उपकुलपतिले घुस लिए, भतिजाले राखे

काठमाडौं, असार २८ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले बिहीबार घुसबापत आठ लाख रुपैयाँ आफैले बुझेका थिए । उनले पैसा बुझेपछि भतिजा डा. रामहरि रौनियारलाई बोलाए । मेडिकल अफिसरको रुपमा कार्यरत डा. रामहरि पैसा लिएर निवासतर्फ गए । उनी करिब साढे चारबजेतिर पैसा निवासमा राखेर पुनः बुलेट बाइक चढेर उपकुलपति कार्यालय प्रवेश गरेका थिए । लगत्तै अख्तियारको टोलीले छापा मारेको थियो ।

अख्तियार टोलीले पक्राउ गरेर लगेपछि डा। रामहरिको बुलेट बाइक शुक्रबार पनि उपकुलपति कार्यालयअघि बेवारिसे अवस्थामा छ । काका उपकुलपति भएपछि प्रतिष्ठानमा उनको अनावश्यक सक्रियता र हस्तक्षेप बढेको भन्दै चर्चा र असन्तुष्टि व्याप्त थियो । प्रतिष्ठानमा थुप्रै भौतिक संरचनाहरु निर्माणाधिन छन् । प्रतिष्ठानको भवन निर्माण तथा मेसिन खरिदका बेला करोडौँ घोटाला हुने गरेको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

घूस लिँदै, प्रमाणपत्र दिँदैः पनिकाका अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं, असार २४ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको छ । उनीसहित भक्तपुर क्याम्पस, दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परीक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ । कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थपाएर प्रमाणपत्र लिएका थिए । उनी अधिवक्तासमेत हुन् । परीक्षाको परिणाममा फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच ४ लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ । कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन् । स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो । ‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले अरू परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई सन् २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो ।’ ग्रामीण विकासमा पनि नम्बर थप्न लगाएर कोइरालाले प्रथम श्रेणीको प्रमाणपत्र लिएका छन् । उनले सामाजिक शास्त्रतर्फ अनुपस्थित रहेको विषयमा समेत कर्माचार्यबाट अंक थपाएर उत्तीर्णको शैक्षिक प्रमाणपत्र लिएका हुन् । कर्माचार्य र कोइरालाबीचको मिलेमतोमा तीन संकायका १५ वटा विषयमा ३ नम्बरदेखि ५० नम्बरसम्म थपिएको छ । अख्तियारको अनुसन्धानमा तिनै कोइरालाले अर्का परीक्षार्थी भट्टराईको प्रमाणपत्रमा समेत अंक थपाएको भेटिएको छ । प्रमाणपत्रमा नम्बर बढाउन कोइरालाले १ लाख ५० हजार र भट्टराईको नम्बर थपेका प्रमाणपत्र लिन ३ लाख रुपैयाँ घूस लेनदेन गरेका थिए । भट्टराईसँग ३ लाख घूस लिएर उनले गोप्य शाखाका प्रमुख कर्माचार्यलाई नम्बर थप्न लगाएका हुन् । भट्टराईलाई अर्थशास्त्रको स्नातकोत्तर तहका ५ विषयमा १०–१० अंकका दरले ५० नम्बर थपिएको हो । भट्टराईसँग लिएको रकम कोइरालाले कर्माचार्यलाई दिएर नम्बर थपाएको अख्तियारले जनाएको छ । भट्टराई बानेश्वर बहुमुखी क्याम्पसका प्रशासनिक अधिकृत हुन् । जथाभावी नम्बर थपेर शैक्षिक प्रमाणपत्र जारी गरेको आरोपमा अख्तियारले कर्माचार्य र कोइरालालाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो । कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका छन् । तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । छानबिनका क्रममा उनीहरूमार्फत भट्टराईले समेत नम्बर थपेर प्रमाणपत्र लिन सफल भएको देखिएको हो । कर्माचार्यले कोइरालामार्फत घूस लिएर अरू परीक्षार्थीको पनि प्रमाणपत्र जारी गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ । विषय शिक्षकबाट उत्तरपुस्तिका परीक्षण भएर आएपछि कम्प्युटरमा अंक चढाउने बेला गोप्य शाखाका अधिकृत कर्माचार्यले नम्बर थपिदिने गरेका थिए । यस विषयमा त्रिविले समेत आन्तरिक छानबिन गरेको थियो । परीक्षकले मार्कस्लिपमा दिएको नम्बर कम्प्युटरमा इन्ट्री गराउने बेला अंक बढाएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

‘मोस्ट वान्टेड’ बादशाह पक्राउप्रति नेकपाद्वारा आपत्ति

कपिलवस्तु, असार २४ । प्रहरीको रेकर्डमा ‘मोस्ट वान्टेड’ नसिम अहमद खाँ ‘बादशाह’ लाई पक्राउ गरिएकामा नेकपा जिल्ला कमिटीले आपत्ति जनाएको छ । दलका जिल्ला अध्यक्ष झविलाल पोखरेल र सचिव रामचन्द्र शाहले विज्ञप्ति जारी गरेर उनलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । मायादेवी गाउँपालिका–४ का उनी पिपराको पार्टी संगठित सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ । उनीसहित तत्कालीन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य) समूहका सबैले नेपालको संविधान स्वीकार गरेका थिए । उनीहरूले हतियार बुझाएर सरकारसँग सम्झौता गरी सामान्य जीवन बिताउने इच्छा जाहेर गरेका थिए । सरकारद्वारा गठित आयोग र समितिसमक्ष शान्तिपूर्ण जीवनयापन गर्ने धारणा राख्दै आएका बेला प्रहरीले पुराना राजनीतिक मुद्दा ब्युँताउनु दुःखद भएको विज्ञप्तिमा जनाइएको छ । ‘तत्काल सबै मुद्दा फिर्ता लिएर खाँलाई रिहा गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । उनी शनिबार बिहान काठमाडौंमा पक्राउ परेका थिए । प्रहरीले आइतबार तौलिहवामा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । ‘पार्टीको कार्यकर्ता बचाउने नीति हुन्छ,’ एसपी दीपशमशेर जबराले भने, ‘त्यसैको कडीस्वरूप विज्ञप्ति आएको हो ।’ प्रहरी रेकर्डमा उनीविरुद्ध धेरै मुद्दा रहेको जबराले जनाए । उनका अनुसार अदालतबाट वारेन्ट जारी गरिएकाले पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो । जिल्लास्थित अधिकारकर्मीले अपराध पुष्टि भएको खण्डमा कारबाही हुनुपर्ने बताएका छन् । ‘तराईमा सशस्त्र संघर्षरत समूहमा क्रियाशील रहेका बेला भएका घटना राजनीतिक थिए होलान्,’ अधिकारकर्मी रवि ठाकुरले भने, ‘तर, पछिल्ला घटना आपराधिक क्रियाकलापका हुन् ।’ नागरिक समाजका सल्लाहकार भक्तिराम पन्थीले आपराधिक क्रियाकलापमा संलग्न भएकाले कानुनअनुसार कारबाही हुनुपर्ने बताए । ‘नत्र समाजमा गलत काम गर्नेले प्रोत्साहन पाउँछन्,’ उनले भने, ‘समाजमा अराजकता बढ्छ ।’ नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईंले घटना विस्तृत रूपमा अध्ययन नगरेकाले छिटो बोल्नु हतार हुने बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कैलालीमा माइक्रोबसको ठक्करबाट महिलाको मृत्यु, राजमार्ग अवरुद्ध

कैलाली, असार २३ । राजीपुरमा माइक्रोबसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय चौमालाका इन्चार्ज विधुर चन्दका अनुसार गौरीगंगा नगरपालिका–४ राजीपुर चोकमा माइक्रोबसले किच्दा सोही ठाउँकी ५० वर्षीय गौरी नेपालीको ज्यान गएको हो । धनगढीबाट नेपालगञ्ज गइरहेको बा ५ ख ४०३१ नम्बरको माइक्रोबसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । माइक्रोबस र चालक राजु गिरी भने प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। स्थानीयहरूले मृतक परिवारलाई क्षतिपूर्तिको माग सहित राजमार्ग अवरुद्ध गरेका छन्।

रोपेको खेतमा कार दुर्घटना हुँदा ५ जना घाइते

सन्धिखर्क, असार २३ । अर्घाखाँचीमा एक कार दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, बिहार, मुगलिनबजारमा मे१६ ६३८१ नम्बरको अल्टो कार दुर्घटनामा परेको हो । कार मालारानी गाउँपालिका वडा नम्बर–४, सितबाट सन्धिखर्कतर्फ आउँदै थियो । दुर्घटनमा परी मालारानीका पाँचजना घाइते भएका हुन् । घाइते हुनेहरुमा कारचालक अशोक खड्का, भीमप्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र विकास भुसाल रहेका छन् । घाइतेमध्ये बिमलालाई थप उपचारका लागि भैरहवा ‘रिफर’ गरिएको छ । अरु घाइतेको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भइरहेको छ । कार सडकबाट हुत्तिएर नजिकको खेतमा पुगेको थियो । तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते चालक खड्का प्रहरीको निगरानीमा उपचाररत् छन् । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । उक्त क्षेत्रमा बाटो पिच भएकाले गाडीहरु ‘ओभर स्पीड’मा गुड्दा दुर्घटना हुने गरेका छन् ।

प्रकाश दाहालको योगदान युवा पुस्ताका लागि प्रेरणादायीः मन्त्री मगर

पोखरा, असार २३ । संघीय सरकारका खानेपानी मन्त्री बिना मगरले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताएकी छिन् । सोमबार पोखरामा आयोजित प्रकाश दाहाल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै मन्त्री मगरले उक्त कुरा बताएकी हन् । प्रकाश दाहालको ३८ औं जन्म जयन्तीको सन्दर्भ पारेर अनेरास्ववियू (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरञ्चौर, कास्कीले उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा कास्की जिल्लाका विभिन्न फुटबल क्लवहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा स्थानीय पहिचान र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘शारीरिक र मानसिक स्वास्थ्यका लागि खेल अति आवश्यक छ। खेलले मानिसलाई ऊर्जा र स्फूर्ति मिल्छ। खेल क्षेत्रमा गरिने लगानीले राज्यका सबै क्षेत्रलाई स्वस्थ र गतिशील तुल्याउँछ। खेलका लागि राज्यले पनि आफ्नो लगानी बढाउन जरुरी छ।’ मन्त्री मगरले नेकपाका युवा नेता प्रकाश दाहालले वामपन्थी आन्दोलन, सामाजिक जागरण र खेलकूदका क्षेत्रमा गरेका योगदानहरुलाई स्थापित गरिने बताइन् । उनले भनिन्, ‘कमरेड प्रकाश दाहालको योगदान युवा पुस्ताका लागि निकै प्रेरणादायी छन्। हामी उहाँका योगदानहरु स्थापित गर्न चाहन्छौं। समाजमा रचनात्मक कार्यहरुमार्फत् जागरण र नयाँपनको प्रत्याभूति गर्न चाहन्छौं।’ सो अवसरमा प्रकाश दाहाल फाउण्डेशनका तर्फबाट आयोजकलाई एक लाख सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, पूर्वसभासद् तेजकुमारी पौडेल, विद्यार्थी नेता क्षितिज सापकोटा लगायतले सम्बोधन गरेका थिए ।

युवतीमाथि सिरिञ्ज प्रहार गर्ने व्यक्ति शिक्षक रहेको खुलासा

काठमाडौं, असार २३ । दुई जना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुलेको छ। बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ। उनलाई नजिकबाट चिन्‍ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी शान्त स्वभावका व्यक्ति हुन्। उनी वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ। शिक्षक पाठकलाई चारदोबाटो चोकबाट गाउँलेले पक्रेर बुझाएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी चौकीमा राखिएका उनले आफु कुनै घटनामा ‌संलग्न नभएको बताएका छन्। नेपाल आजबाट साभार

प्रचण्डद्वारा कान्तिकारी नेता अधिकारीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, असार २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आइतबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेता अधिकारीलाई सोमबार कुपन्डोलस्थित सो पार्टीको कार्यालय पुगी श्रद्धाञ्जली अर्पण गरेका हुन् । गत पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका अधिकारीलाई फोक्सोको क्यान्सर भएको थियो । केमो लगायतका उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा लगिएको पारिवारले जनाएको छ । वि.सं २०११ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मिएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका थिए । माओवादी पार्टी विभाजन आएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित छन् । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बनेका अधिकारी लोकप्रिय मत ल्याएपनि काँग्रेस उम्मेदवारसँग पराजित भएका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई अध्यक्ष प्रचण्डले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

परीक्षामा असफल शिक्षकलाई रकम दिएर बिदाई गर्ने नौलो अभ्यास लागू गरिएको होः शिक्षामन्त्री

काठमाडौं, असार २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताए । नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा राखेकाले कसैलाई पनि शिक्षाबाट वञ्चित हुन नदिन शिक्षाको विकासबाटै देशलाई विकासोन्मुखको अवस्थाबाट माथि उठाउने लक्ष्य रहेको मन्त्री पोखरेलले बताए । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनअनुसार सामुदायिक विद्यालय सुधारका साथै शिक्षा नीति बनाइएको जानकारी दिँदै उनले परीक्षामा असफल हुने शिक्षकलाई उचित रकम दिएर बिदाई गर्ने संसारकै नौलो अभ्यास गरिएको उल्लेख गरे । मन्त्री पोखरेलले बालशिक्षा र आधारभूत शिक्षालाई स्थानीय सरकारलाई नै जिम्मेवारी दिनेगरी काम अघि बढिसकेको र विगतको तुलनामा शिक्षामा लगानी वृद्धि गरिएको स्पष्ट पारे । उनले विगतको प्रतिबद्धताअनुरुप देशभर विभिन्न ३०० विद्यालय भवन निर्माण गरिनाका साथै स्वास्थ्य र शारीरिक विकासमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चान गर्ने तयारी रहेको बताए । शिक्षकको दरबन्दी मिलान गर्ने भनेर गठित कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्को कार्यालयमा पुगेको, विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारले लिएको, शिक्षक भर्ना गर्दा शिक्षणको गुणात्मकतामा जोड दिइएको, सात प्रदेशमा नमूना स्कूल निर्माण गर्ने र ७७ वटै जिल्लामा फरक क्षमताका बालबालिकाले पनि पढिरेहको अवस्था रहेको मन्त्री पोखरेलले बताए ।

पाटन औद्योगिक क्षेत्रबाट चन्दा उठाउँदै गरेका विप्लवका नेता पक्राउ

काठमाडौं, असार २३ । नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता पार्टीको मुखपत्र नौलो बिहानीका लागि चन्दा उठाइरहेका बेला ललितपुरबाट पक्राउ परेका छन् । प्रहरीले पाटन औद्योगिक क्षेत्रमा चन्दा उठाउँदै गरेका भोजपुरका रोशन देवान राईलाई पक्राउ गरेको हो । उनी जनवर्गीय संगठनको नेता भएको प्रहरीले जनाएको छ । प्रहरीले राईका साथबाट ८ हजार नगद र चन्दाको रसिद बरामद गरेको छ । राईलाई ललितपुर परिसरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कंकेश्वरीमा पुल बिग्रिएपछि आवतजावतमा समस्या

काठमाडौँ, असार २३ । काठमाडौं–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ। स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब ८ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो । उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार दैनिक हिँड्डुल गर्नुपर्ने सर्वसाधारण आवतजावतमा प्रभावित भएका कारण एक हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले बालुवा निकालेको स्थानका रूपमा लखः तीर्थलाई स्थानीयवासीले पवित्रस्थलका रूपमा लिन्छन् । रासस

नेपालगञ्जमा चक्रपथ, ५ वर्षदेखि अलपत्र

बाँके, असार २३ । करीब ५ वर्षअघि ‘सर्भे’ गरिएको नेपालगञ्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये ७ मिटर कालोपत्र रहने गरी सर्भे भएको चक्रपथ निर्माण अन्योलमै छ । चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा ‘फ्रिज’ हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्भे भएपछि निर्माण शुरु भएको थियो । सरकारले रु दुई करोड २० लाख शुरुमै विनियोजन गरेको थियो । रु एक करोड नौ लाख २७ हजार ४०० मा ठेक्का भएर ८२३ मिटर चौलिका चोक नजिक कालोपत्र भएको छ, जसमा निर्माण व्यवसायीले रु एक करोड ३ लाख ८३ हजार भुक्तानीसमेत लिइसकेको छ । सडक डिभिजनले प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न करोडौँ बजेट छुट्याउँदै आएको थियो । गत आवमा मात्रै रु सात करोड ४५ लाख बजेट चक्रपथ निर्माण गर्न विनियोजन गरिएको थियो । तर, चक्रपथको काम नहुँदा रकमान्तर गरी पुल निर्माणमा खर्च गरिएको छ । गत आर्थिक वर्षमा रु सात करोड ३५ लाख विनियोजन भएको थियो । तर चक्रपथ निर्माण योजना नै बन्द हुने देखिएपछि रकमान्तर गर्नुपरेको थियो । “सरकारले चक्रपथ निर्माणका लागि ठूलो स्तरमा बजेट विनियोजन गरेको छैन”, सानो स्तरको बजेटले काम गर्ने स्थिति नभएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणा बताउँछन् । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना मुख्य बाधक देखिएको र अन्यत्र क्षेत्रबाट चक्रपथ निर्माण गर्न जग्गाको मुआब्जा दिन नसकिने स्थिति देखिएपछि चक्रपथ योजना करीब अन्त्य भएको प्रमुख डा राणाले बताउँदै आएका छन् । चक्रपथ सिक्टा आयोजनाको नहरलाई आधार बनाएर सर्भे गरिएको थियो । तर, सिक्टाको नहर निर्माण सम्पन्न नभएकाले चक्रपथ निर्माणले गति लिन सकेन । “जनप्रतिनिधिका हैसियतले समन्वयकारी भूमिका खेल्न स्थलमै गएर अध्ययन गरें”, प्रमुख डा राणाले भने, “पहिलो बाधक सिक्टा देखिएको छ ।” चक्रपथ सिक्टा नहरको लाइनमा करीब ९० प्रतिशत क्षेत्रमा पर्छ । सिक्टाको पश्चिमतर्फको नहर निर्माणकार्य रोकिँदा त्यसको असर चक्रपथ निर्माणमा पनि परेको उनले बताए । यता, सडक डिभिजन कार्यालय बाँकेले नेपालगञ्ज चक्रपथको आयोजना अघि बढ्ने सम्भावना नभएको स्पष्ट पारेको छ । सिक्टाले बाटो दिन नमानेको र जग्गा अधिग्रहण गर्न मुआब्जा रकम नहुँदा चार वर्षअघि शुरु भएको चक्रपथ निर्माण बन्द हुने अवस्थामा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । रासस

श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या

सर्लाही, असार २३ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ कालिन्जोरमा पत्नीले बञ्चरो प्रहार गरी पतिको हत्या गरेकी छिन्। ५४ वर्षीय अम्बरबहादुर परियारलाई उनकी श्रीमती सोनामाया नेपालीले टाउको र ढाडमा बन्चरोले हानेर हत्या गरेकी सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए । मदिरा सेवन गरी झगडा गरेको रिसमा आफूले हत्या गरेको बयान नेपालीले प्रहरीलाई दिएकी छन्। हत्यामा प्रयोग भएको बन्चरो घटनास्थलबाटे बरामद गरिएको प्रहरीले जनाएको छ । छोराहरु कामका लागि बाहिर बस्ने गरेकाले घरमा पतिपत्नी मात्रै बस्दै आएका थिए ।

नेकपामा राजनीतिक दस्तावेजमा सहमति

काठमाडौँ, असार २३ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले एक वर्षदेखि थाँती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ । प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफलबाट दस्तावेजमा सहमति जुटेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा सहमति भएको र सोमबार नै प्रकाशनमा समेत जाने जानकारी दिएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ । एक वर्षदेखि पूर्णरूपले सहमति भएर पनि प्रकाशनमा नआएको राजनीतिक प्रतिवेदन टुङ्ग्याएका छौँ र भोलि प्रकाशनमा जाँदै छ ।’ उनले भने, ‘राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, सिद्धान्त, सङ्गठनात्मक नीति र विधि कुन आधिकारिक हो, कुन नेताले के भनेको हो, कुन पार्टीको लाइन हो, कुन होइन त्यसमा ‘कन्फ्युज’ थियो । त्यो ‘कन्फ्युजन’ हटेको छ ।’ उनले राजनीतिक दस्तावेज प्रकाशन भएर सबैको हातहातमा जाने बताउँदै सबैले अध्ययन गरेपछि आएको प्रतिक्रियाका आधारमा पुनः सच्याउन सकिने धारणा राखे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुन लाग्दा एकीकरणको मूल दस्तावेज राजनीतिक प्रतिवेदन तयार गर्न तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाएपछि त्यसैको आधारमा जेठ ३ गते एकता घोषणा भएको थियो । त्यति बेला पनि राजनीतिक दस्तावेजमा केही असहमति थियो तर पछि मिलाउँदै जाने भन्दै एकीकरण घोषणा भएको थियो । एकीकरण भएको एकवर्ष बित्दा पनि राजनीतिक प्रतिवेदन प्रकाशनमा नआउँदा पार्टी पङ्क्तिबाटै आवाज उठ्न थाल्यो । त्यसपछि पार्टीको बैठकमा प्रतिवेदनको बारेमा कार्यसूचीकै रूपमा बहस हुन थाल्यो । जेठ २० देखि २२ गतेसम्म बसेको पार्टीको सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन विषयमा टुङ्गो लगाउने प्रयास भएको थियो । तर, त्यहाँ सहमति बन्न नसकेपछि अध्यक्षद्वय ओली र प्रचण्डलाई बैठकले जिम्मेवारी सुम्पेको थियो । झन्डै एक महिनाको गृहकार्यपछि त्यसलाई उनीहरुले टुङ्ग्याएका हुन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन टुङ्गो लगाएर धेरै ठूलो काम भएको बताउँदै आउने महाधिवेशन पार्टीको एकता महाधिवेशन हुने बताए । महाधिवेशनबाट हुने नेतृत्व चयनलगायतका अन्य गतिविधि सबै सहमतिमा हुने प्रस्ट पार्दै उनले महाधिवेशनपछि जरुरी पर्दा पार्टीभित्र प्रतिस्पर्धा हुनसक्छ तर महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पारे । उनले पार्टी एकीकरण हुँदा नै यस्तो सहमति भएकोसमेत स्मरण गराए । उनले पार्टीको एकता अझै पूर्ण नभएको, अझै सङ्क्रमणकालीन अवस्थामा रहेको चर्चा गर्दै कर्मचारीको यो एकता महाधिवेशनले एकीकरण टुङ्ग्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे । गोरखापत्रदैनिकबाट

पञ्चदेवल विनायक नगरपालिकाका महिलालाई घरेलु सेनिटरी प्याड उत्पादन तालिम

अछाम, असार २३ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीनदिने तालिम आइतबारदेखि सुरु भएको हो । छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई ९ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावारी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ । नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । पत्येक समूहमा तीन–तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देवकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे । त्यसैगरी, नगर उप–प्रमुख अम्बिका चलाउनेले पहिले पनि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा गरेको र यसपटक संवाद डबलीसँगको सहकार्यमा भएको तालिमपनि फलदायी हुने विश्वास लिएको बताइन् । २१ औं शताब्दीमा पनि अन्धविश्वास तथा लाजको विषय बनाएर अव्यवस्थित महिनावारीबाट महिलाहरु पीडित हुनु दुःखत विषय भएको धारणा राखिन् । आफुले पनि विगतमा यस्तो समस्या भोगेको स्मरण गर्दै भनिन् ‘यही सामाजिक परिवेशको कारण मानसिक तथा शारीरिक ठूलो प्रताडन भोगेको थिएँ, तर अहिले यसमाथि मलगायत धेरैले विजय प्राप्त गरेका छौं । अब देशबाटै छाउपडी समस्या उन्मुलन गर्नुपर्छ ।’ चलाउनेले विगतका तालिमको उपलब्धिको कारण कयौं महिला यस समस्याबाट मुक्तमात्रै नभएर प्याड ब्यवसायबाट उद्यमशील पनि भइसकेको जानकारी दिइन् । संवाद डबलीका सचिव धनन्जय बुढाले संचार माध्यम र सरोकारवाला पक्षको सहकार्यमा सामाजिक समस्याको समाधानको प्रयासले छिटो सफलता प्राप्त गर्ने धारणा राखे । सो तीनदिने तालिमकी प्रमुख प्रशिक्षक मिना विष्टले विगत लामो समयदेखि महिनावारी व्यवस्थापन तथा सामाजिक जनचेतनाको क्षेत्रमा काम गर्दै आएको अनुभवसहित सहभागी प्रशिक्षार्थीहरुलाई उद्यमशील बन्न आह्वान गरिन् । उनले छाउपडी समस्याको हलमात्र खोज्नेभन्दा यसैमाथि टेकेर उद्यमशील बन्न सकिने सम्भावना रहेको जानकारी दिइन्। कार्यक्रमा ८ नं. वडाध्यक्ष ताराप्रसाद खनाल, नगरका प्रशासकीय अधिकृत लक्ष्मीकान्त बजगाईलगायतको उस्थिति रहेको थियो। समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।

हुम्लामा अनौठो प्रथा, अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

सिमकोट, असार २३ । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ । “विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् । बुवाले एकसरो सबै व्यवस्था गरिदिए । दुःखजिलो गरेर बसेकी छु”, लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाइन् । बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उनको भनाइ छ । त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् । त्यो कसरी रु प्रश्न उठ्न सक्छ । घरमा श्रीमती भएकी अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन् । तामाङ भन्छीन्, “अर्की छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ । ” धनीका बाआमाका लागि त अविवाहित छोरीको व्यवस्था गर्नु सहजै होला तर गरिब परिवारलाई भने निकै बोझिलो भएको उनको तर्क छ । तर, समाजले यसलाई सहर्ष स्वीकार गरेको छ । बुवाको आर्थिक अवस्था कमजोर भएका कारण जेनतेन गरिएको व्यवस्थामै निर्भर रहँदै आएकी तामाङलाई हालसम्म बेलाबखत आउने केटाले केही पनि सहयोग गरेको छैन । जीवन धान्नकै लागि बर्खामा ताक्लाकोट काम गर्न जाने गरेको पनि उनले बताइन् । तामाङजस्तै ३५ वर्ष उमेर पुगेकी लिमी जाङ्गकी नोरजिङ तामाङको पनि छोरा जन्मेको छ । बुवा केही हुनेखाने भएका कारण उनको व्यवस्था राम्रै छ । हालसम्म बुवाले व्यवस्था गरेको घरमा बस्दै आएकी नोरजिङका अघोषित श्रीमान् मन लागेका बेला भने आउने गरेका छन् । छोरा र आमालाई केही व्यवस्था गर्नु नपरेका उनका ती केटा मान्छे आउने, खाने र सुत्नेभन्दा अन्य केही पनि जिम्मेवारी लिँदैनन् । सामाजिक मान्यताअनुसार सबै कुरा स्वीकार गर्नु परेको नोरजिङको भनाइ छ । “के गर्नु, पहिले गल्ती भयो अब सहज रूपमै बस्नु पर्यो”, उनले भनीन् । समाजले अलि राम्रो र्दृष्टिले नहेर्दा भने केही खल्लो महसुस हुने नोरजिङको भनाइ छ । बिरामी हुँदा र अरू केही गाह्रोसाह्रो पर्दा भने पीडा खेपेको उनको भनाइ छ । वैधानिक श्रीमान् नहुँदा समस्या धेरै आउने गरेको यस्ता महिलाहरूको अनुभव छ । “म त मेरी छोरीलाई यो प्रथाबाट टाढै राख्छु”, नोरजिङको भनाइ छ । लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गमा यस्तो ठिमाहा प्रथा स्वीकार गरेर तीस जना महिला बसेका लिमा–६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । बहुपति प्रथाकै कारण केटी मान्छे बढी हुँदा धेरै पहिलेबाट यो समस्या उब्जिएकाले समाजले सहज रूपमा स्वीकार मात्र गरेको छैन, केही विभेदपूर्ण सामाजिक नियम पनि बनाएको छ । यसरी बसेकी महिला र उनीबाट जन्मेको बच्चालाई समाजमा तेस्रो दर्जामा राखी पुम्ताम्बा भनिने गरिन्छ । बच्चा १८ वर्ष पुगेपछि भने दोस्रो दर्जा टुट्यो भन्ने गरिन्छ । यो मध्यम दर्जा हो । औपचारिक विवाह परम्परालाई टोङ्बा भनिने जानकारी पनि अध्यक्ष पाल्जोरले दिए। यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।