सुमार्गीको ‘हेलाे नेपाल’को लाइसेन्स खारेज
काठमाडौंः व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र रद्द गरिएको छ ।
नेपाल दूर सञ्चार प्राधिकरणलाई बक्यौता वापतको नवीकरण दस्तुर करीब ८० करोड रुपैयाँ नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले उसको लाइसेन्स खारेज गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
उनले भने, ‘आइतबार बसेको प्राधिकरण बोर्ड बैठक व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालको लाइसेन्स खारेज गरेको छ। तीन महिनाको समयसीमामा उसले करीब ८० करोड रकम नबुझाएपछि स्वतः खारेज भएको हो।’
उनका अनुसार कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बुझाउन जेठ मसान्तसम्म अन्तिम समयसीमा र पछि फेरि समय सारेर भदौ १ गतेसम्म तोकिएको थियो। तर उक्त समयसीमा नाघेपछि हेल्लो नेपालको लाइसेन्स स्वतः खारेजीमा परेको हो।
ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी लाइसेन्स पाएको कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो। नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ। उपत्यका बाहिर सेवा दिँदै आएपछि काठमाडौं प्रवेश गर्न पाउनेगरी लाइसेन्स पाएको कम्पनीले पछिल्लो समय सेवा विस्तारमा खासै लगानी गरेको छैन।
शालिकराम प्रकरणमा नेकपासँगै काँग्रेसको आयो यस्तो विज्ञप्ति
चितवनः पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई राजनीतिकरण हुनबाट रोक्न चितवनका दलहरुले सचेतता अपनाएका छन् । आइतबार सर्वदलिय बैठकमार्फत घटनालाई अतिरञ्जित हुन नदिन र अनुसन्धानलाई कुनै पनि कोणबाट प्रभावित नगर्न सामूहिक वक्तव्य जारी गरेका दलहरुले आइतबार पार्टि तहबाट समेत विज्ञप्ति जारि गरेका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रवि लामिछाने समर्थकको भनिएको आन्दोलनमा सहभागी नहुन निर्देशन दिँदै विज्ञप्ति जारी गरेको छ । यसैबीच नेपाली काँग्रेसले समेत अनुसन्धानलाई प्रभावित नगरि सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विज्ञप्ति जारि गरेको छ । पढनुहोस् विज्ञप्ति–
सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट
कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले संविधानको गम्भीर उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता लोकेन्द्र ओलीले प्रदेश सरकारले संविधानको गम्भीर उल्लंघन गरी स्थानीय तहका जनप्रतिनिधिहरूलाई मासिक रुपमा पारिश्रमिक, ज्याला, तलब सहित सुविधा दिने ऐनहरू जारी गरी करोडौँ रकम सिध्याएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्। सुदूरपश्चिमसँगै गण्डकी प्रदेश, २, ३, ५ र कर्णाली प्रदेश सरकारविरुद्ध पनि मुद्धा दर्ता गरिएको हो। संविधानमा जनप्रतिनिधिलाई तलब, ज्याला सहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्रै दिने उल्लेख गरिएको भन्दै मुद्धा दर्ता गरेको अधिवक्ता ओलीले ताए। उनले दायर गरेको रिट उपर आगामी शुक्रबार सुनुवाइ हुने छ। संविधानमा स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने व्यवस्था नभई सुविधा लिन पाइने व्यवस्था छ। प्रदेश र स्थानीय तहले संविधानले सुविधा लिन पाउने भनेर गरेको व्यवस्थालाई प्रदेशले तोडमोड गरेर तलब, सेवासुविधा मनलाग्दी बनाएको आरोप उनको छ। संविधानमा उल्लेख गरेको सुविधा नियमित नभई तोकिएको बैठक वा विशेष अवसरमा उपस्थित भए बापत यातायात खर्च वा अन्य खर्च पर्छन्। तर, अहिले महिनावरी तलबसँगै अन्य भत्ताहरु पनि लिँदै आएका छन। दिनेश खबरबाट साभार
नेकपा चितवनले निकाल्यो कडा विज्ञप्ति, अराजक आन्दोलनमा नलाग्न निर्देशन
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले रवि लामिछाने समर्थकहरुको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको छ । रवि लामिछानेका समर्थकहरुले गरिरहेको प्रदर्शन अराजक र धमिलो पानीनीमा माछा मार्ने चलखेल भएको बताउँदै पार्टीले यस प्रकारका कुनै गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो । चितवनमा रविको रिहाईका लागि प्रदर्शन भनिए पनि आन्दोलनकारीले भने नेकपा अध्यक्ष प्रचण्डको आलोचना गरिरहेका छन् । नेकपा चितवनले अराजक समूहले पार्टी नेतृत्वको आलोचना गर्ने कार्य धमिलो पानीमा माछा मार्ने चलखेल बताएको छ । पढ्नुहोस् विज्ञप्ति–
यातायात व्यवस्था विभागको महानिर्देशकमा हमाल नियुक्त
काठमाडौंः एक हप्तादेखि रिक्त यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाललाई नियुक्त गरिएको छ । हमालले सोमबारबाट विभागको महानिर्देशकको कार्यभार सम्हालेका छन् । विभागको कार्यकक्षमा विभिन्न शाखाका कर्मचारीले हमाललाई स्वागत गरे । विभिन्न शाखाका कर्मचारीले सफल कार्यकालको शुभकामना दिएको स्वागत कार्यक्रममा हमालले विभागमा आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको विभागबाट सरुवा हुने जानकारी एक महिनाअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गराए पनि पत्र नआएका कारण एक हप्ता अघिसम्म दहाल नै विभागको महानिर्देशक पदमा थिए ।
न्यायाधीश अधिकारीद्वारा राजीनामा
काठमाडौंः उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले केही समय पहिलो गोर्खा ब्रुअरीको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भए पछि उनीमाथि न्याय परिषद्ले छानविन थालेको थियो । उनले आइतबार छानविन समितिमा बयान दिए पछि पदबाट राजीनामा दिएका हुन् । उनले आफूले दिएको बताए । न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
क्यान्सरको सस्तो उपचार विधि पत्ता लागेको दाबी
काठमाडौँ। ब्रिटेनका शोधकर्ताहरूले क्यान्सर उपचारको नयाँ र सस्तो विधि पत्ता लागेको दाबी गरेका छन् । त्यहाँको ‘युनिभर्सिटी अफ सेफिल्डमा विद्यावारिधि तहमा अनुसन्धानरत जोस रिकर्दो कोसमेले प्रचलित ‘फोटो डाइनामिक थेरापी’मा केही सुधार गरेर नयाँ विधि पट्ट लगाएको बताएका छन् । फोटो डाइनामिक उपचारपद्दतिमा प्रकाशको सहायताले उपचार गर्ने गरिन्छ । यस विधिमा त्यस्ता औषधिको प्रयोग गर्ने गरिन्छ जो प्रकाशको सम्पर्कमा आउनासाथ सक्रिय हुन्छन् र तिनले क्यान्सर कोषिकाहरूलाई नष्ट परिदिन्छन् । यसरी प्रयोग गरिने कतिपय औषधिहरू लामो समय प्रकाशको सम्पर्कमा नआए विषाक्त बन्ने र यसका थुप्रै दुष्प्रभाव देखिने गरेका थिए । जसले गर्दा उपचार सफल हुने सम्भावना कम हुन जान्थ्यो । कोस्मेले गरेको अनुसन्धानबाट कार्बनका यस्ता सूक्ष्म काँ विकसित गर्न सकिने भएको छ जसले क्यान्सरजन्य कोषिकासम्म औषधि पुऱ्याउन सकोस । अनुसन्धानकर्ताहरूले अति सूक्ष्म कार्बन कणको मद्दतले यस्ता औषधिको प्रभावकारितालाई बढाउने प्रयोग गरेका थिए । यस्ता कार्बन कणहरू तुलनात्मक रूपमा कम विषाक्त हुने भएकाले यिनले बिरामीको शरीरमा क हानि हुने तर यिनले बोक्ने औषधिको क्यान्सरविरुद्ध लड्ने क्षमता भने कम नहुने निष्कर्ष उनीहरूले निकालेका छन् । एजेन्सी
आत्महत्या गर्नअघि पुडासैनीले ५ मिटर डोरी किनेको पसल भेटियो
चितवनः आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुटेजमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो । नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ । लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो । होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी थिइन् । पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा छ । पुडासैनीले पैसा तिरेर प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ । होटलमा पुगेपछि साँझ भेज खान बनाउन अर्डर गरेका पुडासैनी एक बोतल पानी लिएर कोठामा उक्लिएको होटल सञ्चालक बताउँछन् । राति ८ बजे खाना खान बोलाउन जाँदा पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर हेर्दा पत्रकार पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । झुण्डिनुअघि पुडासैनीले मोवाइलमा रेर्कड गराएको भिडियोमा पत्रकार रवि लामिछानेसहितका अन्य दुई व्यक्तिको नाम लिएका कारण आत्महत्या गर्नुपरेको उल्लेख छ । सोही आधारमा प्रहरीले पत्रकार लामिछानेसहित अन्य दुईजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनलाइन खबरबाट
एकता मञ्चद्वारा सहयोग रकम हस्तान्तरण
काठमाडौं । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कोइरालखर्क निवासी र हाल भारत तमिलनाडु, चेन्नैको पर्शाबाक्कममा कार्यरत रेखिराम सुनारलाई अखिल भारत नेपाली एकता मन्चले सहयोग गरेको छ । होटलमा वेटरको काम गर्ने २७ वर्षिय सुनार गत फ्रेबुअरी २६ मा बाटो काट्ने क्रममा दुर्घटनामा परी देब्रे खुट्टा भाँचिएका छन् । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी शीघ्र स्वास्थ्य लाभको कामनासहित पीडित सुनारलाई सहयोग रकम ३३,८९० (भारु) हस्तान्तरण गरिएको हो । अखिल भारत नेपाली एकता मन्च–तमिलनाडु–पुदुचेरी–केरला संयुक्त राज्य समितिको पहलमा सहयोग रकम संकलन गरी एकता मन्चका तर्फबाट राज्य समितिका अध्यक्ष लोकबहादुर क्षेत्रीले रकम हस्तानरण गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध उक्त मञ्चले विगतदेखि नै प्रवासमा रहेका नेपालीहरुका लागिसकेको सहयोग गर्दै आएको छ । अध्यक्ष क्षेत्रीले भने, ‘हामीले गरेको सानो सहयोगले कसैको ज्यान बच्छ, बाँच्न सहज हुन्छ भने त्यो हामीले गर्न हिच्किचाउनु हुँदैन ।’ उनले अखिल भारत नेपाली एकता मन्च, तामिलनाडु, पुदुचेरी, केरला, राज्य समितीका सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरे । कार्यक्रममा राज्य उपाध्यक्ष केशरबहादुर थापा, राज्य सदस्य मिठु पुरी, मध्यनगर समिति सह–सचिव राजु क्षेत्री, उत्तर नगर समिति सदस्य छविलाल सुनार र अशोक महरा, मध्य नगर समिती सदस्य रेखबहादुर सुनार, अम्जिकरै एरिया सचिब बालकृष्ण शाही, नेपाली युवा क्लब भारतका अध्यक्ष मिलन बिसुन्के, सदस्य गोपाल सुनार लगायतले आ–आफ्नो भनाई राखेका थिए । ‘सुनार अहिले पनि उपचाररत छन् । उनको आर्थिक अवस्था कमजोर भएकाले प्रवासमा रहेका हामीले सकेको सहयोग गरेका हौं’ एकता मञ्चका राज्य सह–सचिव चन्द्रबहादुर महराले जानकारी दिए । कार्यक्रमलाई समिति सचिव नारायणप्रसाद खनालले संचालन गरेका थिए ।
भोटेकोशीको बाढीले बेलिब्रिज बग्यो, नदी किनारका बस्तीमा त्रास
रसुवा । नेपाल–चीन सीमानाको केरुङतर्फ भोटेकोशी नदीमा बाढी आएपछि त्रिशूली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । बाढी बस्तीमा पस्ने डरले स्थानीय रातभर जाग्राम बसे नेपाल तर्फ पुल तथा रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदिमा गएराति एक्कासि आएको बाढीको रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविदुत आयोजना तर्फजाने पुल बगाएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । उनकाअनुसार भन्सार याड नजिकको बस्ती तत्कालै प्रहरी परिचालन गरी सुरक्षित स्थानमा सारिएको हो । बाढीको बहाव बढ्दै भएपछि त्रिशूली नदि किनारका बस्तीहरुमा सुरक्षा निकायले बिशेष सर्तकर्ता अपनाउन सामाजिक संजाल तथा फोनबाट अनुरोध गरेपछि बस्ती छाडेर स्थानीय बाहिर निस्केर रातभर जाग्राम बसेको विस्थापित क्याम्पका पूर्ण घलेले बताए । तत्कालै खाल्टे क्याम्पमा पुगेकी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले गाउँपालिका कार्यालय नजिकैको क्यान्टिन नजिकै बाढी आउन लागेको देखेपछि नजिकैको खाल्टे क्याम्पमा रहेको बस्ती रातीनै सुरक्षित ठाउँमा पठाएको बताए । खाल्टेमा २५९ परिवार भूकम्पका कारण बिस्थापित बस्दै आएका छन् । बेत्रावती, नौबिसे, खाल्टे, पैरेबेशी, मैलुङ्गलगायतका बस्तीमा सर्तक रहन सुरक्षा निकायले अनुरोध गरेपछि रातभर जागै बसेको बेत्रावतीबाट स्थानीय शिक्षक गणेश श्रेष्ठले बताए । आयोजना नजिकैको पुल १, रसुवागढी जलविद्युत आयोजनाले निर्माण गरी टिमुरेबासीले प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन गर्ने जलाउने घर (ईन्सिनिनेटर), दुइवटा ड्याम र रसुवागढी पेनस्टक पाईप २ थान बगाएको रसुवागढी जलविद्युत आयोजना प्रमुख छवि गैरेले बताए।
चुनाव बहिष्कारको घोषणासँगै अर्ध भूमिगत बन्यो वैद्य माओवादी, कार्यालय नराख्ने
काठमाडौं । आगामी मंसिरमा हुने उपचुनाव सक्रिय बहिष्कार गर्ने नीति पारित गरेको मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीको केन्द्रीय कार्यालय छोडेको छ । अबदेखि केन्द्रीय कार्यालय नराख्ने निर्णय गर्दै उसले पार्टीका जनवर्गीय संगठन, मोर्चाहरुको मात्र कार्यालय राख्ने र त्यहीबाट पार्टी गतिविधि अगाडी बढाउने निर्णय गरेको छ । त्यही निर्णयका आधारमा उसले तत्कालिन माओवादी एक हुँदा देखिकै केन्द्रीय कार्यालय रहेको बुद्धनगरको केन्द्रीय कार्यालय छोडेको छ । तत्कालिन एकीकृत माओवादी विभाजनपछि पनि वैद्य माओवादीले बुद्धनगरको कार्यालयलाई आफ्नो बनाउदै आएको थियो । मोहन वैद्य र रामबहादुर थापाको विभाजनमा उक्त कार्यालय कसले लिने भन्नेमा शुरुका केही समय विवाद समेत भएको थियो । ‘हामीले अब केन्द्रीय कार्यालय नराख्ने निर्णय गरेका छौं, जवस मोर्चाका नाममा खोलिने कार्यालयबाट पार्टी काम गछौं,’ वैद्य माओवादीका एक केन्द्रीय सदस्यले भने– ‘त्यही आधारमा बुद्धनगरको केन्द्रीय कार्यालय छोडिसकेका छौं।’ वैद्य माओवादीले वुद्धनगरको केन्द्रीय कार्यालय एक महिना अगाडी नै छोडिसकेको छ । अहिले उसले कुपन्डोलमा रहेको कार्यालयबाट भने देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कुपन्डोलको कार्यालयलाई पनि साघुरो बनाईएको छ । पहिले उपयोग गरेका कोठाहरु उसले छोडिसकेको छ भने खुल्ला स्थानमा बनाईएको टहराबाट मात्र उसले कार्यालय सञ्चालन गर्न लागेको छ । पार्टीभित्रै आर्थिक समस्या देखिन थालेको र महासचिव वैद्यलाई दैनान्दिन कार्यालय आउजाउमा समेत समस्या परेपछि कार्यालय नै नराख्ने निर्णय वैद्य माओवादीले लिएको हो । कार्यालय नै नराखी पार्टी गतिविधि कसरी हुन्छ रु भन्ने नेताहरुले नै महासचिव वैद्यलाई जिज्ञासा राख्दा उनले मोहन विक्रमको पनि पार्टी कार्यालय नै नरहेपनि पार्टी चलेकै छ, उसैगरी चलाउने जवाफ नेताहरुलाई दिएको एक केन्द्रीय सदस्यले बताए । पार्टी कार्यालय नै नराखेर वैद्यको पार्टी भूमिगत हुन भने खोजेको होइन । पार्टीभित्र आर्थिक समस्या चुलिदै गएपछि खर्च कटौतीका लागि यस्तो गर्न खोजेको ति नेताले बताए । तीन दिन अगाडी मात्रै पनि वैद्य स्वयंले प्रयोग गर्दै आईरहेको गाडी मर्मत खर्च नै नभएर केही समय त्यसै थन्किएको थियो । अहिले उक्त पार्टीभित्र चरम आर्थिक संकट देखिएको छ । जसकाकारण पार्टीको दैनान्दिन सञ्चालनमै पनि समस्या आईपर्न थालेको नेताहरुको भनाई छ । पार्टीबाट माओवादी पृष्ठभूमिका नेताहरु एक पछि अर्को गरी बाहिरिने क्रम रोकिएको छैन भने पार्टीमा वैद्य स्वयं पनि तत्कालिन माओवादी युद्धलाई समाजिक फासिवादीको आरोप लगाउदै आएका परि थापा, रामसिंह श्रीर्ष लगायत नेताहरुको घेराबन्दीमा छन् । वैद्यलाई युवा नेताहरुले साथ छोड्न थालेका छन भने परि, रामसिंह, सिताराम तामाङ लगायतका नेताहरुले घेराबन्दी बनाएर राखेका छन् । त्यो घेराबन्दी चिर्न सक्ने अवस्थामा यतिबेला वैद्य नरहेको उक्त पार्टीका नेताहरुको भनाई छ ।
दुर्घटनामा परी श्रीमानको मृत्यु, श्रीमती घाइते
दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा थप एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुने श्रीमान् हुन् भने घाइते रहेकी निजकी श्रीमती रहेको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नंको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नं को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नं को मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।
पारसलाई गिरफ्तार गर्न विद्यार्थी नेता बस्नेतको माग
काठमाडौंः विद्यार्थी नेता सुरेन्द्र बस्नेतले पुर्व युवराज पारस शाहलाई गिरफ्तार गरि कार्वाही गर्न माग गरेका छन् । देशमा गणतन्त्र आईसक्दा पनि सामन्ति धङधङीबाट मुक्त नभएका पारसलाई कानून बमोजिम कार्वाही गर्नुपर्ने उनले बताए । पारसको ठाउँमा अरु सामान्य नेपालीले प्रहरीमाथि हात हालेको भए के हुन्थ्यो ? एभरेष्टदैनिकसँग कुरा गर्दै नेता बस्नेतले भने, उनी सामान्य नागरिक हुन, विमानस्थल जस्तो अति संवेदनशील ठाउँमा प्रहरिमाथि दुर्व्यवहार हुँदा समेत त्यसै छोडिन्छ । उनले भने । प्रहरीले गाउँका सोझासाझालाई नमस्कार नगरेको भन्दै दु:ख दिने घटना समेत हुने गरेको बताउँदै बस्नेतले दुर्व्यवहार गरेकै बेला उनलाई नियन्त्रणमा लिनुपर्ने जिकिर गरे । पारसभित्र आफ्नो सत्ता गुमाएको झोक र सामन्ति उन्माद बाँकी नै रहेको उनले बताए आईतबारका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्व युवराज पारसले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । उनको व्यवहारमाथि कानुनसम्मत कार्वाही गर्न अहिले चौतर्फी माग उठेको छ ।
महिलालाई अदालतको न्यायः न आस न भरोसा
काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षौंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्र्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्ने महिला हिंसा, बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् । जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वोच्चमा दायर भएको बलात्कारको एक मुद्दा । सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्षअधि सामूहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेस पेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे । न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्दामा २२ फागुन २०६९ मा पीडकलाई ८ वर्ष कैद र ५ हजार जरिमानाको फैसला सुनाइयो । तर, तत्कालीन पुनरावेदनका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुवैलाई सफाइ दियो । जसले पूजाको घाउ थप बल्झायो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
७० बस्ती जोखिममा
नुवाकोट । पहिरो र भूकम्पका कारण हिमाली जिल्ला रसुवाका ७० बस्ती जोखिममा परेका छन्। तीनमध्ये ३० स्थानका बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणले गरेको भौगर्भिक अध्ययन प्रतिवेदनमा ७० स्थानका बस्ती जोखिमयुक्त र तीमध्ये ३० बस्तीलाई पूर्णरूपमा स्थानान्तरण गर्नुपर्ने उल्लेख छ। २५ बस्तीलाई भने आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित गर्न सकिने प्राविधिकरणले सुझाव दिएको छ। जोखिमयुक्त बस्तीका भूकम्प पीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन । आफ्नो थातथलोमा पहिरो गएपछि विस्थापित भएर उनीहरू अन्य स्थानमा बसोबास गर्दै आएका छन्। जोखिमयुक्त बस्तीमा परेका भुकम्प पीडितमा सबैभन्दा धेरै साविकको हाँकु र डाँडा गाउँ हुन्। दक्षिणी भेगमा रहेको उत्तरगया गाउँपालिकाको करुमर्याङ, चिप्लेटी, गोगने, मैलुङ, सिरुचेत, तिरु, पैरेबेसी, लयुङलगायत ठाउँलाई जोखिमयुक्त बस्ती भनिएको छ । गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, लाङटाङ, मुण्डुप, सिन्धुम, गुम्चेत र लामा होटल लगायतका बस्ती पहिरोको जोखिम छन्। यस्तै कालिका गाउँपालिकाको राम्चे, गुम्चेत, ग्राङ, प्राङसे क्षेत्र जोखिममा छन् भने आमाछोदिङ्मो गाउँपालिकाका सानो हाँकु, पाजुङ, केराबारी, टेताङचे, ब्राप्चे गाउँ जोखिमयुक्त बस्ती भनेर प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरेको छ। प्राधिकरणका अनुसर नौकुण्ड गाउँपालिकाको खाल्चेत, दोक्लाङ, घोर्मु, लाम्राङ, पाटीर्खक, फाम्चेत, साङयुल थाङदोर गाउँ भौगर्भिक अध्ययनबाट जोखिम देखिएका छन्। अधिकांश विस्थापित परिवार उत्तरगया–५ बोगटीटार र खाल्टेमा आ श्रय लिएर बसिरहेका छन्। प्राधिकरणले रसुवाको जोखिमयुक्त बस्तीका एक हजार २० परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । अहिलेसम्म ६ सय २० परिवारले सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खरिद गरिसकेका छन् । त्यसमध्ये ४ सय परिवारको स्थानान्तरण हुन बाँकी छ । घडेरीका लागि योग्य जग्गा खरिद गर्न दुई लाख अनुदान लिइसकेकाहरू एकिकृत बस्तीको प्रक्रियामा रहेकाले घर निर्माणमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ। रसुवाको ४ स्थान लाङ्बु, तिरु, बोगटीटार र पाङलिङमा एकिकृत बस्ती निर्माणको प्रक्रिया अघि बढिसकेको छ। जोखिमयुक्त बस्तीमा परेका तर स्थानान्तरण हुन बाँकी रहेका भूकम्पपीडितलाई राख्नका लागि सुरक्षित र उपयुक्त जग्गा खोज्ने काम भइरहेको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ। उत्तरगयाको खाल्टेमा करिब दुई सय ६९ परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन्। रसुवाको छिमेकी नुवाकोटको इनारपाटीमा ८४ र सातबिसेमा २० परिवार छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरिएको हो ।
नेपाल–भारत संयुक्त बैठक बुधबारबाट
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौंमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन्। भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्नुहुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ । “सहकार्यका धेरै क्षेत्रहरू जस्तै आर्थिक साझेदारीलाई विभिन्न क्षेत्रसँगको सञ्जालसँग जोड्दै व्यापार, भन्सार, पानीका स्रोत, संस्कृति, शिक्षा तथा अन्य आपसी हितका विषयमा छलफलसँगै नयाँ निर्णय हुने छ”, मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो । भारतीय विदेशमन्त्री जयशङ्कर नेपालमा रहनेहुँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

