वडा अध्यक्षद्वारा नै झुण्डिएर आत्महत्या प्रयास
बुटवलः बुटवल उपमहानगरपालिका–२ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् ।
वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।
उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँको अवस्था के हुन्छ यसै भन्न सकिन्नँ,’ क्षेत्रीले भने ।
स्रोतका अनुसार घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गरेका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको बताए ।
३५ किलो गाँजासहित तीनजना युवक पक्राउ
उदयपुर । प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन्। उनीहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार रहेको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले जानकारी दिए। उनका अनुसार बि।आर। ११ एफ ३२५७ नम्बरको भारतीय जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर बेलका नगरपालिका–५ शिखरमाडीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो। ‘गाँजा बोक्न प्रयोग भएको गाडी भारतीय हो,’ एसपी राईले भने, ‘पक्राउ परेका तीनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएका छौं।’
दसैंअघि गाडी भाडा नबढ्ने
काठमाडौं । सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन्। यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ । ‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो। भाडाबारे निर्णय सरकारले गर्छ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं।’ एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रुपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएइर छलफल गरिरहेका उनले बताए। दसैंमा उपत्यकाबाट करिब २०लाख यात्रु बाहिरिने गरेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
अमेरिकाका ‘मोस्ट वान्टेड’ नाथन माकोब्स्की नेपालमा पक्राउ
काठमाडौं । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । बाल यौन दुराचार मुद्दामा फरार नाथन माकोब्स्कीलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो । चीन हुँदै नेपाल आएका ५९ वर्षीय नाथनका नाममा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत रेड नोटिस जारी गरेको थियो । अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको छ । उनी अमेरिकामा ‘मोस्ट वान्टेड’को सूचीमा थिए । स्रोतका अनुसार उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको थियो । उनलाई प्रक्रिया पूरा गरी अमेरिका निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । गत २८ अगस्टमा इन्टरपोलले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । अलास्का राज्यका बासिन्दा उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको मुद्दा उनीमाथि चलिरहेको छ । एक वर्षसम्म बालिकामाथि यौन दुराचार गरेको भन्दै मुद्दा दायर गरिएको भएपछि उनी त्यहाँबाट भागेका थिए । यस्तो अपराधमा अमेरिकामा ९९ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । यसरी पक्राउ परेका अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन । जसकारण निष्कासनको प्रक्रियामार्फत नेपालले उनलाई अमेरिका पठाउनेछ । अमेरिका पुगेलगत्तै उनी विमानस्थलमै पक्राउ पर्नेछन् । गत जुलाईमा उनी अमेरिकाबाट भागेर बेइजिङ पुगेका थिए । त्यहाँबाट नेपाल आएको खुलेपछि पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गराइएको थियो । इन्टरपोलसँगको सहकार्यमा उनी पक्राउ परेका हुन् । पाँच वर्षअघि पनि पक्राउ परेका थिए अमेरिकी अपराधी अमेरिकामा फरार व्यक्ति लुक्नलाई नेपाल आएको यो पहिलो घटना भने होइन । पाँच वर्षअघि पनि नेपालमा लुक्दै आएका निल स्टेमर नामक अमेरिकी नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरी अमेरिका पठाएको थियो । उनी नक्कली पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा लुक्न उनले नेपाली युवतीसँग बिहे गरेका थिए । नेपालमा विदेशीमाथि नियमन प्रणाली कमजोर भएकाले पर्यटकको आवरणमा विदेशमा अपराध गरेर लुक्न आउने गरेका छन् । लामो समय बस्ने विदेशीहरू के गरेर बसेका छन् भन्ने निगरानी नहुने मात्र होइन, क–कसको भिसाको म्याद सकियो भनेर खोज्ने प्रणालीसमेत विकास हुन सकेको छैन । जसकारण ठूलो संख्यामा विदेशीहरू नेपालमा अवैध रूपमा बस्दै आएको आकलन गरिएको छ । त्यस्ता विदेशीलाई निगरानीका लागि सरकारले गत वर्ष मात्र ‘विदेशी नागरिक अनुमगन निर्देशिका’ बनाएको थियो । जुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । निर्देशका कार्यान्वयनलाई प्रभावकारी बनाउने काम भइरहेको बताउँछन्, विभागका महानिर्देशक पौडेल । ‘अध्यागमन व्यापक सुधारको पूर्वसन्ध्यामा छ,’ उनले भने, ‘अबको दुई महिनापछि अध्यागमनमा धेरै सुधार देख्नुहुनेछ । विदेशीहरू अवैध रूपमा नेपालमा लुकेर बस्ने समस्या पनि अब हट्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
मिलेसम्म रिलेसन, नभए साइबर अपराध
काठमाडौं । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रुप लिएपछि किशोरी डिप्रेसनमा गएकी छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।
चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने
काठमाडौं, चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएकाे छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटघाट गर्ने जनाएकाे हाे । नेपाल भ्रमणमा आइतबार आउन लागेका विदेशमन्त्री वाङले चिनियाँ राष्ट्रपतिकाे नाै घण्टे नेपाल भ्रमणकाे तयारि तथा नेपाल र चीनबीचकाे द्विपक्षिय सम्बन्धका विभिन्न आयामका बारेमा छलफल गर्ने छन् । यसैगरि उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिसँग समेत छलफल गर्ने छन् ।
एटीएम ह्याकिङः नेपाली बैंक भन्छन्, ‘तीन महिनाभित्र एटीएम कार्ड फेर्न सकिँदैन’
काठमाडौंः नेपालका विभिन्न ब्याङ्कलाई तारो बनाएर ह्याकरहरूले करोडौँ रुपैयाँ चोरेको घटनाबारे छानबिन गर्न गठित समितिले अहिले प्रचलनमा रहेका सम्पूर्ण म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र हटाएर चिपमा आधारित कार्ड व्यवस्था मिलाउन सुझाव दिएको छ। गत शनिवार ह्याकरहरूले नेपाल र भारतका एटीएमबाट नेपाली ब्याङ्कमा रहेको तीन करोड ५८ लाख रुपैयाँ भन्दा बढी रकम एटीएमबाट चोरेका थिए। चिनियाँ ह्याकरहरूले काठमाण्डूका एटीएमबाट पैसा चोर्दा प्रयोग गरेका सम्पूर्ण कार्डहरू ‘म्याग्नेटिक स्ट्रिप’ भएको पाइएपछि राष्ट्र ब्याङ्कले सुरक्षा व्यवस्था थप सबल बनाउने उपाय भन्दै त्यस्तो सुझाव दिएको बताएको छ। तर नेपाल ब्याङ्कर्स सङ्घका सदस्य अशोक शेरचन भन्छन्, “लाखौँ ग्राहकहरूले म्याग्नेटिक कार्ड प्रयोग गरिरहेकाले तीन महिनाभित्रै तिनलाई पूर्ण रूपमा विस्थापन गर्न असम्भव छ।” कार्ड फेर्दा हुने असर चिप र पिनलाई नेपाल राष्ट्र ब्याङ्कले यसअघि नै अनिवार्य बनाएको थियो। यद्यपि अहिले पनि चिपले कारोबार गर्न असफल भएको खण्डमा ‘फलब्याक’ भनिने वैकल्पिक बाटोबाट पुरानै म्याग्नेटिक स्ट्रिप कार्डको शैलीमा कारोबार गर्न सकिन्छ। “म्याग्नेटिक कार्डमा खातावालका सीमित सूचना हुन्छन् जसले गर्दा आधिकारिकता पुष्टि गर्ने सवालमा ह्याकरहरूले फाइदा उठाउन सक्ने जोखिम उच्च हुने गरेको हो,” ब्याङ्किक सुरक्षा मामिलाका जानकार सूचनाप्रविधिविज्ञ सुरेश कर्ण भन्छन्। तर एटीएमबाटै प्रविधिलाई छक्याउँदै चोरी गर्ने क्रम बढेपछि राष्ट्र ब्याङ्कले त्यसलाई हटाउने सुझाव दिएको हो। अहिले चिपजडित एटीएम कार्डले समेत निम्न अवस्थामा म्याग्नेटिक स्ट्रिपका रूपमा काम गर्ने गर्छन्: म्याग्नेटिक कार्ड किन अझै प्रचलनमा? म्याद बाँकी भएका म्याग्नेटिक स्ट्रिप कार्ड बोक्ने ग्राहकहरू अझै लाखौँको सङ्ख्यामा रहनुले ब्याङ्कहरूले अहिलेसम्म दुवै अवस्थामा अनुकूल हुनेगरी सुविधा दिइराखेको बताउँछन्। “त्यसबाहेक नेपालमा थुप्रै विदेशी ब्याङ्किङ सेवाका कार्ड प्रचलनमा छन्। थुप्रै अमेरिकी ब्याङ्कले अझै म्याग्नेटिक स्ट्रिप कार्ड चलाउनु पनि अर्को कारण हो,” नेपाल इन्टरनेट फाउन्डेशनका अध्यक्ष विक्रम श्रेष्ठ भन्छन्। म्याग्नेटिक स्ट्रिप कार्डमा ह्याकरहरूले अरूको विवरणमाथि थपघट गर्न सक्ने जोखिम उच्च हुने गरेको विज्ञहरूको भनाइ छ। भिजा, मास्टरकार्डजस्ता सेवा प्रदायकहरूले भने म्याग्नेटिक स्ट्रिपमार्फत् कारोबार भएको खण्डमा थप विवरणको आधिकारिकता पुष्टि ब्याङ्कहरूले नै गर्नुपर्ने अन्यथा हुने भवितव्यमा आफूहरू जिम्मेवार नहुने सर्त राख्ने गरेको ब्याङ्कहरू बताउँछन्। ब्याङ्कर्स सङ्घका अशोक शेरचनको भन्छन्, “ह्याकरहरूले चिप भएकै एटीएम कार्डबाट समेत ह्याकिङ गरिरहेका छन्। त्यसैले सुरक्षालाई समग्रतामा हेरिनुपर्छ।” पछिल्ला वर्षमा एटीएमबाट चोरीका क्रम बढेपछि अब एटीएम कार्डमा औँठाछाप पनि हुने बायोमेट्रिक प्रणालीमा जानुपर्ने कुरा पनि उठेको छ। विक्रम श्रेष्ठ भन्छन्, “त्यो भर्खर उदाइरहेको प्रविधि हो र केही देशले मात्र प्रयोग गरिरहेका छन्। तर नेपाल त्यसमा प्रवेश गर्ने हो भने चाहिँ पूर्वाधारका हिसाबले समस्या छैन।” राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका भनाइमा तीन महिनाभित्र खातावाललाई सूचित गर्ने र त्यसभित्र उनीहरू एटीएमकार्ड फेर्न नआएमा ती कार्ड निष्क्रिय पार्न लगाइनेछ। “र वैकल्पिक रूपमा म्याग्नेटिक स्ट्रीपबाट हुने कारोबार रोक्ने समेत तयारी भइरहेको छ।” आक्रमण र क्षति समितिका अनुसार गत शनिवार नेपालका १७ वटा ब्याङ्कका विभिन्न स्थानबाट ६८ वटा एटीएम कार्ड प्रयोग गरी एक करोड उनान्नब्बे लाखभन्दा बढी रुपैयाँ निकालिएको थियो। सोही दिन भारतमा २४ ब्याङ्कका एक सय ३२ एटीएमबाट नेपाली ब्याङ्कलाई तारो बनाएर एक करोड पाँच लाखभन्दा बढी भारतीय रुपैयाँ झिकिएको पाइएको छ। भारतमा झिकिएको केही रकम वास्तविक रूपमा सेवाग्राहीले गरेका कारोबार हुन सक्ने भनिएको छ। त्यसदिन जम्माजम्मी तीन करोड ५८ लाख रुपैयाँ भन्दा केही बढी बराबरको रकम झिकिएको थियो। बिहीवारयता एटीएमबाट एक दिनमा बढीमा ६० हजार रुपैयाँ मात्र झिक्न मिल्ने नयाँ सीमा कायम गरिएको छ। पहिला एक दिनमा एक लाख रुपैयाँ झिक्न मिल्थ्यो। अनुमान र अनुसन्धान समितिले भिजा नेटवर्क वा नेप्स भनिने नेपालका ब्याङ्कहरूको आन्तरिक सञ्जाल वा दुई प्रणालीबीच कहीँ कतै कसैले अनधिकृत रूपमा नियन्त्रण लिई रकम चोरी गरेको अनुमान गरेको छ। समितिमा रहेका राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार अहिले सिङ्गापुरबाट बोलाइएका विज्ञहरूको टोलीले ह्याकबारे थप अनुसन्धान गरिरहेका छन्। कार्यकारी निर्देशक मिश्रले भने, “अनुसन्धान केही नेपालमै बसेर र केही देशबाहिर अवस्थित प्रविधि प्रयोगशालामा समेत हुन सक्छ।” घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले चिनियाँ समूहका छ जनालाई पक्राउ गरेको छ। तीमध्ये एक जनासँग फ्रान्सको नागरिकता भएको बताइएको छ। उनीहरूबाट काठममाण्डूका एटीएमबाट चोरिएको अधिकांश रकम बरामद भएको प्रहरीले जनाएको छ।
सिंगापुरबाट आउने वित्तिकै प्रधानमन्त्री र प्रचण्डबीच भेट, के भयो कुराकानी?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्कएपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । सो अवसरमा उनीहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष प्रचण्डले सचिवालय बैठक राखेर एकताका कामसमेत गरेका थिए । यही भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।
डेंगुका संक्रमित ८३५ पुगे, २ जनाको मृत्यु
काठमाडौं । जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या हाल सम्मकै उच्च हो । कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७÷०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको हो। यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा ११९, ०७२÷०७३ मा ८५, ०६८÷०६९ मा ६८, ०७४÷०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । आर्थिक वर्ष २०६९÷०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो । हरेक तीन÷तीन वर्षमा सङ्क्रमण बढेको देखिन्छ । केसीका अनुसार यस वर्ष सङ्ख्या अत्यधिक बढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेङ्गुका बिरामीले भरिएका छन् । नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेङ्गुका कारण मृत्यु भएको थियो ।
पर्यटन व्यवसायीलाई प्रचण्डको आग्रहः ‘पर्यटकलाई दुहुनो गाई जस्तो ब्यवहार नगर्नुहोस्’
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताएका छन् । पदयात्री व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपाली हुनुमा गौरव गर्दै यहाँ आउने पर्यटकलाई सेवा भावका साथ आतिथ्य सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिए । ‘पर्यटन क्षेत्र नेपालको प्रचुर सम्भावना भएको क्षेत्र हो, जसको विकास हामीले इमान्दारिता र पारदर्शी तरिकाले गर्यौ भने नेपाल साँच्चिकै विश्वको सुन्दर त छँदैछ, समृद्ध बनाउन पनि यसले ठूलो गोगदान गर्दछ’ अध्यक्ष प्रचण्डले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सङ्घारमा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रको साझेदारीमा अझ बृहत्तर ढङ्गले अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा लामो राजनीतिक सङ्घर्ष र वलिदान पश्चात लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र अब आर्थिक समृद्धिको नयाँ युगतिर नेपाललाई लैजान निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहनका साथ सहकार्य गरेर राज्य अगाडि बढेन भने समृद्धिको सपना सार्थक नहुने धारणा राखे । अध्यक्ष प्रचण्डले विश्वभर नेपालको छवि कस्तो बनाउने भन्ने पर्यटन व्यवसायीको हातमा रहेको उल्लेख गर्दै पर्यटक पाहुनालाई दुहुनो गाई जस्तो ब्यवहार नगर्न आग्रह गरे । उनले भने, ‘नेपाली बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि त छ, तर यदाकदा केही नकारात्मक घटना हुँदै गरेको सुनिन थालेको छ, हामी अतिथि देवो भव भन्ने मन्त्र भन्छौ तर ‘कहिलेकाहीँ अतिथि देवो भव हैन अतिथि दुहुने गाई हो’ भनेजस्तो गरी भए भरको एकैपटक दुहुन खोज्ने घटना सुनिन आएका छन् यसप्रति जिम्मेवार हुनुपर्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रको साझेदारी अपरिहार्य भएको बताए । मुलुकको पर्यटन क्षेत्रमा देखिएका तमाम समस्याको समाधान हामी आफैं मिलेर गर्ने हो भन्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने काम नगर्न पनि आग्रह गरे । पदयात्रा र पर्वतारोहणलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले यस क्षेत्रका समस्यालाई समाधान गर्ने व्यवसायीको मागलाई सरकारले छिट्टै सम्बोधन गर्ने प्रतिवद्धता जनाए । मन्त्री भट्टराईले लामो समयदेखि जम्मा भएको पदयात्री सूचना व्यवस्थापन प्रणालीको (टिम्स) रकम निकासा गरिने विश्वास दिलाए । विदेशी पर्यटकको आगमनलाई व्यवस्थित र उनीहरुको बसाइँलाई सुरक्षित गर्ने लक्ष्यसहित दुई नयाँ प्रणाली ‘टुरिज्म स्याटेलाईट एकाउन्ट’ र ‘जिपिएस सिस्टम’ छिट्टै निर्माण गर्ने तयारी गरिएको उल्लेख गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै प्रतिबन्धित पर्यटकीय क्षेत्र तथा हिमाल आरोहण खुलाउने वातावरण सिर्जना गरिने बचन दिए । टानका संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले नेपालमा आउने विदेशी पर्यटकको स्वागत सत्कारमा कुनै किसिमको कञ्जुस्याइँ नगर्न व्यवसायीलाई आग्रह गरे । टानका अध्यक्ष नवराज दाहालले पदयात्रा क्षेत्रमा देखिएको विकृतिको अन्त्य र गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न राज्यले विशेष कदम चाल्नुपर्नेमा जोड दिए ।
सिन्धुपाल्चोक ६८ औँ खुल्ला दिसामुक्त जिल्ला घोषणा, असार १३ गते नेपाल खुल्ला दिसामुक्त राष्ट्र घोषणा हुने मन्त्री मगरको उद्घोष
सिन्धुपाल्चोक । प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्लामा रहेका ८८ हजार २ सय ७३ घरधुरीहरु सबैमा शौचालयहरु निर्माण भई प्रयोगमा आएपछि सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताए । सिन्धुपाल्चोक जिल्लामा ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ वटा स्थानीय पालिकाहरू छन् । सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये ६८ औं स्थानमा परेको छ । खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले अब नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिइन् । उनले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने तयारी भैरहेको बताइन् । “नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ। दक्षिण एसियाका अरु देशहरु पनि यो अभियानको क्रममा छन”, उनले भनिन् । “भारत लगायत अरु देशहरु पनि खुल्ला दिसामुक्त अभियान छन्। तर, नेपालको अभियान अरु देशको भन्दा पृथक छ। अरु देशमा यो अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन्। तर, नेपालमा सिङ्गो देश र सम्पूर्ण नागरिक नै यो अभियानमा सामेल छन्।” खुल्ला दिसा मुक्त घोषणा अभियान एउटा सामाजिक अभियान रहेको बताउँदै मन्त्री मगरले यसलाई महाअभियानको रूपमा अघि बढाउदै पूर्ण सरसफाइको अभियानमा गुरुयोजना बनाएर काम गरिदै गरेको जानकारी दिइन् । मेलम्ची आयोजनासँग सम्बद्ध समस्याहरूको सम्बोधन हुने मेलम्ची आयोजनाको सम्बन्धमा मन्त्री मगरले स्थानीय श्रमिक मजदुरहरूको माग सरकारले छिट्टै समाधान गर्ने बताइन् । मन्त्री मगरले भनिन्, “हामी नेपाली कामदार, स्थानीय भेन्डर र अन्य सरोकारवालाका मागप्रति गम्भीर छौं। तर, कानूनभन्दा बाहिर गएर हामी निर्णय गर्न नसक्ने परिस्थितिमा छौं, उहाँले भन्नुभयो, “वैधानिक बाटो खोजेर समस्या समाधान गर्न हामी निरन्तर लागिरहेका छौं।” प्रतिनिधि सभाका सांसद एवं पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोक जिल्लालाई खुला दिसा मुक्त जस्तै खानेपानी समस्या मुक्त जिल्ला बनाउनुपर्ने माग गरे । सिन्धुपाल्चोक जिल्लामा पर्ने चौतारा साँगाचोक गढी नगरपालिकामा १४ हजार १ घरधुरी, बाह्रबिसे नगरपालिकामा ७ हजार ९ सय ९६, मेलम्ची नगरपालिकामा १३ हजार ४ सय २१ घरधुरी, बलेफी गाउँपालिकामा ६ हजार ५४, पाँचपोखरी गाउँपालिकामा ७ हजार ३ सय ५९, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ हजार ३ सय ७६, इन्द्रावती गाउँपालिकामा ८ हजार ९, लिसंखुपाखर गाउँपालिकामा ५ हजार ३ सय ७६, भोटेकोशी गाउँपालिकामा ४ हजार २ सय २६, सुनकोशी गाउँपालिकामा ५ हजार ७ सय ४९, जुगल गाउँपालिकामा ५ हजार ६ सय ६६ र हेलम्बु गाउँपालिकामा ५ हजार ४ सय २२ घरधुरीहरु रहेको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिए । कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमान सिंह तामाङले सिन्धुपाल्चोकलाई आर्थिक समृद्धिको जिल्लाको रूपमा अगाडि बढाउनुपर्ने बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, भोजपुर, काठमाडौँ र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको छ । सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अन्तर्गत वि.सं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।
मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा
काठमाडौंः मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले शुक्रबार आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३(क) बमोजिम शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ । त्यस्तै अम्बाथानमा पूर्वतर्फ सामुदायिक वन, पश्चिमतर्फ मेलम्ची खोलाको पहरो, उत्तरमा पार गाउँ जाने बाटो र दक्षिणमा तीम्ब खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ । मेलम्ची खानेपानी कार्यालयमा पूर्वमा इन्द्रवती खोलाको बगर पश्चिमतर्फ श्री नं २ जगदल गण, ब्यारेक कार्यलय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालबेँसी चोक २०० देखि ५०० मिटरसम्म पनि आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ । ग्याल्थुम सुरुङ पूर्वमा भुसुने पाखो, पश्चिमतर्फ ग्याल्थुम खोला, उत्तरतर्फ लाभ गाउँ र दक्षिण खरभूजे चोक २०० देखि ५०० मिटर क्षेत्रमा पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ । यसैगरी ग्यालथुम सुरुङ जाने बाटोमा पूर्वमा थापाटोल लाभ गाउँ, पश्चिममा साल्मेचोक, उत्तरमा चिलौने बस्ती र दक्षिणमा सिन्धुखोलाको २०० देखि ५०० मिटर क्षेत्रलाई पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रचण्डले भेटे डेंगुको उपचार गराइरहेका मन्त्री खनाललाई
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका कृषि मन्त्री चक्रपाणि खनाललाई भेटेका छन् । प्रचण्डले शुक्रबार अस्पतालमा पुगेर मन्त्री खनालको स्वाथ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डले खनालको अवस्थाबारे चिकित्सकसँग पनि जानकारी लिएका थिए । डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल बुधबारदेखि अस्पताल भर्ना भएका थिए र उपचार गराईरहेका छन् । स्वकीय सचिव दिपक चुदालीका अनुसार अहिले खनालको अवस्थामा निकै सुधार आएको छ ।
अब निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने
काठमाडौंः निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरेको हो । अब निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ । राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने निजामती कर्मचारीले परीक्षा उतीर्ण गरेमा त्यसअघिको सेवा अवधि पनि गणना हुने छैन । हालसम्म निजामती कर्मचारीले सेवामा बहाल रहेरै उपसचिव र सहसचिव खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ । राज्य व्यवस्था समितिले राजपत्रांकित प्रथम र द्धितीय श्रेणीको पदको खुला प्रतियोगिताबाट गरिने पदमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सांगठनिक संस्था वा अन्तर्राष्ट्रिय संस्थाको एक श्रेणी वा तह मुनिको अधिकृतस्तरको कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने गरी सहमति जुटाएको हो । अनलाइन खबरबाट साभार
एमबिबिएस ‘इन्ट्रान्स’ परीक्षा रोक्न सर्वोच्चको आदेश
काठमाडौंः सर्वोच्च अदालतले शनिबार हुन लागेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चिकित्सा शिक्षण संस्थानको ‘एमबिबिएस’ तहको परीक्षा रोक्न अन्तरीम आदेश दिएको छ । आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वोच्चले अन्तरीम आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नु पर्ने भएकाले प्रत्यर्थीलाई २५ भदौमा छलफलका लागि सूचना जारी गर्ने आदेश दिएको छ ।
विप्लवलाई वार्तामा आउन आग्रह गर्दै नेता शर्माले भने, ‘अब बन्दुक पड्काएर समाजवाद आउँदैन’
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको बताए । “पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ”, उनले भने, “पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।” नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए । सङ्गठनका कार्यदल सदस्य जेएन सागरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

