त्रिभुवन विमानस्थल धावनमार्ग मर्मत कार्य २० प्रतिशत सकियो

काठमाडौं, वैशाख २९ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत काममा हालसम्म २० प्रतिशत प्रगति भएको छ ।

गत चैत १८ देखि सुरु भएको मर्मतको काम २० प्रतिशत सम्पन्न भएको नागरिक उड्ययन प्राधिकरणको अन्तर्राष्ट्रिय विमानस्थल हवाइ क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् ।

तीन महिनाको लागि रातको १० बजेदेखि बिहानको ८ बजेसम्म विमानस्थल बन्द गरी काम भइरहेको छ। विमानस्थलका अनुसार एक रातमा १ सय २० मिटर धावनमार्ग कालोपत्रे हुँदै आएको छ । श्रेष्ठले मौसमले साथ दिए तोकिएको समयमा नै निर्माण सम्पन्न हुने जानकारी दिए ।

उनले भने, ‘हालसम्म १२ सय मिटर धावनमार्ग कालोपत्रे भइसकेको छ। कामको गतिअनुसार तोकिएको समयमा नै धावनमार्ग मर्मतको काम सकिन्छ ।’ विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर ९१० हजार ७ फिट० लम्बाइ र ४६ मिटर चौडाइको छ ।

धावनमार्गको काम पूरा भएपछि मात्रै ट्याक्सी वेको काम सुरु गरिने पनि उनले जानकारी दिए । गत चैत १८ देखि वैशाख २ गतेसम्म धावनमार्गमा रनवे सेन्टरलाइन लाइटको डक्ट जडान गरिएको थियो। लाइट जडान सकिएपछि वैशाख ३ देखि पुरानो पिच उक्काएर नयाँ राख्न सुरु गरिएको थियो ।

विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिँदै आएको एक हजार रुपैयाँ संकलनबाट मर्मतको काम अघि बढाइएको हो । चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको ठेक्का जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले पाएको हो ।

विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी दैनिक चार सयभन्दा बढी उडान हुँदै आएको छ । आन्तरिकतर्फ २० हेलिकप्टर कम्पनीले उडान भर्दै आएका छन् ।

त्यस्तै तीन नेपाली कम्पनीसहित अन्तर्राष्ट्रिय उडानमा ३१ विमान कम्पनीले उडान भर्दै आएका छन् । विमानस्थलमा ट्विनटर, एटीआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ ।

साथै विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ १७ वटा पार्किङ वे रहेको छ। नेपालखबरबाट

बाबुरामको पार्टीलाई ठूलो झड्का, केन्द्रीय सदस्यसहित ४० कार्यकर्ता नेकपा प्रवेश

गोरखा, वैशाख २९ । तत्कालिन नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हुँदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन् । पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा जङ्ग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङ लगायत रहेको नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशील नयाँशक्ति पार्टीका अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तामा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङ लगायत छन् । नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागत गर्नुभएको थियोे । उक्त पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण भएसँगै जिल्लाका नयाँशक्ति पार्टीमा आबद्ध युवाले असन्तुष्टि जनाएर नेकपामा प्रवेश गरेका हुन् ।

नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० व्यापारिक प्रतिष्ठानमाथि निगरानी

काठमाडौं, वैशाख २९ । पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका देशका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै दर्ता भयो । यसअघि १६७ विरुद्ध १३ अर्ब ५५ करोड रुपैयाँ बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय माग दाबीसहित विभागद्वारा विभिन्न अदालतमा दर्ता गरिएका ६४ मुद्दा विचाराधीन छन् । कर छलीका गतिविधि मुख्यतः कारोवार नगरी बिलमात्रै बेच्ने, अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गर्ने, भन्सार चोरी पैठारी, अण्डर विलिङ, खरिद बिक्रीसम्बन्धी कागजमा मूल्य मिलाउने, मूल्य अभिवृद्धि कर (भ्याट) बिल–प्यान बिल नक्कली बिजक बिक्री गर्ने पाइएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्नेदेखि वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत् अवैधरुपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने जस्ता अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराध भइरहेका छन् । भन्सार अधिकृतसहित आठ कर्मचारी, कर सहयोगी र अडिटरसमेत संलग्न रहेका पाइएको छ । यस्ता नक्कली गतिविधि गरेर अर्बौंको राजश्व चुहावट भइरहेकाले अहिले आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवर्द्धन र सदाचार कायम गर्न सरकारले राजश्व चुहावट (कर छली) को उच्च जोखिम क्षेत्र पहिचान गर्न लागेको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णयबमोजिम पूर्वसचिव केशव भट्टराईको संयोजकत्वमा गठित कार्यदल अहिले जोखिम क्षेत्र पहिचानमा सुक्ष्म अनुसन्धानमा छ । कार्यदलमा चार्टर एकाउन्टेन्ड भवनाथ दाहाल र राजश्वसम्बन्धीका जानकार डिकरदेव भट्ट छन् । राजश्व अनुसन्धान विभागले उनीहरूलाई सघाइरहेको छ । “सबैभन्दा बढी कुन क्षेत्रमा कर छली भइरहेको छ, त्यसलाई रोक्न के उपाय अपनाउन सकिन्छ, कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ, भनेर अध्ययन गरिरहेका छौँ, सुझावसहितको प्रतिवेदन असार मसान्तभित्रैमा सरकारलाई बुझाउने तयारी छ”, संयोजक भट्टराईले भने । जोखिम पहिचान गर्दै चुहावट नियन्त्रणमा नीति, प्रक्रिया, कानून कार्यान्वयनमा गर्नुपर्ने सुधारका विषय कार्यदलले हेर्ने उनले बताए । “अनुसन्धानमा मुख्यगरी भन्सार महशुल, मुल्य अभिवृद्धि कर र अन्तःशुल्कमा केन्द्रित छौँ”, भट्टराईले भने । मुलुकको समृद्धिको मुख्य बाधक राजश्व चुहावटका घटना बढी उपभोग हुने क्षेत्रमा देखिएका छन् । सार्वजनिक क्षेत्रको निर्माण, व्यापार र सेवा क्षेत्रमा यस्ता गतिविधि पाइएकाले राजश्व अनुसन्धान विभागले आर्थिक अनुशासनको कारवाही तीव्र पारिरहेका बेला जोखिम क्षेत्र पहिचान हुँदा थप सहज हुने महानिर्देशक मैनालीको विश्वास छ । कार्यदलले निजी क्षेत्र, राजश्व बुझाउने क्षेत्रसँग छलफल गरेर बाह्य मुलुकका अभ्यासलाई समेत अध्ययन गरी प्रतिवेदन बनाउँदै छ । जानकारीमा आएको जोखिम क्षेत्रबारे आवश्यक सुझाव दिन भन्दै सर्वसाधारणलाई सार्वजनिक सूचना नै जारी गरी कार्यदलले आग्रह गरेको छ । जहाँ करको दर बढी छ, जुन व्यवसायमा मुनाफा बढी छ, जहाँको उत्पादनमा उपभोग बढी हुन्छ त्यस्ता व्यापारिक प्रतिष्ठान, उपभोक्ता जोडिएका क्षेत्र र खुला सिमाना भएका ठाउँबाट बढी कर छली हुन्छ । हार्डवेयर, कपडा, मदिराजन्य उत्पादन क्षेत्र, उच्च नाफामूलक क्षेत्र, सेवा क्षेत्र र व्यापारिक क्षेत्रमा चुहावट हुने जोखिम छ । सदाचार पद्धतिको कमजोरीका कारणले सार्वजनिक क्षेत्र पनि एउटा ठूलो उपभोक्ता भएको हुँदा चुहावट हुनसक्ने अवस्थालाई नकार्न नसकिने विभागका महानिर्देशक मैनालीले बताए । उनले प्राकृतिकरुपमा जसरी कर वृद्धि हुनुपर्ने त्यो नहुँदा ठूलो चुहावट भने कायमै रहेको बताए । रासस

धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, वैशाख २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् । श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समिति नेपालद्वारा आज यहाँ आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उनले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताए । ‘सेवा समितिले पशुपतिमा शुरु गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ, यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ’, उनले भने । विसं २०६४ देखि पशुपतिनाथ मन्दिरको पूर्व भाग वाग्मती गङ्गाको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा–आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ । पूर्वमन्त्री शान्ता मानवीले धार्मिकस्थलका रुपमा परिचित पशुपति क्षेत्रलाई अझै व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताइन् । समितिका अध्यक्ष जनार्दन शर्मा अधिकारीले पछिल्लोपटक सङ्गीतमय आरतीप्रति स्वदेशी र विदेशीको समेत आकर्षण बढ्दै गएको जानकारी गराए ।

‘होटल याक एण्ड यति’ बाट १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं, वैशाख २८ । दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, केन्द्रीय अनुन्धान ब्यूरो र महानगरीय प्रहरी वृत्तको संयुक्त टोलीले सूचनाको आधारमा नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् । यस्तै भारत उ१र प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम पक्राउ परेका हुन् । उनीहरुले होटलको रुम लिएर लिएर शुक्रवार ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिइरहेका थिए । उनीहरुले प्रशिक्षणको लागि भनेर भारतबाटै २ सयजना भन्दा बढिलाई नेपाल ल्याएका थिए ।

मर्यादाक्रमः प्रदेशमन्त्री केन्द्रका सांसदभन्दा तल

काठमाडौं, वैशाख २८ । प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रभित्रबाट दुई जना प्रदेशसभा सदस्य चुनिने भएकाले संघीय सांसदका सदस्यहरूले प्रदेशका मन्त्रीभन्दा आफ्नो मर्यादा माथि लैजान दबाब दिँदै आएका थिए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सिंगो प्रदेशको नेतृत्व गर्ने मन्त्रीलाई एउटा निर्वाचन क्षेत्रको व्याख्याकै आधारमा तल सार्नु गलत भएको बताए । यसअघिको मर्यादाक्रममै प्रदेशका मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आफ्नो मर्यादा केन्द्रको राज्यमन्त्रीलगत्तै राखिनुपर्ने माग गरेका थिए । त्यसविपरीत अझै तल सारिएपछि उनीहरूले थप अपमानित महसुस गरेका छन् । प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि नयाँ मर्यादाक्रमप्रति आपत्ति जनाए । उनले केन्द्रले कार्यकारी भूमिकामा रहेका प्रदेशमन्त्रीलाई होच्याउने काम गरेको बताए ।  मर्यादाक्रम सच्याउने क्रममा नेपाली सेनाको असन्तुष्टि सम्बोधन गरिए पनि संवैधानिक निकायका आवाज सुनिएको छैन । यसअघि निर्धारित मर्यादाक्रममा सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामतीका अधिकृतभन्दा पछाडि राखिएको प्रति सेनाको असन्तुष्टि थियो । नयाँ मर्यादाक्रममा त्यसलाई सच्याएर सहसेनानीलाई शाखा अधिकृतभन्दा अगाडि र उपसेनानीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीका निरीक्षक र राष्ट्रिय अनुसन्धानका अधिकृतभन्दा अगाडि ल्याइएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

मेलम्चीको पानी ल्याउन प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैनः प्रचण्ड

काठमाडौं, वैशाख २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याई छाड्ने बताएका हुन् । उनले केही व्यक्तिहरु नै मेलम्ची आउन नदिन लागिपरेको बताउँदै नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आउने स्पष्ट पारे । उनले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताए । ‘म र प्रधानमन्त्री हामी दुवै हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउन दृढ छौं, उनले भने, म आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनमा जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उनले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताए । ‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्, प्रचण्डले भने, ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’ ‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङको काम पनि करिब सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उनले भने, ‘तर अझै एक दुई वर्ष लाग्छ भनिएको छ । मलाई लाग्छ मेलम्ची हाम्रै मान्छेहरुले रोकेका हुन् ।’ अध्यक्ष प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गरे । उनले अगाडि भने– यो एक किसिमको रोग जस्तै भएपनि हामी यसलाई दृढतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौँ । जरुरी पर्ने हो भने, यसलाई अप्रेशन नै गर्ने, अप्रेशन गर्न ढिलाई नगरी मेलम्ची ल्याउने भन्नेमा हामी दृढ नै छौँ ।’

‘लु’ का कारण पश्चिम तराईको जनजीवन प्रभावित

बाँके, वैशाख २७ । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ । ‘लु’ का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको तापक्रम अधिकतम ४३ र न्यूनतम ३७ डिग्री सेल्सियस आसपास रहेको छ । यस वर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम बिहीबारसम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको उक्त कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले जानकारी दिए । ‘तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको छ,’ उनले भने । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारीखेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् । वैशाख महिनाभर नेपालगञ्जलगायत पश्चिम तराईमा पानी परेको छैन । गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् । यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको बताइएको छ । गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखापर्नसक्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानीे कम हुन्छ । पानी कम भएपछि अङ्गहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारिरिक समसया देखा पर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रूपानन्द अधिकारीले सुझाव दिए । ‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटकरपटक पानी पिउनुपर्ने खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नशालु पदार्थ सेवन नहुने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए । रासस

विप्लव समूहका विद्यार्थी नेता ढकाल पक्राउ

काठमाडौं, वैशाख २७ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाल आज काठमाडौँको अनामनगरबाट पक्राउ परेका छन् । उक्त समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ढकाल चन्दा आतङ्कमा सक्रिय हुँदै आएका छन् । विभिन्न विद्यार्थी सङ्गठनको कार्यक्रममा सहभागी भई निस्कने क्रममा पक्राउ गरिएको हो । यसअघि सरकारले विप्लव समूहको नेकपाका गतिविधि विध्वंसात्मक रहेको भन्दै उसका गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो । महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौँ जिल्लाबाट अहिलेसम्म विप्लव समूहका ४३ जनालाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइएको छ । देशभर गरेर कूल ३४३ जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परिसकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

ललितपुरमा युवतीद्वारा अपहरणमा परेका वृद्धको २ घण्टामै उद्धार

ललितपुर, वैशाख २७ । प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेकी एक पुरुषलाई सकुशल उद्धार गरेको छ । अपहरणमा पर्ने इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेल रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले कृष्ण चौडेललाई अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई समेत पक्राउ गरेको छ । परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो । अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको एसएसपी धानुकले बताए । सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेकी थिइन् । चौडेललाई अपहरण गर्नेमा अनिमासँगै थप २ जना पनि रहेको एसएसपी धानुकले बताए । यसरी घट्यो घटना प्रहरीका अनुसार बिहान ६ बजेतिर कृष्ण चौडेल अपहरणमा परेका हुन् । चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन् । उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार पनि हुने गरेको पाइएको छ । प्रहरीका अनुसार आज बिहान पनि इमाडोल नजिकै अनिमाले चौडेललाई बोलाएर अपहरण गरेको हुनसक्ने बताइएको छ । इमाडोलबाट अपहरण गरेर चौडेललाई सिधै ढोलाहिटी पुर्याएको थियो । चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमाले २ लाख फिरौती मागिन् । यदि नदिए मार्ने धम्की समेत दिएको चौडेलले प्रहरी समक्ष बयान दिएको एसएसपी धानुकले जानकारी दिए । कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन् । अनिमाले फोन गरेलगत्तै चरुले एक प्रतिष्ठित मिडिया र ललितपुर प्रहरीलाई खबर गरेकी थिइन् । चरलाई अनिमाले अरु कसैलाई भने कृष्णलाई मारिदिने धम्की दिएकी थिइन् । प्रहरीलाई सूचना प्राप्त भएलगत्तै डीएसपी कपिल बोहोराको टोली अपहरणमा परेका कृष्णको खोजीमा तत्काल परिचालन भएको एसएसपी धानुकले बताए । उनले भने, ‘परिसर र महाशाखाको संयुक्त टोली सादा पोसाकमा समेत खटिएको थियो ।’ भुजेलले फिरौती मागेको रकम दिन प्रहरी परिचालन भएको केही समयमा डीएसपी बोहोराको टोली र चरु पौडेल ढोलाहिटी पुगे । ढोलाहिटी पुगेर भजेललाई सम्पर्क गरेर फिरौती रकम दिने भन्दै उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी भुजेलमाथि प्रहरीले अनुसन्धान थालेपछि अपहरण संलग्नमा अरु पनि रहेको खुल्न आएको छ । प्रहरीका अनुसार थप एक महिला र एक पुरुषको संलग्नता रहेको पाइएको छ । पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको र अपहरण कार्यमा थप संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओली भियतनाममा, उपविदेशमन्त्री न्युन क्युकले गरे स्वागत

भियतनाम, वैशाख २६ । भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए । भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि भियतनामको औपचारिक भ्रमणमा छन् । उनले वैशाख ३० गतेदेखि कम्बोडियाको पनि भ्रमण गर्ने छन् । भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, सङ्घीय संसद् अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद्, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उच्चपदस्थ कर्मचारी, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी एवं सञ्चारकर्मी संलग्न छन् ।

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री केपी ओली आज औपचारिक भ्रमणका लागि भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु र कर्मचारीले बिदाई गरेका थिए । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो  परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्ने छन् । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनामी समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन्  । यस्तै, उनले त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा आयोजना हुने रात्रिभोज कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने छन् ।  भियतनाम भ्रमणकै क्रममा त्यहाँको हानाम प्रान्तमा आयोजना हुने इन्टरनेसनल डे अफ भैशाख ९बौद्ध धर्मावलमीहरूको पर्व० लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्रीले हो ची मिन नेसनल एकेडमी अब पोलिटिक्स र नेपाल भियतनाम बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच केही सम्झौता हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउन समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।  यसैगरी कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोम्बोडियाली समकक्षी हुन सेनसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै कम्बोडियाली प्रधानमन्त्रीले आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुने कार्यक्रम रहेको छ ।  उनले त्यहाँको नेशनल एसेम्बलीका अध्यक्षसँग भेट गर्नुका साथै नोम पेनमा आयोजना हुने व्यवसायीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, सांसदहरू उच्च अधिकारी सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने छ । भियतनामसँग तीन समझदारी हुनेभ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी सरकारको छ । समझदारी प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय परामर्श संयन्त्र सम्वन्धी छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कूटनीतिक सम्वन्ध रहे पनि सघन हुन नसकेको भियतनामसँग सम्वन्ध विस्तार गर्ने उदेश्यले भ्रमण तय भएको बताए । ‘दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामसँग द्धिपक्षीय लगानीको प्रशस्त सम्भावना छ । त्यही सम्भावनालाई ध्यानमा राखेर यो भ्रमण हुँदैछ’ उनले भने । कम्बोडियासँगका समझदारी कार्यान्वयनमा केन्द्रित प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आएका बेला नेपाल र कम्बोडियाबीच नोभेम्बर २०, २०१८ मा द्धिपक्षीय हवाई, द्विपक्षीय सहयोग र सांस्कृतिक आदानप्रदान र व्यापार प्रवद्र्धन तीन सम्झौता भएका थिए । ती समझदारीलाई अगाडि बढाउने र सहयोग क्षेत्र थप बिस्तार गर्नेबारेमा छलफल केन्द्रित हुनेछ ।

अब बालबालिकालाई खाजा होइन, अभिभावकलाई नगद दिइने

काठमाडौं, वैशाख २६ । सरकारले नीति तथा कार्यक्रममा विद्यालय तहका बालबालिकालाई पोषण दिने भने पनि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षाका लागि खाद्य कार्यत्रममार्फत उपलब्ध गराइँदै आएको दिवा खाजा कटौती गरिएको छ । विद्यार्थी टिकाइराख्न ‘दिवा खाजा’ प्रभावकारी उपायका रूपमा अघि बढाइएको थियो। यसकै लागि राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा २०५२ सालदेखि ‘शिक्षाका लागि खाद्य परियोजना’ सुचारु छ। सम्झौताअनुसार परियोजना सन् २०२२ सम्म माक्र रहनेछ। शिक्षाका लागि खाद्य कार्यत्रम अहिले ११ जिल्लाका सीमित विद्यालयमा मात्र छ। कार्यक्रमका कार्यकारी निर्देशक डा. भोजराज काफ्लेले बालबालिकालाई पौष्टिक आहारको व्यवस्था क्रमशः घटेको बताए। ‘सरकारको नीति तथा कार्यक्रममा पोषणको विषय उल्लेख छ,’ उनले भने, ‘डब्लूएफफीको सहयोगमा सुचारु कार्यक्रम त्रमशः घटेको छ । सायद सरकारले स्थानीय सरकारमार्फत व्यवस्था गर्न सक्छ।’ यसअघि बालबालिकालाई दिवा खाजाका रूपमा पिठोको हलुवा बनाएर दिइन्थ्यो । गत वर्षबाट पोषणयुक्त चामल (फोर्टिफाइड राइस) को खाजा उपलब्ध गराइँदै आएको छ । उक्त खाजा चामल भिटामिन, मिनरलयुक्त हुने दाबी गरिएको छ । विद्यार्थीले खाजाका रूपमा हरेक दिन ८० ग्राम चामल, २० ग्राम दाल, दस ग्राम वनस्पति तेल, दुई ग्राम आयोडिनयुक्त नुन पाउँदै आएका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २५ मा दिवा खाजासम्बन्धी व्यवस्था उल्लेख छ । मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले विद्यार्थी टिकाइराख्न विभिन्न मोडेलको अध्ययन भएको बताए। त्यसनिम्ति दिवा खाजालाई नगद मोडेलमा अघि सारिएको उनले जनाए। ‘बालबालिकालाई विद्यालयमै खाजा पकाएर दिने व्यवस्थाको सट्टा अभिभावकलाई नगद दिएर छोराछोरीलाई घरबाटै खाजा व्यवस्था गराउने नीति लिइएको छ,’ मन्त्रालयका प्रवक्तासमेत रहेका अर्यालले भने, सरकार स्वयंले नगद मोडेलमा विद्यार्थी खाजा कार्यक्रम व्यवस्था गर्नेछ।’ झन्डै ९ वर्षदेखि परीक्षणका रूपमा दिवा खाजाको सट्टा ‘नगद मोडेल’ अघि सारिएको हो । शिशु कक्षादेखि ५ कक्षासम्मका बालबालिकाले खाजाको सट्टा एकमुष्ट नगद पाउनेछन्। कर्णाली (अञ्चल) का पाँच जिल्लाका १ लाख ९१ हजार ४ सय ३२ बालबालिकाले दैनिक २० रुपैयाँ पाउँछन् । त्यसबाहेक अरू जिल्लाका बालबालिकाले दैनिक १५ रुपैयाँका दरले पाउँछन् । वार्षिक पठपाठन हुने १ सय ८० दिनका निम्ति उक्त कार्यत्रम लागू छ । ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन बाँकी रहेको अर्यालले बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

ललितानिवास प्रकरणमा राजदूत पौडेल पनि मुछिए

काठमाडौं, वैशाख २६ । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एकसय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूतसमेत रहेका पौडेल पनि मुछिएका हुन् । सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

केही दिनमा ठूला–साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउने छन्ः प्रचण्ड

काठमाडौं, वैशाख २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन् । तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उनले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए । ‘आजमात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’, उनले भने, ‘पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको केही दिनमा टुङ्ग्याएर हामी सार्वजनिक गर्दछौँ ।’ अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने पार्टी लागिपरेको समेत बताए । २०१९ सालबाट विभाजित कम्युनिष्ट दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि एकीकृत कम्युनिष्ट पार्टी बनेको उल्लेख गरे । उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा बढेको बताए । ‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन्’’, उनले भने, ‘केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने हो ।’’ अध्यक्ष दाहालले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिङ्गल गर्न सकिन्छ भनेर प्रयास भइरहेको भन्दै ती प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने जानकारी गराए । उनले कम्युनिष्ट आन्दोलन मुलुकमा समाजवादको आधार निर्माण गर्ने कडीका रुपमा रहेको बताए । उनले विगतको अनुभवको समीक्षासहित जनताको चाहना तथा उत्साह हुने गरी नीति तथा कार्यक्रममा समेटिएका कुरालाई आधार बनाएर बजेट बनाइने बताए । विकलाई अध्यक्ष दाहालले टीकामाला लगाई पार्टी प्रवेश गराएका थिए । विकले नेकपाको सिद्धान्त विचारले नै मुलुकलाई सही दिशा दिने भएकाले प्रवेश गरेको बताइन् ।

समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती हुँदैनः मन्त्री पण्डित

काठमाडौं, वैशाख २५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती नहुने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार ‘संघीय निजामती सेवा ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा उनले प्रदेश र स्थानीय तहको अधिकार कटौती नहुने गरी दुवै तहको निजामती सेवा ऐनको आधार र मापदण्ड तय गर्ने बताएका हुन् । प्रदेश र स्थानीय तहको समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती गर्ने पक्षमा सरकार नरहेको उनले बताए । बैठकमा समितिका सदस्यहरुले प्रदेश र स्थानीय तहको अधिकार कटौती नहुने गरी संघीय निजामती सेवा ऐन बनाउन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नहुने गरी संघीय निजामती सेवा ऐनको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सो ऐनले प्रदेश र स्थानीय तहका कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।