सरकारले बजेट दिँदा पनि प्रहरीको रासनभत्ता बढेन !

काठमाडौं । नयाँ आर्थिक वर्षदेखि नयाँ दररेटअनुसार रासनभत्ता खुवाउन सरकारले नेपाल प्रहरीलाई बजेट विनियोजन गरिसकेको छ । तर, भदौ तेस्रो सातासम्म पनि प्रहरीले पाएका छैनन् ।

सरकारले औपचारिक निर्णय नगर्दा बजेट भएर पनि प्रहरीले मूल्यवृद्धि अनुसारको रासनभत्ता नपाएका हुन् । रासनभत्ता समायोजनका लागि अर्थ मन्त्रालयको समेत सहमतिपछि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्ने प्रावधान छ । गृह मन्त्रालयले नै हालसम्म यससम्बन्धी प्रस्ताव अघि बढाएको छैन ।

सुरक्षाकर्मीको रासनभत्ता समयानुकूल बनाउन पहल भइरहेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए । ‘हामीले गत वर्ष नै रासनभत्ता वृद्धि गर्न प्रस्ताव अघि बढाएका थियौँ, तर अर्थ मन्त्रालयले स्वीकृत दिएन,’ उनले भने, ‘यो वर्ष पनि अब प्रक्रिया अघि बढाउँछौँ ।’ राज्यलाई धेरै भार पर्ने भन्दै अर्थका कर्मचारीले मूल्यवृद्धिअनुसार रासनभत्ता बढाउने प्रस्ताव रोक्दै आएका छन् । ‘गाडी खरिदलगायत फजुल खर्चमा तत्कालै बजेट आउँछ,’ गृहका एक अधिकारी भन्छन्, ‘तर, सिपाहीलाई पेटभरि खान दिनुपर्छ भन्दा अर्थका कर्मचारी राज्यलाई भार बढ्ने बताउँछन् ।’

चालू आर्थिक वर्षका लागि नेपाल प्रहरीलाई चार अर्ब ६४ करोड ९४ लाख बजेट रासनभत्ताका लागि पठाइएको छ । यो नयाँ दररेटअनुसार रासनभत्ताका लागि भनेर विनियोजन भएको हो । सशस्त्र प्रहरीलाई त अहिले पनि पुरानै दररेटअनुसारको बजेट गएको छ । पछिल्लो पाँच वर्षमा मूल्यवृद्धि करिब ४० प्रतिशतले वृद्धि भइसकेको छ । तर, पाँच वर्षअघिको मूल्यअनुसारको रासनभत्ताबाट चल्न गाह्रो भएको प्रहरी, सशस्त्र र अनुसन्धानका कर्मचारीको गुनासो छ ।

सशस्त्रलाई बजेट बढेर नगए पनि दुवै निकायमा एकैपटटक रासनभत्ता वृद्धि हुने गृहका अधिकारी बताउँछन् । पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई रासन नै दिने गरिएकोमा पाँच वर्षयता रासनभत्ता दिन थालिएको हो । रासन ठेक्कामा अनियमितता भएपछि नगद नै दिन थालिएको हो ।

नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक हुन्छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष दररेट परिमार्जन गर्छ । सोही रेटअनुसार रासन खुवाउन प्रहरीले माग गर्दै आएको थियो ।

तीन वर्षअघि गृहका तत्कालीन सहसचिव चक्रबहादुर बुढा नेतृत्वको समितिले २–२ वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो । त्यो प्रतिवेदन पनि कार्यान्वयन गरिएको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

किशोरी बलात्कार आरोपमा इन्जिनियर पक्राउ

बैतडी । किशोरी बलात्कार गरेको आरोपमा बैतडीको मेलौली नगरपालिकामा कार्यरत एक इन्जिनियर पक्राउ परेका छन् । सब इन्जिनियर पढ्दै गरेकी किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर रोशन चन्द पक्राउ परेका हुन् । मंगलबार साँझ किशोरीका आफन्तले चन्द विरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए । किशोरीको स्वास्थ्य परीक्षणको काम भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उपसचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानाकेदारेश्वर सबडिभिजन वन कार्यालयका वन अधिकृत (उपसचिव) सुरेशचन्द्र डीसीसहित २ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । घूस दिने बिचौलिया सुशन जोशीविरुद्ध समेत मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ । डीसीले सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिसलगायत कागजी प्रक्रिया गरिदिएबापत ३ लाख २६ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा चलाइएको हो । बिचौलिया जोशीले सेवाग्राहीबाट ५ लाख ४५ हजार रुपैयाँ घूस लिई डीसीलाई ३ लाख २६ हजार मात्र दिएका थिए । जोशीलाई ५ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । निवेदक चुरामणि अर्यालले बिचौलियामार्फत वन अधिकृतलाई ५ लाख ४५ हजार रुपैयाँ घूस दिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भए पनि अनुसन्धान कार्यमा सत्यतथ्य खुलाई सहयोग गरेकाले उनलाई सजायको मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकोसमेत अख्तियारले उल्लेख गरेको छ । अख्तियारले पोखरा महानगरपालिका–१० की नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारी विष्णुकुमारी पराजुलीविरुद्ध समेत मंगलबार नै भ्रष्टाचार मुद्दा चलाएको छ ।

सुदूरपश्चिममा दशैँअघि नै ‘फोर जी’ चलाउन पाइने सम्भावना

डोटी । नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिने भएको छ । नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा शुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताए । उनले भने, “हामी सुदूरपश्चिमभरिमा ‘फोर जी’ सेवा सञ्चालनका लागि काम गरिरहेका छौँ, सम्भवतः दशैँअगावै सेवा विस्तार हुनेछ ।” आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पुर्याउने सरकारी लक्ष्यअनुसार डोटीको दिपायल तथा सिलगढीमा पनि तीव्ररूपमा काम भइरहेको निमित्त प्रमुख चौधरीले जानकारी दिए । दिपायल टेलिकमले ‘फोर जी’ सेवा शुरु हुने बीटीएस टावरमा एन्टेना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको जनाएको छ । दिपायल, राजपुर, पिपल्ला र सिलगढीमा उक्त सेवा सुचारु भएपछि अन्य क्षेत्रमा रहेका टावरमा पनि क्रमशः ‘फोर जी’ सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना रहेको बताइएको छ । ‘फोर जी’ सेवा शुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेमा यहाँका स्थानीयवासी निकै खुशी भएको जगत पुस्तक भण्डारका सञ्चालक खडकविक्रम शाहीले बताए । उनले भने, “‘फोर जी’ सेवा शुरु भएपछि इन्टरनेट चलाउनेलाई राम्रै हुनेछ, यो खुशीको कुरो हो ।” ‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रीजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्रगतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिकहरु बताउँछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबीपीएस) भन्दामाथि हुने गरेको प्राविधिकहरु बताउँछन् । ‘फोर जी’ सेवाका ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्ने टेलिकमका निमित्त प्रमुख चौधरीले बताए । उनले भने, “‘फोर जी’ उच्च गतिको इन्टरनेट सेवा हुने भएकाले प्रयोगकर्ताले अहिले चलाइरहेको इन्टरनेटभन्दा केही महँगो रकम तिर्नुपर्ने हुन्छ, इन्टरनेट सुविधा राम्रो छ ।” फोर जी राउटरबाट कम्प्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिने व्यवस्था भएको टेलिकमले जनाएको छ । ‘थ्री जी’ प्रविधिमार्फत ‘भीओडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरु ग्राहकले पाइरहेका छन् । सात दशमलव दुई ‘एमबीपीएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकम कार्यालयले जनाएको छ । अहिले नेपाल टेलिकमले कैलाली, कञ्चनपुरलगायतका अन्य जिल्लाहरुमा रहेका टावरमा समेत फोर जी सञ्चालनका लागि तीव्ररूपमा काम गरिरहेको र उक्त काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । यसभन्दा पहिले फोर जी सेवा काठमाडौँ, पोखरालगायतका शहरहरुमा मात्र शुरु गरिएको थियो । रासस

रिहा भएका पत्रकार हमाललाई जनपत्रकार संगठनद्धारा स्वागत

काठमाडौँ : सर्बोच्च अदालतको आदेशमा रिहा भएका जनपत्रकार संगठनका केन्द्रीय सदस्य ओम हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल, संगठनका केन्द्रीय महासचिव हिम विष्टले स्वागत गरेका छन् । मंगलबार पत्रकार हमाल रिहा भएपछि जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले हमाललाई स्वागत गर्दै उनको रिहाईको लागि पहल गर्ने र दबाब सिर्जना गर्ने सबैलाई संगठनको तर्फबाट धन्यवाद दिएका छन् । हमाल सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा रिहा भएका हुन् । बन्दी प्रत्येक्षीकरणको रीटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेकी थिईन् । रीटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो । भदौ ६ गते पक्राउ परेका हमाललाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो पटक राज्य विरुद्धको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुरव्यहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियो । पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै आएका थिए भने जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानुनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संगठनहरु संग भेटघाट एवम् छलफल गरी विचार तथा आस्थाका आधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गर्दै आइरहेका थिए ।

सिएमसीबाट पीडित सप्लायर्स कम्पनीलाई वार्तामा आउन प्राविधिक समितिको अपिल

काठमाडौंः  मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट बाँकी भुक्तानी पाउन नसकेका पीडित भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई भुक्तानीको माग दाबी र सोको पुष्टी हुने गरी बिल बिजक तथा सम्झौताको कागजात पेश गर्न प्राविधिक समितिले आव्हान गरेको छ । सिएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा गठन भएको प्राविधिक समितिले आयोजनाका लागि सामानहरु आपूर्ति गर्ने सप्लायर्सहरुसँग आवश्यक कागजात माग गरेको हो । समितिले एक सूचना जारी गरी आयोजना निर्माण क्षेत्रमा विरोध र आन्दोलन लगायतका कार्यक्रमहरु स्थगित गरी वार्तामा आउन समेत अनुरोध गरेको छ । प्राविधिक समितिले सामानहरु आपूर्ति गर्ने सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन आग्रह गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणमा सहयोग पुर्याउन समेत अपिल गरेको छ । यसअघि खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो । मागकर्ताहरुको भुक्तानीको दाबीको सम्बन्धमा समितिले आवश्यक काम कारबाही अघि बढाईसकेको छ । यसैबीच स्थानीय श्रमिक मजदुरहरुको तलब ज्याला दिने सम्बन्धमा सम्बन्धमा मन्त्रालयले उनीहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाईसकेको छ । सिएमसी कम्पनीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाइ सकेको छ । अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद्बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।

यस्ता बन्दैछन् अपराध महाशाखा, परिसर र पुलिस क्लवका नयाँ भवन (फोटोसहित)

काठमाडौंः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गरेका छन् । शिलान्यासपछि नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम हुने गरी निर्माण गरिने बताए । खनालले जसरी भवनहरु सुन्दर हुन्छन्, त्यसैगरी सुन्दर भवनसँगै प्रहरी सेवालाई थप परिस्कृत गर्दै नयाँ उर्जा, निष्ठा एवम् ईमान्दारिताका साथ सुन्दर सेवा प्रवाह गर्न प्रहरी सदैव कटिबद्ध रहेको बताए । भवन निर्माणको क्रममा कुनै पनि किसिमको अनियमितता सह्य नहुने बताउँदै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैमा उनले आग्रह गरे । अपराध महाशाखा तथा परिसरमा कसुर अनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना समेत उक्त नयाँ भवनमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयले आफ्ना कार्य कानून सम्मत, सेवाग्राहीमैत्री र पारदर्शी रुपमा गर्नुपर्ने बताए । अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाई नहोस् । साथै मैले मेरो प्रहरीलाई सूचना दिन र जाने बुझेको कुरा बताउन आएको हो भनी सूचना दिन आउनेलाई छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाईन्छ ।’ प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई. लोकेशचन्द्र सिंहले निर्माण हुने भौतिक संरचनाका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै शिलान्यास सम्पन्न निर्माण योजनाहरुलाई समयमै तोकिएको गुणस्तर सहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारबाट प्राप्त ९ रोपनी जग्गामा निर्माण हुने महानगरीय अपराध महाशाखाको भौतिक संरचनाले ७५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । नेपाल सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौंको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । २६ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लवको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ । तीन वटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ । नवनिर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश र बाथरुम आदिको व्यवस्थापन गरिने छ । सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने छ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै वेसमेन्ट पार्किङको समेत व्यवस्था गरिनेछ । साथै नवनिर्माण हुने नेपाल पुलिस क्लवको बहुउद्देश्यीय भवनमा अत्याधुनिक सुविधा सहितको मुख्य हल र अन्य २ वटा कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिनेछ । भवन अत्याधुनिक प्रविधि अनुरुप डिजाइन गरिएको छ । यस्ता बन्दैछन् प्रहरीका भवन : भवन :  

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

काठमाडौंः चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरे । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचारविमर्श गरेका थिए । त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए ।

स्वीच थिचेर ओली र मोदीले गरे पाइपलाइन उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटनका लागि दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका थिए । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौँ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो । परियोजनाको लागत करिब चार अर्ब ४० करोड रुपैयाँ रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्‍यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको छ । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ, डिजेल ९५ र मटीतेल ९५ रुपैयाँ हुनेछ । यो मूल्य आज (मंगलबार) मध्यान्ह १२ बजेदेखि नै लागू भएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजना उद्घाटन आज हुँदैछ ।

प्रचण्ड–चिनियाँ विदेशमन्त्रीबीच यी विषयमा भयो छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणबारे छलफल भएको बताइएको छ । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए । यस्तै नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारबमबीचमा सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको प्रचण्डले बताए । यस्तै चिनियाँ राष्ट्रपतिको पिङको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको भन्दै प्रचण्डले भेट एकदमै सकारात्मक र उत्साहप्रद रहेको प्रतिक्रिया दिए । भेटका क्रममा भएको छलफलबाट दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने प्रचण्डले विस्वास व्यक्त गरे । ‘हामीले चीनको सहयोग मात्रात्मक मात्र नभई गुणात्मक भई नेपालको आथिर्क विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं’ प्रचचण्डले भने, ‘भेटका क्रममा विदेशमन्त्रीज्यू हामीले उठाएको विषयमा सकारात्मक बन्नु भएको छ ।’ सफल खबरबाट

पेट्रोलियम पाइपलाइन उद्घाटन आज, प्रतिघण्टा २ सय किलोलिटर इन्धन आउने

काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मङ्गलबार हुने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने छन् । मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उनका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पेट्रोलियम पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गर्ने छन् । रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ । यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले उद्घाटनसँगै सो पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति सुरु हुने जानकारी दिए । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ । परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ । गत साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

नेपाल विश्वकै सस्ता गन्तव्यमा घोषित

काठमाडौंः सन् २०२० मा २० लाख पर्यटक भित्तयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ । वल्र्ड इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको हो । प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ । प्रतिवेदन अनुसार इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा रहेको छ । त्यस्तै वेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ । छिमेकी मुलुक भारत सस्ता मुलुकको सूचीमा १३ औँ स्थानमा छ । बु्रनाई, इजिप्ट, कजाखस्तान, मलेसिया सस्ता गन्तव्यको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । नेपाल यस्तो सूचीमा अघिल्लो वर्ष १९ औँ स्थानमा थियो । मूल्य प्रतिस्पर्धी सूचकमा खास गरी चारवटा पक्षलाई गणना गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये टिकट कर तथा विमानस्थल शुल्क, होटल शुल्क, खरिद क्षमता र इन्धन मूल्यलाई आधार बनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गरिरहेका विमान कम्पनीले इन्धनको मूल्य बढी भएको गुनासो गरिरहँदा प्रतिवेदनले इन्धनको मूल्यका हिसाबले नेपाल विश्वकै ३९ औँ सस्तो देशका रूपमा रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ ९६७० डलर० आम्दानी गरेको उल्लेख छ । सो वर्ष कुल नौ लाख ४० हजार पर्यटक भित्रिएकोमा नेपालले ६२ करोड ९८ लाख डलर विदेशी पर्यटकबाट आम्दानी गर्न सफल भएको छ । पर्यटन क्षेत्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३।६ प्रतिशत अर्थात एक अर्ब एक करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । यो क्षेत्रबाट चार लाख ५४ हजारले रोजगारी पाएको पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा मूल्य प्रतिस्पर्धी सहित विभिन्न १४ वटा सूचकका आधारमा सम्बन्धित देशको पर्यटन क्षेत्रको विश्लेषण गरिएको छ । पर्यटकका लागि विश्वकै सस्ता गन्तव्यमा अगाडि हुनुबाहेक बाँकी सूचकमा नेपालको अवस्था खास राम्रो छैन । पर्यटकका लागि आवश्यक पूर्वाधारमा नेपाल १२६ औँ स्थानमा छ । त्यस्तै वातावरणीय दिगोपनामा १३४, बन्दरगाह पूर्वाधारमा १३१, अन्तर्राष्ट्रिय उदारपनामा १०१, सूचना प्रविधि तत्परतामा १०८, व्यावसायिक वातावरणमा ११३, स्वास्थ्य र स्वच्छतामा १०६, सांस्कृतिक स्रोत र व्यावसायिक यात्रामा १०२ औँ स्थानमा रहेको छ । हवाई पूर्वाधारमा ९३, सुरक्षामा ९१, श्रम बजारमा ८३ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्राकृतिक स्रोतमा भने नेपाल विश्वमै ३३ औँ स्थानमा र पर्यटनलाई प्राथमिकतामा राख्ने देशमध्ये ४८ औँ स्थानमा रहेको छ । यी सबै सूचकभित्र पनि अन्य सहायक सूचकको आधारमा देशको विश्लेषण गरिएको छ । पर्यटन क्षेत्रको समग्र प्रतिस्पर्धी सूचकमा भने नेपाल १०२ औँ स्थानमा छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

मिटर ब्याजीको जालो बन्दै धनगढी

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा केही वर्षयता फस्टाएको मिटर ब्याजीको जालोले कयौंको उठिवास लगाएको छ। कयौं व्यक्तिले आत्महत्या गरेका छन भने कयौं व्यक्तिको रहस्यमय मृत्यु भएको छ। मिटर ब्याज सञ्चालन गिरोहका नाइके राजनीतिक पहुँच, प्रहरी अधिकारीसँगको उठबसले गर्दा पक्राउ परेका थिएनन्। ‘मिटर ब्याजीको भयानक जालो र ठगीको कहालीलाग्दो अवस्था छ। कयौंले आत्महत्या गरेका छन्। कयौं घरवारविहीन भएका छन्। कयौंको घरजग्गा गुमेर सुकमबासी भएका छन्’, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्,‘ जुन रुपमा प्रहरी प्रशासनबाट कारवाही हुनुपर्ने हो त्यो नहुनाले यो धन्दा मौलाएको छ।’ मिटर ब्याजबाट प्रहरी प्रशासन, केही राजनीतिक नेतालगायतलाई पनि फाइदा पुगेकाले यस्तो धन्दा चलाउनेहरु पक्राउ पर्न नसकेको उनी बताउँछन्। यकिन तथ्यांक नभए पनि मिटर ब्याजीको गिरोहबाट ठगिएर सम्पत्ति सबै गुमाई बिजोग हुनेको संख्या सयौं रहेको जानकार बताउँछन्। ‘मिटर ब्याजीको गिरोहवाट ठगिएर आत्महत्या गर्ने, ज्यान गुमाउने, परिवारमा सम्बन्ध विच्छेद हुने, उठिवास हुने अवस्था डरलाग्दो छ। यकिन तथ्यांक नभए पनि मेरो जानकारीमा सयौं पीडित छन्’,इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी भन्छन्, ‘कम्तीमा आठदसजना पीडितले आत्महत्या गरिसकेका छन्।’ ठगी गर्ने गिरोहका कारण अझै यस्ता घटना दोहोरिन सक्ने उनले बताए। ‘समाजमा भयाभह बनेको यो समस्याबारे प्रहरी प्रशासन, राजनीतिक दलका नेता सबै जानकार छन् तर पनि दोषीमाथि कारबाही भएको छैन’, उनले भने। धनगढीकै प्रतिष्ठित व्यापारी कामना स्टोरका सञ्चालक मानिष शर्मा मिटर ब्याजी गिरोहबाट ठगिएका कारण पलायन भएको जोशीले बताए। धनगढीकै होनहार युवा खेम रानाको रहस्यमय मृत्यु पनि मिटर ब्याजीको जालोकै कारण भएको आशंका छ। थोरै पैसा दिएर झुक्याएर घरजमिन आफ्नो नाममा बनाउने, थोरै पैसा दिएर बढी रकम लिएको भनेर औंठाछाप लगाउने, नक्कली कागजपत्र, लालपुर्जा, नापीको ट्रेस नक्सा बनाएर सम्पत्ति हड्प्ने र विभिन्न प्रलोभनमा पारेर पैसा लुट्ने धेरै गिरोह धनगढीमा सक्रिय छन्। ‘यी गिरोहका नाइकेको प्रहरीका अधिकारीसँग, राजनीतिक दलका नेतासँग उठबस छ’, नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘ठगी गर्ने मान्छेहरुलाई राजनीतिक र शक्तिमा रहेकाको संरक्षण हुनाले डरलाग्दो गरी यस्तो धन्दा मौलाएको हो।’ अहिले ठगी गर्ने ठूलो गिरोहका सञ्जय राणा पक्राउ परेपछि अन्य गिरोहका व्यक्ति पनि समातिनुपर्ने आवाज सर्वसाधारणले उठाएका छन्। ‘प्रहरीले सञ्जय राणालाई पक्राउ गरी हल्ला फिँजाएर नाटकमात्र गरेमा कुनै अर्थ छैन। अनुसन्धान गरेर ठगी गिरोहमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’, इन्सेकका क्षेत्रीय संयोजक जोशी भन्छन्, ‘ठगी गर्ने गिरोहमा संलग्न सबैलाई कारबाही नगरेमा केही वर्षमा धनगढीमा ठूलो नोक्सान हुने निश्चित छ।’ गभर्नर, मन्त्रालयलगायतका छाप, लालपुर्जा, तमसुक बनाएर जसरी ठगी गरेको पाइएको छ, यसले मान्छेलाई जिउँदै मर्न बाध्य बनाएको उनी बताउँछन्। को हुन् सञ्जय राणा ? पक्राउ परेका राणा डोटीको साबिक केआइसिंह गाउँपालिका तथा तत्कालीन राना गाउँ विकास समिति–९ का तुले रानाका छोरा हुन्। उनले आफूलाई जंगबहादुर राणा खलकको भनेर सञ्जयविक्रम राणा भनेर चिनाउँथे। वासुदेवीमा कक्षा १० सम्म पढेका उनले एसएलसी उत्तीर्ण गरेका छैनन्। विद्यालयमा उनको नाम शेरबहादुर राना क्षेत्री थियो। बुवाको सानैमा निधन भएकाले अपांग अवस्थाकी आमाले उनलाई हुर्काइन्। अर्की आमाबाट एक दाइ र बहिनी भए पनि आफ्नी आमापट्टि उनी एक्ला छोरा हुन्। मटियारीमा उनको कच्ची घर थियो। सातआठ वर्षपहिले आर्थिक अभावबीच रहेका राणाको जीवनशैली पछिल्ला वर्षमा चामत्कारिक रुपमा बदलिएको थियो। उनले नगद रकममा कारोबार गर्थे। कुनै पनि तमसुक बनाउनेलगायतको काम आफ्नो नामबाट गर्दैनथे। उनले फेसबुक एकाउन्ट पनि आफ्नो नामबाट खोलेका छैनन्। उनले अर्को नामबाट खोलेको फेसबुक चलाउँथे। घरबाट गाडीमा निस्केर सीमित ठाउँमा मात्रै जाने राणाले बन्द कोठाबाट सबै गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीले बतायो। उनले आधादर्जन सिमकार्ड बोक्थे। उनको प्रहरी अधिकारीहरुसँग हिचमिच थियो। भारतस्थित पिलभितमा बस्ने एसएसबीका डिआइजीलगायतका अधिकारीसँग पनि निकटता थियो। दुबै देशका प्रहरी अधिकारीसँगको सम्बन्धका कारण उनले सीमाबाट साना हतियार तथा अवैध सामग्री सजिलै ल्याउने गरेको स्रोतले बतायो। यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

नागरिकता कसुरको सजाय कठोर, सांसदबीच चर्काचर्की

काठमाडौं । सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । आमाले गरेको स्वघोषणा झुटा ठहरे ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने सजायको व्यवस्था विधेयकमा गरिएको छ । यही विषयलाई लिएर राज्य व्यवस्था समितिमा महिला र पुरुष सांसदबीच चर्काचर्की भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

विप्लव समूहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

ललितपुरः  विप्लव समूह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्जहरु क्रमशः यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । सोमबार साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विप्लव समुहका काभ्रे जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि नेकपा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताए । उनले भने, ‘समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ ।’ नवप्रवेशीहरुले अध्यक्ष प्रचण्डको नेतृत्वबाट नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै समाजवाद निर्माणको अभियानमा उहाँकै नेतृत्वमा आफूहरु समाहित हुन मूलथलोमै फर्किएको बताए ।