जेहेन्दार र विपन्न विद्यार्थीका लागि भीमदत्त छात्रबृत्ति कोष

काठमाडौं, । भीमदत्त नगरपालिकाले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति दिने भएको छ । यसका लागि चालु आर्थिक वर्षमा भीमदत्त छात्रबृत्ति कोष स्थापना गर्ने नीतिगत निर्णय गरिएको छ । भीमदत्त नगरपालिकाको पाँचौ नगर सभाबाट गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीलाई छात्रबृत्ति दिन छात्रबृत्ति कोष स्थापना गर्ने निर्णय पारित गरिएको थियो ।

भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले नगर सभाको निर्णय अनुसार कोष सञ्चालनको मापदण्ड बनाएर छात्रबृत्ति वितरण गरिने बताए। ‘पाँचौ नगर सभाबाट गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न भीमदत्त छात्रबृत्ति कोष स्थापना गर्ने निर्णय गरिएको छ’ निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘नगर सभाको निर्णयका आधारमा आवश्यक मापदण्ड बनाएर छात्रबत्ति प्रदान गर्छौ ।’

कमजोर आर्थिक अवस्थाले पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई सहयोगका लागि छात्रबृत्ति कोष स्थापना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । उनले भने, ‘पढाईमा राम्रो भएर पनि आर्थिक अवस्था राम्रो नहुँदा विद्यार्थीहरुले पढाई निरन्तरता दिन सक्दैन, त्यस्तो अवस्थामा थोरै भए पनि पढाईलाई निरन्तरता दिन यो कोष स्थापना गरी छात्रबृत्ति दिन लागेका हौ ।’

चालु आर्थिक वर्षदेखि विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउ। भीमदत्त नगरपालिकाले पाँचौ नगर सभाबाट चालु आर्थिक वर्षदेखि अनुदान वितरणका उपलब्धि र गुणस्तरका आधारमा विद्यालयहरुलाई थप अनुदान दिने व्यवस्था गरिएको छ ।

भीमदत्त नगरपालिकामा ५५ सामुदायिक, एक धार्मिक र ७१ संस्थागत विद्यालय सञ्चालनमा छन् । भीमदत्त नगरपालिकाका सूचना अधिकारी प्रशासकीय अधिकृत हरि सिह धामीले भीमदत्त छात्रबृत्ति कोषबाट गरीब, जेहेन्दार र लक्षित समूहका धेरै विद्यार्थीहरुले लाभ लिने बताए । ‘यो कार्यक्रम यस वर्षदेखि चालु हुन्छ र यो कार्यक्रम निरन्तर चलि रहन्छ’ सूचना अधिकारी धामीले भने । भीमदत्त अनलाइनबाट

त्रिवि सेवा आयोगद्वारा उप-प्राध्यापक पदको लिखित परीक्षाको कार्यक्रम स्थगित (सूचना सहित)

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उप-प्राध्यापक पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षाको कार्यक्रम स्थगित गरेको छ। आयोगले शुक्रवार जारी गरेको सूचनामा २०७६ भाद्र ४ गतेदेखि संचालन हुने भनेको लिखित परीक्षा विशेष कारणवश अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी राखिएको छ। त्रि.वि. सेवा आयोगको कार्यालयबाट मिति २०७५ पौष ७ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार विभिन्न विषयहरुका उप प्राध्यापक पदको खुल्ला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरिएको थियो। त्रिवि सेवा आयोगका पूर्व पदाधिकारीहरूलाई अनियमितताको आरोपमा अख्तियारले छानबिन थालेपछि सरकारले गत हप्तामात्रै प्राध्यापक लालुप्रसाद पौडेललाई आयोगको अध्यक्ष र प्रा. डा. हेमराज ढकाललाई सदस्यमा नियुक्त गरेको थियो।

त्रिशूलीमा खसेका बस झिकियो, २४ यात्रु अझै बेपत्ता

धादिङ । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसलाई त्रिशूलीबाट निकालिएको छ । बसभित्र कोही पनि यात्रु नभेटिएको उद्दारमा खटिनुभएका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । १६ जनाको उद्धार गरिएको छ । २४ जना अझै बेपत्ता छन् । इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख७४६९ नम्बरको बस विहान ३ः३० वजेतिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा अजय दास र विजय कुर्मी रहेका छन् भने बाँकीको परिचय खुलेको छैन । थप दुई जनामा एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको छ । वर्षातको समय भएकाले नदीमा पानीको मात्रा बढी र धमिलो पानी भएकाले बेपत्ताको खोजी कार्यमा निकै कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, प्रमोद चौधरीसहचालक र ऋषी उप्रेती कन्टेक्टर सवार थिए । प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् । घाइते मध्ये सात जनाको गजुरी अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको छ भने अन्यलाई काठमाडौँ रिफर गरिएको छ । दुर्घटना भएको बसमा सर्लाही मलङवाबाट ४० जना, हरिपुरबाट २ जना गरी ४२ जनाको चलानी काटी प्यासेन्जर बोकेर हिडेको जिल्ला प्रहरी कार्यालय धादिङले प्रेसित गरेको विज्ञप्तीमा उल्लेख छ । प्रहरीका अनुसार बस चालक, सहचालक र कन्डक्टर गरी जम्मा ४५ जना सवार रहेको बुझिएको छ । उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ । चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । गाेरखापत्र दैनिकबाट

गुल्मीमा जीप दुर्घटना, ५ जना गम्भीर घाइते

बुटवलः शुक्रबार साँझ गुल्मीको गुल्मीदरवार गाउँपालिका–३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्वरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालका अनुसार कति तल खसेको छ भन्ने कुरा एकिन भइसकेको छैन । घटनाको थप विवरणका लागि प्रहरी खटिएको छ । ‘वारी गौडाकोट र पारी गौडाकोटको पँधेरोजस्तो देखिने खोल्साबाट धेरै तल खसेको भन्ने सुनेर जाँदैछु’ गुल्मीदरवार गाउँपालिका प्रमुख अशोककुमार थापाले भने । उनले भने, ‘क्षति विवरण त्यहाँ नपुगे सम्म भन्न सक्दिन ।’ जीपमा ६ जना यात्रु सवार रहेको बुझिएको छ । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई पाल्पा पठाइएको छ भने १ जना बेपत्ता भएका छन् ।

म्याग्दीमा ४.७ रेक्टरको भूकम्प धक्का

म्याग्दीः म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङलाई केन्द्रविन्दु बनाएर शुक्रबार साँझ ६ः२६ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक राकेश शर्माका अनुसार यो भूकम्प लुलाङलाई केन्द्र विन्दु बनाएर गएको हो। उनले म्याग्दी क्षेत्रमा गएको भूकम्पबाट त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । लुलाङ आसपासका क्षेत्रमा सामान्य क्षति भएको अनुमान गरिएको छ। तर क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँ

काठमाडौंः  सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ वृद्धि भएको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोड रुपैयाँबाट घटाएर दुई लाख ६६ हजार रुपैयाँमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोड रुपैयाँको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रुपैयाँ फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो । उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड रुपैयाँ राजश्व दिँदै आएको बताइएको छ । उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक पाँच अर्ब रुपैयाँ खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक छ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको बताइएको छ ।

लामखुट्टे धपाउन बालेको आगोले घरै ध्वस्त

पर्सा । लामखुट्टे धपाउन गाई गोठमा बालेको आगो सल्किएर घर नै ध्वस्त भएको छ । पर्साको बहुदरमाई नगरपालिकाका २ सिसियाडी टोलका दुर्गा साह तेलीको घर लामखुट्टे धपाउन बालेको आगो सल्किएर नष्ट भएको हो । आगलागीबाट तेलीको घरको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ भने गोठका दुईवटा गाई पनि जलेर मरेको पर्सा प्रहरीले जनाएको छ । सुरुमा गोठमा सल्केको आगोले दुईवटा गाई जलेर मरेको र पछि त्यो आगो घरतर्फ सल्किँदा घरको अन्नपात तथा लत्ताकपडा पनि पूरै जलेर नष्ट भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । ‘आगलागीबाट तेलीको करिब आठ लाख जति क्षति भएको प्रहरीले अनुमान गरेको छ’ उनले भने । काठ र एलबेष्टरले बनेको गाई गोठमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर क्षति पुगेको पर्सा प्रहरीले जनाएको हो । सानो हेलचेक्र्याइले गर्दा वर्षातको समयमा पनि आगलागीबाट तेली परिवार पीडित बन्नुपरेको प्रहरीको भनाइ छ।

मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय यादवको मृत्यु

दाङ | दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट गढवा ५ सोनपुरुवा निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको छ ।| खुट्टा र हातमा चोट लागेका यादवको उपचारको क्रममा सोमबार राति ९ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दामोदर सडकखण्ड अन्तरगत गढवा-कालाकाटेको बाँकी चोकमा मोटरसाइकलले यादवलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ । मोटरसाइकल चालक गढवाको पर्नाहा निवासी १८ वर्षीय रोहित चौधरीलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ।

हुलाकी सडक निर्माण सन्तोषजनक नभएको भन्दै रमण कन्स्ट्रक्सन कालोसूचीमा

मेलम्ची र भेरी बबई डाइभर्सन आयोजनाको ठेक्का पाउने आशमा बसेको रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । कालोसूचीमा परेसँगै रमणलाई नयाँ ठेक्का सम्झौता गर्न प्रतिबन्ध लागेको छ । हाल धरहरा निर्माण गरिरहेको रमणले हुलाकी सडक निर्माणको पनि जिम्मा पाएको थियो । हुलाकी सडक निर्माणमा पप्पु र रमणले संयुक्त रुपमा काम गर्दै आएका थिए । तर, रमणको काम सन्तोषजनक नभएको भन्दै हुलाकी राजमार्ग निर्देशनालयले रमण(पप्पु जेभी, जनकपुर ९, धनुषालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण(पप्पु जेभीलाई नयाँ खरिद कार्यमा सहभागी हुनबाट रोक लगाएको हो । कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उननियम ९२० अनुसार दुवै निर्माण कम्पनीलाई कारबाही गरेको जनाएको छ । खरिद नियमावलीको यो दफामा कालोसूचीमा परेका निर्माण कम्पनीले यसको टुंगो नलागेसम्म नयाँ सार्वजनिक खरिद कार्यमा भाग लिन नपाउने उल्लेख छ ।

पुडासैनीको आत्महत्याबारे अनुसन्धान शुरु, वास्तविकता पत्ता लगाउन कुनै कसर बाँकी नराखिने- एसपी मल्ल

चितवन, चितवनको पोखरा बसपार्कस्थित एउटा होटलको कोठामा झुण्डिएको अवस्थामा सञ्चारकर्मी शालिकराम पुडासैनीको शव फेला परेपछि बिभिन्न अड्कलबाजी हुन थालेका छन् । हाल माउण्टेन टेलिभिजनका कार्यरत पत्रकार पुडासैनी निकटहरुले पुडासैनीको स्वभाव आत्महत्या गर्ने प्रकृतिको नभएको बताइरहेका छन् । सोमबार राती ८ बजेतिर नारायणगढको पोखरा बसपार्क स्थित होटल कङ्गारुमा पुडासैनी पंखामा झुन्डिएको अवस्थामा पाइएका थिए । सोमबार दिउँसो चितवन आएर उक्त होटलमा बसेका थिए ।होटलका कर्मचारीले साँझ खाना खान बोलाउन जाँदा नउठेपछि प्रहरीलाई खबर गरेका थिए। आत्महत्याबारे बिभिन्न कोणबाट चर्चा चलिरहेको बेला चितवन प्रहरीले भने घटनालाई उच्च गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको छ । “अहिले फरेन्सिक र अनुसन्धानको टोली घटनास्थलमा छ ।” चितवनका एसपी दान बहादुर मल्लले एभरेष्टदैनिकसँग भने, “परिवारका सबै सदस्य आएपछि हामी डोरीबाट लास झिकेर पोष्टमार्टमका लागि पठाउँछौं ।” अहिले घटनास्थलमा प्रहरी, फरेन्सिक र अनुसन्धानको टोली, सरकारी वकिल कार्यालय र प्रशासन कार्यालयका मानिस रहेको उनले बताए । “हत्या या आत्महत्या के हो भन्ने कुरा अनुसन्धानबाट थाहा हुन्छ । बाहिरबाट हेरेकै भरमा अहिले हामीले राय दिन मिल्दैन ।” मल्लले भने, “परिवारका सबै सदस्यको रोहबरमा लास उठाएपछि पोष्टमार्टमसँगै सबै कोणबाट अनुसन्धान गर्छौं । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको र वास्तविक तथ्य अनुसन्धानपछि खुल्ने छ ।” पुडासैनीको शव अहिले पंखामा झुण्डिएको अवस्थामा छ । ढोकाबाट हेर्दा उनको पछाडिको भाग मात्रै देखिन्छ भने दायाँ खुट्टा खाटमा टेकिएको जस्तो देखिन्छ । यद्यपी त्यस आधारमा मात्रै हत्या र आत्महत्याबारे भन्न नसकिने प्रहरीले जनाएको छ । भित्रबाट झ्याल र ढोका सबै बन्द गरेर बसेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । होटल स्टाफले ढोका नखोल्दा प्रहरीलाई खबर गरेको र प्रहरीले ढोका फोडेर भित्र हेरेको अवस्था देखिएकोले प्रारम्भिक चरणमा आत्महत्या नै गरेको अवस्था देखिने प्रहरीको ठम्याई छ । तर आत्महत्या नै गरेको भए के कति कारणले गरेका रहेछन् र त्यसका लागि उनी चितवन नै किन गए भन्ने प्रश्न भने अनुत्तरित नै छ । एसपी मल्लले चितवनको सदरमुकाम जस्तो संवेदनशील ठाउँमा घटना भएको बताउँदै प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताए । होटल कर्मचारीका अनुसार पुडासैनी सोमबार साढे ३ बजे होटल पुगेका थिए । त्यसपछि उनी दुई पटक होटलबाट बाहिर गएर होटल फर्किएका थिए।

बम विष्फोट गराएको अभियोगमा पक्राउ

बेत्रावती, साउन २१ । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ । प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिरे । उनका अनुसार लामिछानेलाई शनिबार काठमाडौँको कीर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट ल्याइएको हो । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ । उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै उनी व्यवसायतर्फ लागेकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेकी श्रीमती रश्मी ढुङ्गानाले माग गरे। रासस

अक्टोबर र नोभेम्बरमा जापानी भाषा र सीप परीक्षा

काठमाडौं, साउन २१ । नेपाली कामदार जापान लैजाने सहमति भएपछि भाषा परीक्षा गराउने अनुमति पाएको जापान फाउन्डेसनले आगामी अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ मा काठमाडौंमा भाषा र सीप परीक्षा गराउने भएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण हुने कामदार छनोटको सूचीमा पर्नेछन् । भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै तोकुतेई गिनोउ (विशेष सीप) भिसामा जापान जाने प्रक्रियाको आरम्भ हुनेछ । जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । जापानले यसरी विदेशी कामदारलाई भित्र्याउन र भैपरी आउने समस्यामा सहयोग पुर्‍याउन विभिन्न संस्थालाई आधिकारिक सम्बन्धन दिएको छ । यस्तो सम्बन्धन प्राप्त गर्नेमा नेपालीले सञ्चालन गरेको ‘एसएमएस कर्पोरेसन’ पनि परेको छ । जापानमा ५ वर्षअघि ३ जना नेपालीको लगानीमा स्थापना भएको एसएमएस कर्पोरेसनले हाकेन एजेन्सी सञ्चालन गर्दै आएकोमा हाल जापान सरकारबाट ‘जब इन्ट्रोडक्सन एजेन्सी’ र ‘रजिस्टर्ड सपोर्ट अर्गनाइजेसन’को पनि सम्बन्धन प्राप्त गरेको छ । अब यस संस्थाले जुन २८ देखि विभिन्न देशबाट तोकुतेई गिनोउ (विशेष सीप) भिसामा कामदार ल्याउने प्रक्रियालाई अगाडि बढाइरहेको छ । हाल यस कम्पनीमा जापानभित्र रहेका जापानी, नेपालीलगायत अन्य देशका ३ सयभन्दा बढीले रोजगारी प्राप्त गरिरहेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की रिहा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् । सरकार र विप्लव नेकपाबीच वार्ताको विकल्प छैन भनी केही अघि सञ्चार माध्यमबाट अभिव्यक्ति दिएका जीवन्तको रिहाइले वार्ताको पक्षमा सकारात्मक परिवेश बन्दै जाने आँकलन गर्न थालिएको छ । नेता जीवन्त सो पार्टीका एक प्रभावशाली नेता मानिन्छन् । नेता कार्की ०७५ चैत १ मा ललितपुरको च्यासलबाट गिरफ्तारीमा परेका थिए । उनलाई काठमाडौंमा तीन पटक तथा नुवाकोट र संखुवासभामा गरी पाँच ठाउँमा घुमाएर हिरासतमा राखिएकाे थियाे । १ सय ४३ दिन हिरासत बसाइपछि उनी रिहा भए । उनी यसअघि पनि पाँच ठाउँमध्ये तीन ठाउँबाट साधारण तारेखमा र दुई वटामा बन्दी प्रत्यक्षीकरण रिटबाट छुटेका थिए । तर, यसअघि हरेक पटक रिहाइलगत्तै गिरफ्तार गरिँदै आए पनि यस पटक भने यो क्रम दोहोरिएन । सोमबार साँझ रिहाई भएलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता कार्कीले वार्ता र निकासका निम्ति विद्रोही पक्षभन्दा सरकार नै बढी जिम्मेवार हुनुपर्ने बताए । राजनीतिक सम्बोधनविना नेकपासँग वार्ताको औचित्य नरहेको प्रतिक्रिया उनले दिए । साे पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भने सरकारले मच्चाएको वार्ताको हौवा सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति भएको भन्दै तत्कालै र यथास्थितिमा वार्ताको कुनै सम्भावना नभएको अभिव्यक्ति दिँदै आइरहेका छन् ।

प्रकाण्डको कडा विज्ञप्तीः वार्ता जनक्रान्तिमाथि भीषण दमन र षडयन्त्रको तयारी, एनसेलमाथि थप कार्वाही हुने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेल कम्पनीमाथि थप कार्वाही गर्ने चेतावनी दिएको छ । पार्टीको पछिल्लो नीतिबारे प्र्ष्टीकरण गर्न प्रवक्ता प्रकाण्डले आज जारी विज्ञप्तीमा एनसेलले आफ्ना गतिविधि नसच्च्याए थप कार्वाही गर्ने चेतावनी दिइएको हो । सरकारले वार्ताको कुरा अघि सारेर जनक्रान्तिमाथि भीषण दमन र षडयन्त्र गर्न खोजेको बताउँदै प्रकाण्डले वार्ताप्रति सरकार गम्भीर नभएको र औपचारिक पहल समेत नगरेको आरोप लगाएको छ । पार्टीभित्र कतिपय नेता तथा कार्यकर्तालाई जिम्मेवारी मुक्त गरिएको विषयलाई गलतरुपमा प्रचार गरिएकोमा प्रकाण्डले आक्रोश व्यक्त गरेका छन् । पार्टी र क्रान्तिको ऐतिहासिक आवश्यकताका आधारमा गरिएको निर्णयलाई “वार्ता पक्षधर तथा विवादाष्पद व्यक्तिलाई कार्वाही गरेको” भन्दै प्रचार गरिएकोमा आपत्ती व्यक्त गर्दै प्रकाण्डले उक्त निर्णय क्रान्तिका पक्षमा भएको दावी समेत गरेका छन् । पढनुस पूर्ण विज्ञप्ती

वनमन्त्री बस्नेत र सचिव ओलीबीच करार सम्झौता

काठमाडौं, साउन २० । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीसँग वार्षिक करार सम्झौता गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सो अवसरमा मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको उल्लेख गरे । मन्त्री बस्नेतले वनलाई आर्थिक उत्पादनको क्षेत्र हो भन्ने स्थापित हुने गरी काम भइरहेको बताए । त्यसका लागि पछिल्लो एक वर्षमा कानूनी र नीतिगत व्यवस्थाहरु गरिएको चर्चा गर्दै उनले जनतालाई वनमा आधारित उद्यमशीलतासँग जोड्ने लक्ष्य मन्त्रालयको रहेको प्रष्ट पारे । कार्यक्रममा सचिव ओली र १४ सह–सचिवहरुबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो । त्यसक्रममा सचिव ओली र वन तथा जलाधार महाशाखा प्रमुख कृष्णप्रसाद आचार्य, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल, सहभागितामूलक वन व्यवस्थापन महाशाखा प्रमुख चन्द्रमान डंगोल, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख यज्ञनाथ दाहाल, प्रशासन महाशाखा प्रमुख चक्रपाणि पाण्डे, वन विभागका महानिर्देशक डा।रामप्रसाद लम्साल, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक दीपक खराल र वनस्पति विभागका महानिर्देशक सञ्जिवकुमार राईबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो ।

सशस्त्र र नेपाल प्रहरीको काममा दोहोरोपन हुन नहुने

काठमाडौं, साउन १६ । नेपाल प्रहरीको जिम्मेवारी तथा अधिकार हेरफेर गरी सशस्त्र प्रहरी बललाई थप अधिकार सम्पन्न बनाउने विषयमा बहस चुलिएको छ । यस कार्यले नेपाल प्रहरीलाई कानुनी रूपमा कमजोर बनाउनुका साथै जनपद प्रहरी र सशस्त्र प्रहरीबीच अधिकार र जिम्मेवारी निर्वाहको क्रममा ‘प्रतिस्पर्धा’ तथा सेवामा दोहोरोपन हुने तर्क सम्बद्ध अधिकारीको छ ।संघीय प्रहरी ऐन र सशस्त्र प्रहरी बल ऐन निर्माणको तयारीमा रहेकाले ती दुई सुरक्षा निकायको जिम्मेवारी र अधिकार हेरफेरका विषयमा छलफल र बहसमा दोहारोपन हटाउन केन्द्रित हुनुपर्ने भनाइ आइरहेको छ । सो विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत छलफल भएको छ । समानान्तर अर्थात् दोहोरिने अधिकार खोजेको भनाई नेपाल प्रहरीको छ भने सशस्त्र प्रहरी बलले भने २०७२ सालमा संशोधित नियमावलीमा उल्लेख कानुनी अधिकार र जिम्मेवारीलाई ऐनमा समेट्न खोजिएको प्रस्ट पारेको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सङ्घीय सशस्त्र प्रहरी बलको नयाँ विधेयक मस्यौदा निर्माण कमिटीले सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्ने, सूत्र परिचालन (सुराकी), घर तथा शरीर खानतलासी अधिकारको व्यवस्था गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा सहभागिता, काठमाडौँ उपत्यकामा सशस्त्र मेट्रो प्रहरी सेवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारीजस्ता विषयहरू मस्यौदामा उल्लेख गरिएकोे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समानान्तर जिम्मेवारी प्रदान गर्दा फौजदारी न्याय प्रणाली प्रक्रिया पारदर्शी हुनेमा शङ्का उब्जेको छ । गृह मन्त्रालयका प्रवक्ता सुवेदीले शान्तिसुरक्षाको सवालमा एउटा सुरक्षा निकाय हात बाँधेर बस्ने अर्को रमिते बन्ने अवस्था आउन नदिन यस्तो व्यवस्था गर्न खोजिएको बताए । संघीय सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामा शङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले भने, ‘अपराधीलाई नियन्त्रणमा लिने अधिकार आमनागरिकलाई त छ, सशस्त्र प्रहरी त सुरक्षा निकाय हो ।’ ‘यसमा विवाद गर्नुपर्ने विषय नै छैन, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिलाई कानुनी कारबाहीका लागि प्रहरीकै जिम्मा लगाउने हो’ उनले थप प्रस्ट पारे । सशस्त्र प्रहरी बल नियमावली २०७२ मा पक्राउ पुर्जी, सादा पोसाकमा परिचालन, उपत्यकाको सुरक्षाका लागि मेट्रो प्रहरी सेवाको व्यवस्था गरेको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठका अनुसार, नियमावलीमा उल्लेख ती बुँदालाई नयाँ विधेयकमा थप्न खोजिएको हो । सशस्त्र प्रहरी बलको गठन तत्कालीन माओवादी विद्रोही समूहको नियन्त्रण र विदेशी आक्रमणबाट राष्ट्रलाई जोगाउन सेनाको सहयोगी सुरक्षा सङ्गठनका रूपमा गरी १२ वटा उद्देश्यका साथ स्थापना भएको थियो । मुलुक शान्ति प्रक्रियामा आएपछि औद्योगिक क्षेत्रको सुरक्षा, विपद् व्यवस्थापन, सीमा सुरक्षा र विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी निर्वाहलगायतका काम यसले गर्दै आएको छ । त्यसका अतिरिक्त सशस्त्र प्रहरीले चारवटा थप नयाँ अधिकारको माग गरेको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।