सडक बनेको ६ वर्षपछि बल्ल मनाङमा बस गुड्यो, सर्वसाधारण हर्षित

लमजुङ, चैत १३ । जीप, मोटरसाइकल गुड्दै आएको हिमाली जिल्ला मनाङको सडकमा बस गुड्न थालेका छन् । मनाङ सडक सञ्जालमा जोडिएको ६ बर्षपछि बस सञ्चालन हुन थालेको हो ।

नेपाली सेनाले निर्माण गरेको उक्त सडक २०६९ मा सकिएर तत्कालीन सडक विभागलाई हस्तान्तरण गरिएको थियो । यसअघि जीप, मोटरसाइकल गुडाउँदै आएकोमा हाल उक्त सडकमा मिनिबस सञ्चालन गरिएको छ । केहि बर्षयता मालवाहक साना ट्रक सञ्चालन भइरहेको सो सडकमा मिनिबस समेत गुड्न थालेपछि स्थानीय छक्क पर्न थालेका छन् ।

आइतबार पहिलो पटक मिनि बस मनाङ आएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। ‘यो बाटोमा मोटरसाइकल र जीप दैनिक गुड्छ । बस आएको थिएन । भीर र अप्ठ्यारो बाटोमा समेत बस आयो । पहिलो पटक बस आउँदा सबै दङ्ग परे । मलाई समेत अचम्म लाग्यो ।’ उनले भने । अध्यक्ष घलेका अनुसार तल्लो क्षेत्रमा विभिन्न जलविद्युत आयोजनाले बाटोको स्तरउन्नति गरिरहेकाले पनि बस आउन सजिलो भएको हो । चामेभन्दा माथि माथिल्लो मनाङसम्म मिनिबस जान सक्ने उनले बताए ।

पहिलो पटक चामेमा बस पुर्याएका बस चालक प्रेम भण्डारीले बाहुनडाँडाबाट चामेसम्म बस लगेको बताए । उनका अनुसार विदेशी पर्यटक १० जना र अन्य नेपाली गरी २८ जनालाई चामेसम्म पुर्याएको हो । बस चालक भण्डारीका अनुसार बस बाहुनडाँडाबाट ६ घण्टामा चामे पुगेको थियो ।

ग.१.ख ४६०२ नम्बरको २६ सीटे सो मिनि बस आइतबार नै चामे पुगेर फर्किएको हो । बस चालक प्रेम भण्डारीका अनुसार २७ हजार रुपियाँमा रिजर्भ गरेर लगिएको सो मिनि बस लगिएको हो । ‘मनाङमा गाडी पुर्याउँदा खासै समस्या भएन । अप्ठ्यारो पनि लागेन’ उनले भने, ‘बेंसीसहरबाट मनाङ अब मिनिबस गुडाउन सकिन्छ ।’

मनाङका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार चामेसम्म सहजै बस आएकाले त्यस भन्दा माथि पनि लान सकिने बताए । उनले भने– ‘चामेबाट माथि पनि जान सकिन्छ । एक–दुई ठाउँको भीरमा अलि अप्ठ्यारो भएपनि कम उचाईको सानो खाले बस लान सकिन्छ ।’ चामे माथिका सडकमा साना ट्रकहरु सामान बोकेर हिँड्ने गरेकाले मिनि बस जान सक्ने उनले बताए ।

मनाङको सडकको स्तरउन्नति गरिएपछि मिनि बस पुगेको हो । बेसीशहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर छ, सडकको ठाउँठाउँमा भीर छ, भीरमा बाटो केहि फराकिलो रहेको चालक बताउँछन् । मनाङमा नियमित बस सञ्चालन हुन सके सामान ढुवानी र आवातजावतमा सहज हुने स्थानीय बताउँछन् । यो बाटोमा मिनि बस नियमितरूपमा सञ्चालन भएमा पर्यटकलाई समेत सहज हुने उनीहरुको भनाई छ । गोरखापत्रबाट

अमेरिकाबाट प्रचण्ड आज दिउँसो नेपाल आइपुग्ने

काठमाडौं, चैत १४ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश पुग्ने भएका छन् । बुधबार बिहान न्यूयोर्कबाट प्रस्थान गरेका प्रचण्ड दिउँसो ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। पत्नी सीताको उपचारका लागि प्रचण्ड १० दिनअघि अमेरिका गएका थिए। अमेरिकामा उपचारपछि आमाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छोरी गंगा दाहालले बताएकी छन् । अमेरिका रहँदा प्रचण्डले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका थिए । मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए । अध्यक्ष प्रचण्डले नेपाली समुदायको सरोकारका विषयका साथै संसदका् प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए । प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए । यस्तै, अघिल्लो हप्ताको सोमबार प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए । भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताएका थिए ।

पूरा भयो कर्मचारीको समायोजन प्रक्रिया, अपुगको चाँडै विज्ञापन खुलाइने

काठमाडौं, चैत १४ । संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिने जनाएको छ। बुधबारसम्म निजामतीतर्फ साढे ६० हजार र स्थानीय सेवातर्फ ११ हजारभन्दा बढी कर्मचारीको समायोजन भएकोमा बिहीबारसम्म स्वास्थ्य सेवातर्फका २८ हजारको समायोजन पनि सकिने मन्त्रालयका अधिकारीले बताए। समायोजन हुने यी सबै कर्मचारीको संख्या एक लाख पुग्ने उनको भनाइ छ। मन्त्रालयले समायोजन सकेको घोषणा गरेपछि पनि चैतभित्र कर्मचारीलाई गुनासो सुनुवाइको अवसर दिनेछ। समायोजनप्रति केही कर्मचारीले असन्तुष्टि जनाएकाले त्यसलाई सम्बोधन गर्न सुनुवाइको अवसर दिइने मन्त्रालयले जनाएको छ। समायोजन भएका कर्मचारीको व्यवस्थापन, तलब, वृत्तिविकासलगायत चुनौती कायमै रहेको मन्त्रालयको बुझाइ रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। समायोजन प्रक्रिया टुंगिएपछि दरबन्दीअनुसार अपुग हुने कर्मचारी भर्नाका लागि चाँडै विज्ञापन खुलाउने तयारी मन्त्रालयको छ। सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम गरेको छ। संविधानतः तल्ला तहमा कर्मचारी भर्ना गर्ने कार्याधिकार प्रदेश लोकसेवा आयोगलाई छ। तर, प्रदेश लोकसेवा गठन भइनसकेकाले हाललाई संघीय लोकसेवामार्फत नै स्थानीय र प्रदेशमा अपुग कर्मचारी पूर्ति गर्ने तयारी छ। स्थानीय तहमा रिक्त हुने पदका लागि विवरण माग गरेर चैतभित्रमा लोकसेवालाई पठाउने प्रक्रिया सुरु गर्ने मन्त्रालयले जनायो।

विप्लव निकट शिक्षक संगठनका अध्यक्ष प्रहरीको नियन्त्रणमा

बुटवल, चैत १४ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले कञ्चन गाउँपालिकास्थित निवासबाटै पक्राउ गरेको हो। आचार्य सूर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन्। संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले आचार्यलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे। उनी पक्राउ परेको कुरा प्रहरीले भने अझै पुष्टि गरेको छैन। प्रहरीले रुपन्देहीमा विप्लव नेतृत्वको पार्टीका गतिविधि गर्नेमाथि  कडा निगरानी गरिरहेको छ। यसैबीच संगठनका केन्द्रीय अध्यक्ष पाठकले सामाजिक सञ्जालमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै पक्राउ गरिएका आचार्यलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्। उनले ट्रेड युनियनका व्यक्तिलाई बिना कारण पक्राउ गर्न नपाइने भन्दै रिहा गर्न माग गरेका हुन्। सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएपछि उनको पार्टी निकट संगठनका पदाधिकारीमाथि प्रहरीले निगरानी बढाएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो।

४१ जिल्लामा टुंगियो नेकपा एकता (सूचीसहित)

काठमाडौं, चैत १४ । सत्तारूढ दल नेकपाको जिल्ला तहको एकता नटुंगिँदै ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ । गण्डकीका जिल्लाबाहेक अन्य प्रदेशका स्थानीय तहमा एकता प्रक्रिया अघि बढेको हो । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटा, प्रदेश २ का आठै जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको भागबन्डा पनि करिब टुंगिएको छ। प्रदेश २ मा दुवै पूर्ववत् घटकहरूलाई बराबरी प्रतिनिधित्व गराउने गरी सैद्धान्तिक सहमति भएको छ। ‘हामीले पपुलर भोटका आधारमा एकताको काम टुंग्याउने सहमति गरेका छौं’, नेकपा केन्द्रीय सदस्यसमेत रहेका नेता गोपाल ठाकुरले भने, ‘ब्ल्याक एन्ड ह्वाइट सहमति भने भइसकेको छैन। तर मोटामोटी एकताको सैद्धान्तिक आधार बनाएका छौं।’ प्रदेश ३ को दोलखा, सिन्धुली, रसुवा, रामेछाप र ललितपुरका स्थानीय तहमा एकताको भागबन्डा टुंगिएको छ। गण्डकी प्रदेशले भने जिल्ला तहको एकता भागबन्डा केन्द्रबाट टुंगिएर आएपछि मात्र स्थानीय तहमा टुंग्याउने तयारी गरेपछि कुरा मिलेको छैन। उक्त प्रदेशका कुनै पनि जिल्लामा स्थानीय तहको एकतामा भागबन्डा टुंगिएको छैन। प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, परासी, पाल्पा, गुल्मी, अर्खाघाँची, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशका डोल्पा, जुम्ला, जाजरकोट र मुगुका स्थानीय तहमा भागबन्डासहितको एकता प्रक्रिया टुंगोमा पुगेको छ। सुदुरपश्चिम प्रदेशको कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा स्थानीय तहको एकता टुंगिएको छ। यस्तो छ भागबन्डा बाजुरका ९ स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले अध्यक्ष लिने सहमति भएको छ। बैतडीका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व लिने समझदारी भएको छ। प्युठानमा पूर्वएमालेले ५ र पूर्वमाओवादीले ४ ओटा स्थानीय तहमा नेतृत्व लिने गरी भागबन्डा टुंगिएको छ। दोलखाका नौ स्थानीय तहमध्ये ५ तह पूर्वएमाले र ४ तहमा पूर्वमाओवादीले नेतृत्व लिने गरी सहमति बनेको छ। सिन्धुलीका दुई नगरपालिकासहित ९ ओटै स्थानीय तहमा पनि एकता टुंगिएको छ। जिल्लाका दुवै नगरपालिकासहित ५ स्थानीय तह पूर्वएमाले र चार गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व पाएको छ। पाल्पाका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व पाएको छ। गुल्मीका १२ स्थानीय तहमध्ये ७ वटामा पूर्वएमाले र ५ वटामा पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति बनेको छ। रोल्पाको १० स्थानीय तहमध्ये ४ स्थानीय तहको अध्यक्ष पूर्वएमाले र ६ स्थानीय तहमा पूर्वमाओवादीले नेतृत्व लिने भएको छ। रामेछापका आठ तहमध्ये ५ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले नेतृत्व लिनेछ। ताप्लेजुङका ९ स्थनीय तहमध्ये पूर्वएमालेबाट पाँच पूर्वमाओवादीले चार तहको नेतृत्व गर्नेछन्। भोजपुरका ९ तहमध्ये ५ वटामा पूर्वएमाले र ४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ। झापाका १५ स्थानीय तहमध्ये ६ मा पूर्वमाओवादी र ९ तहमा पूर्वएमालेले नेतृत्व लिने सहमति बनेको छ। त्यस्तै मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ। १६ तहमध्ये तत्कालीन एमालेले ९ तह र माओवादीले सात तहको नेतृत्व गर्नेछन्। पाँचथरका ८ स्थानीय तहमध्ये ५ तहमा पूर्वएमाले र ३ तह पूर्वमाओवादीले नेतृत्व पाएका छन्। डडेलधुराका सात स्थानीय तहमध्ये ४ तहमा पूर्वएमाले र ३ वटा तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व गर्नेछन्। दाङका १० तहमध्ये ६ को नेतृत्व एमाले र ४ मा माओवादीको नेतृत्व रहने छ। दार्चुलाका ५ तह पूर्वएमाले र ४ तह पूर्वमाओवादीको भागमा परेको छ।  यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

विप्लव नेकपाको बन्द फिर्ता (विज्ञप्तिसहित)

काठमाडौं, चैत १३ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ । प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो । विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको पुष्टि गरे । उनले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिए । एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको उनको भनाइ छ । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियव । सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ ।

ज्ञानु दाहालको पुण्यतिथिमा वृद्धाश्रममा भोजन र फलफूल वितरण (फोटो)

चितवन, चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकी दिवंगत जेठी छोरी ज्ञानु दाहालको पाँचौं स्मृति दिवस मनाइएको छ । सम्पन्न भएको छ । चितवन स्थित ‘ॐ सत्य साई वृद्धाश्रम’ मा वृद्धवृद्धालाई भोजन खुवाउँदै स्मृति दिवस मनाइएको हो । उक्त अवसरमा दिवंगत दाहालका श्रीमान् सागर केसीले वृद्धाश्रममा रहेका बुज्रुक व्यक्तित्वलाई भोजन अर्पण गरेका थिए । पाँच वर्षअघि क्यान्सर रोगबाट ज्ञानुको मृत्यु भएको थियो । गतवर्ष कीर्तिपुरमा रहेको एचआईभी संक्रमित बालबालिकाको संस्थामा सहयोग गर्दै दिवंगत दाहालको जन्मोत्सव मनाईएको थियो । दाहाल परिवारले छोरी ज्ञानु र छोरा प्रकाशको स्मृतिमा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ को स्थापना गरी सामाजिक कार्य गर्दै आएको छ । केही तस्वीर–

समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरिमा घरदैलो अभियान सुरू

काठमाडौं, चैत १३ । समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरिमा घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको छ । समुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले थानकोटस्थित साझा घरमा स्टिकर टास गरी कार्यक्रमको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले समाजलाई अपराध मुक्त बनाउने उद्देश्यका साथ स्थानिय प्रहरीहरूको नम्बर सहितको स्टिकर टाँस्ने र स्थानीय र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गर्ने यो अभियान फलदायी हुने बताए । थापाले प्रत्येक चन्द्रागिरिका स्थानीयहरूको घरमा स्टिकर टास गरी घरधनिहरूको विवरण संकलन गर्न फारम भर्ने काम बुधबारबाट सुरू भएको बताए । थापाले भने, ‘प्रत्येक घरघरमा एउटा एउटा स्टिकर टाँस्ने र एउटा फारम भर्ने व्यवस्था गरिएको छ, भरिएको विवरण गोप्य हुने छ ।’ कार्यक्रममा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एंव सुरक्षित समाजका लागि यो अभियान प्रभावकारी हुने बताए । उनले अचानक, हुने घटनालाई नगरपालिकाले विपद् व्यवस्थापनमा आवश्यक सामाग्री खरिद भइसकेको र केही हप्तामै प्रहरीलाई हस्तान्तरण गरिने बताए । नगर प्रमुख गिरीले भने ‘समाजलाई व्यवस्थापन गर्ने र समाजलाई असल बाटोतर्फ लैजानलाई, अपराध गर्ने परिपाटीमा सिफारिस गर्ने काम गलत हो, लागुऔषध दुव्र्यसनीलाई हल गर्नुपर्छ । सबै घरहरूमा एकै किसिमका रङहरू लाग्ने छ । सबै किसिमका सुधारको काम हुने छ । सभ्य समाज निर्माण कार्यमा सवै अनुसाशित हुनुपर्छ र शान्ति सुरक्षा काम गरेर सव्य र भव्य समाज निर्माणमा लाग्ने प्रण गरौं ।’ कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिका प्रवर्ता हरिभत्तm महर्जनले घटना घटन नदिन स्थानीयलाई जनचेतना र अभिमुखीकरण तालिम आवश्यक रहेको औंल्याए । उनले चन्द्रागिरिमा समग्र नगरको शान्ति सुरक्षाको लागि सिसि क्यामरा, साईरन, सोलार बत्ती लगायतको कामको सुरूवाती भईरहेको जानकारी गराए । चन्द्रगिरि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले शान्ति सुरक्षामा नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध हुनुपर्ने र प्रहरी नागरिकबीच ऐकाकार गरी अगाडि कढ्न सके वर्दी र विना वर्दीका प्रहरीबीच समंन्वयनबीच शान्ति सुरक्षामा सोचेअनुरूप उपलब्धि हासिल हुने बताए । तस्वीर : रोशन दानी

छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडी धनीलाई सास्ती

वीरगञ्ज, चैत १३ । विआर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन। नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ लाग्छन् । यो समस्या अभिशेषलाई मात्र होइन, सो नाकाबाट नेपाल भित्रिने सबै भारतीय नम्बर प्लेटका गाडी धनीलाई हुने गरेको छ । भिष्वा छोटी भन्सार कार्यालयमा भारतीय सवारी साधनलाई नेपाल भित्रिँदा छुटपुर्जी दिने व्यवस्था नहुँदा विगत लामो समयदेखि भारतीय सवारीधनीले यस्तै समस्या भोग्दै आएका छन् । सीमावर्ती भारतको सिकटा, भेलाही लगायतका ठाउँबाट दैनिक नेपाल भित्रिने दर्जनौं भारतीय नम्बर प्लेटका सवारी साधनलाई भिष्वा छोटी भन्सार कार्यालयमा छुटपूर्जीको व्यवस्था नहुँदा ४० किलो मिटरको लामो यात्रा तय गरी वीरगञ्ज भन्सार कार्यालय पुग्नुपर्ने बाध्यता रहेको विआर २२ एस ७५५२ नम्बरका चालक सरताज अहमदको गुनासो छ । सीमावर्ती भारतबाट अहिले दैनिक २० देखि २५ भारतीय सवारी साधन पर्साको ग्रामीण क्षेत्रमा भित्रिन्छन् । प्रहरी चौकी भिष्वाका प्रहरी नायब निरीक्षक विजयकुमार साहीले भने, ‘नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई व्यावहारिकरूपमा ‘इन्ट्री’ गरेर जान दिने गरिएको छ ।’ छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काटने अधिकार नभएकाले भारतका ग्रामीण नाकाबाट नेपाल भित्रिने भारतीय सवारी साधनलाई सीमाक्षेत्रका प्रहरीले रोक्ने, जथाभावी रकम लिने तथा गाडी जफत गर्ने जस्ता समस्या भोग्दै आएको भारतीय चालक सैजुलहकको गुनासो छ । वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी मनिषकुमार महतोले छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काट्ने अधिकार नेपाल सरकारले नदिएकाले यस्तो समस्या आएको बताए । नेपाल–भारतबीच रहेको खुला सीमाका कारण छोटी भन्सार कार्यालयमा छुटपुर्जीको व्यवस्था नहुँदा एकातिर सरकारी राजश्व गुम्दै गएको छ भने अर्कोतिर ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरी नहुँदा बिना कागजपत्रका भारतीय गाडीहरु निर्वाधरूपमा नेपाल प्रवेश गर्ने तथा मोटरसाइकलमा चार जनासम्म बसेर यात्रा गर्ने जस्ता कार्यले दुर्घटनाको सम्भावना बढेर गएको स्थानीय बताउँछन् । ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयमा कर्मचारीको दरबन्दी रहेपनि कर्मचारी नबस्दा भारतीय सवारीधनीले मनपरीरूपमा नेपाल प्रवेश गर्ने गरेका छन् । छुटपुर्जीका लागि वीरगञ्जसम्म पुग्दा खर्चिलो हुने गरेकाले नेपाल सरकारले छोटी भन्सारमै छुटपुर्जीको व्यवस्था गर्नुपर्ने माग भारतीय सवारी धनीहरुको छ । रासस

२ वर्षमा ६ किमि ग्राभेल

परासी, चैत १३ । पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माणको सम्झौता मिति सकिएको तीन साता बित्यो । तर, काम भने ३० प्रतिशतमात्र भएको छ । विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले काम नगर्दा २ वर्षमा १३ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन । निर्माण सम्झौता मिति सकिइसक्दा ६ किलोमिटर सडकमात्र ग्राभेल भएको छ । एक किलोमिटर सडक पनि कालोपत्रे हुन नसक्दा राष्ट्रिय गौरवको आयोजना नै अलपत्र परेको हो । गोपीगन्जदेखि परासीसम्म हुलाकी सडक स्तरोन्नति गर्ने जिम्मा पाएको द कञ्चनगंगा बिरुवा शिवशक्ति कन्स्ट्रक्सनले नदीजन्य पदार्थको अभाव देखाउँदै काम रोकेको थियो । कन्स्ट्रक्सनका प्रतिनिधि मेघराज खनालले नदीजन्य पदार्थ अभावकै कारण समयमा सडक निर्माण सम्पन्न गर्न नसकिएको बताए । हुलाकी सडक निर्माणका लागि ७० हजार घनमिटर नदीजन्य पदार्थको आवश्यकता रहेको निर्माण कम्पनीले जनाएको छ । ‘समयमा जिल्लाका खोलामा नदीजन्य पदार्थको ठेक्का नलगाउँदा हामीलाई कच्चापदार्थको अभाव भयो,’ उनले भने, ‘खोला भर्खर खुले पनि मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न नपाउँदा आवश्यकता अनुसार कच्चा पदार्थ उपलब्ध भएको छैन । कच्चा पदार्थ उपलब्ध हुनेबित्तिकै कामअगाडि बढ्ने छ ।’ निर्माण कम्पनीले थप दुई वर्षको म्याद मागेको छ । सडक डिभिजन कार्यालय बुटवलका हुलाकी सडक आयोजनाका इन्जिनियर देवेन्द्र शर्माले ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा समयमा नसकिएको बताए । विभिन्न बहाना देखाउँदै काम अगाडि बढ्न सकेन । अब कच्चापदार्थ उपलब्ध गराउन स्थानीय तह र समन्वय समितिसँग सहकार्य भइरहेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले हुलाकी सडक निर्माणको गति सुस्त हुँदा समयमा काम नसकिएको बताए । ‘हामीले गर्नुपर्ने सहयोग गरिरहेका छौं तर ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै पटक–पटक काम रोक्नु राम्रो होइन,’ उनले भने, ‘अहिले फेरि कच्चापदार्थको अभाव र समय थप गर्नुपर्ने नयाँ माग अगाडि सारेका छन् ।’ यो आयोजना २५ करोड १९ लाख ७० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । २०७३ फागुनमा सुरु भएर २०७५ फागुन १४ गते आयोजना सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । धूलाम्य हुलाकी सडकमा मोटरसाइकल तथा साना सवारी साधनमा यात्रा गर्न निकै कठिनाइ भएको छ । साइकल र पैदल यात्री हिँड्न सक्ने अवस्था छैन । ओहोरदोहोर गर्न असहज भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएपछि केही दिन धूलो रोक्नका लागि सडकमा पानी हालिएको भए पनि त्यसले निरन्तरता नपाउँदा धूलोले स्थानीय अहिले आजित छन् । कान्तिपुरदैनिकबाट

सडक मर्मतमा १८ करोड

वीरेन्द्रनगर, चैत १३ । कर्णाली प्रदेश सरकारले १८ करोड बजेटले वीरेन्द्रनगर नगरपालिकाभित्रका १७ वटा सडक मर्मत गर्ने भएको छ । केन्द्र सरकारको समपुरक अनुदानबाट प्राप्त रकमले स्तरोन्नतिका नाममा प्रदेश सरकारले वीरेन्द्रनगरका शहरी सडक टालटुल गर्ने भएको हो । आवको ९ महिना सकिन लाग्दा प्रदेश सरकारले सडक स्तरोन्नतिको काम थाल्ने तयारी गरेको छ । १८ करोड ४१ लाख ९२ हजार बजेटले चालु आवमा सहरी सडकलाई मर्मत गर्ने गरी प्रदेश सरकारले काम थालेको छ । नगरप्रमुख देवकुमार सुवेदीले नगरभित्रका सडकहरूको मर्मतका लागि तत्काल मात्रै ६५ करोड आवश्यक पर्ने बताए । प्रदेश सरकारले करिब २० करोडको पेरिफेरिमा पर्ने गरी सडकहरू छुट्याउने भनेकाले सोहीअनुसार डीपीआर बनाएर बुझाएको उनले जानकारी दिए । नगरपालिकाका उपप्रमुृख मोहनमाया ढकालले सडक मर्मत प्रदेश सरकारले गर्ने भए पनि विस्तृत योजना प्रतिवेदन (डीपीआर) नगरपालिकाले नै बनाएर सहयोग गरेको बताइन् । ‘काम प्रदेश सरकारले गर्ने हो,’ उनले भनिन्, ‘हामीले त प्राविधिक सहयोगमात्रै गरिदिएका हौं ।’ प्रदेश सरकारले आवको अन्त्यतिर आएर सडक मर्मतको काम थालेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नागरिक सरोकार संघ सुर्खेतका अध्यक्ष पीताम्बर ढकालले सीमित बजेटले राजधानी सहरको विकास हुन नसक्ने बताए । ‘राजधानी त प्रदेशको गहना हो,’ उनले भने, ‘बजेट खर्च गरेको मात्रै देखाएर त कसरी यसको विकास हुन्छ ?’ समयमै बजेट ल्याएर काम सुरु गर्नुपर्ने उनको भनाइ छ । १८ करोडले १७ वटा सडकको मर्मत गर्ने लक्ष्य राखेरगुणस्तरयुक्त विकास नहुने उनको दाबी छ । प्रदेश सरकारले वीरेन्द्रनगर (६ भित्र हटिया–घण्टाघरसम्मको सडक मर्मतका लागि २३ लाख, वीरेन्द्रनगर ९६ र ७ मा पर्ने घण्टाघर–अख्तियार चोकसम्मका लागि ५३ लाख ६१ हजार, वडा नम्बर ७ मा अख्तियार चोक–गुरुङचोक सडकमा ८५ लाख २२ हजार, गुरुङचोक–प्रदेशसभा हलसम्मको सडकमा ७१ लाख तीन हजार बजेट विनियोजन भएको छ । गुरुङचोक–प्रदेश प्रहरी कार्यालयसम्म ४४ लाख ४३ हजार, वडा नम्बर ६, ७ र ८ मा ड्रेन कन्स्ट्रक्सनका लागि दुई करोड ६२ लाख ६४ हजार, नेपाल कम्युनिस्ट पार्टीको कार्यालयदेखि भ्याली भ्यूसम्मका लागि ४८ लाख ६१ हजार, आँखा अस्पताल–टेलिकम चोकसम्मका लागि ८७ लाख ६७ हजार विनियोजन गरिएको छ । वीरेन्द्रनगर–७ को खरखोली पुल–टेलिकमसम्मको सडक स्तरोन्नतिका लागि ४१ लाख ७२ हजार, टेलिकमदेखि इत्राम स्कुलसम्म १ करोड २२ लाख, इत्राम स्कुल–पीपल चौतारी–शिवालय चोकसम्मका लागि एक करोड ३७ लाख, बजेट विनियोजन भएको छ । त्यस्तै पीताम्बर ढकालको घरको पूर्वदेखि शमशेर घर हुँदै कटुकवा मार्गसम्मको सडक मर्मतका लागि एक करोड ५४ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ । रातो पुलदेखि पश्चिम हटलाइनसम्मको सडकलाई २६ लाख ९९ हजार तीन सय ९५ रकम विनियोजन भएको छ । शिक्षा क्याम्पसदेखि शिक्षा क्याम्पसको होस्टलसम्मको सडकमा ३८ लाख ४० हजार ६ सय ३७ रकम छुट्याइएको छ । कान्तिपुरदैनिकबाट

जथाभावी फुटपाथ र पार्किङका कारण कुरुप बन्दै महानगर

ललितपुर, चैत १३ । ललितपुर महानगरपालिकाले पाटनको मंगलबजारदेखि लगनखेल बसपार्कसम्मका सडकमा फुटपाथ पसल हटाउन गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । मंगलबजार चोकदेखि लगनखेलसम्मका सडक, सार्वजनिक पाटीपौवा तथा फुटपाथ अतिक्रमण गरी सञ्चालित व्यापार तथा जथाभावी पार्किङले सो क्षेत्र अस्तव्यस्त बनेको छ । फुटपाथ पसल र जथाभावी पार्किङले यात्रुलाई आवगमनमा असहज भएकाले महानगरले ट्राफिक प्रहरी, नगर प्रहरी र स्थानीय टोल सुधार समितिको सहयोगमा यही चैत ७ गतेबाट लागू हुने गरी सो क्षेत्रमा फुटपाथ पसल तथा पार्किङ गर्न प्रतिबन्ध लगाएको थियो । महानगरको निर्णयप्रति व्यापारीहरुले विरोध समेत जनाएका थिए । अव्यवस्थित बजार र जथाभावी पार्किङकले महानगरका साथै पाटन दरबार स्क्वायर क्षेत्रसमेत कुरुप बन्दै गएको छ । यसले विदेशी तथा आन्तरिक पर्यटकको आवागमनमा समेत समस्या भएको छ । महानगरले चैत ७ गतेबाट लागू हुनेगरी सो क्षेत्रमा फुटपाथ पसल र पार्किङमा रोक लगाउने निर्णय गरेपनि कार्यान्वयन भने हुन सकेको छैन । महानगरपालिकाका फ्रवक्ता राजु महर्जनले जनशक्तिको अभावका निर्णय कार्यान्वयनमा कठिनाई भएको बताए । नगर प्रहरीको संख्या न्यून भएका कारण अनुगमनमा समेत समस्या भएको उनले बताए । महानगरमा अहिले जम्म १३ जनामात्र नगर प्रहरी छन् । नगर प्रहरीको रिक्त दरबन्दीमा पद पूर्तिको तयारी भइरहेको महानगरका प्रवक्ता महर्जनले जानकारी दिए । सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गरे कारबाही गरिने समेत उनले बताए । कान्तिपुरदैनिकबाट

सार्वजनिक स्थलमा पर्यटकलाई खानेपानीको व्यवस्था

पाल्पा, चैत १३ । ‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिक स्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा सार्वजनिक धारा निर्माण गरेको छ । गोरखदल गणले करीब दुई महीनामा दुई हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरेको हो। नेपाली सेनाको तानसेनस्थित गोरखदल गणले तानसेनस्थित पाल्पा दरबार संग्रहालयनजिकै र सेनाले टुँडिखेलमा ठूलो क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेसँगै मिनरल बोतलको महङ्गो पानी किनेर पिउनुपर्ने बाध्यता हटेको हो । पाल्पाको तानसेन पर्यटकीय नगरीका रूपमा रहेकाले पर्यटकको आवतजावत भइरहने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नेपाली सेनाले दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेपछि खानेपानीका लागि सहज भएको हो । गोरख दल गणका गणपति सुरज थापाले खानेपानी ट्याङ्की उद्घाटन गर्दै ट्याङ्की निर्माणले सेना र नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन र पाल्पा घुम्न आउने पर्यटकलाई फाइदा पुग्ने बताए। तत्कालीन पाल्पाका तैनाथवाला प्रतापशम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णोद्धार गरी पर्यटक र सर्वसाधारणलाई पिउने पानीको सहज व्यवास्था भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । सेनाले तानसेनस्थित टुँडिखेलमा पनि एक वर्षअघि नै यस्तै प्रकारको खानेपानी ट्याङ्की निर्माण सम्पन्नपछि त्यस क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रुलाई खानेपानी सहज भएको स्थानीय बासिन्दा डिलबहादुर रानाले बताए । अध्यक्ष र व्यवस्थापकलाई सहकारी शिक्षा तिनाउ गाउँपालिका क्षेत्रभित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि सहकारी शिक्षा, ऐन, नियम र विनियमसम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ । तिनाउ गाउँपालिका सहकारी समन्वय समितिको आयोजना र तिनाउ गाउँपालिकाको आर्थिक व्यवस्थापनमा सञ्चालित तालीममा गाउँपालिका क्षेत्रभित्रका २० सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि स्थानीय सहकारी ऐन, नियम र विनियमसम्बन्धी सहजीकरण गरिएको हो । स्थानीय सरकारको सहकारी ऐन नियम तथा विनियम, सहकारीको सिद्धान्त, मूल्य मान्यता, नीति नियम, कार्यविधि तथा प्रविधि लगायतका विषयमा तालीममा छलफल केन्द्रित भएको सहकारी समन्वय समितिका सचिव सचिव गोपाल जिसीले बताए । तालीम समापनका अवसरमा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक रहेको बताए । रासस

घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्यमा काठमाडौं

काठमाडौं, चैत १३ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर डटकमले काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ । बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ । संयुक्त अधिराज्यको राजधानी लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौथो र इण्डोनेशियाको बाली पाँचौ नम्बरमा छन् । उक्त साइटले घुम्नैपर्ने शहरको सूचीमा दुबईलाई १०औँ र संयुृक्त राज्य अमेरिकाको महानगर न्यूयोर्कलाई १३औँ स्थानमा राखेको छ । रासस

विप्लवका ४ कार्यक्रताद्वारा सामूहिक राजीनामा (विज्ञप्तिसहित)

चितवन, चैत १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चितवनका जिल्ला समिति सदस्य मधु क्षेत्रीसहित ४ जनाले सामूहिक राजीनामा दिएका छन्। भरतपुर महानगरपालिका–१० का इन्चार्ज समेत रहेका क्षेत्री, रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डितले राजिनामा दिएका हुन्। मंगलवार प्रेस विज्ञप्ती जारी गरी उनीहरुले अबदेखि उक्त पार्टीको कुनै पनि पदमा नरहने जानकारी गराएका छन्। विज्ञप्तीमा उनीहरुले पछिल्लो समय स्वास्थ्य अवस्था पनि बिग्रिदै गएका कारण राजीनामा दिएको उल्लेख गरेका छन्।

एकै दिन विप्लवका २१ कार्यक्रता पक्राउ

काठमाडौं, चैत १३ । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरू पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । चन्द समूहको ‘तमुवान जनपरिषद् संयोजक’ किसानसिंह गुरुङ मंगलबार पोखरा–२७ रिठेपानीबाट पक्राउ परेका छन् । दमौली संवाददाताका अनुसार मंगलबारै तनहुँ, व्यास–६ का अखिल नेपाल क्रान्तिकारी लमजुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर–५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए । यस्तै, पूर्वी नवलपरासीबाट चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दर्निया पनि पक्राउ परेका छन् । दुवैलाई प्रहरीले सोमबार राति घरबाटै पक्राउ गरेको हो । अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेका ज्ञवाली नवलपरासी इन्चार्ज भएपछि खैरनीमा बस्दै आएका थिए । स्थानीयका अनुसार मर्दनियालाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । दुवैलाई कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै, चन्द समूहका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य पनि मंगलबार पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४, सर्दीस्थित उनको घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राई र साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जय र महेन्द्र चन्द समूहका जिल्ला सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएको प्रहरीले जनाएको छ । राजविराज संवाददाताका अनुसार सप्तरीमा चन्द समूहका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव सोमबार पक्राउ परेका छन् । विराटनगर संवाददाताका अनुसार प्रहरीले इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङ पक्राउ परेका छन् । संखुवासभाको पाँचखाल नगर कमिटी इन्चार्ज भीम राई पनि पक्राउ परेका छन् । सुनसरीको इटहरी हलगडाबाट चन्द समूहका कार्यकर्ता रमेश खडकालाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।