सल्यानमा भीषण आगलागी, निभाउन गएका ३ जनाको मृत्यु

सल्यान, वैशाख ३१ । गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ ।

जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका–६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी–६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी–७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका–१ मा चार घर जलेर नष्ट भएका छन् ।

जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताए ।

आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शारदा–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए ।

‘जिल्लाका विभिन्न स्थानमा आगो लागेपछि वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन्, हावाहुरी र सल्लाका रुख बढी भएकाले आगो नियन्त्रण गर्न गाह्रो भएको छ’, उनले भने । हालसम्म आगोले जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको बताइएको छ ।

विप्लवका रुकुम पूर्व इन्चार्ज नकाल पक्राउ

रुकुमपूर्व, वैशाख ३१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् । उनी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ गरायला मुलपानीबाट पक्राउ परेका हुन् । सानीभेरी गाउँपालिका –३ गरायला र सिम्ली लगायतका स्थनमा प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ता लुकीछिपि बसेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । पक्राउ परेका नकाल तत्कालीन जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डर हुन् । नियन्त्रणमा लिने क्रममा नकालले प्रहरीलाई अश्लिल गालीगलौज तथा हातपात गरेको प्रहरीको दाबी छ । नकाललाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुई बसमा आगलागी, जलेर पूर्णरुपमा क्षति

बाँके, वैशाख ३१ । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको र सोही बस नजिकै रोकिराखेको अर्को ना ४ ख ७०२४ नम्बरको बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । बसमा आगलागी भएलगत्तै स्थानीयवासीले नेपालगञ्जस्थित बारुणयन्त्रलाई खबर गरेका थिए । खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले १२ बजे आगो नियन्त्रणमा लिएका थिए । केही ढिलो पुगेका कारण दुवै बस पूर्णरुपमा जलेको स्थानीयवासीको भनाइ छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने नखुलेको स्थानीय वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।

प्रधानमन्त्री ओली र कम्बोडियाली कार्यवाहक राष्ट्र प्रमुखबीच भेट, के विषयमा भयाे छलफल?

कम्बोडिया, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन् । उनले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोकेका हुन् । थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उनीहरुबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । भियतनामको पाँचदिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा छन् । कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीलगायत थिए ।

कांग्रेसको गाउँपालिका स्तरीय जागरण अभियान सुरु

सिमकोट, वैशाख ३१ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय अभियान सिमकोट गाउँपालिकाबाट सुरु भएको छ । पार्टी कार्यालय काली चोकबाट नारा सहितको र्यालीले सिमकोट बजारमा परिक्रमा गरी बिपी स्मृति भवनमा आएर कार्यक्रममा परिणत भएको थियो । साविकको सिमकोट गाउँ विकास समितिका पार्टी सभापति अकिल बहादुर शाहीको अध्यक्षता र जागरण अभियानका केन्द्रीय प्रतिनिधि हस्त बहादुर मल्लको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको जागरण अभियानका मञ्चको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले जागरण अभियानलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका थिए । यस्तै, वक्ताहरुले वर्तमान सरकारले जनताले दिएको म्याण्डेट अनसार काम गर्न नसकेको आरोप लगाएका थिए । कार्यक्रम केन्द्रीय प्रतिनिधि मल्ल, काँग्रेस सभापति जयपति रोकाया लगाएतका वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । काँग्रेसको उक्त जागरण अभियान जेठ २ गते खार्पुनाथ, ७ गते सर्केगार्ड र १० गते चंखेली गाउँपालिका संचालन हुने भएको छ । गत वैशाख २५ बाट जिल्लामा सुरु भएको अभियानमा कार्यक्रम बारे भातृ तथा शुभेच्छुकसंग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।

कांग्रेस उपसभापति भन्छन्, ‘सरकारले प्रेसलाई मिडिया काउन्सिल मार्फत मन्त्रालयको शाखा बनाउन खोज्दैछ’

जनकपुरधाम, वैशाख ३१ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतलाई मन्त्रालयको शाखाको रुपमा परिणत गर्ने कुचेष्टा गरिरहेको आरोप लगाएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा निधिले सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धि ऐन मार्फत प्रेस जगतको स्वतन्त्रता माथि नै आक्रमण गर्दै सूचना तथा सञ्चार मन्त्रालयको शाखा बनाउन चाहेको आरोप लगाएका हुन् । मंगलबार बिहान नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु संग कुरा गर्दै कांग्रेस उपसभापति निधिले प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्रमाथिको आक्रमण भएकोले तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन माग गरे । पत्रकारहरुलाई मर्यादित बनाउनका लागि प्रेस काउन्सिल रहेकै अवस्थामा मिडिया काउन्सिल सम्बन्धि ऐनको कुनै आवश्यक्ता नरहेको उनको भनाई थियो । उनले भने‘ पत्रकारहरुको प्रतिनिधिसंग छलफल गरेर प्रेस काउन्सिललाई अझै मर्यादित, अझै स्वतन्त्र बनाउन सकिने गरी संशोधन गर्न सकिने छ ।’ तर प्रेसको स्वतन्त्रता माथि आक्रमण नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताए । प्रेस यूनियन धनुषाको अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति निधिले मिडिया काउन्सिल सम्बन्धि विधेयकमा पत्रकारलाई एक करोडसम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले नै सरकार अधिनायकवादको बाटोमा हिडिरहेको स्पष्ट भईसकेको बताए । निधिले सरकारले संचार जगतसंगै सम्बन्धित विज्ञापन सम्बन्धि ऐन, सूचना प्रविधि सम्बन्धि ऐन, सार्वजनिक प्रसारण सम्बन्धि ऐन समेत ल्याउन लागेको जानकारी गराए ।

कैदीको संख्या बढ्दै गएपछि भरतपुर कारागार सार्न ठाउँ खोजिँदै

चितवन, वैशाख ३१ । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोको लागि जग्गा खोजी कार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दी छन् । बस्नेतले चार–पाँच बिघा जमीन खोजी भइरहेको बताए । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन रहेको छ । भरतपुर महानगरपालिकासँग समन्वय गरेर जग्गाको खोजीकार्य भइरहेको उनले बताए । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको उनले बताए। टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले शहरी क्षेत्रमा नै जग्गा खोजी गरिएको उनले बताए । जग्गाको पहिचानपछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार रहेको भन्दै उनले जग्गा खोजीको कामलाई तीव्रता दिइएको बताए । चालू आवमा जग्गाको पहिचान गरी आउँदा आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ । कारागारमा धेरै गैँडासम्बन्धी मुद्दाका कैदीबन्दी छन् भने अन्य जिल्लामा रहेका बिरामी कैदीबन्दीको रोजाइ पनि चितवन हुने हुँदा यो सङ्ख्या बढ्दो छ । यससँगै पूर्वी नवलपरासीमा जिल्ला अदालत भएपनि कारगार नभएकाले त्यसको दवाब यहाँको कारागारले थेग्नुपरेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए । यहाँको कारागारमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ । विसं २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ १५३ कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दी पठाउने गरिएको काफ्लेले बताए ।

एक लाख बेरोजगारलाई ३० दिनको रोजगारी, स्थानीय तहलाई सवा २ अर्ब अनुदान

काठमाडौं, वैशाख ३१ । सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसकेका छन् । यो रकमबाट स्थानीय तहले आउँदो दुई महिनाभित्र स्थानीय तहमा सूचीकृत एक लाख ६ हजार आठ सय ७२ बेरोजगारलाई ३० दिनको रोजगारी दिनुपर्नेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले बेरोजगारलाई न्यूनतम रोजगारीको ग्यारेन्टी गर्ने र त्यसो गर्न नसके निर्वाह भत्ता वितरण गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको थियो । तर, बेरोजगारको सूची संकलनमा भएको ढिलाइका कारण यो आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारी दिन सम्भव भएन । त्यसैले बेरोजगारलाई ज्यालादारीमा एक महिनाको रोजगारी उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहलाई अनुदान वितरण गरेको हो । यो कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि ल्याइएको कार्यविधि २२ वैशाखमा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । बेरोजगारलाई न्यूनतम रोजगारी प्रत्याभूत गर्न तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले यो योजना अघि बढाइएको कार्यविधिमा उल्लेख छ । जसअनुसार स्थानीय तहले एउटा आयोजनामा बढीमा पाँच लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन् । श्रमिक समूहमार्फत सञ्चालन गरिने आयोजनामा बढीमा एक लाख रुपैयाँसम्मको ज्यालाबापतको रकम आयोजनाको डिजाइन र करारविनै उपलब्ध गराउन सक्नेछन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नतिजा प्रकाशनमा अनियमितता गरेको भन्दै त्रिवि सेवा आयोगमा वैद्य–विप्लवका विद्यार्थी संगठनद्वारा तालाबन्दी

काठमाडौं, वैशाख ३० । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै विद्यार्थी संकगठनले दालाबन्दी गरेका छन् । नेत्र विक्रम चन्द विप्लव र मोहन वैद्य किरणको पार्टी निकट विद्यार्थी संगठनले सोमबारआयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालबन्दी गरेका हुन् । नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले संयुक्त रूपमा तालाबन्दी गरको वैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष संघर्ष दाहालले जानकारी दिए। हालै प्रकाशित गरिएको नतिजा खारेज गर्नुपर्ने, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने माग रहेको दाहालले जनाए। उनले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि जानकारी दिए। कार्यालयमा उतीर्ण भएकाहरूको अन्तवार्ता हुँदैगर्दा अखिल क्रान्तिकारीका नेताहरू दाहाल, कुमार बर्तौला र शुलभ वैद्यले तालाबन्दी गरेका हुन्।

खोटाङमा हावाहुरी र वर्षासँगै चट्याङको कारण ८ जना घाइते

खोटाङ, वैशाख ३० । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा ८ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।

शक्तिपीठ सर्किट निर्माण मार्फत धार्मिक पर्यटनमा क्रान्ति ल्याउन अध्यक्ष प्रचण्डको जोड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा जोड दिएका छन्। सीता जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्तिपीठहरुलाई जोडेर धार्मिक पर्यटन सर्किट बनाउन जोड दिएका हुन । “पशुपतिनाथदेखि लुम्बिनी र जनकपुर सर्किट तथा पूर्वको पाथिभरादेखि पश्चिमको बडिमालिकासम्म धार्मिक सर्किट बनाउनु जरुरी छ ।” अध्यक्षले भने, “भारत र नेपालका पनि मुख्य शक्तिपीठहरुको सर्किट बनाउन सकेमा यो क्षेत्रमा क्रान्ति नै आउँछ ।” अध्यक्ष प्रचण्डले सीता र जनकको सम्बन्ध नेपाल र भारतसँग मात्रै नभएर दक्षिण पूर्वी एशियाका देशहरुमा समेत रहेको बताउँदै सीता जयन्तीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मनाउनुपर्ने समेत बताए । थाइल्याण्डको राजपरिवारले आफूलाई जनककै वंशज भएको बताउने स्मरण गर्दै प्रचण्डले यसमार्फत दुई देशको पर्यटनलाई अन्तर्सम्बन्धित गर्न सकिने समेत बताए । दोश्रोपटक प्रधानमन्त्री भएको बेला चीन र भारतका राष्ट्रपतिसँग गोवामा भेट हुँदा तीनैदेशलाई धार्मिक पर्यटनमार्फत जोडने प्रस्ताव राखेको बताउँदै अध्यक्षले इतिहास र संस्कृतिको बिरासतले यो सम्भव भएको समेत बताए । दुबै देशका प्रमुखहरुले ज्ञान, संस्कृति र कलाको इतिहासलाई जोडनुपर्ने विषयमा निकै सकारात्मक भनाई राखेको बताउँदै अध्यक्षले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण, रामायण सर्किटको घोषणा तथा अयोध्या बस सेवा त्यसकै निरन्तरता भएको समेत बताए । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले धार्मिकरुपमा सबै धर्म बराबर भएको टिप्पणी गरे । अध्यात्मिक चिन्तनभित्र कतिपय वैज्ञानिक पक्ष रहेको बताउँदै उनले वैज्ञानिक तथ्यहरुलाई धर्म या पन्थको जलप लगाउने काम विगतमा भएपनि अब त्यसो गरिराख्नु नपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सीता बीना राम र रामबिना सीताको कल्पना गर्न नसकिने भएपनि सीतालाई राम जत्तिकै महत्व नदिएको टिप्पणी गरे । सीताको भूमिका कम्ति नभएको उनको भनाई थियो । पितृसत्तात्मक चिन्तनले गर्दा रामनवमी भव्यताका साथ मनाईने तर सीता जयन्तीलाई त्यसरी नै मनाउने काम नभएको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले सीतालाई धार्मिक अर्थमा मात्रै नलिएर यसको ऐतिहासिक र ज्ञानको बिरासतको महत्व बुझेर अघि बढनुपर्नेमा जोड दिए ।

वाङ्ममय शताब्दी पुरुष जोशीको जन्मदिनको अवसरमा ललितपुरमा सार्वजनिक बिदा

काठमाडौं, बैशाख ३० । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचना मार्फत जानकारी गराइएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए । पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । गतवर्ष नै ललितपुर महानगरपालिकाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो । यसैबीच ललितपुर महानगरपालिकाले सोमबार शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताब्दीका अवसरमा विशेष कार्यक्रमको आयोजना पनि गरेको छ ।

प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ५ दिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते यहाँ आएका थिए । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्रीका साथ उनका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

सांसद भट्ट भन्छन्, ‘प्रेस स्वतन्त्रामाथि सरकारले नियन्त्रण गर्न खोजे अन्तरपार्टी संघर्ष गर्छौं’

धनगढी, वैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले सरकारले प्रेस स्वतन्त्रामाथि अंकुश लगाउने प्रयास नगरेको स्पष्ट पारेका छन् । आइतबार प्रेस क्लबले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले भने, ‘सरकारले प्रेसका नाममा भइरहेका विकृति, विसंगतिलाई नियमन गर्न र प्रेस स्वतन्त्रतालाई थप व्यवस्थित गर्ने प्रयास गरेको छ । यो विधेयकले सञ्चारमाध्यमलाई थप जिम्मेवार बनाउने छ ।’ पूर्वमन्त्रीसमेत रहेका भट्टले सरकारले प्रेस स्वतन्तामाथि अंकुश लगाउने प्रयासले विधेयक ल्याउन नखोजेको बताए । उनले भने, ‘यदि प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने उद्देश्य हो भने हामी अन्तरपार्टी संघर्ष गर्ने छौं ।’ सांसद भट्टले सञ्चारकर्मीलाई अझ विवेकशील, अध्ययनशील, लगनशील, संवेदनशील भएर काम गर्न आग्रह गर्दै भने, ‘तपाईहरु आफनो कामप्रति र आचारसंहिताप्रति कतिको संवेदनशील हुनुहुन्छ समीक्षा गर्नुहोस् ।’ पूर्वमन्त्री भट्टले विकासका कामहरु पश्चिमबाट शुरु गर्नुपर्ने बताए । उनले राष्ट्रिय योजनाका विषयहरुलाई पनि प्राथमिकताका साथ अगाडि बढाउन दबाब दिइरहेको बताए । उनले सुदूरपश्चिममा राष्ट्रिय गौरवका योजनालाई आगामी आर्थिक वर्ष ०७६÷७७ को बजेटले सम्बोधन गर्नुपर्ने माग गरे । उनले भने, ‘दिपायल फास्ट ट्रयाक, उरेभन्जयांगको बाटो खोल्न बजेटले सम्बोधन गर्न आवश्यक रहेको छ । यस्तै, पश्चिम सेती, सुख्खा बन्दरगाह, सेती लोकमार्ग सञ्चालनका लागि पनि संघीय सरकार गम्भिर हुनुपर्छ ।’

नातेदार उत्तीर्ण गराएको भन्दै त्रिवि सेवा आयोग तोडफोड, आयोगका अध्यक्षको कुर्सी जलाइयो

काठमाडौं, वैशाख २९ । त्रिुभवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोग कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । खुला प्रतिस्पर्धा परीक्षामा नातेदारलाई पास गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले आयोग कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरूले आयोग अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन्। घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरु नेविसंघ र नयाँ शक्ति आवद्ध विद्यार्थी रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा आयोग अध्यक्ष, त्रिविकै उच्च अधिकारी, विद्यार्थी संगठनका नेता र पार्टीका नेताका नातेदारहरुको नाम निस्किएपछि अन्यले बिरोध जनाएका हुन्। नतिजा वैशाख १३ मा सार्वजनिक भएको थियो। अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखा प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरूको नाम लिखित परीक्षामा निस्किएको छ। लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत यसबारे उजुरी परेको छ।

भियतनाममा प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आइतबार आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिए । ‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीनदिने सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताए । आइसिडिभीका संस्थापक अध्यक्ष तथा आइएबीयुका अध्यक्ष प्रा। डा। फ्रा ब्रमापण्डितले अन्तर्राष्ट्रियस्तरमा समाजमा शान्ति र समन्वयको सन्देश दिने सो कार्यक्रमको महत्वमा प्रकाश पारे । म्यानमाका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मका शिक्षा तथा दैनिक जीवनका यसको उपयोगका विषयमा चर्चा गरे । कार्यक्रममा प्रमुख वक्ता भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागु गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताए । उनले मानवता तथा भाइचारामा गहन समर्पण नगरेसम्म शान्ति प्राप्त गर्न नसकिने पनि स्पष्ट गरे । उनले बुद्धले आफ्नो उपदेशमा भनेका मध्यममार्ग अवलम्बन गरी प्राप्त गरिने प्रज्ञा, निर्वाण तथा चीर शान्तिका विषयमा प्रकाश पारे । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सो कार्यक्रमको सफलताको सन्देश पठाउँदै विश्वमा शान्ति र दिगो समाजका लागि शुभकामना व्यक्त गरेको पत्र पढेर सुनाइएको थियो । भियतनामले वैशाख दिवस बनाएको यो तेस्रो पटक हो । यसअघि सो मुलुकले सन् २००८–२०१४ मा यस्तै कार्यक्रम आयोजना गरेको थियो । विश्वका ११२ मुलुकबाट करीब १० हजार प्रतिनिधिले सो कार्यक्रममा भाग लिइरहेका छन् । रासस