दसैंमा सरकारले राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना गर्ने

काठमाडौं : दसैंमा यात्रु नठगिउन् भनेर सरकारले राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना गर्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यात्रुलाई सेवा दिन असोज १० गतेदेखि १८ गतेसम्म सेवा कक्ष राख्ने बताएका हुन्।

काठमाडौंका स्वयम्भू, नयाँ बसपार्क, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाखा, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा सेवा कक्ष राखिनेछ।

केन्द्रमा यातायातका कर्मचारी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी र उपभोक्ता हितका सम्बन्धमा कार्य गर्ने संस्थाका प्रतिनिधि रहनेछन्। यसलाई सरकारले ‘नागरिक सहायता हेल्प डेस्क’ नाम दिएको छ।

महानिर्देशक हमालका अनुसार बढी भाडा लिन नदिने, भीडभाड हुन नदिने, ठगी र दुर्व्यवहारका घटनामा सहायता गर्ने लगायतका काम कक्षले गर्नेछ।

ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी ढकाललाई

काठमाडौंः  प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालेका छन्। भदौ १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार एसएसपी ढकालले बुधबारदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रमबीच बरिष्ठ प्रहरी अधिकारीहरुले ढकाललाई स्वागत गरेका थिए। यसअघि महाशाखा प्रमुखको जिम्मेवारी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले सम्हाल्दै आएका थिए।

अर्थमन्त्री भन्छन्, ‘राजस्व छली गर्नेलाई सरकारले छाड्दैन’

काठमाडौंः सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताए । सरकारले व्यवसायी माथि दुःख दिने नियत नराखेको प्रष्ट पार्दै उहाँले इमान्दार भएर व्यापार व्यवसाय गर्नसमेत आग्रह भने, “बदनियतपूर्ण ढङ्गले कर छली गरेको रहेछ भने मात्र दण्ड जरिवाना हुन्छ”, उनले भने, “नियतबस, सोझै राजस्व छलेको छ भन्ने पुष्टि भयो भने दण्डित हुनैपर्छ, किनकी मुलुकमा कानूनी राज्य छ, सबैले नियम कानून पालना गर्यो भने मात्र स्वच्छ व्यवसाय गर्नेलाई न्याय हुन्छ ।” राजस्व चुहावट ऐनलाई पहिलेको भन्दा व्यवस्थित बनाइएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रण गर्न यसअघिका तुलनामा व्यवस्थित प्रयासको थालनी गरिएको बताए । उनले भने, “राजस्व व्यवस्थित गर्न सरकारले सकेसम्मको प्रयास गरिरहेको छ ।” राजश्व छलीमा हुने जेल सजाय पनि घटाउने र दण्ड तथा जरिवानाका विषयमा पनि पुनरावलोकन प्रस्ताव गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले राजस्व छलीको घटना रोक्न विभिन्न प्रणालीको विकास गरिएको बताए । सरकारले भन्सार ऐनको मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको सुझाव ग्रहण गर्न सरकार तयार रहेको बताए । व्यवसायीले पटकपटक भ्याट फिर्ताको विषय उठाउँदै आएकातर्फ लक्षित गर्दै अर्थमन्त्री खतिवडाले भने, “अब भ्याट फिर्ताको कुरा नगर्नुहोला, भ्याट फिर्ता माग्नुभयो भने थप समस्या आउन सक्छ”, उनले भने । भिसिटिएस प्रणालीमा केही व्यवहारिक समस्या रहेको महसुस गरिएको उल्लेख गर्दै उनले यसलाई सहजीकरण गर्न सरकारले पटकपटक निजी क्षेत्रसँग छलफल गरेको स्मरण गराए । सरकारले ढुवानी व्यवसायलाई यसमा आउनका लागि स्वेच्छिक रुपमा प्रेरित गरेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले धेरै ढुवानीकर्ता यस प्रणालीमा आइसकेको जानकारी दिP । अब छिट्टै यस प्रणालीलाई अनिवार्य गरिने उनको भनाइ थियो । यस प्रणालीको कार्यान्व्यनसँगै दोहोरो ‘इन्ट्री’ र पटकपटक विवरण बुझाउनुपर्ने झन्झट मुक्त भएको उनले बताए । “बानी नपरेको जनशक्ति, भन्सारका कर्मचारीलाई कतिपय विषय अलमल भएकाले केही समय अभ्यास गर्न लाग्न सक्छ”, उनले भने, “प्राविधिक समस्या पनि आउन सक्छ भनेर नै केही समयका लागि परीक्षणकालका रुपमा राखिएको छ, यो बेला हामीले प्रणाली चलाउन सिक्ने र जान्ने बेला हो ।” भिसिटिएस प्रणालीले व्यवस्थित ढङ्गबाट व्यवसाय सञ्चालन गर्न सहज बनाउने उनको भनाइ थियो ।

तीज गीतले समाज रुपान्तरण गरोस् : उप–प्रमुख भट्ट

धनगढी : तीज गीतले समाज रुपान्तरणका लागि सन्देश दिनुपर्ने धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताएकी छिन् । शुक्रबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उप–प्रमुख भट्टले अहिले समय परिवर्तन भइसकेको बताईन् । ‘दुःख, पिडा बेदनाका कुरा मात्रै होईन, सकारात्मक सोचको सञ्चार तीजले गर्नुपर्छ,’ उप–प्रमुख भट्टले भनिन्, ‘यस्तै सन्देश प्रवाह गर्नका लागि धनगढीका सबै वडामा तीज कार्यक्रमहरु आयोजना गरिएका छन् ।’ उप–प्रमुख भट्टले तीजलाई महिलाको मात्रै पर्वको रुपमा नअर्थाउन अनुरोध गरिन् । उनले भनिन्, ‘तीजले शसक्तिकरणको सन्देश दिन सक्नुपर्छ । अहिले पनि हरेक निहुँमा महिला माथी हिंसा भइरहेको छ । यो हिंसा सहेर बस्ने समय होईन ।’ धनगढी उप–महानगरपालिका उद्योग बाणिज्य संघ कैलालीसंग सहकार्य गरेर काम गरिरहेको पनि उप–प्रमुख भट्टले बताईन् । उनले महिलालाई उद्यमशिलता तिर आकर्षण बढाउनका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताईन् । उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले तीजलाई भब्य र सभ्य रुपमा मनाउन आग्रह गरे । यसै क्रममा कैलाली उद्योग बाणिज्य संघले महिलाहरुका लागि दरको ब्यबस्था पनि गरेको थियो ।

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने, कस्तो छ बाँडफाँड?

काठमाडौंः पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच एकता भएर बनेको अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय नयाँ कार्यसमिति बन्ने भएको छ । पूर्व अनेरास्ववियुबाट नयाँ केन्द्रीय समितिमा १८० र पूर्व क्रान्तिकारीबाट १५५ जना रहने भएका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङका अनुसार केन्द्रीय समितिको बैठक आगामी ३१ भाद्र र १ असोजमा काठमाडौंमा बस्ने छ । संगठनको नाम अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन रहने भएको छ । २५१ जनाको एक तिहाई अर्थात ३३ प्रतिशत संख्या कायम गर्ने नेकपाको विधानमा व्यवस्था छ । नेकपाका नेता तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज बिनोद ढकालको उपस्थितिमा अनेरास्ववियू केन्द्रीय कार्यालय बागबजारमा बैठक बसेको हो । राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न उपसमिति समेत बनेको छ । सो समितिको संयोजकमा ऐन महर, सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह छन् । भने विधान मस्यौदा उपसमितिको संयोजकमा रञ्जित तामाङ र सदस्यमा सुनिता वराल र समिक वडाल छन् । त्यस्तै आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिको संयोजकमा उत्तम अधिकारी र सदस्यमा सदस्य आरसि लामिछाने, झपिन्द्र खत्री र केशव रावल छन् ।

रवि र अंगुर जिसीलाई कारवाहीको माग गर्दै अदालतमा निवेदन

कञ्चनपुर : सञ्चारकर्मी रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा निवेदन दर्ता भएको छ । लामिछानेसहित उनले कार्यक्रम सञ्चालन गर्ने न्यूज २४ टेलिभिजन र निर्मला पन्त प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीविरुद्ध निवेदन दर्ता भएको छ। लामिछाने, न्यूज २४ टेलिभिजन र जिसीविरुद्ध दिलिप बिष्टका दाई खड्क बिष्टले निवेदन दर्ता गरेको अदालतले जनाएको छ । जिसि लगायतको टोलीले निर्मलाको हत्या र बलात्कारमा दिलिपसिंह विष्ट संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो । मुद्दाको अनुसन्धान जारी रहेका बेला जिसिले लामिछाने प्रस्तोता रहेको न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा दिलिप सिंह विष्ट नै दोषी रहेको दाबी गरेका थिए । न्यूज २४ टेलिभिजनका प्रस्तोता लामिछानेले ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा निर्मला पन्त घटनाबारे मुद्धा चलिरहेकी अवस्थामा बर्खास्त जिसीको अन्तरवार्ता लिएर अदालतको मानहानी गरेको भन्दै निवेदन दर्ता भएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले जानकारी दिए । आईतबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा परेका कारण सोमवार उक्त निवेदन न्यायाधीस समक्ष पेश हुनेछ । त्यसपछि उक्त निवेदनबारेको प्रक्रिया अगाडि बढने उनले बताए ।

११ बजे डाकिएकाे नेकपा सचिवालय बैठक स्थगित

काठमाडाैं । अाज बिहान ११ बजे डाकिएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक स्थगित भएकाे छ । अध्यक्ष प्रचण्डकाे अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिवका साथै पार्टीका विभिन्न अायाेगमा सिफारिस भएका नेता तथा कार्यकर्ताकाे कार्यबिभाजन बारे छलफल हुने बताइएकाे थियाे । बैठक तयारी नपुगेकाे भन्दै स्थगित भएकाे नेकपा स्राेतले बतायाे । गत सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको थियाे । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो । सार्वजनिक रुपमा पार्टी पद्धतिभन्दा बाहिर रहि टिप्पणी गरे कारबाहीसमेत हुने निर्णय भएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । उनले नेताहरुको बारेमा टिप्णी गर्नुपर्ने पार्टी प्रक्रियाबाट आउनुपर्ने व्यवस्था गरिएको जनाएका थिए । ‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ बैठकपछि पत्रकारसँग श्रेष्ठले साे अवसरमा भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’

मलेसियामा रोजगारी खुलाउन भदौको २४ र २५ गते संयुक्त बैठक बस्ने

काठमाडौं : लामो समयदेखि बन्द रहेको नेपाली कामदारलाई मलेसियामा रोजगारी खुलाउने विषयमा दुवै देशका अधिकारीहरु भदौको अन्तिम साता संयुक्त बैठक बस्ने भएको छ । लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा मलेसियाले लिखित जवाफ पठाएसँगै अब भदौको २४ र २५ गते दुवै देशका अधिकारीहरुबीच मलेसियाको क्वालालाम्पुरमा संयुक्त बैठक हुने भएको हो । करिब १५ महिनादेखि नेपाल कामदारका लागि मलेसियामा रोजगारी बन्द छ । यसअघि नेपाल र मलेसियाबीच गत वर्ष कात्तिक १२ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि हुन लागेको संयुक्त बैठक श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । श्रम सम्झौतामा नेपालीहरु मलेसिया जाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने र कामदार आपूर्ति गरे वापत कामदारले पाउने आधा महिना बराबरको तलब सेवा शुल्कका रुपमा मेनपावर कम्पनीले पाउने व्यवस्था सम्झौतामा उल्लेख छ। मलेसियाले विगतमा स्वास्थ्य परीक्षण गर्दै आएका ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्ने र वार्षिक रूपमा अन्य संस्था थप्ने जानकारीसहितको पत्र नेपाली दूतावास मलेसियामार्फत परराष्ट्र मन्त्रालयलाई पठाएपछि संयुक्त बैठक बस्न लागेको हो । यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने १२२ स्वास्थ्य संस्था सूचीकरण गरेको पत्र मलेसियालाई पठाएको थियो।

४५ दिन कैद सजायका आरोपी २६ वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक, भदौ १३ गते । काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए । उनलाई रु दुई लाख १५ हजार ४७५ जरिवाना र एक महीना १५ दिन कैद सजाय तोकिएको थियो । लामालगायत गाली बेइज्जती, बोक्सी आरोप, बहुविवाह, चेक अनादर, सवारी ज्यान, चोरी, जबर्जस्ती करणी, अपहेलना, कुटपिट र जालसाजी मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेका १८ फरार अभियुक्तलाई यसै हप्ता पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका गाली बेइज्जती मुद्दाका पनौती नगरपालिका–३ का शेषनारायण तिमल्सिना, जयराम तिमल्सिना, जयदेव तिमल्सिना र जोगमाया तिमल्सिनालाई रु १४५ जरिवानाका साथै एक महीना १५ दिन कैद सजाय तोकिएको थियो । यस्तै फरार रहेका बोक्सी आरोप मुद्दाका रोशी गाउँपालिका–८ का ३७ वर्षीया सुविना तामाङ, बहुविवाह मुद्दाका नमोबुद्ध नपा–५ का ३१ वर्षीय राम लामा, चेक अनादर मुद्दाका धुलिखेल नपा–७ का ३६ वर्षीय सुनिल लामा, सवारी ज्यान मुद्दाका धुलिखेल नपा–८ का ३४ वर्षीय राजकुमार लामा, चोरी मुद्दाका नमोबुद्ध नपा–५ का ३८ वर्षका जीतबहादुर तामाङ, जबर्जस्ती करणी मुद्दाका नमोबुद्ध नपा–७ का ४० वर्षीय उज्ज्वल खनाल, जालसाजी मुद्दाका पनौती नपा–८ का २५ वर्षीय अमिर केसी र ४८ वर्षीया तुलसा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोक प्रहरीले यसै हप्ता जबर्जस्ती करणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दाका पाँचखाल नपा–८ होक्सेका ३१ वर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दाका रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश विभिन्न मुद्दामा जरिवाना तथा कैद भुक्तान गर्न बाँकी रहेकाले तिनलाई सम्बन्धित जिल्ला अदालत बुझाइएको प्रनाउ गिरीले जानकारी दिनुभयो । रासस

सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत फेला

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएका हुन् । मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

चार खानीलाई उत्खननको अनुमति

काठमाडौं – खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको जानकारी दिए । विभागले आव २०७५/०७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । विभागका अनुसार आव २०७५/०७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । गत आवमा देशभर ८२ कम्पनीले खनिज उत्खनन गरेका खनिज सम्पदा महाशाखा प्रमुख घिमिरेले बताएका छन्। जसबाट सरकारले रु ६१ करोड ८१ लाख ५६ हजार १६५ राजश्व सङ्कलनसमेत गरेको थियो । यस्तै, विभागले आव २०७५/०७६ मा ऋद्धि गणेश हिमाल जेम्स एण्ड मिनिलर प्रालि र हिमालय रक एण्ड ह्याण्डिक्राफ्ट प्रालिलाई खनिज उत्खनन रोक्का गरेको छ।

सुडान घोटाला काण्डः नेपाल एजेन्ट भारती पक्राउ

काठमाडौं । प्रहरीले सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीका अनुसार भारतीलाई आज विहान भैंसेपाटीबाट पक्राउ गरिएको हो । विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो । विशेष अदालतले ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो । उनी त्यसयता फरारको सूचीमा रहेको थिए । सर्वोच्च अदालतले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो।

बहुविवाह गर्ने सरकारी जागिरबाट बञ्जित

काठमाडौं । बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी, जातीय छुवाछूत वा नैतिक पतन छन्। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीका अनुसार ऐनमा यसअघि बहुविवाहबारे व्यवस्था थिएन। नयाँ व्यवस्थाअनुसार बहुविवाह गर्ने कर्मचारीले निवृत्तिभरणसमेत पाउनेछैनन्। ‘फौजदारी संहिताले पनि बहुविवाहलाई अपराध मानेको छ। निजामती सेवामा संहिताअनुकूल हुने गरी नयाँ व्यवस्था राखिएको हुन सक्छ’, उनले भने, ‘पहिला नैतिक आचरणको विषय हुने व्यवस्था थियो। कर्मचारीको हकमा बहुविवाह गरेको व्यक्ति अयोग्य हुने भनेर कतै व्यवस्था थिएन।’ यसअघि बहुविवाह दण्डनीय मात्रै भएकाले नयाँ व्यवस्था गर्न खोजिएको हुन सक्ने प्रशासनविद् काशीराज दाहालको भनाइ छ। ‘बहुविवाहलाई दण्डनीय कसुर मात्रै मानिन्थ्यो। कर्मचारी हुन अयोग्य हुने व्यवस्था थिएन। तीन वर्ष कैद सजायको व्यवस्था थियो’, उनले भने, ‘मुलुकी फौजदारी संहिताले बहुविवाहमा पाँच वर्ष कैद सजायको व्यवस्था गरेको छ। प्रस्तावित संघीय निजामती ऐनले उम्मेदवारै हुन नपाउने प्रस्ताव गरेको जानकारीमा आएको छ।’ विधेयकबारे सदनमा छलफल भइरहेको उनले सुनाए। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।

१२ वर्षपछि ओसाका पुग्यो वाइडबडी, पहिलो उडानमै एक करोड घाटा

काठमाडौं । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो । ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा बेहोर्नुपर्यो’ निगका एक अधिकारीले भने, ‘बिहीबार बिहानको पहिलो उडानमा पनि कम्तीमा ७० लाख घाटा बेहोर्नुपर्यो ।’ पहिलो उडानमा निगमले पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित ५ सांसद, तीन जना सहिसचिव सुरेश आचार्य, विश्वराज ढकाल, रोशन खनाल, २० जना पर्यटन व्यवसायीसहित ५७ जनालाई आफ्नै खर्चमा जापान भ्रमणमा सहभागी गराएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

बुबाको मुख हेर्ने दिनः ‘काका–बालाई घ्यूभात र मासु मन पर्छ’

काठमाडौं । आज बुबाको मुख हेर्ने दिन, मनपर्ने भोजन खुवाउने अवसर, तर प्रधानमन्त्री केपी शर्मा ओलीकी भतिजी शारदालाई भने यस वर्ष यो सन्दर्भ जुरेन। काठमाडौंको चाबहिलस्थित सरस्वती नगरमा बस्दै आएकी शारदाले आफ्ना पिताको निधन भइसकेकाले प्रधानमन्त्री ओलीलाई नै पितासमान पुज्दै आएकी छन्। नाताको हिसाबले शारदाका जिजु–हजुरबुबा र प्रधानमन्त्री ओलीका हजुरबुवा दाजुभाइ हुन। ‘यसपालि झन् प्रधानमन्त्री क्वार्टर गएर सरप्राइज दिँदै मुख हेरौंला भन्ने थियो’, शारदाले मुख हेर्ने प्रक्रिया दृश्यजस्तै सोच्नुभएको रहेछ, भनिन् ‘पहिला एउटा फूलको गुच्छा दिउँला, ह्याप्पी फादर्स डे भन्दै हग गरुँला, रमाइलो होला भन्ने सोचेकी थिएँ।’ शारदालाई सरप्राइज दिन निकै मन पर्छ, पोहोर पनि सरप्राइज दिने सोच बनाएकी थिइन्, तर तिज मनाउन प्रधानमन्त्री निवास बालुवाटार गएकी उनले काका–बाले ‘भोलि बुबाको मुख हेर्ने दिन, के ल्याउँछेस् बेटा’ भनेर सोधिदिनुभयो, मलाई धेरै मिठाई लिएर आइज नि भन्नुभयो। ‘मिठाई र ड्राइ फुड्स लिएर गएकी थिएँ, तर स्वास्थ्यका कारण खान नमिल्ने, मिठाई खुवाइदिएपछि आफै छानेर खान्छु भन्दै थोरै चाख्नुभएको थियो।’ उनले भनिन्। ‘उहाँलाई घ्यू, खसीको मासु र भात एकदमै मन पर्छ। तर स्वास्थ्यले दिँदैन। ‘अहिले उहाँले खाने भनेको सुख्खा रोटी, अण्डा, फलफूल जुस, ग्रिन टी नै हो। प्रधानमन्त्री क्वार्टरमा पनि उहाँको खानपान काकी आफैले हेर्नुहुन्छ, भान्छा छोड्नुहुन्न। मेडिसिन जेठी सासुको छोरा राजेशले हेर्छन्।’ शारदाले भनिन् । शारदाका अनुसार प्रधानमन्त्री ओली खानेकुरा र स्वास्थ्यमा एकदमै सचेत हुनुहुन्छ, बाहिरको खानेकुरा खानुहुन्न । ‘मैले मेरो प्रेजेन्ट खोइ भनेर सोधें, सिंगै बाउ छु के चाहियो बेटा भनेर हँँसी गर्नुभयो। अनि फोटो खिच्ने कार्यक्रम भयो’, शारदा सुनाउँदै थिइन्, ‘उहाँ सेल्फीको सौखिन हुनुहुन्छ। फोटो खिच्ने बेलामा बोल्नुहुँदैन राम्रो आउँदैन, सीधा हेरेर बस् भन्नुहुन्छ। सेल्फी खिच्न तँलाई आउँदैन खै ले म खिचिदिन्छु भनेर आफैले सेल्फी खिच्नुभयो।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ मा

काठमाडौं । बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्नुहुनेछ । पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट सो पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुहुने मिति तय भएको जानकारी दिए । उद्घाटनपछि उक्त पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने जानकारीसमेत उनले दिए । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास हैदरावाद हाउसबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगञ्जस्थित डिपोको युनिटको भल्ब खुल्नेछ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेलको आपूर्ति सुरु हुनेछ । यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुनेछ । परीक्षणका क्रममा पाइपलानमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्ने वित्तिकै अमलेखगञ्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्न सकिने छ । सोही अवसरमा अमलेखगञ्जस्थित डिपोमा उपस्थित इन्डियन आयल निगम (एनओसी) का पदाधिकारीहरूले नेपाल आयल निगमका कर्मचारीहरूलाई साङ्केतिक रूपमा डिजेल हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय भएको जानकारी नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक विशाल ओझाले दिए । उद्घाटनपछि डिजेल पाइपलाइनबाट तथा पेट्रोल र मट्टीतेल ट्याङ्करबाट आपूर्ति गरिने जानकारी ओझाले दिए । पेट्रोल र मट्टीतेलको भण्डारणका लागि अहिले थप डिपो तयार हुन नसकेकाले तत्कालका लागि सो पाइपलाइनबाट डिजेल मात्र नै आपूर्ति गरिने छ । डिपो तयार भइसकेपछि मात्र पेट्रोल र मट्टीतेल आपूर्ति गरिने छ । पेट्रोल र मट्टीतेलको भण्डारणका लागि डिपो तयारीका क्रममा रहेको नेपाल आयल निगमले जनाएको छ । मुलुकै पहिलो अन्तरदेशीय पेट्रोल पाइप सञ्चालनमा आएसँगै वार्षिक करिब पचास करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयत गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगञ्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगञ्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन विछ्याइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।