदस्य छन् । उनका भाई कान्छाराम तामाङ कांग्रेसको राजनीतिमा सक्रिय छन् । गत निर्वाचनमा उनी प्रतिनिधि सभामा कांग्रेसका उम्मेद्धार थिए । भाई उम्मेद्धार हुँदा अम्बरले न रुख चिन्हमा भोट हाले न त उनलाई जिताउन कुनै सहयोग नै गरे । अम्बरले नेकपा उम्मेद्धार श्यामकुमार श्रेष्ठलाई जिताए तर भाई कान्छारामलाई हराए । यही तुष आमाको मृत्युसम्म पुग्यो । एउटा आमा दाजुभाई राजनीतिक बिचारले फरक हुन सक्छन् तर अम्बरको परिवारमा उनीमाथी निषेध गरिएको छ । ‘कान्छारामले आमाको लाशमाथि पनि राजनीति गरयो, मलाई यही पिडा छ’ उनले भने । आमा जमुनाको अन्तिम दाहाससंस्कारका बेला कांग्रेसको झण्डा ओडाउन शेरबहादुर देउवा स्वयम्भू पुगेका थिए । देउवाले कांग्रेसको झण्डा ओडाएर जमुनालाई सम्मान गरेका थिए । तर डम्बर आमाको पुन्यतिथि १६ चैतमा अलग्गै गर्दैछन् । १६ चैतको काजकिरियामा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाउने तयारी गरिरहेका छन् । एस काठमाडौंबाट साभार
निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने
काठमाण्डौं चैत १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा सुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्नेछ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ । ‘ओसाका उडानका लागि निगमले सबै कागजी प्रक्रिया पूरा गरेको छ, आज या भोलि बुधबारसम्म जापान सिभिल एभिएसनलाई कागजात बुझाउँछौँ, उसको प्रक्रियाअनुसार करीब ४५ दिनमा अनुमति जारी भएपछि निगमलाई सबै तयारी गर्न करीब ४५ दिन समय लाग्छ’, उनले भने। सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पछएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले यसअघि फागुन १५ भित्र जापान र चैतभित्र चीन उडान गर्ने योजना बनाए पनि ‘ग्राउण्डह्याण्डलिङ’लगायत समस्याका कारण उडान ढिलो भएको जनाएको हो । ओसाकासँगै जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्नका लागि प्रक्रिया अघि बढाइसकिएको छ । नारिता उडानका लागि करिब दुई साताअघि पत्राचार गरेको निगमले नारिता विमानस्थलका उच्च अधिकारीसँग द्विपक्षीय वार्तासमेत गरेको छ । निगमको आग्रहबमोजिम नारिता विमानस्थलको उच्चस्तरीय टोलीले सोमबार निगमका पदाधिकारीसँग वार्ता गरेको र निगमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सहायक प्रवक्ता कोइरालाले बताए। ‘नारिता उडानका लागि हामीले कागजी प्रक्रियासँगै उच्चस्तरीय वार्ता पनि गरेका छौँ, यसमा पनि छिट्टै प्रगति हुने देखिएको छ’, उनले भने । निगमले नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिने निगमले जनाएको छ । गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल आउनुहुँदा हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो । एक दशक अघि निगमको काठमाडौँ–जापान सीधा उडान बन्द भएको थियो । निगमले काठमाडौँ–ओशाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत् उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले चीनको गोन्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । सातामा तीन उडान गर्ने योजना छ । ग्राउण्ड ह्याण्डलिङका लागि केही समय लाग्नेछ । निगमले पठाएको कागजात समीक्षा ‘डकुमेण्ट रिभ्यु’ को चरणमा रहेको बताइएको छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट (जिएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ । वाइड बडी जहाजबाट लामो गन्तव्य उडाउने योजनाका साथ निगमले विमानचालकको थप व्यवस्था गर्दैछ । वाइडबडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले १६ चालकका लागि हालै गरेको विज्ञापनमा २८ जनाले निवेदन दिएका छन् । निवेदन दिएकामध्ये एक मात्र नेपाली चालक छन् । विदेशी चालक खर्चिलो भए पनि नेपाली चालक अभावले विदेशीको विकल्प नभएको निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छ ।रासस
गगन थापा ‘सर्ट कोर्ष’ पढ्न अमेरिका उडे
काठमाडौं, चैत १२ । सांसद गगनकुमार थापा हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सोमबार राति अमेरिका लागेका छन् । व्यस्तताका कारण प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने रहर अधुरो भए पनि सर्ट कोर्षबाट केही सिक्न हार्वर्डमा आवेदन गरेको थापाले बताए । दुई साताको सर्ट कोर्षका लागि गत वर्ष नै छनौट भए पनि व्यस्तताले जान नपाएको उनले जानकारी दिए । ‘कोर्ष दुई हप्ताको मात्र भए पनि छनोट भएदेखि नै इमेलमार्फत गृहकार्य गराई अधिकतम उपलब्धीमूलक बनाइदो रहेछ,’ उनले भने । राजनीतिकर्मी, व्यापारी, कर्मचारीलगायत सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयका सर्टकोर्षको आकर्षण भने निकै छ । वर्षभरि पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्छन । सर्ट कोर्षमा सहभागी भइसकेका पूर्व सचिव कृष्ण ज्ञवालीका अनुसार विश्वभरिबाट सहभागी हुने भएकाले विख्यात विश्वविद्यालयको पढाई निकै उपलब्धिमुलक हुन्छ । राजनीतिकर्मी सहभागी हुने कक्षामा विश्वभरिका राजनीतिकर्मी सहभागी हुने भएकाले इन्टरनेटमार्फत भविष्यमा पनि अनुभव आदानप्रदान, अन्तरक्रिया गर्दै थप उपलब्धि लिन सकिने उनले बताए । एमआइटीमा सर्ट कोर्ष गरेका व्यवसायी निरञ्जन श्रेष्ठले विख्यात विश्वविद्यालयको पढाईले छोटो समयमै विश्व हेर्ने दृष्टिकोणनै परिवर्तन हुने बताए । उनी पनि हार्वडको सर्ट कोर्षको तयारीमा छन् ।
बेरोजगारको तथ्यांक संकलन हुन सकेन
मुग्लिन, चैैत १२ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बसेकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् । वडा वडामा फाराम र चिठी पुगे पनि विधि र प्रक्रियाबारे परामर्श दिने कर्मचारी नै नहुँदा वडाबाट बेरोजगारीको तथ्याङ्क सङ्कलन शुरु हुन नसकेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताए । “वडामा फाराम र चिठी पुगेको छ तर यसको विधि र प्रक्रियाबारे हामी जानकार छैनौँ, म पटकपटक कार्यालयमा जाँदा सम्बन्धित कर्मचारी भेटिएको छैन”, उनले भने । दैनिक दर्जनभन्दा बढी बेरोजगार गाउँपालिकामा फाराम भर्न आउने गरे पनि रोजगार संयोजक नहुँदा उनीहरु त्यतिकै फर्कने गरेको गाउँपालिकाका अन्य कर्मचारीले बताए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले संयोजक खरेललाई तत्काल उपस्थित हुन निर्देशन दिइने बताइन । फोनसम्पर्क गर्दा संयोजक खरेलले दुई दिनपछि आउने जानकारी दिए । रासस
सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैनः नेता माधवकुमार नेपाल
चितवन, चैैत १२ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने, ‘लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?’ यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुची नहुने भन्दै उनले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए । त्यसैअन्तर्गत चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको उनको भनाइ थियो । उनले भने, ‘नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गरे भने उनीहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ । वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनको भनाइ थियो । राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे । उनले भने, ‘व्यक्तिको स्वतन्त्रता होे धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।’ नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट दिएको छैन भने । उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो । नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने ‘माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।’ वि.संं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो । मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एकवर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए । अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोखेको बताए । नेतृत्वले चाहेमा एक साताभित्र पार्टीको तल्लो तहसम्म एकता गर्न सकिने उनले बताए । रासस
मन्त्रालयमा गुनासो गर्न कर्मचारीको घुइँचो
काठमाडौँ, चैत १२ । कर्मचारी समायोजनका क्रममा आफू अनुकूलको कार्यालयमा समायोजन नभएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्ने कर्मचारीको भीड लागेको छ । आइतवारसम्म ७ हजार एकसय जना कर्मचारीले सफ्टवेयर मार्फत गरेको समायोजनमा चित्त नबुझेपछि अन्य कार्यालयमा समायोजन गरियोस् भनी मन्त्रालयमा आफ्ना गुनासोको निवेदन दर्ता गराएका हुन् । गुनासो गर्ने कर्मचारीले आफूले रोजेको भन्दा अन्यत्रै कार्यालयमा समायोजन भएको, कर्मचारी समायोजन ऐनले पति र पत्नी दुबैजना कर्मचारी भए सम्भव भएसम्म एउटै कार्यालयमा समायोजन गर्ने भनी उल्लेख भएपनि सो अनुसारको समायोजन नभएको गुनासो गरिएको छ । त्यसैगरी अपाङ्गता भएका र दृष्टिबिहीन कर्मचारीलाई समायोजन भएको ठाउँमा जान नसक्ने अवस्था भएको, स्वास्थ्यका कारणले समायोजन गरिएको कार्यालयमा समायोजन हुन नसक्ने अवस्था भएको, समायोजनको क्रममा आवेदन दिन छुटेको लगायतका गुनासो उल्लेख गरी मन्त्रालयमा निवेदन दिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले अहिले मन्त्रालयले गुनासो गर्ने कर्मचारीको आवेदन अध्ययन गर्नेक्रम जारी रहेकाले आवेदनको प्रकृति अनुसार सम्भव भएसम्म गुनासो सुनुवाइ गरिने छ भने । उनले भने, ‘सम्भव भएसम्म श्रीमान् श्रीमतीलाई एउटै कार्यालयमा खटाउने, नागरिकताको ठेगाना अनुसारको जिल्ला, स्थानीय तह र प्रदेश कार्यालमा समायोजनका लागि पठाउने गरी आन्तरिक गृहकार्य हुँदैछ ।’ सहसचिव भट्टराईका अनुसार कर्मचारी महाशाखाले कर्मचारीका गुनासो सङ्कलन गर्ने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको संयोजकत्वमा रहेको समितिले ती गुनासोको अन्तिम निर्णय गर्छ । सोमवारसम्म ८० हजार जना कर्मचारीको समायोजन भइसकेको छ । बाँकी कर्मचारीको पनि केही दिनभित्रै समायोजन भइसक्ने भट्टराईले बताए । कर्मचारी समायोजनका क्रममा ७७ हजार ३७४ जना कर्मचारीले समायोजनका लागि आवेदन दिएका थिए । सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई समायोजनका लागि निवेदन दिने समयावधि तोकेको थियो । त्यसको एक महिनाभित्र कर्मचारी समायोजन गरिसक्ने भनिए पनि केही प्राविधिक समस्याले कर्मचारी समायोजनमा केही ढिलो हुन गएको हो । कुल ८१ हजार कर्मचारीमा करिब चार हजार कर्मचारीले समायोजनका लागि आवेदन दिएका थिएनन् । आवेदन नदिएका कर्मचारीलाई पनि सरकारले समायोजनको पत्र प्रदान गरेको छ । मन्त्रालयले समायोजनका लागि ११ वटा टोली निर्माण गरी कर्मचारीको पद, सेवा, समूह र उपसमूह अनुसार अध्यावधिक गर्ने र ज्येष्ठता एकिन गर्ने काम गरिहरेको छ । गोरखापत्रबाट
बिहानैदेखि राजधानीमा मौसम बदली, मेघ गर्जनसहितको वर्षा
काठमाडौं, चैत १२ । मंगलबार बिहानदेखि राजधानीको मौसममा बदली देखिएको छ । बिहान करिब ५ बजेतिर मेघ गर्जनसहित वर्षा भएकोमा अहिले छिटपुट वर्षा भइरहेको छ । मौसमविद् बरुण पौड्यालका अनुसार पश्चिमी वायुका कारण मौसममा गडबडी भएको हो । पश्चिमी वायु देशको पश्चिमी भूभागबाट मध्य भाग हुँदै पूर्वतिर गइरहेको बताउँदै बुधबारसम्ममा पश्चिमी र मध्य भागमा सुधार हुने र विहीबारदेखि देशका सबै भूभागमा मौसम सुधार हुने मौसमविद् पौड्यालले जानकारी दिए । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा देशका अधिकांश स्थानहरूमा आज दिउँसो सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, राति देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिमी भूभागहरुमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । मध्य र पुर्वीपहाडी भेगका केही स्थानहरुमा मेघ गर्जनसहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको जनाइएको छ । भोलि बुधबार दिउँसो देशको पूर्वी भूभागमा र अन्य पहाडी भूभागहरुमा आंशिक बदली हुनुका साथै बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट वर्षाको संभावना रहेको जनाइएको छ । त्यस्तै भोलि राति पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जनाइएको छ । विहीबार पनि पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । बाह्रखरीबाट
कांग्रेसका पूर्व महामन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यमा सुधार
काठमाडौं, चैत १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अस्पतालले डिस्चार्ज गरेको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि धुम्बराहीस्थित ह्याम्स अस्पतालले उनलाई मंगलबार बिहान डिस्चार्ज गरेको हो । स्वास्थ्यमा देखिएको समस्या उपचार पश्चात निको भएपछि नेता सिटौलालाई अस्पतालले घर फिर्ता पठाएको उनका निजी सचिव किरण सिटौलालले जानकारी दिए । रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि नेता सिटौलालाई गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसियूमा राखेर उपचार गरिएकोे थियो । नेता सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरुले गत आइतबार उनी उपचारत अस्पतालमै रक्तदान गरेका थिए । ‘दुःख बाँडौं, सुख साटौं’ नारा दिएर आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय सात जनाले रक्तदान गरेका थिए । ब्राह्रखरीबाट
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा ३ घाइते
चितवन, चैत १२ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गएराति त्रिशूलीमा मिनीबस खस्दा ३ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो । रासस
प्रचण्डद्वारा मेरिल्याण्डको प्रदेश संसद अवलोकन, नेपाली मुलका सांसद भण्डारीले गरे स्वागत
काठमाडौं, चैत १२ । अमेरिकामा पत्नी उपचारका लागि रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका छन् । मेरिल्याण्डकाे संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छाेरी गंगा दाहालसमेत रहेका थिए । अध्यक्ष प्रचण्डले नेपाली समुदायकाे सराेकारका विषयका साथै संसदका् प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए । प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए । उनले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै नेपालको विकासमा अमेरकी सहयोगको अपेक्षा गरेका थिए । नेपालकाे शीर उच्च राख्न नेपाली समुदायले प्रवासमा खेलेकाे भूमिकाकाे अध्यक्ष प्रचण्डले उच्च प्रशंसा गरेका थिए । उनले समृद्ध नेपालकाे निर्माणमा अमेरिकामा रहेका नेपालीकाे ठूलाे याेगदान हुने भन्दै नेपालमा लगानी र सहयाेगका लागि आव्हान समेत गरे । अध्यक्ष प्रचण्डलाई त्यहाँ नेपाली मुलका मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले स्वागतसमेत गरेका छन् । सोमबार मात्रै प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए । भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताए ।
पशुपतिमा थरीथरीका चन्दन
काठमाडौं, चैत १२ । पशुपतिनाथमा श्रीखण्डबाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेन पातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री कोठामा यस प्रकारको चन्दन बनाइन्छ । चन्दन घोट्ने हरि बुढाथोकीका अनुसार धुपी, अम्बा, पारिजात, भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिएको छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार यस्ता चन्दन तयार हुने गरेको भए पनि चन्दन घोट्ने व्यक्ति आधिकारिक नियुक्तिका होइनन् र यो चन्दन पशुपतिनाथलाई अर्पण गर्ने गरिएकै छैन । उनले चन्दन माग गर्नेले यस्ता काठ ल्याउने गरेका छन् भन्ने सुनिएको जानकारी दिए । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिए पनि यो चन्दन निजी प्रयोजनका लागि मात्र हुन सक्ने बताए । चन्दन बनाउनेले व्यक्तिको माग अनुसार तयार गर्ने गरेको छ, बिहान आउने भक्तजनले चन्दन मागेमा चिनेजानेका आफन्तलाई सालको पातमा बेरेर दिइने चन्दन यही हो । जानकारका अनुसार दक्षिणाको लालचमा चन्दन घोट्ने यो कार्य चलेको दसकौँ भइसकेको छ । यो अघोषित रूपमा फस्टाउँदै आएको पनि छ । विसेट अरुण श्रेष्ठका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उपहार प्राप्त भएको श्रीखण्ड पशुपतिनाथमा प्रयोग भइरहेको छ । वासुकीमा, पशुपतिमा र भक्तजनको वितरणका लागि क्रमशः एक, एक र १५ किलो श्रीखण्ड मासिक रूपमा प्रयोग भइरहेको श्रेष्ठ बताउँछन् । यसबाहेक पशुपति गुठी गोश्वाराबाट मासिक एक धार्नी र तत्कालीन कौषी तोषाखाना (हाल अर्थ मन्त्रालय निवृत्तिभरण व्यवस्थापन कार्यालय) मा मौज्दात रही पशुपतिनाथलाई प्राप्त भएको मासिक एक धार्नी श्रीखण्ड नियमित रूपमा प्राप्त भइरहेको छ । ‘‘यही चन्दन पशुपतिनाथलाई अर्पण हुन्छ र भक्तजनका लागि पनि प्रदान गरिन्छ,’ श्रेष्ठ स्पष्ट पारेका छन् । पशुपतिमा चन्दनको व्यवस्था भए पनि अन्य काठको चन्दन कुन आवश्यकताले बनाउन परेको हो भन्ने खुल्न नसकेको स्वयं अधिकारीहरूको भनाइ छ । विसेट श्रेष्ठ थप्छन्, ‘अन्य काठबाट बनेको चन्दन बिक्री हुन्छ भन्ने सुनिए पनि आधिकारिक रूपमा कोषका कुनै व्यक्ति र निकायको संलग्नता छैन ।’ गुठी संस्थान, पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख लछुना शर्मा काफ्लेले श्रीखण्ड बाहेकको अन्य काठबाट चन्दन बनिरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताए । काफ्लेका अनुसार असली श्रीखण्डबाटै चन्दन तयार भइरहेको छ भन्नेसम्म गोश्वारालाई जानकारी छ । चन्दन घोट्ने हरि बुढाथोकी २०७२ सालको भूकम्पपछि आफूखुसी चन्दन घोट्न मन्दिर परिसर पसेको बताउँछन् । यसअघि अर्कैले चन्दन घोट्थे । पशुपतिनाथका मूल भण्डारी कविन्द्रलाल राजभण्डारीले चन्दन घोट्नेलाई आफूहरूले आफ्नै तर्फबाट सामान्य खर्च दिने गरेको बताए । यस्ता काठका चन्दनले चर्मरोग पनि देखापर्दै आएको आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रष्टका डा. पदमराज भारती बताउँछन् । उनले महाशिवरात्रिको शिविरमा चन्दनले छालामा फोका तथा दाद आएका विरामी भेटिएको बताए । गोरखापत्रबाट
शिवनगरमा व्यवस्थित शिवमन्दिर निर्माणको तयारी
धनगढी, चैत १२ । धनगढी उप–महानगरपालिकाले धनगढीको शिवनगरमा ब्यवस्थित शिवमन्दिर निर्माणको तयारी थालिएको छ । शिवको नामले परिचित शिवनगरको मन्दिर सडक क्षेत्रमा पर्ने भएपछि त्यसलाई वडा नं १ र ८ को बीचमा पर्ने पुलको उत्तर पूर्वको झण्डै ५ कठ्ठा जनिनमा मन्दिर निर्माण गरिने भएको हो । शिवनगर नालामा रहेको अतिक्रमण र फोहोर हटाउने क्रममा सार्वजनिक जमिन भेटिएकाले त्यहाँ मन्दिर निर्माणका लागि सजिलो भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मन्दिर निर्माणका लागि डिपिआर तयार गर्न प्राविधीकहरुलाई निर्देशन दिएको बताए । शिव मन्दिर सडक बिस्तारको क्रममा भत्कीने भएपछि बिकल्प खोजिएको पनि नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिका वडा नं. ८ का अध्यक्ष नारायण बरालले व्यवस्थित मन्दिर निर्माणका लागि समिति समेत गठन गरिएको बताए । बरालका अनुसार मन्दिर निर्माण तथा व्यवस्थापनका लागि जयबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा दिनेश बम, सचिवमा प्रेमबहादुर सिंह, कोषाध्यक्षमा ईश्वरी कठायत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्णबहादुर कार्की, प्रेम कटुवाल, निर्मल चौधरी, बागेश्वरी चटौत बिनाडी, शेरबहादुर चन्द, महादेव जोशी र धिरबहादुर थापा रहेका छन्। मन्दिर निर्माण तथा व्यवस्थापन समितिले संरक्षकमा नगरप्रमुख नृपबहादुर वड, मन्दिरका पुजारी रामचन्द्र बिनाडीलाई राखेको छ । सल्लाहकार समितिमा भरतबहादुर सिंह र टेकेन्द्र देउवालाई राखिएको छ ।
रत्नपार्क आउँदै गरेको बस दुर्घटना, ३ गम्भीर घाइते
काठमाडौं, चैत १२ । दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी घाइते भएका ३५ मध्ये ३ को अवस्था गम्भीर रहेको छ । ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए। उनका अनुसार घाइतेहरूलाई मनमोहन र वयोधा अस्पतालमा उपचारको लागि पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको गरिएको छ। दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए । उनले भने,‘दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
शनिबार विप्लव नेकपाको बन्द
काठमाडौं, चैत १२ । नेत्रविक्रम चन्द नेतृत्वको अनौपचारिक राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टीले आउँदो चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका क्रियाकलापमाथि सरकारले प्रतिबन्ध लगाएपछि सोको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा पनि गरेको छ । नेकपाद्वारा जारी विज्ञप्तिअनुसार चैत १३ गते चोक जुलुस, १४ गते कोणसभा, १५ गते मशाल जुलुस र चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरिएको छ । पार्टीले चैत १९ गते देशभर अन्तरक्रिया गर्ने, २१ गते जनवर्गीय संगठनहरुको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन गरिने छ भने २४ गते देशभर जनसभाको आयोजना हुने पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।लजारी एसइइ परीक्षालाई प्रभाव नपरोस भनेर शनिबार नेपाल बन्दको कार्यक्रम राखिएको उल्लेख गरिएको छ ।










