चार दिनमै काजकिरिया सक्दा समाजबाटै बहिष्कृत

सिरहा, असार १४ । तराई मधेसमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ । झन् मधेसी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ । आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएको घटना सार्वजनिक हुँदै आएका छन् । पुरानो रुढीवादी संस्कारलाई विरोध गर्दै आएका पूर्वपत्रकार रामरिझन यादवले भने आफ्नो आमाको मृत्यु संस्कार छोट्याएका छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए । लामो पत्रकारिता अनुभवसँगै उनले महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा प्रध्यापनसमेत गरे । आमाको मृत्यु संस्कार चार दिनमै सकेका यादवले समाजबाट के कस्ता सास्ती खेप्नुपर्यो भन्ने विषयमा सुरेन्द्रकुमार कामतिको रिपोर्टः

१३ दिन काजकिरिया नगरेकोमा समाजको विरोध

सिरहा नगरपालिका–१९ का यादव समाजवादी पार्टीका नेतासमेत हुन् । पहिलेदेखि नै वामपन्थी विचारधारा बोक्दै आएका उनले आफ्नी ८८ वर्षीया आमा जगियादेवी यादवको मृत्युको काजकिरिया छोट्याए । हिन्दु धर्मसंस्कृतिअनुसार १३ दिनमा गर्नुपर्ने काजकिरिया छोट्याएर चार दिनमै सकाएका छन् । काजकिरिया सम्पन्न गरेको अवसर पारेर गत बिहीबार उनले श्रद्धाञ्जली सभाको गाउँमा आयोजना गरे । सभामा विभिन्न राजनीतिक दल, बौद्धिक क्षेत्रका व्यक्तिहरू सहभागी भए । तर, उनलाई एउटा समस्याका सामना गर्नुपरेको छ ।

काजकिरिया छोट्याउँदा समाजले पचाउन सकेको छैन । त्यसैले आमाको श्रद्धाञ्जलीमा गाउँवासीको सहभागिता उल्लेख्य हुन सकेन । गाउँलेको चाहना थियो, काजकिरिया १३ दिन नै हुनुपर्ने हो ।काजकिरियासँगै मधेसी समुदायमा ठूलो भोज गर्ने चलन छ । तर उनले भोजभतेरको साटो शैक्षिक उन्नतिका लागि रकम खर्चिंदै आएका छन् । आर्थिक भार पर्ने गरी हुँदै आएको कर्मलाई छोट्याउँदा नेता यादव समाजको तारोमा परेका हुन् । आमाबाबुको काजकिरियाको दिन छोट्याउँदा आफूले जातबाट बहिष्करणको सामना गर्नुपरेको उनले बताए ।

यादव पहिलेदेखि नै गाउँलेको तारोमा
यादवलाई जिल्लामा बौद्धिक व्यक्तिको रूपमा हेरिन्छ । तर, पनि निर्वाचनमा उठेका बेला उनलाई गाउँकै मतदाताले मत दिँदैनन् । २०६२ सालमा कान्छी आमा जानकी देवी यादवको मृत्यु भएपछि उनको भाइ सुरेशचन्द्र सुमनले चार दिनमै काजकिरिया सकाएका थिए । गाउँलेले बाध्य पारेपछि मलामीमा सहभागी भएकालाई एक छाक भोज खुवाएका थिए ।

२०६९ सालमा बाबु विश्वनाथको मृत्यु भएको थियो । बाबुको मृत्यु कर्म पनि उनले चार दिनमै सकाएका थिए । काजकिरिया छोट्याएको र भोज नगरेको भन्दै सन्हैठामा यादव समुदायले उनलाई बहिष्कार गरेका थिए । जातबाटै निस्कासित गरे पनि आमाबाबुको नाममा उनले ‘जानकी विश्वनाथ प्रतिष्ठान’ नामक संस्था दर्ता गरी दुई लाख राशिको अक्षयकोष स्थापना गरे । भोजभतेरमा लाग्ने पैसा अक्षयकोषमा जम्मा गरी गाउँकै माध्यमिक विद्यालय सन्हैठाबाट वर्षेनी एसईई उत्तीर्ण गरी ११ कक्षा पढ्ने छात्रालाई छात्रवृत्ति दिँदै आएका छन् ।

ऋण काढेर भोजभतेर गर्ने प्रथा अन्त गर्नुपर्छस् रामरिझन यादव
समाजमा भोजभतेरको नाउँमा ठूलो रकम खर्च भइरहेको छ । ऋण काढेर पनि भोज गर्नुपर्ने बाध्यता छ । त्यसलाई अन्त गर्नुपर्छ । मैले समाजमा रहेको रुढीवादीतन्त्रलाई सुधार्न धक्का दिँदै आएको छु । अब अरू पनि समाज सुधारको बाटोमा अगाडि बढ्नु जरुरी छ ।

बाबुको काजकिरिया छोट्याएकोमा ५० हजार जरिवाना
नेता यादवले बाबु विश्वनाथको मृत्युकर्म छोट्याएर भोजभतेर नगरेको भन्दै जातीय समाजले उनलाई ५० हजार जरिवानासमेत गरेको थियो । जरिवाना गरिएको पैसाले भोज गर्नुपर्ने गाउँलेको अडान रहे पनि यादवले भने सो पैसा अक्षयकोषमा जम्मा गरे । त्यसपछि गाउँले झन् आक्रोशित हुन पुगे ।

फरक धार बोक्दै आएका यादव गाउँलेको दबाबका बाबजुद पनि रुढिवादी परम्परालाई तोड्न लागेका छन् । दुई आमा र बाबुको काजकिरिया छोट्याएर भोजभतेर नगर्दा सामाजिक बन्धनमा परे पनि परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । ‘समाजका अगुवाहरूले नै रुढीवादी परम्परालाई तोड्नुपर्छ,’ यादव भन्छन्, ‘आर्थिक भार पर्नेगरी हुने भोजभतेरको अन्त हुनुपर्छ । शैक्षिक स्थित उकास्न लगानी लगाउन जरुरी छ ।’ यो समाचार नयाँ प्रत्रिकाबाट साभार गरिएको हो ।

रेशम चौधरी बिरामी, साङ्लोमा बाँधेर उपचार हुँदै

काठमाडौं, असार ६ । कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका चौधरी बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष–विपक्षमा टिप्पणी सुरु भएको छ। कतिपयले रेशम नरसंहरमा दोषी भएर कर्तव्य ज्यानमा सजाय भोगिरहेकाले नेल लाउनु अनौठो नभएको बताएका छन्। उनका समर्थकले भने निर्वाचित सांसदको खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेका छन्। लामो समयदेखि हाडजोर्नी सम्मबन्धी समस्या झेलिरहेका उनी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए। तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको हो।

गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत छः मन्त्री अर्याल

काठमाडौं, असार ६ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताएकी छिन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, “सरकारका तर्फबाट एउटा सङ्कल्प व्यक्त भइसकेको छ, हाम्रो धर्म, परम्परा, मान्यता र मठमन्दिरसँग जोडिएको मर्म एवं भावनानुकूल काम गर्न सरकार कति पनि विचलित छैन ।” अर्को प्रसङ्गमा उनले देशको आफ्नै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भइसकेको बताउँदै भनिन्, “३३५ वटा स्थानीय तहको नापनक्शा गर्ने काम भूउपयोगका माध्यमबाट भइसकेको छ, बाँकीको छिटोभन्दा छिटो पूरा गरिनेछ ।” सरकार भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न प्रतिबद्ध छ भन्दै उहाँले एक लाख ५२ हजार भूमिहीन घरपरिवारलाई जग्गा वितरण गरिसकिएको तथा मुक्तहलिया र कमैयाको हकहितका पक्षमा काम गरिने बताइन् । सरकारी र सार्जजनिक जग्गाको संरक्षणका लागि समिति गठन गरिसकिएको र मुलुकका ६६ मालपोत कार्यालयमा कम्प्युटरका माध्यमबाट काम शुरु भइसकेको उनले जानकारी दिइन् । मोहियानी हकलाई स्थापित गर्ने सन्दर्भमा कानून बनाउनेतर्फ सरकार अघि बढेको बताउँदै उनले गरीब लक्षित कार्यक्रमलाई सबैभन्दा पछि परेको समुदाय र स्थानबाट शुरु गरिने बताइन् । भूउपयोग ऐनमार्फत चक्लाबन्दी शुरु भएको र त्यस्तो काममा लाग्नेलाई प्रोत्साहन गर्ने काम भइरहेको बताउँदै उनले भूउपयोगलाई व्यवस्थित गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गरिने बताइन् । भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया, हलिया, हरवाचरवा, कम्लहरीलगायत पिछडिएका र सीमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुर्याउने विषयलाई विशेष प्राथमिकता दिइने बताउँदै उनले समान प्रकृतिका सहकारीलाई एकीकृत गर्ने काम शुरु भइसकेको जानकारी दिइन् । मन्त्री अर्यालले भनिन्, “आधुनिक नापनक्शाका प्रविधि अवलम्बन गरी शुद्ध, विश्वसनीय नापजाँच, भूसूचना उत्पादन र वितरण, जग्गा प्रशासनलाई सरल, सहज, पारदर्शी तुल्याई कम्प्युटर अनलाइन प्रविधिबाट सेवा प्रवाह सुनिश्चित गरिने छ । सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, संवद्र्धन र विकास गर्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले आधुनिक प्रविधियुक्त जनशक्ति विकासमा पनि जोड दिइने बताइन् ।

नेपाली भाषामा मोदीले दिए प्रधामन्त्री ओलीलाई धन्यवाद

काठमाडौं, असार ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योग दिवस सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासो र सक्रियताका लागि धन्यवाद दिएका छन् । सरकारकै आयोजनामा योग कार्यक्रम सम्पन्न भएलगत्तै मोदीले ट्वीटमार्फत समकक्षी ओलीलाई धन्यवाद दिएका हुन् । नेपाली भाषामा लेखिएको ट्वीटमा भनिएको छ, ‘योगको विशिष्टतालाई उजागर गर्नुको साथै व्यक्तिगत उपस्थित भई योग दिवश कार्यक्रमलाई सुशोभित गर्नुभएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’ यसअघि प्रधानमन्त्री केपी ओलीले ट्वीटमार्फत नै देशवासीका नाममा शुभकामना दिनुभएको थियो । ओलीको शुभकामना यस्तो छ, ‘प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस् ।’ संयुक्त राष्ट्रसंघ महासभाले भारत सरकारको प्रस्तावमा जून २१ लाई विश्व योग दिवसको रुपमा स्वीकृति प्रदान गरेको थियो । भारतको प्रस्तावलाई नेपाल सरकारले तत्काल समर्थन जनाएको थियो ।  

नक्कली प्रमाणपत्र बनाउने २ जना पक्राउ

चितवन, असार ६ । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् । भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । उनीहरुले सो पसलबाट विद्यालय तथा क्याम्पसहरुको नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पराजुली र पौडेललाई बिहीबार पक्राउ गरेको हो । नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र तीन थान प्रिन्टरसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखितसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असार १० गते विप्लव नेकपाको बन्द (विज्ञप्तिसहित)

काठमाडौं, असार ६ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको छ । असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुस् विज्ञप्ति

चिनियाँ राजदूत ट्विटरमा

काठमाडौं असार ६ । नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले सामाजिक सञ्जाल ट्विटर अकाउन्ट खोलेकी छिन् । ट्विटरले नेपालको नीति निर्माण तथा राजनीतिक बहसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्दर्भमा चिनियाँ राजदूत ट्विटरमा आएकी हुन् । काठमाडौंस्थित चिनियाँ दूतावासले राजदूतको ट्विटर ह्यान्डल सार्वजनिक गर्दै दूतावासका गतिविधिका लागि त्यससँग जोडिन आग्रह गरेको छ। उनको ट्विटर ह्यान्डल @PRCAmbNepal रहेको छ। काठमाडौंस्थित अमेरिका, भारत, युरोपेली मुलुकका दूतावास एवं राष्ट्रसंघीय नियोगहरु ट्विटरमा छन् । उनीहरुले नेपालका आर्थिक, सामाजिक तथा राजनीतिक बहसलाई ट्विटरबाट नियाल्ने गरेका छन्। आफ्ना गतिविधि पनि ट्विटरमार्फत् मिडिया एवं सर्वसाधारण समक्ष पुर्ययाउँदै आएका छन् । कतिपय अवस्थामा सञ्चारकर्मी एवं सर्वसाधारणका सावलको ट्विटरबाटै जावफ समेत दिने गरेका छन् । चिनियाँ दूतावास भने अहिलेसम्म अमेरिका केन्द्रित सामाजिक सञ्जाल ट्विटरमा थिएन । राजदूत यानछीले पहिलो ट्विट बिहीबार भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी एउटा कार्यक्रमबारे गरेकी छिन्। ‘बीआरआई अन्तर्गत रहेर चीनले छिमेकी एवं दक्षिण एशियाली मुलुकको सामाजिक तथा आर्थिक विकास गर्न सहयोग गर्नेछ’, उनले भनेकी छिन् । Glad to attend the Fourth International Conference on Belt and Road for Development and Prosperity of South Asia. China will further enhance cooperation under BRI to promote the economic and social development with neighbors including South Asian countries @PradeepgyawaliKpic.twitter.com/VOmkL4dRjv — Ambassador Hou Yanqi (@PRCAmbNepal) June 20, 2019  

उत्पादनमा कमी आएपछि आँपको मूल्यमा दोब्बरले वृद्धि

उदयपुर, असार ६ । आँपको उत्पादनमा कमी आएपछि मूल्यमा दोब्बरले वृद्धि भएको छ। यो वर्ष उदयपुर लगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको हो । पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्य वृद्धि भएको आँप उत्पादक व्यावसायिक कृषक र व्यापारी बताउँछन्। गतवर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु ४० देखि ५० सम्म रहेको थियो । यो वर्षको सोही समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु १०० देखि १२५ रहेको गाईघाटका आँप व्यापारी रामजी साहले बताए । गाईघाटका अर्का आँप व्यापारी दुर्गेस दासले अहिले बोटमा नै काँचो आँपको मूल्य प्रतिकिलो रु १०० भन्दा बढी पर्ने गरेको बताए । ‘यस पटक हावाहुरी र असिनाले चैतमा धेरै आँपका चिचिला खसाल्यो, प्रायः आँपका बगानमा २५ प्रतिशत आँपमात्र बाँकी रहेको छ, अब सस्तो मूल्यमा बिक्री गर्न नसकिने अवस्था छ’, चौदण्डी नगरपालिका–३ हँडियाका व्यावसायिक आँप उत्पादक कृषक धीरेन्द्र चौधरीले भने। यसपटक फागुनको अन्तिम हप्ता र चैतको पहिलो हप्तामा नै हावाहुरी र असिनाले फल लाग्दै गरेको आँपमा ठूलो क्षति पुर्याएकाले आँप उत्पादक कृषकले ठूलो घाटा व्यहोर्नु परेको त्रियुगा नगरपालिका–१ जोगीदहका अमर खड्काले बताए । खड्काले भने, ‘व्यापारीले बाहिरबाट रासायनिक पदार्थ मिसाएर ल्याएको आँप अहिले बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको हामीले सुनेका छौँ, तर हामीले उत्पादन गरेको आँप आर्गेनिक आँप भएको कारण घाटा व्होरेर सस्तोमा बिक्री गर्न सक्दैनौँ ।’ आँप उत्पादक कृषकले नै आँपको मूल्य सस्तोमा बिक्री गर्न नसकिने भनेपनि यस पटक उदयपुर लगायतका स्थानमा काँचो आँपको मूल्य नै महँगो पर्न थालेको उपभोक्तासमेत बताउँछन्। यसवर्ष आँपको मूल्य गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको चौदण्डीगढी नगरपालिका–२ बेल्टार बजारका कुमार परियारको धारणा छ। काँचो आँपको मूल्य नै प्रतिकेजी रु १०० पर्न थालेपछि यसपटक ग्राहकले आँप किनेर खान निकै महँगो पर्ने अवस्था आएको गाईघाट बजारका स्थानीय राजकुमार राउतको भनाई छ। उदयपुर जिल्ला बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेस्वरी, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा त्रियुगा नगरपालिकाको जोगीदह, मोथ्याई, विषणपुर, पोर्ताह, बगाहा, श्रीपुर क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको छ। यस्तै जिल्लाको पहाडी क्षेत्रको पञ्चावती दनुवारबेसी र कटारीको त्रिवेणी, रिस्कु क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। उदयपुरमा झण्डै १५० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। रासस

पशुपतिको गुरुयोजना निर्माण गर्न निर्देशन

काठमाडौँ, असार ६ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपति क्षेत्र विकास कोषलाई तत्काल पशुपति क्षेत्र विकास गुरुयोजना निर्माण गर्न निर्देशन दिएको छ । बिहीबार आयोजित समितिको बैठकमा समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले कोषलाई यस्तो निर्देशन दिएकी हुन् । पशुपति क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक महìव कायम राख्दै यसको निर्माण, पुनःनिर्माण, संरक्षण र विकासमा ध्यान दिनुपर्ने सुझाव पनि समितिले कोषलाई दिएको छ । पशुपति क्षेत्रसँग सम्बन्धित भेटी एवं आर्थिक कारोबार, कूल सम्पत्ति (नगद तथा जिन्सी) सार्वजनिक गर्नुपर्ने र यस क्षेत्रको स्वामित्वमा रहेका जमिनको आम्दानीलाई समयानुकूल पुनः मूल्याङ्कन गरी लागू गर्न पनि समितिले निर्देशन दिएको छ । पशुपति क्षेत्रको सम्पूर्ण जमिनको नापनक्सा गरी कोषलाई जग्गा धनीपुर्जा बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । यसैगरी पशुपति क्षेत्रको पर्यावरणीय संरक्षण र विकासका लागि बागमती नदी, श्लेषमान्तक वन शिवपुरी र नगार्जुन क्षेत्रको संरक्षण र विकासमा पर्याप्त ध्यान दिई उचित व्यवस्थानका लागि पनि दिर्नेशन दिइएको छ । बैठकमा सांसदहरूले पारदर्शी बन्दै पशुपतिको मूल ढुकुटी खुलाउनुपर्ने धारणा व्यक्त गरेका थिए । समितिका सभापति थापाले पशुपति बाँदर, साँढे, गाई, मृग व्यवस्थानको समस्या, विद्युतीय शवदाह गृहको अवस्था र मूल ढुकुटीका विषयमा चासो व्यक्त गरेका थिए । सांसद् खिमलाल भट्टराईले बागमतीविनाको पशुपति कल्पना गर्न नसकिने चर्चा गर्दै भने– ‘बागमतीको रक्षा गरौँ । यसका लागि श्लेषमान्तक वन, शिवपुरी र नागार्जुनको पनि रक्षा हुनुपर्यो ।” सांसद् सुरेन्द्रराज पाण्डेले बागमतीको संरक्षणका लागि सुन्दरी जल र शिवपुरीका डाँडामा भौतिक संरचना बनाउन नहुने धारणा व्यक्त गर्दै भने, “डाँडाकाँडामा पनि संरचना बनाउने पर्यटन, विकास र उपयोग गर्ने नाममा गम्भीर ध्यान जानुपर्छ ।” पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले मूल मन्दिरको संरचनाको अवस्थाबारे प्राविधिक जाँच नभएको बताए । उनले भने, “भित्री स्वरूपको अवस्थाबारे थाहा छैन ।” संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले पशुपति क्षेत्र विकास कोषको विकासका लागि नीति तथा कानुन, संरचना, प्रक्रिया निर्माण पर्यावरण र गुरुयोजनाका सम्बन्धमा समयसीमा तोकेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

त्रिवि रजिस्ट्रारको मनपरीः आफ्नो बढुवा आफैंले

काठमाडौं, असार ६ । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् । पदमा बस्यो, नियम आफू अनुकुल बनायो अनि बढुवा भइहाल्यो । लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ । त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन् । सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन् । यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकुल नियम परिवर्तन गरेर बढुवा भएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

चारवटा मोबाइल भ्यान किन्दा २४ करोड भ्रष्टाचार

काठमाडौं, असार ६ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले खाद्य गुणस्तरको अनुगमन प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २४ करोड बजेटमा चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा टेन्डर आह्वान गरेका थिए । दक्षिण एसियामै पहिलोपटक यस्तो भ्यान खरिद गरिएको भनेर प्रचारसमेत भयो । तर, भ्यानमार्फत अनुगमन र परीक्षण भने हुन सकेन । किनकि ल्याबका सामान गुणस्तरहीन थिए । त्यसलाई लामो समय थन्क्याएर राखिएको थियो । आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, शाखा अधिकृत भगीरथ आचार्य र नायब सुब्बा गुरुदत्त गौतमविरुद्ध मुद्दा दर्ता गरेको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटारस्थित लेखाका उपसचिव गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेलविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूलाई प्रतिव्यक्ति १२ करोड ४० लाख ४७ हजार पाँच सय ५८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटारका तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी र वरिष्ठ योजना अधिकृत तिलकराज चौलागार्इंविरुद्ध आठ करोड २६ लाख ९८ हजार तीन सय ७२ रुपैयाँ बिगो दाबी गरिएको छ । परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध चार करोड १३ लाख ४९ हजार एक सय ८६ रुपैयाँ माग दाबी गरिएको आयोगले जनाएको छ । आयोगले भ्यान आपूर्ति गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका आधिकारिक प्रतिनिधि प्रवीण कुँवरलाई २४ करोड ८० लाख ९५ हजार एक सय १६ बिगो माग दाबी गरेको छ । प्रधानमन्त्रीकै नामको योजनामा बढ्दो भ्रष्टाचार प्रधानमन्त्री केपी ओलीले ठूला परियोजनाको अनुगमन आफैँ गर्ने तयारी गरिरहेका छन् । तर, प्रधानमन्त्रीकै नाममा सञ्चालित कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार बढ्दो छ ।यसअघि नै यही परियोजनामा अख्तियारले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ भने केही उजुरीमा छानबिन गरिरहेको छ । गत ९ जेठमा मात्र अख्तियारले साबिकको जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा र लेखापाल सत्यनारायण सहनीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जमा सबइन्जिनियर पदमा कार्यरत रहेका राकेशकुमार महतो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ ९तरकारी जोन० पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरी, नितु कन्स्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादवविरुद्ध मुद्दा दर्ता भएको थियो । कृषि विकास अधिकृत सिन्हा, लेखापाल साहनी र सबइन्जिनियर महतोविरुद्ध एक लाख ४७ हजार तीन सय दुई रुपैयाँ बिगो दाबी गरिएको थियो । आर्थिक वर्ष ०७४÷७५ को बजेटमा कार्यालय प्रांगणमा निर्माण तथा मर्मत कार्य गर्दा लागत अनुमान टुक्र्याइ व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्राटुक्रा पारी कोटेसनबाट काम गराई अनियमितता भएको थियो । न्यून गुणस्तरको सामान प्रयोग गरी रङरोगन गरेको साथै प्राविधिकबाट जाँच गराई नक्कली ठेक्कासम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन र नापी किताब बनाएर भुक्तानी दिइएको थियो । अनुसन्धानबाट सबइन्जिनियर महतोले अनधिकृत रूपमा डिभिजन कार्यालय पर्साको नक्कली लेटरहेडमा नक्कली छाप बनाएर हस्ताक्षर गरी कार्यसम्पादन प्रतिवेदन बनाएको खुलेको छ । तरकारी जोन पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदानको रकम वितरण गर्दा भर्पाइमा अंक थप्ने, सच्याउने एवं कम रकम वितरण गरी बढी रकमको भर्पाइ बनाएका थिए । निर्माण व्यवसायी रामलाल राउत कुर्मी र सन्नी यादवले लागत अनुमान, कार्यसम्पन्न प्रतिवेदनलगायत कागजातमा डिभिजन कार्यालय पर्साको हेडर र छाप प्रयोग भएको नक्कली कागजात तयार पारेका थिए ।त्यस्तै, गत वर्ष २ भदौमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुपरजोन ९गहुँ० कैलालीका परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादव घुुससहित पक्राउ परेका थिए । कमिसनको लोभमा कमसल ल्याब खरिद, दाखिला नगरी भुक्तानी मोबाइल ल्याबलाई कार्यालयमा दाखिला नगरी भुक्तानी दिइएको थियो । सम्झौताभन्दा एकदमै कमसल ल्याब खरिद गरेर भ्रष्टाचार गरिएको निष्कर्षका आधारमा आयोगले मुद्दा दायर गरेको हो । ‘कृषि अनुसन्धानका क्रममा प्रयोग हुने ‘वेल इक्विप्ड ल्याबरोटरी मोबाइल भ्यान’ खरिद गर्दा नियम–कानुनलाई आफूअनुकूल प्रयोग गरी कमिसन खाई भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र विभागको नाममा कायम भएका भ्यान र सोको विभिन्न पार्टस्, सरसामान, उपकरण तथा रसायनसमेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसनअनुसार नभेटिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । यस सम्बन्धमा चेकजाँच गरी गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेतलाई बेवास्ता गरी सप्लायर्ससँगको मिलेमतोमा अनियमितता भएको थियो । प्राविधिक प्रतिवेदनमा सो ल्याब खरिद गर्न नहुने बताइएको थियो । तर, कमिसन खाएर ल्याब खरिद गरिएको थियो । त्यो कमिसन विभाग र परियोजनाका कर्मचारीले बाँडेका थिए । के हो कृषि आधुनिकीकरण परियोजना  ? कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७३र७४ देखि यो परियोजना सुरु गरिएको हो । १० वर्षको अवधि तोकिएको यो परियोजनाको खर्च एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ छ । पकेट, ब्लक, जोन र सुपरजोन गरी कृषकलाई अनुदान, परामर्श, बिउबिजन, कृषि औजार दिनेलगायत काम परियोजनाले गर्दै आएको छ । तर, परियोजनाभित्रको अनियमितताले काम प्रभावकारी हुन सकेको छैन । प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयमातहत सञ्चालित परियोजनामै अत्यधिक भ्रष्टाचार देखिएको अख्तियारका अधिकारीले जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नक्कली डीएसपी प्रहरीको फन्दामा

काठमाडौं, असार ५ । आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी गर्दै हिँड्ने एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले बौद्धको नयाँबस्तीबाट नारायण भनिने भोला गौतमलाई पक्राउ गरेको हो । पक्राउ परेका गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोवाइलमा राखेर विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिने गरेका थिए । साथै उनले सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाइँलाई हातपात गरेको, लछार(पछार गरेर अभद्र व्यवहार गरेको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।

५ दिनभित्र २ युवतीले नारायणी नदीमा हाम फाले

भरतपुर, असार ५ । चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छन् । पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यसअघि यही असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।

आजदेखि मनसुन शुरु, देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडौं, असार ५ । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ । साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ । साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थानविशेषको लामो समय (करीब ३० वर्ष) को औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ ।

विप्लव समूह र प्रहरीबीच भिडन्त, जिल्ला इन्चार्जको मृत्यु

काठमाडौं, असार ५ । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताए । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा टेम्पो दुर्घटना, ५ जना गम्भीर घाइते

ओखलढुंगा, असार ५ । टेम्पो (अटो) दुर्घटना हुँदा ओखलढुंगा ५ जना गम्भीर घाइते भएका छन् । रुम्जाटारबाट सदरमुकाम तर्फ आउँदै गरेको को २ ह ४९०० नम्बरको टेम्पो ओखलढुंगारुम्जाटार सडकबाट करिब ५० मिटर तल झरेर ढुंग्रे जाने सडकमा पुगेर दुर्घटना भएको हो । सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन आउँदै गरेका रुम्जाटार माविका विद्यार्थीहरु दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख पुषपराज मल्लले जानकारी दिए । दुर्घटनामा चालक सहित ५ जना घाइते भएका छन् । युवराज कट्वाल, खड्ग नारायण श्रेष्ठ, भरत राई, फुरि शेर्पा र चालक सानुराम दाहाल घाइते भएका हुन् । उनीहरुको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये खड्ग नारायण श्रेष्ठको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताए । सामुदायिक अस्पतालमा उपचार सम्भव नभए हेलिकप्टर मार्फत काठमाडौं पठाइने सांसद अम्बिरबाबु गुरुङले बताए । सांसद गुरुङ उपचारत विद्यार्थीको अवस्था बुझ्न अस्पताल पुगेका छन् ।