न्यूरोडमा भीषण आगलागी, करोडौंको क्षति
कास्कीः पोखराको न्यूरोडस्थित भाटभटेनी सुपरमार्कट अगाडि रहेको एस मिनीमार्केटमा भीषण आगलागी भएको छ ।
दिउँसो ४ बजे लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
आगोको कारण एक दर्जनभन्दा बढी पसलहरुमा क्षति पुगेको छ । आगोबाट शुभ युनिक पर्दा र कार्पेट पसलमा बढी क्षति भएको छ । आगलागी भएसँग उक्त क्षेत्रमा सवारी अवरोध भएको छ ।
२ इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा, १८ महिना कैद र ४ महिना सजाय माग
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश बहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले दुवैजनाविरुद्ध १८ हजार रुपैयाँ बिगो तथा अधिकत्तम ४ महिनासम्मको कैद सजाय माग दाबी गरेको हो । अनुसन्धानको सिलसिलामा थुनामा रहेका अभियुक्तलाई थुनामुक्त गराइदिने भन्दै लिएको १८ हजार घुस रकमसहित अख्तियारले इन्सपेक्टरद्धय पाण्डे र स्वर्णकारलाई नियन्त्रणमा लिएको थियो ।
‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा प्रवेश
काठमाडौं । मिस नेपाल अर्थ–२०१८ की विजेता प्रिया सिग्देल साझा पार्टीमा प्रवेश गरेकी छन् । उनलाई साझा पार्टीले केन्द्रीय सदस्यको रुपमा मनोनयन गरेको छ । २४ वर्षीया सिग्देलले ‘डेभलपमेन्ट स्टडिज’मा स्नातक गरेकी छन् । मिस नेपाल अर्थ बनेपछि राजनीतिमा नै सक्रिय भएर सामाजिक परिवर्तनमा लाग्ने सोच भएको उनले प्रतिक्रिया दिएकी छन् । साझा पार्टीले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको कुरा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी गराए । प्रियालाई पार्टीमा सामेल गराउन पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । सिग्देलले एक गैरसरकारी संस्था सञ्चालन पनि गर्दैआएकी छन् । युवा तथा महिला नेतृत्व लगायत विषयमा उनले विभिन्न देशमा नेपालको तर्फबाट प्रस्तुती समेत दिइसकेकी छन् ।
प्रधानमन्त्री ओली सोमबार स्वदेश फिर्ता हुने
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर सोमबार स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।
अब त्रिविका महँगा कोर्समा पनि छात्रवृत्ति पाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविअन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू हुने भएको छ। यस अघि त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा १० प्रतिशत विद्यार्थीलाई मात्र अनिवार्य रुपमा निशुल्क छात्रवृत्ति दिदै आएको थियाे। नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसँग आइतबार भएको वार्तापश्चात अब डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्याक्रम सञ्चालन गर्ने कलेजहरूमा पनि लागू हुने निश्चित भएको हो। साउन १३ गते काफ्लेकै नेतृत्वको समूहले त्रिवि उपकुलपति डा.तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाई छात्रवृत्ति प्रभावकारी बनाउन दवाव दिएको थियो। नेविसंघले अघि सारेका माग पूरा गर्न त्रिविले गठन गरेको वार्ता समितिले नेविसंघसँग वार्ता गरेको थियो। वार्तामा दुवै पक्षबीच ५ बुँदे सहमति भएको छ। जसअनुसार अब डिन कार्यालयबाट सम्बन्धन लिने कलेजले सञ्चालन गरेका महँगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिइनेछ। नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्रिविसँगको सम्झौता ऐतिहासिक भएको बताए। ‘छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नै भइरहेको थिएन। यो सहमतिले सबैतिर निशुल्क छात्रवृत्ति लागु गर्न र महँगा कोर्समा पनि १० प्रतिशत छात्रवृत्ति दिलाउन बाटो खुलेको छ’, काफ्लेले भने। उनले सहमति कार्यान्वयन भएमा आर्थिक अभावका कारण महँगो कोर्स पढ्न नसक्ने जेहन्दार विद्यार्थी लाभान्वित हुने बताए। सहमतिमा त्रिविका तर्फबाट वार्ता समिति संयोजक गंगाबहादुर थापा र सदस्यहरूले हस्ताक्षर गरेका छन्। यस्तै नेविसंघका तर्फबाट निमा गिरी, हरि आचार्य, दीपक ओझा, योगेन्द्र रावल, विष्णुहरि खड्का र सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन्। नेविसंघ नेता दिपक ओझाले सहमतिका कारण बिबिए, बिएचमए, बिएसडब्लु, एमबिए, बीआइएम, बिबिएम जस्ता तुलनात्मक रुपमा बढी शुल्क लाग्ने कोर्स पढाई हुने कलेजमा पनि १० प्रतिशत विद्यार्थीले निशुल्क पढ्न पाउने बताए। ५ बुँदे सहमतिपत्रमा त्रिविअन्तर्गत दिइने छात्रवृत्तिको संख्या बढाउने, छात्रवृत्ति कार्यान्वयन गर्न प्रभावकारी अनुगमन गर्ने तथा निशुल्क छात्रवृत्ति पाउने विद्यार्थीलाई रजिष्ट्रेसन, लाइब्रेरी, ल्याब लगायतको शीर्षकमा कुल शुल्कको ५ प्रतिशतभन्दा बढी रकम लिन नपाइने लगायतका विषय समेटिएका छन्।
प्रहरी समायोजन विधेयकमाथिको छलफल प्रस्ताव स्वीकृत
काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकले ‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको प्रहरी समायोजन विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी, रामबहादुर विष्ट, लक्ष्मणलाल कर्ण, प्रेम सुवाल, प्रदीप यादव र रेणुका गुरुङले समायोजनमा एक तह बढुवा किन नगर्ने भनी प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले निजामतीमा तह मिलान गरिएको, विगतमा सशस्त्रमा विशिष्ट श्रेणीकालाई एक तह बढुवा गरिएको, प्रहरीमा एक वर्षसम्म व्यापक बढुवा भएकाले अहिले एक तह बढुवा गर्दा अन्तरविरोध हुने बताए । समायोजनमा जानेलाई प्रोत्साहनस्वरुप ग्रेड थप गरेर पठाइने उनको प्रतिबद्धता थियो । यसैगरी ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ । गृहमन्त्री थापाले बैठकमा प्रस्तुत गर्नुभएको सो प्रस्तावमा भाग लिँदै सांसदहरु भरतकुमार शाह, दिव्यमणि राजभण्डारी, लक्ष्मणलाल कर्ण, प्रेम सुवाल र रामसहायप्रसाद यादवले प्रदेशलाई कमजोर गर्ने गरी विधेयक ल्याउन नहुने बताएका थिए । सांसद कर्णले प्रदेशलाई कमजोर पार्ने गरी विधेयक पारित भए देशको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।
स्थानीय सभाः सवाल छान्दै समाधान
रनि विवश, कञ्चनपुरः पाँच दिन साउन २२ गते अघि कृष्णपुर नगरपालिका–१ श्रीपुरको चन्द्र सूर्य आधारभूत विद्यालयमा स्थानीय सभाको बैठक बस्यो । बैठकमा विषादी रहित तरकारी उत्पादन, बर्थिङ्ग सेन्टर सञ्चालन, निर्माण गुणस्तर लगायतका विषयमा छलफल गरी सवालका रुपमा निर्णय गरियो । ‘स्थानीय सभामा स्थानीय समस्यामाथि छलफल हुन्छ, ती समस्याबाट सवाल निक्र्यौल गरी समाधानका लागि पहल गरिन्छ’ गैर सरकारी संस्था संजिविनी नेपालका सह कार्यक्रम अधिकृत राजेन्द्र चुनारा भन्छन् । संजीविनी नेपालले नागरिक समाज पारस्पारिक जवाफदेही परियोजना अन्र्तगत कृष्णपुर गरपालिकामा स्थानीय समस्या समाधानका लागि स्थानीय सभा गठन गरिएको छ । ९ सदस्यीय स्थानीय सभाका संयोजक ढुण्डीराज भण्डारी छन् । सभाका हरेक बैठकमा संयोजक भण्डारी सहित सदस्यहरु गाउँ वस्तीका नयाँ समस्या ल्याउँछन् । ती समस्याबाट सवाल छनौट गरी समाधानका लागि पहल गर्छन् । ‘म त अचेल जता जान्छु, त्यतै समस्या सुनाउँछु, बानी नै त्यस्तै भई सक्यो’ स्थानीय सभाका संयोजक भण्डारी भन्छन्,‘यसरी समस्या सुनाउँदा सुनाउँदा केही त हल भई सकेका छन् ।’ सभाको पछिल्लो बैठकमा वडा नं. १ का ७ सय घरधुरीलाई मध्यनजर गरी छलफल गरिएको थियो । विषादी रहित तरकारी उत्पादनलाई पहिलो नम्बरमा छलफल गरी सवालका रुपमा निर्णय गरिएको थियो । ‘सबै वासिन्दालाई विषादी रहित तरकारी खुवाउन स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो, त्यसैले आज मैले यो सवाललाई बैठकमा ल्याए’ संयोजक भण्डारीले भनेका थिए, ‘यसलाई समाधानका लागि सम्बन्धित निकायमा गुहार गर्छु ।’ श्रीपुरमा बैठकमा संजिवीनि नेपालका कार्यकारी निर्देशक नितु भट्ट भण्डारी, सह कार्यक्रम अधिकृत राजेन्द्र चुनारा, अधिकारकर्मी पारस गिरी, लक्ष्मी मल्ल लगायतका सभाका सदस्यहरु सहभागी थिए । स्थानीय सभा गठनपछि सवालका रुपमा अघि सारिएका स्थानीय समस्याहरु समाधान हुन थालेका छन् । हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, अन्त्येष्टि घाट लगायतका सवाल समाधान भएका छन् । संयोजक भण्डारीले हालसम्म समाधान गरिएको सवालहरुको फेहरिस्त सुनाउने क्रममा सबैभन्दा पहिला स्वास्थ्य सम्बन्धी सुनाए । ‘स्वास्थ्यका निम्ति सवाल उठायौ, सामुदायिक स्वास्थ्य इकाई छ, त्यहाँ अहेबले निःशुल्क रुपमा सेवा दिदै आएका थिए, स्थानीय सभाको पहलपछि अहिले तलब पाउँछन्’ उनले भने । निगालीस्थित स्वास्थ्य इकाईमा अहेव योगेन्द्र साउँद सुरुवातदेखि निःशुल्क रुपमा काम गर्दै आएका थिए । कृष्णपुरका स्थानीय साउँदले गत वर्ष तलब नपाएर काम गर्दा समेत सन्तुष्ट भएको बताएका थिए । ‘स्थानीय सभाले अहेव साउँदको सेवाको कदर गर्दै नगर प्रमुख कृष्ण बहादुर हमालसम्म पुगाएका थियो, त्यसपछि नगर प्रमुख हमालले अहेव साउँदलाई नगरपालिकाबाट तलब पाउने व्यवस्था गरि दिनु भयो’ संयोजक भण्डारीले भने । स्थानीय सभाका संयोजक भण्डारी आफ्नै पहलमा स्वास्थ्य इकाई भवन बनेको छ । उनले आफ्नो नाममा उधारो समान लिएर भवन बनाएका छन् । उधारो तिर्न सकिएको छैन । ‘उधारो लिएर भवन बनाए, त्यो बेला कोही आएन, अहिले त्यहाँ अलिकति पैसा आएको छ, म बन्छु ऊ बन्छ भनेर रस्साकस्सी छ’ चित्त देखाउँदै भण्डारीले भने । स्थानीय सभाको पहलमा बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । वडा कार्यालयले स्थानीय सभाको पहलमा यस अन्त्येष्टि घाटका लागि चार लाख बजेटि विनियोजन गरिएको छ । यसका लागि संयोजक भण्डारी सहित तीन जनालाई जिम्मेवारी दिइएको थियो । अन्त्येष्टि घाटबाट कृष्णपुर नगरपालिका वडा नं. १ सहित शुक्लाफाँटा नगरपालिका वडा ८ र ९ का वासिन्दा लाभावान्तित हुने छन् । खानेपानी योजना सञ्चालनलका लागि स्थानीयको लागत सहभागिता स्वरुप रकम संलकन गरिएको छ भने कृष्णपुर नगरपालिकाबाट शिक्षा क्षेत्रका लागि १० लाख बजेट विनियोजन गराइएको छ । श्रीपुर बैठकको एजेण्डामा अघि सारिएको विषादी रहित तरकारी खेतीका लागि संयोजक भण्डारीले एक घर एक टनेल निर्माणलाई प्राथमिकताका साथ अघि सारेका थिए । केही महिना अघि संयोजक भण्डारी र सभाका सचिव तोप बहादुर महरा पाल्पा भ्रमणमा गएका थिए । त्यहाँका स्थानीयका खेतमा देखिएका टनेल खेतीमा भण्डारी आकर्षित भएका थिए । ‘त्यहाँ जसरी टनेल खेती गरिएको थियो, त्यसरी नै यहाँ पनि खेती गर्ने सपना त्यही देखेर आएको हुँ’ उनले भने । स्थानीय सभाका सचिव महरा भने पूर्व लडाकु हुन् । कैलालीको अत्तरियास्थित होटलमा काम गर्दागर्दै श्रमजीवि वर्गको राज्य सत्ता ल्याउन जनयुद्धमा होमिएका महरा अहिले स्थानीय समस्या समाधानमा सक्रिय रुपमा लागेका छन् । डडेल्धुराको भित्री मधेस जोगबुडामा जन्मिएका अहिले कृष्णपुर नगरपालिका वडा नं. १ मा बस्दै आएका छन् । तत्कालिन नेकपा माओवादीको जनमुक्ति सेनाका लडाकु महरा शान्ति स्थापनापछि शिविरमा पाँच लाख रुपैँया लिएर फर्किएका थिए । ‘जनयुद्ध शान्ति प्रक्रिया हुँदै यहाँसम्म आई पुग्यो, यो सभामा आई सकेपछि भेटघाट भएको छ, समस्या समाधानका लागि सबै मिलेर लागि रहेका छौ’ सचिव महराले भने । सभा सदस्यहरुमा पूर्व लडाकूदेखि युवा, जेष्ठ नागरिकसम्म छन् । सभाका सदस्य द्रोपति भण्डारी स्थानीय सभाबाट समस्या समाधान भएको देख्दा खुसी लागेको बताउँछिन् । ‘पहिला मिल जानु पिपलाडी जानु पथ्र्यो, अचेल गाउँमै मिल छ, बाँचेपछि अरु पनि देखिने होला भन्ने ठान्छु’ उनले भनिन्,‘सबै मिलेपछि समस्या त समाधान हुँदो रहेछ ।’संजीविनी नेपालका कार्यकारी निर्देशक नितु भट्ट भण्डारीले स्थानीय सभाको सवाललाई संस्थाले सदा साथ दिएको बताउँछिन् । ‘सवाल समाधानमा संस्थाको पूर्ण रुपमा सहयोग हुन्छ’ उनी भन्छिन् ।
सपिङ कम्प्लेक्सको निर्माण शुरु, ६८ ओटा व्यावसायिक सटर निर्माण गरिने
बुटवल । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ (बहुद्देश्यीय भवन) निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आइतवार शिलान्यास गरे । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह गरे । बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दिगो आयस्रोतको आधार बनाउने गरी उक्त भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो । सो कार्यका लागि उपमहानगरपालिका र कोषबीच गत फागुनमा सम्झौता भएको थियो । भवनका लागि रू. १० करोड ८४ लाख खर्च हुने अनुमान छ । वि.सं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ अत्याधुनिक मापदण्ड बमोजिमका व्यावसायिक सटर निर्माण गरिने भएकामा भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७र २७ सटर निर्माण गरिने बताइएको छ । रासस
भोलि सार्वजनिक विदा
काठमाडौंः प्रदेश २ ले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। मुख्यमन्त्री लालबाबु राउतले इदको अवसरमा सम्पूर्ण मुस्लिम धर्मालम्बीहरूलाई शुभकामनासमेत व्यक्त गरेका छन्। प्रदेश सरकारले दिएको विदा प्रदेश तथा स्थानीय सरकारका कार्यालयमा लागू हुन्छ। केन्द्रमातहतका कार्यालयमा विदा दिन गृह मन्त्रालयले सूचना जारी गर्नुपर्छ।
लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा धर्ना, प्रहरी र प्रदर्शनकारीबीच झडप
काठमाडौंः लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि विरोध प्रदर्शन गरेका छन्। काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोगसमेत गरेको छ । त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको छ। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन्। यता लोकसेवाले भने परीक्षा लिइरहेको छ।
चक्कु प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमति पक्राउ
काठमाडौं । चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा गोकर्णेश्वर नगपालिका ६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शिलाले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई सामान्य विवादको कारण तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई पक्राउ गरेको हो ।
विप्लवका विद्यार्थी नेता न्यौपाने बर्दियाबाट रिहा
बर्दियाः विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने रिहा भएका छन्। सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने बर्दियाबाट रिहा भएका हुन्। गत फागुन महिनामा पक्राउ परेका न्यौपाने पटक-पटक पक्राउ पर्दै रिहाई हुँदै आएका थिए। बाँकेमा १० हजार धरौटी बुझाएका उनलाई लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरबाट पुन पक्राउ गरेको थियो। सर्वोच्च अदालको फैसला आदेशले शुक्रबार न्यौपानेको बर्दिया जिल्लाबाट रिहाई भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। बाँके, बर्दियालगायत कैलालीका हिरासत तथा कारागारमा बन्दी रहेका अवस्थामा उनलाई गैरन्यायिक बन्दी बनाइएको भन्दै उनका भाइ दिपक न्यौपानेले साउन दोस्रो साता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए।
कलंकीस्थित गेष्ट हाउसबाट लागूऔषधसहित पाँच पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित रिजन गेष्ट हाउसबाट चन्द्रागिरि नगरपालिका थानकोट बस्ने ३५ वर्षीय पूर्णदास गोपाली सहित ५ जनालाई लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साथै, पूर्णदास गोपालीको साथबाट नगद ९२ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सो गेष्ट हाउसमा जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा निज गोपालीका साथीहरु बा.१.ज ७८७७ नम्बरका ट्याक्सी चालक ललितपुर बखुण्डोल बस्ने तनहुँ दमौली घर भएका ५० वर्षीय जिवन राणा र नख्खु बस्ने नवलपरासी रजहर घर भएका ४० वर्षीय नौमाया मगरलाई लागूऔषध नुरफिन ७० एम्पुल, डाईजोपाम ७० एम्पुल र फेनरागन ७० एम्पुल सहित सानेपाबाट पक्राउ गरेको छ । साथै ललितपुर महानगरपालिका ११ बखुण्डोलमा रहेको जिवन राणाको कोठाबाट थप लागूऔषध फेनारागन २ सय ५ एम्पुल, नुरफिन १ सय ४३ एम्पुल, डाईजोपाम १ सय ७३ एम्पुल, १ तोलाको सुनको सिक्रि १ थान, ३.५ तोलाको सुनको औंठी १ थान, चाँदीको चेन ४ तोला र नगद २ लाख ७९ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । सुनसरी, ईटहरी उपमहानगरपालिका ४ धरान लाईनस्थित कोशी राजमार्गबाट कैलाली धनगढी उपमहानगरपालिका २ घर भएका नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरीमा सेनानी पदमा कार्यरत ३६ वर्षीय अजित प्रसाद सिंह र सुनसरी रामधुनी नगरपालिका(१ बस्ने २२ वर्षीय प्रमोदकुमार चौधरीलाई १ ग्राम ३ सय २० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
किशोरीलाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको अवस्थामा दुई जना पक्राउ
काठमाडौं । विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आईतेबहादुर लोप्चनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधि सहित खटिएको प्रहरीले ना.७.ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा ती किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई बेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त वृत्तले जनाएको छ ।
अन्त्येष्टिका लागि खाल्डोमा राख्ने क्रममा शिशु चल्मलाएपछि…
चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो । मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको उनले जानकारी दिए। अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले बताए । घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो । रासस
मध्यपहाडी लोकमार्ग खुलाउन ३ हप्ता लाग्ने
पर्वतः तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ । बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर सडक बगाएको थियो । सडकमा नयाँ ट्र्याक खोल्न करीब तीन हप्ता लाग्ने अनुमान गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । बाढीले बगाएको क्षेत्रमा नयाँ ट्र्याक खेल्नुपर्ने भएकाले आगामी भदौ ५ गतेसम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले बताए । पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्र्याक खोल्ने काम शुरु गरिएको छ । उनले भने, “ट्र्याक खोल्ने ठाउँमा ठूलो ढुङ्गाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ, तत्कालका लागि अस्थायी ट्र्याक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना छ ।” सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन ठप्प छन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारी साधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । यसैगरी लोकमार्गको पर्वत खण्डमा दुई महिनादेखि रोकिएको सडक स्तरोन्नतिको काम पनि भदौको पहिलो सातादेखि पूर्णरुपमा सुचारु हुने भएको छ । असारपछि रोकिएको विस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मतलगायतका काम शुरु गरिएको प्रमुख थापा मगरले बताए । वर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भिरमा जुनसुकैबेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वतखण्डमा पर्ने कुस्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुलदेखि गिरीचोकसम्मको खण्ड पहिरोको उच्च जोखिममा छ ।

