मंगलबार संघीय संसदको संसदीय सुनुवाई बैठक बस्दै
काठमाडौं, वैशाख ३ । संघीय संसदको संसदीय सुनुवाई समितिको बैठक मंगलबार बस्दै छ ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिश ५ जना र निर्वाचन आयोगका प्रमुख आयुक्तविरुद्ध परेका उजुरी सम्बन्धमा निर्णय गर्दै सुनुवाईको मिति तय गर्न समिति बैठक बोलाईएको हो ।
समिति बैठक अपरान्ह २ बजेका लागि बोलाईएको छ । प्रस्तावित न्यायाधीशहरु विरुद्ध ५ र प्रमुख आयुक्त विरुद्ध ६ वटा उजुरी परेको संघीय संसद सचिवालयले जनाएको छ । न्याय परिषद्ले गत चैत्र १८ गते सर्वोच्चको न्यायाधीशमा हरि फुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो । ढुंगानाविरुद्ध २ र फुयाल विरुद्ध एउटा उजुरी परेको हो । न्यायाधीश नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउदै थप २ वटा उजुरी परेका छन् ।
यस्तै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाबिरुद्ध ६ वटा उजुरी परेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिव समेत रहेका थपलिया विरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित रहेको संसद सचिवालयले जनाएको छ ।
समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाबिरुद्ध भने उजुरी परेको छैन । संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालकाअनुसार, सवै उजुरी खोल्दै आजको बैठकले अध्ययनपछि उजुरीकर्तालाई बोलाउने नबोलाउने तय गर्ने छ ।
११ सय विदेशी नेपाली जेलमा
काठमाडौं, बैशाख ०२ । नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् । तर पछिल्लो समयमा विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ । पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला तथा मानव बेचबिखन, लागूऔषध कारोबार, अप्राकृतिक मैथुनलगायतका गतिविधिमा संलग्न भएको पाइएको छ । कतिपय विदेशी पर्यटक भिसा लिएर आपराधिक काम गर्नकै लागि नेपाल आउने गरेका छन् भन्दाचाहिँ धेरैलाई विश्वास नलाग्न सक्छ । वास्तविक त्यही नै हो । अहिले विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै ११ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेकाले यसको पुष्टि हुन्छ । कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको रेकर्ड राख्न बनेको सफ्टवेयर (प्रिजन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) ले चार सय ५८ विदेशी नागरिक जेलमा रहेको तथ्यांक देखाउँछ । कारागारमा रहेका विदेशीमाथि झन्डै ३९ वटा फरकफरक मुद्दामा सजाय भोगिरहेका छन् । विभागले अन्य विदेशी कैदीबन्दीको तथ्यांकसमेत सफ्टवेयरमा राख्ने तयारी गरेको छ । यसरी सजाय भोग्नेमा अमेरिका, कोरिया, जापान, भारत, चीन, भुटानलगायत ३१ मुलुकका नागरिक छन् । सबैभन्दा बढी तीन सय ७३ जना भारतीय छन् । पाकिस्तानी १८, भुटानी १६, बंगलादेशी १०, चिनियाँ ११ र चीनको स्वशासित क्षेत्र तिब्बतका २ जना कारागारमा छन् । लागूऔधष कारोबारमा संलग्न एक सय ९४ जना विदेशी नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । जबरजस्ती करणी उद्योगमा ५१, कर्तव्य ज्यानमा २६, मानव बेचबिखनमा १६, हतियार खरखजनामा १२, खोटाचलनमा १४ जना विदेशीले कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापन विभागको तथ्यांकमा उल्लेख छ । अपहरण, अप्राकृतिक मैथुन, अवैध भारु कारोबार, चोरी, ठगी, महिला बेचबिखन, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र सार्वजनिक अपराधमा समेत विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् । कतिपय विदेशीको सम्बन्ध त अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग समेत देखिएको छ । अन्तर्राष्ट्रिय आपराधिक गिरोहका गतिविधिलाई स्थापित गराउनसमेत केही विदेशी पर्यटकको भेषमा नेपाल आउने गरेको पाइएको छ । गृह मन्त्रालयले गत वर्ष धेरै रस्साकस्सीबीच विदेशी नागरिक अनुगमन निर्देशिका मन्त्रीस्तरीय निर्णयबाट पारित गर्यो । तर निर्देशिका कार्यान्वयन शून्य छ । निर्देशिका कार्यान्वयन नहुनु, विदेशीका गतिविधिलाई ट्र्याकिङ गर्न नसक्नु, जथाभाबी अनअराइभल भिसा सुविधा दिनु लगायत कानुन कार्यान्वयनको कमजोर पक्षको फाइदा उठाउँदै विदेशीहरु आपराधिक गतिविधिमा संलग्न भएका छन् । पूर्व गृहसचिव गोविन्द कुसुमले अध्यागमन प्रणाली मजबुत नबनाएसम्म विदेशीले नेपाललाई आपराधिक गतिविधि गर्ने मुख्य थलोका रूपमा प्रयोग गरिरहने बताए । उनले भने, ‘प्रहरी र अध्यागमनबीच सूचना प्रणालीको समन्वय हुनुपर्छ । नियमित अनुगमन गर्नुपर्छ । नत्र थप सुरक्षा जोखिम बढ्छ । ’ नेपाल भित्रने र बाहिरिने विदेशी नागरिकको विस्तृत अभिलेखसमेत अध्यागमन विभागसँग छैन । प्रस्थान र आगमनबाहेक विदेशीका अन्य गतिविधि अध्यागमनलाई थाहा हुँदैन । गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले विभिन्न अपराधमा सजाय पाएका विदेशीको व्यवस्थापन गरिरहेको छ । विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अदालतको फैसलापछि आएका विदेशीलाई विभिन्न कारागारमा व्यवस्थापन गरिएको बताए । उनका अनुसार विदेशी कैदीबन्दीले कारागारबाट नेपालीसरह नै सेवासुविधा पाइरहेका छन् । सरकारले हरेक दिन प्रत्येक कैदीबन्दीलाई ७ सय ग्राम चामल र नगद सिदाको रुपमा ६० रुपयाँ दिँदै आएको छ । महानिर्देशक मैनालीले भने, ‘विदेशी तथा स्वदेशी कैदीबन्दीहरुको सम्पूर्ण स्वास्थ्य उपचार सरकारले नै गर्दै आएको छ ।’ अध्यागमन विभागले अहिले बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली बनाउन थालेको छ । सफ्टवेयर कार्यान्वयनमा आयो भने अध्यागमन प्रणालीमा केही सहज हुने विभागको बुझाइ छ । तर अहिले विदेशीको अनुगमन गर्न न गृह मन्त्रालय गम्भीर छ न त अध्यागमन विभाग । पर्यटकीय क्षेत्र ठमेल, पोखरा, चितवनलगायत स्थानमा ओभर स्टे रहेका कतिपय विदेशीहरुले अवैध काम गर्दै आएका छन् । विदेशी नागरिकमाथि अख्तियार गर्ने नीति अष्पष्ट हुँदा आपराधिक गतिविधि गर्ने विदेशीको संख्या बढेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।
सशस्त्र प्रहरीसँग अमेरिकी सेनाको पहिलो संयुक्त अभ्यास
काठमाडौं, वैशाख ०२ । अमेरिकी सेनाका सैनिक तथा सशस्त्र प्रहरी बल, नेपालका सदस्यहरूले पहिलो प्राथमिक उपचारसम्बन्धी ज्ञान आदानप्रदानका लागि सहकार्य गरेका छन्। चैत २५ देखि २९ गतेसम्म सञ्चालित साताव्यापी विषयविद् आदानप्रदान युएस स्पेशल अपरेशन्स कमान्ड–प्यासिफिक र सशस्त्र प्रहरी बलबीचको नयाँ साझेदारीको सुरुवात भएको हो। उक्त हैसियतमा यी दुई निकायले सहकार्य गरेको यो पहिलो पटक हो। सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा सञ्चालित आदान प्रदान कार्यक्रमले उपचार तथा विपद् प्रतिकार्य सम्बन्धी अनेक विषयवस्तु समेटेको एपीएफले जनाएको छ। नेपाल खवरबाट साभार गरिएको हो ।
प्रधानमन्त्री ओलीबाट मङ्गलबार सुरुङको ‘ब्रेक थ्रु’ हुने
सुर्खेत, वैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुने आयोजनाले जनाएको छ । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा मङ्गलबार बिहान ११ बजे आयोजना हुने ‘बे्रक थु्र’ कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए। बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माणकार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । “नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन जडान गरी निर्माण भइरहेको यो नमूना आयोजना हो”, उनले भने, “विभिन्न अवरोध, आशङ्काकाबीच निर्धारित समयभन्दा ठीक एक वर्षअघि नै सुरुङ निर्माण गर्न सफल भयौंँ, यसले आयोजनालाई मात्र होइन सिङ्गो मुलुकलाई ठूलो हौसला मिलेको छ, त्यही सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको उपस्थितिमा ‘बे्रक थु्र’ को तयारी गरेका हौँ ।” सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यस अघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । सिँचाइ विभागका प्राविधिक भेरी–बबईको सफल परीक्षणका कारण अन्य स्थानमा पनि यस्ता आयोजना सञ्चालन गर्न सकिने बताउँछन् । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजना शुरु भएको हो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । आयोजनाका निर्देशक बरालले पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताए । उनका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युत्गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । आयोजनास्थलका बासिन्दाले रोजगारी पाउनुका साथै प्रभावित क्षेत्रका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । रु १० अर्ब ५० करोडमा सम्झौता भएको यस आयोजनाको सुरुङ निर्माणका लागि फागुन मसान्तसम्म झण्डै रु आठ अर्ब खर्च भएको छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार सुरुङ निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सक्ने लक्ष्य छ । प्रभावित क्षेत्रलाई सम्बोधन गर्न माग प्रभावित क्षेत्रका बासिन्दाले पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारीजस्ता कार्यक्रमको प्रत्याभूति दिनुपर्ने बताएका छन् । स्थानीयवासीले यही विषयमा मङ्गलबार प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । गुर्भाकोट, भेरीगङ्गा र लेकबेँसी नगरपालिकाका भेरी र बबई किनारका बासिन्दाको भेलाले भेरी–बबई सरोकार समाज गठन गरेको छ । संयोजक जेवी सुनारले भेरी बबई आयोजनाले पुर्याउने क्षतिको न्यूनीकरण गर्न समयमै सम्बन्धित निकायलाई सचेत गराएको बताए । “प्रवेशद्वार र निकास दुवै भेरीगङ्गा नगरपालिकामा पर्छ, हामीले पाउने लाभ के हो ? अहिलेसम्म यकिन छैन”, उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा हामी अवरोध गर्न चाहदैनौँ, तर स्थानीयका मागलाई कुनै न कुनै हिसाबले सम्बोधन हुन जरुरी छ ।’ भेरी बबई सरोकार समाजले आयोजनाबाट उत्पादन हुने विद्युत्मा स्थानीय जनताको शेयर तथा स्थानीय सरकारलाई निःशुल्क शेयर दिनुपर्ने माग अघि सारेको छ । त्यस्तै, भेरीगङ्गाका साथै प्रभावित क्षेत्रमा पर्ने गुर्भाकोट र लेकबेँसी नगरपालिकाले सिँचाइ सुविधा र विद्युत्को स्वामित्व पाउनुपर्ने र भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग छ । रासस
मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु
गौशाला, वैशाख २ गते । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्लाको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै मोटरसाइकल चालक २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते भई उनको उपचार बर्दिवासस्थित जनसेवा अस्पतालमा भइरहेको छ । काठमाडौँबाट स ८ प ४३७६ नम्बरको मोटरसाइकलमा चढी दुवै जना सप्तरी जाँदै गर्दा बर्दिवास नपा–३ कालापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा ल्याई उपचार गरिरहेको क्रममा मोटरसाइकलको पछाडि सवार जीतेन्द्रको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । लागुऔषधसहित तीन जना पक्राउ यसैगरी भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–९ बस्ने देवकृष्ण महतो, धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ बस्ने रामदेव महतो र वडा नं २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतबाट कन्हमा बजारबाट ज ९ प ६३७१ नम्बरको मोटरसाईकलमा तीन जना बसी जिल्लाको सम्सी गाउँपालिकामा आउँदै गर्दा सीमानाकामा रहेका प्रहरी चौकी सम्सीका प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट ६०० पिस नाइट्रोभेट लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । (रासस)
नेपाल एयरलाइन्सले ११ वर्षपछि जापान उडान गर्दै
काठमाडौं, चैत २६ । नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । सहप्रवक्ता कोइरालाले भने, ‘अब अपरेटिङ परमिट पाएसँगै जुलाईबाट उडान हुने निश्चित भएको हो ।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डले बताए । पाण्डको अनुसार जापान उडानको पहिलो यात्रा नेपाल एयरलाइन्सले जुलाई ४ तारिखमा गर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
हिमाल आरोहण टोली बीच बाटोमै अलपत्र
सिन्धपाल्चोक, चैत २६ । जुगल हिमाल आरोहणमा गएको आरोहण टोली बीच बाटोमै अलपत्र परेको छ । लगातारको वर्षाले भारी हिमपात भएपछि आरोहण टोली चार हजार ७२४ मिटर उचाइको बेसक्याम्पमै अलपत्र परेको हो । आइतबार आरोहण टोलीका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराएपछि सोमबार सिम्रिक एअरको हेलिकप्टरले खाद्यान्न पुर्याइएको र त्यही हेलिकोप्टरमा अस्वस्थ भएका नेता सापकोटा राजधानी फर्किएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । आरोहण दलका अर्का सदस्य सुभाष कर्माचार्य भने स्वास्थ्यमा समस्या आएपछि यसअघि नै फर्किएका थिए । रासस
देशभर मौसममा बदलीः मध्य र पूर्वका कतिपय ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना
काठमाण्डौं, चैत २६ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्छ । त्यसपछि रोकिए पनि मंगलबार काठमाण्डौसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ । मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । तर नजिकै परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उहाँले बताउनुभयो । पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो ।
विप्लवद्वारा ओली सरकारविरुद्व संघर्षको घोषणा, वैशाख ५ नेपाल बन्द आह्वान
काठमाडौं, चैत २५ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको सुरुमै प्रधानमन्त्री ओलीलाई नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि भनिएर उल्लेख गरिएको छ । ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा) को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रममाथि गत फागुन २८ गते राती अंकुश लगाउने काम भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ – ‘ओली सरकारले फरमान जारी गर्योकि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिनेछ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासी दुर्गा बहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते बनाईयो ।’ ‘त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालिकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्रघात, जनघात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ,’ विज्ञप्तिमा भनिएको छ । ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी भनेका छन् । कार्यक्रम १. चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर । २. वैशाख २ गते — कोण सभा । ३. वैशाख ३ गते — अन्तरक्रिया । ४. वैशाख ४ गते — मशाल जुलुस । ५. वैशाख ५ गते — नेपाल बन्द । ६. वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिबन्धित गर्ने ।
कुनै वाधा–अड्चन आए तत्काल म कहाँ आउनुहोस्ः प्रधानमन्त्री ओली
काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्माओलीले उधोगी व्यावसायीहरुलाई सम्वोधन गर्दै विधमान कानुनहरुमा के–कस्तो सुधार खोजिएको विस्तृत कार्ययोजना लिएर आउन आहृवान गरेका छन् । ‘कानुनी सुधारः समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजित नेपाल उधोग परिसंघको १६ औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनल भने, ‘व्यापार गर्ने क्रममा कुनै वाधा, व्यवधान आइलागे वा कर्मचारीहरुबाट कुनै समस्या उत्पन्न गरिए म कहाँ आउनोस् ।’ प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित उद्योगी, व्यावसायीहरुलाई सम्वोधन गर्दै अगाडि भने,‘आफ्ना मौलिक उधोग खोलौं, सरकारले के सहयोग गर्नुपर्यो रु के छूट दिनु पर्यो ? भनौं ।’ कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नुपर्यो त्यो स्पष्ट आफुलाई बताउन प्रधानमन्त्रीले आग्रह गरे । उनले व्यापारी व्यावसायीहरुलाई भने, ‘आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् । बाहिरबाट ल्याएको पैसा छ भने पनि स्वच्छ हो भन्ने प्रत्याभूति गर्नोस् र लगानी गर्नोस् ।’ नेपालमा कृयाशील जनसंख्या ठूलो परिणाममा रहेको उल्लेख गर्दै उनले देशमा खनिजलगायतका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने वातावरण बनिरहेको बताए । साथै, देशमा राजनीतिक स्थिरता कायम भएकोले अनुकूल परिस्थिति निर्माण भएको समेत उनले बताए । प्रधानमन्त्रीले भने, ‘यी पक्षहरुका साथै अहिलेको सरकार तपाईंहरुको माग वमोजिम कानुनहरुमा आवश्यक सुधार गर्न तत्पर छ ।’ स्वदेशी उधमी, व्यावसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै उनले पूँजी र प्रविधिका लागि विदेशी लगानीका लागि आहृवान गरिएको प्रष्ट पारे । हामीलाई पनि फाइदा हुने र लगानी गर्ने विदेशीहरुलाई पनि फाइदा हुने अवस्था श्रृजना गर्दै सहकार्यको वातावरण बनाइने उनले बताए । प्रधानमन्त्रीले ओलीले भने, ‘विदेशी लगानीकर्ताहरुलाई त नेपालमा लगानी गर्न आहृवान गरिदैं गरेको अवस्थामा स्वदेशी लगानीलाई त झन् प्रोत्साहन नगर्ने कुरै भएन ।’ उनले स्वदेशी लगानीको संरक्षण र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा उधमीहरुलाई ढुक्क हुनोस् भन्न चाहन्छौ । कमाउनका लागि तपाईंहरुले अपारदर्शी काम केही गर्नुपर्दैन, पारदर्शी बन्नोस् । अदृष्य ढंगले आएको स्रोत लुकाउन पनि गाह्रो देखाउन पनि गाह्रो हुन्छ ।’ प्रधानमन्त्रीले वर्तमान सरकारको प्रयास शुसासन र विकासमा केन्द्रीत रहेका समेत उनले बताए । प्रधानमन्त्रीले भने, ‘अबको नेपाली समाज असन्तुष्टि प्रधान समाज होइन, आज समस्याहरु आए पनि समाधान गरेर अघि बढ्ने अनुकूलताहरु रहेका छन् ।’ उनले अबको चार वर्षभित्र नेपालमा निरपेक्ष गरिवीको रेखामुनि कोही पनि नरहने समेत दाबी गरे । यो समाचार रातो पाटीबाट लिइएको हो ।
राप्रपाकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, अध्यक्ष थापासहित दर्जनाैं प्रदर्शनकारी पक्राउ !
राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको ‘यालीमा प्रहरीकाे हस्तक्षेपपछि दाेहाेराे झडप भएकाे छ । प्रहरीले राप्रपा अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय वुद्धिमान तामाङ , दिपक बोहरा लाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेकाे राप्रपा नेपालकाे -याली प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेपछि प्रहरीले एक्कासी हस्तक्षेप गरेकाे थियाे । राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुंदे ज्ञापनपत्र अविलम्व पुरा गराउन दवाव सृजनाका लागि रत्नपार्क हुँदै पुतलीसडकबाट -यालीसहित सिंहदरवार अगाडि पुगेर धर्ना दिने कार्यक्रम आयोजना गरेको थियो । झडपमा एक सय कार्यकर्ता घाइते भएको राप्रपाले जनाएकाे छ । फाेटाे : कान्तिपुरबाट
सरकारले खटाएका ठाउँमा नजाने चिकित्सकलाई कारबाही गर्छौंः स्वास्थ्यमन्त्री यादव
काठमाडौं, चैत २५ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले खटाएका ठाउँमा डाक्टरहरू जानैपर्ने र यसो नभए नियमअनुसार कारबाही गरिने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा पत्रकारहरूको प्रश्नमा उपप्रधानमन्त्री यादवले भने,ुसरकारले खटाएको ठाउँमा चिकित्सकहरू जानैपर्छ।ु सबैभन्दा बढी जनता गाउँमा बसेका हुनाले चिकित्सकहरू गाउँगाउँमै जानुपर्नेमा मन्त्री यादवको जोड छ। उनले भने, ‘म सहरमा मात्रै बस्छु भन्ने यो डाक्टरको माग हुनै सक्दैन ।’ चिकित्सकहरूको आन्दोलन संघीयता विरोधीहरूको षड्यन्त्र भएको पनि मन्त्री यादवले बताए । समायोजनमा विमति जनाउँदै सरकारी चिकित्सकहरू चार दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलनमा छन् ।
पुँजीगत खर्च बढाउन खानेपानी मन्त्रीको निर्देशन
काठमाडौं, चैत २५ । खानेपानी मन्त्री बिना मगरले दिगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु तयार गरी अघि बढ्न निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् । उनले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याइन् । मन्त्री मगरले भने, ‘मन्त्रालयको यो दोस्रो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पुरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ । सबै जनतालाई सुरक्षित खानेपानीको सर्व सुलभ पहुँच पु(याउन स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी अगाडि बढ्नुको विकल्प छैन ।’ बजेटमा निर्धारित योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गरी पूँजीगत खर्च बढाउन समेत मन्त्री मगरले मन्त्रालय मातहत रहेका निकायहरुलाई निर्देशन दिए । मन्त्रालयको अष्ठमासिक अवधिसम्मको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको जानकारी गराईएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी कामहरु अघि बढाउन आग्रह गरे । सरकारको प्रमुख ध्यान दीगो विकासका लक्ष्यहरु पुरा गर्ने तर्फ रहेको बताउँदै आयोगका सदस्य डा। गुरुङले लक्ष्य हासिल गर्ने गरी योजनाहरु तर्जुमा गरी आयोजना बैंकमा समावेश गर्न मन्त्रालयका विभागीय प्रमुखहरुलाई निर्देशन दिए । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आगामी समीक्षा बैठकसम्ममा यस मन्त्रालयको भौतिक र वित्तीय प्रगति रफ्तारमा अघि बढाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए । सचिव शर्माले सिंचाईमा जस्तै जनताको मौलिक अधिकारको विषयसँग जोडिएको पम्पिङ प्रणालीमा आधारित खानेपानी आयोजनाहरुमा लाग्ने विद्युत शुल्कमा सहुलियत दिनुपर्ने बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विभागको अष्ठमासिक अवधिसम्म भौतिक प्रगति ७४ र वित्तीय प्रगति २९ प्रतिशत रहेको जानकारी दिए । महानिर्देशक दासले ३ वर्षभित्र आधारभूतस्तरमा सुरक्षित खानेपानीको पहुँच पुर्याउन पर्याप्त बजेटको आवश्यकता रहेको औंल्याए । उनले खानेपानीसँगै ढल प्रशोधन र सरसफाईका कार्यक्रमहरुमा समेत उत्तिकै ध्यान दिनुपर्ने जरुरी रहेको बताए । खानेपानी मन्त्रालय अन्तर्गत ३ सय ९७ वटा र प्रदेश सरकार अन्तर्गत ४ हजार ५७ खानेपानीका आयोजनाहरु सञ्चालनको क्रममा छन् ।
बाफलमा युवकको हत्यामा संलग्न एक युवक पक्राउ
काठमाडौं, चैत २५ । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको हालसम्म सनाखत भएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार तराई मुलको जस्तो देखिने मृतक युवकसँग बस्ने व्यक्ति पक्राउ परेका हुन् । दुवै जना बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । दुवैको घर परिवारबारे प्रहरी कुनै खबर पाउन सकेको छैन। घटनास्थल आसपास बस्ने व्यक्तिलाई पनि उनीहरुको हुलियामा थाहा थियो । घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगिएको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको थियो । प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको थियो । हाल शवको पोष्टमार्टमपछि रिपोर्ट आउने प्रक्रियामा छ । अभियुक्त भन्छन्– उसैले हानेको हो पक्राउ परेका युवकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छन् । ‘उसले आफैंले सिसाले हानेको हो’, अभियुक्तको बयानलाई उदृत गर्दै अनुसन्धान अधिकारी भन्छन्, ‘मैले पनि त्यो देखेको हुँ ।’ तर, मानसिकरुपमा ठीक नभएकाले प्रहरी उनको बयानलाई आधार मान्न सक्दैन । ‘मानसिक सन्तुलन गुमेको व्यक्तिको बयान अदालतले पनि मान्दैन’, अनुसन्धान अधिकारी भन्छन्, ‘के गर्ने अन्यौलमा छौं । विज्ञसँग परामर्श गर्छौं ।’ स्थानीयले भने उनीहरु दुईबीच वेलावेला झगडा हुने गरेको प्रहरीलाई बताएका थिए । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए । कुकुरको संकेत अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेको थिएन । स्रोतका अनुसार घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेको थिएन । त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो । यद्यपि, प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान जारी राखेको प्रहरीको भनाइ थियो । अनलाइनखबरबाट
सोमबारदेखि मिथिलाञ्चलमा चैतीछठ सुरु
वीरगञ्ज, चैत २५ । मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि सुरु हुने चैतीछठ सोमबारदेखि विधिवतरूपमा सुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको सोमबार पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ। सो दिनलाई नहाय खाय भनिन्छ। चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ। सो दिनलाई पारन भनिन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैतीछठ सम्पन्न गरिने परम्परा रहेको छ । चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई अरवा अरवाइन भन्ने गरिन्छ । व्रती महिलाबाट सो दिन भोजनमा माछामासु, लसुनप्याज, कोदो, मसुरोजस्ता वस्तुहरु परित्याग गरी यसै दिनदेखि व्रत बस्न सुरु गरिन्छ । पर्वको दोस्रो दिन अर्थात् चतुर्थीको दिनलाई खरना अर्थात् पापको क्षयको रूपमा लिइन्छ । गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारेको झोलले भूमि सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सो खीर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। यस दिनदेखि व्रती महिला पूर्णव्रत लिनुपर्ने परम्परा रहेको व्रती महिला सुधा कर्णको भनाइ छ। व्रतको तेस्रो दिन पञ्चमी तिथिका दिन गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट बनेको पिठोबाट विभिन्न प्रकारको प्रसाद बनाइन्छ। सोही दिन विभिन्न प्रकारको प्रसादसहित नजिकको पोखरी, तलाउमा गएर सूर्य देवतालाई सन्ध्या अर्घ्य दिइन्छ। भोलिपल्ट पर्वको अन्तिम दिनलाई पारन भन्ने गरिन्छ। षष्ठीको दिन एकाबिहानै सूर्य देवतालाई बिहानीको अर्घ्य दिएर यो पर्व सम्पन्न गरिन्छ । महाभारतअनुसार द्रौपदीसहित पाण्डव गुप्तबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको पाइन्छ । त्यस्तै सूर्य पुराणअनुसार अनसूयाले छठव्रत बस्दा उनको अटल शौभाग्य र मनोकांक्षा पूरा भएपछि छठपर्व गर्ने परम्परा शुरु भएको मान्यता रहिआएको छ। शाम्ब पुराणअनुसार आफ्नै पिता भगवान् कृष्ण तथा महर्षि दुर्वासा ऋषिको सरापबाट कुष्ठरोगपीडित शाम्बले सूर्यको आराधना गरेपछि सो रोगबाट मुक्त भएको भनाइ रहेको छ । भनिन्छ, सातौं शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासना गरेपछि मुक्ति पाएका थिए । छठपर्व मनाउनुको पछाडि वैज्ञानिक र ज्योतिष मान्यता रहिआएको छ। यो पर्व गर्दा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । मिथिला क्षेत्रमा यो पर्वको तयारी एक महीना पहिलेदेखि गर्न थालिन्छ। पहिले–पहिले चैतीछठ मानिसले नगण्यमात्रामा मनाउने गर्दथे तर पछिल्ला वर्षमा चैतीछठ गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। रासस
प्रमुख रेणु दाहालद्वारा चितवन मेडिकल कलेजको आयोजनामा फर्टिलिटी सेन्टर शुभारम्भ
भरतपुर, चैत २५ । चितवन मेडिकल कलेजको आयोजनामा फर्टिलिटी सेन्टरको शुभारम्भ तथा भरतपुर महानगरपालिकाको आग्रहमा भरतपुर नगरपालिकाका प्रमुख रेणु दाहालले गरेकी छिन् । उक्त अस्पतालमा उपचार गर्न आउने महिलाहरूलाई प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवातर्फ ओपिडी सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरेका छन् । महानगरको तर्फबाट हार्दिक धन्यवाद दिनुका साथै महानगरभित्रका अन्य अस्पतालहरूलाई पनि यस्ता सेवाहरू प्रवाह गर्न हार्दिक अनुरोध छ।

