दैलेखमा जीप दुर्घटना हुँदा १४ जना घाइते

दुल्लु, जेठ ८ । दैलेख सदरमुकामबाट भैरवी गाउँपालिकाको कुसापानीतर्फ जाँदै गरेको भे १ च २८०१ नम्बरको बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सदरमुकामको गणेशचौकको पश्चिम खण्ड नारायण नगरपालिका–२ को जाहारकोट जाने सडक नजिक जीप दुर्घटना भएको हो । अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ ।

६ सिट क्षमता भएको जीपमा १४ जना यात्रु सवार रहेका बताइएको छ । सडकबाट करिव ५० मिटर तल खसेको जीप रुखमा अडिएको छ । सदरमुकाम नजिकै जीप दुर्घटना भएकोले तत्कालै प्रहरीले घाइतेको उद्धार गरेर जिल्ला प्रहरी कार्यालय दैलेखमा उपचार भएको छ ।

जीपमा सवार बालक सन्दीप विकको होस नखुलेको र दुर्घटनामा घाइते भएका रमेश शाही, हिक्मत बिक, गणेश उपाध्याय, सीमा शाही, केशव शाही, लोकेस शाही, अमृता विष्ट, अर्पण शाही लगायतको उपचार भइरहेको छ।

निर्मलाकी आमा दुर्गाले बुझिन् सरकारले दिने सम्पूर्ण राहत

कञ्चनपुर, जेठ ८ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भिमत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले सरकारले दिने भनेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले सरकारले दिने भनेको १८ लाख रुपैयाँ राहत बुझेकी हुन् । निर्मलाको परिवारलाई क्रमस (स्थानीय ३, प्रदेश ५ र संघीय १० लाख) गरी कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । निर्मलाकी आमा दुर्गाले संघीय सरकारले दिएको १० लाख रुपैयाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको ५ लाख जेठ पहिलो सातामा र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छिन् । घटना भएको ११ महिनापछि उनले राहत स्वरुप पाएको सबै रकम बुझेकी छिन् । तीनै सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गाको खातामा जम्मा गरिएको छ । ‘मैले तीनै सरकारले घोषणा गरेको रकम बुझिसकेकी छु, ‘दुर्गाले भनिन, ‘त्यो रकम बाँकी दुई छोरीको भविष्य निर्माणमा खर्च गर्नेछु ।’ साथै, केही रकम निर्मलाको सम्झनामा खर्च गर्ने सोच बनाएकी उनले बताइन् । निर्मलाको सम्झनामा भीमदत्त नगरपालिका २ को वडा समितिले निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालयमा बाल उद्यान पार्क निर्माण गरिरहेको छ । घटनाबारे नुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश र स्थानीय प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गत साउन १० मा साथिको घरमा गृहकार्य गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

अब हेटौँडाबाट स्मार्ट लाइसेन्स

हेटौँडा, जेठ ८ । प्रदेश नं. ३ को राजधानी हेटौँडाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा दर्ता सुरु भएको छ। हेटौँडा–११ थानाभर्‍याङमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण सुरु भएको हो । हेटौँडाबाट नवीकरण हुने लाइसेन्स अब स्मार्ट कार्डमार्फत प्राप्त हुनेछ । बुधबार प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सेवाग्राही शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेर सेवाको सुरु गरेका हुन् । कार्यालयले केही दिन अघिबाट चालक अनुमतिपत्र दर्ता तथा नवीकरणको काम सुरु गरेको थियो । हालसम्म ३६ जनाले यो सेवा लिइसकेका कार्यालय प्रमुख पोषण थापाले जानकारी दिए । देशभरकै यातायात व्यवस्था विभागको स्मार्ट चालक अनुमति पत्र दर्ता तथा नवीकरण प्रणालीमा यस कार्यालयको प्रणाली जोडिएको कार्यालयका अधिकृत सुरेश चपाईंले बताए। अधिकृत चपाईंका अनुसार स्मार्ट लाइसेन्स हुनेको देशभरकै सेवाग्राहीको काम यहीँबाट हुने भएको छ भने स्मार्ट लाइसेन्सबाहेक भने ३ नम्बर प्रदेश भरिका जिल्लाका सेवाग्राहीले यहाँबाट सेवा लिन सक्ने छन् । कार्यालयबाट चालक अनुमति पत्र दर्ता तथा नवीकरण वितरणबाहेक सवारी दर्ता, कर नवीकरण, जाँच पास, रोड परमिट, पञ्जिकरणको काम पनि हुँदै आएको उनले बताए । यातायात क्षेत्रमा औँला ठड्याउन नपर्ने गरि सुधार गछौँ ः मुख्यमन्त्री स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा कसैले औँला ठड्याउन नपर्ने गरि सुधार गर्ने बताएका छन्। उनले यातायात क्षेत्रको विकृतिबारे व्यापक जनगुनासो रहेको भन्दै त्यसको समाधान गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको बताए। मुख्यमन्त्री पौडेलले प्रदेश ३ का यातायात व्यवस्था कार्यालयहरुमा भद्रगोल रहेको भन्दै सबै कुरा सुधार हुने दाबी गरे। उनले जनशक्तिको अभाव काम गर्नु पर्दा संक्रमण कालको अनुभूति भइरहेको बताएका थिए । प्रदेश सरकारले आफ्नो काममा तीव्रता दिइएको भन्दै परिणाम केहि समयपछि देखिने उनको जिकिर छ।

‘कालीगण्डकीको पानी तिनाऊमा खसाल्न दिँदैनौं’

पाल्पा, जेठ ८ । राम्दीबाट कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका सम्बन्धित क्षेत्रका स्थानीय तहहरु जुर्मुराउन थालेका हुन् । तल्लो तटीय क्षेत्रअन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीय तहले नदीको पानीलाई थुनेर अन्यत्र लैजाने प्रयासलाई रोक्न त्यस क्षेत्रका स्थानीय तहले एकताबद्ध भएर अगाडि बढ्ने अभियानमा जुट्न थालेका छन् । यसका लागि हस्ताक्षर सङ्कलन अभियान अगाडि बढाएको छ । अभियानअन्तर्गत हस्ताक्षर सङ्कलन गरी सम्बन्धित निकायलाई बुझाउने, कालीगण्डकी उपत्यकाका सरोकारवाला मिलेर कार्यदल गठन गर्ने, जेठ १५ गतेभन्दा अघि प्रभावित क्षेत्रका स्थानीय तहहरुको गाउँ तथा नगरसभाबाट कालीगण्डकी डाईभर्सन रोक्न माग पत्र प्रदेश र सङ्घमा पठाउने योजना अगाडि सारिएको छ। कालीगण्डकीको धार्मिक तथा प्राकृतिक सभ्यताको संरक्षण गर्न कालीगण्डकी बेसीका तल्लो क्षेत्रका स्थानीय सरकार एकजुट भएर लागेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । ‘डाइभर्सनको विरुद्धमा तल्लो तटीय क्षेत्रका स्थानीय सरकार र नागरिक एकजुट भएर अगाडि बढ्ने र कुनै पनि हालतमा पानी थुनेर अन्यत्र लैजान नदिने अभियानमा हामी लागेका छौँ’ उनले भने । प्रमुख थापाले भने, ‘यस क्षेत्रको सभ्यता भनेको नै कालीगण्डकी नदी हो, यसको अस्तित्वलाई सङ्कटमा पर्ने गरी कुनै पनि काम हामीले गर्न दिँदैनौँ ।’ पाल्पाको रम्भा गाउँपालिका, रामपुर नगरपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका, नवलपुरको बौदीकाली, बुलिङ्टार गाउँपालिकालगायतका स्थानीय सरकार नदीलाई राम्दीबाटै थुनेर बुटवल कपिलवस्तु, नवलपरासीलगायतका क्षेत्रमा सिँचाइ गर्न लगेको खण्डमा यी क्षेत्र मरुभूमिजस्तै उजाड बन्ने हुँदा यसको विरुद्धमा जुटेको बताइएको छ । पाल्पा र स्याङ्जाको सिमानास्थित राम्दीमा ड्राइभर्सन गरेर कालीगण्डकीको पानी तिनाऊ नदीमा पोखिने योजनाप्रति कालीगण्डकी उपत्यकाका स्थानीयवासी सन्तुष्ट छैनन् । रुपन्देही, कपिलवस्तु र नवलपरासीको विभिन्न भू–भाग सिँचाइ गर्ने योजनाअनुरुप नदीलाई राम्दीबाट ड्राइभर्सन गरेर तिनाऊ खोलामा लैजाने कुरामा असन्तुष्टि जनाउँदै सम्बन्धित स्थानीय सरकारले यसका विरोधमा उत्रिएका हुन् । नदीको धार्मिक, सांस्कृतिक अस्तित्व मेटिन गई प्राकृतिक, जैविक तथा वातावरणीय क्षेत्रमा ठूलो असर पार्ने हुँदा पनि आफ्नै बहावमा बहेको पानीलाई निरन्तर बग्न दिन स्थानीय सरकारले चासो देखाउँदै डाईभर्सनका विरुद्धमा लागेका छन् । कालीगण्डकी उपत्यकाको समृद्धिका लागि यसभन्दा अघि बसेको बृहत् भेलाले कालीगण्डकी बचाऊ सम्बन्धमा घोषणापत्र पनि जारी गरिसकेको छ । घोषणापत्रमा राम्दीदेखि देवघाटसम्मका क्षेत्रलाई समेटी कालीगण्डकी उपत्यकाको नामकरण गर्नुपर्ने, सबै स्थानीय तहका प्रमुख वा अध्यक्ष पदेन सदस्यमा रहने गरी कालीगण्डकी एकीकृत विकास समिति गठन गर्ने, साथै समितिमा सङ्घीय सांसद, प्रदेशसभा सदस्य, तत्कालीन संविधानसभाका सदस्य पनि पदेन सदस्यमा रहने गरी सहमति भएको छ । आधुनिक शहर निर्माण गर्न उपत्यकाको एक विकास प्राधिकरण गठन गर्न नेपाल सरकारलाई प्रस्ताव पेश गर्ने, पहिलो भेलामा उठेका नदी, यातायात, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायत सबै विषयमा साझा अवधारणा तयार गर्नेलगायतका कुरा घोषणापत्रमा उल्लेख छ । भौगोलिक भूगोलले कालीगण्डकी उपत्यकालाई दुई प्रदेशमा विभाजन गरे पनि कालीगण्डकी बचाऊ अभियानमा ऐक्यबद्धता जनाउँदै राम्दीदेखि तल्लो क्षेत्रमा रहेका दुवै प्रदेशका स्थानीय सरकार, स्थानीयवासी, सरोकारवाला निकायले कालीगण्डकी डाईभर्सनका विरुद्धमा विशेष चासो दिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए । जलयात्राका लागि उपयुक्त मानिएको यस नदीमा व्यावसायिक तवरले जलयात्रा सञ्चालन गरेर प्रशस्त आर्थिक लाभ पनि लिन सकिन्छ । यहाँ नियमित जलयात्रा चलाउन सकेको खण्डमा ५ नम्बर प्रदेश र गण्डकी प्रदेशको पर्यटन विकासमा ठूलो सघाउ पुग्ने विश्वास स्थानीयवासीको छ । रासस

जेष्ठ नागरिकलाई सम्मान

सुनसरी, जेठ ७ । सुनसरी हरिनगर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । हरिनगर गाउँपालिका कार्यालयको सहयोगमा हरिनगर गाउँपालिका वडा नं.१ देखि वाड नं.७ ओटै वडाका ६० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकहरुलाई जिउँदो इतिहास भएकाले कार्यालयको सहयोगमा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको महिला तथा वालवालिका शाखाका इन्चार्ज अम्विका खतिवडाले जानकारी दिए । मंगलवार हरिनगरा उच्च माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरी ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई फलफूल तथा होरलिस, साडी, छाता, धोती, गमछा, कुर्तासहित लगाएर सम्मान गरिएको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी गराएको छन् । ९२ वर्षीय कनवा देवी भागड सहित ७० वर्षभन्दा माथि उमेरसमूहका ६० जनालाई पानी र घामबाट जोगिन छाता, साडी, कुर्ता र जाडोबाट जोगिन दोसल्ला र गमछा ओढाएर सम्मान गरिएको हो । हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीका अध्यक्षता र कार्यलाय प्रसाशकीय प्रमुख कृष्णाबहादुर कार्कीको प्रमुख अथितिमा र हरिनगर वडा नं. १ देखि ७ ओटै वडा अध्यक्षका आथित्यमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

कमजोर नेतृत्वको कारण फेरि महाराजगन्ज बृत्तवाट थुनुवा फरार

काठमाडौं, जेठ ७ । महानगरीय प्रहरी बृत महाराजगन्जबाट एक थुनुवा फरार भएका छन् । जबरजस्ती करणी आरोपमा पक्राउ परेका श्रेष्ठ थरका १६ वर्षे युवक मेडिकल चेकजाँच गर्न लैजाँदा वीर अस्पतालबाट फरार भएका हुन् । अनुसन्धानमा रहेका २ मध्ये श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएको प्रहरीले जनाएको छ । दुव्र्यवहारमा पका्रउ परेका दुईमध्ये एक व्यक्ति फरार छन् । हामीले खोजी रहेका छौं प्रहरी परिसरका प्रबक्ता डिएसपी होविन्द्र बोगटीले बताए । पछिल्लो समय बृतका डिएसपी फणिन्द्र प्रसाइको कमजोर कमाण्डका कारण महाराजगन्ज प्रहरी नेतृतव धेरै विवादमा परेको छ । यसअघि हत्या घटना मिलाउन सेटिङ मिलाएको अभियोगमा एक इन्सपेक्टर निलम्बनमा परेका थिए । सो क्षेत्रमा लूटपाट, चोरी लगायतका अनय घटना दैनिक जसो बढिरहेका छन्। उनको कमजोर कमाण्डलाई कस्को संरक्षण ? गरिरहेको छ प्रहरी संगठन भित्र चर्चा चुलिएको छ । अनुसन्धानमा ल्याइएको ती १६बर्षे युवक फरार भएपछि डिएसपी प्रसाइँको सेटिङमा भगाइएको हुनसक्ने आशंका बढेको छ ।

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मत्यु

बर्दिया, जेठ ८ । गुलरिया नगरपालिका–३ निमकोठियामा मोटरसाइकल दुर्घटना परि एक प्रहरी जवानको मृत्यु भएको छ। वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो। मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए। उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा घर गएका थिए। उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए।

प्रहरीको गोली प्रहारबाट घाइते विप्लव कार्यकर्ताको मृत्यु

भोजपुर, जेठ ८ । भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाककाउलेक विप्लव कार्यकर्ता घिमिरे गम्भिर घाइते भएका थिए। खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।  

मोडल खुश्बु ओलीलाई ३ महिना कैद, तीन हजार जरिवाना

काठमाडौं, जेठ ७ । मोडल खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। चेक बाउन्स मुद्दामा ओलीलाई दोषी ठहर गर्दै अदालतले कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए। सापटी लिएको रकम तिर्न खुश्बुले कट्वाललाई चेक दिएकी थिइन्। विनिमयपत्र अधिकारसम्बन्धी ऐन २०३४ अनुसार दायर मुद्दामा अदालतले ३६ लाख भराउन पनि आदेश गरेको काठमाडौं जिल्ला अदालतका मुद्दा शाखाका अधिकृत टिकासिंह खत्रीले जानकारी दिए।

अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते

सन्धिखर्क, जेठ ७ । अर्घाखाँचीको भुवनपाटामा आज (मंगलबार) साँझ बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपादेउराली मन्दिर दर्शन गरेर गोरूसिङगेबाट आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । बस पुलमाथि आउँदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भए पनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका छन् । पुल करिव सीतखोलाबाट ४ सय मिटर अग्लो पडाडको खोचमा छ।

प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

भोजपुर, जेठ ७ । भोजपुरमा प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जंगलमा दुवै पक्षबीच गोली हानाहान भएको हो । जंगलमा थुप्रै हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो । जंगलमा पुगेको प्रहरी टोलीमाथि उल्टै गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको जनाएको छ । जवाफी फायरका क्रममा सो समूहका एक कार्यकर्ता घाइते भएका छन् । उनी भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेको समेत प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर हत्याः कसले गरेको थियो विभत्स हत्या? यस्तो भन्छन् घाइते

पाँचथर, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको वीभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन् । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरेका छन् । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।          घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ ।  रासस/रवीन्द्र काफ्ले

पाँचथर हत्या : मृतक सबैको पहिचान खुल्यो (नामसहित)

पाँचथर, जेठ ७ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका सबैको पहिचना खुलेको छ। वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको रहेका छन् ।  घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनको हातमा चोट लागेको छ ।  मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । धनराज र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको वडाध्यक्ष फियाकले बताए।

कामीरिता हप्ता दिनमै २ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं, जेठ ७ । केही दिनअघि मात्रै बनाएको आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गरेका छन्। शेर्पाले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। एजेन्सीले हामीलाई खबर गरिसकेको छ, एजेन्सीले हामीलाई आधिकारिक चिठी दिएको छैनु, उनले भनिन् । गत बुधबार उनले २३ औँ पटक सगरमाथा आरोहण गरेका थिए। एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन्। कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष राखेका छन्।

कसले गर्दैछ पूर्वराजा विरेन्द्रको सम्पत्ति दुरुपयोग?

काठमाडौं, जेठ ७ । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो। तर, यसको चरम दुरुपयोग बढेको छ। सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ। पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५६३ रोपनी जमिन भेटिएको छ। नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन। दुरुपयोग रोक्न लागिपरेको पनि छैन। राजधानीको मुटु मानिने छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला गर्‍यो। त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन्। प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी छन्। ‘विजया घर’ बाट चिनिने यो घरजग्गा खाली गराउन ट्रस्टले ५ महिनाअघि नै पत्राचार गर्‍यो। काठमाडौं महानगरपालिकाले पनि यो घरजग्गा खाली गर्न पत्र लेखेको छ। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले एक वर्षअघि यो सम्पत्ति नेपाल ट्रस्टकै नाममा फिर्ता गर्नुपर्ने फैसला गरेको थियो। दरबार हत्याकाण्डपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको यो जग्गा ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए। यस्तै चन्द्रागिरी नगरपालिकाको सतुगंल, मातातीर्थ र थानकोटको राजाको ‘फर्माएसी बिर्ता’ १७० रोपनी ट्रस्टको जग्गा मोहीलाई नामसारी गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

प्रहरीमा ३० वर्षपछि ३० वर्षे सेवा अवधि कायम नरहने

काठमाडौं, जेठ ७ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ। प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न बनेको ‘नेपाल प्रहरीको गठन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐनका रुपमा लागू भएपछि भर्ना भएका प्रहरी कर्मचारीका हकमा मात्रै ३० वर्षे सेवा अवधि लागू नहुने विधेयकमा उल्लेख छ। यस्ता प्रहरी कर्मचारीका लागि उमेर हद वा पदावधिका आधारमा अवकाश पाउने प्रस्ताव गरिएको छ। प्रहरी संगठनभित्र ३० वर्षे सेवा अवधिको प्रावधान हटाउँदा आईजीपीमा पुग्ने सम्भावना भएका प्रहरी अधिकृत समस्यामा पर्ने भएका कारण सेवा अवधि हटाउने प्रावधान ३० वर्षपछि धकेलिएको छ। मस्यौदाको अवकाश, उपदान तथा निवृत्तिभरणसम्बन्धी व्यवस्थामा हाललाई ३० वर्ष सेवा अवधि कायमै राखिएको छ। मन्त्रिपरिषद्ले ‘नेपाल प्रहरीको गठन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याउन गृह मन्त्रालयलाई तीन महिनाअघि नै स्वीकृति दिएको थियो। गृहका अनुसार मस्यौदा मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको छ। ‘लामो छलफलपछि विधेयक तयार भएको छ, केही दिनमै मन्त्रिपरिषदमा जानेछ,’ स्रोतले भन्यो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।