कुमार पौडेललाई गोली हान्ने प्रहरीले के दिए बयान?

काठमाडौं, साउन १६ । राष्ट्रिय मानव अधिकार आयोगले चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानेका प्रहरी अधिकृत तथा जवानहरूसँग बुधबार बयान सुरु गरेको छ । पहिलो दिन आयोगले बिहान ८ बजेदेखि साँझ अबेरसम्म ६ जना प्रहरीसँग बयान लिएको छ । घटनामा प्रत्यक्ष संलग्न अन्य ६ जनालाई बिहीबार बोलाइएको छ ।

बयानका क्रममा एक प्रहरी अधिकारी मुठभेड भएको दाबी गर्दै आफूले पौडेलमाथि ६ गोली हानेको स्वीकार गरेका छन् । ‘हानाहान भएको भए तपाईँलाई चाहिँ किन गोली किन लागेन त रु’ आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले ती अधिकारीलाई सोधेका थिए । ‘मैले गोली छलें,’ उनको जवाफ थियो । पौड्यालले ‘गोली हान्दा पौडेल र तपाईंबीचको दूरी कति थियो रु’ भनेर सोध्दा ती अधिकारीले दुई मिटर रहेको बताएका थिए । प्रहरी अधिकारीको जवाफपछि आयोगले दुई मिटरको दूरीमा गोली छल्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको निरूपण गर्नुपर्ने भएको छ ।

आयोगको निर्देशनअनुसार बयानमा आएका प्रहरीले गोली लागेपछि ढलेका पौडेलको तस्बिर पनि ल्याएका थिए । त्यसमा पौडेलको जीउ थिलथिलो हुने गरी कुटपिट भएको प्रस्ट देखिने प्रमाण रहेको आयोगले जनाएको छ । ‘पौडेललाई गोली हान्नुअघि समातेर कुट्नुविधि कुटेजस्तो तस्बिरमा देखिन्छ,’ आयोगका एक अधिकारीले भने, ‘पौडेलको मृत्यु भिडन्तमै भएको हो भन्नेमा शंका गर्नुपर्ने प्रशस्त ठाउँ छन् ।’ आयोगले पटकपटक ताकेता गर्दा पनि पोस्टमार्टम रिपोर्ट नपठाएका जिल्ला अस्पताल सर्लाहीका डा। वीरेन्द्रकुमार मण्डललाई पनि बयानमा बोलाउने सुरसार गरेको छ ।

सर्लाहीको लालबन्दीस्थित जंगलछेउमा गत असार ५ गते प्रहरीको गोली लागी चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका थिए । आयोगको प्रारम्भिक अनुसन्धानमा पौडेललाई गोली हान्न काठमाडौंबाटै ‘सार्प सुटर’ प्रहरी अधिकृत सर्लाही पुगेको देखिएको छ । घटनाका बेला पौडेलको साथमै रहेका तर उम्किन सफल चन्द समूहका कार्यकर्तालाई समेत आयोगले बयान लिइसकेको छ ।

पौडेल भिडन्तका क्रममा मारिएको जिकिर सरकारले गरिरहेको छ । त्यसमाथि सन्देह गर्दै छानबिन हुनुपर्ने मागका साथ प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

घटना भएको चार दिनपछि संसद्मा जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले पौडेलले चन्दा आतंक मच्चाएर जनतालाई दुःख दिइरहेको र प्रहरीसँग जम्काभेट हुँदा गोली चलाएकाले जवाफी कारबाही गर्दा ज्यान गएको दाबी गरेका थिए । कुमार पौडेलको घटना अनुसन्धान गर्ने जिम्मेवारी पाएलगत्तै आयुक्तपौड्यालले आयोगमा एक दसकदेखि ‘पेन्डिङ’ मा रहेका १२ वटा उस्तै प्रकृतिका घटनामा पुनः छानबिन थाल्ने निर्णय गरेका थिए । जसमा दिनेश अधिकार ‘चरी’ देखि कुमार श्रेष्ठ ९घैंटे० सम्मलाई गोली हानी मारिएका घटना छन् ।

‘एक दसकयता इन्काउन्टर भनिएका घटनाहरूको ढाँचा हेर्दा अनुसन्धानमा परेको मानिसलाई पक्रिएर मुद्दा चलाउनुभन्दा समातेर गोली हान्नुमा प्रहरीले बढी सजिलो ठान्न थालेको जस्तो आभास भएको छ,’ आयुक्त पौड्यालले भने, ‘यसो हो भने प्रहरीले जसलाई पनि गोली हान्न सक्ने भयो, जुन ज्यादै चिन्ताको विषय हो ।’ उनले विगतमा भएका प्रत्येक घटनाको वस्तुनिष्ट र गम्भीर अनुसन्धान गर्ने निष्कर्षमा आयोग पुगेको बताए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

हिँडेर पानी भर्न बैतडीबाट डडेल्धुरा !

बैतडी, साउन १५ गते । बसोबास बैतडी जिल्लामा, वर्षायाममा समेत खानेपानी नभएपछि दुईघण्टा हिँडेर डडेल्धुरा जिल्लाको नवदुर्गामा पानी भर्नुपर्छ भन्दा धेरैलाई अपत्यार लाग्न सक्छ । यथार्थमा यो पीडा बैतडी जिल्लाका सिगास गाउँपालिका वडा नं.३ का बासिन्दाको हो । पुस्ताैदेखि खानेपानीको समस्या झेल्दै आईरहेका सिगास गाउँपालिका–३ का मैनोला, लगन, हल्कासैनी, माझभ्वाँ, मैतोडा, ठूलसैनी, परचाल र चमडेखर्क गाउँका चारसय घरधुरी पानीका लागि दुईघण्टा हिँडेर छिमेकी जिल्लाको नवदुर्गा गाउँपालिका पुग्ने गरेका छन् । हरेक निर्वाचनमा राजनीतिक दलका नेताहरुले पानीका लागि छिमेकी जिल्ला धाउनु पर्ने बाध्यता अन्त्य गर्ने भाषण गरे पनि चुनाव जितेपछि वाचा पूरा गरेका छैनन् । पानीको पीडा सुनाउँदै स्थानीय नन्दा धामीले भनिन्, “दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं. ५ बानबाट ४० लिटरको ग्यालेनमा पानी बोकेर खाँदैछौं । भोट माग्न आउने नेताले चुनाव जितेपछि गाउँमा पानी आउँछ भनेका थिए । गाउँमा न पानी आयो न त नेता नै । नेताको विश्वास लाग्नै छोड्यो ।” देशको खाका परिवर्तन भएर गाउँपालिका बने पनि गाउँको ‘सिंहदरवार’ले पानीको जोहो गर्न कुनै पहलकदमी नलिएको भन्दै स्थानीय खिन्न भएका छन् । स्थानीय पठानसिंह बोहराले भने, “गाउँपालिकामा पटक पटक खानेपानीको समस्याका बारेमा कुरा राखेका छौं । गाउँपालिकाले पनि प्रदेश सरकारलाई लेखि पठाएको छ । योजना आउँछ कि भनेर अहिले प्रदेश सरकार कहाँ धाईरहेका छौं ।” गाउँपालिकाले खानेपानीको समस्याका समाधान नगरेपछि पानीको समस्या लगेर प्रदेश सरकारकहाँ पुगेको बोहराले बताए । खानेपानीको समस्याका विषयमा सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बैतडी जिल्लामा बसेर डडेल्धुराबाट पानी बोकेर खानु पर्ने समस्या रहेको भन्दै लिफ्ट योजनाबाट मात्रै गाउँमा पानी पुर्याउन सकिने बताए । धामीले भने, “चार÷पाँचसय घरधुरीलाई डुप्के र डुणैताल बाट लिफ्ट गरेर पानी पुर्याउन करोडौं रुपियाँ खर्च लाग्छ । गाउँपालिकाले त्यति महङ्गो लिफ्ट खानेपानी बनाउन नसक्ने भएकोले प्रदेश सरकारसँग सहयोग माग गरेका छाै ।” पानीको समस्या समाधान गर्न गाउँपालिकाले तत्काल आकाशे पानी संकलन गर्ने योजना बनाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । गाउँमा पानीको चर्को समस्याका कारण शौचालय समेत प्रयोगविहीन छन् । बैतडी जिल्ला खुला दिसामुक्त जिल्ला भए पनि पानीको समस्याले गाउँमा खुला दिसापिसाब हुने गरेको स्थानीय संगीता धामीले बताए । खानेपानीको समस्या थाहा पाएकाहरुले यो गाउँका युवाहरुलाई विवाह गर्न छोरी समेत दिन मान्दैनन् । गाउँका युवाको विवाह गर्न गाउँको पानीको समस्या थाहा नपाएका निकै टाढाका गाउँबाट विवाह हुने गरेको स्थानीय युवा पठानसिंह बोहराले बताए । –गाेरखापत्र दैनिक, गोकर्ण दयाल

१० लाख ठगी गरेर फरार रहेकी महिला पक्राउ

काठमाडौं, साउन १५ । वैदेशिक रोजगारमा मानिस पठाउने ईजाजतपत्र बिना नै साइप्रसको आकर्षण देखाई १० लाख ५० हजार ठगी गरेर फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको सितापाइलाकी ४३ वर्षीया पुनम नेपालीले ६ महिनाभित्र वैदेशिक रोजगारीका लागि साइप्रस पठाईदिने भन्दै शान्तकुमार तामाङसँग २०६६ असार २१ गते १० लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेकी प्रहरीले जनाएको छ । प्रतिवादी पुनम नेपालीलाई वैदेशिक रोजगार कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०६९ असार ३१ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । उल्लेखित सजाय वेरुजु रही फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । ठगी गरेको आरोपमा उनलाई काठमाडौं जिल्ला अदालतले २०६६ असार २१ गते जरिवाना र पीडितलाई हर्जाना समेत गरी १५ लाख ७५ हजार दिलाई दिने फैसला गरेको थियो । प्रहरीले फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेका निज प्रतिवादीलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ। नेपालखबरबाट

योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, सपथ ४ बजे

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । नेकपा स्थायी समिति सदस्यभट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्। ताप्लेजुङमागत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामारवीन्द्र अधिकारीकोमृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

अज्ञात समूहद्वारा तीनवटा एनसेल टावरमा एकैपटक आक्रमण

झापा, साउन १५ । झापामा तीनवटा एनसेल टावरमा एकैपटक आक्रमण भएको छ । बुधबार झापाका ३ ठाउँमा रहेका एनसेल टावरमा अज्ञात समूहले एकैपटक आक्रमण गरेको हो । भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको हो । यस्तै दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ। एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। विप्लव नेतृत्वले नेपाल बन्दको आयोजना गरेकै दिन एनसेलका टावरमाथि आक्रमण भएका कारण प्रहरीले सो आक्रमण सोही समूहले गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। टावरमा विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । नेपालखबरबाट

पर्यटनमन्त्रीमा योगेश भट्टराई, ४ बजे सपथ

काठमाडौं, साउन १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । नेकपा स्थायी समिति सदस्यभट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्। ताप्लेजुङमागत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामारवीन्द्र अधिकारीकोमृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

मानिसले विज्ञानमा विश्वास गरेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धीः प्रधानमन्त्री

काठमाडौं, साउन ११ । काठमाडौंको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा शनिवारबाट नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले भगवान् माथिको विश्वास तथा भगवानमा भर परेको भए आज स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नरहेको उल्लेख गरे । भगवान् बुद्धको उपदेशको स्मरण गर्दै उनले बुद्धले पनि पात तथा जडीबुटी छोएको र त्यस बेलादेखि नै जडीबुटी औषधि विज्ञानको गौरवपूर्ण इतिहास रहेको चर्चा गरे । ओलीले गङ्गालाल हृदय केन्द्रको स्थापनापछि हालसम्म १७ हजार बिरामी मुटुको शल्यक्रिया गरेकामा त्यहाँका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै गङ्गालाल हृदय केन्द्रले मुटुरोग लाग्न नदिन जनसाधारणमा सक्दो सचेतना फैलाउन जरुरी भएको बताए । ‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानवजातीका रुपमा उपचार गर्नुपर्दछ ।’ कार्यक्रममा शहीद गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगीको उपचारलाई ध्यानमा राखेर स्थापना गरेको यो केन्द्रको स्थापनापछि धेरै मुटु रोगीले स्वास्थ्य उपचार र नयाँ जीवन पाएका बताए। समारोहको सभापतित्व स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गरेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको समेत उपस्थिति थियो ।

युवाले आँट गरे नेपाल सबैभन्दा सभ्य र समृद्ध राष्ट्र बन्छः प्रचण्ड (भिडियोसहित)

काठमाडौं, साउन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले युवाहरुले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने दाबी गरेका छन् । शनिवार लियो क्लबद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘युवाहरुले लक्ष्य ठूलो राखेर हिँडे भने हामीले लक्ष्य हासिल गर्न सक्छौं । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पुर्याउन सक्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले युवाहरुले संकल्प मात्र गरे यी सबै कुरा पुरा हुने बताए । ‘दशदेखि २० वर्ष भित्र नेपाल संसारकै सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ,’ उनले भने, ‘नेपालको इतिहास र भूमि उर्भरभूमी हो । नेपाल बिचार निर्माण र सृजनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ । नेपाल संसारको अग्लो टाकुरा भएको देश हो जहाँबाट बोलेको संसारभर सुनिन्छ ।’ अध्यक्ष प्रचण्डले समाज विविध बिचार, व्यक्तित्व र रचनाहरुको समिश्रणबाट बनेको बताउँदैयुवाहरुलाई आफूभित्र समाज, राष्ट्र र मानव जातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकांक्षा प्रतिवद्धताको रुपमा बिकास गर्न आग्रह पनि गरे । उनले भने, ‘तपाईहरुका अगाडि सिंगै जीवन छ । आफूहरुले विगतमा गरे जस्तो संकल्प गरे देशमा ठूल्ठूला चमत्कार नै हुनसक्छ ।’ अयक्ष प्रचण्डले युवाहरुलाई सिक्ने कार्यमा निपूर्ण बन्न आग्रह पनि गरे ।

कमजोर बन्दै मनसुनी गतिविधि

काठमाडौं, साउन ११ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालले बताए । “मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर चलिरहने छ”, मौसमविद् अर्यालले भने । तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आग्रह गरेको छ ।

अदालत परिसरबाटै विप्लव समूहका नेता ओली तेस्रोपटक पक्राउ

काठमाडौं, साउन ११ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाइ प्रहरीले तेस्रोपटक पक्राउ गरेको छ । उनलाई शुक्रबार साझँ सर्वोच्च अदालतले छाड्न दिएको आदेश अनुसार रिहाई गरिएको थियो तर रिहाई लगतै जिल्ला अदालत रोल्पाको परिसरबाटै प्रहरीले पुनः पक्राउ गरि प्युठान लागिएको हो । उनलाई शुक्रबार साझँ नै जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरि प्युठान पठाएको स्रोतले जनाएको छ । सर्बोच्चले लाल बहादुर ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै शुक्रबार रिहा गर्न आदेश दिएको थियो । प्रवृत्त धारणा राखी गैर कानुनी तवरले थुनामा राखेको भन्दै सर्बोच्चले थुनामुक्त गर्न आदेश दिएपछि जिल्ला अदालत रोल्पाले रिहाई गरेको थियो । उनिसहित ३ जना नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो । तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो । उनि संगै गिरफ्तार चन्द्रबहादुर खड्का असल र चुडामणि ओली आदर्श रिहा भैसकेका छन् । उनीहरु दुवैजनालाई सुनसरी जिल्ला अदालतले साधारण तारिकमा रिहा गरेको थियो ।

वृद्धभत्ता जम्मा गरेर धर्मशाला

मुगु, साउन ११ । सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुमा कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा जुटेका हुन्। वृद्धभत्ताबापत उनले मासिक दुई हजार रुपैयाँ बुझ्दै आएका छन्। ऐडीले रकम जम्मा गरेर सार्वजनिक जग्गामा धर्मशाला बनाउन थालेको बताए। धर्मशाला बनाउन उनले ५० हजार रुपैयाँ जम्मा गरेका छन्। धर्मशालाका लागि दुई बन्डल जस्तापाता, काठ र ढुंगा जम्मा गरिसकेको ऐडीले बताए। लगातारको वर्षात्का कारण निर्माण भने सुरु हुन सकेको छैन। उनी वर्षात् रोकिएलगत्तै धर्मशाला बनाएर हस्तान्तरण गर्ने हतारमा छन्। जयखर भन्छन्, ‘सरकारले मेरा लागि बुढेसकालमा भत्ता दियो, मैले सरकारलाई के दिएँ र रु यो भत्ता सामाजिक काममा खर्च गर्छु, भोलि मेरो मृत्युपछि पनि काम लागोस्।’ उनका परिवारले भत्ताबापतको रकम खर्च गर्न बारम्बार आग्रह गरे। परिवारका सदस्यले धर्मशाला बनाइदिने वचन पनि दिए। तर जयखरले मानेनन्। आफैं कस्सिएर सामान जुटाउन थालेको नाति उत्तम रोकायाले बताए। आफ्ना छोरा नभएका कारण उनी छोरी र ज्वाइँसँग बस्दै आएका छन्। वृद्धभत्ता जोगाएर जयखर अगाडि सरेपछि बाँकी निर्माण कार्यमा सहयोग गर्ने वचन गाउँलेले दिएका छन्। तर जयखरले कसैको सहयोग नलिने बरु रकम अभाव भएमा आउने भत्ताबाट तिर्ने बताए। मुगुम कार्मारोङ गाँउपालिका–९ का वडाध्यक्ष बिर्खबहादुर बुढाले धर्मशाला निर्माणमा वडाले पनि सहयोग गर्ने बताए। हिमपात परेका बेला गाउँमा सार्वजनिक काम गर्ने स्थानको अभाव छ। गाउँलेको मृत्युमा पनि कर्मकाण्ड गर्दा समस्या भएको देखेपछि आफूले धर्मशाला बनाउने योजना बनाएको जयखरले सुनाए। अझ केही वर्ष बाँचेमा थप सार्वजनिक काममा लगानी गर्ने योजना पनि उनले सुनाए। गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले अन्य निकाय तथा समुदायको सहयोग नलिने अडान गरेकाले जयखरलाई चाहेर पनि गाउँपालिकाले सहयोग गर्न नसकिएको बताए। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

काठमाडौं महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट

काठमाडौं, साउन ११ । काठमाडौं महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ । सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए । ‘वर्षको अन्तिममा मात्र कर तिर्ने बानी छ हाम्रो,’ उनले भने, ‘त्यसैले समयमै कर तिराउनका लागि कर तथा विभिन्न शीर्षकमा छुट दिएको हो ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।

कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

काठमाडौं, साउन ११ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ । विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युट को हकका लागि एक वर्ष र नयँँ टेलिभिजन सिग्नल डिस्ट्रिब्युटका लागि कानुन लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको हो । विधेयक पारित पछि राजपत्रमा सूचना भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिव्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भए लगत्तै लागू हुने व्यवस्था गरेका छौँ, समिति सभापति कल्याणी खड्काले भनिन् । सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६ मा क्लिन फिड तोकिएको मितिदेखि लागू हुने व्यवस्था राखेको थियो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

हदबन्दीभन्दा बढी जग्गा जफत हुने

काठमाडौं, साउन ११ । सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो। भित्री मधेससमेत तराईमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी, उपत्यकाबाहेक पहाडी क्षेत्रमा ७० रोपनी हदबन्दी तोकिएको छ। यसबाहेक व्यक्ति वा निजको परिवारले घरबारी निम्ति तराईमा १ बिघा, काठमाडौं उपत्यकामा ५ रोपनी र उपत्यकाबाहेक पहाडी क्षेत्रमा २० रोपनी थप राख्न पाउने व्यवस्था साबिककै ऐनमा छ। यो हदबन्दी २०५८ भदौ ३१ मा लागू भएको थियो। उक्त व्यवस्था अझै पूर्ण कार्यान्वयन भएको छैन। तराईमा अझै हदबन्दीभन्दा बढी जग्गा प्रयोग भइरहेको छ। उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना र शिक्षण संस्थाका नाममा सरकारले छुटसमेत दिएको थियो। उनीहरूले त्यो जग्गा मनपरी प्रयोग गर्दै आएको पाइएको छ। जुन कामका लागि लिएको हो त्यसमा मात्रै प्रयोग गर्न पाइने व्यवस्था विधेयकले गरेको छ। त्यस्तो जग्गा बिक्रीवितरण, हक हस्तान्तरण वा सट्टापट्टा गर्न नपाइने व्यवस्था प्रस्तावित ऐनमा छ। लिज वा भाडामा पनि लिन पाइनेछैन। आफ्नो उद्देश्यअनुरूप कार्यसम्पादन गरे÷नगरेको अनुगमन गर्न अनुगमन तथा निरीक्षण समिति गठनको प्रस्ताव सरकारले गरेको छ। यो समितिले आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र प्रतिवेदन भूमिव्यवस्थापन तथा अभिलेख विभागसमक्ष पेस गर्नुपर्नेछ। विभागले अध्ययन गरी एक महिनाभित्र रायसहित भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेस गर्नुपर्नेछ। जग्गा उद्देश्यअनुरूप प्रयोग भएको नपाइए मन्त्रालयले जफत गरी नेपाल सरकारको नाम कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृति स्रोत समिति बैठकमा छलफलका क्रममा हदबन्दी घटाउनुपर्ने मागसमेत उठेको छ। यसको असर भने तराई–मधेसमा देखिएको छ। मधेसमा भूमिसुधार होइन, भूमि व्यवस्थापन गरिनुपर्ने तराई मामिलाका जानकार चन्द्रकिशोर झाले बताए। ‘मधेसको शक्तिका रूपमा रहेको भूमि खोस्न खोजिँदै छ’, उनले भने, ‘यसले मधेसमा द्वन्द्व निम्त्याउनेछ।’ राजा महेन्द्रले ल्याएको भूमिसुधारले तराई समस्या समाधान नगरेको दाबी उनले गरे। ‘आयोग बने, पुनर्वास गरियो तर तराईका दलितले त्यसको हिस्सा पाएनन्’, उनले भने, ‘भूमिहीन बढेका बढ्यै छन्।’ उद्योग, कम्पनी र ट्रस्टका नाममा तराईमा जग्गा मालिक अरू नै हुन थालेकामा उनले चिन्ता व्यक्त गरे। मोहीको हदबन्दी हटाइँदै प्रस्तावित ऐनमा मोहीको हदबन्दी हटाउने व्यवस्था छ। ऐनको सातौं संशोधनको दफा ८ मा मोहीको हैसियतमा कमाउन पाउने जग्गाको हदबन्दी तोकिएको थियो। भित्री मधेससमेत तराई क्षेत्रमा ४ बिघा, काठमाडौं उपत्यकामा १० रोपनी, उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा २० रोपनी हदबन्दी कायम थियो। आठौं संशोधनमा यो व्यवस्था हटाइएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले मोहीको हैसियतले छुट्टै हदबन्दी व्यवस्था नहुने बताए। ‘अब सबैलाई एउटै व्यवस्था लागू हुन्छ। मोही हक मात्रै छुट्टै व्यवस्था लागू हुनेछैन’, उनले भने। जग्गावाल र मोहीको आधा–आधा हिस्सा गणना हुनेछ। यो व्यवस्था मोहीलाई फाइदा हुने भएको छ भने जग्गावाललाई घाटा। मोहीको हक छुट्टयाउँदा जग्गा जोतभोग नगरेको भन्ने प्रमाणित हुन आए लगतकट्टा गरी त्यस्तो जग्गा नेपाल सरकारको नाम कायम गरिनेछ। हटाइएका मोही पुनःस्थापित गराइनुपर्ने उच्चस्तरीय भूमिसुधार आयोगका पूर्वअध्यक्ष केशव बडालले बताए। विधेयकले बेदर्ता मोहीलाई सम्बोधन नगरेको उनको टिप्पणी छ। ‘मोहीलाई जबर्जस्ती हटाइएको छ। मोहियानी हक उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘बेदर्ता मोहीलाई सम्बोधन गर्नुपर्छ। ५ सय वर्षदेखि जग्गा जोतभोग गरिरहेका छन् तर जग्गाको पुर्जा छैन।’ उनका अनुसार काठमाडौंमा मोही बलिया छन् तर तराईमा भने बिजोग। नागरिकताको समस्याले पनि उनीहरूले जग्गा दर्ता गर्न पाएका छैनन्। संविधानको मर्मअनुसार कोही पनि भूमिहीन हुन नहुने उनको भनाइ छ। उनका अनुसार मूल ऐनको दफा १५ को क ‘२’ हटाएर २०५३ साल पुस २४ गतेभन्दा पहिलादेखि लगातार जोतभोग गर्दै आएकालाई मोहियानी हक दिई जमिन बाँडफाँट गरिनेछ भन्ने थप्नुपर्छ। मूल ऐनको दफा ५२ को ख ९४० सबै हटाइनुपर्ने उनले बताए। यो दफा हटाएर प्रचलित कानुन जुनसुकै लेखिएको भए पनि कम्तीमा १५ वर्षदेखि बसोबास तथा जोतभोग गर्दै आएको÷नापी छुट भएको जमिनको हकमा स्थानीय तहको सिफारिसलाई आधार मानी जग्गा धनीपुर्जा दिइने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

एनसेल बम काण्डमा अाराेपित विप्लव नेता पक्राउ

काठमाडौं, साउन १० । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा ‘विप्लव’ समूहका युवा संगठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाकाअनुसार उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए । उक्त दिन शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसी क्यामेराबाट पत्ता लागेको थियो । घटनाका दोषीहरुलाई खोज्नेक्रममा काभ्रेको काफलडाँडामा प्रहरीले चलाएको ‘अपरेसन’बाटसमेत उनी उम्कन सफल भएको थापाले बताए । गत साल फागुन १० गते राति भएको बम विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा ८ जनाको संलग्नता रहेकोमा सातजना यसअघि नै पक्राउ परिसकेका छन् । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहको गतिविधि विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । रासस

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

बेत्रावती, साउन १० । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले जानकारी दिए । बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए । नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि यहाँबाट काठमाडौँ पठाएको थियो । बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए । “सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन् ।” उनले भने, “चिकित्सकको बेवास्ता र सुत्केरीकक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो ।” चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउनुभएकी वस्तीको शव काठमाडौंबाट अन्तिम संस्कारका लागि बिहीबार राति नै नुवाकोट ल्याएर विरोधस्वरुप त्रिशूली अस्पतालमा राखिएको छ । सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु अस्पतालमा परिसर भेला भएर विरोध जनाइरहेएका छन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुत्केरीलाई जतिसक्दो चाँडो काठमाडौं लैजानुपर्ने भए पनि नुवाकोट ‘सुगम’ जिल्लामा पर्ने भन्दै सरकारीस्तरबाट हेलिकप्टर उपलब्ध गराउन नमिल्ने जनाइएकाले निजीस्तरको हेलिकप्टरमार्फत अस्पताल पुर्याउन ढिलाइ भएको थियो । समयमै उपचार नपाएर सुत्केरीको मृत्यु भए पनि नवजात शिशुको काठमाडौंस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै आएको बताइएको छ । रासस