भारतीय ट्रकले नेपालीलाई किचेपछि सीमा क्षेत्रमा तोडफोड र आगजनी
विराटनगर, साउन १० । भारतबाट कच्चा पदार्थ बोकेर आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएपछि विराटनगर महानगरपालिका-१५ रानी क्षेत्रमा बिहीबार तनाव भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर-१५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएपछि रानी बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो। एन एल ०१ डी ३६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकलका चालक सिंहको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए।
स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकसहित २२ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ। भारतबाट औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ (इन्धन) लोड गरेर आएका गाडी र ट्यांकरहरु तोडफोड गरिएका हुन्। तोडफोड गरिएका मध्ये आठवटा नेपाली र १४ वटा भारतीय नम्बर प्लेटका सवारी साधन छन्। बिहीबार रातिसम्म आन्दोलनका कारण रानी-विराटनगर सडकखण्ड ठप्प बन्यो। अन्नपूर्ण पोष्ट दैनिकबाट
९८९ कर्मचारीको दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्का २० निर्णय)
काठमाडौं, साउन ९ । सरकारले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै तीन वटा मन्त्रालयमा ९ सय ८९ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्रालयमा २ सय १३, वन तथा वातावरण मन्त्रालयमा ५०, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ सय २६ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
गाउँपालिका कार्यालयमै वडा अध्यक्षको मदिरा पसल !
बैतडी, साउन ९ । बाँयातिर नेपाली झण्डा गाडिएको छ । भवनमाथि गाउँपालिकाको साईनबोर्ड छ । एउटा कोठामा स्थानीय सरकार र अर्कोमा मदिरा पसल बेजोडले चलेको छ भन्दा पत्याउन मुश्किल पर्छ । तर, सबैलाई चकित पार्ने यो यथार्थ बैतडी जिल्लाको सिगास गाउँपालिकामा दिनानुदिन चलिरहेको छ । सिगास गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको धारा छैन । सडक र बिजुली पनि पुग्न सकेको छैन । यहाँ दूध, तरकारी र फलफूल पनि पाइन्न । तर खच्चरमा ढुवानी गरेर त्यहाँ छ्यापछ्याप्ती मदिरा उपलब्ध गराइएको छ । गाउँपालिकाको यही भवनमा सिगास गाउँपालिका वडा नं. ८ का अध्यक्ष कर्णबहादुर ऐरले मदिरा पसल संचालन गरेका छन् । गाउँपालिका कार्यालयको प्राङगणमा रक्सीका सिसीहरू छरपस्ट देखिन्छन् । यहाँ जनप्रतिनिधि, सेवाग्राही र कर्मचारी दिउँसै मदिरा सेवन गरी लठ्ठिएको अवस्थामा भेटिने गरिएको स्थानीयको जनगुनासो छ । मदिरा पसल बन्द गर्न स्थानीयबासीले पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको स्थानीय युवा राजेन्द्र साउदले बताए । गाउँपालिकाले मदिरा नियन्त्रण र नियमन गर्न निर्देशिका जारी गरिए पनि नियन्त्रण र नियमन गर्ने निकायका जनप्रतिनिधिले नै यस्तो धन्दा गरेपछि स्थानीय दिक्क भएका छन् । कुनै पनि सार्वजनिक स्थलमा मदिरा बिक्री गर्न पाईने छैन भनेर निर्देशिकामा उल्लेख भए पनि गाउँपालिका भवनमै मदिरा पसल सञ्चालन गरेर जनप्रतिनिधिले नै निर्देशिकाको खिल्ली उडाएको स्थानीयले गुनासो गरेका छन् । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने उखान वास्तविक अर्थमा त्यहाँ चरितार्थ भएको छ । सार्वजनिक स्थलमा मदिरा बिक्री गरिएको प्रमाणसहित मदिरा नियन्त्रण निर्देशिका बमोजिम वडाध्यक्षको मदिरा पसललाई कारबाही गरी जरिवाना गरिएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । मदिरा पसल रहेको वडाध्यक्षकै घरमा भाडामा गाउँपालिकाको भवन लिएकाले संयोगवश एकापट्टी गाउँपालिकाको कार्यालय र अर्कोतिर मदिरा पसल भएको अधिकृत रघुनाथ अवस्थीले दाबी गरे । जरिवानासहित मदिरा पसल हटाउन वडा अध्यक्षलाई बारम्बार पत्राचार गरेको र अन्य जनप्रतिनिधिले कर्मचारीलाई साथ नदिएकाले वडा अध्यक्षले पसल बन्द गर्न आनाकानी गरेको अवस्थीले बताए । गाेरखापत्र दैनिकबाट
मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारमा देखिएन उत्साह
काठमाडौं, साउन ९ । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन् । शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ । प्रतिशतका आधारमा आज परिसूचक १.१० प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक २.६६ अङ्कले घटेर २७३.४७ मा पुगेको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने सुधार देखिएको छ । कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ वटै उपसमूहका शेयर ओरालो लागेको छ । बैंकिङ १२.५६, व्यापार २.६२, होटल ३२.८४, विकास बैंक १८.७६, जलविद्युत् २१.५४, वित्त ३.८४, निर्जीवन बीमा ८४.३५, उत्पादन १५.४८, अन्य ५.१४, लघुवित्त १९.६८, जीवन बीमा ५३.५४ र सामूहिक लगानी कोषको शेयर ०.११ अङ्कले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु छ करोड १७ लाख ५१ हजार ८२७, कृषि विकास बैंक रु चार करोड १८ लाख ३२ हजार ८०६, नेपाल बैंक लिमिटेड रु तीन करोड ९९ लाख सात हजार ४२८, माथिल्लो तामाकोशी रु दुई करोड ४६ लाख २४ हजार ५१५, मेगा बैंक रु दुई करोड ११ लाख ८६ हजार ८४७ र एनआइसी एशियाको रु एक करोड ५६ लाख सात हजार ९४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । नेपाल ल्यूब आयलका शेयरधनीले ८.८१ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल्स ४.६१, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.५२, खानीखोला हाइड्रोपावर ३.०३ र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले १.६४ प्रतिशतले कमाए । यस्तै युनियन हाइड्रोपावर ९.५७, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.०६, बरुण हाइड्रोपावर ४.२१, नाडेप लघुवित्त वित्तीय संस्था ४.१८, ओरियन्टल होटल ३.७८ र गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.७१ प्रतिशतले गुमाए । (रासस)
सभामुखकै पाकेट मारेपछि चोर पर्यो प्रहरी फन्दामा
शिवशंङ्कर मिश्र– बारा, साउन ९ गते । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिमरौनगढ हिरासतबाट प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मार्ने एक थुनुवा फरार भएका छन् । दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरीको भान्छाघरमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएका थिए । उनी फरार भएपछि प्रहरी हवलदार शशिकान्त चौधरी र प्रहरी जवान अशोक कुमार साह निलम्बनमा पर्नुभएको छ । फरार अभियुक्त भारतको मोतिहारी जिल्ला लिपनी–४ का स्थायी बासिन्दा १९ बर्षीय फिरोज मियाँ साउन ३ गते सभामुख यादवको पाकेट मार्दा पक्राउ परेका थिए । सिम्रौनगढको हाट बजारमा मियाँले सभामुख यादवको पकेट मारेका थिए । सभामुख यादवको पकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका बाराका प्रहरी प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले बताउनुभयो । विना सहयोगी घुमघाम गर्न बजार पुग्नुभएका सभामुख यादवको पकेटबाट भीडभाडमा स्थानीयसँग गफ गरिरहेको बेला नगद ५० हजार रुपियाँ झिकेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता रंजितसिंह राठौरका अनुसार डियूटीमा रहेको प्रहरीको लापरवाहीका कारण हिरासतबाट थुनुवा मियाँ भाग्न सफल भएको हुँदा दुईजनालाई निलम्वन गरिएको प्रवक्ता राठौरले बताउनुभयो । गोर्खापत्र दैनिकबाट
ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद
गोरखा, साउन ९ । उत्तरी गोरखाको खोर्लाबेसीबाट प्रहरीले ठूलो परिमाणमा अबैद्य सुन बरामद गरेको छ । धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा ओढारमुनी लुकाएर राखेको अबस्थामा करिब १६ किलो सुन फेलाको स्थानीयले बताएका छन् । तर प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन् । ‘हामीले ठूलो परिमाण सुन जस्तो देखिन धातु भेटाएका छौं’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले भने, ‘सँगै एउटा मान्छे पनि समातिएको छ, उसलाई सदरमुकाम ल्याएपछि सबै कुरा थाहा हुन्छ ।’ प्रयोगशालामा परीक्षण गरेपछि मात्र सुन हो या होइन भन्ने एकिन हुने उनले बताए । कति परिणाम पनि तौल लिएपछि मात्र प्रष्ट हुने एसएसपी अधिकारीको भनाई छ । गत असार ११ गते उत्तरी गोरखाका खच्चड व्यवसायी धनकमल गुरुङ रहस्यमय ढङ्गले बेपत्ता भएपछि प्रहरी सुन तस्करी भएको आशंकामा खोज तथा अनुसान्धान सुरु गरेको थियो । चीनबाट खच्चडमा सामान लिएर आउँदै गरेका गुरुङले सुन ल्याएको आशंकामा लुटेरा समूहले आक्रमण गरेपछि धनकमल वेपत्ता भएका थिए । आफू अपहरणमा परेको भनेर परिवारमा खबर गरेपछि उनका छोराले बुबालाई खोजिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रहरीले बुधबार धनकमलाई काठमाडौंमा लुकेर बसेको अवस्थामा पक्राउ गरेपछि सुन काण्ड बाहिर आएको हो । प्रहरीले धनकमललाई काठमाडौंबाट खोर्लाबेसीं पुर्याएर ओढारमा लुकाएको सुन बरामद गरेको हो । ‘सबै जानकारी आइसकेपछि हामी पत्रकार सम्मेलन गरी सार्वजानिक गछौं’ एसपी अधिकारीले भने, ‘अरु कुरा अनुसन्धानकै क्रममा छ ।’ धनकमलाई आक्रमणको प्रयास गर्ने चार जनालाई प्रहरीले यस अघि नै नियन्त्रणमा लिइसकेको छ ।
अझै आइपुगेन ‘मास प्रिन्टर’
काठमाडौं, साउन ९ । ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत खरीद गर्न लागेको छ । प्रिन्टर चाँडो ल्याएर सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ । उनले भने, ‘हामीले अझै पनि सकेसम्म चाँडो प्रिन्टर भित्र्याउन पहल गरिरहेका छौँ ।’ ‘मास प्रिन्टर’ आएको झण्डै एक महीनापछि त्यसले नियमित काम शुरु गर्ने विभागले बताएको छ । महानिर्देशक दाहालले उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमितरुपमा सञ्चालनमा आउने बताउनुभयो । ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । प्रिन्टरसँगै विभागले १० लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । उनले भने, “कार्ड र प्रिन्टर दुवै चाँडो ल्याएर अहिले भएको ढिलाइ हटाउने हाम्रो उद्देश्य हो ।” विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाउन सकेका छनन् । विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेका छन् । सरकारलाई बुझाउनु पर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । रासस
दोर्दीको बाढीमा बेपत्ता ७ जना अझै भेटिएनन्
काठमाडौं, साउन ९ । पूर्वी लमजुङको दोर्दी खोलाले बगाएर बेपत्ता भएका सात जना मजदूरको अवस्था अझै थाहा हुन सकेको छैन । बुधबार दिउँसो एक्कासी आएको बाढीले निर्माणाधिन अपरदोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत झण्डै २० मजदुरलाई बगाएको थियो । बाढीमा बगेकामध्ये आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको हाल जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । ‘बाढीमा बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । सातजना अझै बेपत्ता छन्,’ डिएसपी गुरुङले भने, ‘बेपत्ताको खोजी कार्य बिहानैदेखि भइरहेको छ, तर हालसम्म फेला परेका छैनन् ।अहिलेसम्म सम्पर्कमा नआएकाले बाढीमा बेपत्ता भएकाहरु जिउँदै भेटिने सम्भावना कम रहेको उद्धारमा खटिएका प्रहरीले बताएका छन् । बेपत्ताहरुको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी गरिरहेका छन् । दोर्दीखोलाको शिरमा पहिरो गएर थुनिएको नदी एक्कासी फुट्दा बाढी आएको अनुमान स्थानीयले गरेका छन् । तर, अकस्मात ठूलो बाढी आउनुको कारण यकिन भइनसकेको लमजुङका प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बेँसीसहरबाट प्रहरी निरीक्षक धनबहादुर थापाको नेतृत्वको टोली बिहीबार बिहानै घटनास्थलतिर गएको छ । घटनास्थल सदरमुकामबाट झण्डै गाडीमा तीन घण्टाको दुरीमा पर्छ। शव भेटिएका चारमध्ये तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ । पूरै ठेगाना नखुलेका पर्साका झण्डै ३० वर्षीय शिवधन चौधरी, सप्तरीको सप्तकोशी नगरपालिका–८ का करिब ५० वर्षीय भुवनेश्वर चौधरी र डडेलधुराको आलेताल गाउँपालिका–६ का करिब ३५ वर्षी रमेश बुढा छन् । उनीहरुको शव बाढीले बगाएर ल्याएको अवस्थामा दोर्दी गाउँपालिका–४ का विभिन्न ठाउँमा भेटिएको हो । आयोजना निर्माणस्थलभन्दा पाँचदेखि आठ किमी तल उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ। बाढीमा बेपत्ता सात जनाको अझै परिचय खुल्न सकेको छैन । बेपत्ताको नाम यकिन गर्ने काम भइरहेको डिएसपी गुङले बताए । दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको डिसेन्डर बनाउँदै गरेका कामदारलाई बुधबार दिउँसो अकस्मात आएको बाढीले बगाएको हो । मृतकमध्ये एकजनाको शव चिनिन सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ । शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । घाइते आठ मजदुरको पनि त्यही उपचार हुँदैछ । नेपालखबरबाट
चार्जिङ स्टेसन अझै विस्तार हुन सकेन
काठमाडौँ, साउन ९ । राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले वातावरणमैत्री विद्युतीय सवारीको प्रयोग गर्ने क्रम बढेपनि ती सवारीको चार्ज गर्ने स्टेसन भने विस्तार हुन सकेको छैन । वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरता कम गर्ने उद्देश्यसहित मुलुकभरि नै विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि विद्युतीय सवारी खरिद गर्न सरकारले केही दिनअघि साझा यातायातलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको छ । यसरी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेपनि ‘चार्जजिङ स्टेसन’ विस्तार नै यस्ता सवारीसाधनको ‘बोतल नेक’ बनेको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा संस्थाको आफ्नै स्रोतमा प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा निर्माण गरिएको एउटाबाहेक अरू ‘चार्जिङ स्टेसन’ उपत्यकामा रहेका छैनन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतका विशिष्ट व्यक्ति विद्युतीय कार चढ्नुहुन्छ । मुलुकमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्छ भन्ने विषय राज्यस्तरबाट नै उठिरहेको अहिलेको अवस्थामा यससँग सरोकार राख्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग कुनै कार्यक्रम तथा योजना भने छैन । मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले विद्युतीय सवारी साधनप्रति आमनागरिकको समेत आकर्षण बढ्दै गएको अहिलेको अवस्थामा ती सवारी साधनका लागि ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने विषयमा अझै नयाँ नीति नआएको बताए । उनले चालू आवमा ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि मन्त्रालयसँग कुनै कार्यक्रम, योजना र बजेट नरहेको जानकारी दिए । गत आर्थिक वर्षमा पनि मन्त्रालयअन्तर्गत यससँग सम्बन्धित कुनै कार्यक्रम तथा योजना नै थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आफैँ विद्युतीय कार नै चढ्नुहुन्छ । मन्त्रालयको योजना नभएपनि नेपाल विद्युत् प्राधिकरणले भने योजना अगाडि सारेको छ । प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका उपप्रबन्धक प्रमोद रिजालले चालू आर्थिक वर्षमा काठमाडौँ उपत्यकाको २० स्थानमा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, सिंहदरबार परिसर, महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसर, ललितपुरको जावलाखेललगायत दस स्थानमा ‘चार्जिङ स्टेसन’ निर्माणका लागि ठाउँ छनोट भइसकेको बताउँदै उनले अन्य ठाउँको खोजी भइरहेको जानकारी दिए । जग्गा अधिग्रहण र भाडाको समस्याका कारण तथा सहज पहुँचका लागि सार्वजनिक स्थानमा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने नीति रहेको उहाँले स्पष्ट पारे । गोरखापत्रदैनिकबाट
भारतीय च्यानलमा विज्ञापन हटाउने विषयमा सम्झौता गर्न सकिन्न– मन्त्री बास्कोटा
काठमाडौं, साउन ६ । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले क्लिन फिडबारे सरकारको अडान पुनः दोहोर्याएका छन् । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिनो उनले जोड दिएका हुन् । क्लिन फिड हटाउने कुनै पनि संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने बास्कोटाको भनाई थियो । सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्धय कर्ण र मियाँलाई आग्रह गरे। नेपालको हितलाई प्रवद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको सो प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ। मन्त्री बास्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान सय पटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे। मन्त्री बास्कोटाले क्लिन फिड मुलुकको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराए। बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित सरकारले सो विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गरे। उनले बाह्य पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि क्यासिनोहरुको विज्ञापन गर्न पाउने व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गरे। सांसदहरुले सो विधेयक र सूचना प्रविधिसँग सम्बन्धित विषयकमा बाँझिएका कतिपय प्रावधान सच्याउन पनि सरकारलाई सचेत गराएका थिए।
चन्दा असुल गर्ने विप्लव समूहको गोप्य दस्तावेज बरामद
काठमाडौं, साउन ६ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । विप्लव समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो । सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो । ‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति वा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ, ‘एसएसपी सहकुल थापाले भने । ‘राजधानीलगायत देशका विभिन्न स्थानमा चन्दा असुल्नकै लागि आफ्ना भ्रातृसंगठनलाई परिचालन गरिएको देखिन्छ ।’ थापाका अनुसार प्रतिबन्धित नेकपाले राष्ट्रिय गौरवसहित ठूला जलविद्युत् तथा सडक आयोजनाबाट २० लाखका दरले रकम असुल्नेगरी सूची तयार पारेको छ । शिखर सुजलगायत कम्पनीबाट अधिकतम १० लाख रुपैयाँसम्म असुल्ने गरी तयार पारिएको कागजपत्र जफत गरिएको छ । यसैगरी अन्य वस्तु तथा सेवाप्रदायक मझौला उद्योग र चल्तीका निजी शैक्षिक संस्था प्रत्येकबाट १० लाखसम्म चन्दा असुल गर्ने उल्लेख छ । साना उद्योग तथा खुद्रा पसलबाट चन्दा माग गर्ने र स्वेच्छिक रुपमा दिएकोलाई स्वीकार गर्नेगरी कागजपत्र तयार पारेको खुलेको छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
हसिया प्रहार गरी बुवाको हत्या, आमाको अवस्था गम्भीर
धनगढी, साउन ६ । कैलालीमा छोराले हसिया प्रहार गर्दा बुवाको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–११ का ५५ वर्षीय उदे रावतले गयराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेका हुन् । यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनलाई गयराती नै कोहलपुर रेफर गरिएको छ। हत्या गर्ने रावतलाई भने गयराती नै नियन्त्रणमा लिईसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनले घरायसी विवादका कारण आमाबुवामाथि धारिलो हतियार प्रहार गरेको बुझिए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय जासुसी संस्था `रअ´ का प्रमुख टाेलीसहित नेपालमा
भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं ।’ रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उहाँ यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
४ दिनदेखि बेपत्ता भएका इन्जिनियर भेटिए
सिमकोट, साउन १ । ४ दिनदेखि बेपत्ता भएका इन्जिनियर वसन्त रावत आज दिउँसो १२ बजे भेटिएका छन् । उनलाई अदानचुली गाउँपालिका वडा नम्बर तीनको मेल्चौरमा ढुङ्गामा बसेको अबस्थामा सिमकोटबाट खोजीमा गएको टोलीले भेटाएको हो । सिमकोटबाट खोजीमा गएको टोलीले सामान्य अबस्थामा भेटाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । सामान्य अबस्थामा भेटिएका रावतको स्थानीय स्वास्थ्य चौकीमा जाँच गर्दा अबस्था सामान्य भएको र अहिले बोल्न नचाएको उनीसँगै काम गर्ने सव–इन्जिनियर जीवन रोकायाले बताए । ८ छाक खाना नखाएको कारण एकदम कमजोर अबस्थामा रहेकोले थप उपचारपछि उनलाई सिमकोट ल्याईने छ । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतका छोरा समेत रहेका इन्जिनियरलाई खोजीका लागि आफन्तसहित सिमकोटबाट २० जनाको टोली त्यता लागेका थिए । ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आर.सि.आइ.डब्लु) मा कार्यरत रावत सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कार्यालयको कामका सिलसिलामा आईतबार बस्ने होटेलमा एक कप चिया बिहान खाएर निस्किएपछि हालसम्म सम्पर्कमा आएका थिएनन् । खोजीका लागि सिमकोटबाट हेलिकोप्टरमा दाई ज्ञानेन्द्र रावतको टोली पनि घटनास्थलतर्फ गएको थियो । यस अघि तीन दिनसम्म चारदेखि पाँच जनाको टोली बनाएर दशवटा टोली खोजीका लागि बस्ती, गोठ, खर्क, बन जंगल, ओढार लगायत सबैतिर परिचालन गरिएको थियो ।
पोखरामा ‘पेन गन’ सहित एक जना पक्राउ
पोखरा, साउन १ । प्रहरीले पोखराबाट ‘पेन गन’ सहित लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । हेर्दा कलम जस्तो देखिने, सात राउन्ड गोली लाग्ने ‘पेन गन’ लागूऔषध कारोबारीबाट बरामद गरिएको हो । नयाँ प्रहरी प्रमुखको आगमनपछि लागूऔषध कारोबारविरुद्ध अपरेशन थालेको प्रहरीले पोखरा २४ कास्कीकोटका २४ वर्षीय सागर रानाभाटको साथबाट ‘पेन गन’ बरामद गरिको हो । केही समययता उनी पोखरा ७ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा ‘पेन गन’ सहित लागूऔषध पनि भेटिएको हो । प्रहरीले ‘पेन गन’ सहित लागूऔषध पनि बरामद गरेको जनाएको छ ।
बुधबार त्रिशूली नदीमा दुई शव फेला
नुवाकोट, असार ३१ । नुवाकोटस्थित त्रिशूली नदीमा बुधबार दुई जनाको शव भेटिएको छ । विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेको अर्को एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए । सुनार आज बिहान हराएपछि खोजी गर्ने क्रममा विदुर नपा–५ बुनीबेँसी पुल नजीकै मृत्त भेटिएका हुन् । उनको खोजी गर्ने क्रममा अर्का एक पुरुषको समेत शव भेटिएको पल्लिमगरले बताए । शव सडेको अवस्थामा भेटिएको छ । रासस

