‘एनसेल प्रकरणमा सर्वोच्चको आदेश बेठिक, अर्बौको घोटाला भयो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का सांसदले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वाेच्च अदालतको आदेश सही नभएको बताएका छन्।

नेकपाका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भदौ ९ को सर्वाेच्चको आदेशले राज्यको अर्बाैको कोषको घोटाला गराएको टिप्पणी गरेका छन्।

यो आदेशले २०७५ माघ २३ गते गरेको सर्वाेच्च अदालतको पूर्णं इजलासले गरेको आदेशको पनि उल्लंघन गरेको उनको भनाई छ।

यो आदेशविरुद्ध तुरुन्तै सरकारका तर्फबाट पुनर्अपिल गर्न पनि उनले माग गरे। पूर्ण बृहत इजलासमा पुनरावलोकन गर्न उनले सरकारको ध्यानाकर्षण गराएकाे समाचार साेमबारकाे नागरिक दैनिकले लेखेकाे छ ।

भारत कहिल्यै शक्ति सम्पन्न राष्ट्र बन्न सक्दैन : पम्फा भुषाल

काठमाडौं : नेकपाकी नेत्री पम्फा भुषालले भारत कहिल्यै शक्ति सम्पन्न राष्ट्र बन्न नसक्ने बताएकी छिन् । भारतले छिमेकीलाई हेर्ने दृटिकोण नबदलिएसम्म ऊ कहिल्यै शक्ति सम्पन्न राष्ट्र बन्न नसक्ने भुषालको ठोकुवा थियो । नेकपा केन्द्रीय सदस्य तथा प्रवासी नेता लक्ष्मण पन्तको पुस्तक ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ माथि विमर्श गर्दै उनले भनिन्, ‘भारतको महाशक्ति बन्ने सपना छ । त्यो समानता र न्यायको सम्बन्धमा भर पर्छ । भारतले त्यो गर्न सकेको छैन । नत्र धेरै पहिल्यै भारत महाशक्ति बनिसक्थ्यो । यस्तै हो भने भविष्यमा पनि महाशक्तिमा पुग्न सक्दैन ।’ ‘धैर्य गरेर बस्नुपर्छ बुहारीले सासु हुन पाइन्छ’ भन्ने नेपाली उखान सुनाउँदै उनले भनिन्, ‘३ सय वर्ष बढी ब्रिटिसको शासनमा बसेको भारतले मुक्त भएको ७० वर्षसम्म पनि पाठ सिकेन । आफू उत्पीडित र साम्राज्यवादमा परेको राष्ट्रले अरुलाई त्यसो गर्दैन, भेदभाव गर्दैन भन्ने शिक्षा लिन सकेन । एउटा पनि त्यस्तो देश होस् जसको भारतसँग सम्बन्ध राम्रो होस् ।’ ‘उत्तर (चीन)को विदेशमन्त्री काठमाडौं आउनुभएको छ, कसैलाई केही शंका छैन । आर्थिक सम्बृद्धि र विकासका के मुद्दा उठ्छन्, के समझदारी हुन्छ भन्ने बहस हुन्छ,,’ उनले थपिन्, ‘तर दक्षिण (भारत)को विदेशमन्त्री आउदा जनस्तरमा आशंका किन ? के गर्छन्, के लान्छन, व्यापारमा के असर पर्छ, सुरक्षा नीतिमा फेरदबल हुन्छ की, जलस्रोत जान्छ की भन्ने चिन्ता आम जनमानसमा हुन्छ ।’

आइपुगे चिनियाँ विदेशमन्त्री

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । सोमबार र मंगलबार नेपालको भ्रमणमा रहने विदेशमन्त्री वाङले यो अवधिमा बिभिन्न राजनीतिक व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणको तयारीका लागि वाङ नेपाल आएको भनिए पनि राष्ट्रपतिको भ्रमण भने हुने देखिन्न । यसअघि भारतको भ्रमणसँगै नेपालमा पनि छोटो समयका लागि शी आउने भनिएपनि भारतको भ्रमण नै तत्काल नहुने सम्भावना भएकोले नेपाल आउने सम्भावना टरेको कान्तिपुरको दावी छ । तर अक्टोबरमा तिब्बतमा हुने कार्यक्रममा शी आउने निश्चित भएकोले सोही समयमा नेपाल पनि भ्रमण गर्न सक्ने सम्भावना भने रहेको छ । चिनियाँ विदेशमन्त्री वाङले पनि सेप्टेम्बर ९–१०९भदौ २३–२४० मा दिल्ली भ्रमणमा गएर भारत–चीन सीमा बैठकमा सहभागी हुने निश्चित भएपनि पछिल्लो परिस्थितिका कारण उनले भारत भ्रमण रद्द गरेका छन् । यसको साटो वाङ पाकिस्तान गएका हुन । शनिबार बेइजिङबाट इस्लामावाद उत्रिएका विदेश मन्त्री यी पाकिस्तान–अफगानिस्तान–चाइना त्रिदेशीय बैठक सम्पन्न गरेर आइतबार अपरान्ह काठमाडौं आउन लागेका हुन् । यीले सोमबार बिहान ९ बजेपछि नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र स्रोतका अनुसार, सोल्टी होटलमा बस्ने विदेशमन्त्री यीसँग मन्त्रीस्तरीय संयन्त्र बैठक भने सोमबार अपरान्ह होटल याक एण्ड यति, दरबारमार्गमा बस्दैछ ।

मदनवादी पार्टी नेकपामा समाहित, प्रचण्डद्वारा स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मदनवादी) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ। मदनवादी पार्टीका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै नेकपामा समाहित भएको जानकारी गराएका हुन्। पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मदनवादी पार्टी नेकपामा समाहित भएको हो। प्रचण्डले मदनवादी पार्टीलाई नेकपामा स्वागत गरेका हुन्। पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिस्ट पार्टी एकजुट हुनुपर्ने धारणा राखेका थिए। प्रचण्डले नेकपामा समाहित हुने निर्णय सही निर्णय भएको बताए। राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय–अन्तराष्ट्रिय रूपमा पनि विस्तार गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको उल्लखे गरेका थिए। अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेबारी सबै कम्युनिस्टहरूमा छ।’ प्रवक्ता विष्णुप्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकीकृत हुँदै एउटै कम्युनिस्ट पार्टी निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले नेकपामा सिंगो पार्टी नै समाहित गरेको बताए।

असोज २१ मा दशैं टीका, उत्तम साइत विहान १०ः३५ बजे

काठमाडौंः  हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ । शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए । उनका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मंगलवार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ । असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको गौतमले बताए । घटस्थापनाको दोस्रो दिन असोज १३ मा नेपाली सेनाको झण्डा फेर्ने साइत भने बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा फेर्दा उत्तम हुने गौतमको भनाइ छ । यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फूलपातीको समय बिहान ८ बजेर ५२ मिनेटका लागि तय गरिएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

काठमाडौं । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । मृतककी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रवार पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिए ।उनको टेलिफोन लगत्तै शनिवार उनीहरूको मृत्युको प्रमाणपत्र आएको र सोमवार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन् । ग्रीन भिलेज क्याम्प विदेशी बस्ने भवन हो । ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परि मृत्यु भएको थियो । विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन् । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् । रासस

थारु नेताहरुद्वारा अध्यक्ष प्रचण्डलाई ज्ञापन, आन्दोलनका सबै बन्दी रिहा गर्न माग

  ललितपुर । थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेका छन् । सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई निवास खुमल्टारमा भेटी सभाका अध्यक्ष धनिराम चौधरी सहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको माग पनि गरिएको छ । अध्यक्षले थारुहरुको माग प्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने बताउनुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको भन्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गर्नुभयो ।  

चिनियाँ विदेशमन्त्री जोमसोम जाने तयारी, राष्ट्रपतिको नेपाल भ्रमण तत्काल नहुने संकेत

काठमाडौँ, चिनियाँ विदेश मन्त्री वाङ यीले जोमसोमको पर्यटकीय भ्रमण गर्ने देखिएको छ । मौसम अनुकुल भएको अवस्थामा उनी सोमबार बिहान जोमसोम गएर फर्किने तयारी गरिरहेको कान्तिपुर दैनिकले उल्लेख गरेको छ। सोमबार र मंगलबार नेपालको भ्रमणमा रहने विदेशमन्त्री वाङले यो अवधिमा बिभिन्न राजनीतिक व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणको तयारीका लागि वाङ नेपाल आएको भनिएपनि राष्ट्रपतिको भ्रमण भने हुने देखिन्न । यसअघि भारतको भ्रमणसँगै नेपालमा पनि छोटो समयका लागि शी आउने भनिएपनि भारतको भ्रमण नै तत्काल नहुने सम्भावना भएकोले नेपाल आउने सम्भावना टरेको कान्तिपुरको दावी छ । तर अक्टोबरमा तिब्बतमा हुने कार्यक्रममा शी आउने निश्चित भएकोले सोही समयमा नेपाल पनि भ्रमण गर्न सक्ने सम्भावना भने रहेको छ । चिनियाँ विदेशमन्त्री वाङले पनि सेप्टेम्बर ९–१०९भदौ २३–२४० मा दिल्ली भ्रमणमा गएर भारत–चीन सीमा बैठकमा सहभागी हुने निश्चित भएपनि पछिल्लो परिस्थितिका कारण उनले भारत भ्रमण रद्द गरेका छन् । यसको साटो वाङ पाकिस्तान गएका हुन । शनिबार बेइजिङबाट इस्लामावाद उत्रिएका विदेश मन्त्री यी पाकिस्तान–अफगानिस्तान–चाइना त्रिदेशीय बैठक सम्पन्न गरेर आइतबार अपरान्ह काठमाडौं आउन लागेका हुन् । यीले सोमबार बिहान ९ बजेपछि नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र स्रोतका अनुसार, सोल्टी होटलमा बस्ने विदेशमन्त्री यीसँग मन्त्रीस्तरीय संयन्त्र बैठक भने सोमबार अपरान्ह होटल याक एण्ड यति, दरबारमार्गमा बस्दैछ ।

प्रचण्डको प्रश्नः आत्मसमर्पण गर्ने कि समाजवादको बाटो लिने?

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा भएको बताएका छन् । अध्यक्ष प्रचण्डले आउने दशक समाजवाद निर्माणको दशक हुने भन्दै नेपाली क्रान्तिको भविश्य उज्ज्वल रहेको बताए । उनले भने, ‘मलाई विश्वास छ नेपालको भविश्य उज्जल छ । चुनौति छन्, टेढोमेढो छ बाटो, घुम्ती र मोडहरु छन् । यद्यपि, क्रन्ति र हिजो देखेको सपनाहरु सफल पार्न सम्भव छ । यसलाई कसैले पनि रोक्न सक्दैन ।’ पूर्व प्रधानमन्त्री दाहालले राजधानीमा शनिबार आयोजित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ पुस्तक लोकार्पण कार्यक्रममा भने, ‘समाजवादको झण्डा झुक्न दिइने छैन । पूँजीवादको अगाडि घुँडा टेकिने छैन ।’ उनले समाजवादको कुन बाटो भन्ने विषयमा ‘ग्रेट डिबेट’ मा आफूहरु रहेको समेत बताए । उनले भने, ‘हामी समाजवादको नयाँ बाटो खोजेर अगाडि बढ्छौ या पूँजीवादको अगाडि आत्मसमर्पण गर्छौ । हाम्रो अगाडि यक्ष प्रश्न भनेकै यहि नै छ ।’ प्रचण्डले समाजवादी लडाई लडेरै मर्ने इच्छा व्यक्त गर्दै भने, ‘दलाल पूँजी र नोकरशाही पूँजीको लागि आत्मसमर्पण गर्छौ या समाजवादी बाटोमा जान्छौ? लडाई जारी छ । यो लडाईमा तपाई कुन कित्तामा उभिनु हुन्छ? म चाहिँ समाजवादी कित्तामा नै उभिएर, समाजवादी लडाई लडेरै मर्ने छु ।’  उनले समाजवाद या पूँजीवाद भन्ने बहसमा नेतादेखि कार्यकर्तासम्म एउटा ऐतिहासिक अग्निपरीक्षा र चुनौतिको सामना गर्ने प्रक्रियामा रहेको बताए । उनले नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने विषयमा विश्वमा भएका क्रान्ति र प्रतिक्रान्तिका तमाम् घटनाहरुको संश्लेषणसहित ठूलो बहस र संघर्षको बीचबाट गुज्रन जरुरी रहेको बताए । उनले भने, ‘त्यसको निम्ति नयाँ प्रयोगको बीचबाट गुज्रन जरुरी छ । संसारको लागि समाजवादको अवको मोडल यो भनेर दिनसक्ने ठाउँमा हामी छौ । हामीले हिम्मत हार्नु हुँदैन । हामीले आफ्नो प्रयास छाड्नु हुँदैन ।’ उनले कम्युनिष्ट आन्दोलनलाई फेरि पनि लोकप्रिय बनाउने, कम्युनिष्ट आन्दोलनलाई सहि दिशातर्फ अगाडि बढाउने, राष्ट्रको एकता र स्वाधिनता सुदृढ बनाउनको लागि कम्युनिष्ट पार्टीहरुको एकता जरुरी छ भन्ने सचेत सोंचका साथ पार्टी एकता गरिएको समेत बताए । उनले क्रान्तिकारी कार्यकर्ता वा नेताको चाहनाले मात्रै क्रान्ति पूरा नहुने आफ्नै अनुभव समेत बताए । उनले भने, ‘चीनमा माओत्सेतुङले १९४९ मा सफल क्रान्ति गरेजस्तै जनमुक्ति सेना लिएर जनताको विशाल फौज लिएर काठमाडौँ आउन चाहन्थे म । म जति चाहने नेपालमा अहिलेको यो कालखण्डमा अर्को कोही पात्र छैन । म त्यसरी नै चाहन्थे ।’ उनले थपे, ‘किन कि १० वर्षको जनयुद्ध मार्फत् गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, सामाजिक न्याय, समानुपातिकता, समावेशीतासहित जनगणतन्त्रको स्पष्ट उद्देश्यका साथ लडाईको मोर्चामा अगाडि बढेको पार्टी र त्यसको नेताको हैसियतले सम्पूर्ण रुपले क्रान्ति सफल पार्ने चाहना अरुमा के हुन सक्छ र ?’ उनले भने, ‘शान्ति प्रक्रियामा नआएर युद्धमै रहेको भए के हुन्थ्यो अहिले ? मैले ठीक गरे कि बेठिक गरे ? के हुन्थ्यो देश अहिले ? गणतन्त्र, संघीय, समावेशी र समानुपातिक भइहाल्थ्यो ? त्यो होइन, झन ठूलो निरंकुशता आउने खतरा थियो ।’

प्रधानाध्यापक नै भन्छन्, ‘दलितलाई विद्यालयको अध्यक्ष मान्दिनँ’

लहानः  संविधानले नै जातीय छुवाछुत र विभेदलाई बन्देज गरेको छ । तर, सिरहामा अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले नै अस्वीकार गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक तारिणीप्रसाद चौधरीले व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सदायलाई अध्यक्ष स्विकार्न नमानेको अभिभावकहरूले बताएका छन् । अभिभावकहरूको भेलाले सदायलाई गत १७ मंसिरमा अध्यक्षमा चयन गरेको थियो । तर, अभिभावकले चुनेको अध्यक्षलाई प्रधानाध्यापकले अस्विकार गरेपछि १२ फागुनमा झडपकै स्थिति बनेको थियो । त्यसलगत्तै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि शिक्षा संयोजकसहितको उपस्थितिमा बसेको बैठकले समितिमा दुई सदस्य मनोनयन गर्‍यो, तर त्यसलाई पनि प्रधानाध्यापकले मानेनन् । आफू दलित भएकै कारण प्रधानाध्यापक चौधरीले १० महिनादेखि अध्यक्ष मान्न अस्वीकार गरेको अध्यक्ष सदायले बताए । विद्यालयमा अध्ययनरत एक सय ७७ विद्यार्थीमध्ये एक सय दुईजना दलित समुदायका छन् । समितिमा अध्यक्ष दलित चयन भएपछि प्रधानाध्यापक चौधरीले गाउँपालिकाबाट विद्यार्थीको पाठ्यपुस्तक, छात्रवृत्तिको रकमसमेत निकासा लिएका छैनन् । त्यसपछि मंसिर महिनादेखि प्रधानाध्यापक र अर्का एक शिक्षकको चैत महिनादेखि तलब रोक्का गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाले सोध्यो स्पष्टीकरण तर प्रधानाध्यापकले टेरेनन् १७ मंसिरमा समितिमा अर्जुन मण्डल, बविता दास र जलासी सदाय पनि मनोनित भएका थिए । समिति वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधिसहित सात सदस्यीय बन्यो । समितिलाई पूर्णता दिन सात सदस्यले थप दुईजनालाई मनोनयन गर्नुपर्ने थियो । तर, प्रधानाध्यापकले समितिलाई पूर्णता दिन नमानेपछि स्थानीय दलित अभिभावकहरूले उनीविरुद्ध गाउँपालिकामा निवेदन दिए । त्यसपछि गाउँपालिकाले चौधरीलाई स्पष्टीकरण सोधेको अध्यक्ष रामबल्लभ साहले बताए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

काठमाडौं । तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउँदैछन्। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ। सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौंमा रहनेछन्। राजनीतिक संक्रमणकाल टुङ्ग्याएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो। सीको नेपाल भ्रमण उपर्युक्त समयमा हुने चीनले जवाफ पठाए पनि त्यसको औपचारिक मिति भने अझै तय नभएको तर वाङको अहिलेको भ्रमणले यसबारेमा वातावरण बनाउन सक्ने ज्ञवालीको भनाइ छ। ‘हामीले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वबाट भ्रमणको प्रतीक्षा गरेका छौं, चीनजस्तो घनिष्ठ मित्र र त्यहाँको उच्च राजनीतिक नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हुनेछ’ –उनले भने। चिनियाँ राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र यही क्रममा काठमाडौंसमेत आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। वाङ भ्रमण वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट हुने पहिलो उच्चस्तरीय औपचारिक भ्रमण हो। पाकिस्तानको इस्लामावादमा आयोजना हुने चीन, पाकिस्तान, अफगानिस्तान आबद्ध त्रिपक्षीय बैठकमा सहभागी भएपश्चात् वाङ काठमाडौं आउने बताइएको छ। चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल भ्रमणमा आएका थिए। यसपटकको उनको भ्रमणका क्रममा दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने औपचारिक वार्ता सोमबार हुनेछ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

नेपाली सीमकार्डबाट विदेशमा पनि डाटा चलाउन पाइने

काठमाडौं । अब विदेश गएका बेला पनि नेपाल टेलिकमको सीमकार्डबाट मोबाइल डाटा चलाउन पाइने भएको छ। टेलिकमले पोस्टपेड ग्राहकहरुलाई विभिन्न ८७ मुलुकका १९२ भन्दाबढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने भएको हो। वैशाख १६ देखि जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि पनि छिमेकी मुलुकहरु भारत र चीनमा यस्तो रोमिङ सेवा दिइरहेको छ। टेलिकमले पोस्टपेड र प्रिपेडका ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङमा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्रै दिइरहेकोमा अब भने डाटा रोमिङ सेवा पनि दिने भएको हो। टेलिकमले शनिबारदेखि नै छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा दिन सुरु गरेको एक विज्ञप्तीमार्फत जानकारी दिएको छ। अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरूमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय भन्द भएको थियो।

हेटौंडा केन्द्र अन्तर्गत खरिदारको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  लोकसेवा आयोगले असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा सार्वजनिक सुरु गरेको छ । आयोगले मंगलबारदेखि नतिजा सार्वजनिक सुरु गरेको हो । यसैबीच शनिबार आयोगले हेटौडा केन्द्रको नतिजा प्रकाशित गरेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत असारमा भएको खरिदार तहको परीक्षा हेटौडा केन्द्रबाट प्रथम चरण उत्तीर्ण गरेका ३८१ जनाले द्वितीय चरणको लिखित परीक्षा दिएका थिए । जसमध्ये १९ जना उत्तीर्ण भएका छन् । आयोगले १४ जनाको संख्या माग गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण हुनेहरुलाई कम्प्युटर सीप परीक्षण तथा अन्तवार्ताका लागि सूचना जारी गरेको छ । आयोगले आउदो असोज ६ र ७ गते कम्प्युटर सीप परिक्षण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । अन्तर्वार्ता र कम्प्युटर सीप परिक्षण हेटौडा कार्यालयमै हुने पनि आयोगले जनाएको छ ।

लगानीको राम्रो प्रतिफल प्राप्त हुन्छ, ढुक्क भएर पैसा हाल्नुस्ः उपराष्ट्रपति पुन

काठमाडौंः  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गरेका छन् । बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘लगानीकर्ताको रकम र प्रतिफलको सुरक्षाको सुनिश्चिताका लागि नेपालमा पर्याप्त ऐन कानून छन् ।’ उपराष्ट्रपति पुनले नेपालमा पर्यटन, जलविद्युत्, खनिज पदार्थको उत्खनन, जडीबुटीको व्यावसायिक खेती तथा प्रशोधन, यातायातको सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार, कृषि प्रविधि र औजार उत्पादनलगायत अनेकन क्षेत्रमा लगानी गर्न सकिने बताए । उनले भने, ‘लगानीको राम्रो प्रतिफल प्राप्त हुन्छ, ढुक्क भएर पैसा हाल्नुस् ।’ उपराष्ट्रपति पुनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा मात्र नभई कृषि अनुसन्धान, प्रयोगशाला, सेवा व्यवसाय, विद्युतीय सवारीसाधन, केवलकार र सुरुङमार्ग निर्माणमार्फत पनि यातायात क्षेत्रमा लगानीका प्रशस्त अवसर छन् भन्दै चीनसँगको साझेदारी र सहकार्यबाट नेपालको समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरे । कृषि नेपालको प्राथमिकताको क्षेत्र भएको तर, दुई अर्ब अमेरिकी डलर बराबरका कृषि उपज वर्षेनी आयात हुने गरेको कटु यथार्थ सुनाउँदै उनले कृषि उपजको आयात प्रतिस्थापन गर्न यस क्षेत्रमा पर्याप्त लगानी गरे प्रतिफल सुनिश्चित हुने बताए । उपराष्ट्रपति पुनले जैविक फलफूल र सागसब्जीको विश्वबजारमा ठूलो माग रहेको बताउँदै कतार र संयुक्त अरब इमिरेट्समा नेपाली जैविक उत्पादन निर्यात हुनेको जानकारी पनि दिए । नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई ६४ वर्षदेखिको कूटनीतिक माध्यमले अझ सुदृढ र सवल तुल्याएको बताउँदै उनले बेला–बेलामा दुवै देशबाट उच्चस्तरमा हुने भ्रमण आदानप्रदानले पारस्परिक मैत्रीलाई थप प्रगाढ बनाएको उल्लेख गरे । बैठकमा चाइना कमर्सियल स्टक इन्टरप्राइजेजका नायब महासचिव ली छुसोङले नेपालमा औद्योगिक प्रतिष्ठान स्थापनासम्बन्धी विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न दिइन्न– प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा चीनको सहयोगको अपेक्षा राखेको बताएका छन् । काठमाडौंमा आज आयोजित नेपाल चीन आर्थिक तथा वाणिज्य सहकार्य मञ्चलाई सम्बोधन गर्दै उनले चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको र सहयोगको अपेक्षा राखेको बताए । दाहालले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न नदिइने स्पष्ट पारे । नेकपा अध्यक्ष दाहालले नेकपाको एकताबाट सिर्जित परिस्थितिलाई समृद्धिको यात्रामा रुपान्तरित गर्न चाहेको बताए । दाहालले लामो समयको द्वन्द्व पछि नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेको समयमा बिआरआईमा जोडिने भनेर आफूले नै हस्ताक्षर गर्ने अवसर प्राप्त गरेको स्मरण गराए । चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको उनको धारणा थियो । कार्यक्रममा चीनले चितवनमा बनाउन लागेको ६०० देखि ८०० हेक्टर क्षेत्रफलमा औद्योगिक पार्क बनाउने योजनाबारे जानकारी दिइयो । द्विपक्षीय व्यवस्थापनमा सञ्चालन हुने उक्त पार्कले देशमा रोजगारीको अवसर सिर्जना गर्ने चिनियाँ पक्षको धारणा छ ।

आज राति फोरजी सेवा अवरूद्ध हुनसक्ने

काठमाडौंः  शनिबार राती ११ः३० बजेदेखि मोबाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ। अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा अबरूद्ध हुनसक्ने भएको हो । ‘फोरजी–एलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ। टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ। देशभर नै फोरजी–एलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ।