त्रिशुली नदीमा बस खस्यो, ३ जनाको मृत्यु

काठमाडौं, जेठ ५ । धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा ३ यात्रुको मृत्यु भइसकेको छ ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दानाको बोरामा १२० किलो गाँजा, २ जना पक्राउ

मकवानपुर, जेठ ४ । मकवानपुर प्रहीले एक सय २० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । चितवनबाट हेटौडतर्फ जाँदै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकमा कुखुराको दाना हाल्ने बोरामा लुकाएर राखिएको गाँजा प्रहरीले बरामद गरेको हो । गाँजा बोक्ने ट्रकका चालक २८ वर्षीय सुकुलाल थिङ र सोही ट्रकमा सवार नमराज दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सूचना पाएर ट्रकलाई नवलपुर खण्डमा जाँच गर्दा गाँजा फेला परेको हो । मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले आवश्यक अनुसन्धान भइरहेको बताए ।

भारतीय टोलीद्वारा बाँकेकाे प्रहरी चौकीमा आक्रमणको प्रयास, ६५ राउण्ड हवाई फायर

काठमाडौं, जेठ ४ । बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि सो क्षेत्र तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउण्ड हवाई फायर गर्नु परेको छ । पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो । सो समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको छ । डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो । चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीले हवाई फायर गरेपछि सो समूह तितरवितर भएको थियो । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । यद्यपि थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।

‘देशमा दिगो शान्ति र सुदृढ एकता अपरिहार्य छ’

काठमाडौं, जेठ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न देशमा दिगो शान्ति र सुदृढ एकता प्रमुख शर्त भएको बताएकी छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा उनले दिएको शुभकामनामा यस्तो व्यक्त गरिएको हो । विश्वभर छरिएर रहेका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सबै समुदायमा शुभकामना दिँदैराष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न सबैसँग हार्दिक आह्वान पनि गरेकी छन् । शुभकामनामा भनिएको छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’ राष्ट्रपतिले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवम् शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको यस दिनले सबैमा आपसी सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

सडक अवरुद्ध भए अब १० मिनेटमै खुलाइने

काठमाडौं, जेठ ४ । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र खुलाउने योजना सरकारले ल्याएको जानकारी दिए ।  उनले भने, ‘समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ का रुपमा रहेका राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ, तै पनि यदि कुनै कारणले अवरुद्ध भएको अवस्थामा दश मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।’  उनले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा ल्याएको जानकारी समेत दिए ।  आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विनाअवरोध सहज रुपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।  निहित स्वार्थका लागि गरिने बन्द–हडतालका साथै प्राकृतिक विपद्का कारण समेत सडक अवरुद्ध भएको अवस्थामा पनि दश मिनेटभित्र अवरोध खुलाउने गरी उक्त कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले बताए । सो कार्यविधि मुलुकभरिका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत उनले दिए ।  कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रका प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने प्रस्ट पार्दै प्रवक्ता सुवेदीले कार्यविधिमा अवरुद्ध हटाउने प्रक्रियाका साथै राजमार्ग र सडकलाई थप सुरक्षित बनाउने, कुनै दुर्घटना भएको अवस्थामा शीघ्र उद्धार गर्नसक्ने लगायतका व्यवस्था गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

‘स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ’

काठमाडौं, जेठ ३ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताएका छन् । नेपाल कुष्ठरोग निवारण संघको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुने बताए । कुष्ठ प्रभावितको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २०२६ जेठ २२ गते सङ्घको स्थापना भएको थियो । उपराष्ट्रपति पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सरकारलाई सचेत बन्न आग्रह गर्दै अझै पनि ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा नपाइरहेको अवस्था रहेको बताए । उनले भने, ‘कुष्ठरोग औषधिले पूर्णतया निको हुने रोग हो भन्ने कुरालाई गाउँ तहसम्म पुर्‍याउन आवश्यक छ । जनचेतनाले मात्र कुष्ठरोग प्रभावितलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।’ कुष्ठरोग निवारणको घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी भएको चर्चा गर्दै उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनर्स्थापनाको पहुँचमा ल्याउन जोड दिए । सो अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा सञ्चालित खोकना आरोग्य आश्रममा ६५ वर्षदेखि रहेका कुष्ठ प्रभावित लेखी तामाङ, मनमती देवकोटा र कान्छा आलेबुढालाई सम्मान गरेका थिए । उपराष्ट्रपति पुनले सङ्घका पूर्वअध्यक्षद्वय डा. गौरीशङ्करलाल दास र लक्ष्मीदास मानन्धर, उपाध्यक्ष डा. खगेन्द्र श्रेष्ठ, पोखरा, धनगढी तथा नेपालगञ्ज शाखाका पूर्वअध्यक्ष क्रमशः डा. कुमारशम्शेर राणा, दीव्यप्रसाद पन्त, डा. जी राज शाक्य तथा मारवाडी सेवा समितिका अध्यक्ष श्रवणकुमार अग्रवाललाई पनि सम्मान गरेका थिए । सङ्घले दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा कुष्ठ प्रभावितको लालनपालन गर्नाका साथै धरान, पोखरा, नेपालगञ्ज र धनगढी शाखा स्थापना गरी सचेतना र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घले हालसम्म १८० घर निर्माण गरी २५८ कुष्ठ प्रभावितलाई सामाजिक पुनर्स्थापना गराएको छ । यसैगरी सङ्घले काठमाडौँको मण्डिखाटारमा स्थापित छात्ररछात्रावासमा कुष्ठ प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गत आवमा तीन हजार २०० कुष्ठरोगी पहिचान भई उपचारमा आएका थिए । कुष्ठरोगीको निःशुल्क उपचार हुने गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुष्ठरोगका कारण ३१ हजार अपाङ्गसमेत हुन पुगेका थिए । सङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले कुष्ठरोग पहिलेजस्तो दूराग्रह, भयग्रस्त र जीवन नै सकिने अवस्थामा नरहेको चर्चा गर्दै कुष्ठरोग निको भइसकेकालाई समुदायमा पुनर्स्थापना गराउन सबैले सहयोग गर्नुपर्छ भने । कुष्ठ प्रभावित प्रीमा घर्ती मगरले आफ्ना हजुरबुबा, बुबा कुष्ठरोगी भएकै कारण रोल्पामा ओढारमा बस्नु परेको पीडा सुनाउँदै अझै पनि समाजले कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति दश लाख जनसङ्ख्यामा एक जनाभन्दा कम भएमा निवारण भन्ने गरिन्छ । रासस

सार्वजनिक भए बम्जन, आश्रममा आशिर्वाद लिने भक्तजको भिड

सिन्धुली, जेठ ३ । आनीहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायतका आरोप लागेका रामबहादुर बम्जन शुक्रबार सार्वजनिक भएका छन् । आफ्नै आश्रम रहेको सिन्धुलीमाको कनपा ५ को पैरेमा बिहान १० बजेदेखि उनले आफ्ना भक्तजनहरुलाई सार्वजनिक रुपमै आशिर्वाद दिइरहेका छन् । उनको आशिर्वाद लिन भक्तजनहरुको भिड लागेको छ । महिला, बालबालिका, युवा, जेष्ठ नागरिक लगाएतले तातो घाममा लाइन लागेर आशिर्वाद लिइरहेका छन् । बम्जनले भक्तजनको भिड नसकिएसम्म निरन्तर आशिर्वाद दिइरहने बोधि मार्गदर्शन मैत्री धर्म संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङले बताए । बोधि मार्गदर्शन मैत्री धर्मको १४ औं महामैत्री दिवसको समापनको अवसरमा उनले भक्तजनलाई दर्शन दिएका हुन् ।

गान्धीहत्यामा केन्द्रीय मन्त्री लगायतले दिएको बयानले विवादमा बीजेपी

काठमाडौँ, जेठ ३ । केही नेताहरूले भारतका राष्ट्रपिता मानिएका महात्मा गान्धीको हत्याबारे विवादास्पद बयान दिएको भारतीय सत्ताधारी दल बीजेपी विवादमा तानिएको छ । केही समयअघि बीजेपी नेत्री साध्वी प्रज्ञा ठाकुरले नाथुराम गोड्से देशभक्त रहेको र सधैं रहिराख्ने बयान दिएकी थिइन् । भोपाल निर्वाचन क्षेत्रबाट संघीय संसदकी उम्मेदवार उनी बीजेपीको तर्फबाट संसदकी सशक्त उम्मेदवार मानिन्छिन् । उग्र राष्ट्रवादी विचारधारा बोकेका नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । ठाकुरका अतिरिक्त बीजेपीका अन्य तीन प्रभावशाली नेता मध्यप्रदेश पार्टी प्रवक्ता अनिल सौमित्र, केन्द्रिय मन्त्री अनंत कुमार हेगड़े, र नलिन कटीलले समेत महात्मा गान्धीको हत्या जायज भएको आशयको बयान दिएका छन् । मध्यप्रदेशका बीजेपी प्रवक्ता अनिल सौमित्रले गान्धीलाई पाकिस्तानका राष्ट्रपिता बताएका थिए । बीजेपी पंक्तिबाट गान्धीहत्या जायज भएको आशयका बयान आउन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले एउटा अन्तर्वार्ताको क्रममा महात्मा गान्धीको अपमान गर्ने सोच घृणा र अपमान लायक रहेको बयान दिएका छन् । बीजेपी अध्यक्ष अमित शाहले समेत ट्वीट गर्दै त्यो विचार उनीहरूको निजि विचार रहेको र त्यससँग पार्टीको कुनै सरोकार नरहेको बताएका छन् । उनले यसबारे छानबिन गर्न अनुशासन समितिलाई भनिएको र १० दिनभित्र यसबारे प्रतिवेदन पेश हुने बताए ।

हेलिकोप्टरमै मृत शिशुको जन्म

रुकुम, जेठ ३ । रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मल्लको अहिले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ । मल्ललाई सेनाको हेलिकप्टरमार्फत भेरी अञ्चल अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले बताए । सुत्केरी व्यथा लागेको उहाँलाई वैशाख ३० गते मङ्गलबार स्वास्थ्यचौकी रिवाङचौरमा भर्ना गरिएको थियो । तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि बिहीबार मात्र जिल्ला प्रशासन कार्यालयमा यो कुरा जानकारी हुनआएको र तुरुन्तै हेलिकप्टर बोलाई सुत्केरीको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी साहले बताए ।

सगरमाथा र मकालुमा २ आरोहीको ज्यान गयो, एकजना बेपत्ता

काठमाडौं, जेठ ३ । सगरमाथा र मकालु हिमाल आरोहण सकेर फर्किँने क्रममा दुई भारतीय नागरिकको बाटोमा ज्यान गएको छ । थप एकजना बेपत्ता भएका छन् । बिहीबार दिउँसो आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । ‘उनी त्यहाँ सुतेको सुत्यै भए,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले भने, ‘अक्सिजन अभावले उनको मृत्यु भएको खबर आएको छ । सैनिक ठाकुर सेभेन समिटको व्यवस्थापनमा आरोहणमा गएका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने बताइएको छ । यसैबीच यही कम्पनीको व्यवस्थापनमा संखुवासभामा रहेको मकालु हिमाल आरोहण सकेर फर्किँदै गर्दा अर्का भारतीय सैनिक नारायण सि‌ंहको पनि ज्यान गएको अध्यक्ष शेर्पाले बताए । ८४८१ मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकात्ता घर भएका दिपंकर घोष हराइरहेका छन् । बिहीबार साँझ आरोहण सकेर फर्कनेक्रममा उनी हराएका थिए ।

धादिङ केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, जेठ ३ । धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५.० म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिउँसो २ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौंलगायतका आसपासका क्षेत्रमा पनि महसुस भएको केन्द्रले जनाएको छ । यो भूकम्प २०७२ सालको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

सुन र नगद चोर्ने प्रधानाध्यापक पक्राउ

मेलम्ची, जेठ ३ । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो तीन बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताए । सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै नियन्त्रणमा लिएको घलेको भनाइ छ । आफ्नो औँठी लगाएको देखेपछि सुन चोरेको रहस्य खुलेको थियो । स्थानीयवासीको सहयोगमा चोरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो । अभियुक्त जोशी पटकपटक विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिकाका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । जोशी कहिले स्कूल जाने त कहिले नजाने गरी काम गर्दै आएको र स्कूल जाँदा पनि मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेको भनाई छ । जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

नेपाल–भारतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द

नवलपरासी, जेठ ३ । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ । भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको सीमावर्ती नाका ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाका बन्द हुने छन् । प्रशासनद्वारा जारी सूचनामा आज राति १२ बजेबाट बन्द हुने नाका जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ । भारतको उत्तर प्रदेशमा जेठ ५ गते निर्वाचन हुँदैछ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको छ । यतिबेला पश्चिम नवलपरासीको सिमाना ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान

काठमाडौं, जेठ ३ । महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाडे । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उनले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताए । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको उनको अनुभव छ । पारिश्रमिकका हिसाबले सन्तोषजनक भए पनि यातायातको साधन नपाउँदा जागिर छाड्नुपर्दा उनी दुःखी छन् । उनले भने, ‘रातको समयमा नचिनेको मान्छेको साधनमा हिँड्न आफैंलाई पनि सुरक्षित महसुस हुँदैन र परिवारलाई पनि सधैँ चिन्ता हुन्छ ।’ कार्यालयमा साँझसम्म काम गर्दा यातायातका साधन नपाएर दैनिक हैरान भइरहेको भक्तपुर ताथलीकी सुनिता दुलालले सुनाए । बागबजारस्थित एउटा निजी संस्थामा कार्यरत उनी कार्यालयबाट दैनिक साँझ ६ बजे निस्कँछन् । कार्यालयमा काम गरिरहँदा दिउँसो नै घर कसरी फर्कने भन्ने चिन्ता हुने गरेको उनले बताए । कहिलेकाहीँ बस तोकिएको समयभन्दा पहिले नै गइसक्दा उनी हैरान हुन्छन् । रातको समयमा बस नपाउँदा उहाँ बीच बाटोसम्मको बसमा जाने र त्यसपछि परिवारका सदस्यलाई लिन बोलाउँछन् । उनले भने, “हामी शहरी क्षेत्रबाट केही टाढा घर भएकालाई साँझमा गाडी नपाउँदा काम गर्न साह्रै गाह्रो छ ।” काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन नहुँदा यात्रु हैरान छन् । उपत्यकाका शहरी क्षेत्रमा भन्दा पनि काँठ (काठमाडौँ आसपासका ग्रामीण क्षेत्र)मा जाने बस साँझ परेपछि चल्दैनन् । उपत्यकामा सार्वजनिक सवारीसाधन अपराह्न (कार्यालय छुट्ने समय) पछि पातलो हुँदै जाने र ६–७बजेपछि ठप्प नै हुने गरेको पाइन्छ । कतिपयले रातको समयमा सवारीसाधन नचल्ने कारणले गरिरहेको कामसमेत छाड्न बाध्य छन् । दिउँसो विद्यालयमा पढाउँदै आएका ललितपुर बाँडेगाउँका अमन कार्की केही समय पहिलेसम्म साँझमा दुई ठाउँमा ट्युसन पढाउँदथ्यो । घर फर्कनका लागि सवारीसाधन नपाएर पटकपटक समस्या भएपछि अहिले उनले एउटा ठाउँमा मात्रै पढाउने गरेका छन् । काठमाडौँको महङ्गीका कारण अतिरिक्त काम गर्नुपर्ने बाध्यता भएको उनले बताए । अहिले उनी मोटरसाइकल सिकेर पनि थप काम गर्ने सोचाइमा छन् । मोटरसाइकल किन्ने रहर नभएपनि बाध्यता बनेको उनले बताए । “आफ्नो साधन नहुँदा सार्वजनिक यातायात चढेर १० देखि पाँच बजेसम्म काम गर्न मात्रै ठिक्क हुन्छ”, उनले भने, “कि त अतिरिक्त काम नगर्ने कि आफूले साधन किन्नुपर्ने बाध्यता छ ।” यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले अहिले काठमाडौँ उपत्यकाभित्रै चल्ने रात्रिबस नभएको र तत्काल चलाउन कुनै योजना पनि नभएको जानकारी दिए । होटल रेष्टुरेन्टलगायतका रातिसम्म सेवा दिनुपर्ने ठाउँमा काम गर्नेका लागि रात्रिकालीन यातायात आवश्यक भएको उनको जोड छ । रात्रिबस सञ्चालन सङ्घीय सरकारले मात्रै नभएर स्थानीय सरकारले समेत गर्नसक्ने उनले बताए । उनले भने, “स्थानीय सरकारले पनि आपसमा समन्वय गरेर रात्रिकालीन सवारीसाधन सञ्चालन गर्न सक्छ ।” राति अबेर मात्रै नभएर काठमाडौँवासीले साँझदेखि नै सार्वजनिक यातायात सजिलै नपाउने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । साँझ ५–६ बजेपछि नै सार्वजनिक यातायात कम हुँदा यात्रु अलपत्रमा पर्ने गरेको उनले बताए । काठमाडौँ उपत्यकामा रात्रिकालीन बसको आवश्यकता बढिरहेको उनले औँल्याए । उनले भने, “साँझदेखि नै सवारीसाधन नपाएर कुरिरहेका यात्रुहरु चोकचोकमा भेट्न पाइन्छ ।” काठमाडौँ र ललितपुर महानगरपालिकाको समेत शेयर रहेको साझा यातायातले २० नयाँ बस भित्र्याइरहेको छ । यी बसमध्ये कतिपय रात्रिकालीन सेवामा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको दुवै महानगरपालिकाले जनाएका छन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नगरभित्र रात्रिकालीन सवारीसाधनको आवश्यकता रहेको बताए । एउटा नगरपालिकाले मात्रै नभएर उपत्यकामा रहेका सबै नगरपालिका आपसमा मिलेर रात्रिबस सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “नगरपालिकाको फोरमको बैठकले निर्णय नै गरेर पनि चलाउन सक्छ ।”

कांग्रेस स्याल हुईंय्याको पछि लाग्यो, मदनका विचार छोड्न मिल्दैन– प्रम ओली

काठमाडौं, जेठ २६ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको बिरोध अनावश्यक भएको बताएका छन् । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा बोल्दै अध्यक्ष ओलीले सरकारको बिरोधको कुनै अर्थ नभएको टिप्पणी गरेका हुन् । सरकारको बिरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको बताउँदै ओलीले अहिलेको बिरोध व्यत्तिलक्षित देखिएपनि प्रकारान्तरुपमा त्या गणतान्त्रिक संस्था र पद्धति विरुद्धको सुनियोजित प्रचार भएको बताए । “यसविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिको होइन । गणतान्त्रिक पद्धतिको बिरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’ उनले भने । सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएपछि कांग्रेस र केही बुद्धिजिवीहरु ‘मेरो सरकार’को पछि लागेको उनको टिप्पणी थियो । संसारभर राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्ने गरेको भन्दै उनले कुवाभित्रबाट आकाश जत्रो देखिन्छ त्यत्रोमात्र हुन्छ भन्ने ठान्न नहुने बताए । अध्यक्ष ओली अघि भाषण गरेका अर्का अध्यक्ष प्रचण्डले मदन भण्डारीकै विचार समातेर नहुने अभिव्यक्ति दिएपछि त्यसको प्रत्युत्तरमा ओलीले भने मदन भण्डारीका विचार छाड्न नमिल्ने बताए । यद्यपी उनले परिमार्जन गर्नुपर्ने धारणा भने राखे । ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’ उनको भनाई थियो । ओलीको जिकिर थियो– जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

क्रान्तिकारीले नेतृत्व नपाएपछि विद्यार्थी नेताहरुको असन्तुष्टि

काठमाडौं, निकै लामो कसरतपछि सम्पन्न नेकपाका जनवर्गीय संगठनको एकताबारे पूर्व माओवादी केन्द्रको विद्यार्थी संगठनले असहमति प्रकट गरेका छन् । पूर्व माओवादी केन्द्रको प्रभावशाली मानिने जनवर्गीय संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सार्वजनिकरुपमा नै अहिलेको एकता प्रक्रिया विधिसम्मत नभएको बताएका छन् । तामाङले विद्यार्थीको नेतृत्व पाउने दावी गर्दै आएका छन् । क्रान्तिकारीमा निर्वाचित अध्यक्षका रुपमा लोकप्रिय तामाङले सहसंयोजक पदमा नबस्ने समेत आशय व्यक्त गरेका छन् । नेकपा सचिवालयको बैठकले विद्यार्थी संगठनको नेतृत्व पूर्व एमालेको भागमा रहने निर्णय गरेको थियो । युवाको नेतृत्व भने पूर्व माओवादी केन्द्रले नै पाएको छ । रञ्जितसँगै क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले समेत अहिलेको एकताले विधि मिचेको बताए । सामाजिक सञ्जालमा अभिव्यक्ति पोख्दै बस्नेतले अहिलेको व्यवस्थाले निर्वाचित अध्यक्षलाई महासचिव भन्दा पनि तल राखेकोमा असहमति जनाएका छन् । उनले लेखेका छन्– “एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनि समेत पनि हैन महासचिव भन्दा मुनी राखेर यदि त्यसैलाई विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला कमसेकम विधि चाहिँ हैन ।” जनवर्गीय संगठनको एकीकरणमा अन्य संगठनले भने सार्वजनिकरुपमा असहमति व्यक्त गरेका छैनन् । सचिवालय बैठकले एउटा संगठनको अध्यक्ष र अर्को संगठनको अध्यक्षलाई संयोजक र सहसंयोजक हुने गरी एकताको विधि तयार गरेको थियो । यद्यपी अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले भने यसलाई गलत नजिर बसाउन खोजेको संज्ञा दिएका छन् । उनले लेखेका छन्– नेतृत्वलाई सार्वजनिक सुझाव स्पाईला पिच्छे फरक मापद्ण्ड निर्माण गरेर कार्यकर्ता को हुर्मत लिने काम नगरियोस । विश्वासको धरातल कम्जोर भयो भने अहङ्कार को पर्खाल गर्ल्यामगुर्लुम ढल्न कुनै आइतवार कुर्नु पर्दैन । अखिल क्रान्तिकारीका अन्य नेता तथा कार्यकर्ताले समेत आफ्नो संगठनको नेतृत्वले संयोजक नपाएको असन्तुष्टि व्यक्त गरेका छन् । यद्यपी कतिपयले भने आफू अनुकुल हुँदा विधि मान्ने र नहुँदा त्यसको बिरोध गर्नु ठीक नभएको प्रतिक्रिया दिएका छन् । केहीको भनाई चाहिँ निर्वाचित अध्यक्ष भएको नाताले तामाङलाई विद्यार्थीको संयोजक बनाउनु पर्छ भन्ने देखिन्छ । तामाङले सहसंयोजकको जिम्मेवारी अस्वीकार गरेको खण्डमा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत सहसंयोजक हुने छन् । त्यो अवस्थामा बस्नेतको प्रतिक्रिया के हुन्छ भन्ने कुरा भने उनले बताएका छैनन् । जनवर्गीय संगठनको एकतासँगै नेकपाको एकीकरण प्रक्रिया दुई तिहाई जति पुरा भएको छ । जिल्ला नेतृत्वको टुंगो यसअघि नै लेनिन दिवसका दिन लागेपछि प्रदेशहरुले जिल्ला र मातहतका स्थानीय निकायको एकीकरण गर्ने काम शुरु गरेका छन् । कतिपय जिल्लामा जिल्ला कमिटीले पूर्णता पाएको छ । पोलिटब्यूरो गठनको प्रक्रिया भने अझै अवरुद्ध नै छ । हिजो बसेको सचिवालय बैठकमा नै पोलिटब्यूरो गठन गर्ने प्रस्ताव आएपनि पर्याप्त तयारी र आन्तरिक विवाद मिलाउन नसक्दा त्यो हालका लागि पर सरेको छ । यसैगरी विशेष जिल्ला कमिटि र सम्पर्क मञ्चको एकीकरण समेत बाँकी नै छ । जनवर्गीय संगठनको एकता